सुदूरपश्चिम मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन हो। प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा दाबी पेश गर्न दिएको समय बिहीबार साँझ ५ बजे सकिँदैछ। सुदूरपश्चिमको मुख्यमन्त्रीमा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीले दाबी पेश गर्ने तयारी गरेका छन्।
त्यसका लागि एकीकृत समाजवादी बिहीबार बिहानैदेखि छलफलमा जुटेको छ। तर नेकपा (एमाले) भने अझै निर्णयमा पुग्न सकेको छैन। एकीकृत समाजवादीबाट मुख्यमन्त्री बन्दा आपत्ति नहुने तर पात्र परिवर्तन गर्नुपर्ने एमाले नेतृत्वको चाहना छ।
सुदूरपश्चिममा एकीकृत समाजवादीका चार सांसद छन्। एमालेले सोडारीको सट्टामा यसअघि आर्थिक मामिला मन्त्री बनेका नरेश शाही, प्रकाश रावल, माया पन्तमध्ये जसलाई बनाए पनि समर्थन गर्ने बताएको छ। २०७७ सालमा सुदूरपश्चिमको सामाजिक विकास मन्त्री रहेका बेला सोडारी कारबाहीमा परेका थिए।