श्रमिक दिवस कम्युनिस्ट पार्टीको पनि उत्सव हो- उपमहासचिव पोखरेल – Nepalboli

श्रमिक दिवस कम्युनिस्ट पार्टीको पनि उत्सव हो- उपमहासचिव पोखरेल

   २०८१ बैशाख १९, बुधबार  

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव गिरिराजमणि पोखरेलले श्रमिक दिवस मजदुरको मात्र नभई कम्युनिस्ट पार्टीको पनि उत्सव भएको धारणा राखेका छन् । बुधबार १३५ औँ मजदुर दिवसको अवसरमा अखिल नेपाल ट्रेड युनियन महासङ्घ सुदूरपश्चिम प्रदेश समितिले धनगढीमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले यसलाई एकता र सङ्घर्षको रूपमा अगाडि बढाउनुपर्ने धारणा राखे ।

उनले भने, “अन्तर्राष्ट्रिय श्रमिक दिवस विभिन्न तरिकाले आ–आफ्नो देशको विशिष्टता एवं राष्ट्रिय परिवेशमा मनाउने गरिन्छ । संविधानले निर्दिष्ट गरेका मौलिक हकलाई कार्यान्वयन गर्न यसलाई सदुपयोग गर्नुपर्ने छ ।”

उपमहासचिव पोखरेलले सरोकारवाला पक्षले मजदुरको पक्षमा बनाइएका कानुनलाई कार्यान्वयनमा जोड दिनुपर्ने बताउँदै अनौपचारिक क्षेत्रका श्रमिकलाई सङ्गठित गर्ने कामलाई व्यावहारिकरुपले अघि बढाउनुपर्नेमा जोड दिए ।

त्यस्तै उनले मजदुर विकसित हुन समयअनुसारको प्रविधिको जानकार हुनुपर्ने बताए । उनले भने, “श्रमिकले औजार चलाउन जान्नुपर्ने हुन्छ, जानेन भने रोजगारी पाउन समस्या हुन्छ ।”

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै