Page 195 – Nepalboli

आउँदो अधिवेशनबाट धेरै विधेयक पारित गर्न राजनीतिक प्रतिबद्धता आवश्यक छ- सभामुख घिमिरे

सभामुख देवराज घिमिरेले सङ्घीय संसद्को आउँदो अधिवेशनबाट संविधान र सङ्घीयता कार्यान्वयनसँग जोडिएका महत्त्वपूर्ण विधेयक पारित गर्न राजनीतिक प्रतिबद्धताको खाँचो औँल्याउनुभएको छ । संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतकसँगको छलफलपछि पत्रकारसँग कुराकानी गर्दै उहाँले संसद्को कामकारबाही र ‘बिजनेस’ दिने मामिलामा सरकार र राजनीतिक दलको सहयोग एवं समन्वय आवश्यक रहेको बताउनुभयो ।

सरकारले अधिवेशनका लागि धेरै तयारी गरेको भने पनि पछिल्लो समय महत्त्वपूर्ण भनिएका विधेयक संसद् सचिवालयमा नआएको र दर्ता नभएको भन्दै उहाँले सबैले यसमा गम्भीर हुनुपर्ने बताउनुभयो ।

“लोकतान्त्रिक प्रणाली अवलम्बन गरेका देशमा संसद् कति चलाउने, के–कस्ता विषयलाई प्राथमिकता दिने, कसरी अघि बढ्ने भन्नेबारे कार्ययोजना र कार्यतालिका आवश्यक हुन्छ । त्यस्तो कार्यतालिका बनाएर जानुपर्छ, त्यो नै व्यावहारिक र वैज्ञानिक कुरा हो भन्ने लाग्छ । हामीले एउटा पक्षले अड्को थाप्ने, अर्कोले त्यसैलाई बहाना बनाएर अर्कैतर्फ हिँड्ने अवस्था आउन दिनुहुँदैन ।

सबै जिम्मेवार बन्नुपर्छ”, सभामुख घिमिरेले भन्नुभयो । यसका लागि हाम्रो अवस्था, क्षमता, अनुमान, दृष्टिकोण वस्तुवादी हुनुपर्ने भन्दै उहाँले आगामी हिउँदे अधिवेशनमा सरकार, राजनीतिक दल र संसद्को प्राथमिकता विधेयकलाई निष्कर्षमा पु्र्याउनेतर्फ केन्द्रित हुन आवश्यक रहेको धारणा राख्नुभयो ।

सभामुख घिमिरेले काम नगरी नहुने अवस्था, अन्तिम क्षण र बाध्यकारी परिस्थितिमा मात्रै काम गर्ने प्रवृत्तिमा सुधारको खाँचो औँल्याउँदै सबै, सधैँ सक्रिय भए मात्र संसद् प्रभावकारी बन्न सक्ने बताउनुभयो ।

“संसद् र संसदीय समितिलाई परिणामुखी तुल्याउन विभिन्न पक्षको उत्तिकै भूमिका रहन्छ । संसद्मा प्रखर रूपमा आफ्नो कुरा राख्ने र सरकारका गतिविधिको निगरानी गर्दै संसद्लाई चुस्त तुल्याउने प्रतिपक्षको पनि दायित्व र धर्म हो”, उहाँले भन्नुभयो,“परिस्थिति र परिवेशले केही विषय निर्धारण गर्ने भए पनि मुख्य विषयवस्तुमा सत्तापक्ष र प्रतिपक्षबीच सहयोग र समन्वय आवश्यक छ ।” सञ्चार क्षेत्रले पनि संसद्मा उठेका विषयलाई सही ढङ्गले समाचार सम्प्रेषण गरी राम्रो काम गर्नेलाई प्रोत्साहन गर्नुपर्ने सभामुख घिमिरेको सुझाव थियो ।

उहाँले समयसीमा तोकेर प्राथमिकता निर्धारण गरी योजनाबद्ध तथा तालिका बनाएर जाने कार्य नै वैज्ञानिक र वस्तुवादी भएकाले प्रतिनिधिसभाले एक वर्षअघिदेखि क्यालेन्डर बनाएर काम गरिरहेको बताउनुभयो ।

 

 

नासाका अन्तरिक्ष यात्रीद्वारा आइएसएसबाट महाकुम्भ मेलाका भव्य तस्विर साझा

नासाका अन्तरिक्ष यात्री डोनाल्ड पेटिटले हालै अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आइएसएस) बाट खिचिएका २०२५ को महाकुम्भ मेलाको मनमोहक तस्बिरहरू साझा गर्नुभएको छ । एक्स (पूर्व ट्विटर) मा गरिएको आफ्नो पोस्टमा पेटिटले टिप्पणी गर्नुभएको छ, “२०२५ महाकुम्भ मेला गङ्गा नदी तीर्थयात्रा आइएसएसबाट रातको समयमा । संसारको सबैभन्दा ठुलो मानव जमघट राम्रोसँग उज्यालो छ ।”

उहाँको दृष्टिकोणले यस कार्यक्रमको विशाल परिमाणलाई उजागर गर्छ, जसले विश्वभरका लाखौँ भक्तजनलाई आकर्षित गरेको छ । प्रयागराजमा चलिरहेको महाकुम्भ मेलामा धार्मिक उत्सवको पहिलो १४ दिनमा नै ११ करोडभन्दा बढी मानिस सहभागी भइसकेका छन् । यसले महा कुम्भलाई विश्वको सबैभन्दा ठुलो आध्यात्मिक जमघटको रूपमा चिनाएको छ ।

प्रत्येक १२ वर्षमा हुने यस कार्यक्रमले सन् २०२५ फेब्रुअरी २६ मा यसको समापन नभएसम्म ठुलो भीडलाई आकर्षित गर्न जारी राख्ने अपेक्षा गरिएको छ । विश्वका सबै कुनाबाट लाखौँ भक्तजन आइपुग्दा यो उत्सव आस्था र एकताको जीवन्त उत्सवको रूपमा छ ।

तीर्थयात्रीहरू गङ्गा, यमुना र सरस्वती (अहिले लोप भएको) नदीहरूको सङ्गमस्थलमा पापहरू पखाल्ने र मोक्ष (मुक्ति) को बाटो खोल्ने विश्वास गरिएको अनुष्ठानिक स्नानका लागि यात्रा गर्छन् ।

यो पवित्र डुबुल्की (स्नान) सनातन धर्ममा निहित पर्वको आध्यात्मिक महत्त्वको केन्द्रविन्दु हो । यो जमघट खगोलीय पङ्क्तिबद्धताको समयमा हुन्छ जसले आध्यात्मिक शुद्धीकरण र भक्तिका लागि दुर्लभ र शुभ अवसर सिर्जना गर्छ ।

महाकुम्भ मेलाले लाखौँ धार्मिक भक्तजनलाई एकजुट गर्ने मात्र नभई गहन आध्यात्मिक र सांस्कृतिक अर्थ पनि बोकेको छ । चिसो मौसम भए पनि ठुलो सङ्ख्यामा भक्तजनहरूले सङ्गमको पवित्र जलमा स्नान गर्न चिसोको सामना गरेका छन् ।

यो कार्यक्रम भाषा, जीवनशैली र परम्पराका सीमाहरू पार गर्दै सामूहिक आध्यात्मिकताको एक महत्त्वपूर्ण प्रतीक हो । उत्सव जारी रहँदा अधिकारीहरूले जनवरी २९ को मौनी अमावस्याका लागि व्यापक तयारी गरिरहेका छन् । उक्त दिन अझै ठुलो भीडको अपेक्षा गरिएको छ ।

यस अवधिमा अनुमानित ४५ करोड आगन्तुकको अपेक्षित उपस्थितिले भारतका लागि एक ऐतिहासिक अवसर बनाउनेछ । महाकुम्भ मेला आगन्तुकहरूका लागि एक विस्मयकारी दृश्य बनिरहेको छ । त्यहाँ विभिन्न पृष्ठभूमि र जीवनका क्षेत्रका मानिसहरू साझा आध्यात्मिक उद्देश्यका लागि प्रयागराजमा एकजुट हुन्छन् ।

 

 

 

थारु समुदायको बरघर प्रथालाई प्रदेश सरकारद्धारा कानुनी मान्यता दिइने तयारी

सुदूरपश्चिम प्रदेश सरकारले कैलाली र कञ्चनपुरमा बसोबास गरिरहेका थारू (डँगौरा) समुदायको बरघर प्रथालाई कानुनी मान्यता दिन पहल सुरु गरेको छ । यससम्बन्धी विधेयक निर्माणका लागि सामाजिक विकास मन्त्रालयले आर्थिक मामिला मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा सैद्धान्तिक सहमतिका लागि पठाएको छ ।

मन्त्रालयका कानुन अधिकृत दानबहादुर सुनारले बरघर प्रथाको संरक्षणका लागि पहल सुरु भएको बताउनुभयो । उहाँले सैद्धान्तिक सहमति प्राप्त भइसकेपछि थप प्रक्रिया अगाडि बढाइने बताउनुभयो । मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको गोदावरीमा आयोजित माघी महोत्सव कार्यक्रममा थारू समुदायको संस्कृति संरक्षणका लागि बरघर प्रथालाई मान्यता दिनेगरी ऐन बनाउन लागिएको जानकारी गराउनुभयो । यस प्रथाले कानुनी मान्यता पाउन सकेमा कैलाली र कञ्चनपुरमा रहेका थारू समुदायको संस्कृति संरक्षणमा टेवा पुग्ने विश्वास गरिएको उहाँले बताउनुभयो ।

गाउँको एक मुख्य व्यक्तिलाई बरघर अर्थात् भलमन्साका रूपमा छनौट गर्नुपर्ने प्रचलन थारू समुदायमा सदियौँदेखि रहेको छ । गाउँवासीले यो भूमिकामा रहने व्यक्तिले लाए अह्राएको काम गर्नुपर्ने हुन्छ । हरेक वर्ष माघी पर्व सुरू भएसँगै थारू बस्तीमा भलमन्साको छनोट गरिन्छ । भलमन्सा चयन भएसँगै निजको घरलाई ‘बरघर’ का रूपमा चिन्ने गरिन्छ । ‘माघी’ लाई यस समुदायमा नयाँ वर्ष आरम्भका रूपमा उल्लासपूर्वक मनाउने गरिन्छ ।

भलमन्सालाई सकभर सर्वसम्मतिले र त्यसो हुन नसके निर्वाचन प्रक्रिया वा गोला ९चिट्ठा० प्रक्रिया अपनाएर छनौट गर्ने गरिन्छ । भलमन्साको मातहतमा गुरुवा, चिराकी, चौकीदार, अघरियाजस्ता पदमा समेत विभिन्न व्यक्तिको छनोट गरिन्छ ।

‘गुरुवा’ (वैद्यको काम गर्ने) ले मानिस, गाईवस्तु र अन्नबालीमा देखिने रोगको समस्या समाधान गर्ने जिम्मेवारी बहन गर्नुपर्ने हुन्छ । ‘चिराकी’ ले देवस्थल र घरमा हुने शुभकार्यमा बत्ती बालेर पूजाको काम गर्छन् । ‘चौकीदार’ ले आफ्नो गाउँठाउँमा कुनै कामका लागि भेला बोलाउनु परेमा खबर गर्ने र ‘अघरिया’ ले भलमन्साको सहायकका रूपमा काम गर्नुपर्ने परम्परा छ ।

बरघरले लाए अह्राएका कामहरू गाउँका अन्य सदस्यले मान्नुपर्ने प्रचलनका कारण नै गाउँको अनुशासन कायम हुने र सामूहिकतामा काम गर्ने प्रचलन थारू गाउँमा रहेको पाइन्छ । यस्तो परम्पराले गाउँको एकता र सामूहिकताको विकास हुने मात्र नभई गाउँको अनुशासन पनि कायम गर्नमा टेवा पुग्ने गरेको थारू बुद्धिजीवीको भनाइ छ ।

थारू गाउँमा सदियौँदेखि यस्तो प्रचलन रहेकाले नेतृत्वकर्ताको बेग्लै महत्व र सम्मान हुनेगर्छ । कामको मूल्याङ्कनका आधारमा निजलाई पुनः सोही पदको जिम्मेवारी प्रदान गर्ने गरिन्छ । समग्र गाउँको संरक्षण, विकास निर्माण, कुलोपानी, बिजुलीबत्तीको व्यवस्था, गाउँघरमा आइपर्ने दुःखसुखमा सामूहिक सहयोग गर्ने गराउनेजस्ता काम यसरी छनोट भएका नेतृत्वले गर्दछन् । भलमन्साको आदेशमा गाउँका यावत् काम गर्न जानुपर्ने कामलाई ‘बेगारी’ जाने भनिन्छ । बेगारी जान नसक्नेले जरिवाना तिर्नुपर्ने हुन्छ ।

भलमन्सा पदको जिम्मेवारी बहन गर्ने अधिकांशले स्वयंसेवीका रूपमा काम गर्ने गरेका छन् । कतिपय गाउँमा भने यो पदमा बसेर काम गर्नेलाई समुदायको निर्णयअनुसार पारिश्रमिकका रूपमा खाद्यान्न उपलब्ध गराउने गरिन्छ । पछिल्ला वर्षमा समुदायमा रहेको सकारात्मक अभ्यास, परम्परा र संस्कृतिको संरक्षणका कामलाई आगाडि बढाउन बरघर प्रथालाई जीवन्त राख्नुपर्ने आवाज उठ्दै आएको धनगढी उपमहानगरपालिका –१३ का रामदिन चौधरी बताउनुहुन्छ ।

थारू बुद्धिजीवी मानबहादुर चौधरीले समुदायको कला, संस्कृति, रीतिरिवाज, चालचलन वेशभूषाजस्ता विशिष्ट पक्षको संरक्षण गर्न र समुदायको पहिचान जोगाउनकै लागि भए पनि यो प्रथा जीवन्त राख्न जरूरी रहेको बताउनुहुन्छ । “कतिपय बस्तीमा निर्वाचित जनप्रतिनिधिभन्दा बरघर प्रथालाई समुदायले बढी विश्वास गर्ने भएकाले यसलाई कानुनी मान्यता दिनुपर्ने आवाज उठेको देखिन्छ” उहाँले भन्नुभयो ।

 

 

ओझेलमा भक्तपुरका चारधाम

ख्वप लाय्कू (भक्तपुर दरबार स्क्वायर) परिसरमा अवस्थित पवित्र तीर्थस्थल चारधाम देवस्थल ओझेलमा परेको छ । ख्वप लाय्कूको दक्षिण पश्चिममा अवस्थित चारधामका पाँचै देवस्थल मल्लकालीन राजाहरूको पालामा निर्माण गरिएको भए पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको हो । भक्तपुरमा चारधामका पाँच देवस्थल रहेका छन् । ख्वप लाय्कू प्रवेश गर्ने मुख्य प्रवेशद्वार खौमा ढोकाको दक्षिणतर्फ रहेको चारधामअन्तर्गत बद्रीनाथ, जगन्नाथ, केदारनाथ, द्वारिकानाथ (गोपीनाथ) र रामेश्वर महादेवको देवस्थल रहेको छ । भक्तपुरको ख्वप लाय्कूमा अवस्थित तलेजु भवानीसहित चारधामका पाँच देवस्थलका देवीदेवताको श्रद्धापूर्वक नियमित पूजापाठ गर्नाले मृत्युपछि बैकुण्ठबास हुने धार्मिक विश्वास स्थानीयहरूको रहेको छ ।

चारधामका सबै देवलमा दैनिक बिहान नित्य पुजा हुन्छ । दिनभरि बन्द हुने यी देवलहरूमा नित्य पूजाका क्रममा मन्दिरभित्रै गएर पूजाआजा र दर्शन गर्न पाइने द्वारिकानाथका पुजारी विनोदराज शर्माले बताउनुभयो । “प्रचार–प्रसार नहुँदा भक्तपुरमा चारधाम छ भन्ने नै आमनागरिकलाई जानकारी छैन । यहाँका स्थानीय पनि खासै पूजाआजा र दर्शन गर्न आउँदैन,” उहाँले भन्नुभयो ।

उहाँका अनुसार द्वारिकानाथको मन्दिरमा कात्तिक शुक्ल पूर्णिमाको दिन नसा, भुटेको मकै, गहुँ, लाभा, भटमासले भगवान्को आकृति बनाई पूजा गर्ने परम्परा रहेको छ । त्यसैगरी वर्षको एक दिन पुरोहित राखेर रुद्री पूजा गरी केदारनाथको बुसादाँ (जन्मदिन मनाउने) गर्ने परम्परा छ ।

चारधाममा बालाचतुर्थीमा सत्बिज छर्ने परम्परा पनि छ । मल्लकालदेखि चल्दै आएको यो परम्परा अहिले पनि कायमै रहेको पुजारी शर्मा बताउनुहुन्छ । चारधाममा महास्नान गराउने परम्परा भने लोप भइसकेको छ । शिखर शैलीमा दाँचीअप्पाले निर्मित देवस्थलको गर्भगृहमा डेढ फिट अग्लो भगवान् विष्णुको मूर्ति छ । मन्दिरमा ढुङ्गाको कलात्मक थाम, कलात्मक काठको ढोका र अगाडि एक जोडा सिंह रहेको छ ।

जगन्नाथ मन्दिर राजा भूपतिन्द्र मल्लकै पालामा निर्माण गरिएको हो । यस मन्दिरमा बायाँ सेतो बलराम, बिचमा रातो सुभद्रा दायाँ, नीलो कृष्णको काठको मूर्ति रहेको छ । यी तीन देवीदेवताको संयुक्त नाम जगन्नाथ हो । हाल यस मन्दिरको पुनर्निर्माण कार्य भइरहेको छ ।

केदारनाथ मन्दिरमा पशुपतिमा जस्तै जलहरी भएको शिवलिङ्ग स्थापना गरिएको छ । राजा भूपतिन्द्रको समयमा निर्माण गरिएको यो मन्दिर पनि दाँचीअप्पाले शिखर शैलीमा निर्माण गरिएको छ । मन्दिरको चारै दिशामा चारवटा बुर्जाहरू जडित एकादश रुद्रका सुनमोलम्बा लगाएको धातुको शिरोभाग मूर्तिहरू, कलात्मक ढुङ्गाको थाम र धातुको गजुरले बनेको छ । मन्दिरको अगाडि ढुङ्गेधारा र पश्चिममा साँढे रहेको छ ।

द्वारिकानाथ (गोपीनाथ) मन्दिर दुई तल्ले झिँगटीको छाना र सुनको मोलम्बा गजुर भएको मन्दिर हो । काठका कलात्मक झ्याल ढोकाहरूले निर्मित मन्दिरमा दायाँबायाँ नृत्य मुद्रामा रहेको कृष्णका जेठी र माइली श्रीमती सत्यभामा र रुकुमणीको बिचमा महाविष्णु ध्यानमा रहेका कृष्णको मूर्ति छ । यसमा माथिको दुई हातमा शङ्ख र गदा र तलको दुई हातले बाँसुरी समाएको छ । दुई गाईमाथि खुट्टा टेकेर आसन बनाएको छ । मूल प्रवेश अगाडि गरुडध्वज स्तम्भ रहेको छ ।

त्यसैगरी, रामेश्वर मन्दिर जलहरीसहितको शिलाको शिवलिङ्ग भएको मन्दिर हो । छ फिट अग्लो प्लेटफर्मको बिचमा शिवलिङ्ग भएको यस मन्दिर चुनासुर्की प्लास्टरले ढलान गरी घोप्टिएको कमलको फूलको आकारका छाना भएको नाग शैलीको मन्दिर हो । यस मन्दिरमा जलहरीसहितको शिवलिङ्ग र शिलाका कलात्मक थामहरु छन् ।

चारधामका रुपमा प्रख्यात देवस्थलमा द्वारिकानाथ, केदारनाथ, बद्रीनाथ र जगन्नाथ पर्दछ । भारतमा चारधाम यात्राका बेला हिउँदमा केदारनाथ जान नसक्ने अवस्थामा रामेश्वरको दर्शन गर्ने प्रचलन रहेको छ । सोही अनुसार भक्तपुरमा चारधाम निर्माण गर्ने क्रममा केदारनाथसँगै रामेश्वरको पनि देवस्थल निर्माण गरिएकाले पाँचवटा धाम रहन गएको पुजारी शर्माले बताउनुभयो ।

मल्लकालमा राजधानी सहरको शोभा, सम्पदाको सम्पन्नता बढाउन निर्माण गरिएको चारधामको देवस्थलहरुको नित्य र पर्व पूजा गुठी संस्थानमार्फत सञ्चालनमा छन् । त्यसैगरी, मर्मतसम्भार कार्यका लागि स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय र भक्तपुर नगरपालिकाबाट भइरहेको छ ।

भारतमा जान नसक्ने तथा आर्थिक अवस्था कमजोर भएका र असहाय अशक्तलाई आफ्नै ठाउँमा चारधाममा दर्शन एवम् पूजा गर्न सहज भएको छ । आर्थिक रुपले कमजोर, कार्य व्यस्तताले भारतमा जान नसक्नेहरु, वृद्धवृद्धा, बालबालिकाहरुका लागि यही दर्शन पूजन गराउने उद्देश्यले तत्कालीन राजधानीको मुटु भक्तपुरको लाय्कूमा यी देवलहरूको तान्त्रिक विधिपूर्वक प्राण प्रतिस्था गरी स्थापना गरिएको इतिहास तथा संस्कृतिविद् प्राडा पुरुषोत्तम लोचन श्रेष्ठ बताउनुहुन्छ ।

भक्तपुरमा चारधाम स्थापना गर्नुको अर्को कारण तत्कालीन शैव र वैष्यमा कुनै भेदभाव छैन भन्ने सन्देश दिनु पनि रहेको किंवदन्ती रहेको छ । तत्कालीन समयमा शिवका अनुयायी शैव समुदाय र विष्णुका अनुयायी वैष्य समुदायबिच केही मतभिन्नता रहेको अवस्थामा नेपाल मण्डलमा त्यस्तो कुनै बेमेल छैन भन्ने सन्देश दिन दरवार क्षेत्रभित्र चारधामका पाँच देवलको निर्माण गरिएको हुनसक्ने प्राडा श्रेष्ठको कथन छ ।

विष्णुको लोकप्रियता अत्यन्त बढेको त्यतिबेला सामाजिक एकता र सद्भाव झल्काउन एकै स्थानमा चारधाम निर्माण गरेको उहाँको भनाइ छ । “धार्मिक समन्वय सांस्कृतिक एकता र सद्भावको एउटा उत्कृष्ट उदाहरण हो चारधाम । शिव र विष्णुमा कुनै भेदभाव छैन भन्ने भाव यसले दिन खोजेको छ,” प्राडा श्रेष्ठले भन्नुभयो ।

मल्लकालमा राजधानी सहरको शोभा, सम्पदाको सम्पन्नता बढाउन निर्माण गरिएको चारधामको देवस्थलहरू नृत्य र पर्व पूजा गुठी संस्थानमार्फत सञ्चालनमा छन् । त्यसैगरी, मर्मतसम्भार कार्यका लागि स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय र भक्तपुर नगरपालिकाबाट भइरहेको छ । चारधामअन्तर्गत बद्रीनाथ, जगन्नाथ र केदारनाथको देवल १९९० सालको भूकम्पले केही क्षति पुर्‍याएको थियो । केदारनाथको गजुरको भागमा क्षति भएर जीर्णोद्धार गरिएको थियो । त्यसपछि २०७२ सालको भूकम्पले पनि केदारनाथको देवलको आधा भाग भत्काए पनि भक्तपुर नगरपालिकाले पुनर्निर्माण गरिसकेको छ ।

पछिल्लो अनुसन्धानका क्रममा नेपाल संवत् ३४७ मै जगन्नाथको जीर्ण प्रतिमा फेरिएको पुरानो अभिलेखमा फेला परेको प्राडा श्रेष्ठले बताउनुभयो । “जगन्नाथको देवल राजा यक्ष मल्लको भन्दा पहिला आन्नदेवको समयतिर १२औँ शताब्दीमा स्थापना भएको अनुसन्धानले देखाएको छ । त्यो समय नेपाल मण्डलमा जगन्नाथको मुख्य केन्द्र भक्तपुर र त्यसपछि चारधाम कान्तिपुर र ललितपुरमा विस्तार भएको हो,” उहाँले भन्नुभयो ।

भारतको सिक्किममा केही वर्षअघि निर्माण गरेको चारधामको प्रचारप्रसारले अहिले पश्चिम सिक्किममा वार्षिक लाखौँ धार्मिक पर्यटक दर्शनका लागि जाने गरेका छन् । भक्तपुरमा भएको चारधामको पनि प्रचारप्रसार गरी दैनिक रूपमा दिनभरि भक्तजनले दर्शन गर्नसके वार्षिक लाखौँ भक्तजन आउने र यसले आन्तरिक र बाह्य पर्यटन विकासमा थप टेवा पुग्ने देखिन्छ ।

 

‘युएसएआइडी’ले स्रोत बेहोर्ने चार परियोजनाको काम रोक्न अर्थको निर्देशन

अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) र नेपाल सरकारबिच भएको अनुदान सहयोगअन्तर्गतका केही परियोजनाको काम नगर्न अर्थ मन्त्रालयले निर्देशन दिएको छ । अर्थ मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गर्दै युएसएआइडीको सहवित्तीय लगानी भएका आयोजनामा उसको स्रोतमा दायित्व सिर्जना हुने गरी काम नगर्न निर्देशन दिएको हो ।

“युएसएआइडी र नेपाल सरकारबिच २०२२ मे ५ मा हस्ताक्षर भएको डेभलपमेन्ट अब्जेक्टिभ अग्रिमेन्टमार्फत् नेपाललाई प्राप्त भएको अनुदान सहायतामध्ये बजेट प्रणालीमार्फत सञ्चित कोषबाट भुक्तानी हुने प्रकृतिका चार वटा आयोजनाहरूमा प्राप्त अनुदान सहयोग तत्काल ९० दिनका लागि स्थगित भएको युएसएआइडी नेपालले पत्रमार्फत जानकारी गराएको छ”, विज्ञप्तिमा भनिएको छ, “यस अवधिमा स्थगित भएका आयोजनाअन्तर्गत युएसएआइडी स्रोततर्फ कुनै दायित्व सिर्जना गर्ने कार्य नगर्न सम्बन्धित सबै सम्बद्ध निकायहरूलाई जानकारी गराइएको छ ।”

मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको बजेटमा परेका ‘युएसएआइडी हेल्थ डिरेक्ट फाइनान्सिङ प्रोजेक्ट’, ‘युएसएआइडी एग्रिकल्चर डाइरेक्ट फाइनान्सिङ प्रोजेक्ट’, ‘युएसएआइडी एजुकेसन डाइरेक्ट फाइनान्सिङ प्रोजेक्ट’ र ‘युएसएआइडी इन्क्लुसिभ पोलिसी डाइरेक्ट फाइनान्सिङ प्रोजेक्ट’मा युएसएआइडीले सहवित्तीय लगानी गरेको छ ।

युएसएआइडीले यी आयोजनामा आउने अनुदान ९० दिनका लागि रोकिएको जानकारी अर्थ मन्त्रालयलाई गराएकाले उसको स्रोतबाट हुने खर्चअन्तर्गतका काम रोक्न निर्देशन दिइएको मन्त्रालयका सहसचिव महेश भट्टराईले जानकारी दिनुभयो । ती आयोजनामा नेपाल सरकारबाट स्रोत बेहोर्ने गरी तय भएका कामहरू भने रोकिने छैनन् ।

 

 

अन्नपूर्ण आधार शिविर पर्यटकको रोजाइमा

म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा रहेको अन्नपूर्ण आधार शिविर र मौरिस हर्गोज पदमार्गमा रु। एक करोड २५ लाखको लागतमा पूर्वाधार निर्माण थालिएको छ। अन्नपूर्ण गाउँपालिकाको रु एक करोड, नेपाल पर्यटन बोर्डको रु २० लाख र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को रु पाँच लाख बजेटबाट आश्रय स्थल, शौचालय, खानेपानी, पदमार्ग, चिया पसल र खुला सङ्ग्रहालय निर्माण थालिएको हो। अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले अन्नपूर्ण आधार शिविर र पञ्च कुण्ड ताल क्षेत्रमा अस्थायी संरचना निर्माण गर्न लागिएको जानकारी दिए।

‘एक्यापमा पर्ने भएकाले स्थायी संरचना निर्माण गर्न नीतिगत समस्या भएपछि पर्यटकको सहजताका लागि अस्थायी संरचना बनाउन थालिएको हो’, उनले भने, ‘अन्नपूर्ण आधार शिविर र पदमार्गमा चिया तथा खाजा पसल सञ्चालनको गाउँपालिकाले ठेक्का आह्वान गरेको छ।’

योजनाको सर्वेक्षण, लागत अनुमान तयार र उपभोक्ता समिति गठन भइसकेको अन्नपूर्णका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्मा कँडेलले बताए। सन्धीखर्क, भुसकेट, पञ्चकुण्ड ताल परिसरमा रु ४० लाखको लागतमा तीन वटा आश्रय स्थल निर्माण गर्न लागिएको छ।

हुमखोला, फुतफुते झरना, गुफाफाट, भुसकेट र पञ्च कुण्डमा खानेपानी र शौचालय निर्माणका लागि रु। ३० लाख विनियोजन भएको छ। फुटफुते झरना परिसरमा चिया पसल र आधार शिविरमा खुला सङ्ग्रहालय निर्माणका लागि रु। १०-१० लाख विनियोजन भएको छ। खुला सङ्ग्रहालयमा आधार शिविरमा रहेका अभिलेखलाई संकलन र संरक्षण गर्ने लक्ष्य रहेको अन्नपूर्ण गाउँपालिकाका सवइञ्जिनियर बालकृष्ण पौडेलले बताए।

पदमार्ग निर्माण र सुधारका लागि पर्यटन बोर्डको रु २० लाख, गाउँपालिकाको रु १० लाख र एक्यापको रु। पाँच लाख बजेट परिचालन गर्ने गरी उपभोक्ता समिति गठन भएको छ । प्रमुख प्रशासकीय अधिकृत कँडेल, सवइञ्जिनियर पौडेल र समुन्नत यादवको टोली गत हप्ता आधार शिविर पुगेर योजना निर्माण स्थलको निरीक्षण गरेर फर्किएको थियो।

मानव बस्तीदेखि टाढा, होटल र रेष्टुराँ नभएको आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको आरोहण आधार शिविर जाने पर्यटकलाई खाना, बस्न र फोहर व्यवस्थापनमा समस्या भएपछि पूर्वाधार निर्माण थालिएको हो।

अन्नपूर्ण गाउँपालिका–४ का वडाध्यक्ष लोकबहादुर फगामीका अनुसार दसैँ–तिहारको समयमा करिब पाँच हजार। जना आन्तरिक पर्यटक अन्नपूर्ण आधार शिविरको भ्रमणमा गएका थिए । मौरिस हर्गोज पदमार्गमा झोलुंगे पुल, सञ्चार, विद्युत् सुविधा विस्तार र पर्यटक चेकपोष्ट राख्नका लागि पनि पहल भएको उनले बताए।

अन्नपूर्ण र नीलगिरि हिमालको फेदीबाट बग्ने मिस्त्री खोलाको किनारै किनार, अग्ला झरना, मनमोहक हिमशृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै आधार शिविर पुग्न सकिन्छ। अन्नपूर्ण हिमालको फेदीमा रहेको नीलो रङको पञ्च कुण्ड ताल आधार शिविरको आकर्षण हो।

तीन दिनको छोटो अवधिमा साहसिक पदयात्रा गर्न सकिने भएकाले पर्यटकको रोजाइमा अन्नपूर्ण आधार शिविर परेको हो । हर्जोगको टोलीले अन्नपूर्ण चढ्न प्रयोग गरेको बाटो पछ्याउँदै नारच्याङका तेज गुरुङको अगुवाइमा विसं २०६८ मा अन्नपूर्ण हिमाल र आधार शिविर म्याग्दीमा पर्ने तथ्य तथा पदमार्ग पहिचान भएको थियो।

सो पदमार्गलाई अन्नपूर्ण गाउँपालिकाले ‘मौरिस हर्जोग’ नामकरण गरेको छ । नारच्याङदेखि हुमखोलासम्म २० किलोमिटर सडक र हुमखोलादेखि आधार शिविरसम्म आधारभूत स्तरको २२ किमी पदमार्ग तयार भएको छ।

 

 

सुन्तला खेतीबाट मनग्य आम्दानी हुन थालेपछि रोकियो बसाइँसराइ

म्याग्दी– रोजगारको सिलसिलामा १४ वर्ष विदेशी भूमिमा बिताएका अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका प्रेमलाल मगर अहिले गाउँमै सुन्तला खेतीमा रमाइरहेका छन्। उनी यसैले आफूलाई आत्मनिर्भर बनाएको बताउँछन् । १२ वर्षअघि करिब तीन रोपनी बारीमा सुन्तला रोपेका मगरको सुन्तला बगैँचामा ९० वटा बोटले फल दिन्छन्। यस वर्ष बगैँचाबाटै १० लाखको सुन्तला बिक्री भएको मगरले बताए ।

‘पहिले घरपरिवारको आर्थिक स्रोतकै लागि ११ वर्ष कतार र तीन वर्ष दुबईमा काम गरेँ, तर अहिले सुन्तलाले उत्पादन दिन थालेपछि विदेश जान छोडेको हुँ, अहिले आफ्नै सुन्तलाबारीमा पसिना बगाउँदा आनन्द लाग्छ,’ मगरले भने।

केही वर्ष अघिसम्म दोसल्लेका अधिकांश परिवारका लागि रोजगारीका लागि विदेश जानु बाध्यता थियो। तर अहिले गाउँ कृषिबाट आत्मनिर्भर बनेको छ। गाउँका अधिकांश परिवारले व्यावसायिक रूपमा सुन्तला खेती गरिरहेका छन्। कूल ४२ घरधुरीको बसोबास रहेको दोसल्लो गाउँमा यसवर्ष सुन्तलाबाट एक करोड ६० लाख रुपैयाँ बढी भित्रिएको छ।

पोखरा र काठमाडौंका व्यवसायी बगैँचामै पुगेर सुन्तला खरिद गरेपछि अहिले धमाधम सुन्तला टिप्ने काम भइरहेको छ। दोसल्ले व्यावसायिक सुन्तलाजात किसान समूहका अध्यक्ष प्रेम पाइजाले अघिल्लो वर्ष गाउँबाट ८० लाख रुपैयाँको सुन्तला बिक्री भएकोमा यसवर्ष दोब्बरले आम्दानी बढेको जानकारी दिए।

दोसल्लेका सबै घरमा सुन्तला खेती गरिएको छ। गाउँबाट बसाइँसराइ रोकिएको छ। पहिले बेनी, पोखरालगायतका ठाउँमा बसाइँसराइ गरेकालेसमेत गाउँमा फर्किएर बाँझिएको जग्गामा सुन्तला रोपण गरेका छन्। ‘पहिले गाउँमा सामान्य जीविकोपार्जन गर्नसमेत कठिन थियो, गाउँमा आम्दानीको कुनै स्रोत थिएन, आज सुन्तला खेतीले स्थानीयलाई आर्थिक लाभ दिएको छ, कृषिबाटै गाउँलेको जीवनस्तर बदलिएको छ,’ पाइजाले भने।

उनका अनुसार दोसल्लेमा १० हजार सुन्तलाका बोट छन्। २०६८ सालमा पोखराबाट माटो परीक्षण विभागबाट विज्ञ ल्याएर माटो परीक्षण गरी सुन्तला खेतीमा लागेका दोसल्लेवासीले हरेक वर्ष सुन्तला खेतीलाई विस्तार गर्दै लगेका छन्। परम्परागत रूपमा धान, मकै, कोदो, भटमास हुने खेतबारी सुन्तलाले ढाकिएको छ। नयाँ बोटलेसमेत फल दिन सुरू गरेकाले अबको केही वर्षमा यस गाउँमा सुन्तलाबाट वार्षिक तीन करोड बढी रकम भित्रने स्थानीयवासीको अनुमान छ।

दोसल्लेका सबै घरमा सुन्तला खेती गरिएको छ। गाउँबाट बसाइँसराइ रोकिएको छ। पहिले बेनी, पोखरालगायतका ठाउँमा बसाइँसराइ गरेकालेसमेत गाउँमा फर्किएर बाँझिएको जग्गामा सुन्तला रोपण गरेका छन्। विभिन्न पेसा, व्यवसायमा लागेकासमेत अहिले दोसल्लेमा सुन्तला खेतीमा लामबद्ध भएका छन्। बेनीमा व्यवसाय गर्दै आभएका विकास श्रेष्ठलेसमेत दोसल्लेमा व्यावसायिक सुन्तला खेती गरेका छन्। अन्नपूर्ण गाउँपालिकाका पूर्वउपाध्यक्ष केशमाया मगरलेसमेत सुन्तला खेतीलाई विस्तार गरेकी छन्।

खेतीयोग्य जमिन सबैमा सुन्तला रोप्ने अभियान चलेको दोसल्ले व्यावसायिक सुन्तलाजात किसान समूहले जनाएको छ। दोसल्लेमा विगत करिब १३ वर्षदेखि सुन्तला खेती हुँदै आएको छ। सुन्तलाबाट राम्रो नगद आम्दानी हुन थालेपछि यहाँका किसान परम्परागत अन्नबाली लगाउन छाडेर सुन्तला खेती विस्तारमा जुटेको स्थानीय मायादेवी गर्बुजाले जानकारी दिइन्।

‘अन्नबालीबाट गाउँमा नगद आम्दानी भएको थिएन, घरखर्च चलाउन मुस्किल थियो, सुन्तला खेतीले गाउँको मुहारै फेरिएको छ, सबै किसानको आर्थिक अवस्थामा सुधार भएको छ, घरघरमै रोजगारी सिर्जना भएको छ,’ गर्बुजाले भनिन्।

सुन्तला गाउँको रूपमा विकास भएको दोसल्लेका स्थानीय कामको खोजीमा भौतारिनुपर्ने बाध्यता हटेको छ। बिहानदेखि बेलुकासम्म आफ्नै खेतबारीका सुन्तला बगैँचाको स्याहार गर्ने र आफ्नै घरपरिवारसँग गाउँमै बसेर सुन्तला फलाएर आयआर्जन हुन थालेपछि दोसल्लेबासीको मुहारमा खुसी र जीवनमा सन्तुष्टि छाएको छ। गाउँमा सुन्तला खेतीसँगै आलुलगायतका तरकारीखेती, बाख्रापालन, कुखुरापालन लगायतको व्यावसायिकताले यो गाउँ आत्मनिर्भर र समृद्ध बन्ने बाटोमा छ।

सुन्तला खेती विस्तार, रोगकीराको उपचार, औजार उपकरण खरिद र सिँचाइ विस्तारमा बाली संरक्षण विभाग पोखरा, कृषि ज्ञान केन्द्र, सुन्तला जोन र अन्नपूर्ण गाउँपालिकाबाट भएको सहयोगले सुन्तलाको व्यावसायिकखेतीमा हौसला थपेको समूहका अध्यक्ष पाइजाले जानकारी दिए। जिल्लामा यसवर्ष ३३ करोड ४६ लाख रुपैयाँको सुन्तला बिक्री भइसकेको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सञ्जीव बाँस्तोलाले जानकारी दिए। म्याग्दीमा आठ सय २० हेक्टर जमिनमा सुन्तला खेती हुँदै आएकोमा चार सय २५ हेक्टर जमिनको सुन्तलाका बोटले मात्रै फल दिने गर्छ। किसानको बगैँचाबाटै प्रतिकिलो ६० देखि एक सय २० रुपैयाँसम्मको मूल्यमा व्यापारीले सुन्तला खरिद गरेका छन्।

आउदो संसद अधिवेशनको पहिलो बैठकमा प्रधानमन्त्री सहित शीर्ष नेताहरुले सम्बोधन गर्ने

आगामी शुक्रबारबाट संसद्को हिउँदे अधिवेशन सुरु हुँदै छ । बैठक तयारीका लागि सभामुख देवराज घिमिरेले आज आइतबार सत्तापक्षका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन् । सभामुख घिमिरेले हिउँदे अधिवेशन, विधेयक, सरकारको तयारीलगायत विषयमा सचेतकहरूसँग छलफल गरेका हुन् ।

आजको बैठकमा सरकारले ल्याउने विधेयकको तयारीबारे सभामुखले छलफल गरे । आगामी संसद् अधिवेशन प्रभावकारी बनाउन पहल गर्न पनि उनले सचेतकहरूलाई आग्रह गरे ।

समितिको बैठक नियमित बस्न र विचाराधीन विधेयकलाई टुंगोमा पुर्‍याउन पनि सभामुखले आग्रह गरेका छन् ।

यसैबीच, सत्तारुढ दल एमालेले १५ गतेका लागि संसदीय दलको बैठक बोलाएको छ । बैठक दिउँसो १ बजे ल्होत्से हलमा बस्ने गरी बोलाइएको बैठकपछि एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । संघीय संसद्का राष्ट्रिय सभा र प्रतिनिधिसभाको अधिवेशन माघ १८ गते १ बजेका लागि आह्वान गरिएको छ ।

 

 

 

 

 

 

 

 

 

रवि लामिछानेसँग रुपन्देहीमा १ करोड धरौटी माग

सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दामा रुपन्देही जिल्ला अदालतले रवि लामिछानेसँग १ करोड धरौटी माग गरेको छ । आइतबार जिल्ला न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले १ करोड धरौटीमा लामिछानेलाई रिहा गर्न आदेश दिएका हुन् ।

दुई पक्षका वकिलको बहसपछि लामिछानेलाई धरौटीमा छाड्न आदेश भएको जिल्ला अदालत रुपन्देहीका श्रेस्तेदार यज्ञमूर्ती ज्ञवालीले बताए ।

सुप्रिम सहकारीको रकम अपचलनमा गत आइतबार २२ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालतमा पूरक अभियोगपत्र दर्ता गरिएको थियो । पूरक अभियोगमा ५५ करोड ५९ लाख ८३ हजार ८ सय ४२ रुपैयाँ बिगो मागदाबी गरिएको थियो ।

अहिलेका प्रधानमन्त्रीभन्दा राम्रो काम गर्न सक्छु- गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अहिलेका प्रधानमन्त्रीभन्दा आफूले राम्रो काम गरेर देखाउने बताएका छन् । आइतबार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको प्रधानमन्त्री, अब बन्ने प्रधानमन्त्री वा यसअघिका प्रधानमन्त्रीहरू भन्दा युवा पुस्ताबाट बन्ने प्रधानमन्त्रीले बढी राम्रो काम गरेर देखाउने बताएका हुन् ।

‘म अहिलेको प्रधानमन्त्री वा हुनेवाला प्रधानमन्त्री वा अस्ति भर्खर हुनुभएको प्रधानमन्त्री भन्दा हामी राम्रो प्रधानमन्त्री चलाउन सक्छौँ भन्नकुरा म अहिले पनि विश्वास गर्दछु,’ थापाले भने, ‘आजको प्रधानमन्त्रीको ठाउँमा आजै बेलुका गएर हामीमध्ये कसैलाई प्रधानमन्त्री बनाउने हो भने अहिले चलाएको भन्दा राम्रो चलाउँछौँ । यति कुरा दावाका साथ भन्नसक्छु ।’

अहिलेको भन्दा राम्रोसँग देश चलाउँछु भन्ने विश्वासकै कारण कांग्रेसको संसदीय दलको नेताका लागि पहल गरेको उनको भनाइ थियो ।

‘त्यही चलाउँछौँ भन्ने विश्वासका साथ बन्ने प्रयास पनि गरेको हो । म जिम्मा लिन्छु भनेर गएको पनि हो । ति प्रयासबाट आएका परिणामहरुलाई पनि स्वीकार्नुपर्छ । यो दशक अब फेरि खेल फाल्नु हुँदैन,’ थापाले भनेका छन् । साथै, उनले नेपाली नागरिकको समुन्नति अबको आवश्यकता भएको बताए ।