जबरजस्ती करणीको आरोपमा एमाले नेता तथा पुर्वमन्त्री महेश बस्नेतविरुद्ध काठमाडौं प्रहरीमा जाहेरी – Nepalboli

जबरजस्ती करणीको आरोपमा एमाले नेता तथा पुर्वमन्त्री महेश बस्नेतविरुद्ध काठमाडौं प्रहरीमा जाहेरी

   २०८० चैत्र २५, आईतवार  

एमाले नेता तथा पुर्वमन्त्री महेश बस्नेतविरुद्ध एक जना महिलाले जबरजस्ती करणी गरेको अभियोगमा किटानी जाहेरी दिएकी छन् । हुलाकमार्फत जिल्ला सरकारी वकिलको कार्यालयमा एक महिलाले बस्नेतले जबरजस्ती करणी गरेको भन्दै जाहेरी दिएको प्रहरीले जनाएका छन । यसपछि सरकारी वकिलले आवश्यक अनुसन्धान गर्न भन्दै जिल्ला प्रहरी परिसर, काठमाडौंलाई जाहेरी पठाएको छ ।

मुलुकी अपराध संहिता–२०७४ अनुसार उनी विरुद्ध प्रहरीमा फौजदारी कसुरमा जाहेरी दर्ता भएको हो ।

एमालेकै सङ्गठित ३१ वर्षीय युवतीले उनलाई भ्रूण हत्या, बलात्कार र डाँका चोरी मुद्दामा प्रतिवादी बनाएर जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दर्ता गराएकी हुन् । पीडितले हुलाकमार्फत पठाएको जाहेरी दर्ता भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भूपेन्द्र खत्रीले पुुष्टि गरेका छन ।

बस्नेतले आफूलाई दुई पटक बलात्कार गरेको पीडित युवतीले आरोप लगाएकी छन् । पीडितले प्रहरीमा दिएको जाहेरीमा काठमाडौँ महानगरपालिका–१० बबरमहलस्थित सनसाईन अपार्टमेन्ट र भारतको गुडगाउँस्थित तुलसी हेल्थकेयर अस्पतालमा बलात्कार गरेको उल्लेख छ ।

बस्नेतमाथि २ महिना १५ दिनको भ्रूण हत्या गरेको पनि आरोप छ । औषधी खुवाएर र अप्रेसन गरेर दुई पटक भ्रूण हत्या गरेको पीडितले आरोप लगाएकी छन् । मुलुकी अपराध संहिता ०७४ को दफा–१८८ को विपरीत भ्रूण हत्या गरेको कसुरमा बस्नेतलाई कारबाही गर्न माग गरिएको छ ।

बलात्कार र भ्रूण हत्याको प्रमाण लुकाउन बस्नेतको निर्देशनमा आफ्नो अपार्टमेन्टमा २०८० फागुन ८ मा बिहान डाँका चोरी गरिएको पनि पीडितको दाबी छ । उनले जाहेरीमा लेखेकी छन्– ‘बस्नेतको निर्देशनमा दुई जना युवाहरूले मेरो अपार्टमेन्टमा आएर मलाई कुटपिट समेत गरेर मोबाइल र अन्य इलेक्ट्रिक डिभाइस जबरजस्ती लिएर गएका हुन् ।’

बस्नेत सुशील कोइराला नेतृत्वको मन्त्रिपरिषद्‌मा उद्योगमन्त्री थिए । पीडितले जाहेरीमा दाबी गरेअनुसार प्रहरीले प्रमाण सङ्कलन गरिरहेको छ । जाहेरी दर्ता भएसँगै राष्ट्रिय युवा संघको संयोजक समेत रहेका बस्नेतलाई प्रहरीले सोधपुछ गरेको छ । अनुसन्धानमा संलग्न एक जना अधिकृत भन्छन्–‘उहाँसँग हामीले त्यसबारे सोधपुछ गरेका छौँ ।’ पीडित युवतीले चैत ७ मा प्रहरीमा जाहेरी दिएकी हुन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै