Page 233 – Nepalboli

जनकपुर बोल्ट्सको समर्थकहरु माथी अभद्र व्यवहार गर्ने दुईजना पक्राउ

नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलका क्रममा जनकपुर बोल्ट्सका समर्थकहरु माथी अभद्र व्यवहार गर्ने दुईजनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा डोटी आदर्श गाउपालिकाका २१ वर्षीय अशोक साउद र डोटी दीपायल सिलगढी नगरपालिकाका १९ वर्षीय गणेश साउद रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

नेपाल क्रिकेट संघको आयोजनामा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा यही पुस ६ गते भएको जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीचको खेलपछि केही व्यक्तिहरुबीच झगडा भएको थियो । सोहीक्रममा केही व्यक्तिले अपमानजनक शब्द प्रयोग गर्ने, साम्प्रदायिक सद्भाव बिगार्न खोज्ने तथा विभिन्न व्यक्तिलाई अभद्र व्यवहार गरेको सम्बन्धमा बिभिन्न निकाय तथा सञ्चारमाध्यममार्फत र पीडितका जाहेरीका आधारमा अनुसन्धान गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न अन्य व्यक्तिको खोजी जारी रहेको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए ।

 

विद्युत् प्रसारण र वितरण प्रणाली सुधारमा ७२ अर्ब ९३ करोड लगानी जुट्यो

देशभित्रको विद्युत् आपूर्ति भरपर्दो तथा गुणस्तरीय बनाउन र छिमेकी देशसँगको विद्युत् व्यापार विस्तारका लागि प्रसारण र वितरण प्रणाली विस्तार, सुधार एवम् आधुनिकीकरण गर्न करिब ७२ अर्ब ९३ लाख रुपियाँ (५३ करोड ७० लाख अमेरिकी डलर) को लगानी जुटेको छ । विद्युत् प्रसारण र वितरण प्रणाली विस्तार एवम् सुधारका लागि एसियाली विकास बैंक (एडिबी) ले ३१ करोड १० लाख डलर (४२ अर्ब २४ करोड रुपियाँ) सहुलितपूर्ण ऋण र तीन करोड डलर (चार अर्ब सात करोड रुपियाँ) अनुदान उपलब्ध गराउनेछ ।

युरोपेली युनियनले दुई करोड २६ लाख डलर (तीन अर्ब ६ करोड रुपियाँ) र नर्वे सरकारले तीन करोड १० लाख डलर (चार अर्ब २१ करोड रुपियाँ) अनुदान दिनेछन् । यसैगरी, रणनीतिक जलवायु कोषमार्फत एक करोड डलर (एक अर्ब ३५ करोड रुपियाँ) सहायता प्राप्त हुनेछ । आयोजना कार्यान्वयन गर्न आवश्यक १३ करोड २४ लाख डलर (१७ अर्ब ९८ करोड रुपियाँ) नेपाल सरकारले बेहोर्नेछ ।

एडिबीको दक्षिण एसियाली उपक्षेत्रीय आर्थिक सहायता (सासेक) विद्युत् प्रसारण र वितरण सुदृढीकरण परियोजनामार्फत कार्यान्वयन हुने आयोजनाहरुबाट मुख्य रुपमा २९० किलोमिटर प्रसारण लाइन, पाँच वटा नयाँ सबस्टेसन र दुईवटा सबस्टेसनको स्तरोन्नति गरिनेछ । साथै, काठमाडौं उपत्यकाका घरायसी ग्राहकको घरमा रहेका सिंगल फेज मिटरलाई हटाई स्मार्ट मिटर जडान (दोस्रो चरण), वितरण सबस्टेसनहरुलाई आधुनिक एवम् स्वचालित बनाउनमा कम्युटरमा आधारित सुपरिवेक्षणीय नियन्त्रण तथा डाटा प्राप्ति (स्काडा) जडान, कर्णाली प्रदेशमा राष्ट्रिय प्रसारण लाइन निर्माण तथा वितरण प्रणालीको स्तरोन्नति गरिने छ ।

सहयता परिचालनका लागि गत शुक्रबार सरकार र एडिबी एवम् नेपाल विद्युत प्राधिकरणबिच सहुलितपूर्ण ऋण तथा अनुदान सम्झौता भइसकेको छ । योजनाहरु नेपाल विद्युत प्राधिकरणले कार्यान्वयन गर्नेछ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विकास साझेदारबाट प्राप्त स्रोत परिचालन गरी मुख्य रुपमा देशभित्रको विद्युत् आपूर्ति प्रणाली सुधार एवम् विस्तार, क्षेत्रीयरउपक्षेत्रीय विद्युत् व्यापारलाई भरपर्दो बनाउन मेरुदण्डका रुपमा आवश्यक पूर्वाधार संरचना निर्माण र वितरण प्रणाली डिजिटलाइजेसन गरिने बताउनुभयो ।

‘‘समय–समय विद्युत् गएको भन्ने उपभोक्ताहरुको गुनासोलाई सम्बोधन गर्न र पर्याप्त, भरपर्दो, गुणस्तरीय तथा सुरक्षित विद्युत् आपूर्तिका लागि विगतका वर्षहरुबाट योजनाबद्ध रुपमा अगाडि बढाइएका पूर्वाधार संरचनाहरुको सुधार र सुदृढीकरणका कामहरु कार्यान्वयन गर्न ठुलो रकम जुटेको छ, अब योजनाहरु तत्काल कार्यान्वयनमा लगिनेछ ।,’’ कार्यकारी निर्देशक घिसिङले भन्नुभयो ।

