महोत्तरीको मटिहानी आगलागीबाट सयौं घर जलेर नष्ट – Nepalboli

महोत्तरीको मटिहानी आगलागीबाट सयौं घर जलेर नष्ट

   २०८१ बैशाख १२, बुधबार  

महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाको वडा नं ६ जरलहवा टोलमा बुधबार बिहानैदेखि लागेको भीषण आगलागीबाट सयौं घर खरानी भएका छन् । मटिहानी नगरपालिकाको नगरप्रमुख हरिप्रसाद मण्डलले मटिहानीको जरलहवामा बिहान १० बजेदेखि लागेको आगो साझ नियन्त्रणमा आएका थिए । आगलागीबाट सयभन्दा बढी घर जलेको मेयर मंडलले जानकारी दिनुभयो । उहाँले सयभन्दा बढी घर तथा केही पशु जलेको बताउनुभयो । मटिहानीमा लागेको आगलागी नियन्त्रणमा लिन मटिहानी, जलेश्वर, रामगोपालपुरसहित जनकपुरलगायतका ठाउँका वारुणयन्त्रण प्रयोग गरिएको छ ।

जरहलवा वस्तीमा रहेको फुसको घर, परालको टहरोमा आगलागी भएको छ भने हावा समेत जोडले चलेको कारण आगलागी नियन्त्रणमा लिन कठिन भएको नगरप्रमुख मण्डलले बताउनुभयो । उहाँले आगलागी नियन्त्रणको लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीसहित स्थानीयवासीहरु भरमग्दुर प्रयास गरेको बताए।

उहाँले घरमा रहेको खाद्यान्न, लत्ताकपडालगायतका सम्पूर्ण सामग्री जलेको तथा केही पशुहरुमा क्षति पुगेको जानकारी भएपनि अहिलेसम्म मानवीय क्षतिबारे जानकारी नभएको बताउनुभयो । बुधबार बिहानै जलेश्वर नगरपालिका वडा नं ३ मा समेत एक घरमा आगलागी हुदाँ लाखौंको धनमाल जलेको छ । वडा नं ३ का पूर्व वडाध्यक्ष संजय पाण्डेयको घरमा आगलागी हुदाँ घर जलेको जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै