Page 231 – Nepalboli

चिसो मौसममा एकाविहानै ‘मर्निङ वाक’ गर्नु खतरा, मुटुरोगीलाई बढी असर

तपाईंको बिहान सबेरै ‘वाक’ गर्ने बानी छ । विहान झिस्मिसेमै वाकका लागि निस्कने गर्नुभएको छ भने तालिका परिवर्तन गर्नुहोस् । किनभने चिसोयाममा पहिलो प्रहरमै वाकमा निस्कनु स्वास्थ्यका लागि बढी हानीकारक हुनसक्छ । विज्ञहरुका अनुसार गर्मीयामको तुलनामा चिसोयाममा हावामा प्रदूषणबढी हुन्छ । घाम नलाग्दासम्म चिसो हावा जमिनमै जमेको हुन्छ । त्यसैले एकाविहानैको हावा बढी प्रदूषित हुने सम्भावना बढी हुने भएकाले विज्ञहरुले घाम लागेपछि मात्रै वाक गर्दा उपयुक्त हुने सुझाव दिएका छन् । चिसो हावामा धूलो, धुँवा र कार्बन कर्णलगायतका प्रदूषण तैरिन नसकी जमिनकै सतहमै रहेका हुन्छन् ।

वातावरणविद् भूषण तुलाधारले गर्मीयामको तुलनामा जाडोयाममा बिहान सामान्य अवस्थामा जमिनमा रहने चिसो हावा बढी प्रदूषित हुने गरेको बताए । ‘जाडोयाममा बिहान सबेरैभन्दा पनि घाम लागेपछि नै बाहिर निस्कदा स्वास्थ्यका लागि राम्रो हुन्छ, घाम लागेपछि तातो हावा माथि जान थाल्छ र जमिनको हावामा प्रदूषण कम हुन्छ’, उनले भने, ‘विषेशगरी रातको समयमा जमिनको सतह छिटो चिसो हुन्छ, चिसो हावा तत्कालै माथि जान सक्दैन, जसले गर्दा जमिनको हावा प्रदूषित भइरहेको हुन्छ ।’

तुलाधारका अनुसार काठमाडौँ जस्तो उपत्यकामा हावा बाहिर निस्किन अझ कठिन भएकाले पनि जाडोको समयमा प्रदूषण बढ्छ ।सर्वसाधरणहरुले पनि चिसो मौसममा फोहोर जलाउने, घर तताउन तथा खाना पकाउन जैविक इन्धन (दाउरा, कोइला) र तरल पेट्रोलियम ग्यासको प्रयोग बढी गर्ने र ग्रामीण क्षेत्रमा अझैपनि परम्परागत दाउराको प्रयोग हुने गरेकाले प्रदूषण हुने गति तीव्र हुन्छ ।

‘राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा ५१ प्रतिशतले अझै दाउरा र तीन प्रतिशतले गुइडा बाल्छन् । घरभित्रको प्रदूषणबाट महिला तथा बालबालिका बढी प्रभावित भइरहेका छन्’, तुलाधारले भने, ‘नेपालमा वार्षिक ४८ हजार पाँचसयको मृत्यु वायु प्रदूषणबाट हुने गरेको पछिल्लो अध्ययनले देखाएको छ ।’ सहरमा सवारी साधनहरूको इन्धन दहनको क्षमता जाडोयाममा घट्ने र यसले बढी कार्बन मोनोअक्साइड र नाइट्रोजन अक्साइड उत्सर्जित गर्दा पनि प्रदूषण बढ्ने विज्ञहरुको भनाइ छ ।

जाडोको समयमा ग्रामीण क्षेत्रमा पराल र अन्य जैविक फोहोर जलाइन्छ । आगो ताप्नका लागि पनि प्लाष्टिक तथा अन्य वस्तुहरु बालिन्छ, यसले वायुमण्डलमा सूक्ष्म कणहरु अन्य हानिकारक ग्यासहरू बढाउँछ”, तुलाधारले भनेका छन्। ‘ईंटाभट्टा, ऊर्जा उत्पादन गर्ने कोइलाजन्य उद्योग, र सिमेन्ट उद्योगहरूले जाडोयाममा उत्पादन कायम राख्छन् । धुवाँ र प्रदूषक उत्सर्जन बढ्ने भएकाले जाडोयाममा प्रदूषण तीव्र हुन्छ । अझै माघ महिनापछि इट्टा उद्योग सञ्चालनमा आउनाले प्रदूषण झनै बढ्छ ।’ वातावरण अभियन्ता वर्षा पराजुलीले जाडोमा विहानको समयमा बढी चिसो हुने र बढी तुवाँलोका कारण प्रदूषणका कणहरु जमिनकै सतहमा रहँदा वातावरण थप प्रदूषित हुने गरेको बताए ।

जलवायुविद् मञ्जित ढकालले प्रदूषणको स्रोत नै सवारी साधनबाट निस्कने धुँवा भएको उल्लेख गर्दै समस्या समाधान गर्न सके जलवायु परिवर्तनको कारक तत्वका रुपमा रहेको कार्बन उत्सर्जन न्यूनीकरणमा सहयोग पुग्ने बताए ।

मुटुरोगीलाई बढी असर
मुटुरोगी विशेषज्ञ डा रञ्जित शर्मा जाडोयाममा घाम लाग्नुअघि बढी प्रदूषण हुने भएकाले यसबाट मुटुरोगीलाई बढी असर गर्ने बताउँछन् । ‘प्रदूषणले जुनसुकै बेलामा पनि असर गर्ने भयो, तर बिहानको समयमा बढी असर गर्नसक्छ, विषेश गरी मुटुसम्बन्धी रोगीहरु घरबाहिर निस्कँदा विशेष ध्यान दिनुपर्छ”, उनले भने, । मुटु, रक्तचाप, मधुमेह, उच्च कोलस्ट्रोल, दीर्घरोगी, दमबाट पीडितले सकेसम्म बिहान अबेर मात्रै व्यायाम गर्नुपर्ने उनको सुझाव छ ।

उनका अनुसार जाडो याममा शरीरमा विभिन्न किसिमका हर्मोनको मात्रा वृद्धि हुने भएकाले रगतको भिस्कोसिटी ९बाक्लोपना० बढ्ने र रक्तनली खुम्चने हुन्छ । यसले रक्तप्रवाह असामान्य भई मुटुमा अक्सिजनको कमी हुनसक्छ । मुटुले सामान्य अवस्थामाभन्दा बढी काम गर्नुपर्छ, जसले रक्तनलीमा रगत जमेर हृद्धयघात र मस्तिष्कघात समेत हुनसक्ने डा शर्माको भनाइ छ । ‘चिसोमा बाहिर निस्कनुपर्दा पर्दा बाक्लो लुगा लगाउने, माक्स लगाउने गरौँ, सकेसम्म घाम लागेपछि मात्रै घरबाहिर निक्कदा उपयुक्त हुन्छ”, उनले भने ।

जनस्वास्थ्यविद् डा। समिर अधिकारीले बढ्दो वायू प्रदूषणले मानिसको श्वासप्रश्वासमा समस्या आउने, रुघाखोकी लाग्ने, दम बढाउने, फोक्सोको क्यान्सर, उच्च रक्तचाप, पक्षघात, ह्दयघात जस्ता स्वस्थ्यमा गम्भीर असर गर्ने भएकाले सतर्कता अपनाउन सुझाव दिएका छन् ।

सुपथ मूल्यमा औषधी उपलब्ध गराउने तयारी सुरु

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले उपभोक्तालाई सुपथ मूल्यमा औषधी उपलब्ध गराउने भन्दै कुनै एक कम्पनीको नाम नतोकिकन जेनेरिक औषधी सिफारिस गर्ने व्यवस्था लागू गराउन सुझाव दिनका लागि भन्दै जेनेरिक औषधी सुझाव समिति गठन गर्नुभएको छ ।

औषधी व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालको संयोजकत्वमा गठित पाँच सदस्यीय समितिमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक प्राडा रवि शाक्य, धुलिखेल अस्पतालका निर्देशक प्राडा बलराम मल्लसँगै नेपाल मेडिकल काउन्सिल तथा नेपाल मेडिकल एसोसिएसनका प्रतिनिधि सदस्य हुनुहुन्छ ।

गुणस्तर मापन तथा नियमन महाशाखाका वरिष्ठ व्यवस्थापक उषा तण्डुकारलाई समितिको सदस्य सचिव तोकिएको छ ।

समितिलाई चिकित्सक तथा स्वास्थ्यकर्मीले औषधीको सिफारिस गर्नु पर्दा अनिवार्य रूपमा जेनेरिक नाम लेख्नका लागि सरल ढाँचासहितको कार्यविधि तर्जुमा गर्न कार्यादेश दिइएको छ ।

यसैगरी, अन्य अस्पतालहरूमा जेनेरिक औषधीको नाम लेख्नका लागि गरिएका अभ्यास अध्ययन गरी एक महिनाभित्र सिफारिस गर्नसमेत भनिएको छ ।

समितिले अस्पतालको फार्मेसीमा सबै किसिमका गुणस्तरीय औषधी सुपथ तथा सरल मूल्यमा नागरिकले पाउने व्यवस्था मिलाउन सुझाव समेत दिने छ ।

समितिबाट प्राप्त सुझावका आधारमा निर्णय गर्ने मन्त्री पौडेलको तयारी रहेको उहाँको निजी सचिवालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले जनस्वास्थ्य सेवा ऐन २०२५ मा भएको व्यवस्था लागू गराउने उद्देश्यका साथ समिति गठन गरिएको जानकारी दिनुभयो ।

ऐनमा ‘चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले औषधीको सिफारिस गर्नु पर्दा जेनेरिक नाम लेख्नु पनेछ’ भनी उल्लेख गरिएको छ ।
तर, कार्यान्वयनमा नआउँदा अहिले चिकित्सकहरूले औषधीको ब्रान्ड नाम लेख्ने र सोही नामका औषधी किन्नुपर्ने बाध्यता छ । जेनेरिक औषधी सिफारिस गर्न सकिएमा सोही कम्पनीको सुपथ मूल्य खरिद गर्न उपभोक्तालाई सहज हुने विश्वासका साथ ऐनमा भएको व्यवस्था लागू गराउन मन्त्री पौडेलले सक्रियता देखाएको प्रवक्ता बुढाथोकीले बताउनुभयो ।

 

 

प्रेसमाथि अङ्कुश लाग्ने कानुन बन्न नदिने सभामुखको प्रतिबद्धता

सभामुख देवराज घिमिरेले प्रेसमाथि अङ्कुश लगाउने कानुन बन्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपाल पत्रकार महासङ्घको नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरूलाई निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण कार्यक्रममा सभामुखले आफू प्रेस स्वतन्त्रता रक्षा गर्न प्रतिबद्ध रहेको बताउँदै प्रेसमाथि अङ्कुश लगाउने गरी कानुन नबनाउने बताउनुभएको हो ।

“नेपालको संविधानले पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेको छ,” सभामुख घिमिरेले भन्नुभयो,“प्रेस स्वतन्त्रतलाई कुण्ठित हुने गरी कुनै पनि कानुन बनाइने छैन ।”

सभामुख घिमिरे र निर्वाचन समितिका प्रमुख प्रा।चिरन्जीवी खनालले नवनिर्वाचित पदाधिकारी तथा कार्यसमितिका सदस्यलाई प्रमाणपत्र प्रदान गर्नुभयो ।

महासङ्घका अध्यक्ष निर्मला शर्माले पत्रकार महासङ्घको गरिमालाई कायम राख्दै प्रेस स्वतन्त्रता र पत्रकारको पेसागत सुरक्षाका लागि लडिरहने प्रतिबद्धत्ता व्यक्त गर्नुभयो । महासङ्घका पूर्वसभापति हरिहर विरहीले सङ्गठनलाई सबै पत्रकारको साझा संस्थाका रूपमा विकास गर्नु सुझाव दिनुभयो ।

 

 

 

 

संविधान संशोधन समावेशितालाई थप सुदृढ गर्नका लागि हो- गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले संविधान संशोधन समावेशितालाई कमजोर गर्ने नभइ थप सुदृढ गर्नका लागि हुने बताउनुभएको छ । मङ्गलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संविधान संशोधनको विषय छलफलमा अघि बढाउन प्रारम्भ गरेको जानकारी दिनुभयो । उहाँले संविधानका १० वर्षको अभ्यासका दौरानमा देखिएका संविधानका सबल र दुर्बल पक्षको समीक्षा गरेर मात्रै संविधान संशोधन हुने बताउनुभयो ।

गृहमन्त्री लेखकले भन्नुभयो, ‘‘हामीले संविधान संशोधनको विषयलाई छलफलमा अघि बढाउन प्रारम्भ गरिसकेका छौँ । हामी संविधानका १० वर्षको अभ्यासका दौरानमा देखिएका संविधानका सबल र दुर्बल पक्षको समीक्षा गर्नेछौँ । संविधानमा समसामयिक रूपले परिमार्जन गर्नेछौँ । तर संविधानको संशोधन कुनै एउटा पार्टी वा दुई वटा पार्टीको निर्णयले हुँदैन । हामी तत्कालै केही दिनपछि नेपाली कांग्रेस र नेकपा एमालेको जो दुई ठूला पार्टी सरकारमा छौँ । दुवैको एउटा संयुक्त, कार्यदल बनाएर पनि संविधान संशोधनको छलफलको प्रक्रियालाई प्रारम्भ गर्दैछौँ ।’’

उहाँले संविधानमा समसामयिक रूपले परिमार्जन गर्ने तर संविधानको संशोधन कुनै एउटा पार्टी वा दुई वटा पार्टीको निर्णयले नहुने जानकारी दिनुभयो । उहाँले केही दिनपछि नै नेपाली कांग्रेस र नेकपा एमालेले संयन्त्र बनाइ संविधान संशोधनको पहल सुरु गर्ने धारणा व्यक्त गर्नुभयो । सबै राजनीतिक दलहरूसँग वार्ता र संवाद गरी विषयवस्तुहरूमा सहमति गरेर अनिमात्रै संविधान संशोधन हुने उहाँको भनाइ छ ।

‘‘कांग्रेस र एमालेले मात्रै संविधान संशोधन गरेर संविधान संशोधन हुँदैन । दुई वटै पार्टी मिलेर गरेर पनि हुँदैन । हामी छलफल प्रारम्भ गर्दछौँ, संविधानको समीक्षा गर्छौं । विषयवस्तुहरूको पहिचान गर्दछौँ । हामी चरणवद्ध रूपमा यसलाई अघि बढाउँछौँ ।,’’ गृहमन्त्री लेखकले भन्नुभयो, ‘‘सबैभन्दा पहिला संविधानको १० वर्षको अभ्यासको समीक्षा गर्छौं । विषयहरूको पहिचान गर्छौं । अर्को चरणमा सबै राजनीतिक दलहरूसँग वार्ता र संवाद गर्छौं । त्यसपछि विषयवस्तुहरूमा सहमति गरेर अनिमात्रै संविधान संशोधन हुन्छ । त्यसमा समय लाग्छ । भोलिको पर्सि संविधान संशोधन हुने होइन । संविधान संशोधन गर्ने भनेको समावेशितालाई कमजोर गर्ने होइन, थप सुदृढ बनाउने हो ।’’

गृहमन्त्री लेखकले सरकार सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशी चरित्रको राज्य निर्माण गर्नेकुरामा प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले संविधानको भावनाअनुसार दलितहरूका हक, अधिकारलाई सुनिश्चित गर्ने जानकारी दिनुभयो ।

नेपाल वायुसेवा निगमको आन्तरिक उडान ठप्प

विमान अभावले आन्तरिक उडानमा दरिलो उपस्थिति देखाउन नसकेको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को आन्तरिक उडान ठप्प भएको छ। उडानमा रहेको एक मात्रै ट्वीनअटर विमान पनि ग्राउण्डेड भएपछि निगमको आन्तरिक उडान पूर्ण रूपमा ठप्प भएको हो।

निगमसँग आन्तरिक उडानमा दुई थान ट्वीनअटर विमान छन्। तीमध्ये एउटा विमान गत जेठदेखि ग्राउण्डेड छ भने अर्को पनि हालै ग्राउण्डेड भएको छ।

प्राविधिक समस्या आएकाले आइतबारदेखि आन्तरिक उडान हुन नसकेको निगमका प्रवक्ता रमेश पौडेलले बताउनुभयो। उहाँले ताकेता गरेर सकेसम्म चाडै विमान उडान सेवा सञ्चालन गरिने बताउनुभयो।

“प्राविधिक समस्या आएकाले केही समयलाई विमान ग्राउण्डेड भएको हो”, उहाँले भन्नुभयो,“समस्या समाधानका लागि आवश्यक प्रक्रियामा सुरु भइसकेको छ। अघिल्लो विमान ग्राउण्डेड भएलगत्तै यो प्रक्रिया सुरु भएको हो ताकेता गरेर छिट्टै काम हुन्छ।”

निगमले काठमाडौँ र क्षेत्रीय हब विमानस्थलबाट दुर्गम क्षेत्रमा आन्तरिक उडान गर्दै आएको छ। निगमसँग अन्तराष्ट्रिय उडानका लागि दुई थान वाइडबडी ए ३३० र दुई थान न्यारोबडी ए ३२० विमान छन्।

थाइल्यान्डबाट पाँच नेपालीको उद्धार

नेपाली दूतावास, बैंककले म्यानमारको मेवाडीबाट पाँच नेपालीको उद्धार गरेको छ । उद्धार गरी ‘टाक इमिग्रेसन अफिस’ मेसोट हुँदै थाइल्यान्ड ल्याइएका पाँच नेपाली नागरिकमध्ये चार ९पुरुष० थाई सरकारी निकाय ‘आइओएम’ थाइल्यान्ड तथा अन्य गैरसरकारी संस्थासहितको सहयोगमा एक साताअघि नेपाल फर्काइएको थियो। एक जना महिलालाई भने आज नेपाल फर्काइएको दूतावासले जनाएको छ ।

नेपाल सरकारले तोकेका मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभन परी छिटो धेरै पैसा कमाउने चाहना राखेर कम्बोडिया, लाओस, म्यानमार र थाइल्यान्डलगायत वैदेशिक रोजगारीमा नआउन पनि दूतावासले अनुरोध गरेको छ।

 

जुनारले बढायो समृद्धिको यात्रा

सिन्धुली । आकाश उज्यालिएको छ । पखेटा फैलाएर उडिरहेका छन्, चराचुरुङगी । प्रकृतिले सुशोभित सौन्दर्यतामा पुलकित देखिन्छ पातलो बस्ती । त्यही बस्तीलाई ढाकेर बाक्लो रूपमा फैलिएको छ जुनार बगैँचा । जुनार बगैँचाका प्रत्येक हाँगा–हाँगामा लटरम्म झुण्डिएका छन्, पाकेका फल ।

सिन्धुलीको महाभारत पर्वतको काखमा अवस्थित गोलञ्जोर गाउँपालिका–४ तीनकन्याको दृश्य हो यो । जहाँ, लुकेको छ एउटा कथा-सङ्घर्ष, सम्भावना र सफलताको । केही वर्षअघिसम्म यहाँका स्थानीय बासिन्दाको जीवन दयनिय थियो । किसानहरू खेतबारीमा परम्परागत बालीहरू दलहन, मकै, कोदो, फापर फलाएर जीवन गुजार्थे । यी बालीहरू उत्पादन गर्न गाह्रो त थियो नै, पर्याप्त पनि हुन्नथ्यो ।

गरिबी र अभावका कारण स्थानीय बासिन्दाहरू रोजगारीको खोजीमा भौतारिन्थे । सडक अभावका कारण गाउँमा यातायातका साधन देख्न समेत पाइन्न थियो । पदैल यात्रा गरेर रोजगारी खोज्दै सहर झर्थे ।

एक दिन गाउँमा पुगेका कृषि विज्ञहरूले किसानहरूलाई सुल्झाए, “यस ठाउँको माटो र मौसम जुनार खेतीका लागि उपयुक्त छ, यसको व्यावसायिक खेती गर्नुस्, मनग्य आम्दानी हुन्छ ।” किसान गुन्डबहादुर ठकुरीले कृषि विज्ञहरूको सुझावलाई आत्मसात गर्नुभयो । उहाँले आफ्नो थोरै जमिनमा जुनारका बिरुवा रोपेर व्यावसायिक खेतीको यात्रा सुरु गर्नुभयो । मेहनत र धैर्यताको फलस्वरूप बिरुवा रोपेको तीन वर्षदेखि नै जुनारको फलले आम्दानी दिन थाल्यो ।

जुनारको फलबाट मनग्य आम्दानीको स्वाद चाख्न पाएपछि उहाँले जुनार बगैँचा २५ रोपनीमा विस्तार गर्नुभयो । उहाँले अहिले जुनार बेचेर वार्षिक १५ लाख रूपैयाँ आम्दानी गर्न थाल्नु भएको छ । किसान गुन्डबहादुरको यो सफलताका पछाडि धर्मपत्नी देविकुमारी ठकुरीको पनि उत्तिकै साथ र सहयोग छ । सत्तरी वर्षको उमेरमा पनि उहाँ जुनार खेतीमा सक्रिय हुनुहुन्छ । उहाँले आफ्नो उमेरको तीन दशक बढी जुनार खेतीमा समर्पित गरिसक्नु भयो ।

अहिले उहाँको बगैँचामा जुनार लटरम्मै फलेका छन् । हामी जुनार बगैँचामा पुग्दा बोटका जुनार टिपेर बोरामा हाल्दै हुनुहुन्थ्यो उहाँ । “अघिल्लो वर्षभन्दा यस वर्ष जुनार अलि कम फलेको छ,” देवीकुमारीले भन्नुभयो ।

ठकुरी दम्पतीले ३५ वर्षदेखि जुनारको व्यावसायिक खेती गर्दै आउनुभएको छ । ‘पाँच लाखदेखि ३५ लाखसम्म वार्षिक रूपमा आम्दानी लिने किसान छन् यहाँ,’ किसान गुन्डबहादुरले भन्नुभयो, “जुनार उत्पादन गर्दाको शुरुआती वर्षमा प्रतिदाना ५० पैसामा बिक्री गरेको जुनार अहिले बगैँचामै प्रतिदाना १० रुपैयाँमा बिक्री हुन्छ । जुनारबाट भएको आम्दानीले काठमाडौंको कपनमा घर घडेरी जोडेका छौँ । हाम्रो पारिवारिक खर्च यसैले धानेको छ ।”

ठकुरी दम्पतीले आफ्नो मेहनत र इमानदारिताबाट केवल आफ्नो सपना मात्रै साकार बनाउनु भएन, रोजगारी पनि सिर्जना गरी दिनुभएको छ । अहिले गाउँका अधिकांश किसानले आफ्नो पाखा र खेतबारीमा जुनार, सुन्तलाको व्यावसायिक खेती गरिरहेका छन् । आफ्नो पाखाबारी नभएकाहरूले जुनारको व्यावसायिक खेती गर्ने किसानको बगैँचामा रोजगारी पाएका छन् । स्थानीय दलबहादुर नेपाली र उहाँको धर्मपत्नी ज्ञानुलाई रोजगारीका लागि भौंतारिदै सहर पस्न नपर्ने खुसीले हर्षित तुल्याएको छ । आफ्नै गाउँको माटोको गन्धमा हुर्किने दलबहादुर दम्पतीलाई सहरको धुलो र चिल्ला सडकले कहिल्यै लोभ्याएन । पाँच वर्षअघि गाउँमै रहेको व्यावसायिक जुनार बगैँचामा काम गर्न पाउने मौका पाउँदा उनीहरूको जीवनले नयाँ मोड लियो । “सहर जाँदा परिवारसँग टाढिनु पर्‍थ्यो,” दलबहादुरले भन्नुभयो, “गाउँको जुनारले परिवारसँगै बस्ने वातावरण बनायो ।”

नेपाली दम्पतीले बगैँचामा सिँचाइ, गोडमेल, र जुनार टिप्नेदेखि बजारसम्म पुर्‍याउने काम गर्छन् । “गाउँकै खेतबारीमा पसिना बगाउन पाउनु पौरख नै हो,” उहाँले गर्व गर्दै भन्नुभयो । जुनार बगैँचाले नेपाली दम्पती जस्ता अरू मजदुरहरूलाई पनि रोजगारी दिएको छ । कुनै बेला विदेश जान लागेकाहरू गाउँ फर्केर व्यावसायिक खेतीप्रति आकर्षित भएका छन् । जुनार खेतीले तीनकन्याका किसानलाई आत्मानिर्भर बनाएको छ नै मजदुर र व्यापारीलाई पनि रोजगारीको अवसर प्रदान गरेको छ ।
बगैँचाका जुनार बजारमा

तीनकन्याका बगैँचामा उत्पादन भएका जुनारले यतिबेला जिल्लाका मुख्य चोक र बजार क्षेत्र भरिएका छन् । किसान र व्यापारीलाई पाकेका जुनार किनबेच गर्न भ्याइनभ्याइ छ । सिन्धुलीको रमणीय दृश्य अवलोकन गर्दै बिपी राजमार्गमा यात्रा गर्ने यात्रुहरूका लागि जिल्लाको जुनार मुख्य कोसेली बनेको छ । जुनार पकेट क्षेत्रका किसानहरूले आफ्नो बारी, बगैँचामा उत्पादन गरेका जुनार राजमार्गको छेउमा बिक्रीका लागि राखिएको हुन्छ । यात्रुहरू त्यही जुनार किनेर कोसेलीको रूपमा लिएर जाने गर्दछन् ।

