Page 187 – Nepalboli

ऊर्जामन्त्री खड्काको भारतीय समकक्षी संग भेटवार्ता , पञ्चेश्वर आयोजना अघि बढाउन सहमती

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका जलशक्तिमन्त्री सिआर पाटिलबीच भेटवार्ता भएको छ। इण्डिया इनर्जी विक–२०२५ मा भाग लिन भारत गएका मन्त्री खड्का र भारतीय मन्त्री पाटिलबीच पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको डिपिआर चाँडो फाइनल गरेर आयोजना अघि बढाउने सहमति भएको ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ प्रवल अधिकारीले जानकारी दिए।

त्यस्तै टनकपुरदेखि नेपाल–भारत सिमानासम्मको लिंक नहर निर्माण सम्पन्न भइसकेको तर पानी सञ्चालन कार्यविधि चाँडै अन्तिम रूप दिई महाकाली सन्धिअनुसार पानी छाड्ने सहमति भएको उल्लेख छ।

बाढी र डुवान व्यवस्थापनको लागि संयुक्त समितिको १४ औं बैठक आगामी मार्च २२ देखि २४ सम्म गर्ने र यसका लागि मन्त्रालयबाट औपचारिक पत्राचार गर्ने सहमति भएको हो।

यसैगरी सप्तकोशी बहुउद्देश्यीय आयोजनाको डिपिआर सम्बन्धमा पनि दुई पक्षीय बैठकहरूमार्फत छलफल अगाडि बढाउने सहमति भएको छ।

ऊर्जामन्त्री खड्काले गत ५ नोभेम्बरमा भएको भेटघाट र छलफलले दुई देशको सहकार्यमा जलस्रोतको क्षेत्रमा महत्त्वपूर्ण कार्यहरूका लागि अघि बढ्न थप हौसला प्रदान गरेको बताए।

भेटमा भारतका जलशक्तिमन्त्री पाटिलले पञ्चेश्वर आयोजनाको डिपिआरलाई चाँडो अन्तिम रूप दिन र उक्त आयोजनालाई चाँडो अगाडि बढाउन भारत सरकार सकारात्मक रहेको प्रतिक्रिया दिए।

आन्तरिक पर्यटकको रोजाइमा तेह्रकुनेपोखरी

दक्षिणी इलामको माई नगरपालिका–१ र ९ को सङ्गमस्थलमा पर्ने तेह्रकुनेपोखरी पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा परेको छ । यहाँ घुम्न, तस्बिर खिच्न, भिडियो छायाङ्कन गर्न र वनभोज खान आउनेको हरेक सप्ताहान्तमा भीड लाग्ने गरेको छ । स्थानीयवासीको सक्रियतामा भएको पूर्वाधार विकाससँगै डुङ्गासमेत सञ्चालनमा आएपछि आन्तरिक पर्यटकको आकर्षण बढेको हो ।

जैविक विविधता, प्राकृतिक सौन्दर्य र सुगम भएकाले आन्तरिक पर्यटकका लागि उत्कृष्ट गन्तव्य बनेको स्थानीय सुवर्ण राईले बताए । ‘शनिबार र सार्वजनिक बिदाको दिन पोखरीमा आउने पर्यटकको भिडभाड हुने गर्दछ,’ उनले भने ।

पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले माई नगरपालिकामा आजदेखि तेह्रकुनेपोखरी पर्यटन महोत्सव हुँदैछ । स्थानीय वरभञ्ज्याङ सामुदायिक वन उपभोक्ता संस्थाको आयोजनामा माई नगरपालिका–१ र ९ को सङ्गमस्थलमा महोत्सव हुन लागेको हो ।

यही फागुन ३ गतेसम्म सञ्चालन हुने महोत्सवमा स्थानीय मौलिका संस्कृति, कला, साहित्य, सङ्गीत र इतिहासको संरक्षण गर्दै पर्यटन प्रवर्द्धनको प्रयास गरिने महोत्सव आयोजक समितिका अध्यक्ष पदम राईले बताए । महोत्सवमा आदिवासी लिम्बू, राई, मगर, तामाङलगायत विभिन्न जातजातिका सांस्कृतिक झाँकी र वेशभूषा प्रदर्शन गरिने उनले जानकारी दिए ।

‘यहाँका आदिवासी भूमिपुत्रहरुको मौलिका संस्कृति, कला, साहित्य, सङ्गीत र इतिहासको संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्ने हाम्रो प्रयास हो । यसका लागि तीनै दिन अलगअलग कार्यक्रम तय गरिएको छ,’ अध्यक्ष राईले भने, ‘प्रत्येक दिन फरकफरक जातजातिको पहिचान र संस्कृति झल्कने झाँकीसहित वेशभूषा प्रदर्शन गरिनेछ ।’

किरातीहरुको प्रथम राजा ‘यलम्बर’को मूर्ति स्थापना सहयोगार्थ प्रत्येक दिन साँझमा ‘यलम्बर साँझ’ साङ्गीतिक कार्यक्रम तय गरिएको छ । कार्यक्रममा पहिलो दिन गायक तथा सङ्गीतकार कृष्णभक्त राई, दोस्रो दिन हास्यकलाकार पदम राई र तेस्रो दिन हास्यकलाकार विलसनविक्रम ९तोक्मे बुढा० को प्रस्तुति रहनेछ ।