एडिबी नेपाल आवासीय नियोगका निर्देशक आर्नोड कुश्वाले देशभित्रको बढ्दो मागअनुसारको विद्युत् आपूर्तिमा रहेको ग्रीड पूर्वाधारको सीमितता हटाउन र हरित ऊर्जा निर्यातको लक्ष्य पूरा गर्न सहायता सहयोगी हुने उल्लेख गर्नुभयो । निर्देशक कुश्वाले भन्नुभयो, ‘‘सहायता प्रसारण र वितरण गुरुयोजनाका मुख्य अभयवहरुमा खर्च हुनेछ, यसबाट जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत् आन्तरिक खपतका लागि प्रसारण गर्न एमम् अन्तरदेशीय विद्युत् व्यापार क्षमता बृद्धि गर्ने टेवा पुग्नेछ, कर्णाली र लुम्बिनी प्रदेशमा प्रसारण र वितरण पूर्वाधार विस्तार, सुधार, स्तरोन्नति एवम् पुनस्र्थापना हुनेछ, जसबाट विद्युतीकरण, ऊर्जा गरिबी कम गर्न, प्रदेशबीचको सामाजिक–आर्थिक असमानतालाई हटाउन सहयोग पुग्नेछ ।’’

सहायता परिचालन गरी नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुनवल नगरपालिका–१३ स्थित नयाँ बुटवल सबस्टेसनदेखि रुपन्देही, कपिलवस्तु, अर्घाखाँची हुँदै दाङको लमहीसम्मको १६० किलोमिटर लामो ४०० केभी डबल सर्किट प्रसारण लाइन निर्माण गरिनेछ । लमहीमा ‘ग्याँस इन्सुलेटेड प्रणाली (जिआईएस) प्रविधिमा आधारित ४०० केभीको स्वचालित सबस्टेसन निर्माण हुनेछ । प्रसारण लाइन र सबस्टेसन निर्माणका लागि २० करोड ३० लाख डलर खर्च हुनेछ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हाल बुटवलबाट पश्चिमतर्फ विद्युत् प्रवाहका लागि १३२ केभी लाइनमार्फत रहेकाले त्यस क्षेत्रमा निर्माण हुने जलविद्युत आयोजनाहरुको विद्युत प्रवाह गर्न, त्यहाँको बढ्दो विद्युत् मागलाई सम्बोधन गर्न र छिमेकी देशसँगको व्यापारलाई भरपर्दो बनाउन ४०० केभी लाइन तथा सबस्टेसन निर्माण गर्न लागिएको बताउनुभयो ।

बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालित, सञ्चालनको तयारीमा रहेका, भविष्यमा खुल्ने र थप विद्युत माग गर्ने उद्योगहरुलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय विद्युत आपूर्ति हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइनअन्तर्गत बाराको निजगढमा ४०० केभी सबस्टेसन निर्माण गरिने छ । भारतीय एक्जिम बैंकको सहुलियतपूर्ण ऋणमा निजगढमा ४०० केभी सबस्टेसन निर्माण हुनेछ । निजगढबाट परवानीपुरसम्मको ४०० केभी लाइन र परवानीपुरमा ४०० केभी सबस्टेसन निर्माणका लागि एडिबीबाट प्राप्त हुने साढे आठ करोड डलर खर्च गरिनेछ ।

सन् २०५० सम्मको तीन हजार एक सय मेगावाट विद्युत माग धान्ने गरी काठमाडौं उपत्यकाको आपूर्तिलाई लक्षित गरी निर्माण गर्न लागिएको ओखरपौवा–तीनपिप्ले २२० केभी प्रसारण लाइन र तीनपिप्लेमा २२० केभी सबस्टेसन निर्माणमा ४ करोड रुपियाँ खर्च गरिनेछ ।

दैलेख–जुम्ला १३२ केभी प्रसारण लाइन र जुम्लामा १३२ केभी प्रसारण लाइन निर्माणमा साढे तीन करोड डलर खर्च हुनेछ । साथै, कर्णाली प्रदेशका जिल्लाहरुको विद्युत् वितरण प्रणालीको स्तरोन्नति गर्न दुई करोड ३० लाख डलर खर्च हुनेछ ।

 

काठमाडौँ महानगरपालिकाद्धारा १२ महिनामा १२ रोगको सचेतना अभियान

काठमाडौँ महानगरपालिकाले १२ महिनामा १२ प्रकारका रोगको सचेतना अभियान सञ्चालन गरेको छ। महानगरले निरोधात्मक स्वास्थ्य सेवाको प्रवर्द्धनको उद्देश्यसहित वार्षिक क्यालेन्डर प्रकाशित गरी महानगर भित्र १२ महिनामा १२ किसिमका नसर्ने रोगको सचेतना अभियान सञ्चालन गरेको हो।

महानगरका स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसीले हरेक महिनालाई स्वास्थ्यको विशेष महिनाका रुपमा सचेतना अभियान सञ्चालन गरिएको जानकारी दिए। उनले सङ्घीय सरकारबाट मात्र नभई स्थानीय तहबाट पनि स्वास्थ्यका कार्यक्रम सञ्चालन गर्नका लागि अभियान सञ्चालन गरिएको बताए।

महानगरले मङ्सिरमा मात्रै उच्च रक्तचाप, मधुमेह र मिर्गौला सम्बन्धी स्वास्थ्य परीक्षण गरेको छ। महागरका मेडिकल अधिकृत डा दिवस न्यौपानेका अनुसार महागरका सबै वडामा रहेका सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट करिब ३० हजार जनाको उच्च रक्तचाप, मधुमेह र मिर्गौला परीक्षण गरिएको छ।

महागरले पुस महिनालाई श्वासप्रश्वास सम्बन्धी रोग र सुर्तीजन्य पदार्थ विरुद्धको सचेतना महिना, माघलाई मादक पदार्थ तथा सडक दुर्घटना सचेतना महिना, फागुनलाई क्यान्सर तथा प्रजनन स्वास्थ्य सचेतना महिना, चैतलाई मानसिक स्वास्थ्य सचेतना महिनाका रुपमा अभियान सञ्चालन गर्दैछ।

यस्तै, वैशाखमा आँखा, जेठ मुख तथा नाक, कान र घाँटी, असारमा ज्येष्ठ नागरिक तथा अपाङ्गता सहायता सचेतना महिना, साउनमा नवजात र बालबालिका स्वास्थ्य पोषण तथा स्तनपान सचेतना महिनाका रुपमा अभियान सञ्चालन गर्न थालेको हो।

भदौमा उच्च रक्तचाप र असोजमा मधुमेहलाई समेटेर मङ्सिरमा मिर्गौला सहितको सचेतना अभियान सञ्चालन गरिएको छ। कात्तिक महिनामा स्वस्थकर खानपान तथा आरोग्य जीवन सचेतना अभियान सञ्चालन गरिएको थियो।

मेडिकल अधिकृत डा न्यौपानेले यस वर्षदेखि सुरु गरिएको अभियान दशैँ, तिहार र उपनिर्वाचनका कारणले समयमा नै सञ्चालन गर्न नसकिएको बताए। उनले अबदेखि हरेक वर्ष सचेतना अभियानलाई महाअभियानका रुपमा सञ्चालन गर्ने उल्लेख गरे।

रवि लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर

जिल्ला अदालत कास्कीमा पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित ४४ जनाविरुद्ध आइतबार मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले आइतबार दिउँसो अभियोगपत्र दर्ता गराएको हो ।

सरकारी वकिल कार्यालयकी सूचना अधिकारी शान्तिदेवी शर्माले ३१ व्यक्ति, आठ कम्पनी र जफत प्रयोजनका लागि पाँच व्यक्ति गरी ४४ जनाविरुद्ध अभियोगपत्र दायर गरिएको जानकारी दिनुभयो । कास्की प्रहरीले गएको सोमबार सरकारी वकिल कार्यालयलाई बुझाएको प्रतिवेदनमा ५१ जनालाई प्रतिवादी बनाउन सिफारिस गरिएको थियो ।

गोरखा मिडिया नेटवर्कका पूर्व प्रबन्ध निर्देशकसमेत रहनुभएका लामिछानेसहित पूर्वउपाध्यक्ष छविलाल जोशी, कर्मचारी लीला पछाई र रामबहादुर खनाललाई सम्पत्ति शुद्धिकरण अभियोग लगाइएको छ । सहकारी ठगीमा ३१ जना नै प्रतिवादी छन् भने १९ जनाविरुद्ध सङ्गठित अपराध अभियोगसमेत लगाइएको छ ।

सूचना अधिकारी शर्माले कसुर अनुसार फरकफरक मागदाबी लिइएको जानकारी दिनुभयो । “सहकारी ठगी, सङ्गठित अपराध, सम्पत्ति शुद्धिकरणसहित राष्ट्र बैक ऐनविरुद्धको कसूरमा समेत अभियोगपत्र दायर गरिएको छ,” शर्माले भन्नुभयो, “शुक्रबार थप अभियोगपत्र दर्ता गरेका थियौँ, आज पूरक अभियोगपत्र दर्ता गरेका हौँ ।”

अभियोगपत्रमा विधाराधीन मुद्दामा थप मागदावी, थप कसूरहरु प्रष्ट उल्लेख गरिएको र सबैगरी ६३ जना प्रतिवादी कायम भएको उहाँको भनाइ छ । सम्पत्ति शुद्धिकरणमा लामिछानेविरुद्ध २७ करोड ८९ लाख ४४ हजार सात सय पाँच रुपियाँको मागदाबी लिइएको छ । जोशीविरुद्ध भने ७४ करोड ३४ लाख सात हजार एक सय ५५ रुपियाँ बिगो कायम गरिएको छ ।

प्रतिवादीहरुविरुद्ध सहकारी ठगीमा चारदेखि ६ वर्षसम्म कैद, सङ्गठित अपराधमा थप ५० प्रतिशत र सम्पत्ति शुद्धीकरणमा दुईदेखि १५ वर्ष कैद हुनुपर्ने मागदावी लिइएको छ । कास्की प्रहरीले सूर्यदर्शन सहकारीको ठगीबारे तीन महिनाभन्दा बढी समयको अनुसन्धानपछि पुस १ गते सरकारी वकिल कार्यालय कास्कीमा प्रतिवेदन बुझाएको थियो ।

अभियोगपत्रमा एक अर्ब ५१ करोड ४० लाख १९ हजार एक सय ९४ रुपियाँ बिगो मागदाबी लिइएको छ । जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले म्यानुअल्ली र सिस्टम दुवैमा दर्ता गर्नुपर्ने भएकाले आइतबार कार्यालय समयभित्र अभियोगपत्र दर्ता सकिने उल्लेख गर्नुभयो ।

“दर्ता प्रक्रिया सकिँदै छ । हामी मिसिल अध्ययनमै छौं,” अधिकारीले भन्नुभयो, “भोलिबाट प्रतिवादीहरुको बयान सुरु हुन्छ । बयान सकिएपछि थुनछेक बहस आरम्भ हुन्छ ।”

 

 

 

विधेयक समितिका बैठक नबसे स्पष्टीकरण सोधौँ- सभामुख घिमिरे

सङ्घीय संसद्का सभामुख देवराज घिमिरेले संसदीय समितिका विधेयक समितिमा कोरम नपुगेर बैठक नबस्दा बैठकमा नआउने सदस्यलाई स्पष्टीकरण सोध्ने वातावरण बनाउन आवश्यक रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको कार्यव्यवस्था महाशाखाद्वारा यहाँ आयोजित दुईदिने ‘प्रतिनिधिसभाको बैठक सञ्चालन र व्यवस्थापनमा सचिवालय’ विषयक संसदीय पदाधिकारीहरुबीचको समीक्षात्मक कार्यक्रमको आज समापनका अवसरमा उहाँले लामो समयसम्म विधेयक समितिको बैठक नबस्दा आउने समस्यालाई सबै सरोकारवाला पक्षले हल गर्नेतर्फ लाग्नुपर्ने आवश्यकता औँल्याउनुभएको हो ।

“समितिका पदाधिकारी एवं सदस्यलाई कडाइकासाथ बोलाउनुस्, त्यसपछि पनि आउनुभएन भने स्पष्टीकरण सोध्नुस् भनेको छु”, सभामुख घिमिरेले भन्नुभयो, “यो स्पष्टीकरण सोध्ने विषय पनि कार्यान्वयन भइरहेको छैन, सबै मिलेर के कसरी हुन्छ स्पष्टीकरण सोध्ने वातावरण मिलानुपर्छ ।” उहाँले विधेयक समितिका लागि संसद् सचिवालयले गर्नुपर्ने आवश्यक प्रक्रिया गर्दै आए पनि प्रभावकारिता नदेखिएको गुनासो गर्नुभयो ।

सभामुख घिमिरेले हालको व्यवस्थाअनुसार तीन पटक विधेयक समितिको बैठक बोलाउँदा कोरम नपुगेपछि फेरि बोलाउँदा दुई वटासम्म पनि कोरम नपुगे तेस्रो बैठक एक तिहाईको उपस्थितिमा बैठक गराउन आफूले ध्यानाकृष्ट गराएको उल्लेख गर्नुभयो । “व्यवस्थाअनुसारको बैठक बसाल्नेतर्फ सबैले प्रयत्न गरौँ, समस्या समाधान हुँदै जानेछ”, उहाँले भन्नुभयो । विधेयक समिति प्रभावकारी रुपमा चलायमान गराउन सबै पक्षको भूमिका महत्वपूर्ण हुने उहाँको तर्क थियो ।

सभामुख घिमिरेले सदन सञ्चालनका समयमा दिनको अन्तिम समयमा अध्यादेश दर्ता गर्ने हिसाबले मात्रै आउने गरेकोसमेत उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “संसद्सँग समन्वय नगरी अध्यादेश दर्ता गर्ने हिसाबले मात्रै आउँदा समस्या सिर्जना भएका छन्, यसमा पनि सबैको ध्यान जानु आवश्यक देखिन्छ ।” संसद्लाई गतिशील र प्रभावकारी बनाउन सबै दल र समितिको उत्तिकै दायित्व रहेको उहाँको धारणा थियो ।

सभामुख घिमिरेले आफूलाई दिएको अधिकार प्रयोग गर्नेतर्फ पनि निकै कठिनाइ भएको दुःखेसो पोख्नुभयो । “सभामुखले निर्णय गरे पनि निर्णय कार्यान्वयन हुने वातावरण तयार हुनुप¥यो, यसको निकै अभाव छ”, उहाँले भन्नुभयो । दलीय आधारमा सल्लाह गर्ने, सुझाव लिने, त्यस अनुसार सांसदलाई तयारी गर्ने, क्यालेन्डर तय गरी सोहीअनुसार कार्य सम्पन्न गर्नेतर्फ सरकार र संसदले त्यत्तिकै जिम्मेवार बोध गर्नुपर्ने उहाँले बताउनुभयो ।

त्यसअवसरमा उपसभामुख इन्दिरा रानाले संसद्लाई प्रभावकारी ढङ्गले सञ्चालन गर्न सबै पक्षको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “दोस्रो सङ्घीय संसद् प्रभावकारी ढङ्गले सञ्चालन गरी सम्पन्न गर्नुपर्ने दायित्व छ, यसका लागि सरकार, राजनीतिक दल, सांसद तथा संसद् सचिवालयले आआफ्नो क्षेत्रबाट प्रभावकारी भूमिका खेल्नुपर्छ, यसका लागि हामी अपेक्षाकृत छौँ ।”

 

नेपथ्यबाट चलाइएको हल्लामा सत्यता छैन- मन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारको स्थायित्वबारे नेपथ्यबाट चलाइएको हल्लामा कुनै सत्यता नभएको स्पष्ट पार्नुभएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित मन्त्रिपरिषद्का निर्णय सार्वजनिक कार्यक्रममा सञ्चारकर्मीको जिज्ञासामा मन्त्री गुरुङले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीचको सहमतिमा गठन भएको वर्तमान सरकार २०८४ सालको निर्वाचनसम्म तलमाथि नभई निर्बाध रुपमा सञ्चालन हुने बताउनुभयो।

“नेपाली कांग्रेस र एमालेको सदनमा एक सय ६७ सिट सङ्ख्या छ। बहुमतका लागि अरू दल खोज्न परेन। राष्ट्रिय सङ्कट समाधानका लगि मिल्नुपर्छ भन्ने प्रमुख दुई दलबीचमा समान बुझाइ रहुन्जेल सरकार कसैले चाहँदैमा फेरबदल हुँदैन”, मन्त्री गुरुङले भन्नुभयो।

विभिन्न क्षेत्रमा बिग्रदै र भत्कँदै गएको अवस्थालाई सरकारले नियन्त्रणमा लिई मुलुकलाई असफल हुनबाट बचाएको अवस्था रहेको उल्लेख गर्दै उहाँले सामाजिक क्षेत्रमा देखिएको असहिष्णुताको वातावरण हटाउनसमेत सफल भएको स्पष्ट पार्नुभयो।

मन्त्री गुरुङले भन्नुभयो, “कांग्रेस र एमालेबीच बनेको सहमतिअनुसार २०४८ साल, २०५६ र २०६४ सालमा जस्तै दुई दलबीच सरकार चलाउने तथा आपसमा चुनावी प्रतिस्पर्धा गर्दै २०८४ सालको चुनाव सम्पन्न गरिनेछ।”

