Page 192 – Nepalboli

सूचना प्रविधि क्षेत्रबाट वार्षिक रु १० खर्ब बढी आम्दानी गर्न सकिन्छ

सूचना प्रविधि क्षेत्रका जानकारहरूले नेपालले सूचना प्रविधि (आइटी) जनशक्ति उत्पादन गर्ने हो भने वार्षिक रु १० खर्बभन्दा बढी आम्दानी गर्न सकिने बताएका छन् । नेपाली काँग्रेसको उद्यमशील र साना तथा मझौला व्यवसायी विकास विभागले आयोजना गरेको सम्मेलनको आजको समूहगत छलफलमा उनीहरूले सो धारणा व्यक्त गरेका हुन् । काँग्रेस केन्द्रीय पार्टी कार्यालय सानेपामा जारी नेपाल ‘स्टार्टअप’ र ‘एसएमई’ सम्मेलनको दोस्रो दिनको ‘उद्यमशीलता र जनशक्ति विकास आइटी क्षेत्रको लागि तयारी’ शीर्षकको सत्रमा भएको छलफलका वक्ताहरूले आइटीमा थोरै लगानी गर्नसके राम्रो परिणाम हात पार्न सकिने बताएका हुन् ।

इनोभेटिभ नेपाल (आईएनजी) ग्रुपका प्रमुख सुलभ बुढाथोकीले नेपालको आइटी क्षेत्रमा धेरै अवसर भएकाले दक्ष जनशक्ति निर्माणमा लगानी आवश्यक भएको बताए । आवश्यकता अनुसार जनशक्ति उत्पादन गर्नसकेमा वार्षिक रु १० खर्बभन्दा बढीको आइटी सेवा निर्यात गर्न सकिने उनको भनाई थियो ।

उनले भने, “अहिले हामीले दक्ष जनशक्ति निर्माणको लागि प्रयत्न गरिरहेका छौं । हरेक आइटी कलेजहरूमा कोटा नछुट्याइ सहजै आइटी पढ्न सकिने व्यवस्था गर्नुपर्ने नीति अवलम्बन गर्नुपर्छ भनेर लबिङ गरिरहेका छौं ।” अहिले विश्वभर सबैभन्दा बढी आर्थिक उपार्जनको स्रोत बनेको पर्यटन क्षेत्रलाई पनि आइटीले उछिनिसकेको छ ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका डिन प्रा डा महाननन्द चालिसेले अहिलेको समयमा प्राविधिक शिक्षासहितको व्यावसायिक ज्ञानमा राज्यले ध्यान दिनुपर्ने बताए । उनले पढाइमा सरकारले प्राविधिक पक्षमा ध्यान दिनुपर्ने उल्लेख गरे । यसका लागि त्रिभुवन विश्वविद्यालयले निरन्तर आफ्नो तर्फबाट काम गरिरहेको पनि उनले जानकारी गराए । उनले थपे । “सरकारले नीति त ल्याउँछ तर प्राविधिक क्षेत्रमा विद्यार्थीलाई कसरी जोडने भन्ने विषय समेटिएको छैन । हरेक संकायमा प्राविधिक र व्यावसायिक सिप सिकाउने गरी पाठ्यक्रम निमार्ण गर्ने र त्यसलाई व्यवहारिक रूपमा लागु गर्न आवश्यक छ ।”

सीनासका कार्यकारी निर्देशक मिर्गेन्द्र कार्कीले परिवर्तनशील समयअनुसार सपना देख्ने, लगानी गर्ने, र प्रयोग गर्ने क्षेत्रलाई छुट्याएर त्यसको ब्रान्डीङसहितको प्रचार गर्न आवश्यक भएको बताए । उनले देशको भुगोल अनुसारको उत्पादित सामग्रीको राज्यले प्रवर्द्धन गर्न सकेको अवस्थामा समग्र आर्थिक रूपान्तरण गर्न सहज हुने उल्लेख गरे ।

योङ इनोभेसनका संस्थापक विभूषण विष्टले राज्यले आइटी क्षेत्रलाई समेट्ने गरी नीति ल्याएको अवस्थामा अहिलेको तुलानामा पाँच गुणा बढी जनशक्ति उत्पादन गर्न सकिने र त्यहीअनुसार सेवा निर्यात गर्न सकिने बताए ।

