Page 230 – Nepalboli

एमालेले बोलायो केन्द्रीय कमिटी बैठक पुसको २१ र २२ गते

नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । आगामी पुसको २१ र २२ गते बस्नेगरी बैठक बोलाइएको उपाध्यक्ष सुरेन्द्र पाण्डेले जानकारी दिए । बुधबार बसेको सचिवालय बैठकले केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको हो ।

‘बैठकका लागि राजनीतिक प्रतिवेदन, संगठनात्मक कामहरूको बारेमा जानकारी, विगतमा सचिवालय स्थायी कमिटी र पोलिटब्यूरोले गरेका निर्णयका अनुमोदन र समसामयिक प्रस्ताव गरेर चारवटा एजेन्डा तय गरेका छौं,’ उपमहासचिव प्रदीप ज्ञवालीले भने ।

 

 

 

संसदीय लोकतन्त्र प्रवर्द्धन गर्न सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण छ

सभामुख देवराज घिमिरेले संसदीय लोकतन्त्र प्रवर्द्धनका लागि सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभएको छ । आज भक्तपुरको नगरकोटमा सम्पन्न ‘संसद्-सञ्चार’ अन्तरसंवाद कार्यक्रममा उहाँले पत्रकारिता पेसालाई लोकतान्त्रिक पद्धतिमा सँगसँगै लिएर गए मात्रै लोकतन्त्र बलियो हुने विश्वास व्यक्त गर्नुभयो ।

“लोकतन्त्रलाई बलियो बनाउन प्रभावकारी संसद् बन्नुपर्छ । प्रभावकारी संसद् बनाउन सञ्चारमाध्यम र पत्रकारले निगरानी गर्न आवश्यक छ”, सभामुख घिमिरेले भन्नुभयो, “सत्यतथ्यमा आधारित भएर सही सूचना प्रवाह गर्नु सञ्चारमाध्यमको पहिलो दायित्व हो । त्यसैले संसदले गर्ने गतिविधिलाई सुधार गर्न रचनात्मक सञ्चारमाध्यम र पत्रकारको सहयोग आवश्यक पर्दछ ।”

अहिले संसदमा बजेट र विधेयकहरूको प्रभावकारी छलफल भइरहेको बताउँदै सभामुख घिमिरेले यसको सूचना जनस्तरसम्म पुग्नुपर्नेमा जोड दिनुभयो । संसदलाई थप प्रभावकारी बनाउन सचिवालयले नयाँ ढङ्गबाट काम गरिरहेको उहाँले बताउनुभयो ।

उपसभामुख इन्दिरा रानामगरले संसदीय ‘रिपोर्टिङ’ गर्दा संसदीय अभ्यास र प्रक्रियाका विषयमा पत्रकार जिम्मेवार र इमानदार भएर समाचार सङ्कलन गर्नुपर्ने बताउनुभयो । संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले पत्रकारसँगको अन्तरक्रियाले सुधार गर्नुपर्ने कामका बारेमा जानकारी प्राप्त भएको उल्लेख गर्नुभयो । कार्यक्रममा सहभागी पत्रकारहरुले राजनीतिक दल, सांसद र सरकारलाई संसद्प्रर्ति उत्तरदायी बनाउनुपर्ने र संसदीय ममिलाका विषयहरू छलफलका माध्यमबा संसद्को वरिपरि रहेर निर्णय हुनुपर्ने बताउनुभएको थियो ।

दुई दिनसम्म सञ्चालित कार्यक्रममा संसद् सचिवालयका सचिव डा रोजनाथ पाण्डे, वरिष्ठ पत्रकार एवम् संसदीय रिपोर्टिङ विज्ञद्वय हरिबहादुर थापा र जगत नेपालले संसदीय रिपोर्टिङ र अभ्यासका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम संसदीय रिपोर्टिङ गर्ने पत्रकारहरूको सहभागिता थियो ।

 

 

 

सबै राजनीतिक दलसँग छलफल गरेरै संविधान संशोधन- उपप्रधानमन्त्री सिंह

उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले सबै राजनीतिक दलहरूसँग छलफल गरेरै संविधान संशोधनको प्रक्रिया अघि बढाउने बताउनुभएको छ । बुधबार रूपन्देहीमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपप्रधानमन्त्री सिंहले संविधान संशोधनका लागि कांग्रेस, एमालेको कार्यदल बनिसकेको र कार्यदलले आन्तरिक रूपमा काम गरिरहेको बताउनुभयो ।

‘‘संविधान संशोधनको प्रक्रियालाई अगाडि बढाउन कांग्रेस र एमालेको कार्यदल गठन भइसकेको छ । कार्यदलले सबै राजनीतिक दलसँग छलफल गर्छ । सबै दलसँग छलफल गरेर नै संविधान संशोधनको प्रक्रिया अगाडि बढ्छ ।,’’ उहाँले भन्नुभयो । उपप्रधानमन्त्री सिंहले बुधबार रूपन्देहीको सियारी गाउँपालिकामा सियारी पर्यटन करिडोरको शिलान्यास र दयानगर दानव लिफ्ट सिँचाइ योजनाको उद्घाटन गर्नुभयो । पर्यटन करिडोर र लिफ्ट सिँचाइ आयोजनाले सियारी गाउँपालिकाका नागरिकको आर्थिक अवस्था परिवर्तन गराउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

‘‘गरे देशमै हुन्छ भन्ने उदाहरण सियारी गाउँपालिका बनेको छ । देशमा केही भएन भन्ने भाष्य बनाउन खोजिएका बेला सियारी गाउँपालिकाले एउटा नमुना प्रस्तुत गरेको छ,’’ उपप्रधानमन्त्री सिंहले भन्नुभयो, ‘‘पर्यटन करिडोरले यहाँको पर्यटन प्रवर्द्धनमा योगदान पुग्ने छ भने लिफ्ट सिँचाइले यहाँको कृषि उत्पादन बढाउने र यहाँका कृषकको समृद्धिका लागि योगदान पुग्नेमा विश्वस्त छु ।’’

 

अराजकता मौलाउन दिइनु हुँदैन- वरिष्ठ उपाध्यक्ष पोखरेल

नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सञ्चार जगतले लोकप्रियतावाद र अराजकतालाई प्राथमिकता दिन नहुने बताउनुभएको छ । बुधवार प्रेस चौतारी नेपाल र प्रेस युनियनले काठमाडौंमा संयुक्त रुपमा आयोजना गरेको पत्रकार महासङ्घका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।

उहाँले नेपाली राजनीतिमा पछिल्लो समय लोकप्रियतावाद र राजनीतिमा अराजकता मौलाउँदै गएको बताउनुभयो । उहाँले पपुलिजम र राजनीतिमा अराजकताका विषयमा ध्यान दिन जरुरी रहेको बताउनुभयो । वरिष्ठ उपाध्यक्ष पोखरेलले सञ्चार जगतले पत्रकारिताको माध्यमबाट राजनीतिक पार्टीका कमजोरी बाहिर ल्याएर सुधारका लागि सकारात्मक दबाब सिर्जना गर्नुपर्ने बताउनुभयो ।

उहाँले नेपालमा गौरवशाली इतिहास बोकेका राजनीतिक पार्टीहरू रहेको बताउनुभयो । उहाँले राजनीतिक अराजकता र लोकप्रियतावादको पछाडि लागेर सञ्चार क्षेत्र अघि बढे मुलुकका लागि दुर्भाग्य हुने बताउनुभयो । उहाँले पत्रकारीता पनि राजनीतिक अराजकता र लोकप्रियतावादबाट जोगिन जरुरी रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘पछिल्लो समय राजनीतिमा अराजकता र पपुलिजम देखापरेको छ । यी दुई चिजले जरा फैलाउँदैछ । अराजकताको एउटा र पपुलिजमको अर्को समूह छ । यी दुवैलाई हामीले ख्याल गर्नु पर्नेछ । राजनीतिक पार्टीहरूका कमजोरीहरू छन्, त्यसलाई सञ्चार जगतले देखाउनु पनि पर्छ । सुधारका लागि सकारात्मक दबाब सिर्जना गर्नुपर्छ । सबैले बुझ्नुपर्ने कुरा नेपालमा गौरवशाली इतिहास बोकेका राजनीतिक पार्टीहरू छन् । भविष्यको मार्गचित्र बनाएका राजनीतिक पार्टीहरू छन् । पपुलिजमका सस्ता कुराहरूका आधारमा अघि बढ्ने होइन, हामी सबैको ध्यान जान जरुरी छ भन्नुहुँदै नेता पोखरेलले भन्नुभयो, “राजनीतिक अराजकता र पपुलिजमबाट जोगिन जरुरी छ । यसमा हाम्रो ध्यान पुगेन भने मुलुक दुर्भाग्यतर्फ जान्छ । कम्युष्निट र कांग्रेस नेपाली राजनीतिमा मूल भूमिका निर्वाह गर्दै आएका पार्टी हुन् । कांग्रेस र कम्युनिष्टको बहुआयामिक सम्बन्ध छ । मुलुकमा अफ्ठ्यारो परिस्थिति आउँदा दुई पार्टी मिलेका छौं । सबै क्रान्तिहरू पूरा गरेको छौं ।’

उहाँले नेपालमा कम्युनिष्ट र कांग्रेस नेपाली राजनीतिमा मूल भूमिका निर्वाह गर्दैआएका पार्टी भएकाले बहुआयामिक सम्बन्ध रहेको बताउनुभयो । उहाँले मुलुकमा अफ्ठ्यारो परिस्थिति आउँदा दुई पार्टी मिलेर सबै क्रान्तिहरू पूरा गरेको

 

 

 

भीम रावलको सधारण सदस्यता समेत नरह्नेगरि एमालेद्धारा कारवाही

बिन्दा पाण्डे र उषाकिरण तिमल्सिनालाई ६ महिना निलम्बन

नेकपा (एमाले) को बुधबार बसेको सचिवालय बैठकले नेता डा भीम रावललाई संगठित सदस्यबाट नै मुक्त गर्ने निर्णय गरेको छ । यो निर्णयसँगै रावललाई एमालेले साधारण सदस्यबाट हटाएको छ । बुधबार दिउँसो पार्टी कार्यालय च्यासलमा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि जानकारी दिनुहुँदै उपमहासचिव प्रदीप ज्ञवालीले नेता रावललाई पार्टीको संगठित सदस्यबाट मुक्त गर्ने निर्णय भएको जानकारी दिनुभएको हो ।

त्यसैगरी, पार्टी केन्द्रीय कार्यालयका सम्बन्धमा सार्वजनिकरुपमा टिप्पणी गर्नुभएका स्थायी कमिटी सदस्य डा। बिन्दा पाण्डे र नेता उषाकिरण तिम्सिनालाई ६ महिनाका लागि जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको ज्ञवालीले जानकारी दिनुभएको छ ।

रावलले पछिल्लोपटक केन्द्रीय कार्यालय भवन व्यापारी मीनबहादुर गुरूङबाट लिने निर्णयप्रति विरोध जनाएका थिए । यसपछि गत ४ कात्तिकमा एमालेले रावलसहित स्थायी कमिटी सदस्य डा।बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सेनालाई स्पष्टीकरण सोधेको थियो ।

पाण्डे र तिमल्सेनाले स्पष्टीकरण बुझाएपनि रावलले कुनै जवाफ दिएका थिएनन् । तर आजको सचिवालय बैठकले स्पष्टीकरण पत्र लेख्ने पाण्डे र तिमल्सेनालाई पनि ६ महिना जिम्मेवारीबाट हटाउने निर्णय एमालेले गरेको छ ।

यसबाट म विचलित हुन्नँ- भीम रावल
एमालेले गरेको निर्णय गरेसँगै रावलले आफू विचलित नहुने बताएका छन्। ‘मलाई कारबाही गर्ने ओली प्रवृत्तिको निरन्तरता हो, यसबाट म विचलित हुन्नँ,’ उनले भने। ओलीको निर्णय अलोकतान्त्रिक, निरंकुश, स्वेच्छाचारी र तानाशाही भएको समेत उनले टिप्पणी गरेका छन्।

‘केपी ओली राष्ट्र, राष्ट्रियता, देशभक्तिको आवाजबाट आत्तिएर उनले मलाई कारबाही गरेका हुन्,’ उनले भने। उनले अगाडि थपे, ‘विगतका कम्युनिष्ट पार्टीले प्रतिक्रियावादीहरूसँग साँठगाँठ गर्दै पदका लागि जोसँग पनि सम्झौता गरिरेहका छन्।’

पूर्वउपाध्यक्ष रावलले लामो समयदेखि पार्टीको नीतिसँग असहमति राखेर आफ्ना विचार प्रकट गरिरहेको थिए।

माछा, मासु र खैनी, मदिरा नचल्ने लिम्बु गाउँ

इलाममा यस्तो गाउँ छ जहाँ मासु र मदिरा सेवन प्रतिबन्ध छ । लिम्बु समुदाय बाहुल्यता रहेको माङ्सेबुङमा शाकाहारी भोजन मात्रै चल्छ । चुरोट, बिडी, खैनी र मदिराको सेवन निषेध छ । यो स्थानीय सरकारले बनाएको कानून भने होइन, स्थानीय आफैले यसको पालना गरिरहेका छन् । ‘कसैले बाहिर गएर खायो भने उनीहरू नै जानुन् तर गाउँमा भने चल्दैन’, स्थानीय अग्रज केहेरसिंह योङहाङले सुनाए । उनका अनुसार यहाँका होटल तथा रेष्टुरेन्टमा पनि मासु पाक्दैन र मदिरा बिक्रीका लागि राखिँदैन ।

माङ्सेबुङ गाउँपालिका ३ र ५ नम्बर वडामा पर्ने सो गाउँका मानिसले बाहिर जाँदा समेत निषेधित वस्तु सेवन नगर्ने गरेको स्थानीयको दाबी छ । करिब एक हजार पाँच सय परिवार बसोबास गर्ने सो क्षेत्रमा उनीहरुले कहिल्यै पनि मदिरा र मासु सेवन गर्दैनन् । यहाँका मानिसले किरात धर्म मान्छन् । सो धर्म मानेपछि हत्या, हिंसा र फटाई गर्न नहुने मान्यताले मासु र मदिरा निषेध गरिएको स्थानीयको भनाइ छ ।

गाउँको प्रवेशद्वारमै बोर्डमै यसबारे जानकारी गराइएको छ । सो गाउँलाई २०७२ सालमा शाकाहारी गाउँ घोषणा गरिएको स्थानीय अग्रज केहेरसिंह योङहाङले बताउनुभयो । उहाँका अनुसार गाउँमा खान नहुने र बाहिर गएर समेत सो क्षेत्रका स्थानीयले निषेधित वस्तु सेवा नगर्ने गरेको उहाँको जिकिर छ ।

किरात लिम्बू भाषा अनुसार माङ भनेको देवता र सेबुङ्ग भनेको छानेको ठाउँ अर्थात देवता ९ईश्वर०ले छानेको ठाउँ भन्ने विश्वास गरिन्छ । किरात धर्म मान्ने समुदाय पछिल्लो समय बढ्दै गएको स्थानीयको भनाइ छ । उक्त धर्म मान्नेहरूले घरैपिच्छे तीन वटा बाँसका लिङ्गोमा रातो र सेतो ध्वजा राख्छन् । साथै सूर्य अङ्कित ध्वजा समेत राखिएको छ ।

माङसेबुङ गाउँपालिकामा रहेको लारुम्बा गाउँको चिनारीकै रूपमा यसलाई लिइन्छ । लारुम्बा गाउँ किराँत धर्मगुरु आत्मानन्द लिङ्देनको कर्म थलो हो । सोही धर्म अनुसरण गर्नेहरुको बसोबास रहेका कारण नै सो क्षेत्रमा हानिकारक वस्तु निषेधित गरिएको हो ।

धर्मगुरु लिङ्देनका सबै अनुयायी शाकाहारी छन् । अनुयायीहरूले माछा मासु मात्रै होइन, मदिरा र सुर्ती चुरोट पनि सेवन गर्न हुँदैन भन्ने परम्परा छ । मदिरा सेवन नहुने भएकाले हल्ला र झगडा पनि खासै नहुने स्थानीयले बताए ।

गाउँमा जथाभावी फोहोर गर्न पाइँदैन । साथै सुँगुर, बङ्गुर र कुखुरा पाल्न पनि पाइँदैन । गाउँमा किरात धर्मगुरुबाट आशीर्वाद लिन स्वदेशी तथा विदेशी उच्च पदस्थ व्यक्तिहरुको समेत आगमन भइरहने वडा नं ३ का अध्यक्ष लक्षुमन राई (जनम) ले बताए ।

 

 

तेह्रथुमको चोत्लुङ ‘पार्क’ लिम्बू संस्कृति अध्ययन केन्द्र बन्दै

तेह्रथुम । लालीगुराँस नगरपालिका–३ वसन्तपुरमा निर्मित चोत्लुङ ‘पार्क’ पर्यटनसँगै याक्थुङ (लिम्बू) संस्कृति अध्ययनको केन्द्रका रूपमा विकसित भएको छ । प्रकृति, संस्कृति र इतिहासको सम्मिश्रण चोत्लुङ पार्कमा परम्परागत वास्तु शैलीमा निर्मित घरहरू, ढु्ङ्गा बिछ्याएर बनाइएका फलैँचा र बिसौनीले लिम्बू संस्कृति मात्र झल्काउँदैन पार्क पुग्ने पर्यटकको मन पनि लोभ्याउँछ ।

गुराँसे जङ्गलको बीचमा रहेको पार्कमा फुन्जिङ्बा पैंयू, सिङ्चाङ्गो याम्चाङ्गो (धसिङ्गरे), ते लासे (केरा), लि सिङ्फा (मलिबाँस) जस्ता मुन्धुममा वर्णित वनस्पति रोपिएका छन् । मुन्धुममा वर्णन गरिएजस्तो अग्लाअग्ला ढुङ्गा गाडिएका छन् र तीनको फेदमा दुबो रोपिएको छ । पार्कमा मुन्धुमी सभ्यता प्रतिविम्बित भएको अनुभूत हुने चोत्लुङ पार्कमा घुम्दै भेटिएका इलामका पर्यटक चञ्चल लिम्बूले बताए । युट्युब र फेसबुकमा चोत्लुङ पार्क देखेर घुम्न आएको उनले सुनाए ।

त्यसैगरी धरानबाट आफ्नो छोरीका लागि पूजा गर्न चोत्लुङ पार्क आएको चन्द्रा लिम्बूले बताइन् । चोत्लुङजस्तो पवित्र स्थानमा पूजा गर्दा बिरामी छोरीले स्वस्थ्यलाभ गर्ने विश्वासमा पूजा गर्न आएको उनले बताइन् । चोत्लुङ पार्कमा लालीगुराँस नगरपालिकाले एक पुजारी राखेको छ ।

चोत्लुङ पार्कभित्र युमा सङ्ग्रहालय छ । सङ्ग्रहालय गोरखाका राजा पृथ्वीनारायण शाह र लिम्बूवानबीच विभिन्न समयमा भएका सन्धि, सम्झौता, रुक्कालगायत ऐतिहासिक कागजात र दस्तावेज सङ्ग्रहित छन् । लिम्बूहरूसँग सम्बन्धित पुराना गरगहना, वेशभूषा, हातहतियार, परम्परागत घरेलु उपकरण, वास्तुकला, सिक्कालगायत महत्त्वपूर्ण सामग्री पनि सङ्ग्रहालयमा सुरक्षित छन् ।

सङ्ग्रहित वस्तु लिम्बूको इतिहास र संस्कृतिसम्बन्धी खोज, अनुसन्धाताका लागि उपयोगी हुने किरात याक्थुङ चुम्लुङका सचिव राजकुमार तेयुङले बताउनुभयो । ‘चोत्लुङ’ याक्थुङ भाषाको अर्थ ‘सिद्धि’ र ‘पूर्णता’ हुने तथा चोत्लुङ जीवनमा एकपटक पुग्नैपर्ने स्थानका रूपमा मुन्धुममा रहेको म्याङलुङ–२ का लिम्बू संस्कृतिका जानकार बलदेव तुम्बाहाम्फेले बताए ।

विसं २०७४ देख निर्माण सुरु भएको चोत्लुङ पार्क एक सय रोपनीभन्दा बढी क्षेत्रमा फैलिएको छ । चोत्लुङ पार्क निर्माणमा प्रदेश सरकार, लालीगुराँस नगरपालिका, नयाँ सहर आयोजनाको कार्यालय वसन्तपुर र अन्य निकायको गरी हालसम्ममा रु दुई करोड बढी खर्च भएको लालीगुराँस नगरपालिकाका प्रवक्ता देवेन्द्र खड्काले बताए ।

आन्तरिक मात्र नभएर बाह्य पर्यटकको चासोको केन्द्रका रूपमा पार्क स्थापित भइरहेको प्रवक्ता खड्काले बताए । उनका अनुसार देशभित्र मात्र नभएर सिक्किम, दार्जिलिङ, बेलायत, अफ्रिका, चीनलगायत देशबाट अवलोकनका लागि आउने गरेका छन् । पर्यटकलाई पार्क अवलोकनका लागि रु ५० र सङ्ग्रहालय अवलोकनका लागि रु १०० शुल्क लिने गरिएको छ । पार्क घुम्न आउने पर्यटकबाट मात्र गत वर्ष रु १४ लाख राजस्व सङ्कलन भएको छ ।

चोत्लुङ पार्क गुराँसको राजधानी तिनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रको प्रवेशद्वारमा अवस्थित छ । टिएमजे भ्रमण गर्नेहरू चोत्लुङ पार्कको दर्शन गरेर मात्र फर्कने गरेका छन् । मध्यपहाडी लोकमार्गको वसन्तपुर बजार नजिक रहेको यो पार्क प्रचारप्रसारको अभावमा ओझेल परेको छ ।

 

 

रसुवा भ्रमण गर्ने २५ हजार नाघे, राजस्व सङ्कलन सन्तोषजनक

रसुवाको पवित्र तीर्थस्थल गोसाईकुण्ड र लाङटाङ क्षेत्र भ्रमण गर्ने पर्यटकको सङ्ख्या पच्चीस हजार नाघेको छ । चालु आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्म जम्मा २५ हजार पाँच सय २१ पर्यटकले गोसाईकुण्ड र लाङटाङ क्षेत्रको भ्रमण गरेको लाङटाङ राष्ट्रिय निकुञ्जका प्रमुख श्यामकुमार साहले जानकारी दिनुभयो ।