मुलुकमा राजनीतिक अस्थिरताका कारण नीतिगत अस्पष्टता, लक्ष्यअनुरुप बजेट कार्यान्वयन र राजस्व सङ्कलन नहुँदा राष्ट्रिय गौरवको आयोजना समयमा पूरा हुन नसकेको मात्र नभई व्यापार घाटा बढ्नाका साथै निर्माण सामग्री आयात ठप्प हुन गई सङ्कटपूर्ण परिस्थितिमा वर्तमान सरकार गठन गरिएको मन्त्री गुरुङले प्रसङ्ग उल्लेख गर्नुभयो।

राजनीतिक परिवर्तनमा महत्वपूर्ण योगदान गरेका कांग्रेस र एमालेले मिलेर सरकार गठन गर्नुको कारण र औचित्य प्रष्ट पार्दै उहाँले राजनीतिक स्थिरता र सुशासन कायम गरी शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सरकार लागि परेको बताउनुभयो। नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले पहिलो र दोस्रो ठूलो दल मिलेर सरकार बनाउने विषय संसदीय प्रणालीमा विरलै हुने घटना भए पनि सरकारले विकास, समृद्धि र स्थिरताको मूलभूत दायित्व पूरा गर्ने विश्वास दिलाउनुभयो।

मन्त्री गुरुङले भन्नुभयो, “देशको राजनीतिक परिघटनामा प्रमुख राजनीतिक दल मिलेर सङ्कटको समाधान गर्दै आएको इतिहास छ। अहिले पनि विभिन्न क्षेत्रमा देखिएका समस्या र राजनीतिक अस्थिरता अन्त्य गर्न वर्तमान सरकार गठन भएको हो। उद्देश्य र लक्ष्य पूरा गर्नेछ।”

 

 

सुरक्षित कारोबार विधेयक अर्थ समितिबाट संशोधनसहित पारित

प्रतिनिधिसभा, अर्थ समितिको आजको बैठकले ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८०’ संशोधनसहित पारित गरेको छ। विधेयकमाथि राष्ट्रियसभाबाट आएको संशोधन प्रतिवेदन र प्रतिनिधिसभा सांसदहरूबाट परेका संशोधनमाथि छलफलपछि बैठकले विधेयक पारित गरेको समिति सभापति सन्तोष चालिसेले जानकारी दिनुभयो। सभापति चालिसेले विधेयकमाथिको संशोधन प्रतिवेदन दुई दिनभित्र तयार पार्न समिति सचिवालयलाई निर्देशनसमेत दिनुभएको छ।

राष्ट्रियसभाबाट पारित भएर आएको उक्त विधेयकमा छजना सांसदको संशोधन प्रस्ताव परेको थियो। सांसदहरू रणेन्द्र बराइली, निशा डाँगी, दामोदर पौडेल बैरागी, माधव सापकोटा, सोबिता गौतम र प्रेम सुवालले संशोधन प्रस्ताव हाल्नु भएको थियो। संशोधनकर्तामध्येका सांसद सुवाल र डाँगी समितिमा छलफलका लागि उपस्थित नभएको पनि सभापति चालिसेले जानकारी दिनुभयो।

कुनै व्यक्ति तथा निकायबाट राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा गर्ने कारोबारलाई सुरक्षित र व्यवस्थित बनाई सुरक्षित कारोबारसम्बन्धी कानूनी व्यवस्था समयानुकूल बनाउन आवश्यक भएको भन्दै अर्थ मन्त्रालयले विसं २०८० फागुन ४ गते यो विधेयक राष्ट्रियसभामा दर्ता गरेको थियो। सुरक्षित कारोबारका सम्बन्धमा एकीकृत कानुनी व्यवस्था गरी चल तथा अमूर्त सम्पत्तिउपरको दायित्व परिपालना गर्ने गराउने व्यवस्था गर्न हाल सुरक्षित कारोबार ऐन, २०६३ कार्यान्वयनमा छ।

यस विधेयकले चल, अचल तथा मूर्त र अमूर्त सम्पत्तिउपरको दायित्वबारे पनि व्यवस्था गर्न लागिएको छ। विधेयकले घर, जग्गाबाहेक चल सम्पत्ति पनि धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन सक्ने गरी व्यवस्था गर्न लागेको छ। अचल सम्पत्तिबाहेकको जडित सम्पत्ति, उत्खननका लागि अनुमतिप्राप्त खनिजपदार्थ, बौद्धिक सम्पत्ति तथा व्यक्तिको कुनै पनि प्रकारको मूर्त वा अमूर्त सम्पत्तिलाई विधेयकमा चल सम्पत्तिको परिभाषाभित्र राखिएको छ।

यसअघि बैंक तथा वित्तीय संस्थाले अचल सम्पत्ति मात्र धितो राखेर ऋण दिने गरेकामा यो ऐन लागू भएपछि चल सम्पत्ति पनि धितो राख्न सकिने व्यवस्था विधेयकमार्फत ल्याउन लागिएको छ। पशु, कृषिबाली तथा कृषिजन्य उत्पादन, उक्त उत्पादनबाट तयार पारिएको खाद्यवस्तु र उत्खननका लागि अनुमति लिइएको खनिज पदार्थसमेत धितो राखेर ऋण लिन सकिनेछ।

उपभोग्य वस्तुबाहेक अन्य कुनै धितो सम्पत्तिको विवरण दिएमा त्यस्तो विवरणलाई पर्याप्त मानिने विधेयकमा उल्लेख छ। “जमानत भन्नाले भुक्तानीको दायित्व वा प्रतितपत्रअन्तर्गत जारी गर्ने व्यक्तिको भुक्तानीको दायित्व जस्ता सहायक दायित्व सम्झनु पर्दछ र सो शब्दले बहिखाता, सुरक्षित बिक्री करार, लिखत, अधिकारपत्र वा अन्य चल सम्पत्तिका सम्बन्धमा भुक्तानी गराउन सहयोग पुर्‍याउने दायित्वलाई समेत जनाउँछ”, विधेयकमा भनिएको छ।

