नेपालको संस्कृति, सभ्यता र पहिचान कम्युनिष्टहरुले मेटेः नेता महतो
आफना नेताहरु रिहा नभए आन्दोलनमा जाने राष्ट्रिय मुक्ति क्रान्ति अभियानको चेतावनी
पूर्वमन्त्री राजेन्द्र महतोले कम्युनिष्टहरुले नेपालको संस्कृति, सभ्यता र पहिचान मेटेको आरोप लगाएका छन् । सोमवार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उनले कम्युनिष्टहरुले नेपालको सभ्यता, संस्कृति, पहिचान र अस्तित्व मेट्ने काम गरेको आरोप लगाएका हुन् ।
उनले क्यापिटालिजम कम्युनिजम दुनियाँमा असफल भइरहेको भन्दै अब नेपाली जनतालाई खोक्रो राष्ट्रवादको नाममा ठग्ने दिन गएको बताए । उनले भने, ‘कम्युनिष्टहरुले नेपालको सबै सभ्यता, संस्कृति मेटाइदिने, पहिचान मेटाउने काम गरे । धर्म मेटाइदिने काम गरे । सबै मेटाउँदा मेटाउँदै नेपालको अस्तित्व मेटाइदिने । सबै मेटाउनुको अर्थ नेपालको अस्तित्व मेटाउनु हो । नेपालको अस्तित्व मेटाउने कम्युनिष्टहरु आफैँ मेटिन्छन् । हाम्रा सभ्यता, संस्कृति र धर्ममाथि, हाम्रो पहिचानमाथि पटक पटक जुन आक्रमण प्रचण्डदेखि केपी ओलीसम्मले गरेका छन् । यिनीहरूको पतन हुन्छ । क्यापिटालिजम कम्युनिजम दुनियाँमा असफल भइसक्यो । नेपाली जनतालाई अब ठग्ने दिन गए ।’
नेता महतोले अब नेपालमा आयातित विदेशी विचारबाट शासन नचल्ने तर्क गरे ।
सोमवारको पत्रकार सम्मेला मार्फत महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्ति अभियानले गएको शनिवार काठमाडौमा भएको प्रर्दशनको क्रममा पक्राउ परेकाहरुका रिहाईको माग समेत गरेको छ । अभियानले गएको शनिवारको प्रर्दशनको क्रममा एक दर्जन नेता पक्राउ परेको र ती मध्ये ६जनालाई मात्र रिहा गरेको तथा बाकी ६जना माथी मुद्धा चलाएको जनाएको छ । अभियानले प्रहरी हिरासतमा रहेका अफना ६ जना नेतालाई नछाडे भोली देखि पुन जुलुस, धर्ना लगायतका कार्यक्रमहरु संचालन गर्ने जनाएको छ ।
पत्रकार सम्मेलनमा नेताहरुले प्रहरी प्रशासनले नेपालीहरुको संस्कृति माथी प्रहार गरेको भन्दै यसको मुल्य चुकाउनु पर्ने दावी गरेका छन ।