यसरी रसुवा भ्रमण गर्न आउनेमा स्वदेशी तथा विदेशी गरी महिला नौ हजार एक सय तीन र पुरुष १६ हजार चार सय १८ रहेका छन् । यसैगरी सार्क राष्ट्रका छ हजार एक सय ६७ जना विदेशी पर्यटक रसुवा घुम्न आएको निकुञ्जको विवरणमा उल्लेख छ । लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयले पर्यटक, वन पैदवार, न्यायिक दण्ड तथा जरिवाना, सरकारी सम्पतिको बहालबाट दुई करोड २८ लाख सात हजार एक सय ८३ राजस्व सङ्कलन गरेको जनाएको छ ।

निकुञ्ज क्षेत्र आसपासमा बसोबास गरिरहेका र अन्य जन्तुबाट अन्नबाली क्षति पुर्याएका ४३ किसानलाई नियमानुसार मुल्याङ्कनका आधारमा चार लाख आठ हजार छ सय ५० राहत वितरण गरेको प्रमुख साहले बताउनुभयो । निकुञ्ज संरक्षणलाई प्रभावकारी बनाउन स्थानीय निकुञ्जवासीको साथ सहयोग रहिआएको, शान्तिसुरक्षाका लागि तैनाथ श्रीनाथ गणबाट नियमित गस्ती भइरहेको, सुख्खायाममा लाग्ने डँडेलो नियन्त्रणका लागि जनचेतना जगाउने कामलाई प्राथमिकतामा राखेको र अग्नि नियन्त्रणका सामग्रीसहित पूर्वतयारी अवस्थामा रहेको निकुञ्जले स्पष्ट गरेको छ ।

यसैगरी निकुञ्जले समग्र वन तथा वनस्पति एवम् जैविक विविधताको संरक्षण गर्न समयसापेक्ष जनचेतना अभिवृद्धि गर्ने, रेडपाण्डा र हिम चितुवाको संरक्षणका लागि थप अध्ययन अनुसन्धान गराउने कामलाई प्राथमिकतामा राखेको छ । गोसाईकुण्ड जादाँ काठे-लौरीको नाममा वनस्पति नकाट्न, पवित्रकुण्डमा स्नान गरेपछि शरीरमा लगाएका कुनै पनि वस्त्र कुण्ड आसपासका क्षेत्रमा नफ्याँक्न, कुण्डतर्फ जानेक्रममा पैदलमार्गमा भेटिने जनावरलाई नजिस्क्याइ संरक्षण अभियानमा साथ दिन र तोकिएको स्थानका भाडामा मात्र फोहर राखी वातावरण संरक्षण कार्यमा साथ दिन सबै यात्रु तथा पर्यटकसमक्ष निकुञ्ज प्रमुख शाहले अनुरोध गर्नुभयो ।

धार्मिकशास्त्र अनुसार लौरीविनायकमा चढाउने लठ्ठीका लागि निगालोमात्र प्रयोग गर्न अनुरोध गर्दै भगवान शिव निलाद्रि पर्वत जाँदा बेतको लठ्ठी प्रयोग गर्नुभएकाले भक्तजनले बाँस या नियालोको लठ्ठी प्रयोग गर्दा उपयुक्त हुने प्रमुख शाहले बताउनुभयो । यसैगरी मालपोत कार्यालय रसुवाले जग्गा जमिनको कारोबारअन्तर्गत चालू आवको साउनदेखि मङ्सिरसम्म पाँच सय १० थान रजिस्ट्रेसन पारित गरेको जनाएको छ ।

मालपोत अधिकृत गणेश श्रेष्ठका अनुसार जग्गा लेनदेन कारोबारअन्तर्गत एक सय ३९ धितो बन्धकको लिखत पारित भएका छन् । रजिस्टेसन, नामसारी, जरिवाना, पूँजीगत लाभकर र अन्य विविध शीर्षकबाट पाँच महिनाको यस अवधिमा ९० लाख चार हजार एक सय ४५ राजस्व दाखिला भएको जिल्ला मालपोत प्रवक्ता सविता पौडेलले जानकारी दिनुभयो । हिमाली क्षेत्र भएका कारण चिसोयामलाई मध्यनजर गरी मालपोत कार्यालयभित्र सेवाग्राही विश्राम स्थल बनाइएको, महिला-पुरुषका लागि छुट्टाछुट्टै शौचालय र बालबच्चा लिई आउने महिला सेवाग्राहीलाई स्तनपान गराउने कक्ष, तातोचिसो पानीका लागि डिस्पेन्सर, मालपोतसम्बन्धी जानकारी दिने कक्ष र समाचार तथा मनोरञ्जनका लागि टेलिभिजनको व्यवस्था गरिएको छ ।

