Page 181 – Nepalboli

‘जनतासँग माओवादी जागरण अभियान’ फागुन १२ गतेदेखि

नेकपा (माओवादी केन्द्र) ले यही फागुन १२ देखि हुलाकी राजमार्गकेन्द्रित ‘जनतासँग माओवादी जनजागरण अभियान’ सुरु गर्ने भएको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलनको आयोजना गर्दै पार्टीले फागुन १२ गतेदेखि हुलाकी राजमार्ग केन्द्रित जागरण अभियान सुरु हुने जनाएको हो ।

पत्रकार सम्मेलनमा बोल्नुहुँदै पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले हुलाकी राजर्माग केन्द्रित जागरण अभियानको शुभारम्भ नेपालको सबैभन्दा होचो ठाउँ झापाको केचनाकवलबाट गरिने बताउनुभयो । उहाँले अभियानको समापन चैत ८ गते कञ्जनपुरमा पुगेर गरिने जानकारी दिनुभयो । उहाँका अनुसार तराई क्षेत्रका नागरिकहरूले भोग्नुपरेका समस्याहरूको बारेमा जागरण अभियान केन्द्रित हुने छ ।

‘‘जनतासँग माओवादी हुलाकि राजमार्ग तराई–मधेश जागरण अभियान फागुन १२ गते नेपालको सबैभन्दा होचो ठाउँ झापाको केचनाकवलबाट सुरु हुँदैछ । र त्यो अभियान आउँदो चैत ८ गते कञ्चनपुरमा समाप्त हुनेछ । यो अभियान खासगरी तराई–मधेश जागरण अभियान हुने छ ।,’’ प्रवक्ता सापकोटाले भन्नुभयो, ‘‘र यसमा हुलाकी मार्गलाई आधार बनाएर सुरु गरिने छ । अभियान क्रममा तराई क्षेत्रका नागरिकहरूले भोग्नुपरेका समस्याहरूमा हामी केन्द्रित हुनेछौँ । त्यसमा हामी अध्यक्ष र उपमहासचिवसम्म त्यहाँ जानेछौं । अभियानका क्रममा सांस्कृतिक टोली पनि समावेश गरिने छ । त्यस अवधीभर हामी जनताकै घरमा बस्ने छौँ ।’’

अभियानअन्तर्गत फागुन १२ गते झापा भेटघाट, अन्तरक्रिया तथा सभा हुने बताइएको छ । फागुन १३ मा मोरङमा भेटघाट, अन्तरक्रिया तथा सभा गर्ने कार्यतालिका छ । फागुन १५ मा सुनसरीमा भेटघाट, अन्तरक्रिया तथा सभा हुने छ । अभियान फागुन १६ देखि २४ सम्म मधेश प्रदेशमा हुने छ ।

फागुन १६ मा सप्तरी, १७ गते सिरहा, १८ गते धनुषा, १९ गते महोत्तरी, २१ गते सर्लाही, २२ गते रौतहट, २३ गते बारा र २४ गते पर्सामा आमसभा, भेटघाट र अन्तरक्रिया बताइएको छ ।

फागुन २५ गते चितवनको भरतपुरमा सभा तथा अन्तरक्रिया हुने छ । नवलपुर ९नवलपरासी पूर्व० मा फागुन २६ गते सभा हुनेछ भने २७ गते लुम्बिनी प्रदेशको नवलपरासी पश्चिममा सभा, भेटघाट र अन्तरक्रिया कार्यक्रम हुने प्रवक्ता सापकोटाले बताउनुभयो ।

२८ फागुनमा रूपन्देहीमा कार्यक्रम हुने छ भने चैत २ मा कपिलवस्तु र ३ चैतमा दाङमा कार्यक्रम आयोजना हुने छ । त्यस्तै ४ चैतमा बाँके, ५ गते चैतमा बर्दिया, ६ चैतमा कैलाली र ७ चैतमा कञ्चनपुरमा कार्यक्रम गरी अभियानको समापन पार्टीले जनाएको छ ।

नेपाली विद्यार्थीको सुरक्षा उच्च प्राथमिकता- भारतीय विदेश मन्त्रालय

ओडिशाको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) को छात्रावासमा नेपाली छात्रा प्रकृति लम्सालको मृत्यु प्रकरणमा भारतको विदेश मन्त्रालयले प्रतिक्रिया दिएको छ ।

भारतको विदेश मन्त्रालयले शुक्रबार गरेको नियमित साप्ताहिक मिडिया ब्रिफिङमा प्रवक्ता रणधीर जयसवालले भने, ‘हामी नेपाली छात्राको दुःखद निधनबाट निकै मर्माहित भएका छौँ। उनको परिवारप्रति गहिरो समवेदना प्रकट गर्दछौँ।’

भारतले विदेशी विद्यार्थीको सुरक्षालाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले भने, ‘भारत सरकारले देशका सबै अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सुरक्षालाई उच्च प्राथमिकता दिन्छ।’

जयसवालका अनुसार भारतको विदेश मन्त्रालय ओडिशा सरकार, केआईआईटी प्रशासन र नेपाली अधिकारीहरूसँग निरन्तर सम्पर्कमा छ ।

ओडिसा सरकारले नेपाली विद्यार्थीलाई फर्काउन पहल गरिरहेको र सुरक्षासहित शैक्षिक गतिविधिमा संलग्न हुने वातावरण बनाउन काम गरिरहेको जानकारी दिए । भुवनेश्वरमा रहेको स्थानीय प्रहरीले नेपाली विद्यार्थीलाई सहयोग गर्न सातै दिन चौबिसै घन्टाको हेल्पलाइन स्थापना गरेको पनि प्रवक्ता जयसवालले जानकारी दिए ।

‘यसबारेमा संवाद र सहजीकरण गर्न विदेश मन्त्रालय ओडिसा सरकार र नेपाली निकायहरूसँग निरन्तर संवादमा छ,’ उनले भने ।

जिडिपी अनुपातमा सार्वजनिक ऋण ४५ प्रतिशत नाघ्यो

मुलुकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को तुलनामा सार्वजनिक ऋणको दायित्व ४५ प्रतिशत नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रकाशित गरेको प्रतिवेदनअनुसार चालु आर्थिक वर्ष २०८१-८२ को माघसम्ममा सरकारी ऋण रू २६ खर्ब ११ अर्ब छ करोड पुगेको छ । “चालु आर्थिक वर्षको सुरुमा सार्वजनिक ऋण रू २४ खर्ब ३४ अर्ब नौ करोड रहेकामा माघ मसान्तसम्ममा रू एक खर्ब ७६ अर्ब ९६ करोड थपिएको छ । हालसम्मको कुल सार्वजनिक ऋण जिडिपी अनुपातमा ४५ दशमलव ७७ प्रतिशत हुनआउँछ”, कार्यालयको प्रतिवेदनमा भनिएको छ ।

कुल सार्वजनिक ऋणमा वैदेशिक ऋणको हिस्सा ५० दशमलव ८७ र आन्तरिक ऋणको हिस्सा ४९ दशमलव १३ प्रतिशत छ । माघ मसान्तसम्ममा आन्तरिक ऋण रू १२ खर्ब ८२ अर्ब ८१ करोड र बाह्य ऋण दायित्व रू १३ खर्ब २८ अर्ब २५ करोड छ । विनिमय दरमा भएको परिवर्तनका कारण मात्रै यो अवधिमा रू ३६ अर्ब ५९ करोड ऋण दायित्व थपिएको कार्यालयले जनाएको छ ।

सरकारले चालु आवका लागि रू पाँच खर्ब ४७ अर्ब सार्वजनिक ऋण उठाउने लक्ष्य राखेको थियो । हालसम्म रू दुई खर्ब ९० अर्ब ५७ करोड ऋण उठिसकेको कार्यालयले जनाएको छ । वार्षिक लक्ष्यको तुलनामा हालसम्मको कुल सार्वजनिक ऋण प्राप्ति ५३ दशमलव १२ प्रतिशत हो ।

चालु आवमा रू तीन खर्ब ३० अर्ब आन्तरिक र रू दुई खर्ब १७ अर्ब बाह्य ऋण उठाउने सरकारी लक्ष्य छ । माघ मसान्तसम्ममा आन्तरिकतर्फ रू दुई खर्ब २९ अर्ब १५ करोड र बाह्यतर्फ रू ६१ अर्ब ४२ करोठ ऋण उठिसकेको छ । वार्षिक लक्ष्यका आधारमा हालसम्मको प्राप्ति आन्तरिकतर्फ ६९ प्रतिशत र बाह्यतर्फ २८ दशमलव ३१ प्रतिशत बराबर हो ।

त्यस्तै, ऋणको साँवा ब्याज तिर्नका लागि सरकारले चालु आर्थिक वर्षमा रू चार खर्ब दुई अर्ब ८५ करोड बजेट विनियोजन गरेको छ । पछिल्लो सात महिनामा रू एक खर्ब ७८ अर्ब ७५ करोड साँवाब्याज भुक्तानी भई सकेको कार्यालयले जनाएको छ । कुल गार्हस्थ्य उत्पादनका आधारमा माघ मसान्तसम्मको ऋण सेवा खर्च तीन दशमलव ३१ प्रतिशत हो ।

सम्पत्ति शुद्धीकरणको ग्रे सूचीमा फेरि नेपाल

सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धमा पालना गर्नुपर्ने नियम पालना नगरेको भन्दै फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटिएफ) को एसिया प्रशान्त समूह (एपिजी) ले नेपाललाई ग्रे सूचीमा राखेको छ। नेपाललाई दुई वर्षका लागि यस्तो सूचीमा राखिएको हो।

नेपाल एफएटिएफको सदस्य राष्ट्र नभए पनि एपिजीको सदस्य राष्ट्र हो।

डेढ वर्षअघि नेपाललाई एसिया प्रशान्त समूह (एपिजी) ले अवलोकन (अब्जरभेसन) मा राखेको थियो। असार २४ देखि २९ गतेसम्म क्यानडाको भ्यानकुभरमा आयोजित एसिया प्रशान्त समूह (एपिजी) को वार्षिक बैठकले नेपाललाई अब्जरभेसन पिरियड मा राखेको थियो।

सो समय सम्पत्ति शुद्धीकरण निरूत्साहनका लागि गर्नुपर्ने भनेर एफएटिएफ तोकेको ४० वटा सुझावमध्ये नेपालले २१ वटा पूरा गरेको थियो। एफएटिएफको ४० सुझावमध्ये बीस वा सोभन्दा सुझावको अनुपालना नभएको वा आंशिक मात्र भए पनि अन्तर्राष्ट्रिय साझेदार पुनर्मूल्यांकन समूहको निगरानी दायरामा परिन्छ।

त्यसपछि पनि आवश्यक सुधार नभए ग्रे सूचीमा राखिन्छ।

नेपाल यसअघि सन् २०११ देखि २०१४ सम्म पनि यो सूचीमा परेको थियो। सो समय यो सूचीबाट बाहिरिन चार वर्ष लागेको थियो। सुपुर्दगी ऐन, संगठित अपराध निवारण ऐन लगायत विभिन्न ऐनमा संशोधन गरेसँगै यो सूचीबाट नेपाल हटेको थियो।

कांग्रेस सभापति शेरबहादुर देउवा आउदो शनिवार महाकुम्भमा स्नान गर्दै

भारतको उत्तरप्रदेशस्थित प्रयागराजमा चलिरहेको महाकुम्भमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आउदो शनिवार स्नान गर्ने भएका छन । देउवा विहिवार नै भारत जाने कार्यक्रम तय भएको छ । देउवा महाकुम्भ मेलामा सहभागी हुनुका साथै इन्डिया फाउन्डेसनले आयोजना गर्ने दुई दिने समिटमा समेत भाग लिनेछन् । उनले आगामी शुक्रबार र शनिबार ‘कुम्भ ग्लोबल समिट अन डेभलप्मेन्ट एन्ड सस्टेइनबेलिटी’ विषयमा बोल्नेछन् ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ सहभागी हुने समिटमा अन्य देशका वक्ताहरु समेत छन् ।
यसअघि कांग्रेस महामन्त्री गगन थापा सहित प्रवक्ता डा प्रकाशशरण महत, नेता अर्जुनरसिंह केसी लगायतका नेताहरु महाकुम्भमा पुगेर स्नान गरेर फर्केका छन् । महामन्त्री थापा मंगलबार राति मात्रै महाकुम्भ पुुगेर भैरहवा आइपुगेका छन ।

पुस २९ मा औपचारिक रूपमा सुरु भएको महाकुम्भ ४५ दिनपछि आगामी बुधबार सकिँदैछ । कुम्भमेला हरेक १२ वर्षमा हुन्छ भने महाकुम्भ १४४ वर्षमा एक पटक आउँछ ।

 

 

 

असमानता, गरिबी र भ्रष्टाचारलाई चिरेर सरकार अघि बढ्छ – प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार लोकतन्त्रलाई पारदर्शी र अझ जवाफदेही बनाउँदै समाजमा व्याप्त असमानता, गरिबी र भ्रष्टाचारको चुनौतीलाई चिरेर अघि बढ्ने बताउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र दिवस–२०८१ का अवसरमा बुधबार सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले युवाहरुलाई सशक्त बनाएर नै मुलुकलाई समृद्धितर्फ लैजाने सरकारको नीति रहेको स्पष्ट पार्नुभयो ।

“लोकतन्त्रको उज्यालोकै कारण आज डिजिटल माध्यमबाट नागरिकलाई शीघ्र सार्वजनिक सेवाको थालनी गर्न सकेका हौँ, जसले सरकारी सेवालाई झन्झटरहित र पारदर्शी बनाउन सुरु गरेको छ”, प्रधानमन्त्रीले भन्नुभयो, “सन् २०३० भित्र दिगो विकासका लक्ष्य हासिल गर्ने अभियानमा हामी हाम्रा हरेक क्षण, सम्भावना र सामर्थ्यको सदुपयोग गरिरहेका छौँ । यसबाटै हामी ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सफल हुनेछौँ ।”

प्रधानमन्त्री ओलीले सन् २०२६ सम्ममा नेपाललाई अतिकम विकसित मुलुकको हैसियतबाट स्तरोन्नति गर्ने र त्यसको दिगो व्यवस्थापनका लागि आर्थिक सूचकहरुको बढोत्तरी गर्ने आधार पनि लोकतन्त्र नै भएको बताउनभुयो । लोकतन्त्रको खुला मैदानमा नै जनताको जीवनमा प्रगति भएको जनाउँदै उहाँले बढ्दो जनआकाङ्क्षा र चुनौतीबिच, राज्यको संस्थागत र सामर्थ्यबीच लय मिलाएर सङ्गतिपूर्ण ढङ्गले अगाडि बढिरहेको बताउनुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो, “हाम्रो युवा पुस्ता देशको भविष्य हो । उनीहरुलाई शिक्षा, स्वास्थ्य, रोजगारी र उद्यमको अवसर उपलब्ध गराउन र स्टार्टअपमार्फत उद्यमशीलताको थालनी गरिएको छ ।” उहाँले मुलुकको सुशासन, विकास, समृद्धि र जनताको सुखको सुनिश्चितताका लागि प्रभावकारी शासन प्रणाली र सुव्यवस्थाको राष्ट्रिय आकांक्षा पूरा गर्ने अभियानमा एकजुट भई योगदान गर्न सम्पूर्णमा आह्वान गर्नुभएको छ ।

राष्ट्रको समृद्धि र जनताको सुख’लाई आफूले ‘परिपूर्ण लोकतन्त्र’ भन्दै आएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले प्रजातन्त्रले ‘सङ्गठन र अभिव्यक्तिको स्वतन्त्रता’को मात्र वकालत गरेको अवस्थामा परिपूर्ण लोकतन्त्रले सबैलाई ‘अधिकार र अवसर, समानता र सामाजिक न्याय, सुरक्षा र सम्मान’मा समान पहुँचको पैरवी गरेको बताउनुभयो । उहाँले सरकार समग्र विकासमार्फत व्यक्तिको मानवीय र जैविक न्यायोचित आवश्यकताको सहज परिपूर्ति गर्ने दिशातर्फ इमानदारीपूर्वक हिँडिरहेको बताउनुभयो ।

फागुन ७ ले मुलुकलाई सबै हिसाबले स्वतन्त्र र सार्वभौम बनाउने दृढ सङ्घर्ष अघि बढाएको जनाउँदै प्रधानमन्त्री ओलीले भविष्यका रुपमा उदाउँदै गरेका भोलिको पुस्ताले आजको दिनलाई बिर्सनै नमिल्ने बताउनुभयो । “प्रजातन्त्रको उज्यालोमा हुर्किएको, अत्याधुनिक सूचना प्रविधिमार्फत अनलाइन सेवा लिने बानी परिसकेको आजको पुस्ताका लागि हिजोको शासनको त्यो क्रूरता– अनुभव होइन, कथा मात्र हो”, उहाँले भन्नुभयो, “पुस्तान्तरको समयचापले कहिलेकाहीँ न्यानो दिनमा रहेका बेला समाजले त्यस कालरात्रीको क्रूरतम स्मृतिलाई गुमाउन पुग्छ र भन्छ– ‘प्रजातन्त्रले के गरेको छ रु, त्यसले त अझै राणाकालका दरबारहरुबाट निर्वाह गरिरहेको छ’ ।”

 

 

मुलुकको विकासका लागि अध्यादेश ल्याइएको हो- सञ्चारमन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जनताको हित र मुलुकको समृद्धिको ख्याल गरेर अध्यादेश ल्याइएको बताउनुभएको छ। उहाँले अध्यादेशको विरोध गर्नुको औचित्य नरहेको प्रष्ट पार्नुभयो। मन्त्री गुरुङले मुलुकको अर्थतन्त्रलाई चलायमान गर्न, सहकारी र सुकुम्बासी सम्बन्धी समस्या अन्त्य गर्ने उदेश्य बोकेको अध्यादेश भित्रका विषयवस्तुमा कसैको पनि फरक मत नरहेको बताउनुभयो।

राष्ट्रिय समाचार समिति (रासस) को ६४ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री गुरुङले जनताको सेवा गर्न, विकासमा स्थायित्व गतिशीलता ल्याउन, भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन कायम गर्नु अहिलेको सरकारको प्राथमीकताको विषय रहेको बताउनुभयो।

नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङले क्रान्ति, जनआन्दोलन, व्यवस्था र प्रणाली फेरिए पनि पुराना कानुन र नीति परिवर्तन नहुँदा जुनसुकै सरकारले पनि लक्ष्य अनुसार नतिजा दिन नसकेको उहाँको तर्क थियो।

सरकारका सबै संघसंस्था पूर्ण लोकतान्त्रिक र समावेशी कायम गर्ने विषयमा हेक्का राख्न सुझाव दिँदै मन्त्री गुरुङले प्रजातन्त्रमा प्रतिस्पर्धा र आलोपालो हुनुपर्नेमा त्यो नहुँदा टिकाटिप्प्पी गरेको बताउनुभयो।

प्रदेश सरकार, पालिका, समग्र प्रहरी प्रशासन हाक्ने व्यक्तिको शैली र आचरणमा शुद्धता आवश्यक रहेको बताउँदै उहाँले पुराना संरचनालाई नयाँ व्यवस्था अनुरुप लोकतान्त्रीक बनाउदै लैजानुपर्ने आजको आवश्यकता भएको औँल्याउनुभयो।

“हामीले नीति र व्यवस्थामा क्रान्ति ल्याउन नसक्दा मुलुकले सोँचे अनुकुल उपलब्धी हासिल गर्न सकेन”, मन्त्री गुरुङले भन्नुभयो, “अहिले हामी आवश्यक नीति रुपान्तरणमा जोड दिएका छौँ।”

विगतमा लोकतन्त्रमाथि खिचातानी भइरहेको हुँदा लोकतन्त्र ट्रयापमा पर्दै आएको बताउदै त्यही ट्रयापबाट लोकतन्त्र बचाउन दुई ठुला राजनीतिक दल (नेपाली कांग्रेस र नेकपा एमाले) गठबन्धन गर्नुपरेको बताउनुभयो। त्यस्तै मन्त्री गुरुङले सरकारी सञ्चार माध्यमलाई व्यवस्थित र समयानुकुल बनाउन मन्त्रालय सधै सकारात्मक रहेको बताउनुभयो।

मन्त्री गुरुङका अनुसार सरकारी मातहतका सञ्चार माध्यम जनताको सूचना सेवाप्रति उत्तरदायी हुनुपर्ने बताउदै राससले उक्त भूमिका प्रभावकारी ढंगले निर्वाह गर्दै आएको छ।

मन्त्री गुरुङले राससले दीर्घकालीन महत्त्वका कार्यको थालनी गर्दै आएको बताउदै रासस चौविस घन्टामा लगिएको, मिडिया संग्रालय सुरु गरिएको, समावेशी भाषामा सेवा विस्तार गरिएको, मिडिया संग्राहलय समाचार बुलेटिन कक्ष सर्वसाधारणका लागि खुला गरिनुले समाचार सेवामा योगदान दिएको बताउनुभयो।

 

 

वर्तमानलाई समृद्ध बनाउन इतिहास बचाउनुपर्छः प्रधानन्यायाधीश राउत

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले वर्तमानलाई समृद्ध बनाउन इतिहास बचाउनुपर्ने बताउनुभएको छ । बुधबार काठमाडौंमा आयोजित नेपाल कानुन पत्रिका (पुरानो अङ्क), प्रधानन्यायालय २००९, विमोचन कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले ऐतिहासिक धरोहरलाई संरक्षण र संवद्र्धन गर्न जरुरी रहेको औंल्याउनुभयो । उहाँले ऐतिहासिक धरोहर नै आजको वर्तमानका आधार स्तम्भ भएको उल्लेख गर्नुभयो । उहाँले यिनै धरोहरबाट भविष्यको बाटोलाई सुगम र निश्चित तथा निर्दिष्ट बनाउने काममा मद्दत पुग्ने बताउनुभयो ।

प्रधानन्यायाधीश राउतले भन्नुभयो, ‘‘यदी वर्तमानलाई समृद्ध बनाउनु छ भने हरेकले आफ्नो इतिहास बचाउनुपर्छ । ऐतिहासिक धरोहरलाई संरक्षण र संवद्र्धन गर्नुपर्छ । ऐतिहासिक धरोहर नै आजको वर्तमानका आधार स्तम्भ हुन् । यिनै धरोहरबाट भोलिको बाटोलाई सुगम र निश्चित तथा निर्दिष्ट बनाउने काममा मद्दत पुग्छ ।’’

सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले नेपालमा कानुनको पालना गराउने र कानुनी सर्वोच्चताको वकालत गर्ने संस्थाहरु कमजोर बन्दै गएको बताउनुभयो । अदालत जस्ता संस्थालाई बलियो बनाउन राजनैतिक प्रतिवद्धता पनि कमजोर रहेको उहाँको जिकिर छ । यस्तो खालि अवस्थालाई वदनियत राख्नेहरुले प्रयोग गर्नसक्ने खतरा रहेको उहाँको भनाइ छ । कानुनी प्रणाली बलियो बनाएर मात्र जग बलियो हुने भन्दै उहाँले जग बलियो कसरि बनाउने भन्ने विषय इतिहाँसबाट सिक्न सकिने बताउनुभयो ।

‘‘जतिखेर ठुलोठुलो लिगल सिस्टमलाई स्प्रेडओभर गर्ने संस्थाहरु कमजोर हुन्छन् । जस्तो कमन ल सिस्टम । मैले कमजोर भनेको छैन तर त्यसपछिको पोल्टिकल वा इम्पेरियल ब्याकिङ कमजोर हुन्छ, त्यसपछाडि मान्छेहरु आफ्नो सिस्टम खोज्न थाल्छन् ।,’’ उहाँले भन्नुभयो, ‘‘एउटा भ्याकुमक्रिएट हुन्छ । मैले त्यस्तो अवस्था आयो त भनेको होइन । तर त्यसको फाउण्डेशन बनाइराख्नुपर्छ । हाम्रो लिगल सिस्टमको फाउण्डेशन बनाइराख्नुपर्छ । त्यो भनेको हाम्रो इतिहासको अभिलेखबाट सम्भव हुन्छ ।’’

नेपाल कानुन पत्रिका (पुरानो अङ्क), प्रधानन्यायालय २००९, विमोचन कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले ढिलो भए पनि इतिहासको अभिलेख गर्ने काम सुरु हुनु खुशीको कुरा भएको बताए । न्याय सम्पादन गरिएका कुराहरु पहिला जस्तो राम्रोसँग लेख्ने प्रचलन (लेखन शैली) बिग्रिएको उनीहरुको गुनासो छ । जुन राष्ट्र र जातिले आफ्नो इतिहास बिर्सिन्छ उसको उन्नति प्रगति नहुने बताए । इतिहासलाई जोडेर मात्रै देश विकास सम्भव रहेको बताए ।

 

 

 

‘नेपाली कांग्रेस सामाजिक र आर्थिक क्रान्तिको अगुवा’

नेपाली कांग्रेसका प्रवक्ता एवम् सांसद डा प्रकाशशरण महतले नेपाली सामाजिक र आर्थिक क्रान्तिको अगुवाई कांग्रेसले गर्दै आएको बताउनुभएको छ । आज नेपाल शिक्षक सङ्घ काभ्रेपलाञ्चोकको आयोजनामा बनेपामा आयोजित २३औँ जिल्ला प्रतिनिधिसभा तथा शिक्षक सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सात दशक अघिदेखि नेपाली कांग्रेसले सामाजिक–आर्थिक क्रान्तिको अगुवाइ गर्दै आएको बताउनुभयो ।

“सामाजिक र आर्थिक क्रान्तिको अभियानलाई राजनीतिक द्वन्द्वले केही समय अवरोध गर्यो, हैन भने २००७ सालदेखि ०१७ साल, ०४६ र २०६२-०६३ को जनआन्दोलनदेखि शान्ति स्थापना तथा संविधान जारी र कार्यान्वयनमासमेत कांग्रेसले अगुवाई गरेको छ”, उहाँले भन्नुभयो ।

उहाँले बल प्रयोग नगरी जनताको मत जितेर सत्तामा जानुपर्ने मान्यतालाई कांग्रेसले स्थापित गरेको बताउनुभयो । बिपी कोइराराले भने झैँ अहिले ‘सत्यको मुख बन्द हुँदा झूटको थुतुनो खुल्छ’ भन्ने अवस्था भएकाले सत्यको मुख खोल्नुपर्ने आवश्यकता औँल्याउनुुभयो । आगामी निर्वाचन ०८४ मा कांग्रेस एक्लैले बहुमत ल्याउने उहाँको धारणा थियो ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यद्वय शिवप्रसाद हुमागाईं र मधुप्रसाद आचार्य, जिल्ला सभापति तीर्थ लामालगायतले शिक्षकको योगदानबारे चर्चा गर्नुभयो । सो अवसरमा शैक्षिक सत्र २०८० र २०८१ मा जिल्लाका उत्कृष्ट शिक्षकलाई सम्मान गरिएको थियो ।

 

 

 

प्रजातन्त्र दिवस जनताको दिवस हो- प्रथम राष्ट्रपति डा यादव

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले अहिले नेपाली जनताले उपभोग गरिरहेका सबै अधिकार प्राप्तिको जग २००७ सालको क्रान्तिको देन भएको बताएका छन्। राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा रासससंग कुराकानी गर्दै नेपालको राजनीतिक इतिहासमा फागुन ७ महत्वपूर्ण भएकाले सबै नेपालीले गौरवपूर्ण ढङ्गबाट यो दिवस मनाउन आह्वान गरे।

पूर्वराष्ट्रपति यादवले भने, “यो जनताको दिवस हो। जनताका अधिकार प्राप्तिका सन्दर्भमा कोसेढुङ्गाका रुपमा यो दिनलाई लिनुपर्छ। २००७ को परिवर्तन जुन ढङ्गबाट भयो जनताको अधिकार प्राप्तिको लडाइँबाट जनता स्वतन्त्रता भएको दिन हो, आज।”

फागुन ७ गतेले दै लोकतान्त्रिक राजनीतिक स्थापना गर्न मार्ग निर्देश गरेको बताउँदै उहाँले मुलुकमा धेरै उतारचढाव हँुदै विसं २०४६ र २०६२-०६३ को जनआन्दोलनमार्फत सामन्ती संस्थाको निर्मूल र नष्ट गरी अघि बढ्न सम्भव भएको धारणा राखे।

पूर्वराष्ट्रपति डा यादवले भन्नुभयो, “अहिले मुलुकले सभ्य समाज उपभोग गरिरहेको छ, त्यसको मूल जरो भनेको २००७ साल हो। जुन मुलुकको राजनीतिक इतिहासमा त्यति ठूलो योगदान कहिलै भएको थिएन। त्यो धेरै ठूलो परिवर्तन थियो।” मुलुक सङ्घीयता, गणतन्त्र, समावेशी, समानुपातिक, धर्मनिरपेक्षसहित लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा रहेको बताउँदै उनले त्यो प्राप्तिको मुख्य जग भनेको नै २००७ को राजनीतिक परिवर्तन भएको टिप्पणी गरेका छन्।

प्राप्त उपलब्धि र विविधताको रक्षा र एकीकरण गर्दै लैजानु पर्ने आजको आवश्यकता भएको बताउँदै पूर्वराष्ट्रपति डा यादवले सबैका राजनीतिक, आर्थिक, सामाजिक र धार्मिक अधिकार तथा न्यायमा पहुँच स्थापित गरी जनताको आशालाई व्यवस्थित तुल्याउन सुझाव दिएका छन्।