उनले थपे, “उद्यमशीलता एक माइन्डसेट हो । उद्यमी र सर्वसाधारण मानिसबीच के भिन्नता छ भने सामान्य मानिसले समस्या देखिरहेको हुन्छ भने उद्यमीले अवसर देखिरहेको हुन्छ । त्यो समस्या समाधान गर्ने प्रयास गरिरहेको हुन्छ । कुनै पनि उद्यमीले त्यसलाई कार्यान्वयन नगरेसम्म त्यो अवसर वा त्यो ‘आइडीया’को मूल्य शून्य नै रहन्छ । शिक्षामा उद्यमशीलतालाई जोड्न आवश्यक छ र उद्यमशीलता पढेको व्यक्तिले मात्रै स्टार्टअप गर्नुपर्छ भन्ने हुँदैन ।”
त्यस्तै खिम्भु टेकका सीईओ कार्भिका थापाले स्टार्टअप सुरु गर्दा आफ्नो रुचीको विषय छानेर काम गर्न सकेको अवस्थामा मात्रै सफलता हात पार्न सकिने बताए । उनले भनिन्, “सुरुमै उद्यमशील बन्ने आधारको लागि सिप विकास आवश्यक छ । जे विषयमा क्षमता छ, त्यसैका लागि प्रयत्न गनुपर्दछ ।” काँग्रेस केन्द्रीय कार्यालयमा बुधबारदेखि सुरु भएको सम्मेलनले भर्खरै व्यवसाय प्रारम्भ गर्ने उद्यमी, व्यवसायीहरूलाई प्रोत्साहन गर्नुका साथै व्यवसायको प्रवर्द्धनसमेत हुने विभागका संयोजक उर्मिला थपलियाको विश्वास छ ।

 

 

उत्पादनमा अनुदान पाउँदा दुग्ध किसान उत्साहित

प्रतिलिटर दूधमा रु पाँच अनुदान पाउन थालेपछि बागलुङका दुग्ध उत्पादनक किसान उत्साहित भएका छन् । गत वर्षसम्म प्रतिलिटर साढे दुई रुपैयाँ पाउँदै आएका किसानले चालु आर्थिक वर्षदेखि रु पाँच पाउन थालेका हुन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङले किसानलाई उत्पादनका आधारमा दूधमा अनुदान दिन थालेको हो ।

किसानलाई प्रोत्साहन र जिल्लालाई दूधमा आत्मनिर्भर बनाउनका लागि अनुदान उपलब्ध गराएको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र बागलुङका प्रमुख डाक्टर ऋषिराम सापकोटाले जानकारी दिनुभयो । केन्द्रले दुग्ध उत्पादन सहकारीमा आबद्ध भएका किसानलाई अनुदान दिने गरेको उहाँले बताउनुभयो ।

डा सापकोटाका अनुसार बागलुङमा वार्षिक २३ मेट्रिक टन दूध उत्पादन हुँदै आएको छ । त्यसमध्ये दुई लाख लिटर अन्य जिल्लामा निर्यात गर्ने गरिएको छ । विगत चार वर्षदेखि यहाँका किसानलाई अनुदान दिन थालिएको हो । विज्ञ केन्द्रले यहाँका करिब आठ सय किसानलाई अनुदान दिँदै आएको छ । “जिल्लामा धेरै किसानले दूध उत्पादन गर्दै आउनुभएको छ, त्यसमध्ये झन्डै एक सय जनाले व्यावसायिक रूपमै बाह्रै महिना दूध बिक्री गर्नुहुन्छ । पहिले दुई रुपैयाँ दिँदै आएका थियौँ, यस वर्षदेखि पाँच दिन थालिएको छ”, उहाँले भन्नुभयो, “यस वर्ष आठ लाख लिटर दूधका लागि रु ४० लाख विनियोजन भएको छ, उक्त रकम किसानको हातहातमा पुग्ने छ ।”

हाल सात वटा सहकारीमार्फत किसानलाई अनुदान दिने गरिएको छ । प्रतिव्यक्ति ९१ लिटर आवश्यक पर्नेमा हाल बागलुङमा त्यसभन्दा बढी दूध उत्पादन भएको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र बागलुङले जनाएको छ ।

काठेखोला गाउँपालिका–६ का दुग्ध उत्पादन किसान सुरेश कँडेलले राज्यले उत्पादनमा आधारित अनुदान दिँदा आफूजस्ता धेरैलाई काम गर्न उत्साह बढेको बताउनुहुन्छ ।

 

 

 

माघ २५देखि धनुषामा लाटोकोसेरो तथा हुचिल उत्सव हुने

धनुषाको मिथिला विहारी नगरपालिका–२ र ३ मा लाटोकोसेरो (उल्लु) तथा हुचिल (मुहदुसा) उत्सव २०८१ हुने भएको छ । माघ २५ र २६ गते उक्त उत्सवको १२औँ संस्करण हुने आयोजक समितिका संयोजक देवनारायण मण्डलले जानकारी दिए । मिथिला वाइल्ड लाइफ ट्रस्टको आयोजना र प्रकृतिका साथीहरू संस्थाको सहकार्यमा उक्त उत्सव हुने जनाइएको छ ।

नेपाल, अमेरिका र इटालीमा मात्र आयोजना हुने यो अन्तर्राष्ट्रिय लाटोकोसेरो उत्सवले लोपोन्मुख लाटोकोसेरो तथा हुचिल संरक्षणमा जनचेतना फैलाउने उद्देश्य राखिएको छ ।

संयोजक मण्डलले उत्सवमा निःशुल्क प्रवेश गराइने र उत्सवको पूर्वतयारीअनुरूप विभिन्न विद्यालयमा लाटोकोसेरो संरक्षण चेतना शिविर सञ्चालन भइरहेको बताए ।

उत्सवमा चरा तथा प्रकृति अवलोकन, स्थानीय लोपोन्मुख खेलहरू तथा सांस्कृतिक गीत तथा नाच प्रदर्शनी र वनविज्ञान अध्ययन संस्थान पोखराका विद्यार्थीको लाटोकोसेरो संरक्षणसम्बन्धी नाच र नाटक प्रदर्शन गरिने आयोजकले जनाएको छ। सन् २०१२ देखि नेपालमा यो उत्सव मनाउन थालिएको हो।

 

 

फरार अभियुक्त १४ बर्ष पछि पक्राउ

प्रहरीले वैदेशिक रोजगार मुद्दामा डिल्लीबजार कारागारबाट फरार प्रतिवादीलाई १४ बर्ष पछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओखलढुङ्गाको लिखु गाउँपालिका–२ घर भई हाल गोंगवु काठमाडौँ बस्ने ४५ बर्षीया पेशल राज बुढाथोकी रहेका छन् ।

बुढाथोकीलाई अदालतले २०६६ साउन १९ गतेको ३ बर्ष कैद र ३ लाख जरिवाना तोकेको थियो । भने २०६६ फागुन २५ गते भएको अन्तिम फैसला पछि उनलाई डिल्लीबजार कारागार लगिएको थियो ।

तर उनी २०६७ साउन २९ गते कारागारबाट फरार भएका थिए । उनको खोजी गर्ने क्रममा बुधबार गोंगवु क्षेत्रबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काठमाडौँका सूचना अधिकारी अपील राज बोहराले जानकारी दिए ।

 

 

रोग नष्ट हुने विश्वास गरिएको धुसेनीमा १३ वर्षपछि पलायो पानी

सिन्धुपाल्चोक । यहाँको इन्द्रावती गाउँपालिका–५ सिपा धुसेनीस्थित नयाँ पानीमा पानी पलाएको छ । यहाँ प्रत्येक बाह्र वर्षको अन्तरालमा हिउँदमा पानी पलाउने गरेको थियो । त्यही सिलसिलामा यसवर्ष यहाँ पानी पलाएको हो । अघिल्लो वर्ष पानी पलाउनु पर्ने भएपनि नपलाएपछि नयाँपानी संरक्षण समितिले क्षमापूजा गरेको थियो । क्षमा पूजापछि नयाँपानी क्षेत्रमा बुधबार पानी पलाएको सो वडाका वडाध्यक्ष शशिनाथ आचार्यले बताए।

पानी पलाएपछि स्थानीयवासी हर्षित भएका छन् । यहाँ पानी पलाएपछि गाउँघरमा विभिन्न रोग नष्ट हुने विश्वास गरिन्छ । नयाँ पानीमा प्रत्येक बाह्र वर्षमा मेला लाग्ने गरेको छ ।

 

हमासद्वारा तीन इजरायली र पाँच थाई बन्धक रिहा

प्यालेस्टिनी समूह हमासले बिहिबार थप तीन इजरायली बन्धकहरू मुक्त गरेको छ । सन् २०२३ अक्टुबर ७ देखि हमासको कब्जामा रहेका अगम बर्गर, अर्बेल यहुद र गदी मोजस रिहा भएका हुन् । बर्गर इजरायली महिला सैनिक हुन् ।

हमासले आजै पाँचजना थाई बन्धकहरू पनि रिहा गरेको छ । बर्गरलाई रिहा गरिएको केही समयपछि अन्य ७ जनालाई अन्तराष्ट्रिय रेडक्रसको जिम्मा लगाइएको हो । बीबीसीका अनुसार रिहा भएका थाई नागरिकहरू बनावत सिआठो, नटापोङ पिन्टा, साथिआन सुवानाखम, सुरस्क लम्ना र पोङ्सक टन्ना हुन् ।

हमासले छाडेका ८ बन्धकको बदलामा इजरायली जेलमा रहेका १ सय १० जना प्यालेस्टिनी आजै रिहा हुँदैछन् । तीमध्ये ३० जना बालबालिका, ३२ जना आजिवन कारवासको सजाय पाएका र ४८ जना लामो समयको जेल सजाय काटिरहेकाहरू भएको जनाइएको छ ।

हमास र इजरायलबीच दुई साताअघि युद्धविराम तथा बन्धक छाड्ने सम्झौता भएको थियो । सम्झौता अनुसार यसअघि चार इजरायली महिला सैनिकसहित ७ जना रिहा भइसकेका छन् । हमासले ६ साता लामो युद्धविरामको पहिलो चरणमा ३३ जना बन्धकहरू रिहा गर्ने सम्झौतामा उल्लेख छ । त्यसको बदलामा इजरायली जेलमा रहेका करिब १९ सय प्यालेस्टिनी बन्दीहरू रिहा हुनेछन् ।

 

 

सिरहाका तीन अस्पताललाई स्वास्थ्य उपकरण सहयोग

सिरहा । यहाँका तीन अस्पताललाई करोडौँ मूल्य बराबरका स्वास्थ्य सामग्री तथा उपकरण प्राप्त भएको छ । ‘हेल्पिङ ह्याण्ड फर रिलिफ एन्ड डेभलपमेन्ट’ नामक गैरसरकारी संस्थाले ती अस्पताललाई स्वास्थ्य सामग्री प्रदान गरेको हो ।

स्वास्थ्य सामग्री प्राप्त गर्नेमा जिल्लाको धनगढीमाई नगरपालिका-९ स्थित नैनपुर अस्पताल, सुखीपुर नगरपालिका-८ स्थित आधारभूत अस्पताल र अर्नमा गाउँपालिका-१ महनौरस्थित महनौर अस्पताल रहेका छन् । संस्थाले बुधबार तीन वटै पालिकाका प्रमुखसहित जनप्रतिनिधि, समाजसेवी तथा स्वास्थ्य कर्मचारीको उपस्थितिमा विशेष कार्यक्रमको आयोजना गरी सामग्री हस्तान्तरण गरेको थियो ।

स्थानीय समुदायलाई आधारभूत स्वास्थ्य सेवामा सहज पहुँच र सुधारमा योगदान पुर्‍याउने उद्देश्यसहित आफ्नो संस्थाले सिरहासहित देशका अन्य जिल्लामा पनि स्वास्थ्य उपकरण, औषधीजस्ता सामग्री सहयोग गर्दै आएको ‘हेल्पिङ ह्याण्ड फर रिलिफ एन्ड डेभलपमेन्ट’ नेपालका महासचिव मो मेराज खानले बताए ।

“यस संस्थाले विशेषगरी दलित, अति विपन्न र आर्थिक रूपमा कमजोर समुदायका नागरिकलाई प्रत्यक्षरूपमा लाभ पुर्‍याउने उद्देश्यसहित सरकारी अस्पताललाई प्राथमिकतामा राखेर सहयोग गर्दै आइरहेको छ”, महासचिव खानले भने, “त्यसैअनुरुप यहाँका अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।”

महासचिव खानले अमेरिकन सहयोगमा सञ्चालित यस परियोजना मधेश प्रदेशका सिरहा, महोत्तरी र सर्लाहीसहित देशभरका ४२ जिल्लामा शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रलाई प्राथमिकता दिँदै सामाजिक सेवाका कार्यमा सक्रिय रहँदै आएको जानकारी दिए। संस्थाले दिएका सामग्री तथा उपकरणले अस्पतालको सेवा प्रवाहमा महत्त्वपूर्ण सहयोग पुग्ने अस्पताल प्रशासनले जनाएको छ ।

सहिदको बलिदानीबाट परिवर्तनका लागि काम गर्ने सौर्य प्राप्त हुन्छ- प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले सहिदहरुको बलिदानको प्रेरणाबाट परिवर्तनका लागि काम गर्ने सौर्य प्राप्त हुने बताउनुभएको छ । राष्ट्रिय सहिद दिवस, २०८१ का अवसरमा बुधबार नेपाल सरकारद्वारा सिंहदरबार परिसरमा आयोजित मूल समारोहको कार्यक्रममा प्रधानमन्त्री ओलीले राणा शासनको अन्त्यका लागि र विभिन्न कालखण्डमा लोकतन्त्रका लागि सङ्घर्ष गरेर बलिदान दिएका महान सहिदहरुले देशका लागि दिएको योगदान महत्त्वपूर्ण भएको बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले सहिदहरुकै बलिदान र प्रेरणाबाट मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको प्राप्ति भएको र यस प्रणालीमा सम्पूर्ण शक्तिको स्रोत सार्वभौम जनता भएको उल्लेख गर्नुभयो । उहाँले यस प्रणालीलाई सबल र दिगो बनाउन आफूहरु लागि परेको जनाउँदै वास्तविक र पूर्ण लोकतन्त्रका लागि जनताका प्रतिनिधिले त्यस भावनाका साथ काम गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले राजनीतिक प्रणालीमा परिवर्तन भइसकेकाले अब तानाशाही शासनसत्ताको बचाउका लागि शान्तिपूर्ण आन्दोलनमा लागेकालाई हत्या गर्ने त्यस प्रकारको शुङ्खला अन्त्य भएको बताउनुभयो । उहाँले अहिले लोकतान्त्रिक प्रणाली र प्रक्रियाको रक्षाका लागि न्यायोचित कानुनबमोजिम समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्यमा वर्तमान सरकार स्पष्टरुपमा अघि बढिरहेको जनाउनुभयो ।

“हामीले लामो सङ्घर्षबाट लोकतन्त्रको स्थापना गरेका छौँ । लोकतन्त्र भनेको अराजकता होइन । यो विकसित, सभ्य र सुशासनयुक्त प्रणाली हो । यदि व्यवस्थामा वा शासकहरुमा कुनै परिवर्तन गर्नुछ भने लोकतान्त्रिक बाटा र विधिबाट गर्न सकिन्छ तर लोकतन्त्रका नाममा देशलाई विभाजित गर्ने र विकासलाई अवरोध सृजना गर्ने कार्य स्वीकार्य हुन सक्दैछ ।”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “देशको रक्षा, विकास र सुशासनका लागि यो सरकार अगुवाइ गर्न तत्पर रहेको छ । हामी सहिदले देखाएको मार्गमा सँधै अविचलित रहनेछौँ ।”

कार्यक्रममा प्रतिनिधिसभाका उप्रधानमन्त्रीहरु, मन्त्रीगण, प्रतिनिधिसभाका उपसभामुख, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, नेपाल सरकारका मुख्यसचिव, प्रधानसेनापति, सचिवहरु र विशष्ट व्यत्तिहरुको उपस्थिति थियो ।

यसअघि प्रधानमन्त्री ओलीले लैनचौरस्थित सहिद स्मारक र सहिदगेटमा पुगेर सहिदप्रति सम्मान प्रकट गर्नुभएको थियो । नेपाल सरकार ९मन्त्रिपरिषद्० को मङ्गलबारको बैठकले यस दिवसलाई राष्ट्रियस्तरमा मनाउने निर्णय गरेको थियो ।

 

गाउँ रित्तिँदै जानु राष्ट्रका लागि सङ्कट हो- राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रको शक्तिको रूपमा रहेको श्रमशक्ति नै रित्तिएर आउन सक्ने राष्ट्रिय सङ्कटबाट जोगाउन गाउँमै आम्दानी र रोजगारीेको व्यवस्था पहिलो आवश्यकता भएको बताउनुभएको छ। बुधबार लमजुङको मध्यनेपाल नगरपालिका–३ सोतीपसलस्थित मङ्गला उच्च माविको हिरक जयन्ती समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले गाउँको माटोमा कृषि क्रान्ति गरी कृषि पेसालाई थोरै मिहिनेत र श्रम खर्च गरेर बढी आम्दानी दिने सुखी पेसामा रूपान्तरण गर्नु अहिलेको आवश्यकता भएको बताउनुभयो। उहाँले कृषिजन्य उद्योग र नयाँ नयाँ उद्योग धन्दा गाउँगाउँमा खोल्ने प्रबन्ध गरी नेपालको वास्तविकतामा आधारित औधोगिक क्रान्तिको युग ल्याउनुपर्नेमा जोड दिनुभयो।

उहाँले राजनीतिक परिवर्तनपछि आर्थिक विकास र समृद्धितर्फ सबैको ध्यान केन्द्रित हुनुपर्ने भन्दै गुणस्तरीय शिक्षा नै नागरिक एवम् देश विकासको जग र आधार भएको बताउनुभयो।

“राजनीतिक परिवर्तनपछि हाम्रो ध्यान आर्थिक विकास र समृद्धितर्फ केन्द्रित हुनुपर्दछ। गुणस्तरीय शिक्षा नै नागरिक एवम् देश विकासको जग र आधार हो”, उहाँले भन्नुभयो, “तर, आज म ताक्छु मुँढो बञ्चरो ताक्छ घुँडो भनेजस्तो जतिजति गाउँमा विकासका पूर्वाधार र आधुनिक सुविधा थपिए त्यतित्यति गाउँ रित्तिँदैछन्। शिक्षण संस्थामा विद्यार्थी सङ्ख्या बढ्नुको साटो घट्दो छ। ऊर्जाशील श्रमशक्ति रोजगारीको लागि विदेशिएको छ। उर्वर, उत्पादनशील र मनोरम गाउँवस्ती बाँझो बन्दै रित्तिएको छ। पछिल्लो समय गाउँबाट सहर र सहरबाट विदेशिने शृङ्खला अटुट छ।”

राष्ट्रपति पौडेलले कृषि क्रान्तिका लागि हाम्रो शिक्षालाई उद्यमशीलतासँग जोड्नुपर्नेमा जोड दिनुभएको छ। उहाँले गाउँमा सानाठुला कृषि उद्यमको स्थापना, उत्पादन तथा रोजगारी अभिवृद्धि, कृषि उत्पादनको निर्यात अनि कृषिमा आत्मनिर्भर बन्ने राष्ट्रिय अठोटको अवस्था सिर्जना गर्नुपर्ने आजको आवश्यकता भएको बताउनुभयो।

राष्ट्रपति पौडेलले विदेश नगइकन मातृभूमिको माटोमा कृषि कर्म, उद्यम र व्यवसाय गरी लाखौँ कमाउने गरेका कतिपय दृष्टान्तले आशा र उत्साह जगाउँने बताउँदै वास्तवमा देशको लागि उत्पादनशील जनशक्ति आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, प्रतिनिधि सभा सदस्य उर्मिला माझी, मध्यनेपाल नगरपालिका प्रमुख रमेशकुमार पाण्डेलगायतको उपस्थिति थियो।

सामाजिक सञ्जाल विधेयकमा समावेश प्रावधानप्रति महासङ्घको आपत्ति

सरकारले सङ्घीय संसदमा दर्ता गराएको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी विधेयकका केही प्रावधानप्रति नेपाल पत्रकार महासङ्घले आपत्ति जनाएको छ ।

महासङ्घले भनेको छ, “अगुवा नागरिक संस्था महासङ्घलगायत सरोकारवाला पक्षसँग सामान्य परामर्श र छलफलसमेत नगरी सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा आघात पार्ने केही प्रावधान समावेश गरी विधेयक अगाडि बढाएकामा महासङ्घ गम्भीर असहमति र आपत्ति प्रकट गर्दछ ।”

महासङ्घले आज विज्ञप्ति जारी गरी सरोकारवाला पक्षसँग गहिरो संवादमार्फत विश्वव्यापी मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मूल्यमान्यता, हाम्रो संवैधानिक प्रावधान र प्रचलित अभ्याससँग तालमेल मिल्ने गरी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित पार्ने प्रावधानहरू सच्याएर मात्र विधेयक अगाडि बढाउन नेपाल सरकार र सङ्घीय संसद्सँग आग्रहसमेत गरेको छ ।

महासङ्घले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई सङ्कुचन र नियन्त्रण गर्ने कुनै पनि कानुन स्वीकार्य नहुने भन्दै सम्बद्ध पक्षको ध्यानाकर्षण गराएको छ ।