 

 

 

डेनमार्कको राजदूतमा तुलाधर नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले डेनमार्कका लागि नेपालको आवासीय राजदूतमा सुम्निमा तुलाधरलाई नियुक्त गर्नुभएको छ। राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा, २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा तुलाधरलाई आज राजदूतमा नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

जनकपुर बोल्टस् समर्थकमाथि दुर्व्यवहार गरेकोमा चौतर्फी कारबाहीको माग

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा काठमाडौंको कीर्तिपुरमा एनपिएल पहिलो संस्करणको क्रममा विजेता टिम जनकपुर बोल्टस् समर्थकहरुमाथि भएको दुर्व्यवहारमा चौतर्फी कारवाहीको माग भएको छ । शनिवार सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले पराजित गर्दै जनकपुर बोल्ट्सले उपाधि चुम्यो।

रोमान्चक एनपिएलका खेल दौरान मधेसी समुदायप्रति लक्ष्य गर्दै विभेदकारी र अपमानजनक शब्द अराजक समूहले व्यक्त गरेपछि त्यस विरद्ध कारवाहीको माग भएको छ । पुस ४ गते जनकपुर बोल्टस् र कर्णाली याक्सको खेल थियो। खेल जनकपुर बोल्टसले जितेसँगै उदण्ड र अराजक समूहले जनकपुर बोल्टस समर्थक लक्ष्य गर्दै नारा लगाए।

जनकपुर बोल्टसप्रति लक्ष्य गर्दै अभद्र र अपमानित हुने खालका नारा शनिबारको फाइनलपछि पनि लाग्यो। अराजक समूहले जनकपुर बोल्टस् समर्थकप्रति देखाएको नश्लीय, साम्प्रदायिक र रंगीयताका व्यवहारको सर्वत्र विरोध भइरहेको छ।

मधेसी आयोगले एनपिएलअन्तर्गत जनकपुर बोल्टस् र कर्णाली याक्सको खेलमा जनकपुर बोल्टसप्रति लक्ष्य गर्दै अभद्र र अपमानित हुने खालका नाराजुलुस लगाउनेहरूमाथि कारबाही गर्न गृह प्रशासनलाई सिफारिस नै गरेको छ। यस्ता नारा लगाउनेहरूको अनुहार नै देखिने गरी भिडिओहरू आइरहे पनि सुरक्षा निकायले त्यसप्रति चासो देखाएर कारबाही नगरेकोमा आयोग असन्तुष्ट देखिन्छ।

‘विभिन्न प्रकारका सञ्चारमाध्यमबाट प्रष्टिएकाहरू माथि राज्यका जिम्मेवारीमा बसेका सुरक्षा निकायले कुनै पनि कारबाही नगर्नु अशोभनिय रहेको र जिम्मेवारी बोध नभएको देखिन्छ,’ आयोगले पुस ५ गते निकालेको विज्ञप्तिमा भनिएको छ, ‘कुनै पनि देशको संविधान, ऐन, कानूनले त्यो मुलुकको सभ्यता-संस्कृति-प्रथा-परम्परा-सोच-व्यवहार र सामाजिक रितिरिवाज समेतलाई प्रतिबिम्बित गरेको हुन्छ। अहिले एउटा सम्प्रदायमा देखिएका मधेसी समुदायप्रतिको विभेदकारी र नश्लीय सोचले मुलुक निर्माणमा अवश्य नै समस्या उत्पन्न गर्नेछ।’

एनपिएलमा जनकपुर बोल्टसका खेलाडीहरूका अगाडी नै अभद्र र अपमानित हुने खालका नाराजुलुस लगाइएको भेटिएको भन्दै आयोगले आपत्ति पनि जनाएको छ।

‘जनकपुर बोल्टसका खेलाडीका अगाडी नै अभद्र र अपमानित नाराजुलुस लाग्नु निन्दनीय र कानुन विपरितका दण्डनीय कार्य हो,’ आयोगले भनेको छ।

तत्कालै राज्यले ती उदण्डी र अभद्री अपराधिलाई तुरून्त कानूनी रुपमा दण्डित गर्ने कार्य गर्न र संवेदनशील हुन आयोग अपिल गरेको विज्ञप्तिमा उल्लेख छ।

संविधान, ऐन, कानूनले विभेद, गलत रितिरिवाज, छुवाछूतविरूद्ध कानुनी रूपमा दण्ड सजायको गरेको भए पनि कानुनी व्यवस्थाको बावजुद विभेदकारी सोच र व्यवहार व्यवहारिक रूपमा विद्यमान रहेको देखिएको आयोगको भनाइ छ।

‘सोको लागि आयोगले गृह प्रशासनमा सिफारिस समेत गरिसकेको छ, साथै संयमित हुन समेत आग्रह गर्दछ,’ आयोगले भनेको छ।

शनिबार फाइनल खेलपछि पनि मधेसी समुदायलक्ष्य गर्दै विभेदकारी नारा लागेकोमा विरोध भइरहेको छ।
पुर्वउपप्रधानमन्त्री राजेन्द्र महतोले विज्ञप्ती जारी गर्दै खेलको क्रममा मधेसी समुदायलक्ष्य गर्दै विभेदकारी नारा लगाउनेहरु माथी कारवाहीको माग गरेका छन । त्यस्तै सिके राउत नेतृत्वको जनमत पार्टीले जनकपुर बोल्टसका समर्थकमाथि आक्रमण र अपमान गर्नेहरूलाई कारबाही गर्न माग गरेको छ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पनि जनकपुर बोल्टसका समर्थकप्रति केही व्यक्ति र समूहबाट भएको नश्लीय तथा साम्पदायिक व्यवहार दुस्खलाग्दो भएको बताएका छन्।

