सभामुखले बोलाएको शिर्ष नेताहरुको बैठकमा जुटेन सहमति
गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति बनाउन विषयमा दलहरुबीच भएको छलफल विना निष्कर्ष टुङ्गिएको छ । सभामुख देवराज घिमिरेले सोमबार सिंहदरबारमा बोलाएको दलहरूको नेताहरूको बैठक विना निष्कर्ष टुङ्गिएको हो । गएको बुधबार प्रतिनिधिसभाको बैठकमा कांग्रेसले आगामी बैठकसम्म समिति नबनाए संसद्को कामकारबाही नै अवरोध गर्ने चेतावनी दिए पनि दलहरुबीच सहमति जुट्न नसकेको हो ।
सोमबार दिउँसो प्रधानमन्त्री प्रचण्डसहित बसेको बसेको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस आफ्नो अडानबाट पछि नहटेपछि विना निष्कर्ष टुङ्गिएको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताए । उनले भने, ‘‘कांग्रेसले उठाएको विषयमा छलफल भयो । राजनीतिक पूर्वाग्रहमा आधारित छानबिन समिति बन्न सक्दैन । त्यो जायज छैन । तथ्य र प्रमाणमा आधारित नभएर यो कुरा आएको छ । कांग्रेसलाई पुनर्विचार गरेर आउन भनेका छौँ । संसदीय छानबिन समिति बन्न सक्दैन ।’’
संसदीय छानबिन समिति गठन नगरी कतिपय विषय संसद्को समितिबाट गर्न सकिने विकल्प रहेको माओवादीका मुख्य सचेतक हितराज पाण्डेले बताए । कांग्रेसले सहकारीको रकम अपचलनका विषयमा गृहमन्त्री रवि लामिछाने माथि छानबिनको माग गर्दै संसदीय छानबिन समितिको माग गर्दै आएको छ । बैठकमा छोटो समय रवि लामिछाने पनि थिए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वार्थ बाझिने गरी लामिछानेलाई गृहमन्त्री बनाएको भन्दै कांग्रेसले उनीमाथि छानबिन हुनुपर्ने भन्दै संसदीय छानबिन समितिको माग उठाउँदै आएको छ । गृहमन्त्रीले बोल्ने, विधेयक प्रस्तुत गर्ने कार्यसूचीबाहेकमा अवरोध नगरेको कांग्रेसले अब भने संसद् नै ठप्प पार्ने चेतावनी दिएको छ ।