यसैगरी, लिम्बू जातिको धाननाच, पालाम, च्याब्रुङ नाच, राई जातिको साकेला सिली, तामाङ जातिको सेलो, मगर जातिको मारुनी, खसआर्य जातिको सङ्गिनी नृत्यलगायत प्रस्तुत हुने उनले बताए । महोत्सवले तेह्रकुनेपोखरीको थप प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धन गर्नमा सहयोग पुग्नेमा आफू विश्वस्त रहेको माई नगरपालिका प्रमुख खम्बासिंह लिम्बूले बताए ।

‘विगत चार वर्षदेखि यहाँका स्थानीयले बर्सेनि महोत्सव आयोजना गरिरहनुभएको छ,’ उनले भने, ‘यसले तेह्रकुनेपोखरीको थप प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धन गर्नमा सहयोग पुगिरहेको छ भन्नेमा विश्वस्त छु ।’ उनले तेह्रकुनेपोखरीको प्रवर्द्धन र संरक्षणमा नगरको तर्फबाट सधैँ साथ रहने बताए ।

सदरमुकामबाट ३४ किलोमिटर दक्षिणमा अवस्थित तेह्रकुनेपोखरीसम्मको सडक विस्तार जारी छ । अन्य भौतिक पूर्वाधार पनि धमाधम बनिरहेकाले यो पोखरी अधिकभन्दा अधिक पर्यटकको प्रमुख गन्तव्य बन्ने अध्यक्ष राईको विश्वास छ ।

सुख्खा हिउँद- न हिमपात, न वर्षा

म्याग्दी । हिउँदको समय सकिन अब करिब तीन साता मात्रै बाँकी छ । बितेको हिउँदे पाँच महिनामा हिमपात र वर्षा नहुँदा गम्भीर वातावरणीय असर देखिन थालेका छन् । हिउँदमा हिमपात नभएपछि सेता हिमालहरू फुस्रा बन्दै गएका छन् भने पानी नपर्दा खेतबारीमा लगाएका खाद्यान्न लगायत तरकारी बाली ओइलाउन थालेका कृषकले बताएका छन् । माघ नसकिँदै गर्मी बढेको र विगतका वर्षको तुलनामा जाडो कम भएको म्याग्दीको बेनी नगरपालिका–२ का ८९ वर्षीय बेदप्रसाद उपाध्यायले बताउनुभयो ।

जल तथा मौसम विज्ञान विभागले मङ्सिर १५ देखि फागुन १६ सम्मको हावापानी आँकलन गर्दा औसतभन्दा कम पानी पर्ने र न्यूनतमदेखि अधिकतम तापक्रम बढ्ने पूर्वानुमान यस अघि नै गरेको थियो । हिउँदमा औसतभन्दा कम पानी पर्ने प्रक्षेपण जल तथा मौसम विभागको थियो । तत्काल पानी पर्ने र हिमपात हुने सम्भावना नदेखिएपछि हिउँदे खडेरी पर्ने भन्दै विज्ञहरूले कृषि, जल, वन, ऊर्जालगायत क्षेत्रमा असर पर्ने चिन्ता व्यक्त गरेका छन् ।

जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेलले यही अवस्था रहिरहने हो भने तत्काल पानी पर्ने र हिमपात हुने सम्भावना नरहेको बताउनुभयो । “अहिलेको अवस्थामा वर्षा र हिमपात भइहाल्ने लक्षण देखिँदैन । सुख्खा खडेरीको लक्षण देखिएको छ । यद्यपि फेब्रुअरी नसकिएसम्म समग्र यो हिउँद कस्तो भयो भन्न मिल्दैन” प्रवक्ता पोखरेलले बताउनुभयो ।

हिमालय क्षेत्रमा जलवायु परिवर्तनका कारण पर्यावरणीय सङ्कट देखिन थालेको भन्दै विज्ञले चिन्ता व्यक्त गरेका छन् । हिमालमा हिउँको मात्रा घट्दै गएको छ । हिमालमा हिउँ कम जम्मा भएको र त्यसको स्तर (हिउँरेखा) तल–माथि हुने गरेकोले पर्यावरणीय सङ्कट बढ्दै जान थालेको अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रका (इसिमोड)का वैज्ञानिकहरूले बताएका छन् ।

नेपालमा मुख्यालय रहेको इसिमोडले हालै सार्वजनिक गरेको हिउँ अध्ययन अध्यावधिक रिपोर्ट २०२४ अनुसार हिमालय क्षेत्रमा सन् २०२४ को जाडो याममा सरदरभन्दा कम हिउँ पर्ने र जमिनमा हिउँ रहिरहने समय अवधि पनि घट्ने जनाएको थियो ।

हिमालमा हिमस्खलन हुने क्रम बढ्दै जाने तर समयमा हिमपात नहुने र भए पनि अत्यन्त कम मात्रामा हुने गरेकोले केही वर्ष अघिसम्म चाँदी जस्तै टल्कने सेता हिमाल पछिल्ला केही वर्षयता काला पहाडमा परिणत हुँदै जान थालेका इसिमोडमा कार्यरत वैज्ञानिक शेर मोहम्मद बताउनुहुन्छ । “पानीको बहावको समय र तीव्रतामा व्यापक फेरबदलको सङ्केत देखिएको छ । यो शोधकर्ता, नीति निर्माता र तल्लो तटीय क्षेत्रमा रहने समुदायका लागि खतराको घण्टी हो” वैज्ञानिक मोहम्मदले भन्नुभयो ।

इसिमोडका वैज्ञानिकले पानी अभाव, बाढी, खडेरीजस्ता प्राकृतिक प्रकोपबाट जोगिन सक्रिय कदम उठाउनुपर्ने र हरितगृह ग्यास उत्सर्जन घटाउनुपर्नेमा जोड दिएका छन् । हिउँद याममा हिउँ पर्ने क्रम घटेको र हिमालय क्षेत्रको जमिनमा हिउँ धेरै समयसम्म रहिरहन नसक्ने समस्या देखिन थालेको वैज्ञानिकको भनाइ रहेको छ ।

म्याग्दीको मुदीमा रहेको संसारको सातौँ अग्लो धौलागिरि हिमालमा हिउँको मात्रा घट्दै गएको छ । आठ हजार १६७ मिटर अग्लो धौलागिरि हिमाल पहिले बाह्रै महिना पूरै हिउँले ढाकिने गरेको भए पनि विगत केही वर्षयता हिमालको तल्लो भाग हिउँविहीन देखिने गरेको म्याग्दीका पर्यटन व्यावसायी चक्रबहादुर तिलिजा पुनले जानकारी दिनुभयो ।

हिउँदे याममा समेत हिउँ नपरेपछि डाँडाकाँडा रूखा र सुक्खा देखिनथालेका छन् भने हिमालहरू कालापत्थरमा परिणत भएका छन् । “पहिले धौलागिरि हिमशृङ्खला पूरै हिउँले ढाकिएको हुन्थ्यो, पछिल्ला केही वर्षयता हिमालका तल्लो भाग काला पहाडजस्ता देखिन थालेको छ, जाडो याममा समेत हिमालहरू नाङ्गिएको देखिन्छ,” तिलिजाले भन्नुभयोे ।

पहिले चाँदीझैं टल्कने हिमाल अहिले उराठलाग्दा देखिनथालेका डिभिजन वन कार्यालय म्याग्दीका वन अधिकृत चन्द्रमणि सापकोटा बताउनुहुन्छ । असोज र कात्तिकमा अत्यधिक वर्षा हुनु, मङ्सिर, पुस र माघ महिनामा पनि कम हिउँ पर्नु, जलवायु परिवर्तनको प्रभाव मान्न सकिने सापकोटाको भनाइ छ ।

सुख्खा खडेरी बढ्ने सङ्केत

विभागको पूर्वानुमान महाशाखाले हिउँदको बाँकी रहेको तीन साताको समयमा पनि वर्षा र हिमपातको मौसमी प्रणाली नरहेको बताएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले तत्कालै हिउँदे वर्षा र हिमपात हुने लक्षण नदेखिएकाले सुख्खा खडेरी बढ्न सक्ने बताउनुभयो । उहाँका अनुसार जलवायु परिवर्तन र तापक्रम बृद्धिका अब्जरभेसन आइरहेकाले मौसमी प्रणालीमा पनि परिवर्तन देखिएको हो ।

जलवायुविज्ञ डा धर्मराज उप्रेती पनि हिउँदको बाँकी अवधिमा पानी पर्ने सम्भावना न्यून देखिएको बताउनुहुन्छ । “गत वर्ष पनि ८० प्रतिशत कम वर्षा भएको थियो । यसपटक पछिल्ला दुई वर्षको रेकर्ड तोडिने अवस्था भइरहेको छ,” डा उप्रेतीले भन्नुभयो, “कम वर्षा भएको यो लगातार तेस्रो हिउँद हो । फेब्रुअरी २८ पछि हिउँदे अवधि सकिएर प्रि–मनसुन सुरु हुन्छ, अब बाँकी तीन हप्ता हिउँदमा पानी पर्ने सम्भावना न्यून छ ।”

डा। उप्रेतीका अनुसार भूमध्य सागरको सतहको तापक्रममा आएको परिवर्तन र त्यसले सिर्जना गर्ने पश्चिमी वायु कमजोर भएसँगै अरब सागर र बङ्गालको खाडीमा पनि समुद्री सतहको तापक्रममा आएको परिवर्तनले पश्चिमी वायु कमजोर देखिएको छ । पश्चिमी वायु सक्रिय भएन भने वर्षा हुन नसक्ने उहाँको भनाइ छ । “यसपटक पश्चिमी वायु सक्रिय हुन सकेन । त्यसै कारणले यसपाली कर्णाली र सुदूरपश्चिमका केही भूभागमा बाहेक अन्यत्र वर्षा र हिमपात हुन सकेन ।” उहाँका अनुसार अहिलेसम्म ९.२ प्रतिशत मात्रै वर्षा भएको छ । “हिउँदे अवधिमा औसतमा ६१ मिलिमिटर पानी पर्नुपर्ने हो तर ५.५ मिलिमिटर मात्रै परेको छ, त्यो पनि पश्चिमी भागमा मात्रै” डा।उप्रेतीले भन्नुभयो ।

पारिस्थितिकीय प्रणालीमा असर

जलवायु परिवर्तन र तापक्रम वृद्धिका कारण समग्र पारिस्थितिकीय प्रणालीमा असर पर्दै जान थालेको जानकारहरूले बताएका छन् । कृषि वैज्ञानिकहरूका अनुसार हिउँदमा पानी नपर्दा कृषि–खेती प्रणाली, वन प्रणाली, ऊर्जा प्रणालीमा नराम्रो प्रभाव पर्दै गएको छ । पानीका स्रोतहरू सुक्दै गएका छन् । सिंचाइको प्रबन्ध नभएका ठाउँहरूमा खडेरीले खाद्यान्न उत्पादन घटेको छ ।

“हिमाली क्षेत्रका जमिनमा माटोको अम्लिएपना बढ्दै जाँदा रैथाने बालीहरू लोप हुँदै गएका छन् । जङ्गली फलफूलको पाक्ने समय परिवर्तन भएको छ । कैयौं वनस्पति र जङ्गली पशुपक्षीहरू देखिन छोडेका छन् । खोला तथा नदीहरूमा पानीमा मात्रा कम हुँदै गएको छ”हिमाली क्षेत्रको वातावरणीय अध्ययनमा सक्रिय प्रत्युष वाग्लेले भन्नुभयो “हिमाली क्षेत्रको पर्यावरणमा गम्भीर चुनौती उत्पन्न भएको छ ।” उहाँका अनुसार वनमा जङ्गली जनावरले पानी नपाउनेलगायत समस्या बढेका छन् । जङ्गली जनावरहरू जङ्गल छोडेर गाउँ वस्तीतिर पस्न थालेका छन् । सुक्खा बढेका कारण वनमा आगलागी घटना भइरहेका छन् । सहरहरूमा प्रदूषण खतराको तहसम्म पुगेको छ ।

पानी नपर्दा हिमालमा हिउँसँगै तल्लो भेगमा पानीलाई असर गरिरहेको वाग्लेको भनाइ छ । “हिउँ नपर्दा हिमाल नाङ्गा देखिएको, काला पत्थर देखिएको, ठाउँ–ठाउँमा उजाड भएको छ, यसको सिधैँ प्रभाव तल आएर पानीमा देखिन्छ । पानीका मुहान, स्रोत सुक्न थालेका छन् जसले गर्दा पिउने पानीको समेत सङ्कट आउन सक्छ‚” वाग्लेले भन्नुभयो ।

यस वर्ष सन् २०२४ मा हिउँको मात्रा बिगत २० वर्षको औसतको तुलनामा १८.५ प्रतिशतले कमी आएको इसिमोडले जनाएको छ । सन् २०१८ मा हिउँको मात्रा सर्वाधिक कम थियो भने यसवर्ष २०१८ को तुलनामा ०.५ प्रतिशतले मात्रै बढेको इसिमोडको तथ्याङ्कमा उल्लेख छ ।

गर्मी ठाउँमा मात्र पाइने लामखुट्टे हाल उच्च पहाडी र हिमाली भू–भागमा पनि पाइन थालेका छन् । जलवायु परिवर्तनकै कारण महत्त्वपूर्ण जडीबुटी तथा वनस्पति लोप भइसकेका छन् । साथै पृथ्वीमा समयमै पानी नपर्ने, परे पनि कहिले लगातार परिरहने त कहिले पानी नै नपर्ने भइरहेको छ । यसरी कहिले अत्याधिक वर्षा भई धनजनको विनास हुने त कहिले पानी नै नपरी खेतीबाली तथा वनजङ्गलनै सुक्ने अवस्था आइरहेको छ ।

जलवायु परिवर्तनका कारण मानव स्वास्थ्यमा समेत गम्भिर असरहरू देखिन थालेका चिकित्सक तथा वातावरण विज्ञहरूले बताएका छन् । जलवायु परिवर्तनकै कारण नयाँ–नयाँ रोगको देखिएका छन् । यसको असर बढ्दै जाँदा नेपालको हिमाली क्षेत्रमा पाइने महत्त्वपूर्ण जडीबुटी यार्सागुम्बालगायतका वनस्पति पनि लोप हुने खतरा रहेको विभिन्न अध्ययनहरूले पनि पुष्टि गरेका छन् ।

 

नेपालीलाई एउटै सूत्रमा बाँध्ने तत्त्व कला,साहित्य र सङ्गीत हो- राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीलाई एउटै सूत्रमा बाँध्ने तत्त्व हाम्रो कला, साहित्य र सङ्गीत भएको बताउनुभएको छ।नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान तथा पुरस्कार वितरण समारोह–२०८० लाई गर्नुभएको सम्बोधन गर्दै राष्ट्रपति पौडेलले कला, साहित्य र सङ्गीत समाजमा एकता, सहिष्णुता र समृद्धिको विकासमा योगदान पुर्‍याउने स्पष्ट पार्नुभयो।उहाँले कलाकार, सिर्जना र संस्कृति राष्ट्रका निधि भएको बताउनुभएको हो ।

राष्ट्रपति पौडेलले भन्नुभयो, ‘‘बहुजाति, बहुभाषा, बहुसंस्कृति र अनुपम भौगोलिक विविधता रहेको नेपालमा साहित्य, कला, गीत, सङ्गीत आपसमा प्रेम, मित्रता र भ्रातृत्व बढाउँदै राष्ट्रिय एकतालाई बलियो बनाउने आधार हो ।’’

राष्ट्रपति पौडेलले सङ्गीतको शक्ति अपरम्पार रहेको भन्दै यो साझा भाषा, सम्पत्ति र राष्ट्रिय पहिचानको आधार पनि भएको उल्लेख गर्नुभयो।

मानवीय संवेदनाका विविध पक्षलाई अभिव्यक्त गर्ने समर्थ्य रहेको गीतसङ्गीतका क्षेत्रमा लाग्ने स्रष्टालाई सम्मान गर्न राज्यले कञ्जुस्याइ गर्न नहुने राष्ट्रपति पौडेलको भनाइ थियो।उहाँले भन्नुभयो, ‘‘यो सभ्य र सुसंस्कृत समाजको एउटा परिचायक पनि हो।त्यसैले स्रष्टाको सम्मान, संस्कृतिको संरक्षण र गीतसङ्गीतको विकासका लागि सरकार र सम्बद्ध पक्षले सदैव सहयोग गर्नुपर्दछ ।’’

राष्ट्रपति पौडेलले नेपाली लोक भाका पछ्याउँदै आधुनिक गीतसङ्गीतको सिर्जनामा नातिकाजीले पुर्‍याउनुभएको योगदान अनुकरणीय रहेको बताउनुभयो।

उहाँले भन्नुभयो, ‘‘नातिकाजीका सिर्जनामा रहेको चेतना, प्रेम, देशभक्ति र मानवीय संवेदनाका अनुभूतिले उनलाई नेपाली गीतसङ्गीतप्रेमीहरूको माझ सदैव अमर बनाइराखेको छ।विशेषत उनका देशभक्तिपूर्ण कालजयी गीतहरूले मातृभूमिप्रतिको स्नेहलाई प्रगाढ बनाउँदै नेपाली सङ्गीतको गौरवलाई बढाएको छ ।’’

सो अवसरमा राष्ट्रपति पौडेलले नातिकाजी राष्ट्रिय विशिष्ट सम्मान तथा नातिकाजी राष्ट्रिय पुरस्कार, नातिकाजी राष्ट्रिय सङ्गीत पुरस्कार, नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार, नातिकाजी राष्ट्रिय शास्त्रीय सङ्गीत पुुरस्कार, नातिकाजी राष्ट्रिय लोक सङ्गीत पुरस्कार र नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार वितरण गर्नुभएको छ।

 

 

जनतालाई निष्पक्षरूपमा छिटो सेवा दिन निजामती कर्मचारीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई निष्पक्ष एवं छिटो छरितोरूपमा सेवा दिन निजामति कर्मचारीहरूलाई आग्रह गर्नुभएको छ । नेपाल निजामती कर्मचारी सङ्गठनको १२ औँ महाधिवेशनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सेवाग्रही जनताको मर्का बुझेर कुनै दुःख नदिइ मुस्कानका साथ कर्तव्यबोधको भावनाले छिटो सेवा दिन आग्रह गर्नुभएको हो ।

“तपाईंहरूले सरकारी कर्मचारीका रूपमा यो पार्टी, त्यो पार्टी नभनी सबैलाई निष्पक्षरूपमा सेवा दिनुपर्छ। चुनाव आउँदा मत दिन पाउने र कर्मचारीको हक हितका लागि अन्तर्राष्ट्रिय श्रम सङ्गठनको सिद्धान्त बमोजिम मर्यादामा रहेर सङ्गठन गर्न पाउने हक तपाईंहरूलाई छ। अहिले सबैका आवाज सुन्ने सरकार रहेकाले तपाईंहरूलाई आन्दोलनमा उत्रनुपर्ने अवस्था छैन ।”

नेकपा (एमाले) का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले भन्नुभयो, “समयमा सेवा दिने कुरामा तपाईंहरू चुक्नु हुँदैन। अहिले भएको भन्दा अझ परिस्कृत सेवा दिनुपर्छ।यस सङ्गठनका कुनै पनि मान्छे भ्रष्टाचार र अनियमिततामा मुछिनु हुन्न। यस्तो होस् कि तपाईंबाट सरक्क सेवा पाएको मान्छेले खुसी भएर तपाईंलाई निजामती सङ्गठनको मान्छे रहेछ भन्ने स्वतः चिनोस् र धन्यवाद देओस् ।”

प्रधानमन्त्री ओलीले विगतमा आफ्नै दलका नेताका कारण आफू सरकारबाट बाहिर जानुपरेको तर आफूले जनताको समर्थनबाट मूल ढोकाबाट सरकारका आउने उद्घोष गरेकामा त्यस अनुसार सरकारको नेतृत्वमा आएको उल्लेख गर्नुभयो। उहाँले संसदमा थोरै सिट भएर पनि ठुला दललाई पालैपालो बार्गेनिङ गरेर सत्तामा रहिरहन्छु भन्नेबाट चेतेर एमाले र नेपाली कांग्रेसको सत्ता समीकरण भएको स्मरण गराउनुभयो ।

प्रधानमन्त्री ओलीले सरकारमाथि घेराबन्दी भएर पनि कुनै समस्या नरहेकाले ढुक्कका साथ काम गर्न आग्रह गर्दै आगामी निर्वाचनसम्म यही सत्ता समीकरण रहने पुनः स्पष्ट गर्नुभयो।उहाँले दुई दलको सहमति बमोजिम २०८३ साल असारमा आफूले राजीनामा गरेर कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने जनाउनुभयो ।

प्रधानमन्त्री ओलीले विपक्षीले सरकार आजै ढल्यो, भोलि ढल्यो भनेर गीत गाए पनि सरकार विकास, निर्माण र सुशासनका मार्गमा सुस्पष्टताका साथ अगाडि बढ्ने बताउँदै स्थायी सरकारका रूपमा रहेको कर्मचारी वर्गले विश्वासका साथ देशको सार्वभौमसत्ता, स्वाधीनता र भौगोलिक अखण्डताको झण्डा माथि उठाउने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले देशको लोकतान्त्रिक प्रणालीलाई ध्वस्त पार्ने अराजक तत्वले कुनै गतिविधि गर्न थालेमा देश, संविधान र लोकतन्त्रको हितका लड्नुपर्ने बताउनुभयो।

प्रधानमन्त्री ओलीले राजनीतिक दलसम्बन्धी कानुनी रिक्तताका लागि सङ्घीय संसदमा विधेयक ल्याउने जानकारी दिँदै कुनै दल विभाजन गर्ने सौख र आवश्यकता आफूलाई नरहेको स्पष्ट गर्नुभयो।

 

 

 

मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक

सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। बुधबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलन गर्नुहुँदै माघ २८ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो।

बैठकले सचिवको सरुवासहित महत्त्वपूर्ण १३ निर्णय गरेको छ।

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

कार्यक्षमता बढाउन मातहतका विभाग र निकायलाई सञ्चारमन्त्री गुरूङको निर्देशन

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले मन्त्रालय मातहतका विभाग र निकाय प्रमुखलाई कार्य क्षमता बढाउन निर्देशन दिनुभएको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरूङले मन्त्रालयको पुँजीगत खर्च बढाउनेतर्फ जोड दिनुपर्ने बताउनुभयो। पुँजीगत खर्च कम हुनुका कारण कानुनी र नीतिगत बाधा पनि एक भएको उहाँको भनाइ छ।

मन्त्रालयले केही विषयमा अत्यन्त राम्रो उपलब्धी हासिल गरेको र केहीमा धेरै मिहेनत गर्नुपर्ने मन्त्री गुरूङको जोड थियो। उहाँले सम्बन्धित निकाय र विभागले पनि आफ्नै बलबुतामा कार्य सम्पादन बढाउन सक्ने धारणा राख्नुभयो।

मन्त्री गुरूङले समस्या भए पहिचान गरी समाधान गर्ने चासो देखाउनुपर्नेमा जोड दिनुभयो। “तीन दिनभन्दा बढी टेबलमा फाइल नराख्नु, समस्या नै भएमा बढीमा ७ दिन राख्नु, त्योभन्दा बढी भए कारण खुलाउनुस्,” मन्त्री गुरूङले भन्नुभयो। उहाँले प्रशासनिक कार्यशैली कमजोर देखिएको उल्लेख गर्दै केही नीतिगत अस्पष्टताले काममा बाधा पुगेको बताउनुभयो।

मन्त्री गुरूङले यसै वर्ष काठमाडौँमा आइटी पार्क निर्माण गर्ने, गोरखापत्रको भवन निर्माण गर्ने, एआइमार्फत उद्यमशीलतामा जोड दिने, सार्वजनिक सेवा प्रसारण संस्था ९पिएसबी० लाई बजेट व्यवस्थापन गर्ने लगायतका योजना रहेको बताउनुभयो।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा। प्रकाशकुमार श्रेष्ठले पुँजीगत खर्च गर्न नसक्नु मन्त्रालयको मात्रै नभई सरकारकै मुख्य समस्या रहेको उल्लेख गर्नुभयो। “एकातिर बजेट छैन भन्नु र अर्कोतिर खर्च गर्नै नसक्नुले विकासमा चुनौती थपिएको छ”, उहाँले भन्नुभयो, “खर्च गर्नतर्फ सबैले ध्यान दिन आवश्यक छ। अनि मात्रै विकास हुन्छ।”

बैठकमा मन्त्रालयका सह–सचिव कोशहरि निरौलाले मन्त्रालयको आर्थिक वर्ष २०८१/२०८२ को दोस्रो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।

मन्त्रालयको दोस्रो त्रैमासिक प्रगति समीक्षा मूल्याङ्कन गर्दै मन्त्रालयका सचिव राधिका अर्यालले केही महत्त्वपूर्ण काम सम्पादन भएको र केहीमा अत्यन्त मिहनेत गर्नुपर्ने टिप्पणी गर्नुभयो। “स्रोत र साधनअनुसार उपलब्धी भए पनि यतिमै चित्त बुझाउने स्थिति छैन”, उहाँले भन्नुभयो, “हामीले थप समस्या पहिचान गरेर समाधानतर्फ सबै कर्मचारी जिम्मेवारीपूर्ण लाग्नुपर्नेछ।”

बैठकमा सार्वजनिक सेवा प्रसारण संस्थाका अध्यक्ष डा महेन्द्र विष्टले पिएसबीको बजेट नहुँदा संरचनागत, जनशक्ती व्यवस्थापन र टेलिभिजन प्रसारण क्षमता वृद्धिमा चुनौती देखिएको बताउनुभयो। रेडियोका भौतिक संरचना जीर्ण हुँदै गएको र टेलिभिजिनको पहुँच विस्तारमा सेटअप बक्सको अभाव भएकाले सोचे अनुकुल प्रतिफल आउन नसकेको उहाँको धारणा थियो।

त्यस्तै, गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले गोरखापत्रको भवनको समस्या बताउँदै गोरखापत्र डिजिटाइजेसन कार्य सम्पादन भइरहेको जानकारी दिनुभयो। गोरखापत्र जर्नल प्रकाशन गर्ने तयारी रहेको, समाचार निर्देशिका बनाउने, गोरखापत्रको भाषा संस्करण व्यवस्थित गर्नेलगायतका कार्य योजनाहरू मन्त्रालय समक्ष प्रस्तुत गर्नुभयो।

राष्ट्रिय समाचार समिति (रासस) का प्रशासन प्रमुख शीतल महतोले राससको संरचनागत र जनशक्तीको क्षमता बृद्धिलगायत विकासका गतिविधि गर्दै आएको जानकारी गराउनुभयो। फागुन ७ गते राससले ६४ औँ वार्षिकोत्सव मनाउँदै गरेको जानकारी दिँदै उहाँले वार्षिकोत्सवका अवसरमा गणतन्त्र दिवसको सन्दर्भमा खिचिएका तस्वीरहरू पुस्तक सार्वजनिक गर्ने, राससबाट प्रकाशित ‘बुलेटीन’ म्युजियम सबैका लागि खुला गर्नेलगायत रचनात्मक गतिविधि गर्न लागिएको महतोले जानकारी दिनुभयो।

कार्यक्रममा राष्ट्रिय सूचना आयोग, हुलाक सेवा विभाग, सूचना तथा प्रसारण विभाग, मुद्रण विभाग, सुरक्षण मुद्रण केन्द्र, सूचना प्रविधि विभाग, एकीकृत डाटा व्यवस्थापन केन्द्र, प्रमाणीकरण नियन्त्रणको कार्यालय, राष्ट्रिय साइबर सुरक्षा केन्द्र, नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, चलचित्र विकास बोर्ड, विज्ञापन बोर्ड, प्रेस काउन्सील नेपाल, न्यूनतम पारिश्रमीक निर्धारण समितिलगायत मन्त्रालय मातहतका विभागीय प्रतिनिधिहरूको उपस्थीति थियो।

 

 

 

पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्नुपर्नेमा विज्ञको जोड

पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । बुधबार सिंहदरबारमा बसेको राष्ट्रिय सभाअन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा बोल्दै उनीहरुले नेपाल जस्तो मुलुकमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्न आवश्यक रहेको बताएका हुन् । नेपालको निर्वाचन बढीभन्दा बढी खर्चिलो भइरहेको उल्लेख गर्नुहुँदै पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जान आवश्यक रहेको उनीहरुको भनाइ छ ।

बैठकमा बोल्नुहुँदै पूर्वप्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले वर्तमान निर्वाचन प्रणाली लोकतन्त्रको सुदृढीकरणकै लागि चुनौति बन्दै गएको बताउनुभयो । उहाँले पूर्ण समानुपाति निर्वाचन प्रणाली आजको आवश्यकता भएको उल्लेख गर्नुहुँदै यसका लागि राजनीतिक दलहरु र नेताहरु पूर्वाग्रहबाट टाढा जान जरुरी रहेको जिकिर गर्नुभयो ।

उहाँले विश्वका विकसित र धनी राष्ट्रहरुले समेत पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्वन गरेको उल्लेख गर्नुहुँदै योभन्दा सुदृढ निर्वाचन प्रणाली अरु कुनै हुन नसक्ने बताउनुभयो । उहाँले पूर्ण निर्वाचन प्रणाली लागू गर्नसके मुलुकमा राजनीतिक स्थिरता हुने विश्वास व्यक्त गर्नुभयो ।

पूर्वप्रमुख निर्वाचन आयुक्त उप्रेतीले अहिले नेपालमा ११८ वटा राजनीतिक दल भएको उल्लेख गर्नुहुँदै अन्य कुनैपनि देशमा यति धेरै दलहरु नरहेको बताउनुभयो । उहाँले पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्नसके दर्शन र सिद्धान्त मिल्ने दलहरु एक ठाउँमा आउने वातावरण बन्ने समेत बताउनुभयो । उहाँले घर बेचेर निर्वाचन जितेर आएको सांसदले कसरी जनताको सेवा गर्नसक्छ रु भन्दै प्रश्न समेत गर्नुभयो ।

‘‘नेपालमा अहिले ११८ राजनीतिक पार्टीहरु छन् । संसारमा यति धेरै पार्टी कुनै देशमा पनि छन् जस्तो मलाई लाग्दैन । नत सिद्धान्त र दर्शन नै ११८ हुने गरेका छन् । कम्युनिष्टहरु दुई तीन वटा होलान् । तर १२८ वटा कम्युनिष्ट हुन्छन् । हामी नाटक मात्र किन गर्ने होला रु दर्शन एक भएकाहरु त एक ठाउँमा आउनुप¥यो नि । त्यसकारण समानुपातिक निर्वाचन प्रणालीको अर्को फाइदा चाहीँ के हो भने मिल्दाजुल्दा दर्शन भएका दलहरु एक ठाउँमा आउँछन् ।,’’ पूर्वप्रमुख निर्वाचन आयुक्त उप्रेतीले भन्नुभयो, ‘‘अनि दुई या तीन वटा मात्रै दलहरु हुन्छन् । हामीले यसरी परिकल्पना गरौं । अहिलेको निर्वाचन प्रणाली धेरैले मौका लिने निर्वाचन प्रणाली भएपनि पैसा तिरेर लिनसक्ने निर्वाचन प्रणाली हो । घर बेचेर निर्वाचन जितेर आएको सांसदले कसरि सेवा गर्नसक्छ रु यस्तो प्रतिस्पर्धा गराएर राम्रो भएन । अब देशले स्थायित्व लिने हो भने थोरै दल हुने सम्भावनाका लागि पूर्ण समानुपातिक निर्वाचन प्रणाली आवश्यक छ ।’’

बैठकमा गर्नुहुँदै नेपाल सरकारका पूर्व सचिव गोपीनाथ मैनालीले वर्तमा निर्वाचन प्रणाली निकै अस्वस्थ रहेको बताउनुभयो । उहाँले निर्वाचन प्रचार, पैसामुखी र प्रविधिमुखी हुँदै गएको जानकारी दिनुभयो । उहाँले निर्वाचन महँगो हुँदै गएको कारण महिला, दलित र जनजातीले निर्वाचनमा भाग लिनसक्ने स्थिति नै नरहेको उल्लेख गर्दै पुनरावलोकन गर्न जरुरी रहेको बताउनुभयो ।

पूर्व सचिव मैनालीले निर्वाचन सहभागि हुन बनाइएका क्लस्टरहरुको समेत कानुनमा स्पष्ट व्याख्या गर्न जरुरी रहेको बताउनुभयो । उहाँले संविधानले राज्यका निकायहरुमा ३३ प्रतिशत महिला सहभागि हुनुपर्ने स्पष्ट व्यवस्था गरेको भए पनि कार्यान्वयन हुन नसकेको औंल्याउनुभयो । उहाँले पछिल्लो अध्ययनअनुसार राज्यका निकायहरुमा २० प्रतिशत मात्रै महिला सहभागिता रहेको बताउनुभयो ।

यसैगरी, पूर्वप्रमुख निर्वाचन आयुक्त केशवराज राजभण्डारीले प्रवासमा रहेका नेपाली नागरिकले समेत निर्वाचनमा सहभागि हुन पाउने व्यवस्था गर्न जरुरी रहेको बताउनुभयो । उहाँले ६० लाख नेपाली प्रवासमा रहेको उल्लेख गर्दै उनीहरुको निर्वाचन प्रणालीमा सहभागि हुन पाउने अधिकार सुनिश्चित गर्नुपर्ने बताउनुभयो ।

प्रवासमा रहेका नेपाली नागरिकलाई भोटिङ राइट्स दिन पर्याप्त छलफल र बहस गर्न जरुरी रहेको बताउनुभयो । समितिले बुधबार नेपालको विद्यमान निर्वाचन प्रणाली र यसका विकल्पहरुबारे विज्ञसँग छलफल गरेको हो ।

 

यो सरकारलाई असफल हुने छुट छैन- महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले दुई ठुला दल नेपाली काँग्रेस र नेकपा (एमाले) को संयुक्त यो सरकारलाई असफल हुने छुट नभएको बताउनुभएको छ । नेपाल मुस्लिम संघ लुम्बिनी प्रदेशको प्रथम अधिवेशनको बुटवलमा आज उदघाटन गर्दै महामन्त्री थापाले मुस्लिम समुदायको सबैभन्दा प्रिय पार्टी कांग्रेस नै रहेको बताउनुभयो । बिगतका चुनावहरुका परिणामले समेत पुष्टि गरेको दाबी गर्नुभयो ।

थापाले तत्कालीन प्रधानमन्त्री तथा पार्टी सभापति सुशील कोइरालाको पालामा बनेको संविधान र सभापति शेरबहादुर देउवाको पालामा कार्यान्वयनमा गएकोले अहिलेको संविधानप्रति कांग्रेसले जम्मा र स्वामित्व लिने उल्लेख गर्नुभयो । महामन्त्री थापाले कांग्रेस एमालेको सरकारलाई असफल हुने छुट नभएको भन्दै राम्रा मात्र काम गर्ने अधिकार रहेको समेत बताउनुभयो । ‘संविधानको जिम्मा पनि लिने हो, स्वामित्व पनि लिने हो । सबैको चित्त पनि बुझाउने हो, अरु सरकारभन्दा बाहिर रहेका पार्टीहरुसँग पनि संबाद गर्ने हो ।’

थापाले भन्नुभयो, “संविधानमा भएका अस्पष्टता र अफ्ठ्यारा फुकाउनका लागि संविधान संशोधनको कुरा उठेको हो ।” प्रेस स्वतन्त्रता र नागरिकको मौलिक हक स्थापित गर्न कांग्रेसले लामो समय संघर्ष गरेकाले त्यसमा कांग्रेसले कुनै सम्झौता नगर्ने बताउनुभयो ।

पार्टीको आगामी महाधिवेशन पूर्व निर्धारित समयमै हुने भन्दै उहाँले महाधिवेशनसँग सम्बन्धित आवश्यक प्रक्रिया अगाडि बढाउन पनि उहाँले नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । कांग्रेसले स्थपनाकालदेखि समानुपातिक समावेशीताको सिद्धान्त अवलम्बन गरेको भन्दै उहाँले संघीय लोकतान्त्रिक गणतन्त्र र समानुपातिक समावेशीतालाई कांग्रेसले कहिल्यै नछाड्ने दाबी गर्नुभयोे ।

बर्तमान सरकार कांग्रेसले चाहेर र कांग्रेसको प्रयासका कारण गठन भएको नभइ समय र परिस्थितिको उपज भएको भन्दै महामन्त्री थापाले यो तीन बर्षको अवधिलाई जनताको पक्षमा अधिकतम सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

 

क्षतिग्रस्त बिपी राजमार्गको मर्मत सुरु

गत असोजमा आएको बाढीबाट क्षतिग्रस्त बिपी राजमार्गको भकुण्डेबेँसीबाट नेपालथोकसम्मका विभिन्न खण्डमा सडक विभागको अगुवाइमा मर्मत थालिएको छ । विभागका अनुसार धेरै क्षति भएको राजमार्गको १३ किलोमिटर खण्डमा काम प्रारम्भ भएको हो । क्षतिग्रस्त १३ किलोमिटरमध्ये आठ दशमलव पाँच किलोमिटर सडक पुनः निर्माण सुरु भएको हो ।

भक्तपुरस्थित सडक डिभिजन कार्यालयका प्रमुख सुमन योगेशले क्षतिग्रस्त १४ स्थानमा मर्मत थालिएको जानकारी दिँदै भने, ‘हाल हामीले बिपी राजमार्गलाई नै पहिलो प्राथमिकता दिएका छौँ, यो मार्गमा यातायात अवरुद्ध हुन नदिने लक्ष्य छ । आवश्यक परे राति पनि काम गर्छौ ।’

गत शनिबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसहितको टोलीले उक्त राजमार्गको स्थलगत निरीक्षण गरेको थियो । निरीक्षणका क्रममा मन्त्री दाहालले बाटो पुनर्निर्माण गर्न स्रोत अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरेका थिए ।