Page 220 – Nepalboli

विपी राजमार्ग पुनर्निर्माणमा साढे नौ अर्ब खर्च हुने, कम्तिमा दुई वर्ष लाग्ने

गत असोज दोस्रो साताको बाढीपहिराले क्षतिग्रस्त बिपी राजमार्गको विभिन्न सडकखण्डको पुनर्निर्माणका लागि करिब ९ अर्ब ६६ करोड हुने भएको छ। बाढीपछि गरिएको अध्ययनअनुसार पुनर्निर्माणमा ठूलो धनराशि खर्च हुने पाइएको हो। डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार बिपी राजमार्गअन्तर्गत भकुण्डेबाट नेपालथोकसम्मको विभिन्न स्थानमा पुनर्निर्माण गर्न उक्त रकम खर्च हुने अनुमान गरिएको हो।

उक्त राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्धस्थित चौकीडाँडाबाट रोशी गाउँपालिकाको कालढुङ्गासम्म १२ किलोमिटर सडकखण्डमध्ये आठ किलोमिटर सडक पूर्ण रूपमा क्षति पुगेको थियो। कार्यालय प्रमुख सिनियर डिभिजनल इञ्जिनियर सुमन योगेशका अनुसार उक्त सडकमा तीन किसिमका पर्खाल (आरसिसी रिटेनिङ, प्लम र गेभियन वाल) लगाउनुपर्ने अध्ययनबाट देखिएको छ। अध्ययनबाट केही स्थानमा पहिला पुल बनाउनुपर्ने देखिए पनि पुल बनाउने कि, पर्खाल लगाउने भन्नेबारे छलफलपछि निष्कर्ष निकालिनेछ, उनले भने।

प्रमुख योगेशका अनुसार खोलाको बाढी आउन सक्ने ठाउँमा आरसिसी वाल लगाउनुपर्ने देखिएको छ भने कतै प्लम वाल र कतै गेभियन वाल लगाउनुपर्ने अध्ययनले देखाएको छ। क्षतिग्रस्त सडक पुनर्निर्माण गर्न स्रोत सुनिश्चितताको पर्खाइमा रहेको प्रमुख योगेश बताउँछन्। सडकखण्ड पुनर्निर्माण गर्न गएिएको अध्ययनअनुसार लाग्ने लागतको स्रोत सुनिश्चित भएको छैन, दातृ निकाय तथा नेपाल सरकारबाटै स्रोत सुनिश्चित भएपछि ठेक्का खोल्ने प्रक्रियातिर लाग्छौँ, उनले भने।

राजमार्गको भत्किएको खण्ड पुनर्निर्माणका विषयमा जापान सरकारको अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले गत कात्तिक दोस्रो साता अध्ययन गरेको थियो। उक्त राजमार्ग पुनर्निर्माणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज ३० गते नेपालका लागि जापानका राजदूत किकुता युताकासँग छलफल गरेका थिए। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जाइकासँग उक्त सडकखण्ड पुनर्निर्माणका लागि सहयोगको प्रस्ताव गरिसकेको छ। मन्त्रालय जाइकाको प्रतिवेदन र जवाफको पर्खाइमा रहेको छ।

मन्त्रालयका सचिव केशवकुमार शर्माका अनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विपद् व्यवस्थापन कोषमा रहेको बजेट माग गर्ने तयारी छ।

यस्तै दातृ निकायहरू एसियाली विकास बैंक (एडिबी) र विश्व बैंकको सहुलियतपूर्ण ऋण लिएर भए पनि राजमार्ग पुनर्निर्माणको तयारी छ। सचिव शर्मा आगामी फागुनसम्ममा ठेक्का प्रक्रिया अघि बढाउने तयारी छ। पुनर्निर्माणका लागि स्रोत सुनिश्चित लम्बिए आउने वर्षको वर्षामा यातायात सञ्चालनमा कठिनाइ ब्यहोर्नुपर्ने प्रमुख योगेशले बताए।

हाल स्रोत सुनिश्चित भएको भए काम सुरु गर्थ्यौं, अब ढिला भयो भने वर्षाभरि यातायात सञ्चालन नहुन पनि सक्छ, उनले भने। उनका अनुसार पूर्ण रूपमा सडक पुनर्निर्माण गर्न कम्तीमा दुई वर्ष लाग्छ। बिपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास) अन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडाबाट सिन्धुलीको बर्खेखोलासम्मको सडकखण्डको अधिकांश सडक क्षतिग्रस्त छ।

बाढीपहिरोले अवरुद्ध राजमार्ग दुई हप्तापछि सञ्चालनमा ल्याइए पनि सुक्खा पहिरोको जोखिमका कारण कार्यालयले गत असोज ३० गतेदेखि नै साँझ ६ बजेदेखि १० घण्टा (रातको समय) यातायात सञ्चालमामा रोक लगाउँदै आएको छ।

राजधानी काठमाडौँलाई मध्यपहाडी तथा पूर्वी नेपालसँग जोड्ने छोटो मार्गका रूपमा रहेको उक्त राजमार्ग कतै एकतर्फी तथा कतै दुईतर्फी हुनेगरी सञ्चालनमा ल्याइएको हो। जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३-०५४ देखि बिपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास एक सय ६० किमी सडक) निर्माणकार्य सुरु गरिएको थियो।

खण्डखण्ड विभाजन गरी २०७२ असार १८ गते निर्माण सम्पन्न गरी औपचारिक रूपमा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो। जाइकाले उक्त राजमार्ग निर्माण गर्दा प्रतिकिमी रु ३५ करोड लागत थियो।

 

सिरहाको विष्णुपुर गाउँपालिकाका अध्यक्ष चढ्ने गाडीमा उपाध्यक्षद्धारा तोडफोड

सिरहाको विष्णुपुर गाउँपालिकाका अध्यक्ष सत्यनारायण यादवले चढ्ने सरकारी गाडी तोडफोड भएको छ । आइतबार पालिका उपाध्यक्ष गीताकुमारी सिंहले घरबाट कार्यालय आउनको लागि गाडी उपलब्ध नगराएको भन्दै तोडफोड गरेको यादवले जानकारी दिए । यो भन्दा पहिला पनि सिंहले यस्तै खालका अन्य हर्कत गरेको उनले बताए ।

उनले भने, ‘गुरुजी खान खाएर उपाध्यक्ष ज्युलाई उहाँको घरमा लिन जाने कुरा भएको थियो । तर उहाँ मोटर साइकलमा आएर एक्कासी गाडी तोडफोड गर्नुभयो । अब कानुन अनुसार कार्वाही प्रक्रियालाई अगाडी बढाउँछौँ ।’

उपाध्यक्षले नागरिकको लागि केही नगरी सेवा सुविधा मात्र लिने गरेको अध्यक्ष यादवले दाबी गरे । पालिका बासीलाई सेवा दिने कुरामा भन्दा बढी उपाध्यक्ष आफ्नो सेवा सुविधा र फाइदा जसरी हुन्छ त्यतै लाग्ने गरेको उनले बताए । उनले भने, ‘उपाध्यक्ष ज्युसँग कुरा नमिल्दा पालिकाका अन्य काम समेत प्रभावित भइरहेको छ ।’

बा २ झ ३६४३ नं को स्कारपियो ढुंगाले हानेर तोडफोड गरिएको उपाध्यक्ष सिंह आफैँले स्वीकार गरेकी छिन् । यसबारेमा सिंहसँग थप बुझ्न खोज्दा गाडी तोडफोडको बारेमा खुलाउन चाहिनन् । तोडफोडबाट गाडीको एउटा झ्याल र पछाडिको सिसा फुटेको छ ।

 

 

नेप्से परिसूचक सामान्य अंकले बढ्यो

यो साता कारोबारको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक पाँच दशमलव ३२ अंकले बढेर दुई हजार पाँच सय ९१ दशमलव ५६ को बिन्दुमा कायम भएको हो । आज तीन सय २७ कम्पनीका ९३ लाख ८६ हजार सात सय २१ कित्ता शेयर ६१ हजार एक सय ६७ पटक खरिदबिक्री हुँदा रू। चार अर्ब ८६ करोड दुई लाख एक हजार नौ सय ७४ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा बैंकिङ शून्य दशमलव ५५, वित्त एक दशमलव ०४, उत्पादन तथा प्रशोधन शून्य दशमलव ६०, लघुवित्त शून्य दशमलव १४ र म्युचुअल फन्ड शून्य दशमलव ७४ प्रतिशतले घटेको छ । अरु सबै समूहको उपसूचक बढेको छ । विकास बैंक शून्य दशमलव ०२, होटल तथा पर्यटन शून्य दशमलव ६०, जलविद्युत् एक दशमलव ६७ र लगानी समूह शून्य दशमलव ३९ प्रतिशतले बढेको छ । त्यस्तै, जीवन बीमा शून्य दशमलव २७, निर्जीवन बीमा शून्य दशमलव ०४, व्यापार एक दशमलव १४ र अन्य समूह शून्य दशमलव १० प्रतिशतले बढेको छ ।

तीन वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड, दोर्दीखोला जलविद्युत् कम्पनी लिमिटेड र ग्रीन भेन्चर्स लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढेको हो । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्य आठ दशमलव ८८ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै जानकी फाइनान्स कम्पनी लिमिटेडको रू १९ करोड नौ लाख ५० हजार बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै प्रभु बैंक लिमिटेडको तीन लाख ८३ हजार पाँच सय छ कित्ता शेयर किनबेच भएको छ ।

 

काभ्रेका १६ हजार छात्रालाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप दिइने

राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत काभ्रेपलाञ्चोकका कक्षा ६ देखि १० सम्म अध्ययनरत करिब १६ हजार छात्रालाई पाठेघरको मुखको क्यान्सर गराउने एचपिभी (ह्युमन प्यापीलोमा भाइरस) विरुद्धको खोप दिइने भएको छ । उक्त भाइरसविरुद्धको खोप कार्यक्रम सञ्चालनका जिल्लाको सम्पूर्ण स्थानीय तहबाट तथ्याङ्क संकलन कार्य सकिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

देशव्यापी खोप कार्यक्रमअन्तर्गत आउँदो माघ २२ गतेदेखि फागुन ६ सम्म एकैपटक सञ्चालन हुनेछ । कार्यालयले खोप कार्यक्रम सञ्चालनको तयारी अन्तिम चरणमा पुगेकोसमेत जनाएको छ । कार्यालय प्रमुख रागीश्री कक्षपति श्रेष्ठअनुसार काभ्रेपलाञ्चोकको दुई सय ५२ सामुदायिक विद्यालय तथा ८४ निजी विद्यालयका १५ हजार छ सय ८६ जना र विद्यालय बाहिर रहेका दुई सय ४९ गरी कूल १५ हजार नौ सय ३५ जना छात्रालाई उक्त खोप लगाउने तयारी गरिएको हो ।

कार्यालयको तथ्याङ्कअनुसार जिल्लास्थित १३ स्थानीय तहमा कक्षा ६ मा अध्ययनरत तीन हजार आठ सय ६६, कक्षा ७ मा तीन हजार ३३, कक्षा ८ मा तीन हजार एक, कक्षा ९ का दुई हजार नौ सय ८७ र कक्षा १० का दुई हजार सात सय ९९ जना गरी विद्यालय तहमा १५ हजार छ सय ८६ जनालाई खोप लगाइने छ । यस्तै विद्यालय बाहिर रहेका १० वर्षदेखि १४ वर्ष उमेर समूहका दुई सय ४९ किशोरीलाई खोप लगाउने योजनाबारे छलफल भइरहेको श्रेष्ठले बताए । विद्यालय बाहिर रहेका किशोरीको हकमा जन्मदर्ताका आधारमा उमेर हेरेर खोप लगाइने छ ।

नेपाल सरकारले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) बाट प्रमाणित उक्त खोप १० वर्षदेखि १४ वर्ष उमेर समूहका किशोरीलाई एचपिभीको सङ्क्रमणबाट सुरक्षित हुन अभियान सञ्चालन गर्न लागिएको हो ।

स्थानीयस्तरका विद्यालयमा नै खोप केन्द्र सञ्चालन गरिनेछ भने अभियानको अन्तिम दिन स्वास्थ्य संस्थाबाट खोप उपलब्ध गराइने जनाइएको छ । एक तथ्याङ्कअनुसार नेपालमा हरेक वर्ष दुई हजार दुई सय महिलालाई पाठेघरको मुखको क्यान्सर हुने गरेको छ । यसमध्ये एक हजार तीन सयको महिलाको निधन हुने गरेको जनाइएको छ ।

लोसपा नेपालद्धारा जितेन्द्र सोनलको नेतृत्वमा वार्ता टोली गठन

मधेश केन्द्रित दलहरुको विचमा मोर्चाबन्दी र एकताका लागी छलफल तथा गृहकार्यहरु प्रारम्भ भए संगै लोसपा नेपालले पार्टीका वरिष्ठ उपाध्क्ष तथा मधेश प्रदेश अध्यक्ष जितेन्द्र जितेन्द्र सोनलको नेतृत्वमा वार्ता टोली गठन गरेका छन । वार्ता टोलीमा सोनल संगै उमाकान्त झा, रामप्रकाश चौधरी, सुरेन्द्र झा र मनिष मिश्रा छन । लोसपा अध्यक्ष महन्थ ठाकुरले आइतवार विज्ञप्ती जारी गर्दै प्राप्त उपलब्धी रक्षाका लागी मुद्धा मिल्ने दलहरुको विचमा एकता तथा मोर्चा आवश्यक रहेको ठहर गर्दै विचार मिल्ने दलहरु संग संवाद तथा छलफल गर्न सोनलको नेतृत्वमा पार्टीले समिति गठन गरेको जानकारी दिएका छन ।

पछिल्लो समयमा जनता प्रगतीशिल पार्टीले डा शिवजी यादवको नेतृत्वमा यस्तै समिति बनाएर मधेश केन्द्रित दलहरु संग संवाद प्रारम्भ गरेका छन भने उप्न्द्र यादव नेतृत्वको जसपा नेपालले नेता राजकिशोर यादवको नेतृत्वमा समेत यस्तै वार्ता समिति बनाएर मधेश केन्द्रित दलहरु संग छलफल गरिरहेका छन ।

वर्तमान सत्ता समिकरणमा रहेका काग्रेस र एमालेले संविधान संशोधन गर्न अघि वढे पछि मधेश केन्द्रित नेताहरु समेत मोर्चाबन्दी बनाएर संविधान प्रति आफनो असन्तुुष्ट अगाडी ल्याउन खोजेका छन ।

०७२ मा वर्तमान संविधान जारी हुदा मधेश केन्द्रित नेताहरु तयस प्रति असन्तुष्टि जनाउदै ६महिना लामो आन्दोलन मधेशमा गरेका थिए । यद्यपी प्रमुख दलहरुले त्यसलाई सम्बोधन गरेका थिएन ।

 

 

 

रास्वपाद्वारा ‘संविधान परिमार्जन सुझाव कार्यदल’ गठन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संविधानमा आवश्यक संशोधनको सन्दर्भलाई मध्यनजर गर्दै ‘संविधान परिमार्जन सुझाव कार्यदल’ गठन गरेको छ । प्रमुख सचेतक सन्तोष परियारको संयोजकत्वमा कार्यदल गठन गरिएको सो पार्टीका कार्यबाहक प्रवक्ता मनिष झाले जानकारी दिनुभयो ।

उहाँका अनुसार कार्यदलले सात वटै प्रदेशमा आवश्यक छलफल गर्ने र सबै सम्बन्धित साझेदार तथा संविधानविद्सँग छलफल गरेर दलको तर्फबाट सार्वजनिक धारणा बनाउने छ । कार्यदलमा कान्तिशिखा धिताल, डा नन्दन यादव, गणेश कार्की, सोभिता गौतम, असिम साह, डा तोसिमा कार्की, डा अच्युतम लामिछाने र मेघ आले रहनुभएको छ ।

उक्त कार्यदलले सात वटै प्रदेशमा गर्ने छलफल कार्यक्रमको संयोजक सोही प्रदेशका पार्टी सभापति रहनेछन् ।

यसैबिच रास्वपाको केन्द्रीय समितिको दोस्रो दिनको बैठक स्वयम्भूस्थित स्टार भेन्यूमा जारी छ । दोस्रो दिनको बैठकमा संविधान परिमार्जन र प्रस्तावनाको व्याख्या एवं सर्वाङ्गीण विकासको भावी कार्यदिशाबारे छलफल गरिने कार्यवाहक प्रवक्ता झाले बताउनुभयो ।

पार्टी सभापतिको राजनीतिक प्रतिवेदनका आधारमा आगामी कार्यदिशा र कार्यक्रम तालिकामा छलफल हुने जनाइएको छ । यस्तै पार्टीको केन्द्रीय समिति, सल्लाहकार समिति, सल्लाहकार परिषद् एवं केन्द्रीय विभागको पुनःसंरचनामा छलफल गरिनेछ । बैठकले पार्टीको बैठक सञ्चालन कार्यविधि संशोधन र आचारसंहितामासमेत छलफल हुने बताइएको छ ।

 

 

एमाले केन्द्रीय समिति बैठकमा प्रधानमन्त्री ओली- प्रतिक्रियावादी आतङ्कित छन

प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशभक्त, प्रगतिशील र जनवादी शक्तिहरु मजबुत भएका कारण मुलुकका प्रतिक्रियावादी शक्तिहरु आतङ्कित भएको बताउनुभएको छ । पार्टी कार्यलय च्यासलमा आजदेखि सुरु भएको एमालेको केन्द्रीय कमिटीको आठौँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिक्रियावादी शक्तिहरु निर्दयी र अमानवीय रुपमा एमालेविरुद्ध झुटा प्रचारमा लागेको टिप्पणी गर्नुभयो । उहाँले एमालेको लोकप्रियता देखेर यसको लोकप्रियता घटाउन र एमालेलाई बदनाम गर्न विरोधीहरु लागेकाले पार्टीका सही नीतिका आधारमा एकताबद्ध भई झुटा प्रचार चिरेर पार्टीलाई निर्णायक शक्ति बनाउन जनस्तरमा लाग्न आग्रह गर्नुभयो ।

“हामी विरोधीका आरोपमाथि चुप लागेर बस्नुहुँदैन । चुप लागेर बस्नुपर्छ भन्ने कमजोर धारणा हो । विरोधीका आरोपबारे तथ्यका आधारमा खण्डन गर्नुपर्छ । हाम्रा सबै सङ्गठनहरु उत्साहित भएर व्यक्ति व्यक्ति र घर(घरमा पुग्नुपर्छ । वैचारिक कामलाई उत्तिकै महत्व दिनुपर्छ।” अध्यक्ष ओलीले भन्नुभयो, “पार्टीभित्र गुटबन्दी र अराजकता अन्त्य गर्नैपर्छ । लोकतन्त्रका नाममा पार्टीभित्र गुटबन्दी गरेर भाँडभैलो मच्चाउने कार्यले पार्टीलाई बलियो बनाउँदैन । बहकावमा लागेर होइन, एउटै नीतिगत लयमा पार्टी र देशको स्वार्थलाई केन्द्रमा राखेर हामी अगाडि बढ्न सक्नुपर्छ ।”

पार्टीका आन्तरिक विषय सार्वजनिक खपतका लागि प्रस्तुत नगर्न आग्रह गर्दै अध्यक्ष ओलीले पार्टीलाई विभाजन गरेर वा सिध्याइयो भनेर लड्डु खाएका कतिपय नेतालाई अहिले लड्डु ओकल्नुपरेको पनि टिप्पणी गर्नुभयो ।

बैठकमा अध्यक्ष ओलीले ४३ पृष्ठे लिखित राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । प्रतिवेदनमा नयाँ राजनीतिक कोर्स–एमाले र नेपाली काङ्ग्रेससँगको गठनबन्धनको आवश्यकता, औचित्य र अवसर, यस गठनबन्धनपछिका छ महिना, अस्थिरता, अराजकता र प्रयोजित निराशाका प्रयास, बदलिँदो विश्व परिवेश र नेपालको पराराष्ट्र नीति, उपनिर्वाचनको समीक्षा र निर्णायक राष्ट्रिय शक्तिको निर्माण आदि विषयवस्तु छन् ।

नयाँ सरकार गठनपछि राजनीतिक स्थायित्वको सन्देश मिलेको, साझा नीतिगत प्रतिबद्धता र सङ्कल्प जारी भएको, सरकार सञ्चालनमा सहजीकरणका लागि आवश्यक संरचना बनाइएको, अर्थतन्त्रमा सुधार आएको, सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन पारित भएको, राष्ट्रिय हितको रक्षा र सन्तुलित बाह्य सम्बन्ध कायम गरिएको, सहकारी क्षेत्रको बेथितिमाथि हस्तक्षेप गरी बचतकर्तालाई न्याय तथा अनियमिततामा सम्लग्नलाई सजाय दिन थालिएको र विकास निर्माणले गति लिएको जस्ता मुख्य उपलब्धि हासिल भएको अध्यक्ष ओलीले प्रस्तुत गर्नुभयो ।

बैठकमा राजनीतिक प्रतिवेदनका साथै साङ्गठनिक कामको सङ्क्षिप्त जानकारी, राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक (८–९, वैशाख, २०८१) पछि भएका केन्द्रीय सचिवालय र पोलिटब्युरो बैठकका निर्णहरुको जानकारी, केन्द्रीय आयोगका अध्यक्षहरुको सम्बोधन, समसामयिक प्रस्ताव र विविध विषय कार्यसूची रहेको महासचिव शङ्कर पोखरेलले बैठकमा जानकारी गराउनुभएको थियो । उहाँले आज र भोलिमा बैठक सम्पन्न नभए पर्सीका लागि पनि जारी रहन सक्ने बताउनुभयो ।

जनकपुरधाममा रङ्गशाला बनाउन डिपिआर तयार गरिँदै

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाममा रामजानकी अन्तर्राष्ट्रिय बहुउद्देश्यीय रङ्गशाला बनाउन विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार भइरहेको बताउनुभएको छ । आजदेखि जनकपुरधाममा सुरु भएको ‘जय ट्रफी मेन्स एलाइट कप’को उद्घाटन कार्यक्रममा मुख्यमन्त्री सिंहले सोमबार राष्ट्रिय खेलकुद परिषद् र गुठी संस्थानसँग प्रदेश सरकारले खेल मैदानका लागि सम्झौता गर्ने बताउनुभयो । रङ्गशाला बनाउने स्थानको जमिन सरोकार भएका निकायसँगको सहमतिमा मालपोतबाट पास हुनेवित्तिकै प्रदेशस्तरीय मन्त्रिपरिषदबाट निर्णय गरेर प्रतिवेदन सङ्घीय सरकारसमक्ष पेस गरिने उहाँले उल्लेख गर्नुभयो ।

करिब सात वर्षअघि भारत सरकारका तर्फबाट प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधामको विकासका लागि रु एक अर्ब उपलब्ध गराउने घोषणा गर्नुभएको रकम हालसम्म खर्च नभएकाले उक्त रकम रङ्गशाला निर्माणमा लगाउने मुख्यमन्त्री सिंहले जानकारी दिनुभयो । बाँकी रकम प्रदेश सरकारले लगानी गर्ने उहाँले बताउनुभयो ।

भारत सरकारले प्रदान गर्ने भनिएको रकम खर्च गर्न प्रदेशस्तरीय मन्त्रिपरिषदबाट निर्णय गरेर केन्द्रमा पठाउनुपर्ने बताउँदै मुख्यमन्त्री सिंहले केन्द्र सरकारले स्वीकृत गरी भारतीय दूतावासमा पठाउनुपर्ने र दूतावासले स्वीकृति प्रदान गरेपछि मात्र बोलपत्र आह्वान गर्न सकिने जानकारी दिनुभयो । केही प्राविधिक त्रुटिका कारण अहिलेसम्म बोलपत्र आह्वान हुन नसकेको उहाँले उल्लेख गर्नुभयो ।

गुठी संस्थानले राष्ट्रिय खेलकुद परिषद्सँग सम्झौता गरिसकेको अवस्थामा प्रदेश सरकारसँग जग्गा नभएकाले टिप्पणी उठाउन नसकिएको मुख्यमन्त्री सिंहले बताउनुभयो । उहाँले रङ्गशालाका लागि रु दुई अर्ब ५० करोडदेखि रु तीन अर्बसम्म खर्च लाग्ने अनुमानसहित बोलपत्र आह्वान गरिने जानकारी दिनुभयो ।

मुख्यमन्त्री सिंहले खेलकुदका साथै अन्य पूर्वाधार विकासमा पनि प्रदेश सरकारले युवासँग सहकार्य र समन्वय गरी अवसरहरू सिर्जना गर्दै जाने प्रतिबद्धता जनाउनुभयो । जय ट्रफी उद्घाटन कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साह, मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डल, नेपाल क्रिकेट सङ्घ (क्यान)का उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्का, धनुषा क्रिकेट सङ्घका अध्यक्ष गुड्डु पाण्डेय, विभिन्न राजनीतिक दलका प्रतिनितिधिलगायत खेल प्रेमीहरूको उपस्थिति थियो ।

 

 

सूर्योदय र सूर्यास्त अवलोकनको आकर्षक गन्तव्य बन्दै कोरीडाँडा

कास्कीको मादी गाउँपालिका–१ स्थित कोरी आँखै अगाडि लमजुङ माछापुच्छ्रे, अन्नपूर्ण दोस्रो र चौथो, थ्रि सिस्टर आदि हिमाललाई नजिकबाट नियाल्न सकिने गन्तव्य हो । पर्यटकीय गाउँ सिक्लेसबाट हुगु हुँदै नौलाखर्क, नौटा हुँदै करिब नौ घण्टा उकालो यात्रा गरेपछि समुद्री सतहबाट तीन हजार आठ सय ५० मिटर उचाइमा रहेको कोरीडाँडा पुगिन्छ । यो पदयात्राका क्रममा पर्यटकले अन्नपूर्ण र लमजुङ हिमालबाट समयसमयमा खस्ने हिउँपहिरो अवलोकन गर्दै जङ्गल, परम्परागत गोठ हुँदै उकालो चढ्ने होटल आइसफलका सञ्चालक पर्यटन व्यवसायी कृष्ण गुरुङले बताए ।

सिक्लेसदेखि तासा हुँदै कोरी पुग्ने अर्को पदमार्गसमेत रहेको छ । हुगुमा बिहानको खाजा खाएर हिँडेका पर्यटक दिउँसोको खाना खान नौटाखर्क पुग्छन् । यहाँ चिया पसल छ । कोरी सूर्योदय र सूर्यास्त हेर्ने उपयुक्त गन्तव्यसमेत रहेको उनको भनाइ छ । कोरी जाने मार्गमा रहेको पाखामा गुरासैगुराँसको जङ्गल छ । वसन्तयाममा यहाँ रङ्गिएर मनमोहक बन्छ भने जेठतिर खर्कहरूमा फुल्ने मनमोहक फूलले जोकोहीलाई लोभ्याउने गरेको छ ।

प्राचीनकालमा कोरी सिक्लेस हुँदै मनाङ र लमजुङ जाने परम्परागत मार्ग प्रचलनमा रहँदा बटुवाहरू बास बस्ने थलो र गोठालाको खर्क थियो । नुन लिन जाने मार्गका रूपमा पनि यसले चासो र चर्चा कमाएको थियो । हाल चारवटा होटल रहेको कोरीमा पछिल्लो समय हाइकिङ र बिदामा घुमघामका लागि आन्तरिक पर्यटक आउने क्रम निकै बढिरहेको होटल व्यवसायी होम गुरुङले बताए ।

‘कोरी हिमाललाई जरोदेखि टुप्पैसम्म एकसाथ अवलोकन गर्न पाउने गन्तव्य हो,’ उनले भने, ‘पदयात्राका क्रममा ठाडो उकालोका कारण थकित बनेका पदयात्रीलाई यहाँ आइसकेपछि देखिने दृश्यले सबै थकान बिर्साउने गरेको छ ।’

