Page 180 – Nepalboli

काठमाडौँमा ‘डिजिटल अपराधसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’ हुने

फागुन १५ गतेदेखि ‘डिजिटल अपराधसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’ हुने भएको छ । मङ्गलबार महान्यायाधिवक्ता कार्यालयमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराइएको हो । दुई दिनसम्म सञ्चालन हुने सम्मेलन फागुन १५ र १६ गते काठमाडौँमा सञ्चालन हुनेछ ।

पत्रकार सम्मेलनमा बोल्दै महान्यायाधिवक्ता रमेश बडालले सम्मेलनबाट डिजिटल अपराधका अनुसन्धान, अभियोजन तथा न्यायिक प्रक्रियालाई प्रभावकारी बनाउन अन्तर्राष्ट्रिय अनुभव आदानप्रदान गर्दै कानुनी, नीतिगत तथा संस्थागत सुधारको मार्गचित्र तय गर्ने उद्देश्य लिइएको बताउनुभयो ।

उहाँले सम्मेलनमा नेपालसहित, संयुक्त राज्य बेलायत, नेदरल्यान्डस्, मलेसिया, साउदी अरेबिया, सिङ्गापुर, माल्दिभ्स, दक्षिण कोरिया, अजरबैजान, भारत, चीन, श्रीलङ्का, नर्वे र रुस लगायत १३ राष्ट्रका ९० भन्दा बढी सरकारी वकिल, कानुन विज्ञ, न्यायाधीश तथा सम्बन्धित निकायका उच्च अधिकारीहरूको सहभागिता रहने बताउनुभयो ।

सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुहुने जानकारी दिनुभयो । दुई दिनमा ४ वटा प्लेनरी सत्र, ८ वटा समानन्तर (प्यारेलल) सत्रमा १६ वटा कार्यपत्रहरू उपर छलफल हुने बताउनुभयो । प्रविधिमार्फत हुने यौनजन्य हिंसा, साइबर अपराध, डिजिटल ठगी तथा वित्तीय अपराध, अनलाइन शोषण, व्यक्तिगत गोपनीयता उल्लङ्घन, डिजिटल प्रमाण सङ्कलनका विधि, अन्तर्राष्ट्रिय कानुनी सहकार्य तथा साइबर कानुनी नीति निर्माण जस्ता विषयहरूमा छलफल हुने जानकारी दिनुभयो ।

सम्मेलनको आयोजनाले नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा न्यायिक सुधार, प्रविधि अनुकुल कानुनी संरचना निर्माण, मानव अधिकार संरक्षण तथा साइबर अपराध नियन्त्रणका सन्दर्भमा सक्रिय राष्ट्रको रूपमा प्रस्तुत गर्ने अवसर मिल्ने बताउनुभयो ।

मधेशका किसानले दुई अर्ब अनुदान पाउने

मधेशका पशुपक्षीपालन गर्ने किसानले अनुदान पाउने भएका छन् । कृषि तथा पशुपक्षी विकास मन्त्रालयको बर्दिबासस्थित आर्थिक करिडोर आयोजना कार्यालयले मधेशका एक सय ७९ किसान समूहलाई दुई अर्ब अनुदान उपलब्ध गराउने प्रकृया अन्तिम चरणमा पुगेको जनाएको छ । विश्व बैंकको आर्थिक सहयोगमा सञ्चालित यस कार्यक्रमले किसानलाई व्यावसायिक कृषि र उत्पादनमुखी कार्यमा अभिप्रेरित गर्ने उद्देश्यले अनुदान दिन लागिएको कार्यालय प्रमुख सुरेन्द्र यादवले जानकारी दिए ।

कार्यालयले प्रदेशका ८ वटै जिल्लाका किसान समूह छनोट गरेको छ । ती किसान समूहमा पाँच हजार बढी किसान आबद्ध रहेको कार्यालयका सूचना अधिकृत सन्तोस प्रकाशको भनाइ छ । छनोटमा परेका समूह र त्यसमा आबद्ध किसानको संख्या र प्रस्तावनाका प्रकृतिका आधारमा अनुदान रकम दिइने कार्यालयले जनाएको छ ।

रौतहटमा सबैभन्दा बढी रु ५५ करोड, सिरहामा ४०, सप्तरीमा ३१, महोत्तरीमा २६, धनुषामा २३, सर्लाहीमा १६, बारामा १४ र सबैभन्दा कम पर्सामा सात करोड करोड अनुदान दिइने छ । समूहले ल्याएका प्रस्तावमा सम्बन्धित समूहले कूल लागतको ५५ प्रतिशत र कार्यालयले ४५ प्रतिशत लगानी गर्नुपर्ने प्रावधान छ ।

प्रदेशभित्रका पूर्वपश्चिम र हुलाकी राजमार्गले छोएका ८४ स्थानीयतहमा उक्त कार्यक्रम सञ्चालित छ । साना उत्पादक र कृषि मूल्य शृङ्खलामा आबद्ध किसानबीचको बजार सम्बन्धको प्रवर्द्धन तथा उद्यमशीलता विकासका लागि सहयोगी वातावरण निर्माणमार्फत ग्रामीण उद्यम विकास गर्ने आयोजनाको मुख्य उद्देश्य छ ।

किसान समूहलाई दिइने अनुदानलाई कार्यालयले नवप्रवर्तन अनुदानको रूपमा परिभाषित गरेको छ । छनोट भएका समूह, संस्था र सहकारीमा आबद्ध लाभाग्राहीले प्रगति प्रतिवेदन पेस गरेपछि मात्र भुक्तानी प्रकृया अघि बढ्ने हुँदा अपेक्षित परिणाम प्राप्त हुने कार्यालयको ठम्याइ छ । अनुदान चार किस्तामा दिइने र त्यसअघिको प्रगति विवरण प्रतिवेदवन अनिवार्य हुँदा किसानले कामको परिणाम देखाउनै पर्ने प्रावधान छ ।

