Page 202 – Nepalboli

पर्वतको बाँसखर्कमा सुन्तला महोत्सव

गाउँसम्म पुग्ने सडक निर्माणका लागि राज्यको ध्यानाकर्षण गराउन यहाँको विकट गाउँ बाँसखर्कमा सुन्तला महोत्सव आयोजना गरिएको छ । नेपालकै सबैभन्दा स्वादिलो र रैथाने जातको सुन्तला उत्पादन हुने जलजला गाउँपालिका–१ बाँसखर्कका सुन्तला ढुवानीमा समस्या भएपछि गाउँमै महोत्सव आयोजना गरिएको हो । यही माघ ११ गते एक दिने सुन्तला महोत्सव गर्न थालिएको हो ।

सडक स्तरोन्नतिमा रचनात्मक दबाब सिर्जना गर्नका लागि महोत्सवको आयोजना गरिएको जलजला–१ बाँसखर्कका वडाध्यक्ष जगबहादुर रोकाले बताउनुभयो । उहाँका अनुसार महोत्सवमा गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेदेखि मन्त्री, सांसद तथा राजनीतिक दलका नेतालाई सहभागी गराएर सडकको दुरवस्था देखाउने मुख्य उद्देश्य छ ।

वर्षेनी झण्डै रु १५ करोडसम्मका सुन्तला उत्पादन हुने भए पनि बजारमा ढुवानी गर्न समस्या भएपछि गाउँलेले यस्तो जुक्ति निकालेका हुन् । बाँसखर्क जोड्ने बारीवेनी–बगरफाँट–बाँसखर्क सडक स्तरोन्नती हुन नसक्दा गाउँसम्म सवारी साधन पुग्न समस्या भएको छ । ठुला सवारी साधन सुन्तला बगानसम्म पुग्न नसक्दा व्यवसायीलाई सुन्तला ढुवानीमा समस्या भएको अगुवा कृषक जगतबहादुर खत्रीले जानकारी दिनुभयो ।

सुन्तला बिक्रीबाट उहाँले यस वर्ष मात्रै रु ४० लाख आम्दानी हुने अपेक्षा गर्नुभएको छ । सडक सास्तीका कारण ढुवानीमा समस्या रहेको उहाँको गुनासो छ । उहाँले भन्नुभयो, “साना खालका बोलेरो जीपमा थोरै थोरैै सुन्तला टिपेर बेनी–मालढुङ्गा सडकसम्म झार्ने र ठुलो ट्रकमा राखेर लैजानुपर्ने बाध्यता छ, यसले ढुवानी लागत र समय बढी लाग्ने गरेको छ ।” सडकका कारण गन्तव्यमा पुर्‍याउँदा सुन्तला थिचिने मिचिने र कुहिने समस्या हुन्छ।

ढिलोगरी तयार हुने यहाँका सुन्तला माघ दोस्रो सातापछि मात्र बजार पठाउने गरिएको छ । गत वर्ष ढुवानी गर्ने समयमा गाउँपालिकाले सामान्य सडक मर्मत गरेको भए पनि वर्षायामको बाढी पहिरोले सडकमा सवारी साधन चलाउनै नसक्ने अवस्था रहेको अर्का कृषक मेखबहादुर खत्रीले बताउनुभयो । यहाँको सडक मर्मतमा कुनै निकायले चासो नदिँदा समस्या भएको छ ।

प्रदेश सरकारदेखि यस क्षेत्रको राजनीतिक नेतृत्वलाई नै गाउँमा उतारेर सडकको दुरवस्थाका बारेमा जानकारी गराई सडक स्तरोन्नति र कालोपत्र गर्नका लागि बगानमै महोत्सव गरिने भएको छ । महोत्सवमा सुन्तलाखेती प्रदर्शन, सुन्तलाका विभिन्न परिकार तथा स्वाद आगन्तुकलाई पस्किने आयोजकको तयारी छ ।

अहिले बाँसखर्कसम्म पुग्न बारीबेनी र मिलनचोकबाट कच्ची सडकको खुलेको भएपनि घण्टौँ लगाएर साना सवारी साधनमा पुग्नुपर्ने बाध्यता छ । जीर्ण सडकका कारण ठुला ट्रक र टिपर गाउँसम्म जान सक्दैनन् । सानो बोलेरो जीप मात्र मुस्किलले गाउँसम्म पुग्ने भएकाले व्यवसायीलाई सुन्तला निकासीमा समस्या भएको कृषक खत्रीले गुनासो गर्नुभयो ।

ठूला ट्रक तथा कन्टेनरबाट एकै पटक ढुवानी गर्न पाएमा आफूलाई सहज हुने सुन्तला खरिदका लागि बगानमा आएका काठमाडौँको कालीमाटीका व्यवसायी रमेश ढुङ्गेलले बताउनुभयो । “यति ठूलो सुन्तला बगानको सहजताका लागि राज्यले पूर्वाधार निर्माण गरिदिनुपर्दछ”, उहाँले भन्नुभयो । करिब १० किलोमिटरको दूरी पार गर्न झण्डै डेढ घण्टा लाग्ने गरेको व्यवसायीको गुनासो छ ।

गण्डकी प्रदेश र बाहिर पनि बाँसखर्कको सुन्तला राम्रो मूल्यमा जाने गरेको जनाउँदै गाउँपालिकाका अध्यक्ष राजु आचार्यले गाउँपालिकाले प्रचारप्रसार गर्न तथा सुन्तलालाई ब्रान्डिङ गरेर बाहिर निर्यात गर्नुका साथै बगैँचासम्म जाने सडक सुधारका लागि महोत्सव आयोजना गरिएको बताउनुभयो । यहाँका कृषकले गत वर्ष रु ११ करोड भित्र्याएका थिए भने अहिले क्षेत्रफल र उत्पादन दुवै बढेकाले रु १५ करोडसम्म आम्दानी हुने आकलन गरिएको उहाँले बताउनुभयो ।

बाँसखर्कको अधिकांश सुन्तला काठमाडौँ पुग्ने गर्दछ भने केही मात्रामा पोखरा, नारायणगढ र बुटबलमा बिक्री हुने गरेको कृषकले बताएका छन् । व्यवसायीले यहाँका सुन्तला बुकिङ् गरिसकेका छन् । अन्यत्र याम सकिएपछि मात्र यहाँ सुन्तला टिप्न आउने कृषक सोमबहादुर तिलिजाले बताउनुभयो ।

यहाँका २५० घरधुरी अन्नबाली छाडेर व्यावसायिक सुन्तलाखेतीमा लागेका छन् । हरेक परिवारले न्यूनतम रु पाँच लाखदेखि रु। ४० लाखसम्म आम्दानी गर्दै आएका छन् ।

 

निर्यात ३१ प्रतिशतले बढ्दा पनि व्यापार घाटा उच्च

चालु आर्थिक वर्ष २०८१-८२ को अर्धवार्षिक समीक्षा अवधिसम्ममा नेपालले कूल नौ खर्ब २१ अर्ब १६ करोडको वैदेशिक व्यापार गर्दा सात खर्ब २३ अर्ब ५८ करोड १३ लाख घाटा व्यहोरेको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत पुस मसान्तसम्ममा आठ खर्ब २२ अर्ब ३७ करोड पाँच लाख बराबरको वस्तु आयात हुँदा ९८ अर्ब ७८ करोड ९२ लाख बराबरको मात्रै निर्यात भएको छ।

गत आर्थिक वर्षको अर्धवार्षिक समीक्षा अवधिको तुलनामा चालु आवको सोही अवधिमा आयात सात प्रतिशत र निर्यात ३१ दशमलव ७८ प्रतिशतले बढेको छ। त्यस्तै, व्यापार घाटा चार दशमलव ३८ प्रतिशतले बढेको छ। गत आवको अर्धवार्षिक समीक्षा अवधिको तुलनामा चालु आवको सोही अवधिमा कूल वैदेशिक व्यापारमा निर्यातको योगदान दुई दशमलव ०१ प्रतिशतले घटेर ८९ दशमलव २८ प्रतिशत कायम भएको छ।

नेपालले सबैभन्दा धेरै व्यापार घाटा भारतसँग व्यहोरेको छ। पछिल्लो छ महिना अवधिमा भारतबाट रू पाँच खर्ब दुई अर्ब ८५ करोड बराबरको वस्तु आयात गर्दा रू ७३ अर्ब ७१ करोड १२ लाख बराबरको निर्यात गरेको छ। जसअनुसार यो अवधिमा भारतसँगको मात्र व्यापार घाटा रू चार खर्ब २९ अर्ब १४ करोड बराबर छ। त्यस्तै, चालु आवको पुस मसान्तसम्ममा चीनसँग रू एक खर्ब ५८ अर्ब ६२ करोड र अर्जेन्टिनासँग रू २२ अर्ब ६२ करोड व्यापार घाटा व्यहारेको छ।

नेपालले एक सय २३ मुलुकसँग व्यापार घाटा बेहोरेको छ भने ३२ वटा मुलुकसँग व्यापार नाफा बेहोरेको छ। नेपालले गर्ने वैदेशिक व्यापारमा बढी नाफा रहेका मुलुकमा डेनमार्क, अस्ट्रिया, रसियन फेडेरेसन, माल्दिभ्सलगायत छन्।

 

 

 

रवि लामिछाने भैरहवामा, बुधबार अदालतमा उपस्थित हुने

बुटवलको सुप्रिम सहकारीको बचत अपचलन प्रकरणमा जिल्ला अदालत रुपन्देहीमा मुद्दा दर्ता भएपछि रास्वपा सभापति रवि लामिछाने मंगलबार रुपन्देही आइपुग्नुभएको छ। रास्वपा सहकोषाध्यक्ष दीपक बोहोराका अनुसार मंगलबार अपरान्ह बुद्ध एअरको विमानबाट भैरहवा आउनुभएका लामिछाने बुधबार अदालतमा उपस्थित हुने तय भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका अन्य नेता एवं लामिछाने पक्षका कानुन व्यवसायी भने केही दिन अगाडि नै रुपन्देही आइपुगेका छन् ।

गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसहित २२ जनाविरुद्ध रुपन्देही जिल्ला अदालतमा गत आइतबार मुद्दा दर्ता भएको थियो। यसअघि कास्की र काठमाडौं जिल्ला अदालतबाट धरौटीमा रिहा हुनुभएका लामिछाने बुधबार अदालतमा आफैं उपस्थित हुने तयारीमा रहेको नेता बोहोराले बताउनुभयो ।

अदालतमा पेस गरिएको अभियोगपत्रमा २२ जनाविरुद्ध ५५ करोड ५९ लाख ८३ हजार रुपियाँ सामूहिक बिगो माग दाबी गरिएको छ । त्यस्तै लामिछानेमाथि व्यक्तिगत दुई करोड पनि बिगो दाबी गरिएको छ । सरकारी वकिलको कार्यालयका अनुसार सहकारी ठगी प्रकरणमा १४ जनाविरुद्ध नयाँ र आठ जनाविरुद्ध पूरक अभियोजन गरिएको हो ।

जिल्ला सरकारी वकिलको कार्यालयले सहकारी ठगीका विभिन्न तथ्य र प्रमाणसहित लामिछानेविरुद्ध सहकारी ठगी र संगठित अपराधमा मुद्दा दर्ता गरेको जिल्ला न्यायाधीवक्ता प्रेमराज पौडेलले बताउनुभयो।

यसअघि गत वैशाख ३ मा सुप्रिमको बचत अपचलनमा २८ जनाविरुद्ध ८६ करोड १८ लाख २३ हजार ७५४ रुपियाँ बिगो कायम गरी सहकारी ठगीमा मात्र मुद्दा दायर गरिएको थियो। त्यतिबेला लामिछाने स्वयं गृहमन्त्री हुनुहुन्थ्यो। गृहमन्त्री भएकै कारण उहाँविरुद्ध प्रहरीले अनुसन्धान अगाडि बढाएको थिएन।

जिल्ला अदालत रूपन्देहीका सूचना अधिकारी अनन्तराज मरासिनीले लामिछाने, जोशीसहित २२ जनाविरुद्ध सहकारी ठगी र संगठित अपराध कसुरमा पूरक तथा जीबी राईसहित १७ जनालाई थप कसुर र बिगोसहितको मुद्दा दर्ता भएको बताउनुभयो । सुप्रिम सहकारीका १० हजार ३९१ जना बचतकर्ताको एक अर्ब ३१ करोड अपचलन भएको अनुसन्धानमा देखाइएको छ।

 

 

 

 

 

कार्यकारी आदेशको वर्षासँगै अमेरिकाको बागडोर सम्हाल्दै ट्रम्प

आप्रवासनदेखि वातावरण र सांस्कृतिक युद्धसम्म सबै विषयमा आफ्नो शपथग्रहणको केही घण्टापछि हस्ताक्षर गरिएको कार्यकारी आदेशको लहरमा सवार भएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार आफ्नो कार्यकालको पहिलो पूर्ण दिन सुरु गर्नुभएको छ । आफ्नो शपथग्रहण समारोहको धुमधाम र कार्यकारी आदेशहरूको आश्चर्यजनक शृङ्खलापछि राष्ट्रपतिको मङ्गलबार एक गम्भीर कार्यक्रमबाट सुरु हुँदैछ ? राष्ट्रिय गिर्जाघरमा प्रार्थना सेवा ।

अठहत्तर वर्षीय ट्रम्पले अन्तिम पटक जनवरीको सुरुमा दिवङ्गत राष्ट्रपति जिमी कार्टरको अन्त्येष्टिमा अमेरिकी राजधानीको नियो–गोथिक चर्चको भ्रमण गर्नुभएको थियो । पेरिस जलवायु सम्झौता र विश्व स्वास्थ्य सङ्गठनबाट फिर्ता हुने प्रक्रिया सुरु गर्नेसहित सोमबार गरेका कार्यहरूको वर्षा देश र विश्वले पचाइरहेको बेला ट्रम्पबाट थप कार्यकारी आदेशहरू आउने वा नआउने अस्पष्ट थियो ।

एक एरिनामा गर्जिरहेका समर्थकहरूको सामु र त्यसपछि ओभल कार्यालयमा हस्ताक्षर गरिएको नीतिगत परिवर्तनहरूको लामो सूचीले आठ वर्षअघिको तुलनामा ट्रम्पको बढेको तयारीको स्पष्ट प्रतीक प्रस्तुत गर्‍यो । आठ वर्षअघि उहाँ शून्य शासन अनुभवका साथ ह्वाइट हाउस प्रवेश गर्नुभएको थियो ।

चिसो मौसमका कारण भित्र आयोजित समारोहमा क्यापिटलमा शपथ लिएपछिको भाषणमा रिपब्लिकन राष्ट्रपति ट्रम्पले डेमोक्रेट जो बाइडेनको चार वर्षे राष्ट्रपति कार्यकालपछि ‘अमेरिकाको पतन समाप्त भएको छ’ भन्नुभयो । उहाँले प्रतिज्ञा गर्दै भन्नुभयो, “अमेरिकाको स्वर्णिम युग अहिलेबाट सुरु हुन्छ ।”

बयासी वर्षीय बाइडेनले शपथग्रहण समारोहमा आफ्नो एकल कार्यकालको अन्तिम पाठ पढिरहेका आफ्नो राजनीतिक शत्रुलाई कठोर मुद्रामा हेर्नुभयो ।

तर धुमधाम र समारोहपछि कहिलेकाहीँ बलियो नेता शैलीको वाक्यांशका साथ दिनको पछिल्लो समयमा देखिनुभएको थियो पहिलो कार्यकालका शोम्यान ट्रम्प ।

“के तपाईं बाइडेनले यस्तो गरेको कल्पना गर्न सक्नुहुन्छ रु मलाई लाग्दैन”, ट्रम्पले वासिङ्टनको एक खेलकुद एरिनामा हर्षित भीडलाई पहिलो चरणका आदेशहरूमा हस्ताक्षर गर्न प्रयोग गरेका कलमहरू फ्याँक्दै भन्नुभयो ।

जनवरी ६ का माफीहरू

ओभल कार्यालयमा फर्केर उहाँले थप आदेशहरूमा हस्ताक्षर गर्दै एक अनौपचारिक ५० मिनेटको पत्रकार सम्मेलन गर्नुभयो । कार्यकारी आदेशमा करिब एक हजार पाँच सय क्यापिटल दङ्गाकारीहरूलाई माफी दिने एक आदेश समावेश थियो ।

उनीहरूलाई सन् २०२१ जनवरी ६ मा बाइडेनको चुनावी विजय प्रमाणीकरण रोक्न खोज्ने हजारौँ ट्रम्प समर्थकहरूद्वारा कांग्रेसमाथि गरिएको आक्रमणमा भाग लिएको आरोपमा मुद्दा चलाइएको थियो ।

“उनीहरू आज राति खुलेर बाहिर आउनेछन् भन्ने हामीलाई आशा छ”, ट्रम्पले भन्नुभयो, “उनीहरूले यसको अपेक्षा गरिरहेका छन् ।”

उहाँले मेक्सिको सीमामा राष्ट्रिय आपत्काल घोषणा गर्ने आदेशमा हस्ताक्षर गर्नुभयो र कमला ह्यारिसमाथिको आफ्नो चुनावी विजय हासिल गराउने प्रमुख चुनावी मुद्दा गैरकानुनी आप्रवासनको सामना गर्न अमेरिकी सेना तैनाथ गर्ने बताउनुभयो ।

राष्ट्रपतिमा पुनरागमन गर्नुभएका उहाँले प्रायः राष्ट्रवादी स्वरमा व्यापार शुल्क लगाउने, मेक्सिकोको खाडीको नाम ‘अमेरिकाको खाडी’ राख्ने र सन् १९९९ देखि मध्य अमेरिकी देशको नियन्त्रणमा रहेको पनामा नहरलाई ‘फिर्ता’ प्रतिज्ञा गर्नुभयो ।

तर उहाँले पद सम्हाल्नु अघि युक्रेनमा शान्ति सम्झौता गर्ने आफ्ना पूर्व प्रतिज्ञाहरूलाई कम महत्त्व दिनुभयो । उहाँले भ्लादिमिर पुटिनलाई भेट्ने पुष्टि गर्नुभयो र पुटिनले युद्ध अन्त्य गर्न सम्झौता नगरी ‘रुसलाई नष्ट’ गरिरहेको बताउनुभयो ।

अमेरिकी सेवा सदस्यहरूसँग ‘कमान्डर–इन–चिफ’ कार्यक्रमबाट सुरु गर्दै ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पले पछि धेरै उद्घाटन नृत्यहरूमा भाग लिनुभयो ।

“राजनीतिक एजेन्डाको बारेमा चिन्ता गर्नुको सट्टा तपाईंले यसको बारेमा चिन्ता गर्नुपर्दैन”, ट्रम्पले संक्षिप्त भाषणमा भीडलाई भन्नुभयो, “यो केवल अमेरिकाका शत्रुहरूलाई पराजित गर्ने एउटा ध्यान हो । हामी पराजित हुनेछैनौँ । हामी अपमानित हुनेछैनौँ । हामी केवल जित्नेछौँ, जित्नेछौँ, जित्नेछौँ १”

पहिलो पटक राष्ट्रपति पदको दौडमा पोर्न स्टारलाई पैसा दिएको अभियोगमा दोषी ठहरिएपछि ट्रम्पले पदभार ग्रहण गर्ने सबैभन्दा पुरानो राष्ट्रपति र पहिलो अपराधी दुवैका रूपमा इतिहास रच्नुभएको छ ।

उहाँ सन् १८९३ मा ग्रोभर क्लिभल्यान्डपछि सत्तामा फर्कने अमेरिकी इतिहासमा दोस्रो राष्ट्रपति पनि हुनुहुन्छ ।

रणनीतिक योजना बनाएर काम गर्न बैंक तथा वित्तीय संस्थाका प्रमुखलाई अर्थमन्त्रीको निर्देशन

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले परिवर्तित सन्दर्भमा रणनीतिक योजना बनाएर उचित प्रतिफल आउने गरी काम गर्न सरकारी बैंक तथा वित्तीय र गैर वित्तीय संस्थाका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतलाई निर्देशन दिनुभयो । अर्थ मन्त्रालयमा आयोजित बैठकमा अर्थमन्त्री पौडेलले सरकारी बैंक तथा वित्तीय र गैर वित्तीय संस्थालाई आवश्यक पर्ने नीति तथा कानुन बनाउन मन्त्रालयले आवश्यक सहजीकरण गर्ने भन्दै त्यसका लागि अग्रसरता लिन निर्देशन दिनुभयो।उहाँले सामान्य अवस्थाको प्रगतिले नपुग्ने भन्दै अहिले देखा परेका समस्यालाई समाधान गर्न सार्थक पहल लिनुपर्ने बताउनुभयो।

अर्थमन्त्री पौडेलले समस्यालाई आ–आफ्नो जिम्मेवारी र सीमामा रहेर काम गर्न संस्थाको विश्वसनियतालाई बढाउने गरी काम गर्न निर्देशन दिनुभयो।साथै खराब कर्जाको आकार घटाउँदै प्रतिफल दिने ठाउँमा लगानी गर्नुपर्नेमा जोड दिनुभयो। सरकारी बैंक तथा वित्तीय र गैर वित्तीय संस्थाका अध्यक्ष तथा प्रमुख कार्यकारीले केही ठाउँमा कर्जा असुलीमा समस्या रहेको भन्दै पूँजीको वृद्धि र लागनी विस्तारका लागि केन्द्रित हुने बताएका थिए।

बैठकमा अर्थ सचिव, राजस्व सचिव, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक लिमिटेड, कृषि विकास बैंक, कर्मचारी सञ्चय कोष, ग्रामीण विकास लघु वित्त वित्तीय संस्था, निक्षेप तथा कर्जा सुरक्षण कोष लगायतका अध्यक्ष तथा प्रमुखको सहभागिता थियो।

वर्तमान सरकार तीन वर्षसम्मै टिक्छ- उपमहासचिव ज्ञवली

नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले अहिलेको सरकार ढुक्कसँग तीन वर्षसम्म चल्ने बताउनुभएको छ । गठबन्धन मजबुत बन्दै गएपछि विपक्षीलाई छटपटी हुन थालेको उहाँले बताउनुभयो । नेकपा (एमाले) लमजुङले मङ्गलबारदेखि सञ्चालन गरेको तीन दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उपमहासचिव ज्ञवालीले वर्तमान सरकार २०८४ सालसम्मै टिक्ने दाबी गर्नुभयो।

“सरकार ढुक्कसँग तीन वर्षसम्म चल्ने भयो भनेपछि सरकार बाहिर रहेका दललाई छटपटाहट भएको छ । घरी राजावादीलाई भेट्ने, घरी रविलाई किन कारबाही गरेको भन्ने, कहिले मोर्चा बनाउँछु भन्ने, यी सबै कार्य सत्ता विमुख भएपछिको छट्पटी हो ”, उहाँले भन्नुभयो । मुलुकमा देखिएको सङ्कट समाधान गर्नकै लागि दुई ठुला दल एक ठाउँमा आएको उल्लेख गर्दै उहाँले नेपाली कांग्रेस र एमालेबिच विशेष सहमति बनेको बताउनुभयो ।

सरकारलाई घेराबन्दीमा पार्नका लागि विभिन्न चलखेल सुरु भए पनि कुनै पनि हालतमा सरकार नडगमडाउने उहाँले बताउनुभयो । कांग्रेस र एमाले प्रमुख प्रतिस्पर्धी दल मात्र नभएर एकअर्काका सहयात्री भएकाले मुलुक सञ्चालनका लागि दुवै दल गम्भीर रहेको उहाँले बताउनुभयो । “यही सरकारलाई मजबुत बनाएर अघि बढ्दै नेकपा एमालेलाई एक नम्बरको राष्ट्रिय शक्ति बनाउने लक्ष्यमा हामी छौं”, उहाँले भन्नुभयो ।

प्रधानमन्त्रीसँग बेलायती राजदूतको भेट

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत रोब फेनले आज शिष्टाचार भेट गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा दुुई पक्षीय सम्बन्ध र हितका विविध विषयमा छलफल भएको थियो।

सो अवसरमा बेलायती राजपरिवारका सदस्य डुुक अफ इडिनबर्गको आशन्न नेपाल भ्रमणका विषयमा पनि छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी गराएको छ। भेटका अवसरमा परराष्ट्र मन्त्रालयका उच्चाधिकारीको सहभागिता थियो।

संसद अधिवेशन- सत्तापक्ष कानुन निर्माण तीव्र पार्ने दाउमा, प्रतिपक्ष सरकार विरुद्ध खनिने दाउमा

प्रमुख प्रतिपक्षसहितका संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुले सङ्घीय संसद्को आउँदो हिउँदे अधिवेशनलाई कानुन निर्माणका हिसाबले अधिकतम उपलब्धिमूलक तुल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलबाट संसद्को हिउँदे अधिवेशन आह्वान भएको सन्दर्भमा दलका प्रमुख सचेतकहरुले देश र जनताको हितमा अवश्यक पर्ने कानुन निर्माणलाई परिणाममुखी तुल्याइने बताए ।

सङ्घीय संसद्को अधिवेशन यही माघ १८ गते शुक्रबार अपराह्न १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा बस्नेछ । हिउँदे अधिवेशनलाई विधेयक अविधेशनका रुपमा लिइन्छ । राष्ट्रियसभामा चार र प्रतिनिधिसभामा १५ विधेयक विचाराधीन छन् । सङ्घीयता कार्यान्वयनसँग जोडिएका सङ्घीय निजामती, विद्यालय शिक्षा, प्रहरी समायोजनजस्ता महत्त्वपूर्ण विधेयक लामो समयदेखि सदनमा विचाराधीन छन् ।

‘पाँचौँ अधिवेशनबाट कानुन निर्माणमा अधिकतम उपलब्धि हासिल गर्छौं’
महेश बर्तौला, मुख्य सचेतक, नेपाल कम्युनिष्ट पार्टी (एमाले)

सरकारले हिउँदे अधिवेशन आह्वान गरेको छ । यो विधेयक अधिवेशन हो । बढीभन्दा बढी विधेयक पारित गर्ने अधिवेशनका रुपमा यसलाई स्थापित गर्न चाहन्छौँ । यसबिचमा भएका चार अधिवेशन कानुन निर्माणको दृष्टिकोणबाट फलदायी भएनन् भनेर टिप्पणी भइरहेको छ । अबको अधिवेशनबाट नयाँ २० भन्दा बढी कानुन पारित गर्नेगरी काम गर्छौं । राष्ट्रियसभामा चार र प्रतिनिधिसभामा १५ विधेयक विचाराधीन छन् । विधेयक पारित गर्ने सन्दर्भमा सकभर शतप्रतिशत वा नभए ७० प्रतिशत प्रगति हासिल गर्छौं । संविधान कार्यान्वयनसँग सम्बन्धित कैयौँ कानुन निर्माण गर्नुपर्नेछ । यस अधिवेशनमा सरकारले बढीभन्दा बढी विधेयक सदनलाई दिनेछ । सदनले ‘बिजनेस’ पाएन भनी सांसदले सरकारसँग गुनासो गर्नुपर्ने अवस्था अन्त्य गर्नेगरी विधेयक ल्याउने तयारी छ । दुईवटा विधेयक संसद् सचिवालयमा दर्ता भइसकेका छन् भने अन्य विधेयक ‘पाइपलाइन’ मै छन् ।

सृजनात्मक, रचनात्मक र बौद्धिक विमर्श हुने थलो संसदमा समग्र राष्ट्र र जनताको विषय, विकास निर्माण र संसदमार्फत सरकारलाई ध्यानाकर्षण गर्ने विषय बलशाली रुपमा अघि बढाउनुपर्छ । राष्ट्रिय महत्व र जनसरोकारका विषय तथा नीतिगत पक्षमा पनि बहस पैरवी गरिनेछ । संसदमा सांसदहरुले विषय राख्ने तर सरकारले नसुन्ने भन्ने गुनासो आइरहने परिस्थिति अब अन्त्य गरिनेछ । सदनमा सांसदहरुमार्फत मुखरित भएका जनसरोकार र राष्ट्रिय सरोकारका विषय गम्भीरताका साथ ग्रहण गरी सम्पत्तिका रुपमा लिएर अगाडि बढ्नेछ । मौजुदा कानुनलाई समयानुकूल परिमार्जन र व्यवस्थित बनाएर कानुन निर्माण गर्न संसद् सफल भयो र जनसरोकारका विषय कार्यान्वयन गर्दै अघि बढेको सन्देश दिनेगरी काम गर्छौं । सांसद मात्रै होइन, मन्त्रीको उपस्थिति नभई सदन अघि बढ्दैन । संसदीय प्रक्रियामा उपस्थिति मात्र नभई सम्बन्धित मन्त्रीले पनि अर्थपूर्ण भूमिका खेल्नुपर्छ । हरेक सांसदलाई संसदीय मामिला तपाईंहरुको पहिलो प्राथमिकता हो भन्छौँ । संसदीय प्रक्रियामा सहभागिता र भूमिकाका आधारमा कार्यसम्पादन मूल्याङ्कनको विषय बनाइनेछ । यस अधिवेशनमा मन्त्रीको उपस्थिति नभएर बैठक बस्न नसक्ने अवस्था आउन दिनेछैनौँ । हरेक सांसदलाई सदन चलेका बेलामा कानुन निर्माणमा मात्रै केन्द्रित गराइनेछ । संसद्को बैठक, कोरम र प्रभावकारिताको जस तथा अपजसको भागेदार सत्तापक्ष र प्रतिपक्ष दुवै हुनुपर्छ । अधिकतम उपलब्धि हासिल गर्नेगरी अबको अधिवेशनलाई केन्द्रित गराइनेछ ।

‘संसद्लाई ‘बिजनेस’को अभाव हुँदैन’
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, नेपाली कांग्रेस

यो विधेयक अधिवेशन हो । उक्त अधिवेशनबाट २० भन्दा बढी विधेयक पारित गर्ने लक्ष्य राखिएको छ । यो अधिवेशनको मूल लक्ष्य नै विधेयक पारित गर्ने र पूर्वबजेट छलफल हो । यही विषयमा केन्द्रित हुन्छ । संसदमा प्रतिपक्षीहरु सङ्गठित हुने र आफ्ना विचार राख्ने लोकतन्त्रमा स्वाभाविक प्रक्रिया हो । यसका बाबजुद पनि विधेयक निर्माणमा सहयोग तथा सहकार्य गर्ने नेपाली राजनीतिको स्वाभाविक र असल अभ्यास छ । त्यसकारण विधेयकलाई निष्कर्षमा पुर्‍याउनेमा सबैको सहयोग, समन्वय हुन्छ नै । अध्यादेशबाट जारी भएका विषय तोकिएको समयभित्र सदनबाट पारित गर्नुपर्छ । विचाराधीन विधेकयमाथिको प्रक्रिया तीव्र गतिमा अघि बढेको तथा केही नयाँ विधेयक सरकारले दर्ता गरेकाले पनि यस अवधिवेशनमा संसद्ले पर्याप्त मात्रामा ‘बिजनेस’ पाउनेछ ।

‘सरकारले बाटो बिराउन खोजे खबरदारी गरिरहनेछौँ’
माधव सापकोटा, सांसद, नेकपा (माओवादी केन्द्र)

हिउँदे अधिवेशन कानुन निर्माणमा केन्द्रित हुनुपर्छ । विद्यालय शिक्षा, सङ्घीय निजामती, प्रहरी विधेयकलगायत विधेयक पाइपलाइनमा छन् । मूल रुपमा संसद् र सांसद विधेयक अधिवेशन भएकाले त्यसैमा लाग्नुपर्छ । प्रतिपक्षीले सरकारका कामकारबाही र क्रियाकलापलाई लिएर जुन अडान लिइरहेका छन् सार्वजनिक रुपमै विपक्षी दलहरुले धारणा सार्वजनिक गरिसकेका छन् । तिनै विषयवस्तु र मुद्दालाई लिएर प्रतिपक्षले सदनमा बहस गर्नेछ । संसदीय समितिमा छलफलका क्रममा रहेका विधेयक फिर्तासमेत नलिई सोही विषयमा गम्भीर प्रकृतिका कानुनहरु अध्यादेशमार्फत जारी गर्ने सरकारको कामप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

संसद्लाई छलेर राष्ट्रको दूरगामी भविष्यमा गम्भीर असर पार्ने प्रकृतिका कानुनहरु अध्यादेशमार्फत ल्याइएको, देशमा महँगी र सार्वजनिक ऋण बढेको, आर्थिक क्षेत्र चलायमान हुन नसक्दा आर्थिक परिसूचकहरू सकारात्मक हुन नसकेकालगायत विषयवस्तु प्रखर रुपमा उठाइनेछन् । ‘थ्रेसहोल्ड’ या अन्य कुनै नाममा दुई दललाई मात्रै सीमित तुल्याउन नहुने र शान्ति प्रक्रियाका बाँकी कामसँग सम्बन्धित बेपत्ता नागरिकको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग गठनको प्रक्रिया अवरुद्ध पारिएका विषयमा पनि सदनमार्फत जनतालाई जानकारी गराइनेछ । जनअपेक्षाअनुरुप काम गर्न, महँगी र भ्रष्टाचार नियन्त्रण गर्न तथा अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलित राख्न सदैव सरकारलाई खबरदारी गरिरहनेछौँ ।

‘जनताको अधिकार सङ्कुचित गरिए बेजोड आवाज उठाउँछौँ’
सन्तोष परियार, प्रमुख सचेतक, राष्ट्रिय स्वतन्त्र पार्टी

एउटा जिम्मेवार प्रतिपक्षका हिसाबले लामो समयदेखि सरकारलाई हामीले मूलतः हिउँदे अधिवेशन सुरु गर्न आग्रह गरिरहेका थियौँ । हिउँदे अधिवेशन कानुन निर्माणमा केन्द्रित हुने भएकाले सभामुखसँग छलफल गरी समयमै सदन खोली संविधान कार्यान्वयनसँग सम्बन्धित कानुन तर्जुमा गर्न पाए हुन्थ्यो भन्ने धारणा थियो । सरकारले अलि ढिला गरे पनि हिउँदे अधिवेशन बोलाएको छ । यो स्वागतयोग्य नै छ । रास्वपा सरकार र सदनलाई दुईवटा अङ्गका रुपमा बुझ्दछ ।

सरकारका कामकारबाहीको निगरानी र कानुन निर्माण गर्ने संसद्को प्रमुख जिम्मेवारी हो । देश र जनताको हितमा अवश्यक पर्ने कानुन निर्माणमा सशक्त र प्रभावकारी रुपमा काम गर्छौं । सरकारले गरेका गलत कार्यको संसदमा बेजोड तरिकाले निगरानी गर्छौं र त्यससम्बन्धी मुद्दा उठाउँछौँ । महँगी, बेरोजगारीलगायत नेपाली जनताका मुद्दा सदनमा उठ्नुपर्छ । पछिल्लो समय सत्ताधारी दलका मुख्य सचेतकसँगको अनौपचारिक छलफलमा भएको सहमतिअनुसार विषयगत समितिलाई पनि प्रभावकारी ढङ्गबाट अगाडि लैजाने र कानुन निर्माण प्रक्रियालाई पनि सहज बनाइनेछ । सदनको गएका चारवटा अधिवेशनमा १२ वटा मात्र विधेयक पारित भएकाले आगामी अधिवेशनलाई कानुन निर्माण, जनताको मुद्दा उठाउने, सुशासनको पक्षमा र भ्रष्टाचारका विरुद्धमा सदनमार्फत सरकारको ध्यानाकर्षण गराइनेछ । सरकारको कामको गुण र दोषका आधारमा हाम्रा प्रस्तुति रहन्छन् ।

रास्वपाको प्रतिपक्षीय भूमिका विगतमा पनि राम्रो थियो भन्ने लाग्छ । अहिले पनि सदनमा चौथो ठुलो दलका रुपमा प्रतिपक्षमा बसिरहँदा सदन विशेषतः प्रतिपक्षको हो । लोकतान्त्रिक व्यवस्थामा प्रतिपक्ष प्रभावकारी भएन भने सदनको गरिमा घट्छ । जनताका मुद्दाका हिसाबमा राष्ट्र निर्माणमा सहयोग पुग्ने गरी प्रतिपक्षी चरित्रलाई प्रभावकारी बनाउँछ । कानुन निर्माण गर्ने क्रममा रास्वपा प्रतिपक्षमा रहिरहँदा पनि संविधानले व्यवस्था गरेका जनताका अधिकार सुनिश्चित गर्न र राज्य सञ्चालन गर्ने आवश्यक पर्ने कानुन बनाउन सत्तापक्षसँग मिलेर काम गर्नेछौँ । तर सरकारले जनताको अधिकार सङ्कुचित गर्ने कार्य गर्छ भने सदनमा बेजोड आवाज उठाउँछौँ । सदनले सदैव सरकारलाई निगरानीमा राख्छ । सरकार सदनप्रति उत्तरदायी हुनुपर्छ ।

‘संविधान कार्यान्वयनदेखि जनसरोकारका विषय प्राथमिकता बन्नुपर्छ’
प्रभु साह, सांसद, आम जनता पार्टी

संविधान कार्यान्वयन, प्रदेश र स्थानीय तहका हकअधिकार, सुशासन, शान्ति प्रक्रिया र जनसरोकारका विषयलाई प्राथमिकताका साथ सदनमा उठाइनेछ । संविधान जारी भएको दशक पुग्न लागे पनि अझै त्यससँग सम्बन्धित कानुन निर्माण हुन सकेका छैनन् । अत्यावश्यक कानुन नहुँदा सङ्घीयताको प्रभावकारी कार्यान्वयन हुन नसकेको अवस्था छ । सङ्घीय निजामती, विद्यालय शिक्षा, प्रहरीलगायत विधेयक संसदमा विचाराधीन छन् । यी विधेयकलाई जतिसक्दो चाँडो पारित गर्न सरकारको ध्यानाकर्षण गराइनेछ ।

महाकुम्भमा पवित्र स्नान गर्न भारतीय राष्ट्रपति र प्रधानमन्त्री जाने

अहिले सम्म आठ करोडभन्दा बढी दर्शनार्थी सहभागी

भारतको उत्तरप्रदेशको प्रयागराजमा जारी सनातनहरुको सबै भन्दा ठुलो धार्मिक मेला महाकुम्भमा भारतीय राष्ट्रपति र प्रधानमन्त्रीले स्नान गर्ने भएका छन । भारतीय संचारमाध्यमहरुका अनुसार फरबरी ५ तारिखमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी महाकुम्भमा स्नान गर्ने कार्यक्रम बनाएका छन भने राष्ट्रपतिले १० फरबरीमा महाकुम्भ स्नान गर्ने कार्यक्रम बनाएका छन ।

महाकुम्भमा अहिले सम्म जनवरी २० सम्ममा सङ्गम त्रिवेणीमा आठ करोडभन्दा बढी तीर्थयात्रीले स्नान गरेको उत्तर प्रदेश सरकारले जनाएको छ । यसअघि सोमबार बिहान ८ बजेसम्म २२ लाखभन्दा बढी तीर्थयात्रीले मेला दर्शन गरेको आधिकारिक तथ्याङ्कले देखाएको छ ।

सनानत हिन्दु धर्मालम्बीहरुको सबै भन्दा ठुुलो उत्सवको रुपमा रहेको महाकुम्भ १३ जनवरीबाट सुरु भएर फेब्रुअरी २६ सम्म चल्नेछ ।

 

दुई अर्ब ९५ करोड बराबरको चिया निर्यात

मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८१-८२ को छ महिनामा चिया निर्यात ५५ दशमलव ७० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कानुसार (साउन–पुस) सम्ममा रु दुई अर्ब ९५ करोड ९० लाख ३७ हजार बराबरको चिया निर्यात भएको छ ।

सोही अवधिमा ११ हजार दुई सय ३२ दशमलव २७ मेट्रिक टन चिया निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलले जानकारी दिनुभयो । गत आव २०८०-८१ को सोही अवधिमा रु एक अर्ब ९० करोड पाँच लाख छ हजार बराबरको चिया निर्यात भएको थियो ।

भारतमा चिया उत्पादनमा कमी आएसँगै नेपाली चियाको निर्यात सुखद् पक्ष रहेको चिया उत्पादक सङ्घका अध्यक्ष आदित्य पराजुलीले बताउनुभयो । चिया निर्यातमा नेपाल सरकारले सहजीकरण गरिदिने हो भने भारतमा माग बढेकाले चियाको निर्यात अझै बढ्ने अध्यक्ष पराजुलीको दाबी छ ।

कार्यालयको तथ्याङ्कानुसार चालु आव २०८१-८२ को पुस मसान्तसम्म अलैँचीको निर्यात १६ दशमलव सात प्रतिशतले बढेको छ । चालु आवको छ महिनामा रु चार अर्ब ५५ करोड ७० लाख ६९ हजार बराबरको अलैँची निर्यात भएको छ । गत आव २०८०-८१ को सोही अवधिमा रु तीन अर्ब ९० करोड ५८ लाख ०६ हजार बराबरको अलैँची निर्यात भएको थियो ।

कार्यालयको तथ्याङ्कानुसार प्लाइउड २७ दशमलव ९०, सिमेन्ट क्लिङ्कर चार हजार एक सय ४१, भेनियर सिटको निर्यात दुई सय ३६ प्रतिशतले वृद्धि भएको छ । यसैगरी फलामे पाता, छुर्पी, अदुवा, काउली, बन्दागोपी, ब्रोकाउली, फलामलगायत वस्तुको निर्यातमा कमी आएको छ । पूर्वी नाकामा रहेको मेची भन्सारबाट चालु आवको छ महिनामा रु १३ अर्ब ८४ करोड चार लाख ३९ हजारको मालवस्तु निर्यात भएको छ ।