सिक्लेसबाट तसा हुँदै कोरी पुगेका पर्यटक पुरानै बाटो, नौटा हुगु– कपुचे–हुगु– सिक्लेस, ठुलोलेक–गुरुङ देउराली–तिमाङ, ठुलोलेक–क्होलासोथार–करापुडाडा–याङजाकोट अथवा ताङतिङ भएर यात्रा गर्ने विकल्प छ ।

कपुचे हिमतालसँगै कोरी, क्होलासोँथर र करापुडाँडालाई समेटिएकाले यो पदमार्गलाई ‘फोरके ट्रेक’का रूपमा समेत लिन सकिने पर्यटन व्यवसायीहरू बताउँछन् । कोरीको पदयात्रामा जाने पर्यटक पोखराबाट ४१ किलोमिटर दूरीमा रहेको पर्यटकीय गाउँ सिक्लेसबाट त्यसतर्फको यात्रा सुरु गर्दछन् ।

सिक्लेसमा आएका पर्यटकले गुरुङ सङ्ग्रहालय, शान्ति स्मारक, सिक्लेस पार्क, हिमालको दृश्यावलोकन, गुरुङ जातिको मन्दिर, मौलिक संस्कृति, वेशभूषा, झाँकी आदिको अवलोकन गर्न पाउने मादी –१ का वडाध्यक्ष देवीजङ्ग गुरुङले बताए । कोरीको पर्यटकीय सम्भावनालाई उजागर गर्न मादी गाउँपालिकाले प्राथमिकतामा राखेको उनले जानकारी दिए । उनका अनुसार यहाँको पुरुयुमबाट कोरीसम्म केबुलकार सञ्चालन गर्नका लागि सम्भाव्यता अध्ययनसँगै सार्वजनिक सुनुवाइसमेत भइसकेको छ ।

सिक्लेसबाट अन्नपूर्ण हिमालको काखमा समुद्री सतहबाट दुई हजार चार सय २१ मिटर उचाइमा रहेको कपुचे ताल अवलोकन गर्दै कपुचेमा नै बस्ने वा हुगुमा आएर बस्ने विकल्प छ । त्यहाँबाट पर्यटक कोरीतर्फको यात्रा तय गर्ने उनले जानकारी दिए । कोरीबाट छ हजार नौ सय ८८ मिटर उचाइको लमजुङ हिमाल, सात हजार नौ सय ३७ मिटर उचाइको अन्नपूर्ण दोस्रो, छ हजार नौ सय ९३ मिटर उचाइको माछापुच्छ्रे हिमाल र आठ हजार एक सय ५६ मिटर उचाइको मनास्लु हिमाल आँखै अगाडि देख्न सकिन्छ ।

कोरी पदयात्रासँगै हिमाल अवलोकनको उपयुक्त गन्तव्य रहेको पर्यटक पथप्रदर्शक गङ्गा घले बताउँछन् । यस पदमार्गमा धेरै पर्यटकको समूहलाई लिएर आइसकेको उनी सुनाउँछन् । ‘यहाँ आइसकेपछि जोकोही पर्यटक हिमालसहितको मनोरम दृश्य देखेर रमाउने गरेका छन्,’ उनले भने, ‘जरैदेखि टुप्पोसम्म एकसाथ हिमाललाई नियाल्न पाउनु नै यहाँको प्रमुख विशेषता हो ।’

करिब १० वर्ष अघिसम्म सेताम्य हुने हिमाल अहिले भने खुइलिएको देख्दा आफूलाई धेरै चिन्तित बनाएको बताउँदै उनले पहिला सेताम्य हिमाल देखेर गएका विदेशी पर्यटक दोहोर्याएर आउने क्रममा हिमाल खुइलिएको देख्दा चिन्ताले रुने गरेको अनुभव सुनाए । ‘पहिले यहाँबाट देखिने सेताम्य हिमालमा अहिले हिउँ नै छैन,’ उनले भने, ‘पछिल्लो १० वर्षयता हिमाली क्षेत्रमा तापमान वृद्धिको धेरै असर परिसकेको छ ।’

हिमाललाई बचाउने नसके हाम्रो पर्यटनमा पनि गम्भीर असर पर्ने बताउँदै उनले जथाभावी प्लाष्टिकजन्य वस्तु नजलाउन र वातारण प्रदूषण हुने कुनै किसिमका गतिवधि नगर्न सुझाए । कोरीडाँडासहित यस क्षेत्रको पदयात्रा प्रवर्द्धन गर्ने उद्देश्यका साथ गुरुङ पर्यटन व्यवसायी संघ गण्डकी प्रदेशले गुरुङ सम्पदा पदमार्गका रूपमा यहाँको प्रवर्द्धन र विकासलाई जोड दिएको संघका संस्थापक अध्यक्ष बोबरजङ्‍ग गुरुङले बताए ।

संघको आयोजना एवं नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालय र मादी गाउँपालिकाको सहयोगमा पुसको दोस्रो साता सिक्लेसबाट कपुचे, कोरी, क्होलासोथार, कर्पुडाँडा हुँदै याङ्जाकोटसम्मको पदयात्रा सम्पन्न गरिएको कार्यक्रम संयोजकसमेत रहेका उनले बताए ।

प्रवर्द्धनात्मक कार्यक्रममा अवसरमा कोरी र त्यहाँको पर्यटकीय सम्भावना, आवश्यकता आदिबारे स्थलगत पहिचान गरिएको बताउँदै उनले त्यहाँ विद्युत्, खानेपानी, सञ्चारलगायत अत्यावश्यकीय पूर्वाधार विकास गर्नुपर्ने देखिएको बताए ।

‘कोरीमा पर्यटकीय आकर्षण बढ्दो छ,’ उनले भने, ‘राज्यले उक्त स्थानमा तत्काल बिजुली, खानेपानीका साथै सञ्चार सुविधा पुग्नेगरी व्यवस्था गरिनु अपरिहार्य देखिएको छ ।’

संविधानलाई जीवन्त राख्न संशोधन आवश्यक छ- महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान संविधानलाई गतिशील, प्रभावकारी र जीवन्त राख्नका लागि संशोधन आवश्यक भएको बताउनुभएको छ। नेपाली कांग्रेस गण्डकी प्रदेश, प्रदेश तथा स्थानीय विभागद्वारा आयोजित प्रजातान्त्रिक व्यवस्थामा पार्टी र जनप्रतिनिधि विषयक अभिमुखीकरण कार्यक्रमको उद्घाटनमा उहाँले गणतन्त्र, सङ्घीयता र समावेशीलाई नचलाई आवश्यकता अनुसार संविधान संशोधन हुने उल्लेख गर्नुभयो।

महामन्त्री थापाले यसका लागि कांग्रेस र एमाले पार्टीबिच संयन्त्र बनिसकेको बताउँदै माओवादीलगायतका अन्य पार्टीबिच पनि सहमति गरी यस प्रक्रियालाई मूर्त रूप दिनुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, “वर्तमान संविधानमा देखिएको निर्वाचन प्रणालीका केही अव्यवहारिक पक्षलाई संशोधन गर्नुपर्दछ। सङ्घदेखि प्रदेशसम्मका मन्त्रालयको सङ्ख्या धेरै भएकाले सरकारको आकार ठुलो हुँदा समस्या देखिएको छ। यसमा पनि पुनर्विचार आवश्यक छ।”

निर्वाचन प्रणालीकै कारण सबैभन्दा ठुलो दलले सरकार बनाउन नपाउँदा गठबन्धन गर्नुपर्ने बाध्यताले मुलुकलाई सही दिशातिर लैजान कठिन भएको बताउनुभयो। गठबन्धनका कारण पार्टीले गुट बनाउँदा सरकार झनै अस्थिर हुने गरेको तितो अनुभव उहाँले सुनाउनुभयो। महामन्त्री थापाले सुशासनका बारेमा बोल्दै सरकारमा रहँदासम्म एक अर्का पार्टीका नेता मह जोडीजस्तै देखिने र छुटेपछि धारे हात लगाउने प्रवृत्तिको अन्त्य गर्न अहिलेसम्म ललिता निवास, गिरीबन्धु, वाइड बडी, सहकारी लगायतका चालीसभन्दा बढी काण्डको स्वतन्त्र छानबिन गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले भ्रष्टाचारलाई शून्यतामा झार्नका लागि पनि स्थिर सरकारको आवश्यता पर्नेमा जोड दिनुभयो।

महामन्त्री थापाले पार्टीको कुनै पनि पदमा रहेको व्यक्तिले गरेको अपराधलाई पार्टीले जिम्मेवारी लिन नमिल्ने भन्दै त्यस्ता व्यक्ति थप सजायको भागिदार हुने बताउनुभयो। उहाँले स्थानीय तहका जनप्रतिनिधिलाई लक्षित गर्दै २०८४ सालको निर्वाचनमा घोषणापत्र नभई उपलब्धिपत्र लिएर जानुपर्नेमा जोड दिनुभयो। राजनीतिक पार्टीले एकअर्कालाई गाली गर्ने, विश्वास नगर्ने र राम्रो कामको प्रशंसा गर्न नसक्दा युवा राजनीतिबाट बिमुख हुन थालेको बताउनुभयो। उहाँले सूचना प्रविधिको क्षेत्रमा हजारौँ युवा आकर्षित भइरहेको वर्तमान अवस्थामा कानुनमा संशोधन गरेर भए पनि युवा लक्षित कार्यक्रममा लगानी बढाउनुपर्ने धारणा राख्नुभयो।