Page 207 – Nepalboli

विसं २०८२ को पञ्चाङ्ग (पात्रो) माघ तेस्रो सातासम्म बजारमा आउने

विसं २०८२ को पञ्चाङ्ग (पात्रो) माघ तेस्रो सातासम्म बजारमा ल्याउने गरी तयारी भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। पञ्चाङ्गकारले ग्रहगणित गणना गरेर रूजु भइसकेकाले बाँकी काम सिध्याएर समितिले स्वीकृति दिन लागेको हो। समितिले स्वीकृति दिएपछि पात्रो प्रकाशन हुनेछ। विसं २०८२ का लागि समितिले चाड पर्वको निर्णय पनि गरिसकेको छ। विवाह, व्रतबन्ध लगायतको मुहूर्तको निर्णय केही दिनमै गरिने समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए।

वि।सं २०८२ का लागि २०८१ सालसम्म प्रकाशन भएका १४ पञ्चाङ्ग र नयाँ तीन वटाले प्रकाशन अनुमतिका लागि निवेदन दिएको पनि उनले सुनाए। मन्त्रिपरिषद्ले विसं २०७७ पुस २० गते गरेको समितिको गठन आदेशको स्वीकृतिबमोजिम पात्रो (पञ्चाङ्ग) र भित्तेपात्रो (क्यालेण्डर) प्रकाशनको अनुमति दिँदै आएको छ।

गठन आदेशबमोजिम समितिको स्वीकृतिबिना पात्रो (पञ्चाङ्ग) र भित्तेपात्रो (क्यालेण्डर) प्रकाशन गर्न पाइँदैन। स्वीकृतिबिना प्रकाशन गरिएका पात्रोलाई नियमबमोजिम आवश्यक कारबाही गरिने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले बताए।

वि।सं २०८२ का लागि पनि केही पात्रो समितिको स्वीकृति नलिई प्रकाशन भइसकेको सूचना आएकाले तिनलाई के गर्ने भन्ने विषयमा समितिमा छलफल भइरहेको जानकारी उनले गराए। समितिको स्वीकृति नलिई प्रकाशन भएका पात्रो प्रयोग गर्दा समस्या पर्ने भएकाले सचेत हुन आह्वान गरिएको छ।

सुक्खा बन्दरगाह भन्सार- छ महिनाको अवधिमा राजस्व सङ्कलन घट्यो

पर्सा । सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा रु २३ अर्ब ३४ करोड ३३ लाख १८ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले कूल वार्षिक लक्ष्यको ३८ दशमलव ८७ प्रतिशत मात्रै राजस्व सङ्कलन गर्न सकेको हो ।

गत आवको छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा कार्यालयको राजस्व सङ्कलन रु एक अर्ब ४५ करोड ४१ लाख ७९ हजारले कमी आएको छ । कार्यालयले चालु आवको साउन महिनामा रु तीन अर्ब ७५ करोड २२ लाख राजस्व सङ्कलन गर्‍यो । त्यस्तै भदौ महिनामा रु चार अर्ब ६४ करोड ३० लाख, असोज महिनामा रु चार अर्ब ३६ करोड ४५ लाख, त्यस्तै कात्तिक महिनामा रु तीन अर्ब ७९ करोड २९ लाख राजस्व सङ्कलन गरेको थियो ।

त्यस्तै मङ्सिर महिनामा रु तीन अर्ब २२ करोड ८४ लाख र पुस महिनामा रु तीन अर्ब ५६ करोड २१ लाख राजस्व सङ्कलन गरेको थियो । कार्यालयले गत आवको छ महिनाको अवधिमा भने रु २४ अर्ब ७९ करोड ७४ लाख ९७ हजार राजस्व सङ्कलन भएको थियो ।

हेटौंडा सिमेन्ट उद्योग संकटमा, ३ महिनादेखि उत्पादन बन्द

हेटौंडा सिमेन्ट उद्योगमा आर्थिक संकट गहिरिँदै जाँदा सिमेन्ट उत्पादन अन्यौलमा परेको छ । उद्योग व्यवस्थापनले उद्योगको विभिन्न उपकरण मर्मतको काम गर्नुपर्ने जनाउँदै गत असोज १५ गतेदेखि सिमेन्ट उत्पादन बन्द गरेको थियो ।

उपकरण मर्मतसम्भार गरी गत मंसिर पहिलो साताबाटै उत्पादन सुरु गर्ने बताए पनि उपकरण मर्मतको काम नसकिएकाले उत्पादन सुरु गर्न नसकेको उद्योग प्रशासनले जनाएको छ । ‘उत्पादन सुरु हुन नसक्नुमा उपकरण मर्मत एउटा पाटो हो, तर त्यो मात्रैले पनि उत्पादन रोएिको होइन’, हेटौंडा सिमेन्ट उद्योगका प्रशासन प्रमुख तथा प्रवक्ता हरेराम आचार्यले भने, ‘आर्थिक समस्या बढ्दै गएकाले कहिलेदेखि उत्पादन सुरु गर्ने भन्ने अन्यौलता बढेको हो ।’

‘अहिले उत्पादन ठप्प छ, तर नियमित खर्च छ जस्ताको त्यस्तै छ’, हेटौंडा सिमेन्ट उद्योगका प्रशासन प्रमुख तथा प्रवक्ता हरेराम आचार्यले भने, ‘उद्योगको उत्पादन बन्द भए पनि कर्मचारीको तलब भत्ता दिनै परेको छ, केही इन्धन खर्च र समान्य मर्मत खर्च भइरहेकै छ, यसका कारण उद्योगमा आर्थिक समस्या त बढ्दै जाने कुरा त भइै नै हाल्यो’, उनले भने ।

उत्पादन बन्द हुँदा कर्मचारी त्यतिकै बसेर दिन बिताइरहेका छन् । सो उद्योगमा एक सय ६६ जना स्थायी, दैनिक ज्यालादारीका एक सय र ५२ जना सुरक्षाकर्मी गरी तीन सय १८ जना जनशक्ति कार्यरत रहेको प्रवक्ता आचार्यले बताए ।

उनका अनुसार तत्काल उद्योग सञ्चालनका लागि उद्योगलाई चाहिने आवश्यक कच्चा पदार्थको समेत समस्या छ । ‘उद्योग दैनिक सञ्चालन भयो भने कम्तीमा दैनिक एक सय २० ट्रन कच्चा पदार्थ कोइलाको आवश्यक पर्छ’, उनले भने, ‘तर त्यो पनि छैन र कोइलाको पुरानो भुक्तानी भइनसकेकाले तत्काल कोइला आउने सम्भावना पनि छैन । यसबाहेक आर्थिक समस्याका कारण कर्मचारीले अतिरिक्त समयमा गरेको कामको भुक्तानी गर्न सकिएको छैन ।’

आर्थिक समस्याकै कारण विद्युत् प्राधिकरणको लामो समयदेखि महसुल बुझाउन नसकिँदा अहिले बक्यौता थुप्रिएको छ । ‘विद्युत् उपभोग त गर्यो तर महसुल बुझाउन सकिएनौँ’, उनले भने, ‘अहिले ठ्याक्कै कति महसुलको बक्यौता बुझाउन बाँकी भने भन्न सकिए पनि करिब ३०-४० करोड जति बक्यौता बाँकी छ होला ।’ त्यसैले पनि विद्युत् प्राधिकरणसँग नियमित विद्युत् आपूर्ति गरिदिनुस् भन्न सकिने अवस्था नरहेको उनको कथन छ ।

विसं २०३३ मा हेटौंडाको लामसुरेमा स्थापना भएको उक्त उद्योगले विसं २०४३ देखि सिमेन्ट उत्पादन सुरु गरेको थियो । अहिले उपकरणहरु पुरानो भइसकेका र राम्ररी उत्पादन गर्न सक्ने अवस्थामा नरहेको प्राविधिकको भनाइ छ । ‘उपकरण पुरानो र बिग्रिसकेको अवस्थामा छ, त्यस्तो अवस्थामा हामीले अपेक्षाकृत रुपमा सिमेन्ट उत्पादन गर्न सकिरहेका छैनौँ’, उद्योगका प्राविधिक प्रमुख कामेश्वर मण्डलले भने, ‘‘त्यही भएर हामी अहिले पुरानो उपकरणको मर्मत गरिरहेका छौं । त्यसमा मेकानिक लगिरहनुभएको छ, धेरै कामहरु सकिसकेको छ र थोरै बाँकी छ, छिट्टै मर्मत काम सक्छौँ ।’ त्यसपछि सिमेन्ट उत्पादन गर्न सकिने उनको भनाइ छ ।

एकपछि अर्को समस्यासँग जुध्दै आएको हेटौंडा सिमेन्ट उद्योगले गत २०८१ भदौ महिनाको तेस्रो साताबाट सिमेन्ट उत्पादन सुरु गरेको थियो । सो उद्योगले यस अवधिमा ६५ हजार बोरा सिमेन्ट उत्पादन गरेको छ । दैनिक १६ हजार बोरा सिमेन्ट उत्पादन गर्ने क्षमता रहेको सो उद्योग आर्थिक समस्याका कारण थलिएको छ ।

उपकरणको मर्मत कार्य सम्पन्न भएर यही पुस महिनाको दोस्रो साताबाट सिमेन्ट उत्पादन सुरु गर्ने तयारी गरिए पनि उपकरण मर्मत गर्न अझ समय लाग्ने भएकाले उत्पादनमा ढिलाइ भएको उद्योग व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र भण्डारीले बताए ।

‘उद्योगको क्लिनिकलर मेसिनलगायतका उपकरणको मर्मत कार्य अझै भइरहेकै छ’, अध्यक्ष भण्डारीले भने, ‘हामीले पुसको दोस्रो सातासम्ममा मर्मत सकिन्छ र त्यसलगतै पुनः सिमेन्ट उत्पादको कार्य सुरु गर्ने अनुमान गरेका थियौँ ।’ तर अझै उपकरण मर्मतको काम नसकिएकाले उद्योगको उत्पादन सुचारु हुन अझै केही दिन लाग्न सक्ने उनको भनाइ छ ।

उद्योगसँग आर्थिक समस्याका बाबजुत पनि उपकरणको मर्मत कार्यसम्पन्न हुने बित्तिकै सिमेन्ट उत्पादन सुरु गर्ने गरी तयारी भइरहेको उनले बताए । उद्योगको उपकरण बनाउन भारतबाट श्रमिक ल्याउनुपर्ने भएकाले मर्मतसम्भारमा समय लागेको बताउँदै अध्यक्ष भण्डारीले मर्मतसम्भारको काम तीव्ररुपमा भइरहेकाले छिट्टै सकिने र त्यसलगत्तैबाट उत्पादन सुरु गर्ने तयारी भएको बताए ।

सामाजिक सञ्जालबाट चरित्रहत्या गर्ने दुई जना पक्राउ

सामाजिक सञ्जालको दुरूपयोग गरी चरित्रहत्या गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछाप खाँडादेवी गाउँपालिका–८ धुले बेसीघर भई काठमाडौँ महानगरपालिका–१३ बस्ने १९ वर्षीय श्रीकृष्ण कार्की र भोजपुर षडानन्द नगरपालिका–५ घर भई काठमाडौँ महानगरपालिका–६ बौद्ध नयाँ बस्ती बस्ने ३१ वर्षीय सरोज कटुवाल छन्।

उनीहरूले प्रेम सम्बन्ध भएको समयमा खिचिएका तस्बिर तथा भिडियोहरू सम्बन्ध बिग्रिए पश्चात् पीडितका आफन्त तथा साथीहरूलाई फेसबुकको म्यासेन्जरमा पठाई चरित्र हत्या गरेको अभियोगमा साइबर ब्यूरोबाट खटिएको प्रहरीले श्रीकृष्णलाई आइतबार र सरोजलाई सोमबार पक्राउ गरेको हो।

उनीहरू उपर विद्युतीय ९इलेक्ट्रोनिक० कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौँबाट म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

हुम्लामा हिमपातले जनजीवन प्रभावित

हुम्लाको सदरमुकाम सिमकोटमा बिहीबार भएको हिमपात । हिमपात भएपछि यहाँको जनजीवन प्रभावित भएको छ ।

समाजवादी मोर्चाले काठमाडौँमा खबरदारी सभा गर्ने

समाजवादी मोर्चाले माघ १६ गते काठमाडौंमा खबरदारी सभा गर्ने निर्णय गरेको छ। बुधबार नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आलोकनगरमा बसेको समाजवादी मोर्चाको बैठकले आगामी माघ १६ गते काठमाडौंकेन्द्रित कार्यक्रम गर्ने निर्णय गरेको हो।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपाका नेता खड्गबहादुर विश्वकर्माले बैठकमा समाजवादी मोर्चाको आठौँदेखि नवौँ बैठकको बिचको गम्भीर समीक्षा भएको जानकारी दिनुभयो।

उहाँले समाजवादी मोर्चाको कार्यक्रम केही धिमा भएकोमा अब उक्त गल्ती दोहोरिन नदिने निर्णय भएको बताउनुभयो।  उहाँले भन्नुभयो, ‘बैठकले मोर्चाका कामको समीक्षा गरेको छ।समाजवादी मोर्चाको गठन, यसले कार्यक्रम लञ्चिङ गरेर देशैभर ठूलो ह्वीम क्रिएट भएको थियो। कम्युनिस्ट क्रान्तिकारी, देशभक्तमा र आम जनतामा उत्साह पनि पैदा भएको थियो। त्यसको सशक्त रुपमा आओस् भन्ने थियो। हाम्रा पार्टीका आन्तरिक कामका कारणले समाजवादी मोर्चाको कार्यक्रम अघि बढाउने सन्दर्भमा हाम्रो गति थोरै धिमा भयो।आगामी दिनमा त्यो दोहोरिन नदिने प्रतिबद्धता छ। आगामी माघ १६ गते काठमाडौँमा एउटा भव्य समाजवादी मोर्चाको तर्फबाट कार्यक्रम गर्ने निर्णय भएको छ।’

उहाँले बैठकबाट समाजवादी मोर्चाका आगामी कार्यक्रमका योजना मुख्य नेतालाई बुझाउने निर्णय भएको बताउनुभयो।

 

 

 

 

 

 

 

पूर्व गृहमन्त्री लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न काठमाडौ जिल्ला अदालतको आदेश

जिल्ला अदालत काठमाडौँले पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई ६० लाख धरौटीमा छोड्न आदेश दिएको छ।  काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दाको थुनछेक बहसपछि बुधबार न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सभापतिसमेत रहनुभएका लामिछानेलाई ६० लाख धरौटीमा छोड्न आदेश दिएको हो।

गोरखा मिडिया नेटवर्कमा कानुन विपरीत स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट पाँच करोड ७८ लाख ९८ हजार चार सय ८० लगेको प्रहरीको अनुसन्धानमा उल्लेख थियो । सभापति लामिछानेविरुद्ध पाँच करोड ७८ लाख ९८ हजार चार सय ८० बिगो माग दाबी गरिएको थियो ।

सभापति लामिछानेकोतर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त र रमण श्रेष्ठले बहस गर्नुभएको थियो । बचतकर्ता (जाहेरवाला) को तर्फबाट जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख रामहरि शर्मा काफ्ले, जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवाल र सहायक न्यायाधिवक्ता गणेशकुमार शर्माले जवाफी बहस गर्नुभएको थियो । पीडितकोतर्फबाट वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारी र डा दिनेश त्रिपाठी बहस गर्नुभएको थियो ।

यसअघि उहाँलाई सूर्यदर्शन सहकारी ठगी मुद्दामा कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छोडेको थियो। गत बिहीबार कास्की अदालतबाट छुटेर शनिबार काठमाडौं आउनुभएका लामिछाने आइतबार जिल्ला अदालत, काठमाडौंमा उपस्थित हुनुभएको थियो। पोखरामा ८४ दिन हिरासतमा बस्नुभएका लामिछाने चार दिनदेखि काठमाडौं प्रहरी परिसर भद्रकालीको हिरासतमा हुनुहुन्थ्यो।

 

 

 

‘सुशासन र विकासका लागि अध्यादेशहरु ल्याइयो’

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा रहेका प्रमुख दलका शीर्ष नेता, विज्ञ र सरोकार भएका पक्षसँगको सघन छलफलपछि सुशासन र विकासका लागि जरुरी भएकाले विभिन्न अध्यादेशहरु ल्याइएको बताउनु भएको छ ।

नेपाल सरकारको सिफारिसमा हालै राष्ट्रपतिबाट जारी भएका अध्यादेशका सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले जारी गर्नैपर्ने भएकाले बहुतै साबधानी र मेहनताका साथ अध्यादेश सिफारिस गरिएको हो ।

“हामी सरकार टिकाउने मात्रै हाम्रो काम होइन, सरकार त आफै टिकिहाल्छ । यसलाई सफल बनाउनु र परिणाम दिनु हाम्रो मुख्य जिम्मेवारी हो ।”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “यी अध्यादेश यसरुपमा आउन सक्नुले सरकारको सुशासन र विकासको प्रतिबद्धता ज्वलन्तरुपमा प्रकट भएको छ । यो पूर्ण सहमतिमा अध्यादेश आएको छ । अध्यादेश राष्ट्रपतिबाट रोकिएको हल्ला चलाइयो । भूमिसम्बन्धी अध्यादेश अध्ययनका क्रममा रहेको मात्रै थियो, रोकिएको थिएन । अध्यादेशको विरोध भयो भनेर नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबारे नक्कली विज्ञप्ति आयो । यी सबै भ्रमहरु चिरिएका छन् । सरकार ढल्यो भन्नेहरुका प्रयास विशाल नदीमा बसेर छेउबाट ढुङ्गा हानेर नदी छेक्ने प्रयास मात्रै हुन् ।”

प्रधानमन्त्री ओलीले सत्तारुढ दुवै दलका शीर्ष नेतृत्व र विज्ञसँगको सघन छलफल तथा उद्यमी, व्यवसायीको सुझावसमेतका आधारमा अध्यादेश ल्याइएको जनाउँदै अन्य विधेयकको तयारी भएको र अध्यादेश संसद् सुरु भएको पहिलो दिनमै अध्यादेश पेस गर्ने र प्रतिस्थापन विधेयक ल्याएर ६० दिनभित्र पारित गर्ने बताउनुभयो । उहाँले यथोचित समयमा संसद् आह्वान हुने पनि जनाउनु भयो ।

कार्यक्रममा अध्यादेशका विशेषता र आवश्यकताका सम्बन्धमा मुख्यसचिव एकनारायण अर्यालले प्रस्तुतीकरण गर्नुभएको थियो ।

सांसद चौधरीविरुद्धको रिट खारेज

सर्वोच्च अदालतले पुर्व पर्यटन राज्यमन्त्री एवं कैलाली क्षेत्र नं २ का सांसद अरुणकुमार चौधरीको योग्यता विवादसम्बन्धी रिट खारेज गरिदिएको छ। साथै उनको सांंसद पद जोगिएको छ।सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधबार निर्णय सुनाउँदै रिट खारेज गरिदिएको हो।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्माको इजलासले यो निर्णय सुनाएको हो। निर्वाचन अधिकृत वा सम्बन्धित अदालतमा जाने वैकल्पिक कानुनी उपचारको मार्ग हुँदाहुँदै सर्वोच्चमा यो विवाद ल्याएको भन्दै संवैधानिक इजलासले रिट खारेज गरिदिएको हो।

आदेशमा भनिएको छ, ‘प्रत्यर्थी प्रतिनिधि सभा सदस्य अरुणकुमार चौधरी २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा कैलाली जिल्ला, निर्वाचन क्षेत्र नं २ बाट प्रत्यक्ष तर्फबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएको देखियो। निज अरुणकुमार चौधरीको नेपालको संविधानको धारा ८७ बमोजिम प्रतिनिधि सभा सदस्यका लागि योग्यता नपुगेको वा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३ बमोजिम अयोग्यता रहेको वा ऐ। ऐनको दफा १२ बमोजिम तोकिएको योग्यता नरहेको भन्ने नदेखिएको स्थितिमा उम्मेदवारी दर्ता गर्दा पेस गरेको मनोनयन पत्रमा जानीजानी झुटो विवरण पेस गरेको भए सो विषयको उजुरी निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा ३ बमोजिम निर्वाचन अधिकृतसमक्ष वा ऐ ऐनको दफा ४३ बमोजिम सम्बन्धित अदालतमा दिन सक्ने वैकल्पिक कानुनी उपचारको मार्ग अवलम्बन नभएको परिप्रेक्ष्यमा निज अरुणकुमार चौधरीलाई प्रतिनिधि सभा सदस्य पदमा कायम रहने योग्यता नरहेको भन्न मिल्ने नदेखिएको हुँदा रिट निवेदन खारेज हुने ठहर्छ।’

राष्ट्रपति पौडेलद्वारा भूमि सम्बन्धी अध्यादेश जारी

राष्ट्रपति रामचन्द्र पौडेलले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गर्नुभएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले बुधबार साँझ विज्ञप्ति सार्वजनिक गर्नुहुँदै राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा सो अध्यादेश जारी गर्नुभएको जानकारी गराउनुभएको हो ।

यसअघि पुस २९ गते राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन), अध्यादेश २०८१, निजीकरण (पहिलो संशोधन), अध्यादेश २०८१ र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८१ अध्यादेश जारी गर्नुभएको थियो।

राष्ट्रपतिबाट जारी भएको अध्यादेश ६० दिनमा संसदबाट अनुमोदित हुनुपर्छ।