गृहमन्त्री लामिछानेमाथि अनुसन्धान हुनुपर्छ- चन्द्र भण्डारी
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारीले गृहमन्त्री रवि लामिछानेलगायत सहकारी ठगी प्रकरणमा नाम जोडिएका नेताहरुमाथि अनुसन्धान गर्न छानवीन समिति गठन हुनुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन रुपन्देहीले बुटवलमा गरेको पत्रकार भेटघाटमा नेता भण्डारीले छानबिन समिति गठनको माग संसदीय व्यवस्थाको स्वभाविक मूल्य मान्यता भएको बताए ।
‘विगतमा अरुमाथि औंला उठ्याउनेहरुले आफूमाथि प्रश्न उठेपछि छानबिनका लागि तयार भएर नैतिकता देखाउनुपर्छ,’ भण्डारीले भने, ‘संसदीय छानवीन समिति माग गर्नु नयाँ दल वा गृहमन्त्रीप्रति कुनै आग्रह पुर्वाग्रह होइन ।’
नेता भण्डारीले आवश्यकता भन्दा धेरै जनप्रतिनिधि र कर्मचारी भएका कारण विकास निर्माणका लागि बजेट नपुगेको बताए ।
उनले संघ र प्रदेशमा जनप्रतिनिधि र कर्मचारी संख्या आधा घटाउनुपर्ने बताएका छन् । भण्डारीले ३६ हजार जनप्रतिनिधिलाई १८ हजारमा र एक लाख कर्मचारीलाई ५० हजारमा झार्नुपर्ने तर्क गरे ।