Page 209 – Nepalboli

संसद‍्मा विचाराधीन विधेयक फिर्ता लिएर अध्यादेशमार्फत ‘बजेट क्यालेण्डर’ संशोधन

सरकारले दोस्रोपटक अध्यादेशमार्फत ‘बजेट क्यालेण्डर’ संशोधन गरेको छ । संसद‍्मा विचाराधीन रहेको ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’लाई सरकारले अध्यादेश जारी गरेको हो ।

सरकारले गतवर्ष पनि सोही अध्यादेश जारी गरेको थियो तर त्यो संसद‍्बाट पारित नभएपछि स्वतः खारेज भएको थियो । यसपटक पनि सरकारले ‘बजेट क्यालेण्डर’ संशोधन गर्न ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश २०८१’ जारी गरेको छ ।

एउटै अध्यादेश दुईपटक जारी

विगतमा हरेक वर्ष बजेटका सिद्धान्त एवं प्राथमिकता र नीति तथा कार्यक्रममा पर्याप्त छलफल नगराएकामा सांसदहरुबाट सरकारको आलोचना हुने गरेको थियो । ‘बजेट क्यालेण्डर’ नमिलेकाले त्यसलाई संशोधन गर्नुपर्ने विषय संसद्मा बारम्बार आवाज उठ्न थालेपछि गत आर्थिक वर्षको वार्षिक बजेटको बुँदा नम्बर २९मा ‘आगामी आर्थिक वर्षदेखि मन्त्रालयगत बजेट सीमा निर्धारण भएपश्चात् फागुन मसान्तभित्र विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सङ्घीय संसद्मा पेस गर्ने व्यवस्था मिलाइने’ उल्लेख गरियो । बजेटको यही व्यवस्था कार्यान्वयनका लागि सरकारले गतवर्ष माघमा ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८०’ जारी गर्‍यो । उक्त अध्यादेशले सरकारलाई बजेटका सिद्धान्त तथा प्राथमिकता फागुन १५ गतेभित्रै संसद‍्मा पेस गर्न बाटो खोल्यो भने बजेटको सीमा तोकिसक्ने साबिकको समयसीमामा पनि संशोधन गरेको थियो ।

विधेयक फिर्ता

बजेट क्यालेण्डर संशोधन गर्न सरकारले गत साउन ३२ गते ‘आर्थिक कार्यविधि तथा उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’ प्रतिनिधिसभामा दर्ता गरेको थियो । अध्यादेश जारीसँगै संसद‍्मा विचाराधीन उक्त विधेयक स्वतः निष्क्रिय भएको छ । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले विधेयक फिर्ता लिने प्रक्रिया थाल्न संसद्लाई सरकारको पत्र प्राप्त भएको बताए ।

बजेट निर्माण प्रक्रियामा अलमल

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक संसद‍्मा विचाराधीन रहेकाले आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया अलमलमा परेको थियो । अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईले अध्यादेशबाट बजेट क्यालेन्डर संशोधन भएर आएपछि सोहीअनुसार काम गर्न सहज हुने बताए ।

विद्यमान आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ले माघ १५ गतेसम्ममा ‘राष्ट्रिय स्रोत अनुमान समिति’को बैठक बसिसक्नुपर्ने र ‘बजेट सिलिङ’ प्रस्ताव गरिसक्नुपर्ने व्यवस्था गरेको छ । उक्त ऐनको दफा ७ (१) मा राष्ट्रिय योजना आयोगले अर्थ मन्त्रालयसँगको समन्वयमा मध्यकालीन खर्च संरचना तथा आगामी आर्थिक वर्षको बजेट र कार्यक्रम तर्जुमा गर्ने प्रयोजनका लागि आगामी तीन वर्षमा उपलब्ध हुने स्रोत तथा गर्न सकिने खर्चको सीमाको पूर्वअनुमान चालु आर्थिक वर्षको माघ १५ गतेभित्र गरिसक्नुपर्ने व्यवस्था गरेको छ । हालसम्म स्रोत अनुमान समितिको बैठक हुन नसकेको राष्ट्रिय योजना आयोगका सचिव मधुकुमार मरासिनीले बताए ।

 

 

 

 

मोर्चाबन्दी तथा एकताका लागी मधेस केन्द्रित दलहरुको वार्तासमितिहरु विचमा छलफल

मधेस केन्द्रित दलले गठन गरेको वार्ता तथा संवाद समितिहरूको बैठक मंगलवार बसेको छ । बैठकमा आपसी मोर्चाबन्दी तथा एकतका लागी छलफल भउको छ । आन्दोलनबाट प्राप्त उपलब्धि र सीमान्तकृत वर्गको अधिकार रक्षाका लागि भन्दै मधेस केन्द्रित दलहरू मोर्चाबन्दीको कसरतमा जुटेका हुन् ।

आन्तरिक विवाद र नेतृत्व हत्याउन कै लागि फुटाएर गएका मधेस केन्द्रित नेताहरूलाई संविधान संशोधनले एक ठाउँमा ल्याउने विश्वास उनीहरूको छ । अहिले संसद्भित्र र संसद्बाहिर १० वटा मधेस केन्द्रित राजनीतिक दलहरू सक्रिय रहेका छन् । संविधान संशोधनबारे साझा धारणा बनाउन केही दलहरूले वार्ता समिति समेत गठन गरेका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का महासचिव डा सुरेन्द्र झाले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको लाई पुरानै अवस्थामा फर्काउन संवादको थालनी भएको बताए । मंगलवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै डा झाले संविधान संशोधन मधेसवादी दलहरूको समेत एजेन्डा भएको उल्लेख गर्दै साझा धारणा बनाउन समिति गठन गरिएको बताए ।

तीनवटा मधेस आन्दोलन गर्दाखेरि २०६४ सालमा सरकारसँग ८ बुँदे सम्झौता गरेका थियौँ । त्यसमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको अगुवाइमा त्यो सहमति भएको थियो ।

संसद्मा मधेसको नेतृत्व गर्ने दलहरुको २८ जना सांसदहरू छन ।

 

 

 

पूर्वजले देखाएको बाटोमा लागौँः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजले गरेको खोज, अध्ययनको बाटोमा सबैलाई लाग्न प्रेरणा लिएर अघि बढ्नुपर्ने बताउनुभएको छ। प्रधानमन्त्री ओलीले योग दिवसका अवसरमा आज पूर्वज र प्रकृतिप्रति गौरव गर्दै ज्ञान पैदा गर्ने खोज, अध्ययन र अनुसन्धानको बाटो समाउने प्रयास गर्नुपर्ने बताउनुभएको हो।

“पूर्वजहरुप्रति शिर झुकाएर श्रद्धापूर्वक नमन गर्नुपर्दछ, उहाँहरुको आदर्शबाट सिक्ने र उहाँहरुको जस्तो ज्ञान पैदा गर्ने खोज, अध्ययन, अनुसन्धानको बाटो समाउने प्रयास गर्नुपर्दछ, जीवनमा त्यसलाई आत्मसात् गर्ने प्रयास गर्नुपर्दछ,” प्रधानमन्त्री ओलीले भन्नुभयो, “योग दिवसले देशभक्ति, पूर्वजहरुप्रति, प्रकृतिप्रति, यो भूखण्ड, यो देशप्रति हामीलाई गर्व गर्न सिकाओस् र त्यसबाट प्रेरणा लिएर अगाडि बढ्न प्रेरित गरोस्, म सबैमा यही शुभकामना व्यक्त गर्न चाहन्छु।”

दशौँ राष्ट्रिय योग दिवसका अवसरमा प्रधानमन्त्री ओलीले स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग भन्ने आदर्श वाक्यका साथ आज राष्ट्रिय योग दिवस मनाइएको बताउनुभयो।

“योग यस भूमिको उपज, पूर्वजहरु, जसले गणितको, आयुर्वेदको, अन्तरिक्षको अथवा स्वास्थ्य विज्ञानको जुन आविष्कार गर्नुभएको थियो, त्यो असाधारण थियो भन्ने पुष्टि हो यो” प्रधानमन्त्री ओलीले भन्नुभयो, “योगको महत्व अझ बढी प्रखररुपमा प्रकट भएको र मानिसको सबैभन्दा महत्वपूर्ण कुरा हो स्वस्थ रहनु हो, शारीरिक र मानसिक रुपले स्वस्थ रहनु, स्वस्थ रहनका लागि योग असाधारण उपयोगी छ, साधना र लामा ध्यान चिन्तकका लागि आवश्यक हुन सक्छ।”

विश्वलाई मानवोचित विश्व बनाउन चाहिरहेका र विश्व भनेको धर्ती र मानव समाज भएको प्रधानमन्त्रीको भनाइ छ। प्रकृति र मानव समाज सन्तुलन कायम यस ठाउँलाई आदियोगभूमि भन्न सक्ने उल्लेख छ।

“आदियोगगुरु, आदियोगी शिव अर्थात् शम्भुनाथले यसै भूमिबाट हजारौँ वर्षअघि योगको अभ्यास, योगको चिन्तन र योग दर्शन अर्थात् जीवनसँग सम्बन्धित सम्पूर्ण विषय र जीवन र प्रकृतिको सम्बन्धको चिन्तन, ध्यानादि कुराको प्रारम्भ गर्नुभएको थियो”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “त्यसकारण शिवलाई आदियोगी मान्दछौँ। योग आदियोगी शिवबाट शुरू भएको हो। योग कुनै धर्म, जाति वा भूगोल विशेषसँग, कुनै राजनीतिक विचारधारामा सीमित छैन। यो सम्पूर्ण मानव जातिको कल्याणका लागि निर्मित र समर्पित रहेको एउटा यस्तो विधा हो जुन अत्यन्तै वैज्ञानिक ढङ्गले शुरू भएको थियो। ”

प्रधानमन्त्रीको शुभकामनामा भनिएको छ, “योग अलिक ओझेल पर्दै गयो, विभिन्न प्रकारका भ्रम, भ्रान्ति पनि यसमा मिसिए, अहिले योग भ्रान्तिबाट मुक्त, मानवीय हित र कल्याणका लागि सम्पूर्णरूपमा समर्पित र व्यापक, विस्तृत हुन जरूरी छ, मानव समाजव्यापी हुन जरूरी छ, यस प्रयासमा जुटेका छौं।”

प्रधानमन्त्री ओलीले योग कुनै धर्म विशेषसँग सम्बन्धित नभएको र योग अध्यात्मसँग सम्बन्धित नभई दर्शनको सृष्टिभन्दा अगाडि शैव दर्शनसँग सम्बन्धित भएको बताउनुभएको छ। सन्देशमा भनिएको छ, “दर्शनकै प्रारम्भ यहीँबाट भयो, योगबाट दर्शनको प्रारम्भ भयो, योगबाट ध्यान, ध्यानबाट चिन्तन, चिन्तनबाट मनन, मननबाट ज्ञान विकास भयो। संयुक्त राष्ट्रसङ्घले सन् २०१४ मा जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा मान्यो। जसको इतिहासले हाम्रो भूमिसँग १५ हजार वर्ष अगाडिको नाता राख्दछ। यसको सम्बन्ध कपिलवस्तुका कपिलमुनिसँग जोडिएको छ।त्यसपछि कपिलवस्तुकै सिद्धार्थ गौतम, गौतम बुद्धसँग नाता जोडिएको छ।”

 

विपिनको रिहाइको पहलका लागि अपिल

हमास समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि परराष्ट्र मन्त्रालयले कूटनीतिक पहल जारी राखेको छ । हमास समूहले आफ्नो नियन्त्रणमा रहेकामध्ये केहीलाई अपहरणमुक्त गर्न लागेको भन्ने समाचार आएपछि परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले हमाससँग सम्पर्कमा रहेका र युद्धविरामका लागि मध्यस्थता गरिरहेका देशहरुलाई विपिनको रिहाइका लागि थप पहल गरिदिन आग्रह गरिरहनुभएको छ ।

यसैअन्तर्गत मन्त्री डा राणाले मङ्गलबार बिहान कतारका विदेश राज्यमन्त्री डा मोहम्मद बिन अब्दुलाजिज अल‐खुलाइफीसँग फोनवार्ता गर्नुभएको छ । मन्त्री डा। खुलाइफी कतार सरकारका तर्फबाट हमाससँगको शान्तिवार्ताका लागि प्रमुख वार्ताकार एवम् मध्यस्थकर्ता हुनुहुन्छ ।

मन्त्री डा राणाले कतारका मन्त्री डा खुलाइफीसँगको फोनवार्तामा हमासले आफ्नो नियन्त्रणमा रहेकामध्ये केही बन्दीलाई अपहरणमुक्त गर्न लागेको समाचार आएकाले विपिनको रिहाइका लागि विशेष पहल गरिदिन आग्रह गर्नुभएको थियो ।

मन्त्री डा राणाले कतार नेपालको सदैव हितैषी मित्रराष्ट्र रहेको प्रसङ्ग उल्लेख गर्दै कतारले हमाससँगको सम्पर्कमा रहेर शान्तिवार्ताका लागि युद्धविराम गराउन विशेष पहल गरिरहेकाले नेपाली युवा विपिनको रिहाइका लागि पनि विशेष पहल गरिदिन अपिल गर्नुभएको थियो ।

 

सपना अधूरै छाडेर अस्ताए चुङ्बा

सोलुखुम्बु– चुङ्बा शेर्पा केहीदिन अघिदेखि वन्यजन्तुको फोटो खिच्न इन्डोनेसिया जाने तयारीमा थिए। उनले १० दिनपहिले नै यात्राका लागि आवश्यक तयारी पूरा गरेका थिए। पारिवारिक स्रोतका अनुसार, उनले प्लेन टिकट पनि लिइसकेका थिए। यस यात्रालाई उनले फोटोग्राफी जीवनकै महत्त्वपूर्ण यात्राको रुपमा उनले लिएका थिए। तर उनी एक साताअघि अचानक बिरामी परे। कलेजोसम्बन्धी समस्याले ग्रसित बनेपछि उनलाई काठमाडौँको ग्रान्डी अस्पतालमा भर्ना गरियो।

भेन्टिलेटरमा उपचाररत शेर्पाले ६४ वर्षको उमेरमा आइतबार राति १२:१५ बजे अन्तिम सास फेरे। बाँकी सपना सधैँका लागि अधूरो छाडेर उहाँ स्वर्गीय भए।

खुम्बु पासाङल्हामु गाउँपालिका–१ लुक्लामा जन्मिएका शेर्पा ‘वाइल्डलाइफ फोटोग्राफी’को क्षेत्रमा पछिल्लो पाँच वर्षदेखि सक्रिय थिए। उनले नेपालका विभिन्न राष्ट्रिय निकुञ्ज र दुर्गम स्थानहरूमा पुगेर दुर्लभ वन्यजन्तुका तस्बिरहरु खिचेका छन्।

उनले खिचेका जङ्गली याक, हिउँचितुवा र बाघका तस्बिरले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चर्चा कमाएका छन्। चुङ्बाको जीवन सङ्घर्ष र उपलब्धि जो कोहीका लागि प्रेरणादायी छ।

विसं २०४० मा तत्कालीन चौँरीखर्क गाउँ पञ्चायतका प्रधानपञ्चबाट उनको सार्वजनिक जीवनको सुरुआत भएको थियो। बहुदल आएपछि नेपाली कांग्रेसमा प्रवेश गरेका शेर्पा पछिल्लो समय खुम्बु पासाङल्हामु गाउँपालिका समितिका सभापति थिए।

उनले शिक्षा, स्वास्थ्य र खानेपानीका क्षेत्रमा महत्वपूर्ण योगदान दिएका छन्। लुक्ला विमानस्थलदेखि चौँरीखर्कमा माध्यमिक विद्यालय स्थापनामा उनको ठूलो योगदान रहेको खुम्बु पासाङ ल्हामु गाउँपालिका–१ का वडाध्यक्ष फुनुरु शेर्पाले बताए।

उनले भने, “खुम्बुको एउटा धरोहर गुमायौँ, उहाँ असाध्यै सहयोगी र दयालु हुनुहुन्थ्यो, कुनै लोभलालच र स्वार्थ बिना अथक समाजसेवा गर्ने मान्छे हामीले सायद पाउँदैनौँ होला ।”

सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चे सोलुखुम्बुका तत्कालीन प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले चुङ्बा शेर्पाको योगदानलाई सम्झँदै प्रतिक्रिया दिएका छन्। उनले भने, “चुङ्बा शेर्पा नेपालमा मात्रै नभई विश्वभर ख्यातिप्राप्त प्रतिभाशाली वाइल्डलाइफ फोटोग्राफर हुनुहुन्थ्यो। उहाँको फोटोग्राफीले वन्यजन्तु पर्यटन प्रवर्द्धनमा ठूलो भूमिका निर्वाह गरेको छ।”

चुङ्बा शेर्पा कुनै सामान्य फोटोग्राफर नभएर प्रकृतिप्रति गहिरो माया गर्ने व्यक्ति भएको उपाध्यायको ठम्याइ छ। चुङ्बा शेर्पा ५७ वर्षको उमेरमा वाइल्डलाइफ फोटोग्राफीमा होमिएका थिए। लामो समयसम्म यती एयरलाइन्समा जागिर र होटल व्यवसाय सफलतापूर्वक सञ्चालन गरेका उनीछोराछोरीलाई सबल बनाइसकेपछि सानैदेखिको सपना पूरा गर्न फोटोग्राफीमा लागेका थिए।

उनले क्याननको उच्चस्तरीय क्यामेरा र लेन्स प्रयोग गर्न विदेशीहरूबाट अनलाइन कक्षा लिएका थिए। वन्यजन्तुका फोटो खिच्न शेर्पाले धेरै जोखिम मोलेका थिए। जङ्गली याकको फोटो खिच्ने क्रममा उनलाई याकले आक्रमण गरेको आफ्नो अन्तरवार्तामा भनेका छन्।

बाघको फोटो खिच्दा पनि बाघले झम्टिएपछि भागेर ज्यान जोगाएका थिए। नेपालको निकुञ्ज विभागले देशैभरका संरक्षित क्षेत्रमा फोटो खिच्न उनलाई अनुमति दिएको थियो।
शेर्पाले सबैभन्दा बढी चितवन राष्ट्रिय निकुञ्जमा ३३ पटक फोटो खिचेको वडाध्यक्ष फुनुरु बताउँछन्। उनले तिब्बतसँगको सिमाना लिमी भ्याली पुगेर दुर्लभ जङ्गली याकको सुन्दर तस्बिर खिचेका थिए। यसअघि नरेश कुसीको टिमले जङ्गली याकलाई क्यामेरामा कैद गर्न सफल भएको थियो। वाइल्डलाइफ फोटोग्राफरका रूपमा चुङ्बाले खिचेको तस्बिर नै हालसम्मकै सुन्दर भएको जानकारहरू बताउँछन्।

शेर्पाले नेपालको पर्यटन प्रवर्द्धनमा ठूलो योगदान पुर्‍याएका छन्। नेपाल पक्षी संरक्षण सङ्घ, राष्ट्रिय प्रकृति संरक्षण कोष, नेपाल पर्यटन बोर्डजस्ता थुप्रै संस्थाबाट उनले सम्मान प्राप्त गरेका छन्।

शेर्पाका दुई छोरा र दुई छोरी छन्। जेठा छोरा छेवाङ शेर्पा चिकित्सक हुन् भने छोरी बन्दा फुटी शेर्पा जहाजकी क्याप्टेन छिन्। पत्नी आङफुटी शेर्पाको निधन १० महिनाअघि भएको थियो भने छोरी मिङ्मा शेर्पाको पाठेघरको क्यान्सरबाट डेढ वर्षअघि निधन भएको थियो।

उनका परिवारका सदस्यहरुका अनुसार शेर्पाले फोटोग्राफीबाट कहिल्यै आर्थिक लाभको अपेक्षा गरेनन्। आफ्नो फोटोहरूले नेपालको वन्यजन्तु संरक्षण र पर्यटन प्रवर्द्धनमा योगदान दिन सकून् भन्ने उहाँको चाहना थियो।

 

खुम्चियो मधेस प्रदेशको उद्योगका उत्पादन क्षमता

मधेस प्रदेशमा रहेका उद्योगहरूको आफ्नो उत्पादन क्षमताको औसतमा ५१ दशमलव ०३ प्रतिशतमा खुम्चिएको छ।  नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०-८१ को प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन (मधेस प्रदेश) अनुसार आव २०७९-८० को तुलनामा आव २०८०-८१ मा उद्योगहरूको उत्पादन क्षमता औसतमा १० दशमलव ५३ प्रतिशतले खुम्चिएको छ। जबकि गत आर्थिक वर्ष २०७९-८० मा यहाँका उद्योगहरूको औसत क्षमता उपयोग ६१ दशमलव ५६ प्रतिशत रहेको थियो।

राष्ट्र बैंकको प्रतिवेदनअनुसार समीक्षा अवधिमा हल्का पेयपदार्थ उद्योगले सबभन्दा बढी ९७ दशमलव ७८ प्रतिशत क्षमता उपयोग भएको देखाएको छ। त्यसैगरी सो आवमा वनस्पति घिउ उद्योगको क्षमता उपयोग सबभन्दा कम अर्थात् शूल्य दशमलव ४० रहेको देखाएको छ।

वनस्पति घिउ उद्योगको क्षमता अति न्यून रहनुमा हालका दिनहरूमा वनस्पति घिउको गार्हस्थ्य तथा औद्योगिक प्रयोग कम हुँदै जानु र यसको विकल्पमा भटमासको तेल तथा पाल्म तेलको प्रयोग बढ्दै गएकाले यसको बजार माग घट्दै जाँदा उत्पादन पनि क्रमशः घट्दै गएको प्रतिवेदनमा उल्लेख गरिएको छ।

राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा प्लास्टिकजन्य उद्योगको र छाला तथा छालाको सामान उत्पादन गर्ने उद्योगको क्षमतामा अघिल्लो अवधिको तुलनामा कमी आएको पनि औंल्याएको छ।

राष्ट्र बैंकको प्रतिवेदनले आर्थिक वर्ष २०८०-८१ मा फलामको छड तथा पत्ती उद्योगको क्षमता उपयोग ४१ दशमलव २५ प्रतिशत रहेको देखाएको छ। जबकि आव २०७९-८० मा फलामको छड तथा फलामको पत्ती उद्योगको क्षमता उपयोग ९१ दशमलव ९६ प्रतिशत रहेको थियो।

आव २०८०-८१ म सिमेन्ट उद्योगको क्षमता उपयोग ३७ दशमलव ६९ प्रतिशत रहेको छ। जबकि आव २०७९-८० मा भने सिमेन्ट उद्योगको क्षमता उपयोग ३९ दशमलव ३९ प्रतिशत रहेको देखाएको छ।

आव २०८०-८१ मा हल्का पेयपदार्थ उद्योगको क्षमता उपयोग ९७ दशमलव ७८ प्रतिशत रहेको छ।

आव २०८०-८१ मा गहुँको पिठो उद्योगको क्षमता उपयोग ७३ दशमलव ६९ प्रतिशत, भटमासको तेल उद्योगको क्षमता उपयोग १४ दशमलव २३ प्रतिशत, साबुन उद्योगको क्षमता उपयोग २९ दशमलव १९ प्रतिशत, आल्मुनियम उत्पादन उद्योगको क्षमता उपयोग ८५ दशमलव ७५ प्रतिशत, केमिकल लिक्युड पदार्थ उद्योगको क्षमता उपयोग ४३ दशमलव २६ प्रतिशत रहेको छ।

राष्ट्र बैंकको प्रतिवेदनले देशमा सञ्चालित अधिकांश उद्योगहरू ५० प्रतिशतभन्दा कम क्षमतामा सञ्चालित रहेकाले बढी क्षमतामा सञ्चालन हुने वातावरण तयार पार्नुपर्ने औंल्याएको छ।

प्रतिवेदनमा भनिएको छ, ‘श्रमिक, ऊर्जा तथा बजार जस्ता कारणहरूले उत्पादन अवरूद्ध हुने अवस्था अन्त्य गर्दै वर्षैभरि उद्योग चल्ने वातावरण बनाई कच्चापदार्थको नोक्सानी र उत्पादनको लागत घटाउनुपर्ने देखिन्छ।’

 

भक्तपुरमा १७ हजार किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै

भक्तपुर । जिल्लाका १७ हजार छ सय ९१ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप लगाइने भएको छ । आगामी माघ २२ देखि आगामी फागुन ६ गतेसम्म देशभर सरकारले सुरु गर्न लागेको खोप अभियानअन्तर्गत भक्तपुरमा १० दखि १४ वर्ष उमेर समूहका किशारीको पहिचान गरी एचपिभी खोप लगाइने जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख शान्तिराम खतिवडाले जानकारी दिए ।

भक्तपुरका चार नगरपालिकामध्ये सूर्यविनायक नगरपालिकाका चार हजार एक सय ६२, भक्तपुर नगरपालिकाका छ हजार सात सय ४२, मध्यपुरथिमि नगरपालिकाका चार हजार दुई सय तीन र चाँगुनारायण नगरपालिकाका दुई हजार पाँच सय ८४ किशोरीलाई एचपिभी खोप लगाइने उनले जानकारी दिए । उनका अनुसार कक्षा ६ देखि १० सम्मका १६ हजार छ सय २८ र विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका एक हजार ६३ किशोरीलाई खोप लगाइने छ ।

कार्यालयले खोप लगाउन खोप केन्द्र र जनशक्तिको विभाजन एवं तालिकासमेत सार्वजनिक गरेको छ । जसमध्ये सूर्यविनायकमा ६५ विद्यालय र ११ अन्य, भक्तपुर नपामा ७४ विद्यालय र छ अन्य, मध्यपुरथिमि नपामा ५६ विद्यालय र १० अन्य तथा चाँगुनारायण नपामा ४८ विद्यालय र १९ अन्य स्थान गरी कुल दुई सय ४३ विद्यालय र ४६ अन्य ठाउँमा खोप केन्द्र निर्धारण गरिएको छ ।

खोप अभियानलाई सफल पार्न कुल दुई सय ८९ स्वास्थ्यकर्मी र पाँच सय ७० स्वयंसेवक परिचालन गरिने भएको छ । कार्यालय प्रमुख खतिवडाका अनुसार जिल्लाका चारवटै स्थानीय तहसँग समन्वयात्मक कार्यक्रम गरी स्थानीय स्वयंसेवकलाई तालिम दिइ सकिएको छ । खोप लगाउँदा कसैलाई स्वास्थ्यमा कुनै समस्या नआउने दाबी गर्दै उनले समस्या आइहालेमा उपचारका लागि भक्तपुर अस्पताल, ख्वप अस्पताल, सूर्यविनायक नगर अस्पताल, चाँगुनारायण नगर अस्पताल र नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा उपचार गरिने जानकारी दिए ।

सरकारले देशभरिका कक्षा ६ देखि १० सम्मका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार नौ सय किशोरीलाई लक्षित गरी विश्व क्यान्सर दिवस (फेब्रुअरी ४) को सन्दर्भ पारेर एचपिभी खोप अभियान सञ्चालन गर्न लागेको हो ।

यो खोप लगाएपछि ९० देखि ९५ प्रतिशतसम्म पाठेघरको मुखको क्यान्सरबाट सुरक्षा प्रदान गर्ने बताइन्छ । महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर नेपालमा पहिलो स्थानमा छभने स्तन क्यान्सर दोस्रोमा पर्छ ।

भक्तपुर जिल्लामा खोप अभियानलाई सफल बनाउन स्थानीय तह र अन्य निकायसँग समन्वय भइरहेको छ । जिल्ला समन्वय समितिका सभापति ईश्वरबहादुर थापा, प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याललगायतले अभियान सफल बनाउन आह्वान गरेका छन् ।

बजेट अर्धवार्षिक समीक्षाः आम्दानी ३९ र खर्च ३५ प्रतिशत

चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा अवधिमा सरकारको आम्दानी र खर्च निकै कमजोर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयकाअनुसार पुस मसान्तसम्ममा सरकारले वार्षिक लक्ष्यको ३९ प्रतिशत आम्दानी र ३५ प्रतिशत खर्च गरेको छ ।

सरकारले चालु आर्थिक वर्षका लागि रु १८ खर्ब ६० अर्ब ३० करोड ३० लाखको बजेट ल्याएको थियो । पुस मसान्तसम्ममा रु छ खर्ब ६७ अर्ब ६० करोड १९ लाख बराबर खर्च भएको छ । यो अवधिको खर्च वार्षिक लक्ष्यको ३५ दशमलव ८९ प्रतिशत हो ।

चालुगत शीर्षकमा रु ११ खर्ब ४० अर्ब ६६ करोड ४५ लाख बजेट छुट्याइएकोमा हालसम्म ३९ दशमलव ६३ प्रतिशत अर्थात् रु चार खर्ब ५२ अर्ब खर्च भएको छ ।

पुँजीगत शीर्षकको खर्च झनै कमजोर छ । यो शीर्षकमा रु तीन खर्ब ५२ अर्ब ३५ करोड ४० लाख वार्षिक बजेट विनियोजन भएकोमा पुस मसान्तसम्ममा १६ दशमलव १६ प्रतिशत अर्थात् रु ५६ अर्ब ९३ करोड ५० लाख बराबर मात्र खर्च भएको छ ।

वित्तीय व्यवस्था शीर्षकको हालसम्मको खर्च ४३ दशमलव दुई प्रतिशत छ । यो शीर्षकमा रु तीन खर्ब ६७ अर्ब २८ करोड ४५ लाख बराबर बजेट विनियोजन भएकोमा हालसम्म रु एक खर्ब ५८ अर्ब ६६ करोड ३९ लाख बराबर खर्च भएको छ ।

सरकारले चालु आर्थिक वर्षमा रु १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाख राजस्व उठाउने लक्ष्य राखेको छ । गत पुस मसान्तसम्ममा रू पाँच खर्ब ७४ अर्ब ७६ करोड ७९ लाख राजस्व उठेको छ । यो वार्षिक लक्ष्यको ३९ दशमलव ०६ प्रतिशत हो । कर राजश्वतर्फ ३८ दशमलव ११ प्रतिशत अर्थात् रु चार खर्ब ८९ अर्ब ३९ करोड ९२ लाख र गैरकर राजस्वतर्फ ५१ दशमलव ९७ प्रतिशत अर्थात् रु ७० अर्ब २० करोड ८२ लाख सङ्कलन भएको छ ।

सरकारले चालु आर्थिक वर्षका लागि रु ५२ अर्ब ३२ करोड ६५ लाख वैदेशिक अनुदान सहायता लिने लक्ष्य लिएकामा हालसम्म रु सात अर्ब ३७ करोड छ लाख बराबर वैदेशिक सहायता प्राप्त भएको छ ।

सङ्घीय संसद् भवन निर्माण छिटो सक्न राष्ट्रपतिको जोड

राष्ट्रपति रामचन्द्र पौडेलले निर्माणाधीन सङ्घीय संसद् भवनको अवलोकन गर्नुभएको छ । सिंहदरबार परिसरभित्र निर्माणाधीन भवनको सोमबार राष्ट्रपति पौडेलले अवलोकन गर्नुभएको हो । सो क्रममा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालको उपस्थित रहेको थियो ।

राष्ट्रपति पौडेललाई अवलोकनका क्रममा सहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देलले सो भवन निर्माणमा भइरहेको प्रगतिबारे जानकारी गराउनु भएको थियो । सो क्रममा पौडेलले भवनसम्बन्धी विभिन्न जिज्ञासा राख्दै सम्बद्ध पक्षलाई यथाशक्य चाँडो सक्न निर्देशन पनि दिनुभयो ।

सङ्घीय संसद्का दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभा, संसदीय समितिहरू, संसदीय दलका कार्यालयसमेत रहने गरी १२ वटा ब्लकसहितको भव्य संरचना निर्माण गरिएको छ ।

एक सय ७३ रोपनी क्षेत्रमा फैलिएको परिसरको ४५ प्रतिशत भूभागमा प्रतिनिधि सभा र राष्ट्रिय सभा रहनेछ । सङ्घीय संसद् भवन नहुँदा २०६४ पछि सरकारले नयाँ बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई भाडामा लिएर संसद् भवनको रूपमा प्रयोग गर्दै आएको छ ।

 

 

 

 

 

चीनसँग ऋणसम्बन्धी कुनै पनि सम्झौता भएको छैन- परराष्ट्रमन्त्री राणा

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले चीनसँग भएको बीआरआई सम्झौता अनुदानमा आधारित सहयोगको समझदारी भएको स्पष्ट पार्नुभएको छ । सोमबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैकमा बोल्नुहुँदै उहाँले सांसदहरुले राखेका जिज्ञासाहरुको जवाफ दिँदै उहाँले चीन सरकारसँग ऋण लिनेसम्बन्धी कुनै पनि समझदारी पत्रमा हस्ताक्षर नभएको बताउनुभयो । परराष्ट्रमन्त्री राणाले नेपालको कुल गार्हस्थ उत्पादन निष्क्रिय जस्तै भएको जानकारी गराएको उल्लेख गर्नुहुँदै चीन सरकार एड र ग्राण्ट दिनका लागि तयार भएको धारणा व्यक्त गर्नुभयो । उहाँले चीन सरकारबाट बिआरआई परियोजना अन्तर्गत आउने सबै परियोजनाहरु एड फाइनान्सिङमै आउने बताउनुभयो ।

‘‘मैले चीनको परराष्ट्रमन्त्रीलाई स्पष्टसँग के राखेको छु भने हाम्रो कुल गार्हस्थ उत्पादन (जिडिपी) डेथ सर्विसिङमा छ । हामी कुनै पनि प्रकारको ऋण लिने अवस्थामा छैनौं । त्यसकारण हामीले तपाईंसँग एड र ग्रान्ट मात्र अपेक्षा गरेका छौं भनेर निर्लज्जका साथ प्रस्तुति गरेकी छु ।,’’ परराष्ट्रमन्त्री राणाले भन्नुभयो, ‘‘जे हो त्यो त भन्नैपर्यो नि । अहिले हामीले जति परियोजना यसमा हालेका छौं त्यो सबै एड फाइनान्सिङमै आउँछ । चीन सरकारले पनि के भन्नुभएको छ भने जति पनि परियोजना हामीले दिने भनेका छौं त्यहीअन्तर्गत आउँछ ।’’

बैठकमा सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणलगायत विषयमा छलफल भएको हो । बैठकमा चीन भ्रमणका उपलब्धिहरु सार्वजनिक गर्नुहुँदै मन्त्री राणाले विभिन्न महत्त्वपूर्ण सम्झौता भएको उल्लेख गर्नुभयो ।

उहाँका अनुसार प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा बेल्ट एण्ड रोड सहकार्य फ्रेमवर्क, टोखा–छहरे सुरुङमार्ग, नेपाल–चीन व्यापार अभिवृद्धिसम्बन्धी समझदारीपत्र, नौतले वसन्तपुर दरबार पुनर्निर्माण सम्पन्न प्रमाणपत्रको आदानप्रदान, आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी समझदारी, नगद सहयोगसम्बन्धी पत्र आदानप्रदान लगायतका विषयमा सम्झौता भएको छ ।

यसैगरी, परराष्ट्रमन्त्री डा राणाले नेपालका दुवै छिमेकी देश भारत र चीनले नेपालसँगको सम्बन्धलाई महत्त्व दिएर प्राथमिकतामा राखेका उल्लेख गर्नुभएको छ ।

मन्त्री डा राणाले दुवै देशले नेपालसँगको सम्बन्धलाई प्राथमिकताका साथ महत्त्व दिएका र नेपालसँग आवश्यक मात्रामा सम्वाद, सम्पर्क तथा अन्तरक्रियाहरु भइरहेका जानकारी गराउनुभयो ।

उहाँले भन्नुभयो “विभिन्न द्विपक्षीय बैठकहरु, भ्रमण आदानप्रदानका साथै सम्पर्क र सम्वाद भइरहेको छ, नेपाललाई दुवै देशले विगतदेखि सहयोग गर्दै आउनुभएको छ र यो सहयोग र सद्भावले आगामी दिनमा पनि निरन्तरता पाउने नै छ ।”

सो समितिमा पछिल्लो समयमा नेपालको कूटनीतिक सम्बन्धका बारेमा समितिका सदस्यहरुले राख्नुभएको जिज्ञासामा उहाँले सो जवाफ दिनुभएको हो ।