‘जनकपुर बोल्टसका समर्थकप्रति केही व्यक्ति र समूहबाट भएको नश्लीय र साम्प्रदायिक व्यवहार निकै दुस्ख लाग्ने खालको छ। मधेसी आयोगले यसको कानुनी उपचार खोज्दै कारबाही गर्न गृह प्रशासनलाई सिफारिस गरेको छ, जुन एकदमै सकारात्मक छ,’ महामन्त्री थापाले भने, ‘सरकारले यसमा तुरून्तै कारबाही अगाडि बढाओस्। यी हर्कतहरू कुनै पनि बहानामा स्वीकार्न सकिँदैन।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष बाबुराम भट्टराईले जनकपुर बोल्टसका समर्थकहरूमाथि केही अराजक व्यक्ति र समूहबाट भएको भौतिक आक्रमण र नस्लीयररंगभेदी गालिगलौज अत्यन्त आपत्तिजनक, भर्त्सनायोग्य र दण्डनीय रहेको बताएका छन्।

राज्यले मधेसी आयोगको पत्रलाई गम्भीरतापूर्क लिनुपर्ने र आवश्यक कारबाही अघि बढाउनुपर्ने पनि उनले बताएका छन्।

‘हाम्रो देशको जातीय, क्षेत्रीय विविधता बीचको एकतालाई खल्बल्याएर आफ्नो कुत्सित स्वार्थ पूर्ति गर्ने भित्री र बाहिरी शक्तिहरूको सम्भावित खेललाई सबैले बेलैमा बुझेर निष्फल पार्न ध्यान दिऊँ,’ भट्टराईले भनेका छन्।

जनकपुर बोल्टस समर्थकलाई लक्ष्य गर्दै लागेका विभेदकारी नाराबारे सर्वत्र विरोध भइरहे पनि यस्तो नारा लगाउने व्यक्ति वा समूहलाई प्रहरीले नियन्त्रणमा लिएको छैन।

 

 

जसका दुवै सन्तान ‘एनपिएल’का विजेता र उपविजेता बने

वीरगञ्ज महानगर–१२ मुर्ली नयाँटोलका मोहम्मद सलाम शेख र समा प्रवीन त्यस्ता भाग्यमानी अभिभावक हुनुहुन्छ, जसका दुवै सन्तान प्रथम संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि चुम्ने जनकपुर बोल्ट्सका टिमका सदस्य आसिफ शेख र उपविजेता बन्ने सुदूरपश्चिम रोयल्स टिमका सदस्य आरिफ शेखका बुबाआमा हुनुहुन्छ ।

काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएका आरिफ शेख र आसिफ शेख भने फरक–फरक टिमबाट प्रतिनिधित्व गर्दै उपाधि होडका लागि प्रतिस्पर्धामा उत्रिनुभएको थियो ।

त्यस्तै खालको फरक दृश्य सङ्घीय राजधानीभन्दा दुई सय ७० किलोमिटर टाढा रहेको वीरगञ्जको मुर्ली नयाँटोलस्थित दुवै खेलाडीको घरमा पनि देखिन्थ्यो । उहाँहरुको बुबा–आमा पनि फरक–फरक टिमको समर्थक बनेर आफ्ना दुवै छोराका टिमलाई हौसला थप्दै हुुनुहुन्थ्यो । बुबा मोहम्मद कान्छो छोरा आसिफ शेख खेल्ने जनकपुर बोल्ट्सको समर्थक हुनुहुन्थ्यो भने आमा भने जेठो छोरा आरिफले खेल्ने सुदूरपश्चिम रोयल्सको समर्थक हुनुहुन्थ्यो ।

बुबा मोहम्मदले एनपिएल खेलमा दुवै छोरा खेल्ने निश्चित भएसँगै दुवै टिम फाइनलमा प्रतिस्पर्धा गरोस् भन्ने चाहना रहेको सुनाउनुभयो । “एउटै घरका दुई छोरा फरक–फरक टिमबाट खेल खेलेपछि एउटाले जित्ने र अर्कोले हार्ने त निश्चित जस्तै थियो । त्यसैले पनि बाध्य भएर नै एउटाको समर्थक बन्न परेको हो”, उहाँले भन्नुभयो, “एनपिएलमा दुवै छोरा फरकफरक टिमबाट प्रतिनिधित्व गरेसँगै आफूलाई दुवै छोराले फाइनल खेलोस् भन्ने चाहना पनि पूरा हुँदा खुसीले गद्गद् भएको छु ।”

शनिबार बेलुकापख आरिफ र आसिफको घरपुग्दा भने बुबा हर्षित मुद्रामा देखिनुहुन्थ्यो भने आमा समा भने केही मलिन मुद्रामा देखिनुहुन्थ्यो । “मलाई त दुवै छोराले खेल जितुन् भन्ने लागेको थियो । तर के गर्नु खेलको नियम त एउटाले जित्नुपर्ने रैछ”, आमा समा प्रवीनले भन्नुभयो, “दुवै छोराहरु फरक–फरक टिमबाट खेल्ने भएपछि श्रीमान्ले जनकपुरको पक्षमा रहनुभयो भने मैले सुदूरपश्चिमको पक्षमा रहेँ ।”

सुदूरपश्चिमले टस जितेर पहिलो ब्याटिङ गर्दै २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ८४ रन बनाएको थियो । त्यो बेलासम्म आमा समालाई सुदूरपश्चिमले एनपिएलको उपाधि जित्नेमा कुनै शङ्का नै थिएन । उहाँ सुदूरपश्चिमका खेलाडीले चौका र छक्का हिर्काउँदा भने निकै प्रफुल्लित हुने गरेको सुनाउनुभयो । “मलाई त पहिलो चरणको ब्याटिङ हेरेपछि त सुदूपश्चिमले उपाधि जित्नेमा ढुक्क जस्तै थिएँ । तर, पछि जनकपुरले उत्कृष्ट कमब्याक गर्दै उपाधि जित्यो”, उहाँले भन्नुभयो, “जुन टिमले जिते पनि नेपाली क्रिकेटको जित भएको अनुभूति गरेको छु ।”

सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ८५ रनको लक्ष्य जनकपुर बोल्ट्सलाई दिएको थियो । तर, शुरुआती चरणमै उत्कृष्ट ब्याटिङ गर्दै जनकपुरले १९ दशमलव दुई ओभरमा पाँच विकेट गुमाउँदै लक्ष्य पछ्याएको थियो । फाइनल खेलमा जनकपुरले सुदूरपश्चिमलाई पाँच विकेटले पराजित गर्दै उपाधि होड रक्षा गरेको थियो ।

शेख परिवारमा आमा र बुबा फरक–फरक टिमका समर्थक भए पनि दुवै खेलाडीका बहिनी मुस्कान प्रविन भने दुवै दाजुको टिमको समर्थक रहेको बताउनुभयो । “आमा–बाबा अलगअलग टिमको पक्षमा हुनुहुन्थ्यो । मेरा लागि दुवै दाजुहरु बराबर भएकाले दुवैको फ्यान थिएँ”, उहाँले दाजुहरुको मेहनत र लगनशील भएर खेलेकाले दुवै टिमको समर्थक रहेको बताउनुभयो ।

बुबा मोहम्मद छोराहरु आरिफ र आसिफ आजको यो स्थानसम्म आइपुग्न भने धेरै नै सङ्घर्ष गरेको स्मरण गर्नुहुन्छ । “छोराहरुको जहाँजहाँ खेल हुन्थ्यो । म त्यहीँ पुगेर नै खेल हेरेर हौसला थप्ने काम गर्थें”, मोहम्मदले भन्नुभयो, “क्रिकेट खेल्नका लागि आवश्यक पर्ने सबै खालका खेल सामग्री पनि उपलब्ध गराइदिन्थें ।”

आरिफ शेख नेपाली राष्ट्रिय क्रिकेटका अलराउण्डर खेलाडीका रुपमा परिचित हुनुहुन्छ । आरिफले वीरगञ्जको नारायणी रङ्गशाला परिसरमा रहेको वीरगञ्ज क्रिकेट मैदानबाट भएको खेल यात्रालाई अहिलेसम्म अविच्छिन्न अघि बढाउँदै आउनुभएको छ । वीरगञ्जको विद्यासदन सेकेन्डरी विद्यालय हुँदै ‘अन्डर १९’ राष्ट्रिय टिममा खेल्दै सिनियर टिमसम्म पुग्न सफल खेलाडीको रुपमा परिचित हुनुहुन्छ उहाँ ।

नेपाली टिममा एक दशकभन्दा लामो समय खेल्दै आएका आरिफ नेपाली क्रिकेट टिमका भरपर्दा खेलाडीका रुपमा चिनिने गर्नुहुन्छ । ‘लोभर मिडल अर्डर’मा ब्याटिङ गर्ने गर्नुहुन्छ । आरिफले एनपिएलमा फाइनल खेलमा पनि त्यति उत्साहजनक खेल पस्किन भने सक्नुभएन् । फाइनल खेलमा आरिफले तीन बलमा एक रन बनाएर आउट हुनुभयो । सृदूरपश्चिम रोयल्सले आरिफलाई एनपिएलको अक्सनमार्फत १५ लाख रुपैयाँ खर्चेर टिममा भित्राएको थियो ।

आरिफका सहोदर भाइ हुनुहुन्छ आसिफ शेख । जनकपुर बोल्ट्सले मार्की खेलाडीका रुपमा आसिफलाई २० लाख रुपैयाँ खर्चेर किनेको थियो । जनकपुर बोल्ट्सका कप्तान अनिल साह घाइते भएसँगै कप्तानको जिम्मेवारी समेत आसिफको काँधमा आइपुगेको थियो । आसिफले फाइनल खेलमा शुरुआती व्याट्सम्यानका रुपमा क्रिकेट मैदानमा छिर्नुभएको थियो । आसिफले फाइनल खेलमा १९ बल खेल्दै चार चौका र दुई छक्कासहित ३३ रन बनाएका थिए । प्रतियोगिताको अन्य खेलमा राम्रो चल्न नसकेका आसिफले फाइनल खेलमा लाहिरु मिलान्थासँग उत्कृष्ट शुरुआत गर्नुभएको थियो ।

विश्वकप जितेको हेर्ने बुबाको धोको

मोहम्मदले आफ्ना छोराहरुलाई उनीहरुको रुचि र चाहनाअनुसार नै क्रिकेटमा लाग्न प्रेरित गर्नुुभएको थियो । “मेरो प्रशस्त धनसम्पत्ति भएर छोराहरुलाई खेलाडी बनाएको होइन”, उहाँले भन्नुभयो, “असल संस्कार र शिक्षादिक्षाकै कारणले अहिलेको यो स्थानमा आइपुग्न सफल भएका हुन् ।” उहाँलाई ‘नेपाली क्रिकेटले विश्वकपको उपाधि जितेको हेर्ने धोको छ ।

आमा प्रवीनले अझै पनि नेपाली क्रिकेट खेलाडी खेल खेलेरै जीविकोपार्जन गर्न नसक्ने अवस्था भएकामा दुःख लागेको बताउनहुन्छ । “क्रिकेट खेलेरै खेलाडीले आफ्नो जीविकोपार्जन गर्नसक्ने अवस्था गराउनुपर्ने हुन्छ”, उहाँले भन्यो, “त्यसो भएको खण्डमा नयाँ–नयाँ खेलाडीहरु खेलप्रति आकर्षित हुन सक्थे ।”