‘जुनार सबैभन्दा बढी बिक्री हुने स्थान भनेकै बिपी राजमार्ग हो,’’ जुनार विकास सङ्घ, सिन्धुलीका अध्यक्ष कर्णबहादुर आलेमगरले भन्नुभयो, “जुनार तीनकन्याको मात्रै होइन, सिन्धुलीको पहिचान बनिसकेको छ । यसले आर्थिक लाभसँगै आत्मसन्तुष्टि पनि मिलेको छ ।”राजमार्गमा यात्रा गर्ने अधिकांश यात्रु सिन्धुलीको जुनारसँग परिचित छन् । कतिपय यात्रुहरू जुनारको मुख्य बजार सेल्फिडाँडा, खनियाखर्क, खुर्कोटलगायतका स्थानमा आफू सवार सवारी साधन रोकेर रसिलो जुनारको स्वाद लिएर मात्रै यात्रालाई अगाडि बढाउँछन् । झापा–काठमाडौंसम्मको यात्राका क्रममा खनियाखर्क बजारमा भेटिनुभएका गोपाल काफ्लेले भन्नुभयो, “म यहाँको जुनार नखाई यात्रा अगाडि बढाउँदिन । श्रीमतीले पनि सिन्धुलीबाट जुनार लिएर आउनु है भनिकीछिन्, लिएर जान्छु ।”

मङ्सिरदेखि माघसम्म जुनारको याम हो । यस समयमा राजमार्ग छेउका पसल र यहाँका बजारहरू जुनारले भरिएका हुन्छन् । “हामीलाई किसानले ताजै जुनार उपलब्ध गराउँछन् । दुई दशकदेखि जुनारको व्यापार गदैँ आएको छु । यहाँ जुनार किन्ने मुख्य ग्राहक भनेकै बिपी राजमार्गका यात्रुहरू हुन्,” खनियाखर्ककी जुनार व्यापारी सावित्रा थापामगरले सुनाउनुभयो । किसान कुसुमकुमारी ठकुरी भने जुनार किसानले उचित मूल्य नपाएको गुनासो गर्नुहुन्छ । व्यापारीले पसलैपिच्छे फरक–फरक मूल्य लिने गरेकोमा उहाँको आपत्ति छ । “बजारमा जुनारको मूल्यमा एकरूपता छैन । व्यापारीअनुसार फरक–फरक छ । किसानसँग प्रतिकिलो ६० देखि ८० रूपियाँमा किन्छन् तर व्यापारीले भने ८० देखि १३० रूपैयाँसम्ममा बेचिरहेका छन्,” उहाँले भन्नुभयो ।

गोलञ्जोरलाई जुनार गाउँपालिका बनाउने प्रयास

तीनकन्या जिल्लाकै जुनार उत्पादनको मुख्य केन्द्रका रूपमा परिचित छ । गोलञ्जोरका छ वटा वडामा जुनारको व्यावसायिक उत्पादन हुन्छ । रतनचुरा, बितिजोर, भुवनेश्वरी, बाशेश्वर, डुडभञ्ज्याङ जुनारको व्यावसायिक उत्पादन र निर्यातले सबल बन्दै गएको छ ।

‘‘गोलञ्जोरको भूमि जुनार उत्पादनका लागि अत्यन्त उपयोगी मानिन्छ । यसको खेती हाम्रो प्राथमिकतामा छ,’’ गाउँपालिका प्रमुख शङ्करराज बरालले भन्नुभयो, “गोलञ्जोरको मुख्य चिनारी नै जुनार हो । जुनार गोलञ्जोरको मात्रै होइन, जिल्लाको पहिचान बनिसकेको छ ।” उहाँले जुनारको प्रचार र प्रवधनका लागि गाउँपालिकाको नाम परिवर्तन गरेर जुनार गाउँपालिका राख्ने प्रयासमा आफू रहेको समेत बताउनुभयो ।जुनार उत्पादनमा देखा पर्ने रोगकिराका विभिन्न समस्या समाधानका लागि थप पहल आवश्यक रहेको उहाँको भनाइ छ । ‘‘प्रत्येक वर्ष विभिन्न रोग र किराको समस्याले जुनार उत्पादनमा असर पुर्‍याइरहेको छ । यसले किसानहरूको आम्दानीमा प्रत्यक्ष प्रभाव पारेको छ,’’ उहाँले चिन्ता व्यक्त गदैँ भन्नुभयो, “रोग र किराको नियन्त्रणका लागि अनुसन्धान र दीर्घकालीन समाधानका लागि प्रदेश सरकार, सङ्घ सरकार र सरोकारवालासँग विनम्र अनुरोध गर्दछु ।”

जुनार ढुवानीमा चुनौती

तीनकन्याको जुनारले स्थानीय हुँदै राष्ट्रिय बजारसम्म आफ्नो पहिचान बनाइसकेको छ तर कच्ची सडकका कारण बगैँचाको जुनार बजारसम्म ढुवानी गर्न चुनौती छ । वर्षा हुँदा सडक हिलोले भरिन्छ भने हिउँदमा धुलाम्मे सडक उत्तिकै जोखिमपूर्ण छ । हरेक वर्ष किसानले उत्कृष्ट गुणस्तरका जुनार उत्पादन गरे पनि ढुवानी व्यवस्थित नहुँदा मिहेनतअनुसारको फाइदा लिन सकिरहेका छैनन् ।

“मिहेनत गरेर उत्पादन गरेका जुनार बिग्रिने डरले बिचौलियालाई सस्तोमा दिन बाध्य छौँ । आफैँले बजार लगेर बेच्न पाए आम्दानी बढ्ने थियो, सडक राम्रो नभएकाले जुनार ढुवानी खर्च अत्याधिक महँगो पर्छ,” किसान मञ्जुकुमारी आलेमगरले गुनासो गर्नुभयो । खनियाखर्क–कमारेभञ्ज्याङ–तीनकन्या सडक चिसासानीसम्म मात्रै कालोपत्रे भएको छ । जुनार उत्पादनबाट किसानको आर्थिकस्तर माथि उठाउन सबैभन्दा पहिले कच्ची सडकको समस्या समाधान गर्नु पर्नेमा किसानहरूको जोड छ । जुनारमा लाग्ने रोगकिरा र सडक समस्याको समाधान गर्नका जिल्ला समन्वय समितिले चासो देखाएको छ । जुनार उत्पादित क्षेत्रको अनुगमन गर्न तीनकन्या पुग्नुभएकी उपप्रमुख शान्ता कार्कीले तीनै तहका सरकार र सरोकारवालाहरूसँग छलफल गरेर जुनार किसानका समस्या समाधानका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

‘जुनार सुपरजोन’ कार्यक्रम कार्यान्वयन

जुनार उत्पादनमा देशकै अग्रणी मानिएको तीनकन्यालाई जुनारको राजधानीका रूपमा पहिचान स्थापित गर्न प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाई (जुनार सुपरजोन) कार्यक्रमले महत्त्वपूर्ण टेवा पुर्‍याएको छ । गोलञ्जोर गाउँपालिकाको वडा नं १ देखि ६ सम्मका तीनकन्या, रतनचुरा, बितिजोर, भुवनेश्वरी, बाशेश्वर, डुडभञ्ज्याङ, कमलामाई नगरपालिका–३ जलकन्या र तीनपाटन गाउँपालिका–१ तोश्रामखोला जुनार सुपरजोनका क्षेत्र हुन् । जुनार सुपरजोन कार्यक्रम कार्यान्वयन भएका यी आठ वटा वडामा जुनार बढाउने, बचाउने र जुनारको बजारीकरण गर्ने कार्यमा कार्यक्रमले किसानलाई सघाउँदै आएको छ ।

जुनार सुपरजोन सिन्धुलीका प्रमुख यमकुमार श्रेष्ठका अनुसार जुनार सुपरजोन कार्यक्रमले यस क्षेत्रमा हालसम्म २३७ हेक्टरमा जुनार बगैँचा विस्तार गरिसकेको छ । पन्ध्र वटा नर्सरीमार्फत गुणस्तरीय जुनारको बिरुवा उत्पादन भइरहेको छ भने जुनारमा लाग्ने रोगकिरा नियन्त्रण, सिँचाइ व्यवस्थामा निरन्तर प्राविधिक सहयोग गर्दै आएको छ । जुनारको भण्डारणका लागि १४ वटा शीतभण्डार निर्माण गरिएको छ । “किसानले मङ्सिर–माघसम्म शीतभण्डारमा जुनार भण्डारण गरेर वैशाखमा दोब्बर मूल्यमा बिक्री गर्न पाउँदा उनीहरूको आम्दानीमा उल्लेख्य सुधार भएको छ,” सुपरजोन कार्यक्रमका प्रमुख श्रेष्ठले भन्नुभयो ।

जुनारको बजारीकरणलाई थप प्रभावकारी बनाउन जुस, वाइन, जामजेली र जुनारको पातको चियालगायतका प्रशोधित परिकार उत्पादनका लागि सम्भावना अध्ययन भइरहेको उहाँले बताउनुभयो । स्थानीय होटलहरूमा जुनारका विभिन्न परिकार बिक्री गर्ने व्यवस्था मिलाइने छ । साथै, जुनार प्रवद्र्धनका लागि होमस्टे सञ्चालन गरेर पर्यटन विकासमा जोड दिइएको उहाँले सुनाउनुभयो ।प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाई, सिन्धुलीको तथ्याङकअनुसार जिल्लामा हाल एक हजार ३१८ हेक्टरमा जुनार र सुन्तलाको खेती भइरहेको छ । यसमध्ये सात सय ९४ हेक्टरका बोटले उत्पादन दिइरहेको छ । जिल्लामा यस वर्ष ५२ करोड बराबरको जुनार, सुन्तला बिक्री हुने आँकलन छ । जिल्ला जुनारको हबका रूपमा विकासित हुँदा समृद्ध सिन्धुली निर्माणमा सहयोग पुग्ने मात्र नभई देशकै आर्थिक आम्दानी बढाउनसमेत योगदान पुग्ने देखिन्छ ।

 

 

जनकपुरमा जलाइयो प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला

नेपाल प्रिमियर लिग (एनपीएल) को अन्तिम खेलपछि जनकपुर बोल्टस्‌का समर्थकमाथि भएको कुटपिट तथा गरिएको दुर्व्यवहारको विरोधमा जनकपुरका युवाहरूले प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकको पुत्ला जलाएका छन् ।

सोमबार जनकपुरका युवाहरूले भानुचोकमा प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकको पुत्ला जलाएका हुन् । उनीहरूले गृहमन्त्रीविरूद्ध नाराबाजीसमेत गरेका थिए ।

शनिबार त्रिभुवन विश्वविद्यालयको गेट नजिकै एक समूहले सर्लाहीको बलरा घर भएका अमनकुमार सिंहलाई कुटपिट गरेको थियो ।