 

जाडोमा भक्का बेचेर खर्च जुटाउदै महिला

सुनसरी । जाडो याम सुरु भएसँगै यहाँका केही महिलाले भक्का बिक्री सुरु गरेका छन् । जाडोमा भक्का बढी बिक्री हुने भएकाले घरखर्च जुटाउन सजिलो भएको उनीहरुको भनाइ छ । धरान उपमहानगर–१० का दिया राजधामी हरेक दिन विहान र बेलुका भक्का बिक्रीका लागि घर नजिकैको गल्लीमा पुग्छिन् । उनले भक्का बेच्न सुरु गरेको चार वर्ष भयो । कात्तिकदेखि फागुनसम्म भक्का बिक्री गर्ने गरेको र यसैबाट घरखर्च जुटाउने गरेको उनले सुनाइन् ।

उनले भक्का प्रतिगोटा रु २० दरले बिक्री गर्छिन् । उनले भनिन्, “भक्का बिक्रीबाट दैनिक रु तीन हजार पाँचसयसम्म आम्दानी हुन्छ, मेहनतअनुसारको कमाइ छ, घर खर्चमा सहयोग पुगेको छ ।” उनले हरेक दिन करिब सात केजी चामलको पिठोको भक्का बिक्री गर्दै आएकी छिन् । उनका अनुसार स्थानीयहरु मर्निङ वाकदेखि नै भक्का खान झम्मिन्छन् ।

धरान उपमहानगर–१७ का जितेन्द्र राईले आफू मर्निङ वाकमा जाँदा धेरै जसो भक्का खाने गरेको सुनाए। “भक्का पानीको बाफबाट कुनै रसायन प्रयोग नगरी बनाइएको हुन्छ, जुन स्वास्थ्यका लागि पनि राम्रो पनि हुन्छ, विहानको खाजाका लागि यो निकै राम्रो छ ।”

धरान उपमहानगर–१३ का विनिता राजधामीले पनि विगत आठ वर्षदेखि भक्का बेच्दै आएको बताइन् । उनले भनिन्, “जाडो सुरु भएपछि भक्कासँगै आलुचप पनि बिक्री गर्छु, धरान–१३ को जिरोप्वाइन्टदेखि पश्चिमतर्फको गल्लीमा दिउँसो ३ बजेदेखि राति ८ बजेसम्म भक्का बिक्री गर्ने दैनिकी जस्तै बनेको छ ।”

चामललाई केही समय पानीमा भिजाएर त्यसलाई पिसेर पिठो बनाएपछि भक्का बनाउनका लागि तयार हुन्छ । भक्का विशेष गरी दाउराको प्रयोग गरेर आगोमा बनाइने हुँदा दाउरा धेरै खपत हुन्छ । अहिलो एक भारी दाउराकै रु दुई सय पर्ने गरेको उनको भनाइ छ । एक भारी दाउराले १० दिन पुग्छ । सुरुका वर्षमा भक्का प्रतिगोटा रु ५ मा बिक्री भए पनि अहिले प्रतिगोटा मूल्य रु २० पुगेको उनले सुनाइन् ।

उनका अनुसार दैनिक औसतमा रु चार हजारको भक्का र आलुचप बिक्री भइरहेको छ । जाडोमा अन्यत्र काम खोज्दै जानुभन्दा भक्का र आलुचप बिक्री गर्न सजिलो भएको उनको भनाइ छ ।

धरान उपमहानगर–१५ का सिमा राजधामीले भक्का बेचेर राम्रो आम्दानी हुने गरेको सुनाइन् । उनले भनिन्, “जाडो याममा भक्काको व्यापार आम्दानीको राम्रो स्रोत बनेको छ, भक्का बेचेरै घरखर्च जुटिरहेको छ ।” उनका अनुसार दैनिक पाँच केजी चामलको भक्का बिक्री भइरहेको छ ।

 

भूकम्पको १० वर्षपछि हनुमानढोकामा रहेको ‘आगम छेँ’ पुनःनिर्माण हुँदै

पुरातत्व विभागले विश्वसम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रमा रहेको आगम घर (आगम छेँ) पुनःनिर्माण गर्ने भएको छ । हनुमानढोका क्षेत्रको नासल चोक प्रवेश गर्ने मूल ढोकासँगै रहेको आगम घर (आगम छेँ) नेपाली सीप र शैलीमा पुनःनिर्माण गर्ने विषयमा सरोकार भएका कार्यालयबीच साझा मत भएपछि पुनःनिर्माण अघि बढेको विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले जानकारी दिए ।

२०७२ वैशाख १२ गतेको गोरखा भूकम्पले वसन्तपुर क्षेत्रका ५८ सम्पदामा क्षति भएको थियो । भूकम्पले क्षति गरेका धेरै सम्पदा पुनःनिर्माण भइसकेका छन् । केही पुनःनिर्माणको चरणमा रहेका छन् । चौक्वाठ शैलीमा निर्मित मल्लकालीन दरबारको दक्षिणपश्चिम कुनामा अवस्थित आगम छेँ मन्दिर पुनःनिर्माणका लागि अर्थ मन्त्रालयले केही दिनमै निर्णय गरेपछि थप प्रक्रिया अघि बढ्ने महानिर्देशक प्रधानाङ्गले बताए । यसका लागि सबै प्रक्रिया पूरा गरी अर्थ मन्त्रालयमा फाइल पठाइएको उनले जानकारी दिए ।

नेवार परिवारमा आफ्नै छुट्टै भगवान्स्थल हुन्छ । यसलाई आमग घर मानिन्छ । यसमा परिवारका सदस्यबाहेक अन्यलाई प्रवेश गर्न अनुमति हुँदैन । यसलाई कोठा वा मन्दिरका स्वरूपमा बनाइएको हुन्छ । हनुमानढोका दरबारभित्रको मोहनचोक प्रताप मल्लले बनाएका हुनाले यससँगैको आगम छेँ पनि उनले नै बनाएको बताइन्छ । यो तान्त्रिक दशमहाविद्या देवी अन्नपूर्णको मन्दिर हो । मन्दिरभित्र महत्वपूर्ण भित्तेचित्र छन् ।

मन्दिरको चारैतिर तोरणसहित कलात्मक ढोका छन् । आकर्षक झ्यालहरू छन् । टुँडालमा शिव सम्प्रदायका देवीदेवताका प्रतिमा कोरिएका छन् । प्रत्येक छानाको कुनामा मयुर आकृति छन् । प्रताप मल्लले विसं १७२९ मा दरबारको मुख्य प्रवेशद्वार नजिकै हनुमानको मूर्ति स्थापना गराएपछि हनुमानढोका दरबार हुन गएको जानकार बताउँछन् । त्यसपछि श्री ५ पृथ्वीनारायण शाहले विसं १८२६ मा वसन्तपुर दरबार निर्माण गराएपछि यसलाई वसन्तपुर दरबार भन्न थालिएको इतिहास छ ।

हनुमानढोका दरबारको सबैभन्दा पुरानो भाग विसं १६२० तिर तत्कालीन राजा महेन्द्र मल्लले बनाएको मूलचोकलाई मानिन्छ । सुन्दरीचोक, नासलचोक, भण्डारखाल बगैँचा, हनुमानको मूर्ति, तलेजु मन्दिर, जगन्नाथ मन्दिर, काल भौरव, काष्ठमण्डपलगायत वरिपरि रहेका अन्य सम्पदालाई यहाँको महत्वपूर्ण सम्पदा मानिन्छ ।

यस स्थानमा मुख्यगरी विभिन्न ११ वटा मुख्य चोक छन् । त्यसैगरी यहाँको अर्को महत्वपूर्ण सम्पदाका रूपमा रहेको प्रसिद्ध कुमारी घरको निर्माण कान्तिपुरका अन्तिम मल्ल राजा जयप्रकाश मल्लले विसं १८१३ मा गराएका हुन् ।

‘युनेस्को’ द्वारा बहुमूल्य सम्पदाका रूपमा सूचीकृत विश्वका स्मारक र स्थानलाई विश्वसम्पदा भन्ने गरिन्छ । कुनै पनि राष्ट्रको विशेष सांस्कृतिक महत्व राख्ने धरोहरलाई यसमा समावेश गरिन्छ । जुन विश्वसम्पदा समितिद्वारा चयन गर्ने गरिन्छ र उक्त समितिमार्फत नै संरक्षण गरिन्छ ।

काठमाडौँ महानगरपालिका हनुमानढोका दरबार संरक्षण कार्यक्रमको संयोजकसमेत रहनुभएका वडा २४ का अध्यक्ष विनोदकुमार राजभण्डारी आगम घर पुनःनिर्माणमा सहयोग गरिने बताउँछन् । परम्परागत विधि पूरा गरी पुरानै स्वरूपमा यसको पुनःनिर्माण हुने उनले बताए ।