Page 205 – Nepalboli

स्वास्थ्य बीमा सुधारको कार्ययोजना प्रस्तुत गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदनका आधारमा यथाशीघ्र सुधारको कार्ययोजना बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएका छन्। सो कार्यदलको प्रतिवेदन र सुझावबारे आज प्रधानमन्त्री निवासमा ब्रिफिङ लिएपछि प्रधानमन्त्री ओलीले निरोगी नेपाल बनाउने लक्ष्यसहित नागरिकलाई सुसूचित गराउनुपर्ने र बिरामी भइहालेमा खर्च नभएर उपचार गर्न नपाउने अवस्था हुन नहुने बताए।

उनले कार्यदलबाट स्वास्थ्य बीमा कार्यक्रमको वस्तुनिष्ठ समीक्षासहित सुझाव दिइएकाले यथास्थितिमा परिवर्तन गरी व्यावहारिक हुनेगरी कार्यक्रमलाई एक साताभित्र कार्ययोजना ल्याउन मन्त्रालयलाई भनेका हुन्। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल, कार्यदलका संयोजक डा शम्भु आचार्य, सदस्यहरु डा भगवान् कोइराला, डा रघुराम काफ्ले र सदस्यसचिव डा सरोज शर्माले प्रधानमन्त्री ओलीलाई स्वास्थ्य बीमा कार्यक्रमको नीतिगत, कानुनी र संरचनागत परिवर्तन गर्नुपर्ने देखिएको ब्रिफिङ गरेका थिए।

हाल यस कार्यक्रमअन्तर्गत करिब ११ अर्ब भुक्तानी गर्न बाँकी छ।

कार्यक्रममा कूल जनसङ्ख्याको २७ प्रतिशत नागरिक आबद्ध भएको र आबद्ध भएकामध्ये ४८ प्रतिशतले सेवा लिएको स्थितिमा सबै नागरिकलाई कार्यक्रममा अनिवार्य सहभागी गराउने र निरपेक्ष गरिबीको रेखामुनि रहेका सबै नागरिकको स्वास्थ्य सेवा निःशुल्क गर्नुपर्ने ढाँचामा जान कार्यदलले सुझाव दिएको छ।

कार्यदलले आधारभूत स्वास्थ्यसेवा र अन्य सामाजिक सुरक्षाका कोषका कार्यक्रमसँग पनि यस कार्यक्रमलाई एकीकरण गर्न सुझाएको छ । सो कार्यदलले गत पुस १४ गते मन्त्रालयलाई प्रतिवेदन बुझाएको थियो।

सरकारी ऋण २५ खर्ब ३६ अर्ब पुग्यो

चालु आर्थिक वर्ष २०८१-८२ को अर्धवार्षिक समीक्षा अवधिसम्म सरकारको तिर्न बाँकी ऋण २५ खर्ब ३६ अर्ब रुपैयाँ नाँघेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रकाशित गरेको गत पुस मसान्तसम्मको ऋणको प्रतिवेदनअनुसार पछिल्लो ६ महिनामा मात्र १ खर्ब २ अर्ब सरकारी ऋण थपिएको हो।

‘चालु आर्थिक वर्षको सुरुमा सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब ९ करोड रुपैयाँ रहेकामा पुस मसान्तसम्ममा १ खर्ब २ अर्ब ३ करोड थप वृद्धि भई कूल सार्वजनिक ऋणको दायित्व २५ खर्ब ३६ अर्ब १३ करोड रुपैयाँ पुगेको छ। जुन कूल गार्हस्थ्य उत्पादनको ४४ दशमलव ४६ प्रतिशत हुन आउँछ’, कार्यालयको प्रतिवेदनमा भनिएको छ।

कूल सार्वजनिक ऋणमा वैदेशिक ऋणको हिस्सा ५१ दशमलव ३१ प्रतिशत अर्थात् १३ खर्ब १ अर्ब ४१ करोड ७३ लाख रुपैयाँ बराबर छ। कूल गार्हस्थ्य उत्पादनसँग बाह्य ऋणको अनुपात २२ दशमलव ८१ प्रतिशत हो।

त्यस्तै, कूल सार्वजनिक ऋणमा आन्तरिक ऋणको हिस्सा ४८ दशमलव ६८ अर्थात् १२ खर्ब ३४ अर्ब ७१ करोड ४१ लाख रुपैयाँ बराबर छ। कूल गार्हस्थ्य उत्पादनको आधारमा आन्तरिक ऋणको प्रतिशत २१ दशमलव ६४ प्रतिशत हो।

सरकारले चालु आर्थिक वर्षमा कूल ५ खर्ब ४७ अर्ब ऋण उठाउने लक्ष्य राखेकामा गत पुस मसान्तसम्ममा २ खर्ब ४० अर्ब ८ करोड ऋण प्राप्ति भएको कार्यालयले जनाएको छ। वार्षिक लक्ष्यको तुलनामा हालसम्मको ऋण प्राप्ति ४३ दशमलव ८९ प्रतिशत हो।

चालु आर्थिक वर्षका लागि ३ खर्ब ३० अर्ब आन्तरिक ऋण उठाउने सरकारको लक्ष्य रहेकोमा पुस मसान्तसम्ममा १ खर्ब ८१ अर्ब ५ करोड अर्थात् वार्षिक लक्ष्यको ५४ दशमलव ८६ प्रतिशत ऋण उठाइएको छ। त्यस्तै २ खर्ब १७ अर्ब बाह्य ऋण उठाउने वार्षिक लक्ष्य रहेकामा पुस मसान्तसम्ममा २७ दशमलव २० प्रतिशत अर्थात् ५९ अर्ब ३ करोड प्राप्ति भएको छ।

सार्वजनिक ऋणको साँवा ब्याज तिर्नका लागि सरकारले चालु आर्थिक वर्षका लागि ४ खर्ब २ अर्ब ८५ करोड रुपैयाँ विनियोजन गरेको छ। गत पुस मसान्तसम्ममा साँवा ब्याज तिर्न १ खर्ब ८२ अर्ब ४० करोड रुपैयाँ खर्च भएको छ।

यो वार्षिक बजेट विनियोजनको आधारमा ४५ दशमलव २८ प्रतिशत हो। कूल गार्हस्थ्य उत्पादनका आधारमा पुस मसान्तसम्ममा कूल ऋण सेवा खर्च ३ दशमलव २० प्रतिशत रहेको कार्यालयले जनाएको छ।

 

महाकुम्भमा अहिले सम्म ७ करोड भन्दा बढी तीर्थयात्रीद्धारा भ्रमण

भारतको उत्तर प्रदेशमा रहेको प्रयागराज शहरमा चलिरहेको महाकुम्भको क्रममा अहिले सम्म ७ बरोड भन्दा बढी तीर्थयात्रीहरूले भ्रमण गरेका छन् । महाकुम्भको क्रममा त्रिवेणी सङ्गममा १० लाखभन्दा बढी कल्पवासी र ३५ लाख भक्तजनहरुले दैनिक स्नान समेत गरेको तथ्याङ्कले देखाएको छ । जनवरी १९ आईतवार (आज) सम्मको तथ्याङ्कअनुसार हालसम्म ७ करोड ७३ लाखभन्दा बढी तीर्थयात्रीले महाकुम्भ मेलामा दर्शन गरेका छन् । आईतवार उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले प्रयागराजमा पत्रकारहरु संग अन्र्तक्रिया गरेका छन भने महाकुभ्मका तयारीमा खटीरहेका कर्मचारीहरु संग छुटै बैठकहरु गरेका छन ।

हिजो मात्रै भारतका रक्षामन्त्री राजनाथ सिंहले महकुम्भमा स्नान गर्दै चलिरहेको महाकुम्भलाई भारतीय संस्कृति र सनातन धर्मको आध्यात्मिक अनुभवको पर्व बताउनुभयो । प्रयागराजमा चलिरहेको महाकुम्भको छैटौं दिन त्रिवेणी सङ्गममा स्नान गरेपछि राजनाथ सिंहले एएनआईसँग भन्नुभयो,“मलाई भगवानले यो अवसर दिनुभएकोमा म आफ्नो सौभाग्य ठान्छु । आज सङ्गममा स्नान गरेपछि म धेरै सन्तुष्ट महसुस गरेको छु ।”

“यो पर्व भारतीय संस्कृति र सनातन धर्मको आध्यात्मिक अनुभवको पर्व हो, जुन प्राचीन वैदिक खगोलीय घटनामा आधारित छ । ” शीर्ष भाजपा नेताले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई विश्वको सबैभन्दा ठूलो सार्वजनिक जमघट आयोजना गरेकोमा बधाई पनि दिनुभयो ।

“उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले विश्वको सबैभन्दा ठूलो सार्वजनिक जमघटलाई कुशलतापूर्वक सञ्चालन गर्ने तरिकाका लागि बधाईको हकदार छन् । म उहाँलाई यसका लागि हृदयदेखि बधाई दिन्छु,” उहाँले बताउनुभयो ।

सिंहले स्नान गरेपछि पवित्र गङ्गा, यमुना र सरस्वती नदीको सङ्गममा पूजापाठ गर्नुभयो । रक्षामन्त्रीसँगै भारतीय जनता पार्टी (भाजपा) का सांसद सुधांशु त्रिवेदीलगायत पार्टीका अन्य नेताहरु पनि थिए । १३ जनवरीबाट सुरु भएको महाकुम्भ फेब्रुअरी २६ मा समापन हुनेछ ।

सर्लाही लालबन्दीका विनोद साह- चिया बेचेरै मासिक एक लाख कमाउँछन्

सर्लाहीको लालबन्दीस्थित पूर्वपश्चिम राजमार्गसँगै तरकारी बजारको छेवैमा एउटा सानो ठेला उभ्याइएको छ । ठेलामाथि एक थान सिलिन्डर ग्यास, त्यसमा जोडिएको चुलो, दूधले टिलपिल भरिएको डेक्ची, चुलोमा निरन्तर चिया उमालेको ताप्के तथा छेवैमा केही थान गिलास राखिएका छन् । यो विगत १८ वर्षदेखिको दृश्य हो ।

सधै चियाका पारखीको भीडले घेरिरहने चिया पसले हुन् विनोद साह । लालबन्दी नगरपालिका–९ का ४२ वर्षीय साहले चिया बेचेरै नाम, दाम र पहिचानसमेत बनाउनुभएको छ । बिहान ४ देखि अबेर साँझसम्म उहाँको चिया पसल चियाका पारखीले घेरिरहेको हुन्छ ।

“दैनिक सबेरै पसलमा आउँछु, साँझ ८ बजे मात्र पसल बन्द गरेर घर फर्कन्छु, विगत १८ वर्षदेखिको मेरो दैनिकी यही हो”, साहले भन्नुभयो– “कहिलेकाहीँ बिहान थोरै ढिला हुँदा पनि ग्राहकले गाली गर्नुहुन्छ ।” विसं २०५९ मा लालबन्दी नगरपालिकास्थित बस्तीपुरमामा रहेको जनज्योति माध्यामिक विद्यालयबाट एसएलसी उत्तीर्ण गर्नु पहिला नै उहाँले चिया पकाउनु सुरु गर्नुभएको थियो । रौतहटको दुर्गा भगवतीपुर गाउँपालिका–५ पुख्र्यौली घर भएको साह परिवार बागमतीको बाढीले घरखेत बगाएपछि लालबन्दी बसाइँ सरेको हो । हाल बसोबास रहेको स्थान साहको मामाघर हो ।

“घरखेत बागमतीको बाढीले बगाएपछि मामाघरका हजुरबुबाले आमाबुबालाई यतै बोलाउनुभयो”, उहाँले भन्नुभयो, “त्यसपछि आमाबुबाले हरियो मकै पोलेर, बदाम भुटेर बेच्ने र त्यसबाट आएको पैसाले परिवारको गुजारा गर्नुहुन्थ्यो ।”

आमाबुबालाई सघाउँदासघाउँदै परिवारका लागि आफूले पनि केही गर्नुपर्छ भनेर चिया बेच्न सुरु गरेको साहले बताउनुभयो । “ज्योतिषले हात हेर्दा होटल व्यवसाय फाप्छ भनेका थिए”, उहाँले भन्नुभयो, “होटल खोल्न परिवारसँग पैसा थिएन । धेरथोर ऋण गरेर चिया व्यापार सुरु गरेँ ।” यसैबाट परिवारको गुजारासँगै घरबास जोडेको उहाँले बताउनुभयो । साहले बिहान सबेरैदेखि राति अबेरसम्म दैनिक झण्डै तीन सय कप चिया बेच्ने गरेको सुनाउनुभयो । त्यसबाट उहाँले दैनिक रु छ हजारसम्मको कारोबार गर्नुहुन्छ ।

चियाका लागि दैनिक डेरीबाट ४० देखि ५० लिटर दूध किनेर ल्याउने गरेको साहले बताउनुभयो । “प्रतिलिटर दूधको रु ९० तिर्नुपर्छ”, उहाँले भन्नुभयो, “एक कप चिया रु २० मा बेच्छु ।” उहाँका अनुसार पसलमा आउने धेरै ग्राहक नियमित रुपमा आउने गरेका छन् । चिया बेचेरै आफूले लालबन्दीमा १५ धुर घडेरी किनेर एकतले पक्की घर बनाएको साहले सुनाउनुभयो ।

“त्यतिबेला घडेरी किन्दा रु एक लाख तिरेँ”, उहाँले सुनाउनुभयो, “विस्तारै विस्तारै गरेर रु ३५ लाख खर्च गरेर घर बनाएको छु । दुई छोरा र एक छोरीलाई बोर्डिङ स्कुलमा पढाए । खान लगाउन अहिलेसम्म समस्या भएको छैन ।” महिनामा रु एक लाख ५० हजारभन्दा बढीको कारोबार हुने गरेको उहाँको भनाइ छ । सुरुमा एक वर्ष चिया पसल चलाउँदा उधारो भएर घाटा लागेको साहको अनुभव छ । त्यसयता उहाँले फेरि जीवन गुजाराको विकल्प सोच्नुपरेको छैन । चिया पसलबाट पैसाका साथै साथीभाइ र नाम कमाएको साहको भनाइ छ । साथीभाइकै सहयोगमा पाँच महिना अघि उहाँले छोरालाई उच्च शिक्षा अध्ययनका लागि जर्मनी पठाउनुएको छ ।

साहका अनुसार कान्छो छोरा कक्षा ११ मा र छोरी कक्षा १० मा बोर्डिङ स्कुलमा पढिरहेका छन् । चिया व्यापारकै कारण अन्य व्यापार, जागिर र वैदेशिक रोजगारका बारेमा सोच्न नसकेको उहाँ बताउनुहुन्छ । लालबन्दी साहको मावली गाउँ भएकाले सबैले उहाँलाई भान्जा भनेर सम्बोधन गर्छन । उहाँ पनि चिया खान आउने साना ठूला सबैलाई मामा भनेर सम्बोधन गर्नुहुन्छ । त्यसैले साहको चिया पसल लालबन्दीभरि ‘भान्जाको चिया पसल’का नामले परिचित छ ।

 

 

 

मदन भण्डारी राजमार्गको पूर्वी खण्डमा ४२ किलोमिटर सडक कालोपत्र

झापा– मदन भण्डारी राजमार्गको पूर्वी खण्डअन्तर्गत झापाको बाहुनडाँगीदेखि सुनसरीको धरानसम्म ८० प्रतिशत निर्माण सम्पन्न भएको छ। जसमा यसमा सङ्घीय सरकारको रु सात अर्ब ९० करोड खर्च भइसकेको जनाइएको छ। मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकका सूचना अधिकारी सुभाषकुमार दत्तका अनुसार उक्त राजमार्गको कूल ९५ दशमलव आठ किलोमिटरको निर्माण आर्थिक वर्ष २०७६-७७ देखि सुरु भएको हो।

हालसम्ममा सडकतर्फ सात वटा र पुलतर्फ ४२ वटा ठेक्का व्यवस्थापन भएको र औसत ८० प्रतिशत भौतिक प्रगति भएको उहाँले जानकारी दिनुभयो। विभिन्न चरणमा गरी राजमार्ग निर्माणमा रु १० अर्ब १३ करोड बराबरको ठेक्का लागेको थियो। जसमा ७८ प्रतिशत वित्तीय प्रगति भएको उनले बताए।

झापादेखि धरानसम्मको पूर्वी खण्डले झापा, इलाम, मोरङ र सुनसरी जिल्लालाई समेटेको छ। जसमध्ये ४१ दशमलव ६८ किमी सडक कालोपत्र भइसकेको छ। झापामा १ दशमलव ९२ किमी, मोरङमा २० दशमलव ६५ किमी, इलाममा दुई दशमलव तीन किमी र सुनसरीमा पाँच दशमलव ८१ किमी सडक कालोपत्र भएको हो।

सडकतर्फ सात वटा ठेक्का व्यवस्थापन भएकामा एउटा ठेक्काको सडक निर्माण सम्पन्न भइसकेको छ भने छ वटा सडक काम अन्तिम चरणमा पुगेको जनाइएको छ। विगतका वर्षमा ३१ दशमलव ६८ किमी सडक कालोपत्र भएको थियो भने चालु आवमा १० किमी सडक कालोपत्र भइसकेको छ।

मदन भण्डारी राजमार्गको निर्माणका लागि सङ्घीय सरकारले चालु आवमा रु ९१ करोड बजेट विनियोजन भएकामा रु ३५ करोड ९६ लाख खर्च भएको मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकले जनाएको छ। चालु आवमा १५ किमी थप सडक निर्माण गर्ने लक्ष्य रहेकामा १० दशमलव ६७ किमी सडक निर्माण भइसकेको कार्यालयका सूचना अधिकारी दत्तले जानकारी दिए। उनका अनुसार चालु आवमा सडक निर्माणमा ६७ प्रतिशत लक्ष्य हासिल भइसकेको छ।

पूर्वको झापादेखि पश्चिमको डडेल्धुरा जिल्ला जोड्ने यो राजमार्ग चुरे महाभारत क्षेत्रमा निर्माणाधीन छ। यसको कूल लम्बाई एक हजार दुई सय किलोमिटर छ। धरानदेखि हेटौँडासम्मको तीन सय किलोमिटर सडक निर्माण सम्पन्न भइसकेको छ भने पूर्वी खण्डमा पनि हाल काम भइरहेको छ।

“वन क्षेत्रसँग सम्बिन्धत समस्याबाहेक यो खण्डमा निर्माण तीव्र गतिमा भइरहेको छ”, सूचना अधिकारी दत्तले भने, “वन क्षेत्रमा परेको सडकमा भोगाधिकारका लागि मन्त्रिपरिषद्बाट निर्णय भइसकेको हुँदा अब रुख कटानलगायतका काम छिटै सम्पन्न हुनेछन्।”

 

 

 

 

 

धोविखोला करिडोरमा सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका संरचना भत्काइयो

काठमाडौं उपत्यका विकास प्राधिकरणले सार्वजनिक जग्गा अतिक्रमण गरि बनाएका घर–टहरा भत्काउन सुरु गरेको छ। प्राधिकरणले मापदण्ड विपरित, सार्वजनिक जग्गामा बनेका संरचना, सेटव्याक मापदण्ड नपनाइ बनाइएका घर–टहरा भत्काउन सुरु गरेको हो।

सोही क्रममा आइतबार काठमाडौ महानगर वडा नंवर ७ मालपोत कार्यालय नजिकै रहेको धोविखोला करिडोरमा सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका संरचना भत्काइएको छ। अतिक्रमित संरचना अटाउने क्रममा केहि व्यक्तिहरुले विरोध समेत गरेका थिए।

धोविखोला र बागमती नदी किनारमा करिब ५ सय रोपनी जग्गा सार्वजनिक जग्गा अतिक्रमण भएको भन्दै आम्दानी स्रोतका लागि बनाइएका घर–टहरा भत्काउन सुरु गरिएको प्राधिकरणका काठमाडौं जिल्ला आयुक्त सुवास बस्नेतले जानकारी दिए।

बस्नेतले जग्गा प्लटिङ, संस्थागत भवन, सार्वजनिक, व्यापारिक, पार्टी प्यालेस अस्पताल, विद्यालयलगायतका संरुचना बनाउनका लागि अनिवार्य रुपमा अनुमति लिनुपर्ने बताए।

प्राधिकरणले स्वीकृति नलिई संरचना बनाइएको पाइएमा संरचना भत्काउनुका साथै कडा कारवाही गर्ने चेतावनी समेत दिएको छ। मापदण्ड बिपरित संरचना बनाएको पाइए जिल्ला आयुक्तको कार्यालयमा उजुरी दिन समेत प्राधिकरणले आग्रह गरेको छ।

पाहानी राजवंशीको भक्का, जहाँ लाग्छ बिहानैदेखि भीड

झापा– उज्यालो नहुँदै झिसमिसेमा धुलाबारी मोडमा आइपुग्छिन् पाहानी राजवंशी र सुरु गर्छन् माटाको भाडामा भाक्का पकाउन। यतिबेला उनको दैनिकी नै बनेको छ यो काम। मेचीनगर नगरपालिका–१५ धुलाबारी क्याम्पस मोडमा घर भएकी ६० बर्षीया राजवंशी भाक्का पकाएर बेच्नकै लागि मेचीनगर–१० को धुलाबारी चोकमा विहान ४:३० बजे नै पुग्छिन्। पूर्वपश्चिम राजमार्गको किनारमै रहेका कारण उनले पकाएको भाक्का खानेका लागि भीड नै लाग्छ।

पकाएको भाक्का ग्राहकलाई बेच्न उनका श्रीमान भद्रु राजवंशीले सहयोग गर्छन्। गोलभेडामा लसुन र अकबरे खुर्सानी मिसाएको पिरो अचारमा सालको पातमा श्रीमतीले बनाएको भाक्का प्रति गोटा रु १० का दरले बेच्न भद्रुलाई भ्याईनभ्याई नै हुन्छ। उनले दैनिक जसो दुई हजारदेखि दुई हजार पाँच सयसम्मको भाक्का विक्री गर्दै आएका छन्।

भाक्का खानका लागि बिहान मर्निङवाकमा हिंड्नेहरु, विद्यार्थी र गाडीका यात्रुहरु हुन्छन्। पाहानी राजवंशी मात्र होइन धुलाबारी चोक राजमार्ग किनारमा यतिबेला भाक्का बच्चेहरु आधा दर्जन जति छन्। उनीहरुले मङ्सिरदेखि माग मसान्तसम्म भाक्काको व्यापार गर्ने गर्छन्।

चिसो मौसम सुरु भएसँगै पूर्वी तराईको झापा र मोरङका अधिकांश चोक बजारमा यसरी नै भाक्का खानेको भीड लाग्न थालेको छ। धानको पिठोबाट बनाइने भाक्का पोसिलो, स्वादिलो र अडिलो हुने हुँदा अधिकांश मानिसहरुले यसैलाई विहानको खाजाको रुपमा प्रयोग गर्ने गरेका छन्।

प्रायः ग्रामीण वस्तीका आदिवासी समुदायका महिलाहरुले बिहान झिसमिसेदेखि नै पूर्वपश्चिम राजमार्गका किनारमा, गाउँ तथा शहरका चोक र गल्लीहरुमा माटाको हण्डीमा पानी उमालेर बाफमा भाक्का पकाएर विक्री गर्ने गर्दछन्। यसरी पकाएको भाक्का बच्चादेखि बृद्धबृद्धाको विहानको खाजा हुने गरेको छ।

पूर्वी तराईको लोकप्रिय खानेकुराको रुपमा रहेको भाक्का सुरुमा राजवंशी समुदायका महिलाहरुले मात्र बनाउने गर्दथे। तर, यसको माग बढेपछि अहिले मेचे, धिमाल, ताजपुरिया र थारु महिलाहरुले समेत भाक्का बनाउन थालेका छन्। यसले राष्ट्रिय पहिचान पाइसकेका कारण प्रत्येक बर्ष पुस २९ गते झापामा विगत आठ बर्षदेखि भाक्का दिवस मनाउन थालिएको छ।

भाक्का बनाउन धानको चामललाई पीठो बनाएर सानो आकारको बटुकामा राखेर बाफमा केहीबेर पकाइन्छ। चिया र अचारसँग खाँदा भाक्का झनै स्वादिलो हुने मेचीनगर वडा नं ७ का वडाध्यक्ष प्रल्दाहमणि ओली बताउँछन्। राजवंशी समुदायको मौलिक खानेकुरा भाक्का अब सबै समुदायको साझा परिकार भएको उनी बताउँछन्।

 

सिरक डसना बनाएर दैनिक एक हजार ६ सयसम्म आम्दानी

मोरड । जिल्लाको बेलबारी नगरपालिका लक्ष्मीमार्गमा भेटिएका मोहम्मद लतिफले तीनदेखि घुम्ती सेवाका रूपमा सिरक डसना बनाउँदै बस्तीबस्तीमा हिँडिरहेका छन् । वर्षौँदेखि जाडो याममा यसरी घरघरमा सिरक डसना बनाउने पेसा गर्दै आएका उनले सिजनमा दैनिक रु एक हजार छ सयसम्म आम्दानी हुने गरेको बताए ।

भारतको फारबिसगञ्ज घर भएका लतिफले ५० वर्षदेखि नेपालका विभिन्न भेगमा गएर सिरक डसना बनाउने गरेको बताए । असी वर्षीय उनले भने “नेपालमा काम गर्न सके मनग्य आम्दानी छ, यहाँको कमाइले भारतमा परिवार चलिरहेको छ ।”

सुरुआती समयमा एउटा सिरक बनाएको रु पाँच थियो । अहिले बढेर रु आठ सय पुगेको लतिफले जानकारी दिए । उनले भने, ‘दैनिक कम्तीमा दुईवटा सिरक बनाउन भ्याउँछु । घरेलु सामग्री ९धुनिया० बाट रुवा फिटेर सिरक डसना बनाउने पर्ने भएकाले समय पनि बढी लाग्छ ।’

घरेलु सामग्री (धुनिया) बाट रुवा फिट्दै आएका मजदुर अचेल सुतीका कपडाको रुवा बनाउने उपकरण र ट्याक्टरसँगै लिएर हिँड्न थालेकाले पुराना कपडा खेर नजाने बेलबारी–११ की सीता खतिवडाले बताइन् । “आजभोलि पुराना सुतीका कपडा खेर जाँदैनन्, घरघरमा सिरक डसना बनाउने व्यक्ति आएर सबै पेलेर रुवा बनाइदिन्छन्”, उनले भनिन् ।

तीनदेखि पाँच जनाको समूहमा उनीहरूले काम गर्छन् । ट्र्याक्टरमा सुतीका पुराना कपडा फिटेर रुवा बनाउने उपकरण लिएर हिँड्ने उनीहरूको समूहले दैनिक रु १० हजारभन्दा बढी कमाइ गर्दै आइरहेको लतिफले जानकारी दिए । पछिल्लो समय तयारी अवस्थाका फाइबरका सिरक, डसनालगायत सामग्रीको प्रयोग बढिरहेकाले व्यापार सोचे जस्तो नभएको उनले बताए ।

 

‘दुई दलीय शक्तिको अभ्यास स्वीकार्य हुँदैन’

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले दुई दलीय शक्तिको अभ्यास स्वीकार्य नहुने बताएका छन् । आज यहाँ आयोजित तमु राष्ट्रिय मुक्ति मोर्चा केन्द्रीय समितिको विस्तारित बैठकमा उहाँले संविधान संशोधनको नाममा सीमित दल अस्थित्वमा रहने गरी गरिने कुनै पनि कार्य स्वीकार्य नहुने बताए ।

महासचिव गुरुङले पार्टीप्रति जनआकर्षण बढेको गएको कुरा उपनिर्वाचनले पुष्टि गरिसकेको भन्दै त्यसलाई थप बढाउन क्रियाशील हुनुपर्नेमा जोड दिए । ‘माओवादी पार्टी सकियो भन्ने भाष्य निर्माण गर्न खोजिएको थियो । त्यसलाई जनताले र गलत प्रमाणित गरिसके । अब पार्टी नेता तथा कार्यकर्ता पार्टी संगठन निर्माण जुटौँ । पार्टीलाई बलियो बनाउन लागौँ’, उनले भने ।

कार्यक्रममा पार्टी केन्द्रीय सदस्य गायत्री गुरुङ, सुरेश आले मगर, हरिबहादुर चुमानलगायतले सम्बोधन गरेका थिए । बैठकले आगामी फागुन १० गते मुक्ति मोर्चाको राष्ट्रिय भेला पोखरामा आयोजना गर्ने निर्णय गरेको नेता मनराज गुरुङले जानकारी दिए ।

पर्यटन क्षेत्रको विकासका लागि १० वर्षे कार्ययोजना तयार हुँदैछ- मन्त्री पाण्डे

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे पर्यटन क्षेत्रबाट मुलुकको आर्थिक समृद्धि हासिल गर्न १० वर्षे कार्ययोजना तयार भइरहेको बताउनुभएको छ। आज राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घ धादिङको दोस्रो जिल्ला अधिवेशन उद्घाटनपछि उहाँले प्रधानमन्त्री, अर्थमन्त्री, कानुनमन्त्रीसहित पर्यटनसँग जोडिएका मन्त्रालयसँगको समन्वयमा कार्ययोजना तयार गरिरहेको बताउनुभयो।

मन्त्रालय निजी क्षेत्रसँग सहकार्य गरेर पर्यटन क्षेत्रको विकास गर्न तत्पर रहेको र पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने उहाँको भनाइ थियो। “नेपालमा पर्यटकीय पूर्वाधार निर्माण भइरहेका छन्, अहिले पनि लाखौँ पर्यटक ल्याउने अवसर छ”, उहाँले भन्नुभयो, “हाम्रा संस्कृति, पर्यटन र नागरिक उड्डयन क्षेत्रलाई चलायमान बनाउने दिशामा हामी तत्परताका साथ लागिरहेका छौँ।”

नेपाली कांग्रेसका सहमहामन्त्रीसमेत रहनुभएका पाण्डेले मूल प्रतिस्पर्धी नेकपा ९एमाले०सँगको गठबन्धन अवसर र चुनौती दुवै रहेको बताउनुभयो।

“एमालेसँग सहकार्य र प्रतिस्पर्धा दुवै हुन्छ”, उहाँले भन्नुभयो, “एमालेसँग सरकारमा सहकार्य र चुनावमा प्रतिस्पर्धा हुन्छ। अहिले एमाले र कांग्रेसको गठबन्धन सुशासन, भ्रष्टाचार न्यूनीकरण र सरकारलाई स्थायित्व दिनको लागि हो।”