एक महिनामा आगलागी र डढेलोको एक हजार २९३ घटना : २२ जनाको मृत्यु, ८१ घाइते
गएको एक महिनामा (चैत्र १५–वैशाख १५) सम्ममा देशभरमा एक हजार २९३ स्थानमा डढेलोसहितको आगलागीका घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उक्त घटनाहरुमा अहिले सम्म२२ जनाको मृत्यु भएको छ भने ८१ जना घाइते भएका छन् । सुख्खायाम सुरु भएसँगै फागुनदेखि सुरु भएको आगलागीसहितको डढेलो ६७ जिल्लामा फैलिएको छ ।
एक महिनाको अवधिमा भएको यी आगलगी तथा डढेलोमा ४९ करोड बराबरको क्षति भएको प्राधिकरणको तथ्याङ्क छ । मृत्यु हुनेमा आगलागीबाट १४ जना र डढेलोबाट आठ जनाको मृत्यु भएको छ । वैशाख सुरु भएयता मात्र डढेलोसहितको आगलागीबाट ११ जनाको मृत्यु भएको छ ।
जसमध्ये आगलागीका कारण नौ जनाको मृत्यु भएको छ भने वन डढेलोका कारण दुई जनाको मृत्यु भएको छ । सो अवधिमा २६ करोड बराबरको क्षति भएको छ ।
राष्ट्रिय विपद् जोखिम तथा व्यवस्थापन प्राधिकरणका अनुसार डढेलोसहितको आगलागीका कारण वैशाख यता ४४ जना घाइते भएका छन् । प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले दिएको जानकारीअनुसार दुई हप्तामा ७४४ घटना भएका छन् । जसमध्ये वन डढेलोका घटना २८८ वटा भएका छन् । ४५६ स्थानमा डढेलो लागेको प्रवक्ता भट्टराईको भनाइ छ ।
५०२ पूर्वाधारमा डढेलोसहितको आगलागीले क्षति पुर्याएको छ । आगलागी र डढेलोमा परी ४५१ पशुचौपाया मरेको भट्टराईले जानकारी दिनुभयो ।
पानी नपरेकाले आगलागी र डढेलोको समस्या देशव्यापी बन्न पुगेको उहाँको भनाइ छ ।