प्रचण्ड–ओलीले मिलेर भने : तत्काल एकता हुँदैन – Nepalboli

प्रचण्ड–ओलीले मिलेर भने : तत्काल एकता हुँदैन

   २०८१ बैशाख ११, मंगलवार  

तत्काल दुई पार्टी एकता नगर्ने र अहिलेलाई सत्ता सहकार्य गर्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच बोली मिलेको छ।उनीहरूबीच फागनु २१ को नयाँ सत्ता समीकरणयता नै कुरा मिल्दै आएको थियो। सोमबार नेकपा स्थापनाको हीरक महोत्सवमा पनि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्षले सत्ता सहकार्यमै जोड दिए। विचार–विमर्श हुँदै जाँदा एकताको तहसम्म पुगिने सम्भावनालाई भने दुवैले नकारेनन्।

प्रधानमन्त्री प्रचण्डले ६ वर्षअघिको एकतालाई पनि सम्झिए। २०७५ जेठ ३ गते तत्कालीन एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रित दिवंगत भएको तिथि पारेर एमाले र माओवादी केन्द्रबीच एकता भएको थियो।

प्रधानमन्त्री प्रचण्डले २०७७ फागुन २३ गतेसम्म टिकेको त्यो एकता हौसिएर अघि बढेको परिघटनाका रूपमा लिए। ‘हामी त्यो बेलामा अलि बढी हौसिएछौं कि, समयभन्दा अगाडि नै दौडिइएछ कि भन्ने हेक्का राख्नुपर्ने ठान्छु मैले। त्यसकारण अहिले हामी सहकार्य सुरू गरेका छौं, राम्रो सहकार्य गरौं। यसबाट जनतालाई र देशलाई राम्रो सेवा दिऊँ,’ उनले भने।

त्यसो हुँदै जाँदा दलहरूबीच स्वतः एकता र समझदारीको आधारभूमि तयार हुने प्रधानमन्त्री प्रचण्डले बताए। एमाले अध्यक्ष ओलीले नेकपा विभाजनको कारण नागरिकले थाहा पाइनसकेको बताए।

उनले कम्युनिस्ट आन्दोलनको आम ट्रेन्ड एकता, एकीकरणकै भए पनि यसबीचमा कम्युनिस्ट आन्दोलनले दुई ठूला विभाजन व्यहोर्नुपरेको बताए।

 

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै