Page 206 – Nepalboli

महाकुम्भ मेलामा पाँचौँ दिन लाखौँ तीर्थयात्री र कल्पवासीको आगमन

उत्तरप्रदेश सरकारले जारी गरिएको आधिकारिक तथ्याङ्क अनुसार शुक्रबार दिउँसो ४ बजेसम्म १७ लाख ८० हजार भन्दा बढी तीर्थयात्री र १० लाख कल्पवासीले महाकुम्भ मेलाको भ्रमण गरेका छन् । पाँचौँ दिन अपराह्न ४ बजेसम्म २७ लाख ८० हजारभन्दा बढीले त्रिवेणी सङ्गममा पवित्र स्नान गरेका छन् । जनवरी १६ सम्म त्रिवेणी सङ्गममा सात करोडभन्दा बढी मानिसले पवित्र स्नान गरेका छन् । आज दिउँसो २ बजेसम्म १० लाखभन्दा बढी कल्पवासी र १० लाख तीर्थयात्रीले महाकुम्भमा दर्शन गरेका थिए ।

यसैबीच जिल्लाको शान्ति सुरक्षामा सम्भावित विघ्न नआउन अधिकारीले फेब्रुअरी २८ गतेसम्म निषेधाज्ञा जारी गरेको छ । आज एक आधिकारिक सञ्चारमा प्रहरी अतिरिक्त आयुक्त प्रयागराजले धारा १६३ अन्तर्गत निषेधाज्ञा आदेशहरू घोषणा गर्नुभयो ।

आगामी घटनाक्रमबारे जानकारी दिँदै एसीपीले भन्नुभयो,“चाडपर्वलाई ध्यानमा राख्दै जिल्लाको शान्ति सुरक्षा कायम गर्न जरुरी छ ।” महाकुम्भ जनवरी १३ बाट सुरु भएको र २८ फेब्रुअरीसम्म चल्ने छ ।

 

दिवा खाजाका लागि विद्यालयको कौसीमा तरकारी खेती

बागलुङ । बागलुङ नगरपालिका–९ को तित्याङ माध्यमिक विद्यालयको कौसीमा यतिबेला आलु, बन्दा, काउली र ब्रोकाउली फलेका छन् । उत्पादित तरकारी विद्यालयकै चमेना गृहमा दिवा खाजाका लागि प्रयोग भइरहेको छ ।  विद्यार्थीले अतिरिक्त क्रियाकलापअन्तर्गत विद्यालयको कौसीमा विभिन्न प्रकारका तरकारी फलाएका हुन् । यी तरकारी उनीहरूले आफैँ पनि पकाउँछन् भने केही र बिक्री पनि गर्छन् ।

तीन वर्ष पहिले प्रत्येक विद्यार्थीले रु ५० सङ्कलन गरेर ५० वटा गमला किनेका थिए । गमलामा मौसमअनुसारको तरकारी रोप्थे । फलेपछि शिक्षक विद्यार्थीले बाँडेर खान्थे । विद्यालयले विद्यार्थीलाई उत्पादनसँग जोड्न र स्थानीय पाठ्यक्रमअनुसार अध्यापनका लागि ‘स्थानीय उत्पादन’ शीर्षकमा ५० पूर्णाङ्कको प्रयोगात्मक सिकाइका लागि तरकारी खेतीमा प्रोत्साहन गरेको थियो ।

तित्याङ्का विद्यार्थीले गमलामा तरकारी खेती गरेको जानकारी पाएपछि सामाजिक क्षेत्रमा सक्रिय रहेको संस्थाले सिवाइसीले शिक्षक विद्यार्थीसँग छलफल गरेपछि कक्षा ६ देखि १० सम्मका १६ जना विद्यार्थीलाई समेटेर ‘थ्री जिरो क्लब’ गठन गरेको थियो । सिवाइसीले जिल्लाका ३५ भन्दा बढी विद्यालयमा ‘शून्य गरिबी, शून्य बेरोजगारी र शून्य कार्बन उत्सर्जन’ ९थ्रि जेरो० नामक क्लब गठन गरी विद्यार्थीलाई व्यावसायिकतामा जोड्दै आएको छ ।

तीन वर्ष पहिलेदेखि प्रयोगात्मक कक्षाका लागि गमलामा तरकारी खेती गर्दै आएका विद्यार्थीलाई गत साउनमा सिवाइसीले बीउविजनसहित कृषि सामग्री उपलब्ध गराएको थियो । मल, तरकारीको बीउ र नर्सरी व्यवस्थापनका लागि विभिन्न उपकरण समेत सिवाइसीले उपलब्ध गराएको थियो । त्यसयता पक्की भवनको छतमै नर्सरी स्थापना गरेर तरकारी फलाइरहेका छन् । आफैँले उत्पादन गरेको तरकारी दिवा खाजामा समेत उनीहरूले प्रयोग गर्दै आएका छन् । विद्यार्थीले विद्यालयमा मात्र होइन घर–घरमा तरकारी खेती गर्न सुरु गरेका छन् ।

कक्षा शिक्षक बिदामा बसेको समय, दिउँसो खाजा खाने समय र आवश्यकता परेको बेला छुट्टीको दिन विद्यार्थीहरू उत्साहित भएर विद्यालय आउँछन् । उनी दिनभरि नर्सरी र तरकारी खेतीमा रमाउँछन् । विद्यालयको थ्रि जिरो क्लबका संरक्षक तथा शिक्षक भूपेन्द्रबहादुर खड्काले भने, “क्लबले यटपटक काउली, ब्रोकाउली र विभिन्न प्रकारका सागका बिरुवा उत्पादन गरेर विद्यार्थीलाई वितरण गरेको छ ।”

कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने एक सय जना विद्यार्थीलाई विभिन्न हिउँदे तरकारीका बिरुवा वितरण गरिएको उनको भनाइ छ । विद्यार्थीले विद्यालयमा मात्रै नभई घरमा समेत आफै तरकारी खेती गरिरहेको क्लबका अध्यक्ष सनिसा क्षत्रीले बताइन् ।

“विदेशमा पढ्दै काम गर्दै गर्ने गरेको सुनिन्छ, यहाँ पनि व्यवहारिक शिक्षाको कुरा हुन्छ”, शिक्षक खड्काले भने “देश सुहाउँदो, हाम्रो भूगोल सुहाउँदो व्यावसायिक कृषि प्रणालीलाई थप व्यवस्थित गर्दै विद्यार्थीलाई उत्पादनसँग जोडेर सानो उमेर मै उद्यमी बन्ने प्रेरणा प्रदान गर्नु स्थानीय उत्पादन कार्यक्रम र क्लबको उद्देश्य हो ।”

यस अभियानलाई बागलुङ नगरपालिका वडा नम्बर ९ ले पनि सहयोग गर्दै आएको अध्यक्ष क्षेत्रीले बताइन् । विद्यालयका प्रधानध्यापक कुमार उपाध्यायका अनुसार तरकारी उत्पादन र बिक्रीका लागि दुई वटा थ्रि जिरो क्लब छन् । एउटा क्लबले उत्पादनको काम गर्छ भने अर्काले बिक्री वितरणको काम गर्छ ।

विद्यालयको हरेक शुक्रबार हुने अतिरिक्त क्रियाकलाप र विभिन्न विशेष कार्यक्रममा विद्यार्थीले आफूले उत्पादन गरेका तरकारीका परिकार बनाउँछन् र विद्यालयमै शिक्षक र विद्यार्थीलाई बिक्री गर्छन् । बिक्रीबाट भएको आम्दानी तरकारीको बीउ, मल खरिदमा खर्चने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनबहादुर थापाले बताए ।

 

साना दलमा अध्यादेशको त्रास छ- महासचिव पोखरेल

नेकपा (एमाले) का महासचिव तथा पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री शंकर पोखरेलले साना दलहरु अध्यादेशको त्रासमा रहेको बताउनुभएको छ । पार्टी बलियो नभएपछि त्यस्तो त्रास हुनेगरेको उहाँको बुझाइ छ ।

प्रेस चौतारी नेपालद्वारा शुक्रबार यहाँ आयोजित स्वागत कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । समाजवादी प्रेस संगठनका नेतृत्वसहित पदाधिकारी, सदस्यहरुलाई प्रेस चौतारीमा स्वागत गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।

यसअघि सत्ताको नेतृत्वमा रहँदा २० प्रतिशतको व्यवस्थासहित अध्यादेश ल्याएर नेकपा ९एमाले० लाई टुक्र्याएकाहरु अहिले सरकारले ल्याएको अध्यादेशबाट त्रसित भएको उहाँले चर्चा गर्नुभयो । जनताको रोजाइको पार्टी एमाले भएकाले एमालेलाई फुटाएर पनि केही फरक नपरेको उहाँले बताउनुभयो । माधव नेपाल नेतृत्वको पार्टी विस्तारै समाप्त हुने उहाँको भनाइ छ ।

नेकपा ९एस० पार्टीका नेता तथा कार्यकर्ताहरुलाई एमालेमा जहिल्यै स्वागत हुने चर्चा गर्दैै उहाँले नेता माधवकुमार नेपालले अक्षम्य गल्ती गरेकाले उहाँका लागि एमालेको ढोका भने खुला नहुने उहाँले चर्चा गर्नुभयो । आफूले गरेको गल्तीमा उहाँले माफी मागेमा मात्र विचार गर्न सकिने उहाँको भनाइ छ ।

वर्तमान अवस्थामा देशको नेतृत्वकर्ता दल नेकपा (एमाले) भएको र पार्टीको अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीको जिम्मेवारीमा भएका बेला विरोधीहरुले चौतर्फी घेराबन्दी गरिरहेको उहाँको भनाइ छ । सो घेराबन्दीविरुद्ध प्रतिवादमा लाग्न उहाँले प्रेस चौतारी नेपालसहित सिङ्गो पार्टी पङ्तिलाई आग्रह गर्नुभयो ।

 

 

संसद् अधिवेशन शीघ्र आह्वान गर्न विपक्षी दलको माग

संसदमा प्रतिपक्षमा रहेका दलहरूले सङ्घीय संसद्को नियमित हिउँदे अधिवेशन तत्काल आह्वानको माग गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा (एकीकृत समाजावादी), राष्ट्रिय जनमोर्चा, आम जनता पार्टी (आजपा) र नेपाल समाजवादी पार्टी (नेसपा)को शुक्रबार यहाँ भएको संयुक्त बैठकले शीघ्र अधिवेशन आह्वान गर्न माग गरेको हो ।

सङ्घीय संसद्को नियमित अधिवेशन बोलाएर कानुन निर्माण नगरी, संसदीय समितिमा छलफलको क्रममा रहेका विधेयक फिर्तासमेत नलिई अध्यादेश जारी गरेकामा बैठकले विमति जनाएको छ ।

बैठकले शान्तिप्रक्रियाका बाँकी कामसँग सम्बन्धित बेपत्ता प्रक्रियालाई अबिलम्व अघि बढाई पीडितहरूलाई न्याय दिन सरकारको ध्यानाकर्षण गराएको छ । बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देल, रास्वपाका कार्यवाहक सभापति डिपी अर्याल, राजमोका उपाध्यक्ष दुर्गा पौडेल, आजपाका सह–अध्यक्ष तिलक थापा मगर र नेसपाका अध्यक्ष महेन्द्र राय यादवलगायत नेता सहभागी हुनुहुन्थ्यो ।

सुक्खा पहिरोले कोशी राजमार्ग अवरुद्ध

सङ्खुवासभा– कोशी राजमार्गअन्तर्गत यहाँको भोटखोला गाउँपालिका–३ सोम्बुङडाँडामा सुक्खा पहिरो झरेको छ। आज दिउँसो सुक्खा पहिरो झरेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पहिरो खसेपछि खाँदबारीबाट भोटखोलाको च्याम्ताङ जाने यातायातका साधन सञ्चालन हुन नसकेको जिल्ला प्रहरीका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए।

करिब ३५ मिटर माथिबाट खसेको सुक्खा पहिरोले २० मिटरभन्दा बढी कच्ची सडक अवरुद्ध पारेको छ। इलाका प्रहरी कार्यालय हटिया गोलाबाट गएको प्रहरी टोली र स्थानीयवासीले पहिरो पन्छाउने प्रयास गरिरहेको छ।  भोटखोला गाउँपालिकाको केन्द्रबाट पहिरो गएको स्थान नौ किलोमिटर दुरीमा पर्छ।

 

 

छ महिनामा एक लाख बढीले घुमे निकुञ्ज

चितवन– चालु आर्थिक वर्ष २०८१र८२ को ६ महिनामा चितवन राष्ट्रिय निकुञ्जमा एक लाख १० हजार तीन सय ४५ पर्यटकले अवलोकन भ्रमण गरेका छन्। भ्रमण गर्नेमा सबैभन्दा बढी आन्तरिक पर्यटक रहेका छन्। निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार साउनयता निकुञ्जमा ५३ हजार एक सय तीन नेपालीले भ्रमण गरेका छन्।

दक्षिण एसियाली मुलुकका १० हजार आठ सय ५० र तेस्रो मुलुकका ४६ हजार तीन सय ९२ जनाले निकुञ्जको भ्रमण गरेका छन्। पर्यटकबाट रु १३ करोड एक लाख ४६ हजार राजस्व सङ्कलन भएको उनले बताए।
निकुञ्जमा दुर्लभ एकसिङ्गे गैँडा, पाटेबाघ, गोहीलगायत वन्यजन्तु, जलचर र चराचुरुङ्गी हेर्न पर्यटक आउने गरेका छन्। निकुञ्ज र मध्यवर्ती क्षेत्रमा हात्ती, डुङ्गा, जिप र पैदल यात्रा गरेर पर्यटक रमाउने गर्दछन्। चितवनको मुख्य आकर्षण नै चितवन राष्ट्रिय निकुञ्ज हो।

यसैबीच, निकुञ्जमा एउटा पोथी गैँडा मृतावस्थामा भेटिएको छ। बिहीबार निकुञ्जको धु्रव पोष्ट नजिक ताप्लेतालमा अन्दाजी ३० वर्षको पोथी गैँडा मृत भेटिएको हो। उक्त गैँडा प्राकृतिक कारण मरेको आशङ्का गरिएको छ। मृत भेटिएको गैँडाको खाग खुर सुरक्षित छ। चालु आर्थिक वर्षको पुस मसान्तसम्म १३ गैँडा मृत भेटिएका छन्। जसमध्ये पाँच भाले, पाँच पोथी र लिङ्ग पहिचान नभएका तीन रहेका छन्। मृत भेटिएकामध्ये एउटा विद्युतीय करेन्ट लागेर मरेको हो भने अन्य सबै प्राकृतिक कारणले मरेका हुन्।

शिक्षा र स्वास्थ्य क्षेत्रलाई आधुनिक बनाउन सरकार प्रयासरत- प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा र स्वास्थ्य क्षेत्रलाई अझ आधुनिक र उन्नत बनाउन सरकार प्रयासरत रहेको बताउनुभएको छ । पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई सम्बोधन गर्नुहुँदै कुलपति ओलीले मुलुकमा अनेक क्षेत्रमा परिवर्तन र प्रगति हासिल हुँदै गएकाले ऋषिमुनीहरुले भन्दै आएको सर्वे भवन्तु सुखिनः को आधुनिक रुप समृद्ध नेपाल, सुखी नेपालीको गन्तव्यलाई ध्यानमा राखेर आफूहरु काम गरिरहेको स्पष्ट गर्नुभयो ।

उहाँले व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन भएन भन्नेहरुलाई प्रतिष्ठानको स्थापना र पोखरामै रहेर जनशक्ति उत्पादन हुनु एक दृष्टान्त भएकाले पोखरामा १४ जना बिरामीको मिर्गौला प्रत्यारोपण हुनु विशेष उपलब्धिको विषय भएको जनाउनुभयो ।

प्रधानमन्त्री ओलीले विश्वको यो भूभाग ज्ञान र खोजको भूमि भएकाले आधुनिक चिकित्सा सुरु हुनु अगावै वेद–विज्ञान र प्राचीन चिकित्सा आरम्भ भएको गौरवशाली इतिहास रहेको स्मरण गराउनुभयो ।

“हामी उठ्न नसक्ने कुनै कारण छैन । हामी सूचना प्रविधि र आर्टिफिसियल इन्टेलिजेन्सको सदुपयोग गर्दै विकासमा अगाडि बढ्नेछौँ ।”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “चीनले त्यत्रो जनसङ्ख्यालाई छोटो समयमा गरिबीको रेखामुनिबाट माथि उठायो । हामीले पनि हाम्रो देश आफैँ बनाउन लाग्नुपर्छ । लागेपछि नेपाल बन्छ ।”

प्रधानमन्त्री ओलीले दीक्षित विद्यार्थीहरुलाई दृष्टान्तयोग्य, इमानदार, आदर्शवान र समाजका लागि उपयोगी हुन सक्नुहोस् भन्ने शुभकामना दिँदै विद्यार्थी र अभिभावकको आर्थिक लगानी, स्नेह र समयको लगानीको प्रतिफल प्राप्त भएको बताउनुभयो ।

कार्यक्रममा कुलपति ओलीबाट विसं २०८०-२०८१ मा प्रतिष्ठानबाट एमडी र एमएसमा उत्तीर्ण ३८ विद्यार्थी दीक्षित भएका छन् । यसैगरी कुलपति ओलीले उत्कृष्ट विद्यार्थीहरु अरविन्दकुमार शाह (अर्थोपेडिक्स) र आशिष सापकोटा (जनरल सर्जरी)लाई उपकुलपति पदक वितरण गर्नुभयो । प्रधानमन्त्री ओलीले प्रतिष्ठानको आकस्मिक तथा प्राज्ञिक भवनको उद्घाटन पनि गर्नुभयो ।

 

 

 

 

 

 

 

 

 

हप्ताको दुई दिन अनिवार्य जनताको गुनासो सुन्न मन्त्रीहरूलाई कांग्रेसको निर्देशन

सत्तामा रहेको दल नेपाली कांग्रेसले पार्टीबाट नेतृत्व गरेर सरकारकमा गएका मन्त्रीहरूलाई हप्तामा दुई दिन अनिवार्य जनताको गुनासो सुन्न निर्देशन दिएको छ । आज पार्टी सभापति शेरबहादुर देउवा निवासमा बैठक बसेर पार्टीले यस्तो निर्णय गरेको हो । बैठक पश्चात् जानकारी दिँदै प्रमुख सचेतक श्याम घिमिरेले पालैपालो मन्त्रीले जनता र कार्यकर्ताको गुनासो पार्टी अफिसमा गएर सुन्न निर्देशन दिइएको बताए ।

‘हप्तामा दुई दिन खुल्ला भेटघाट गर्ने, पार्टी अफिसमा गएर कार्यकर्तासँग भेटघाट गर्ने र नागरिकको गुनासो सुन्न निर्देशन दिएका छौँ‚’ उनले भने ।

 

प्रचण्डको दाबी- संघीय लोकतान्त्रिक गणतन्त्र नै दुर्घटनामा पर्ने खतरा छ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारका पछिल्ला कदमले संघीय लोकतान्त्रिक गणतन्त्र नै दुर्घटनामा पर्ने खतरा भएको टिप्पणी गरेका छन् । चितवनको माडीमा अवस्थित सोमेश्वर माध्यमिक विद्यालयको स्वर्ण महोत्सवलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो दाबी गरेका हुन् ।

‘संघीय लोकतान्त्रिक गणतन्त्रमाथि नै दुर्घटना हुने हो कि भन्ने खतरा पैदा भएको छ,’ पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले भने, ‘संविधान, लोकतन्त्र, समावेशी र समानताका अधिकार यसले खोस्न खोजियो भने देश राजनीतिक खतरामा जानसक्छ ।’

दुर्घटनाबाट देशलाई बचाउन उनले जनप्रतिनिधि लगायत सम्पूर्ण जनतालाई आ–आफ्नो ठाउँबाट आवाज उठाउन अनुरोध पनि गरे । प्रचण्डले आफू नेतृत्वको सरकार हुँदा केही सकारात्मक पहल भएको भए पनि अहिले त्यसलाई भत्काउने काम भइरहेको जिकिर गरे ।

‘मेरो सरकार हुँदा केही सकारात्मक पहल भएका थिए । त्यही सन्दर्भमा निकै अप्राकृतिक, अपारदर्शी र असंवैधानिक ढंगबाट पहिलो र दोस्रो दल मिलेर सरकार बन्यो,’ प्रचण्डले भने, ‘सरकार बनेयता गरेका कामहरू संविधान र लोकतन्त्रको मर्यादा विपरीत धेरै काम भएका छन् ।’

सरकारले पछिल्लो पटक ल्याएका पाँच वटा अध्यादेश लोकतन्त्रको मर्यादा र भावना विपरित भएको प्रचण्डको भनाइ थियो ।

‘अध्यादेशको जो लाइन लगाउन खोजिएको छ । सदनलाई छलेर अध्यादेशमार्फत् शासन गर्न खोज्नु लोकतन्त्रको मर्यादा र भावना विपरित हो,’ प्रचण्डले भने ।

समितिमै विचाराधीन रहेको विधेयकलाई पनि वास्ता नगरी सरकारले अध्यादेश ल्याएको भन्दै प्रचण्डले त्यसप्रति आपत्ति जनाए ।

‘विधेयक सदनमा प्रस्तुत भयो, सदनको फुल हाउसबाट समितिमा पठाइयो । त्यो विधेयक अहिले समितिमै छ । त्यस्तो विधेयक पनि फिर्ता लिएर अध्यादेश जारी गर्ने दुस्साहस भएको छ,’ प्रचण्डको भनाइ छ ।

 

 

 

 

पुसमै पाक्यो ‘चैते काफल’, जलवायु परिवर्तनको असर

चैतमा पाक्ने काफलको परिचय फेरिँदै गएको छ । विगतमा चैतमा मात्रै फल्ने भएकाले चैते काफल भन्ने गरिएकामा अचेल पुष माघमै फल्ने थालेपछि के भन्ने भनेर अन्योलको स्थिति छ । हुन त धेरैतिरबाट यस्ता खबरहरू आउने भएकाले आजभोलि कतिपयका लागि यो आश्चर्यको विषय होइन तर दाङको तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटमा भने धेरै जना आश्चर्यचकित छन्, किनकि यहाँ पुषमै काफल पाक्न थालेको छ । विगत वर्षदेखि यस क्षेत्रमा कुनै वर्ष कि चैतभन्दा पछि, कि त त्यसअघि नै काफल पाक्न थालेपछि धेरैलाई अचम्म लाग्न थालेको हो । ‘गएको वर्ष जेठसम्म पनि चैते काफल नपाकेको छिल्लीकोटमा यस वर्ष भने पुसमै पाकेको छ । यस्तो कहिल्यै हुन्थेन । यो के अचम्म भएको हो रु’, आश्चर्य मान्दै स्थानीय प्रवीर पुनले भने ।

केही वर्षअघिसम्म चैते काफल चैतमै पाक्ने गरेको भए पनि पछिल्लो समय कहिल्यै अघि र कहिल्यै पछि पाक्दा आफूहरू अचम्मित भएको उनको भनाइ छ । यो वर्ष पुसमै काफच चाख्न पाएको पुनले जानकारी दिए । पुसको तेस्रो हप्तादेखि काफल पाक्न थालेको हो ।

जलवायु परिवर्तनको असरका कारण यस्तो समस्या देखिने गरेको तुलसीपुर उपमहानगरपालिकाका कृषि महाशाखा प्रमुख धनराज गौतमले बताए । उनका अनुसार चिसो मौसममा १० डिग्रीभन्दा कम तापक्रम नहुँदा यसरी अगाडि नै काफल पाकेको उनको भनाइ छ । ‘यस वर्ष १० डिग्रीभन्दा कम तपक्रम नै भएन’, उनले भने, ‘यसको प्रभावले पनि छिट्टै काफल पाकेका हुन् ।’

बिरुवामा हर्मोनल प्रभावले यसरी समयभन्दा ढिलो र छिटो हुने गौतमको भनाइ छ । बिरुवामा पातको मुना आउने र फूलको मुना आउने आ–आफ्नै समय हुने गरेको भए पनि यसपटक सँगसँगै पातको मुना र फूलको मुना आउँदा पनि त्यस्तो प्रभाव परेको हुनसक्ने उनको धारणा छ ।