कुटपिटपछि मधेशी आयोगलगातयमा उजुरी परेपछि प्रहरीले क्रिकेट मैदान बाहिर युवकमाथि कुटपिट गरेको घटनाबारे छानबिन थालेको छ ।

 

 

अहिले काँग्रेसमा विचलन छ- नेता कोइराला

नेपाली काँग्रेसका नेता डा‍। शेखर कोइरालाले नेपाली काँग्रेसभित्र विचलन रहेको स्विकार गर्नुभएको छ । सोमवार काठमाडौंमा कृष्णप्रसाद भट्टराईको १०१ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अहिले पार्टीमा विचलन रहेको बताउनुभएको हो । उहाँले आफूलाई ४०:६० को भागबण्डामा लागेको आरोप लागेपनि पार्टी सभापतिले सबै नेताहरुको कुरा नसुनेपछि बाध्य भएको बताउनुभयो । सभापति शेरबहादुर देउवाले सबै नेताहरुको कुरा नसुन्दा चुप लागेर बस्न नसकेको उहाँको स्पष्टीकरण थियो ।

सभापतिले केही पनि कुरा नसुन्दा राजनीति गर्नेहरुलाई अफ्ठ्यारो पर्ने जिकिर गर्नुभयो । उहाँले पार्टी सभापति देउवा पूर्वप्रधानमन्त्री स्व। भट्टराईको अनुयायी भएको बताउँदै सभापति देउवाले नै गटलाई फस्टाइदिने गतिविधि गर्नुभएको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो, अहिले पार्टीमा वास्तवमा हामीको विचलन छ । स्वीकार्नुपर्छ । अघि राजेशजीले भन्नुभयो, शेखरजी पनि अब त भागबण्डामा लागि सक्नुभयो भनेर । ४०ः६० को भागबण्डा भनेर भन्नुभयो। मैले पहिले भनेकै हो । तर भागबण्डा भनेर चुप लागेर बस्ने त होइन नि । उहाँले केही पनि सुन्दै नसुन्ने हो भने सभापतिजीले अनि त अफ्ठ्यारोमा पर्छ । राजनीति गर्नेहरुलाई अफ्ठ्यारो पर्छ । यो हामीले बुझ्न जरुरी छ । इतिहासकारहरुले पनि यो बुझ्न जरुरी छ । त्यसलाई कसले म्यानेज गर्ने भन्दा किसुनजीकै अनुयायीहरुले हो ।

अहिलेको आदरणीय सभापति किसुनजीको एकदम अनुयायी रहेको बताउँदै गुटलाई फस्टाइदिने काम नै उहाँले गरिसकेपछि अनि अफ्ठ्यारो परिस्थिति सिर्जना हुँरो रहने उल्लेख गर्नुभयो । अहिले जसरी देशको राजनीतिक परिस्थिति अगाडि बढेको छ । त्यो राजनीतिक परिस्थिति किसुनजीहरु भएको भए के गर्नुहुन्थ्यो भन्ने लाग्छ । विपी, गणेशमान र अरु नेताहरु भएको के गर्नुहुन्थ्यो,उहाँले भन्नुभयो ।

नेता कृष्णप्रसाद भट्टराईले संवैधानिक राजतन्त्र हुनुपर्छ भन्ने एजेण्डा लिएर अघि बढ्नुभएको स्मरण गर्नुभयो । अग्रजहरुले देखाएको बाटोमा नेपाली काँग्रेस हिँड्नुपर्ने बताउनुभयो ।

 

 

रास्वपा सभापति लामिछानेको सांसद पद निलम्बन, डीपी अर्याल कार्यवाहक सभापति

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पदबाट निलम्बन गरिएको छ । संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले सोमबार सूचना प्रकाशित गरी निलम्बन भएको जानकारी गराउनुभएको हो ।

महासचिव पाण्डेयद्वारा जारी सूचनामा भनिएको छ, “प्रचलित कानुन बमोजिम स्थापित संगठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्रसेवक ऐन बमोजिम थुनामा रहेकोमा थुनामा रहेको अवधिभर सो मुद्दाको किनारा नलागेसम्म निलम्बन भएको मानिनेछ ।”

लामिछानेविरुद्ध आइतवार मात्र जिल्ला सरकारी वकिल कार्यालय कास्कीले सम्पत्ति शुद्धिकरण, संगठित अपराध र सहकारी ठगीसमेतमा गरी तीनवटा मुद्दा दायर गरेको थियो ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्यालले पाएका छन् । रास्वपाको सोमबार बसेको सचिवालय बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी अर्याललाई दिने निर्णय भएको एक पदाधिकारीले जानकारी दिए ।

कास्की प्रहरीले सम्पत्ति शुद्धीकरण ऐनअनुसार पार्टी सभापति रवि लामिछानेको सांसद पद निलम्बन गर्न संसद सचिवालयमा पत्र पठाएपछि अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी तोकेको हो ।

पार्टी कार्यवाहक प्रवक्ता मनिष झाले दिएको जानकारी अनुसार आकस्मिक बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई दिने निर्णय गरेको छ ।

यस्तै बैठकमा पार्टी सभापति रवि लामिछानेविरुद्ध विभिन्न अभियोग लगाई सरकारले जिल्ला अदालत कास्कीमा दर्ता गरेको मुद्दाका विषयमा संक्षिप्त ब्रिफिङ भएको छ ।