छनोट भएका किसान समूहले पक्षीपालन, बीउ वृद्धि, भैंसीपालन, दूध डेरी, बाख्रापालन, माछापालन र बङ्गुरपालका प्रस्तावना पेस गरेका छन् । जसमध्ये सहकारी तथा वस्तुगत संस्थाले पहिलो चरणको भुक्तानी लिएर काम सुरु गरिसकेको कार्यालयले जनाएको छ ।

 

केराको रेशाबाट उत्पादित सामग्रीको माग बढ्दो

कैलालीमा केराको थामबाट उत्पादित रेशा र त्यसबाट निर्माण गरिएका हाते सामग्रीको खपत बढ्दै गएको छ । टीकापुर नगरपालिका–८ स्थित धनसिहपुर एकता समाज बचत तथा ऋण सहकारी संस्थाले केराको थामबाट रेशा उत्पादन गरी रेशाबाट बनाइएका सामग्रीको माग बढ्दै गएको सहकारीले जनाएको छ ।

एक वर्षअघि स्थापना भएको उद्योगले केराको रेशा उत्पादन गरेर त्यसबाट टोपी, झोला, पेन होल्डर, कपडा, बस्नका लागि प्रयोग हुने चटाईलगायतका सामग्री निर्माण गर्ने गरिएको छ।

सहकारीका व्यवस्थापक रामकृष्ण चौधरीका अनुसार एक वर्षदेखि उद्योगले केराको थाम कृषकबाट निःशुल्क ल्याउने गरेको छ। ‘’दैनिक १० वटा जति थामबाट एक केजी रेशा उत्पादन हुने गरेको छ ’ , उनले भने, ‘एक केजी रेशाबाट १५ वटासम्म टोपी बनाउन सकिन्छ। सहकारीले प्रतिटोपी मूल्य रु एक हजार, पेन होल्डर रु तीन सयमा बिक्री गर्ने गरेको छ।’

सहकारीलाई उत्पादित सामग्री बिक्रीका लागि बजारको अभाव छैन। सहकारीले बजारको मागअनुसार उत्पादन गर्न भ्याएको छैन। ‘उत्पादित सामग्री र रेशा काठमाडौँबाट धेरै माग भइरहेको छ। काठमाडौँका उद्योगले कच्चा पदार्थ जति सकिन्छ पठाउनु भनिरहेका छन्’ , चौधरीले भने, ‘हामीले मागअनुसार दिन सकिरहेका छैनौँ।’

सहकारीको उद्योगमा १० महिला काम गरिरहेका जसमा पाँच जना केराको रेशाबाट हाते सामग्री नियमित काम गरिरहेका छन्। उनीहरुले घर सजावट तथा प्रयोगमा ल्याउन सकिने विभिन्न सामग्री बनाउने गरेका छन्। यसरी निर्माण गरिएका सामग्रीको खपत कैलालीमै भइरहेको छ।

यहाँ लाग्ने मेला महोत्सवमा समेत उद्योगले उत्पादन गरेका सामग्री प्रदर्शनमा राखिदिन माग आउने गरेको सहकारीले जनाएको छ। केराको रेशा उत्पादनपछि खेर जाने सामग्री मलका रुपमा प्रयोग गर्न सकेमा अझ राम्रो हुने स्थानीय बताउँछन्। ‘सहकारी अब कपडा बनाउन धागो उत्पादन गर्न खोजिरहेको छ’ , वडा नं ८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले भने, ‘धागो बनाउन सकेमा राम्रो फाइदा लिन सकिन्छ।’

टीकापुर –६ का वडाध्यक्ष बलिराम चौधरी आफूले पनि झोला किनेको बताउँदै कच्चा पदार्थ प्रसस्त पाइने भएकाले यसलाई विस्तार गर्नुपर्ने बताउँछन्। ‘टीकापुर केराको पकेट क्षेत्र भएकाले केराको थाम किन्न पर्दैन, निःशुल्क पाइन्छ’ , उनले भने, ‘खेर गइरहेको केराको थामबाट धेरै सामग्री बनाउन सकिने रहेछ। यसलाई थप लगानी गरी विस्तार गर्नुपर्छ।’

सरकारले एक सहकारी, एक उद्योगको नीति लिएका बेला सहकारीले स्थापना गरेको उद्योगमार्फत किसान तथा महिला किसानलाई रोजगारीसँग जोड्ने कार्यलाई थप व्यवस्थापन गर्नुपर्ने दिगो विकास समाज भजनीका अधिकृत विनोद शाहले बताए।

‘यो क्षेत्र केराको पटेक क्षेत्र भएकाले केराबाट महिला सदस्य तथा किसानलाई फाइदा भएको छ’ , उनले भने, ‘स्थानीयस्तरमै पाइने कच्चा पदार्थ प्रयोग गरी सहकारीका शेयर सदस्यले रोजगारीका अवसर पाउनु राम्रो उपलब्धि हो।’

 

 

म्याग्दीको एउटै गाउँपालिकामा १३ जलविद्युत् आयोजना

म्याग्दीको धवलागिरि गाउँपालिकामा दुई सय ३८ दशमलव २३ मेगावाट क्षमताको १३ वटा जलविद्युत् आयोजना भित्रिएका छन् । विश्वको सातौँ अग्लो धौलागिरि हिमालको फेदीबाट बग्ने म्याग्दी र सहायक नदीमा जलविद्युत् आयोजना भित्रिएसँगै भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने धवलागिरि गाउँपालिकाको विकास हुने अपेक्षा गरिएको हो।

गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले ९० दशमलव पाँच मेगावाट क्षमताको दुई वटा आयोजना निर्माण सुरु भएका बताउँदै ७१ दशमलव पाँच मेगावाट क्षमताका दुई आयोजना निर्माण प्रक्रियामा रहेका जानकारी दिए। विद्युत् विकास विभागका अनुसार धवलागिरिको भूगोलमा थप ७६ दशमलव २३ मेगावाट क्षमताका नौ वटा आयोजना निर्माणको प्रक्रियामा छन्।

‘भिरपहरा छिचोलेर बनाइएको आयोजनामार्फत यहाँ सडक सञ्जाल विस्ता हुनुका साथै यातायात सञ्चालन भई स्थानीयलाई आवतजावतमा सहज भएको छ । रोजगारी र आयआर्जनका अवसर सिर्जना भएका छन्, स्थानीयको शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा सहयोग भएको छ‘’, अध्यक्ष पुनले भने, ‘दीर्घकालीन रूपमा आयोजनाबाट उत्पादित विद्युत् बिक्री भएका प्राप्त हुने रोयल्टी (सलामी दरस्तुर) बाट गाउँपालिकामा पूर्वाधार निर्माण गरी नागरिकको सेवासुविधामा परिचालन गर्न सकिन्छ।’

गत भदौदेखि निर्माण सुरु भएको म्याग्दी हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको ५३ दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी–१ को १६ दशमलव पाँच प्रतिशत भौतिक प्रगति भएको आयोजना कार्यालयले जनाएको छ।

धवलागिरि गाउँपालिका–४ खाम्लामा रहने बाँधमार्फत पाँच दशमलव सात सय किमी सुरुङबाट ल्याउने पानीलाई मालिका गाउँपालिका–७ भारवाङमा बन्ने विद्युत्गृहमा एक सय ९६ मिटर उचाइबाट खसालेर विद्युत् निकालिने आयोजना प्रमुख ज्योतिकुमार केसीले जानकारी दिए।

उनका अनुसार विसं २०८३ फागुन २१ गतेदेखि नियमित विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको यस आयोजनाको कुल लागत रु ११ अर्ब २३ करोड २७ लाख अनुमान गरिएको छ।

हाइड्रोइम्पाएर प्रालि प्रवर्द्धक रहेको माथिल्लो म्याग्दी जलविद्युत् आयोजनाले धवलागिरि–४ सिम्कोश दोभानको बाँधबाट घिम्लेटी जोड्ने चार किमी लामो सुरुङ निर्माण सुरु गरिएको छ।

उक्त आयोजना प्रमुख रमेश सुवेदीले विसं २०८२ चैत मसान्तभित्र सम्पन्न गर्ने लक्ष्यसहित बाँध, सुरुङ र विद्युत्गृह निर्माण थालिएको जानकारी दिए। यस आयोजनाको कुल लागत रु छ अर्ब ६९ करोड ९४ लाख ९५ हजार अनुमान गरिएको छ।

हाइड्रोभिलेज प्रवर्द्धक रहेको ६५ मेगावाट क्षमताको म्याग्दी खोला जलविद्युत् आयोजनाको धवलागिरि–४ जेल्तुङमा प्रस्ताव गरिएको विद्युत्गृह निर्माणस्थल हालै सडक सञ्जालमा जोडिएको छ। खाम्लास्थित अपर म्याग्दी–१ को बाँधबाट नाउँरा हुँदै बगर जोड्ने उक्त सडक छ किमी दूरीको छ।

जेल्तुङबाट १२ किमी दूरीमा रहेको दोभानसम्म पहुँचमार्ग निर्माणलाई निरन्तरता दिने तयारी भइरहेको धवलागिरि–४ का वडा सदस्य हरिप्रसाद तिलिजाले बताए।

धवलागिरि–३ मा छ दशमलव पाँच मेगावाट क्षमताको दरखोला जलविद्युत् आयोजनाले पूर्वाधार निर्माणको तयारी गरेको छ। विद्युत् खरिद–बिक्री सम्झौता, वित्तीय स्रोत, जग्गा व्यवस्थापनलगायत काम सकेर यही वर्षदेखि बाँध, पेनस्टक पाइपलाइन र विद्युत्गृह निर्माण सुरु गर्ने तयारी भएको दरखोला हाइड्रोपावरका अध्यक्ष रेशमबहादुर भण्डारीले बताए।

विसं २०८३ फागुनभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको दरखोला जलविद्युत् आयोजनाको बाँध धवलागिरि–३ कुनौटो र सोही वडाको सोलवाङमा विद्युत्गृह प्रस्ताव गरिएको छ। तीन किमी एक सय मिटर पेनस्टक पाइपलाइन रहने उनले जानकारी दिए।

धवलागिरि–४ मुदीमा १४ दशमलव ७० मेगावाट क्षमताको मुदीखोला, २३ दशमलव ७० मेगावाट क्षमताको म्याग्दीखोला (ए), धवलागिरि–१ गुर्जामा १५ मेगावाट क्षमताको धौलाखोला र १४ दशमलव ७० मेगावाट क्षमताको मुदीखोला जलविद्युत् आयोजनाको पूर्वाधार निर्माणका लागि विद्युत् विकास विभागले सम्बन्धित प्रवर्द्धक कम्पनीलाई अनुमति दिएको जनाएको छ।

धवलागिरि–४ का वडाध्यक्ष यामबहादुर घर्तीले वातावरणीय परीक्षण र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेका आयोजनाहरूले स्थलगत सर्वेक्षण, वित्तीय स्रोत व्यवस्थापन र विद्युत् खरिद–बिक्री प्रक्रियामा रहेका जानकारी दिए।

उनका अनुसार चौध दशमलव ७० मेगावाटको मुदीखोला, २० मेगावाटको कुनबानखोला, तीन दशमलव ४५ मेगावाट क्षमताको सिम्कोश, १२ दशमलव ७३ मेगावाट क्षमताको अपर मुदी, नौ दशमलव पाँच मेगावाटको म्याग्दीखोला (बि) र चार दशमलव छ मेगावाट क्षमताको तिरिजाखोला जलविद्युत् आयोजना निर्माण र सर्वेक्षणका लागि विद्युत् विकास विभागबाट विभिन्न प्रवर्द्धक कम्पनीले अनुमति लिएका छन्।

म्याग्दी नदी र सहायक खोलाहरूमा निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत्लाई केन्द्रीय ग्रिडमा जोड्ने उद्देश्यले नेपाल विद्युत् प्राधिकरणले मालिका गाउँपालिका–७ डाँडाखेतमा सबस्टेसन निर्माण अन्तिम चरणमा पुर्याएको छ।

आयोजना प्रमुख रोशन अग्रवालले ८५ प्रतिशत भौतिक प्रगति भएको डाँडाखेत सबस्टेसनको काम आगामी तीन महिनाभित्र सम्पन्न गर्ने लक्ष्यसहित १३३-३३ केभी, ३० एमभिए क्षमता र एआइएस प्रविधिको उपकरण जडान गर्न थालिएको जानकारी दिए।

डाँडाखेतबाट रघुगङ्गा गाउँपालिका–३ राहुघाटको अम्वाङ जोड्ने २५ किलोमिटर १३२ केभी क्षमताको प्रसारणलाइन र दुवै ठाँउमा सबस्टेसन निर्माणका लागि सन् २०२१ को डिसेम्बर ३१ मा २६ मिलियन अमेरिकी डलरमा ठेक्का सम्झौता भएको थियो । गत जुलाई १६ मा सकिएको ठेक्का सम्झौताको म्याद सन् २०२५ को नोभेम्बर १६ सम्म थप भएको छ।

गण्डकी प्रदेशसभाका सांसद रेशमबहादुर जुग्जालीले २२० केभी क्षमताको दाना सबस्टेसन निर्माण र १३२ केभी क्षमताको डाँडाखेत–राहुघाट सबस्टेसन तथा प्रसारणलाइनको कामले गति लिन थालेपछि कालीगण्डकी, म्याग्दी, राहुघाट र सहायक नदीहरूमा जलविद्युत् आयोजना निर्माणले तीव्रता पाएको बताए।

स्थानीय तहहरुले क्षतिको विवरण संकलन नगर्दा काभ्रेका बाढी पीडितले पाएनन् राहत

ठीक पाँच महिनाअघिको बाढीपहिरोले काभ्रेपलाञ्चोकमा ठूलो जनधनको क्षति पुर्‍यायो। बाढीपहिरोमा परी ७० भन्दा बढीले ज्यान गुमाए भने सयौँ परिवार घरबारविहीन अवस्थामा पुगे ।ज्यान गुमाउनेको परिवारलाई सरकारले तत्काल राहत–रकम प्रदान गर्‍यो। पाँच महिनासम्म पनि स्थानीय तहले लाभग्राहीको सूची नटुङ्ग्याउँदा भने जिल्लाका हजारौँ प्रभावित महिनौँदेखि राहतको पर्खाइमा छन् ।

असोज दोस्रो साताको बाढीपहिरोबाट काभ्रेपलाञ्चोकमा ७९ जनाको मृत्यु भएको छ भने छजना अझै बेपत्ता छन् । गत असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाको बाढीपहिरोले काभ्रेपलाञ्चोकको विभिन्न स्थानीय तहमा जनधनमा क्षति पुर्‍याएको पाँच महिना बितिसक्दासमेत स्थानीय तहले क्षतिको यकिन विवरण तयार नगर्दा सरकारले दिन लागेको अल्पकालीन राहत–रकम प्रदान गर्न नसकिएको हो ।

जिल्ला विपद् व्यवस्थापन समिति काभ्रेपलाञ्चोकले गत कात्तिक अन्तिम साता नै बाढीपहिरोले जनधनको क्षति पुर्‍याएकोबारे छिटो पूर्ण विवरण पठाउन स्थानीय तहलाई निर्देशन दिएको थियो ।

समितिले स्थानीय तहका जनप्रतिनिधि तथा प्रमुख प्रशासकीय अधिकृतहरुलाई निर्देशन दिँदै क्षतिको पूर्ण विवरण उपलब्ध नगराउँदा तत्कालीन राहत तथा पुनर्वासका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत आउने सरकारी राहत उपलब्ध गराउन नसकिएको जनाएको थियो ।

प्राधिकरणको ‘वेबसाइट’मा ‘क्षतिको पूर्ण विवरण इन्ट्री’ गरी काभ्रेपलाञ्चोक प्रशासन कार्यालय तथा जिल्ला विपद् व्यवस्थापन समितिमा विवरण बुझाउन निर्देशन दिएको सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले बताए । उनका अनुसार स्थानीय तहले उक्त विवरण पठाइसकेपछि मात्रै तल्कालीन राहत तथा पुनर्वासको कार्यक्रम सुरु हुनेछ । बाढीपहिरो पिडीतलाई जाडोयाम तथा हिउँदमा थप कष्ट हुने भएकाले तत्काल क्षतिको विवरण पठाउन पटकपटक भनिएको श्रेष्ठले बताए ।

समितिको पटकपटकको बैठकले विपद् पीडित उद्धार र राहतसम्बन्धी (सातौं संशोधन) मापदण्ड २०७७ बमोजिम विपद्बाट घर, बहाल, आवास नष्ट भएका वा खाद्यान्न–बाली तथा जग्गा जमिन वा पसल व्यवसायसमेत नोक्सानी भई तत्काल गुजाराका लागि खाद्यान्नसमेत नभएका वा दुवै अवस्थामा पीडित परिवारलाई यथाशीघ्र प्रतिपरिवार पाँच जनासम्मको हकमा रु १५ हजार र सोभन्दा बढी सदस्य भएको हकमा रु २० हजारका दरले नगद जिल्ला विपद् व्यवस्थापन कोषबाट उपलब्ध गराउने निर्णय गरिसकिएको छ।

समितिद्वारा अस्थायी आवास निर्माणका लागि रु ५० हजार उपलब्ध गराउने मापदण्ड अनुसारको विवरणसमेत स्थानीय तहसँग माग गरिएको हो। ‘स्थानीय तहलाई क्षतिको पूर्ण विवरण उपलब्ध गराउन पटकपटक अनुरोधसहित पत्राचार गरेका छौँ,’ श्रेष्ठले भने ।

उनका अनुसार सरकारले प्रारम्भिक क्षतिका आधारमा वर्गीकरण गरी पठाएको स्थानीय तहस्तरको अनुदान भने कार्यालयले कात्तिक १४ गते नै पठाइसकेको थियो । प्राधिकरणको पत्रसहित नेपाल सरकारबाट सङ्कटग्रस्त क्षेत्र घोषणा भएका स्थानीय तहलाई रकम उपलब्ध गराइएको हो। काभ्रेपलाञ्चोकको १३ स्थानीय तहमध्ये ११ तहमा रु नौ करोड २५ लाख अनुदान उपलब्ध गराइएको कार्यालयले जनाएको छ ।

यस्तै, सङ्घीय सरकारका तर्फबाट ज्यान गुमाएका परिवारलाई यसअघि नै प्राप्त रु दुई लाखका दरले रकम उपलब्ध गराइसकिएको कार्यालयले जनाएको छ । प्राधिकरणले पछिल्लोपटक माघ १३ गते विपद् प्रभावित स्थानीय तहलाई पत्राचार गरी अस्थायी आवास निर्माणका लागि तत्कालै लाभग्राहीको विवरण उपलब्ध गराउन भनेको छ।

शाखा अधिकृत बद्रीप्रसाद अर्यालका अनुसार निजी आवास पूर्ण रुपमा क्षतिग्रस्त भई वा आंशिक रुपमा क्षतिग्रस्त भए तापनि बसोबास गर्न नमिल्ने लाभग्राहीको अस्थायी आवास निर्माण गर्नका लागि प्राधिकरणबाट भएका ताकेता अझै कार्यान्वयन हुन सकेको छैन ।

क्षतिग्रस्त निजी आवासका लाभग्राहीको अस्थायी आवास निर्माणको गति अत्यन्तै सुस्त भएको, जाडोको मौसम चलिरहेको र निकट भविष्यमा हावाहुरी र गर्मीयाम सुरु हुने हुँदा निज अस्थायी आवासका लाभग्राहीले थप कठिनाइ भोग्नुपर्ने अवस्था आउन नदिन शीघ्र विपद्बाट प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण अनुदान मापदण्ड, २०८१ को दफा ३ बमोजिम लाभग्राही कायम गर्ने व्यवस्था मिलाउन’ अनुरोधसहित पत्रमा उल्लेख गरिएको छ ।

नमोबुद्ध नगरपालिकाको ८४५ बाढीपहिरो पीडितलाई भने गत मङ्सिर पहिलो साता संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) द्वारा प्राप्त सहयोग रकमबाट राहत विरतण गरिएको छ। प्रभावित परिवारलाई युनिसेफले नगरलाई एकमुष्ट रुपमा उपलब्ध गराएको रु एक करोड ५० लाख ४० हजार ५०० बाट नगरले वडागत रुपमा पीडित परिवारलाई प्रदान गरेको हो।

नगरप्रमुख कुन्साङ लामाले युनिसेफबाट प्राप्त आर्थिक सहयोगबाट सबै वडाका विपद् प्रभावितलाई राहत–रकम प्रदान गरिएको बताउनुभयो । नगरका ४५३ प्रतिपरिवारले रु १५ हजार तथा ३९२ परिवारले रु २० हजारका दरले राहत–रकम पाउने पाएका हुन् ।

युनिसेफबाट यस राहत रकम प्राप्त गर्ने परिवारले सङ्घीय सरकारबाट घोषित अल्पकालीन राहत (पाँच जनासम्मको परिवारलाई रु १५ हजार तथा पाँचभन्दा बढी सदस्य भएका परिवारलाई रु २० हजार) भने पाउने छैनन् ।

बाढीपहिरोले नगरका ५३० घर पूर्ण तथा ३१५ घर आंशिक रुपमा क्षति भएको जनाइएको छ । नगरका अनुसार बाढीपहिरोबाट तीन हजार ३८५ जना प्रभावित भएको जनाइएको छ ।

युनिसेफले यसअघि काभे्रपलाञ्चोककै बेथानचोक गाउँपालिकाको दुईवटा वडाका २६९ परिवारलाई उक्त राहत–रकम प्रदान गरेको थियो । यस्तै युनिसेफले केही दिनभित्र मण्डनदेउपुर नगरका करिब ९०० परिवारलाई सो राहत–रकम प्रदान गर्ने जनाएको छ ।

विशेषगरी ठूलो क्षति पुगेका जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित पनौती नगरपालिका तथा बेथानचोक र रोशी गाउँपालिका खोज, उद्धार तथा राहत ब्यवस्थापनपछि पुनर्वास एवं आवास निर्माणका लागि यकिन तथ्याङ्क सङ्कलन कार्यमा लागेको जनाएका छन् । यी स्थानीय तह जिल्लाका १३ स्थानीय तहमध्ये अति प्रभावित क्षेत्रमा पर्दछन् ।

कृषि–पशु, शिक्षा, सडक, सञ्चार तथा विद्युत्का क्षेत्रमा क्षति पुर्‍याउँदा स्थानीय नागरिकले कष्टकर जीवन बिताउन बाध्य बन्नुपरेको हो । घटनाको पाँच महिना बितिसक्दा पनि जिल्लामा मानवीय क्षतिबाहेक अन्य विविध क्षतिबारे पूर्ण विवरण सङ्कलन हुन सकेको छैन ।

जिल्लाको बनेपा र धुलिखेल नगरबाहेक ११ स्थानीय तहलाई नेपाल सरकारले सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । १३ स्थानीय तहमा कुन स्थानीय तहमा कति क्षति भयो भन्ने आधिकारिक विवरण जिल्लास्थित कुनै पनि सरकारी निकायसँग छैन ।

जिल्ला प्रशासन कार्यालयको प्रारम्भिक विवरणअनुसार भने जिल्लामा दुई हजार ८४४ घर पूर्ण र छ हजार ४६ घरमा आंशिक क्षति पुगेको छ। त्यस्तै, तीन हजारदेखि तीन हजार ५०० घर पुनःनिर्माण गर्नुपर्ने देखिएको प्रारम्भिक विवरणमा उल्लेख गरिएको छ। तीन दर्जन सरकारी भवन तथा सोही सङ्ख्यामा सार्वजनिक भवन पूर्णरुपमा क्षति भएको जनाइएको छ।
यस्तै, बाढीपहिरोबाट प्रभावित रोशी गाउँपालिकाको एक हजार २३० पीडित परिवारलाई विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले राहत रकम प्रदान गरेको छ । बाढीपहिरोमा परी यस गाउँपालिकामा १२ जनाको ज्यान गएको थियो भने ४८२ घर पूर्ण रुपमा तथा ८८३ घर आंशिक रुपमा क्षति पुगेको थियो ।

डब्लुएफपीले पीडितपरिवार सङ्ख्याका आधारमा राहतस्वरुप नगद नै सम्बन्धित लाभग्राहीको बैङ्क खातामा पठाएको गाउँपालिकाका अध्यक्ष दिनेश लामाले जानकारी दिनुभयो । उहाँका अनुसार डब्लुएफपीले नेपाल सरकारको बाढीपहिरो पीडितलाई परिवार सङ्ख्याका आधारमा दिने नीतिअनुसार रु १५ हजार तथा रु २० हजार नगद राहत प्रदान गरको जनाइएको छ ।

त्यसो त, बाढीपहिरोका कारण जिल्लामा जनधनको ठूलो क्षति भएपछि राहत तथा पुनर्वासका लागि यहाँका स्थानीय तहले चालु आर्थिक वर्षको बजेट नै खुम्च्याए । यसका लागि केहीले विशेष अधिवेशनसमेतको आयोजना गरी चालु आर्थिक वर्ष २०८१-८२ को योजना तथा बजेट संशोधन गरेका हुन् ।

पनौती नगरपालिकाको गत पुस दोस्रो साताको १६औँ नगरसभा चालु आवका लागि विनियोजित बजेटमध्ये रु ४६ करोड बजेट कटौती गर्ने निर्णय गर्‍यो । चालु आवका लागि विनियोजित रु एक अर्ब ६० करोडको बजेटमा संशोधन गरी रु एक अर्ब १४ करोडका खुम्च्याइएको हो । रु ४६ करोड बजेट योजनासहित कटौती गरिएको तथा केही विपत्तिका लागि नयाँ योजना थपिएको नगर प्रमुख रामशरण भण्डारीले बताए ।

उनका अनुसार सभाले सङ्घीय सरकार, प्रदेश सरकार, राजस्व बाँडफाँट, आन्तरिक स्रोत तथा जनसहभागिताका योजनामा विनियोजन गरिएको बजेट कटौती गरिएको हो । विपद् प्रतिकार्यका रु ११ करोड ७३ लाख ७५ हजारका कार्यक्रम समावेश गरी रु एक अर्ब १४ करोडको संशोधित बजेट पास भएको हो ।

बाढीपहिरोले पनौतीमा एक विदेशी नागरिकसहित १९ जनाको मृत्यु भएको थियो । उक्त घटनामा एकजना बेपत्ताको अवस्थामा रहेका छन्भने ५८६ घर पूर्ण क्षति तथा ९४४ घरमा आंशिक क्षति पुगेको नगरले जनाएको छ ।

यस्तै, सडक, सिँचाइ, खानेपानी, पुललगायतका पूर्वाधार एवं संरचनामा क्षति पुगेका छन् । यसैगरी पुस पहिलो साता नै धुलिखेल नगरले पनि सोह्रौँ अधिवेशनमा विशेषसभाको आयोजना गरी बाढीपहिरोका कारण नगरका विभिन्न वडामा भएको क्षति र त्यसपछि भएको खोज तथा उद्धार, उपचार र पुनर्निर्माणका लागि नगरले आवश्यक बजेट विनियोजन गर्न चालु आवको ७५ वटा योजनाको बजेट संशोधन गर्ने निर्णय गरेको थियो ।

नगर प्रमुख अशोक ब्याञ्जूका अनुसार उक्त नगरसभाले नगरको कर्मचारी व्यवस्थापनसम्बन्धी (विशेष) विधेयक, नगरको जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न बनेको विधेयक २०८१, आर्थिक ऐन तथा राजस्वका दररेट संशोधन गर्ने निर्णय गरिएको हो ।

यस्तै सभाले पूर्वाधार, खानेपानी, भवन, आवास तथा सहरी विकास, वडा विशेष अनुदान, नगरस्तरीय भैपरी योजना, समपूरक तथा साझेदारी सङ्घ र प्रदेशका योजनामा विनियोजित बजेटमा २० प्रतिशत कटौती गर्ने निर्णय गरिएको जनाइएको छ ।

त्यसअघि विशेष अधिवेशनको आयोजना गरी जिल्लास्थित रोशी र बेथानचोक गाउँपालिकाले विपद् प्रभावितको राहत, पुनःस्थापना एवं पुनर्वासका लागि चालु आवको बजेट संशोधन गरी विपद् कोषमा बजेट व्यवस्थापन गरेका छन् ।

 

 

सांसदद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद डोरप्रसाद अर्यालले नेपाल विद्युत् प्राधिकरणले समयमा विद्युत्का पोल एवं तार मर्मतसम्भार नगर्दा धादिङ, गजुरी क्षेत्रमा समस्या भएकाले छिटो समाधान गर्न माग गरे ।

सांसद दामोदर वैरागी पौडेलले पोखरा महानगरपालिका र माछापुच्छ्रे क्षेत्र जोड्ने पक्की पुल बनाउन माग गरे । त्यस क्षेत्रका सडकको स्तरोन्नति गरिनुपर्नेमा पनि उनको जोड थियो ।

सांसद दीपकबहादुर सिंहले स्वास्थ्यमा उच्च शिक्षा हासिल गरेका जनशक्तिले स्वदेशमै काम गर्ने अवसर पाउने गरी व्यवस्था मिलाउन माग गरे । सांसद दीपा शर्माले बाँकेको राँझा क्षेत्रमा सडक र पुल जीर्ण भएकाले बनाउने वातावरण बनाइदिन सरोकार भएका निकायको ध्यानाकर्षण गराइन् ।

यसैगरी सांसद नागिना यादवले हावाहुरीको समय सुरू हुन लागेकाले विपद् व्यवस्थापन एवं पूर्व तयारीको योजना बनाउन माग गरे । सांसद नारायणप्रकाश साउदले महाकाली सिँचाइ आयोजना तेस्रो सञ्चालन गराउने क्रममा जग्गा अधिग्रहण गरिएकामा केही किसानले अझै मुआब्जा नपाएकाले छिटो दिन माग गरे ।

सांसद नारायणी शर्माले सुशासन हुने वातावरण बनाउन माग गरे । सुशासनको मुद्दा देशव्यापी बन्नुपर्ने उनको भनाइ थियो । सांसद निर्मला कोइरालाले बीरगञ्जमा निर्माण भएको रङ्गशाला खण्डहर बनेको उल्लेख गर्नुहुँदै दातृ निकायसँग सहयोग लिएर भए पनि रङ्गशाला बनाउनुपर्नेमा जोड दिइन् ।
सांसद निशा डाँगीले डिजिटल कारोबार निःशुल्क गरिनुपर्नेमा जोड दिँदै छ महिनाअघि प्रधानमन्त्रीले डिजिटल कारोबार निःशुल्क गर्ने प्रतिबद्धता जनाएकामा कार्यान्वयन नभएको बताए ।

सांसद पुष्पबहादुर शाहले भारतको सुरतमा अछामका एक नेपाली बालिकाको बलात्कार भई २८ हप्ताको गर्भ रहेकाले बलात्कारमा संलग्न ती नेपालीलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरिन् । सांसद पूर्णबहादुर घर्तीमगरले नेपाल अमेरिका दुई देशबीच भएको सम्झौता गलत भन्ने टिप्पणी अमेरिकी राष्ट्रपतिबाट भएकाले त्यसको संसदीय छानबिन गर्न माग गरे ।

सांसद प्रतीक्षा तिवारीले स्वदेशमै नेपाली विद्यार्थीले शिक्षा हासिल गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिइन् । सांसद प्रभु हजाराले वीरगञ्जको पुरानो ठाकुरराम बहुमुखी क्याम्पसको भौतिक सुधारको माग गरे ।
यस्तै सांसद प्रेमबहादुर महर्जनले भारतको ओडिसामा नेपाली विद्यार्थी प्रकृति लम्सालको घटनापछि नेपाली विद्यार्थी भारतमा बसेर पढ्ने अवस्था नरहेकाले पढिरहेको शिक्षालयमा बसेर पढ्ने वातावरण बनाउन माग गरे ।

सांसद प्रेम सुवालले धेरै प्रदूषण गर्ने राज्यले क्षतिपूर्ति तिराउने व्यवस्था गराउन सरकारले पहल गर्नुपर्ने बताए । सांसद विन्ध्यवासिनी कंसाकारले साइबर सुरक्षा सुदृढ बनाउन माग गरिन् ।

सांसद वासुदेव घिमिरेले क्युआर कोडबाट थोरै भुक्तानी गर्दा धेरै सेवा शुल्क लाग्ने व्यवस्था हटाउनुपर्नेमा जोड दिए । सांसद विनिता कठायतले समृद्धिका नाममा झुठको खेती नगर्न माग गरिन् । सांसद विमला सुवेदीले नेपाल ग्रे लिष्टमा परेकाले त्यसबाट हट्ने गरी काम गर्न माग गरिन् ।

 

स्वास्थ्य बीमा हटाउने होइन, व्यवस्थित गर्ने हो –मन्त्री पौडेल

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमामा देखिएका विकृति हटाउने गरी काम भैरहेको र दुई चरणमा काम भैसकेको बताएका छन् । स्वास्थ्य बीमा कार्यक्रममा सुधारका लागि सुझाव दिन गठित कार्यदलले प्रतिवेदन बुझाएको र सोही आधारमा कार्य योजना निर्माण गरेर सुधारका काम अघि बढिरहेको बताएका छन् । संसद भवनबाट बाहिरिने क्रममा मन्त्री पौडेलले स्वास्थ्य बीमा ऐनमा कार्यक्रम प्रभावकारी बनाउन केही नीतिगत सुधार गरिएको र बाँकी कार्ययोजना अनुसारका काम कार्यान्वयनका लागि प्रयास भैरहेको बताए ।

केही दिनअघि एक कार्यक्रममा यही विषयमा विकृतिका उदाहरण सहित मन्त्री पौडेलले बोलेको अभिव्यक्ति मध्ये यसरी सकिंदैन भन्ने क्लिपहरु मात्र अहिले सञ्चारमाध्यममा भाइरल बनेकामा यता मन्त्री पौडेलको सचिवालयले पूरा भिडियो हेरेर मात्र धारणा बनाउन आग्रह गरेको छ । मन्त्री पौडेलले बीमामा विकृति देखिएका कारण विनियोजित बजेटले खर्च नधान्ने अवस्था रहेकामा विकृति हटाउँदै नीतिगत सुधार गर्ने काम भैरहेको बताएको सचिवालयले उल्लेख गरेको छ ।
‘गलत अर्थ लगाउने गरी भिडियो काटेर सामाजिक सञ्जालमा भाइरल बनाउन खोजिएको देखिन्छ,’ सचिवालयले प्रेस नोटमा भनेको छ, ‘सोही आधारमा भ्रम सिर्जना गर्न खोजिएको देखियो ।’

मन्त्री पौडेलले अहिलेकै स्थितिबाट यो चल्दैन त्यसैले अब यो हटाउने भन्ने नभइ यसलाई व्यवस्थित गर्न खोजिएको हो यसलाई व्यवस्थित गर्न दुई चरणको काम गरि सक्यौ भनेर मन्त्री पौडेलले भनेको पुनः प्रष्ट पारिएको छ ।

कांग्रेस सत्ता र सरकारका लागि बेइमानी गर्दैन – महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान सत्ता गठबन्धन पूरा कार्यकाल टिक्ने दाबी गर्नुभएको छ । प्युठानमा सोमबार आयोजित पार्टीको आमसभालाई सम्बोधन गर्दै उहाँले कांग्रेसले एमालेसँग गरेको समझदारी अनुसार सरकार २०८४ सालसम्म सञ्चालन हुने स्पष्ट पार्नुभयो ।

“अबको तीन वर्ष सरकार स्थिर रूपमा सञ्चालन गर्छौं । कुनै चकचक गर्दैनौं, उपद्रो गर्दैनौँ । कांग्रेस सत्ता र सरकारका लागि बेइमानी गर्दैन,’’ उहाँले भन्नुभयो । महामन्त्री थापाले सरकार विधि र कानुनअनुसार सञ्चालन हुने बताउँदै भन्नुभयो, “यदि सम्झौता गर्नैपर्ने अवस्था आयो भने कांग्रेस सरकार छोड्न तयार छ । प्रजातान्त्रिक अधिकारमाथि कुनै सम्झौता हुँदैन ।’’

उहाँले कांग्रेस र नेकपा एमालेबिचको सम्बन्ध बराबरीको हुने बताउँदै थप्नुभयो, “हामी न त एमालेलाई हेप्छौं, न त आफू हेपिन तयार छौं। केन्द्रदेखि जिल्ला तहसम्म समान व्यवहार हुनुपर्छ । कुनै दुर्व्यवहार भए सहेर बस्दैनौँ । हामी अबको ३६ महिना विधि, शासन र परिणाममुखी सरकार सञ्चालन गर्न चाहन्छौं । यो समयको अधिकतम उपयोग गर्ने लक्ष्य छ ।’’

बिगतका दशकहरू शान्ति प्रक्रिया र संविधान कार्यान्वयनमा बितेको उल्लेख गर्दै महामन्त्री थापाले २०८० देखि २०९० लाई विकास र निर्माणको दशक बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

“यो दशक रोजगारी सिर्जना, नेपाली आमाबुवालाई खुसी दिने, गरिबी र बेरोजगारी घटाउने दशकको रूपमा स्थापित गर्नुपर्छ । कांग्रेससँग योजना, भिजन, र सङ्कल्प छ,’’ उहाँले भन्नुभयो । यस्तै महामन्त्री थापाले पार्टीको १५औँ महाधिवेशन र २०८४ को निर्वाचनका सन्दर्भमा आवश्यक छलफलको समय नआइसकेको पनि स्पष्ट पार्नुभयो ।

 

मन्त्री पाण्डेको नेतृत्वमा पशुपतिमा प्रभातफेरी, दर्शनलाई सहज बनाउन निर्देशन

महाशिवरात्रीको पूर्वसन्ध्यामा पशुपतिनाथ मन्दिर परिसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको नेतृत्वमा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ।

सोमबार पशुपति क्षेत्र विकास कोषको आयोजना गरिएको प्रभातफेरीमा सहभागी हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण चौधरीका साथमा मन्त्री पाण्डे बिहान पशुपतिनाथ मन्दिर पुगेका हुन्।

प्रभातफेरीमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहभागी भएका थिए। पशुपति क्षेत्र विकास कोषको आयोजना भएको प्रभातफेरीमा कोषका पदाधिकारी, संस्कृत विद्याश्रमका विद्यार्थी, गुरुवर्ग र स्थानीयको सहभागिता थियो। पशुपतिको मूलढोकाबाट सुरु भएको प्रभातफेरि पिंगलास्थान, गौशाला र जयबागेश्वरी हुँदै मन्दिर परिसर परिक्रमा गरी पुनः मन्दिरको मूलढोकामा नै पुगेर समापन भएको थियो। प्रभातफेरीपछि मन्दिर परिसरको निरीक्षण गर्दै मन्त्री पाण्डेले पशुपति पुग्ने भक्तजनहरूलाई सहज दर्शनको व्यवस्था मिलाउन कोषलाई निर्देशन दिए। महाशिवरात्रीको पूर्वसन्ध्याको सोमबारमा पशुपति मन्दिरमा दर्शनार्थीको घुइँचो थियो। दर्शनार्थीहरूलाई असुविधा नहोस् भनेर मन्त्री पाण्डे मूल मन्दिर परिक्रमा गरेर मात्र फर्किएका थिए।

यसैबीच कोषले महाशिवरात्रिका लागि सबै तयारी पूरा भएको जानकारी दिएको छ। बुधबार ९फागुन १४०गते परेको महाशिवरात्रीमा नेपाल र भारतलगायतका देशबाट साधुसन्तहरू आउने क्रम जारी छ। साधुसन्तका लागि खानेबस्ने सुविधाको प्रबन्ध गरिएको छ। शिवरात्रि ९फाल्गुण कृष्ण चतुर्दशी०मा आउने साधुसन्तलाई धुनीका लागि आवश्यक सबै प्रबन्ध मिलाइएको छ। शिवरात्रीको भोलिपल्ट औँसीका दिनमा उनीहरूलाई दक्षिणासहित बिदा गरिनेछ।

महाशिवरात्रीको अवसरमा पशुपतिनाथमा मेला लाग्ने गर्दछ। पशुपति दर्शनका लागि मन्दिर पुग्ने भक्तजनहरूको सुविधाका लागि सम्पूर्ण तयारी पूरा गरिएको कोषले जानकारी दिएको छ।

कांग्रेस सम्पूर्ण जातजातिलाई एकापसमा जोड्ने पार्टी होः महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मुलुकका सम्पूर्ण जातजातिलाई एकआपसमा जोड्ने जिम्मेवार पार्टीका रूपमा कांग्रेस रहेको बताएका छन्। नेपाली कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभागद्वारा आज विराटनगरमा आयोजित ‘राष्ट्र निर्माणमा युवाको योगदान तथा तथ्यमा आधारित प्रचार अभियान’ विषयक अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उनले सबै जातिको पहिचान र मानसम्मानलाई कायम राख्ने मुलुकको ठूलो तथा राष्ट्रिय पार्टी कांग्रेस रहेको प्रष्ट पारे।

महामन्त्री थापाले मुलुकमा देखिएका विभिन्न समस्याको उत्तेजना र क्षणिक लाभबाट मुक्त रही उपयुक्त समाधान निकाल्न कांग्रेसले विगतदेखि वर्तमानसम्म जिम्मेवारी वहन गरेको विचार राखे। आगामी २०८४ सालको निर्वाचनमा जाँदा कार्यकर्ताले विगत तीन वर्षमा गरेको कामको उपलब्धि लिएर जनतासमक्ष जान उनले आग्रह गरे।

उनले कांग्रेसको नेतृत्वमा रहेको सरकारले विसं २०४८ देखि २०५१ सम्ममा घाटामा रहेका सरकारी उद्योगको निजीकरण गरी मुलुकमा आर्थिक चलायमानका गतिविधि हासिल गरेको दाबी गरे।