गण्डकीका मुख्यमन्त्री अधिकारीले लिए शपथ, कांग्रेस अदालत जाने गृहकार्यमा – Nepalboli

गण्डकीका मुख्यमन्त्री अधिकारीले लिए शपथ, कांग्रेस अदालत जाने गृहकार्यमा

   २०८० चैत्र २५, आईतवार  

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको छ । केन्द्रमा गठबन्धन परिवर्तन भएपछि प्रदेशको दोस्रो कार्यकालमा अधिकारी दोस्रो पटक मुख्यमन्त्री बन्नुभएको हो । आफूले शपथ लिएलगत्तै उहाँले माओवादी केन्द्रबाट संसदीय दलका नेता हरिबहादुर चुमान र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) लाई मन्त्री नियुक्त गर्नुभएको छ । दुवै मन्त्री अहिले बिना विभागीय हुनुहुन्छ ।

यसअघि प्रदेश प्रमुख भट्टले आइतबार दिउँसो संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुईभन्दा धेरै दलको समर्थनमा अधिकारीलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको थियो । आइतबार बिहान नेकपा एमाले संसदीय दलका नेता अधिकारीले एमालेका २२, माओवादीका सभामुखसहित आठ र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) सहित ३१ सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी गर्नुभएको थियो ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा सत्ता गठबन्धनमा नेकपा एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित आठ र स्वतन्त्र एक सांसद छन् । सदनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका २७ र राप्रपाका दुई सांसद छन् ।

केन्द्रमा सत्ता समीकरण फेरिएपछि गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले चैत २१ गते राजीनामा दिनुभएको थियो । प्रदेश प्रमुख भट्टले २१ गते नै संविधानको धारा १६८ (२) अनुसार यही चैत २७ गते ३ बजेभित्र सरकारका लागि दाबी पेश गर्ने समय दिनुभएको थियो ।

कांग्रेस अदालत जाने

गण्डकी प्रदेशको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले भने मुख्यमन्त्री दाबी र नियुक्ति असंवैधानिक भएको दाबी गरेको छ । कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले प्रदेश प्रमुखलाई पत्र बुझाउँदै सभामुख गणनालाई मान्यता नदिन आग्रह गर्नुभएको थियो ।

“गैर संवैधानिक नियुक्ति मान्ने कुरा हुँदैन, कांग्रेस अदालत जान्छ,” उहाँले भन्नुभयो । सभामुखसहित गणना भएपछि कांग्रेस भने अदालतमा रिट पेश गर्ने तयारीमा रहेको प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले बताउनुभयो । सत्ता गठबन्धनलाई संसदीय दलको संख्या गन्दा बहुमत देखिए पनि सभामुखले मत दिन नपाउने हुँदा विश्वासको मतका लागि राप्रपाको समर्थन नभई हुँदैन । राप्रपाले गण्डकीको सत्ता समीकरणबारे कुनै निर्णय गरेको छैन ।

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै