Page 204 – Nepalboli

बागमती प्रदेशमा एक सय ३७ सहकारी संस्थाविरूद्ध उजुरी

बागमती प्रदेशमा समस्याग्रस्त सहकारीको सङ्ख्या बढ्दै गएको छ । पछिल्लो पटक बागमती प्रदेश सरकारले थप तीनवटा सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ । योसँगै बागमती प्रदेशमा समस्याग्रस्त घोषणा हुने सहकारीको सङ्ख्या पाँच पुगेको छ । प्रदेश सरकारको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयअन्तर्गतको प्रदेश सहकारी रजिष्ट्रार कार्यालयका रजिष्ट्रार राजन पोखरेलका अनुसार पछिल्लो पटक सुमेरू सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ पुलचौक ललितपुर, लालीगुराँस बचत तथा ऋण सहकारी संस्था काठमाडौं र नेसनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था काठमाडौंलाई समस्याग्रस्त घोषणा गरेको छ ।

वित्तीय दायित्व पूरा नगरेको, बचतकर्ताको बचत माग गर्दा फिर्ता नगरेको, बचत फिर्ता गर्ने कार्ययोजना बनाएर पनि कार्ययोजनाअनुसार काम नगरेको लगायत कारणले ती सहकारी संस्थाहरूलाई समस्याग्रस्त सहकारी घोषणा गरिएको रजिष्ट्रार पोखरेलले बताउनुभयो । समस्याग्रस्त घोषणा गरिएकामध्ये लालीगुराँस बचत तथा ऋण सहकारी संस्था र नेसनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्थामा तालाबन्दी गरिएको रजिष्ट्रार पोखरेलको भनाइ छ ।

यसअघि प्रदेश सरकारले काठमाडौंको सिभिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ र काठमाडौंको कीर्तिपुरस्थित दर्शन बचत तथा ऋण सहकारी संस्थालाई समस्याग्रस्त सहकारी घोषणा गरेको थियो । दर्शन सहकारीलाई यही कात्तिक १२ गते र सिभिललाई गत २०८० साल भदौ २१ गते समस्याग्रस्त सहकारी घोषणा गरेको रजिष्ट्रार पोखरेलले बताउनुभयो । बचत गरेको रकम फिर्ता नगरेको भन्दै बचतकर्ताहरूले प्रदेशभरिका एक सय ३७ भन्दा बढी सहकारी संस्थाविरूद्ध उजुरी दर्ता भएको र दर्ता भएका उजुरीमाथि छानबिन भइरहेको रजिष्ट्रार पोखरेलले बताउनुभयो उहाँका अनुसार तीमध्ये ८० वटा सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरी कार्यालयमा पत्राचार गरिएको छ ।

बचतकर्ताको रकम फिर्ता नगर्ने, समस्या समाधानका लागि पत्राचार गर्दा पनि सम्पर्क नआउने सहकारी संस्थाका सञ्चालकमाथि कारबाही अघि बढाउन सम्बन्धित जिल्ला प्रहरी कार्यालयहरूमा पत्राचार गरिएको रजिष्ट्रार पोखरेलको कथन छ । उहाँका अनुसार कारबाहीका लागि प्रहरी कार्यालयमा पत्राचार गरिएका अधिकांश सहकारी संस्थाहरू उपत्यकाभित्रका तीन जिल्लाका छन् ।

“बचत गरेको रकम फिर्ता नपाएको भन्दै पीडितहरूले दिएको निवेदनका आधारमा हामीले सम्बन्धित सहकारी संस्थाका सञ्चालकहरूलाई पत्राचार गर्‍यौँ”, रजिष्ट्रार पोखरेलले भन्नुभयो, “तीमध्ये धेरै सहकारीका सञ्चालकहरू सम्पर्कमा आउनै चाहेन, कतिपय सम्पर्कमा आए पनि रकम फिर्ता गर्न आलटाल गर्ने गरेको छ ।” त्यसैले कारबाहीका लागि सम्बन्धित जिल्लाको जिल्ला प्रहरी कार्यालयमा पत्राचार गरेका छौँ, उहाँको भनाइ छ ।

 

 

 

गैरकानूनी ढुंगा-गिट्टी उत्खनन रोक्न सरकारलाई सर्वोच्चको परमादेश

देशभरिका खोला तथा नदीनालामा कानूनविपरीत भएका ढुंगा-गिट्टी उत्खननको काम रोक्न सर्वोच्च अदालतले सरकारलाई परमादेश जारी गरेको छ । न्यायाधीश डा मनोजकुमार शर्मा र टेकप्रसाद ढुंगानाको इजलासले देशभरिका खोला तथा नदीनालामा कानूनविपरीत भएका ढुंगागिट्टी उत्खनन रोक्न सरकारलाई परमादेश जारी गरेको हो ।

त्यस्ता काममा संलग्न व्यक्ति, कम्पनी र संस्थालाई कारबाहीको दायरामा ल्याउन परमादेश जारी गरेको सर्वोच्च अदालतले जनाएको छ ।

अदालतका अनुसार देशभरिका खोला तथा नदीनालामा भएको अवैध उत्खनन रोक्न माग गर्दै वातावरण कानून समाज नेपालका अध्यक्ष पदमबहादुर श्रेष्ठ र एक्स्फोर्ट ल्याबले सर्वोच्च अदालतमा दुई छुट्टाछुट्टै रिट निवेदन दर्ता गरेका थिए । त्यसै रिटमाथिको सुनुवाइ गर्दै सर्वोच्च अदालतले अवैध उत्खननलाई नियमन गर्नु भन्दै परमादेश जारी गरेको हो ।

रिट निवेदनमा वातावरण संरक्षण ऐन २०७६ तथा ढुंगा, गिट्टी, बालुवा उत्खनन बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७७ विपरीतका उत्खनन कार्य बन्द गराउन माग गरिएको थियो । त्यस्तै अनुमति नै नलिएर ढुंगा–गिट्टी उत्खनन गर्नेमाथि अनुसन्धान गरेर कानूनी कारबाहीको माग गरिएको थियो ।

नेप्से परिसूचक ६ दशमलव ७८ अङ्कले बढ्यो, कारोबार रकम साढे छ अर्बभन्दा बढी

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । सोमबार नेप्से परिसूचक छ दशमलव ७८ अङ्कले बढेर दुई हजार छ सय सात दशमलव ९९ को बिन्दुमा कायम भएको हो । आज तीन सय ११ कम्पनीको एक करोड ३६ लाख ७७ हजार नौ सय ८३ कित्ता शेयर ७४ हजार चार सय तीन पटक खरिदबिक्री हुँदा रु। छ अर्ब ५७ करोड चार लाख ७७ हजार आठ सय ८६ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा बैंकिङ समूह शून्य दशमलव २०, विकास बैंक शून्य दशमलव ६०, वित्त शून्य दशमलव ५३, जलविद्युत् शून्य दशमलव ०२ र लघुवित्त समूह शून्य दशमलव ०४ प्रतिशतले घटेको छ । अरु सबै समूहको उपसूचक बढेको छ । होटल तथा पर्यटन शून्य दशमलव १२, लगानी शून्य दशमलव ६०, जीवन बीमा शून्य दशमलव ०४, उत्पादन तथा प्रशोधन एक दशमलव ६८, म्युचुअल फन्ड शून्य दशमलव ०९, निर्जीवन बीमा शून्य दशमलव २३, व्यापार एक दशमलव ०६ र अन्य समूह दुई दशमलव १३ प्रतिशतले बढेको छ ।

आज मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सबैभन्दा धेरै नौ दशमलव ०५ प्रतिशतको वृद्धि देखिएको छ । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र सुपर मादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै रिभर फल्स पावर लिमिटेडको रु। २४ करोड एक लाख ८८ हजार चार सय चार बराबरको शेयर किनबेच भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै हिमालयन पावर पार्टनर लिमिटेडको तीन लाख ७७ हजार छ सय ४६ कित्ता शेयर कारोबार भएको छ ।

महोत्तरीको मटिहानी-४का सिंगो ‘मुसहर बस्ती’ नै शौचालयविहीन

महोत्तरीको मटिहानी नगरपालिकाको वडा नम्बर ४ स्थित मझौरा गाउँको ‘मुसहर’ बस्ती शौचालयविहीन रहेको पाइएको छ । यस बस्तीका दलित मुसहर परिवारहरू शौचका लागि खुला स्थान प्रयोग गर्दै आएका छन् । स्थानीय बयोवृद्ध ५५ वर्षीय सेवक सदाका अनुसार ७५ घर परिवार रहेको मुसहर बस्तीको कुनै पनि घरमा शौचालय रहेको छैन । यहाँका सबैजना खुला स्थानमै शौच गर्दै आएका छन् ।

यही बस्तीका २२ वर्षीय शोभेन्द्र सदाका अनुसार वृद्धवृद्धा, वयस्क महिला, पुरूष तथा बालबालिका सबै गरेर तीन सय ७० जनाको जनसङ्ख्या रहेको छ । यहाँ बसोबास गर्ने सबै जना सधैँदेखि गाउँको खेतबारी र बाटोको छेउछाउमै दिशा पिसाब गर्दै आएका छन् र अहिले पनि त्यही स्थानमा गएर शौच गर्दै आएका छन् ।

बस्तीकै ५० वर्षीय शङ्कर सदाले आफूहरूसँग शौचालय बनाउने कुनै उपाय (आर्थिक अवस्था) नरहेको कारण बाबु, बाजे पालादेखि नै सपपरिवार खुलामै शौच गर्दै आएको बताए।

स्थानीय ६० वर्षीया महिला बासो सदाले आफूहरू सधैँ गाँस, बाँस र कपासकै अभाव रहने गरेकाले शौचालय निर्माण गर्नु धेरै ठूलो कुरा भएको बताइन् । ‘यस बस्तीका बासिन्दाले दुई छाक राम्ररी खान पाएका छैनन् । अब कहाँबाट शौचालय निर्माण गर्नु,’ उनले उल्टै प्रतिप्रश्न गरिन् ।

सोही ठाउँकी अर्की महिला ४५ वर्षीया रानी सदाले बस्ने घरकै लागि पर्याप्त ठाउँ नरहेको अवस्थामा शौचालय कहाँ निर्माण गर्नु र गर्न चाहे पनि आफूहरूसँग आर्थिक सामर्थ्य नरहेको भन्दै शौचालय निर्माण गर्न नसकेको बताइन् ।

शौचालयको अभाव भोगिरहेको त्यस बस्तीकी स्थानीय ६० वर्षीया महिला सुनैना देवी सदाले अरूको खेतबारीमा गएर शौच गर्दा गाली गर्ने, कुटपिट गर्ने, सर्प, बिच्छु र अन्य जनावरको डर हुने गरेको दुखेसो गरिन् ।

उनका अनुसार ठूला पुरूष र महिलाले त ठाउँ र समय हेरेर लुकेर कुनै स्थानमा शौच गरिहाल्छन् तर ससाना बालबालिका दिनभरि अरूकै खेतबारी र बाटोघाटौमै शौच गरिदिँदा अरूहरूले गाली गर्ने, लखेट्ने र कुनैकुनै बेला पिटाई खानुपर्ने हुन्छ । खर, पात, बाँस र बेतबाट बनाइएको घरबारभित्र जाडोले कठ्याङ्ग्रिँदै बसिरहेका मुसहर बस्तीमा अन्न, लुगाफाटो र रोजगारीको चरम अभाव देखिएको छ भने शिक्षा र स्वास्थ्यजस्ता कुराले त उनीहरूलाई टाढाटाढासम्म छोएको देखिँदैन ।

चारैतिरै सबैकुराको अभावै अभाव र जोखिमपूर्ण जीवन बाँचिरहेका मुसहरहरूको आफू बस्ने घरबाहेक अरू जग्गा जमिन नरहेको, खेतबारी नरहेको र सो स्थानमा सार्वजनिक जग्गासमेत नरहेको कारण उनीहरूका लागि सार्वजनिक शौचालय समेत निर्माण गर्न नसकिएको वडा अध्यक्ष अब्दुल गफार राईनले बताए ।

वडाध्यक्ष राईनका अनुसार त्यस बस्तीका ७५ घर परिवारमध्ये सबै जनाको एक नासको बस्ने जग्गा समेत छैन । कसैको दुई धुर, कसैको चार धुर र कसैको एक धुर नै जग्गा रहेको कारण त्यस बस्तीमा कुनै विकासको कार्यक्रम सञ्चालन गर्न सकिएको छैन ।

वडाध्यक्ष राईनले शिक्षा, स्वास्थ्य र रोजगारीको सूचकाङ्कमा मटिहानी नगरपालिकामै सबैभन्दा पछाडि रहेको वडा नम्बर ४ मझौरास्थित यस बस्तीमा व्यक्तिगत जग्गाको समस्या रहनुको साथै शौचालयको निर्माण गर्न सार्वजनिक स्थानको पनि अभाव मुख्य समस्या रहेको बताए ।

यता देश नै खुला दिसामुक्त घोषणा भइसकेको अवस्थामा धार्मिक एवं सांस्कृतिक नगरी मटिहानीको मझौरा गाउँको मुसहर बस्ती शौचालयविहीन हुनु र त्यहाँका नागरिक अझै पनि खुला आकासमुनि नै शौच गरिरहेको कुरा आफैँमा लज्जास्पद एवं दुःखद् भएको सरसफाइविज्ञ उमाशङ्कर यादवले बताए ।

मटिहानी नगरपालिका देशकै सबैभन्दा पुरानो गुठी लक्ष्मीनारायण मठ भएको र ३५० वर्षभन्दा पनि पुरानो, बालागुरू षडानन्द पढेको याज्ञवल्क्य लक्ष्मी नारायण विद्यापीठ अझै सञ्चालनमा रहेको स्थान हो ।

 

 

 

विदेश पठाउने नाममा ३० लाख ठगी आरोपमा ३ जना पक्राउ

वैदेशिक रोजगारीमा विदेश पठाउने नाममा ३० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बाग्लुङको ताराखोला गाउँपालिका–३ का ३४ वर्षीय तिलकबहादुर कार्की, प्युठानको नौबाहिनी गाउँपालिका–६ का ३६ वर्षीय हरिबहादुर बिष्ट र स्याङ्जाको गल्याङ नगरपालिका–८ कि ३४ वर्षीया जमुना परियार छन् ।

उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। कार्कीले युके पठाउने भन्दै एक जनाबाट १ लाख, बिष्टले अमेरिका पठाउने भन्दै दुई जनाबाट २ लाख र परियारले अष्ट्रेलिया पठाउने भन्दै एक जनाबाट २८ लाख रुपैयाँ ठगी गरेको आरोप छ ।

पक्राउ परेका तीनै जनालाई कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहचल पठाइएको प्रहरीले जनाएको छ ।

 

 

गढीमाई मन्दिर तोडफोड गर्नेलाई कारबाही गर्न माग

राष्ट्रिय समता पार्टी नेपालले बाराको गढीमाई मन्दिर तोडफोड गर्नेलाई तत्काल कारबाहीको माग गर्दै गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराएको छ । पार्टीका राष्ट्रिय अध्यक्ष विजयप्रकाश निषादको नेतृत्वमा पार्टीका महासचिव अभिषेक तिवारी तथा केन्द्रीय कार्यकारिणी समिति सदस्य छत्रबहादुर श्रेष्ठसहितको टोलीले आज गृहमन्त्री लेखकलाई भेटी मन्दिर तोडफोड गर्नेलाई यथाशीघ्र पहिचान गरी कडा कानुनी कारबाही गर्नुपर्ने माग गरेको हो ।

पार्टी महासचिव तिवारीद्वारा प्रकाशित विज्ञप्तिमा भनिएको छ, ‘यही माघ ३ गते बिहीबार राति करिब १० बजे आपराधिक मानसिकता बोकेका केही अराजक जत्थाले भाकल स्वरूप मन्दिरमा छाडिएका परेवा चोर्ने र लुटपाट गर्ने अभिप्रायले गढीमाई मन्दिर परिसरभित्र छिर्दा त्यहाँ खटिएका नगर प्रहरीले रोकेपश्चात् नगर प्रहरीसँग झडप गरी हातपात भएको छ ।’
साथै शुक्रवार बिहान पुनः सुनियोजित तवरले केही अराजक जत्थाले गढीमाई मन्दिर परिसरभित्र छिरी त्यहाँ रहेको दान पेटिका र पङ्खाहरू तोडफोड गरी चरम उद्दण्डता गरेको दृश्यहरू सिसी टिभी फुटेजमा सहजै देखिएको उक्त ज्ञापन पत्रमार्फत जनाइएको छ ।

‘अराजक समूहद्वारा बारा जिल्लास्थित विश्व प्रसिद्ध गढीमाई मन्दिरमा गरिएको तोडफोड तथा उद्दण्डताविरुद्ध तत्काल कारबाही हुनुपर्ने माग राख्दै गम्भीर ध्यानाकर्षण गराइएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

अर्थतन्त्र सुधारोन्मुख हुँदै गएको छ- अर्थमन्त्री पौडेल

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र विगतको भन्दा सुधारोन्मुख हुँदै गएको र सुधारका प्रयासले नतिजा दिन थालेको बताउनुभएको छ । अर्थ मन्त्रालयले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा अर्थमन्त्री पौडेलले अर्थतन्त्र सुधार हुँदै गएको सूचकहरूले नै देखाएको बताउनुभयो । “हामीले आर्थिक सूचकहरूमा तलमाथि गरेका छैनौ । सूचक हरियो छ भने हरियो र रातो छ भने रातो नै प्रस्तुत भएको छ । तथ्यले हाम्रो अर्थतन्त्र सुधार हुँदै गएको देखाउँछ”, उहाँले भन्नुभयो ।

वर्तमान सरकार गठन भएपछि आर्थिक सूचकहरू सुध्रदै गएको अर्थमन्त्री पौडेलले बताउनुभयो । “आर्थिक परिसूचक अहिलेको भन्दा पहिला नकारात्मक थिए । ती परिसूचकलाई सकारात्मक बनाउन समय लागेको छ र निकै बढी मेहनत गर्नुपरेको छ । ओरालो लागेको अर्थतन्त्रलाई अहिले सकारात्मक दिशामा डोर्‍याएका छौँ”, उहाँले भन्नुभयो ।

सरकारले अध्यादेशमार्फत कानुन संशोधन गरे लगत्तै निजी क्षेत्रका छाता सङ्गठनले त्यसको स्वागत गरेको र यसले निजी क्षेत्रलाई अघि बढाउन भूमिका खेलेको उहाँको भनाइ थियो । “पुँजीगत खर्चमा गुणात्मक सुधार गर्न सरकारले काम गरिरहेको छ”, अर्थमन्त्री पौडेलले भन्नुभयो ।

निर्माण व्यावसायीको भुक्तानी नरोकिएको उहाँले उल्लेख गर्नुभयो । “कुनै निर्माण व्यावसायीको भुक्तानी रोकिएको छैन । आजका दिनसम्म कसैले विधिसम्मत रूपमा दाबी गरेको छ भने भुक्तानी भएको छ”, उहाँले भन्नुभयो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान मामलामा ‘नेपाल फाइनान्सिएल एक्सन टाक्सफोर्स’ को सम्भावित जोखिम सूचीमा पर्न नदिन नेपाल चनाखो रहेको अर्थमन्त्री पौडेलले बताउनुभयो ।

“सम्पत्ति शुद्धीकरण निवारण मामलामा हामीले गर्नुपर्ने कामको सूची छ । केन्द्रीय कार्यसूची बनाएर काम भइरहेको छ । त्यसलाई हामीले गम्भीरताका साथ कार्यान्वयन गरिरहेका छौँ । आफ्नो प्रतिष्ठा जोगाउँदै जाने विषयमा नेपाल सचेत छ”, अर्थमन्त्री पौडेलले भन्नुभयो ।

 

 

 

सरकारको मुख्य उद्देश्य आर्थिक समृद्धि हासिल गर्नु हो- गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले वर्तमान सरकारको प्रमुख उद्देश्य मुलुकमा आर्थिक समृद्धि हासिल गर्नु रहेको बताउनुभएको छ । नेपाल प्रेस युनियनले महेन्द्रनगरल आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) मिलेर बनेको वर्तमान सरकारले मुलुकमा आर्थिक समृद्धि हासिल गर्ने, सुशासन कायम गर्ने, मुलुकमा दिगो शान्ती, विकास र समृद्धिको यात्रालाई अगाडि बढाउने लक्ष्य लिएको बताउनुभयो ।

“मुलुकमा स्थायित्य र दिगो विकासका लागि प्रमुख दुई पार्टी मिलेर सरकार बनेको छ”, गृहमन्त्री लेखकले भन्नुभयो, “सरकारले सोहीअनुरुप समृद्धिको यात्रालाई अगाडि बढाउने गरी योजनाबद्ध रूपमा काम गरिरहेको छ ।” उहाँले मुलुकमा लगानीको वातावरण सिर्जना गर्न र उद्योगधन्दा फस्टाउने गरी सरकारले केही कानुन संशोधन गरेर अध्यादेश ल्याएको बताउनुभयो ।

गृहमन्त्री लेखकले सरकारले चाँडै संसद्को अधिवेशन आह्वान गर्ने तयारी गरिरहेको जानकारी दिनुभयो । “अधिवेशन बोलाउनेबित्तिकै पहिलो दिन अध्यादेश प्रस्तुत हुन्छन्, पछि प्रतिस्थापन गर्ने कानुन बन्छन्”, उहाँले भन्नुभयो, “यसरी समयसापेक्ष परिवर्तनलाई आत्मसात् गर्दै हामी विकास र समृद्धिको गतिमा अगाडि बढिरहेका छौँ ।”

गृहमन्त्रीले अहिलेको सरकार आगामी निर्वाचनसम्म जानेमा ढुक्क रहन सबैलाई आग्रह गर्नुभयो । “दुई पार्टीका बिचमा सात बुँदे सहमति भएका छन् हामी त्यो सहमति कार्यान्वयन गर्छौं, त्यहीअनुसार सरकार अघि बढ्छ”, उहाँले भन्नुभयो, “हाम्राबीचमा कुनै समस्या छैन, बेलाबेलामा विभिन्न खालका हल्ला सुन्ने गरिन्छ, यो सरकार २०८४ सालको निर्वाचनसम्म कायम रहन्छ ।”

गृहमन्त्री लेखकले महाकाली नदीमा निर्माण भइरहेको पुलमा देखिएको समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । महाकाली करिडोर, दोधारा चाँदनीमा सुक्खा बन्दरगाह चाँडै निर्माण गर्न सरकार प्रतिबद्ध रहेको उहाँले जानकारी दिनुभयो ।

 

 

 

एमालेमा फर्किँदै बामदेव गौतम

नेता वामदेव गौतमले आफूसहित नेकपा एकता राष्ट्रिय अभियानको ठूलो समूह एमालेमा प्रवेश गर्ने बताएका छन्। गौतमका अनुसार बाँकी केही सदस्य भने माओवादी केन्द्रमा जाने छन्।

शुक्रबार बालुवाटारमा भेटेरै कुरा गरेका गौतमले आज विहान एमाले अध्यक्ष केपी शर्मा ओलीसँग फोन सम्बाद गरेपछि अब आफू एमालेमै फर्किने पक्का भएको बताएका हुन्। उनको पार्टीका नेता डीबी कार्कीका अनुसार, ओलीसँग गौतमले दुई चरणमा कुराकानी गरिसकेका छन्।

 

संवाद तथा वार्ताका लागी लोसपाद्धारा उच्चस्तरीय वार्ता समिति गठन

मधेसमा क्रियाशील विभिन्न राजनीतिक दलसँग एकता संवाद गर्न लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले दुई सदस्यीय उच्चस्तरीय वार्ता टोली गठन गरेको छ। लोसपाले आइतबार दुई सदस्यीय वार्ता टोली गठन गरेको अध्यक्ष महन्थ ठाकुरले जानकारी दिएका छन्। वार्ता टोलीमा वरिष्ठ सहअध्यक्ष सर्वेन्द्रनाथ शुक्ल र वरिष्ठ उपाध्यक्ष लक्ष्मणलाल कर्ण छन्।

‘वर्तमान राजनीतिक परिस्थिति र आवश्यकतालाई मध्यनजर राख्दै सहकार्य र एकताको संवादलाई छिटोछरितो निष्कर्षमा पुर्‍याउन उच्चस्तरीय वार्ता समिति गठन गरिएको छ,’ ठाकुरले भनेका छन्।

यो समितिले मधेसमा क्रियाशील विभिन्न राजनीतिक दलसँग तत्काल संवाद अघि बढाउने वरिष्ठ उपाध्यक्ष कर्णले बताए। ‘यसअघि गठन गरिएको समितिले गरेका कामहरूको पनि अपनत्व लिँदै वार्ता अघि बढाउनेछौं। यथाशीघ्र सहकार्य र एकतालाई निष्कर्षमा पुर्‍याउनेछौं,’ उनले भने।

गत पुस २१ गते जितेन्द्र सोनलको नेतृत्वमा गठन भएको वार्ता समिति खारेज गरिएको लोसपाले जनाएको छ।