भोली देखि हुने लगानी सम्मेलनको तयारी पुरा, सरकारको प्राथमिकतामा १४८ परियोजना – Nepalboli

भोली देखि हुने लगानी सम्मेलनको तयारी पुरा, सरकारको प्राथमिकतामा १४८ परियोजना

   २०८१ बैशाख १५, शनिबार  

भोली (वैशाख १६) र १७ गते काठमाडौंमा हुने तेस्रो सम्मेलनको तयारी सकिएको छ। सम्मेलनका लागि सरकारले १४८ परियोजनालाई प्राथमिकता दिँदैछ। सरकारको प्राथमिकतामा अधिकांश जलविद्युत आयोजना रहेको लगानी बोर्डका प्रवक्ता एवम् सहसचिव प्रद्युम्नप्रसाद उपाध्यायले जानकारी दिनुभयो। सम्मेलन परिसरमा १४८ परियोजना सोकेस (प्रदर्शनी) मा राखिने उहाँको भनाइ छ।

जलविद्युतपछि पूर्वाधार अनतर्गत सडक, टनेल लगायतका आयोजना रहेका छन्। हस्पिटालिटी, केबलकार तथा पर्यटकीय पूर्वाधार समेटिएका छन्। कृषि मन्त्रालयले पठाएका कृषिजन्य पूर्वाधारलाई प्रथामिकता दिइएको छ। लगानी बोर्डका प्रवक्ता उपाध्यायका अनुसार सम्मेलनको प्राविधिक समितिले परियोजनाको अन्तिम सूची तयार गरेको छ।

सम्भाव्यता तथा पूर्वसम्भाव्यता अध्ययन, वातावरणीय मूल्यांकन, लागत, डीपिआर भएको र नभएको गरेर आयोजनालाई आठ वर्गमा विभाजन गरिएको उपाध्यायाले बताउनुभयो। लगानी बोर्डले केहीको आशयपत्र माग्नेछ भने केही सम्बन्धित मन्त्रालय वा विभागले आशयपत्र आह्वान गर्ने प्रवक्ता उपाध्यायले बताउनुभयो ।

पहिलो र दोस्रो गरी २० परियोजनालाई आशयपत्र आह्वान गर्न पाउने गरी प्रदर्शनमा राखिनेछ। यी आयोजनामा लगानी मात्र गरे हुने खालका हुनेछन्। तेस्रो वर्गमा रहेका सात परियोजना मार्केटिङका लागि राखिनेछ। यो सेसनमा लगानीकर्ताले नाफा लान पाउने रकमको मूल्यसहित विदेशी लगानीकर्तालाई बजारीकरण गरिने प्रवक्ता उपाध्यायले बताउनुभयो। चौथो वर्गका आयोजनाको अध्ययनका लागि जानकारी गराइने उपाध्याको भनाइ छ।

पाँचौ वर्गमा १८ वटा परियोजनाका डेभलपर (विकासकर्ता) पहिचान भइसकेको उहाँले बताउनुभयो। यस्ता आयोजना निर्माणका लागि लगानीकर्तालाई सम्मेलनमा आह्वान गरिनेछ।

छैटौँ वर्गका १४ वटा परियोजना भने निजी लगानीका लागि राखिने छ। निजी लगानी आकर्षित गर्न सम्मेलनमै बोलपत्र आह्वान गरिनेछ। यी आयोजना अन्तर्राष्ट्रिय स्तरमै आह्वान गर्नुपर्ने भएका कारण सम्मेलनमै आह्वान गरिने उहाँले प्रष्ट पार्नुभयो।

उहाँले भन्नुभयो, “छैठौँ वर्गका १४ परियोजना निजी लगानीका छन्। निजी क्षेत्रलाई पनि प्रवर्द्धन गर्नको लागि यसमा समेटेका छौँ। यसको अन्तर्राष्ट्रिय स्तरमै आह्वान गर्नुपर्ने हुन्छ, जुन सम्मेलनमै गछौँ।”

यस्ता आयोजना निर्माणका लागि ठेकेदारको खोजी हुनेछ। यो वर्गका आयोजनामा लगानीकर्ता कति प्रतिशत नाफा लैजान पाउँछन् र निजी क्षेत्रले कति नाफा पाउँछ भन्ने खुलाइने उहाँको भनाइ छ।

सातौँ वर्गका आयोजना गहन खोजी नभएका आयोजना रहनेछन्। आठौँ वर्गका ३० आयोजना भने निजी क्षेत्रका छाता संगठनले प्रदर्शनीम राख्नेछन्।

उहाँले भन्नुभयो, “लगानी सम्मेलनबाट कति लगानी आकर्षित हुन्छ यसै भन्न सकिँदैन। हामीले आयोजना छनोटमा राख्छौँ, चित्त बुझे लगानीकर्ताले छनौट गर्नुहुन्छ , नबुँझे गर्नुहुन्न।’’

सम्मेलनमा विश्वभरका लगानीकर्तालाई निम्ता गरिएकाले धेरै देशबाट लगानी आउने अपेक्षा गरिएको उहाँको भनाइ छ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै