Page 176 – Nepalboli

एमाले सचिवालय बैठकद्धारा विभिन्न निर्णयहरु

नेकपा एमालेको आइतबार सम्पन्न सचिवालय बैठकले ८ बुँदे निर्णय गरेको छ। प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टी कार्यालय च्यासलमा बसेको बैठकले ८ बुँदे निर्णय गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

जसअनुसार बैठकले जनसङ्गठन समन्वय सम्बन्धी निर्देशिकामा संशोधनबारे आवश्यक निर्णय गरेको छ । जनसङ्गठन समन्वय संयन्त्रले प्रस्ताव गरे बमोजिम जनसङ्गठनको केन्द्रीय कमिटीको अधिकतम सङ्ख्या क्रमशः १५० र ९९ मा सीमित गर्ने निर्णय भएको छ । यस्तै जनसङ्गठनको हालको अधिकतम १७ पदाधिकारीहरूको सङ्ख्या घटाई ९ मा सीमित गर्ने, अध्यक्ष र महासचिवका अतिरिक्त उपाध्यक्ष महिला सहित २, उपमहासचिव १ र संगठन– प्रचार– विदेश र कोषको जिम्मेवारी तोकेरै सचिव (कोषाध्यक्ष भएमा सो सहित) को सङ्ख्या ४ मा सीमित गर्ने निर्णय भएको छ ।

यसैगरी स्थानीय तहका प्रमुख÷अध्यक्ष तथा उपप्रमुख÷उपाध्यक्षहरूको कार्यशाला आगामी चैतमहिनाभित्र सम्पन्न गर्ने, केन्द्रीय प्रचार तथा प्रकाशन विभागको सचिवमा गणेश पाण्डे (लमजुङ) र स्थानीय विकास विभाग सचिवमा नवराज गेलाल (भक्तपुर) लाई मनोनयन गर्ने निर्णय समेत बैठकले गरेको छ ।

यसैगरी अप्रिल २२ (बैशाख ९, २०८२) पार्टीको ७६औँ स्थापना दिवस भव्य रूपमा मनाउने एमालेले निर्णय गरेको छ ।

यस्तै सुदूरपश्चिम प्रदेश कमिटी सदस्यमा मनोनयनका लागि आएका नामहरू बैठकले अनुमोदन गरेको छ । सो अनुसार, जयन्त स्वार (अछाम) रामबहादुर बुढा (अछाम), नन्दसिंह कठायत (अछाम) र अमर विक (अछाम) प्रदेश कमिटी सदस्य मनोनयन भएका छन् । यस्तै बैठकले शोक प्रस्तावहरू पनि पारित गरेको गौतमले बताए ।

 

अर्थतन्त्र सुधारबारे पूर्व अर्थसचिवसँग छलफल

अर्थ मन्त्रालयले पूर्व अर्थ सचिवसँग अर्थतन्त्र सुधारबारे छलफल गरेको छ। पूर्व अर्थ सचिवले अर्थतन्त्रमा थप सुधारका लागि बोल्ड कदम चाल्न सुझाव दिएका छन्। अर्थ मन्त्रालममा आयोजित कार्यक्रममा उनीहरुले प्रतिफल नदिने आयोजनामा निर्मतापूर्वक कैची चलाउन, ठूला आयोजनामा केन्द्रित हुन, वित्तीय संघीयतालाई प्रभावकारी बनाउन, पूँजीगत खर्चका लागि सम्बन्धित मन्त्रालय र विभागहरुलाई उत्तरदायी बनाउन, संघ, प्रदेश र स्थानीय तहबीच समन्वय बढाउनुपर्ने सुझाव दिएका छन्।

त्यसैगरी चालू खर्चमा मितव्ययिता अपनाउन, आन्तरिक स्रोतलाई वृद्धि गर्न, राष्ट्रिय गौरवका आयोजनाहरुमा खर्चलाई प्रभावकारी बनाउन, अनौपचारिक अर्थतन्त्रलाई न्यूनीकरण गर्न सुझाव दिएका छन्। पूर्व अर्थ सचिवले बीमा, सहकारी, पूँजीबजार र संस्थानहरुलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिएका छन्। सम्पत्ति शुद्धिकरण र अनुसन्धान विभागलाई अर्थ मन्त्रालय मातहत ल्याउनु पर्ने उनीहरुको भनाइ छ।

वैदेशिक सहयोगमा सहयोग र ऋण भन्दा लगानीमा जोड दिनुपर्ने, जलवायु वित्तलाई जोड दिनु पर्ने, तथ्यपरक र कार्यान्वयन गर्ने गरी बजेट ल्याउनुपर्ने पनि पूर्व सचिवको सुझाव छ।

सामाजिक सुरक्षाबारे समीक्षा गरी एकीकृत गर्न, रुग्ण उद्योगलाई अध्ययनका आधारमा हटाउन, कर छुट दिँदा विचार गर्न, राजस्व परिचालनका क्षेत्रमा थप विकल्प खोज्न, बजारमा तरताल बढाउन, राज्यलाई दीर्धकालीन दायित्व पर्ने क्षेत्रमा विशेष ध्यान पुर्याउन पनि अर्थ मन्त्रालयलाई सुझाव दिएका छन्।

त्यसैगरी वैकल्पिक वित्त व्यवस्थापनलाई प्राथमिकता दिन, राजस्वको लक्ष्य महत्वकांक्षी भन्दा यथार्थपरक राख्न, पूँजी खर्च वृद्धि गर्न, वित्तीय नीति र मौद्रिक नीतिबीच तालमेल मिलाउन, तथ्यमा आधारित भएर नीति र बजेट बनाउन, भएका ऐन कानुनको प्रभावकारी कार्यान्वयन गर्न, नीतिगत स्थिरता कायम गर्न, सेवा क्षेत्रमा केन्द्रित हुनुपर्नेमा पनि जोड दिएका छन्।

पूर्व अर्थ सचिवले निजी क्षेत्रलाई सहज हुने गरी व्यवसायिक वातावरण वृद्धि गर्न पनि सुझाव दिएका छन्। कार्यक्रममा पूर्व मुख्य सचिव एवं पूर्व अर्थ सचिव डा। बिमल कोइराला, पूर्व अर्थ सचिव रामेश्वर खनाल, भानु आचार्य, कृष्णहरि बाँस्कोटा, सुमन शर्मा, डा। राजन खनाल, शिशिर ढुङ्गाना, मधु मरासिनी र पूर्व राजस्व सचिवद्वय लालशंकर घिमिरे र रामशरण पुडासैनी सहभागी हुनुहुन्थ्यो।

अर्थ सचिव घनश्याम उपाध्याय र राजस्व सचिव दिनेशकुमार घिमिरले पूर्व सचिवबाट प्राप्त सुझावलाई ध्यान दिएर अघि बढ्ने बताउनु भएको थियो।

 

 

 

राष्ट्रप्रति समर्पित युवा पहिलो आवश्यकता- प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले अनुशासित र राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता भएको बताउनुभएको छ । आइतबार राष्ट्रिय सेवा दलको दिक्षान्त कवाज समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । उहाँले अनुशासित र राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता भएकाले युवाको महत्त्व मनन गर्न आग्रह गर्नुभयो । उहाँले युवा जगतको चौतर्फी विकासमा सरकार हरेक समउ प्रतिबद्ध रहेको जिकिर पनि गर्नुभयो ।

उहाँले नैतिकवान, क्षमतावान, देशभक्त युवाहरू तयार गरी राष्ट्रको आवश्यकतालाई सहयोग गर्ने उद्देश्यसहित राष्ट्रिय सेवादल स्थापना भएको बताउनुभयो । राष्ट्रिय सेवा दलले राष्ट्रलाई आवश्यक परेको बेलामा तपाईंहरूले निःस्वार्थ सेवा भावबाट समर्पित भई एक सच्चा नेपाली नागरिकका रूपमा महत्त्वपूर्ण र नेतृत्वदायी भुमिका निर्वाह गरेकोप्रति आभार व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, नैतिकवान, क्षमतावान, देशभक्त युवाहरू तयार गरी राष्ट्रको आवश्यकतालाई सहयोग गर्ने उद्देश्यसहित राष्ट्रिय सेवादल स्थापना भएको हो । राष्ट्रलाई आवश्यक परेको बेलामा तपाईंहरूले निःस्वार्थ सेवा भावबाट समर्पित भई एक सच्चा नेपाली नागरिकका रूपमा महत्त्वपूर्ण र नेतृत्वदायी भुमिका निर्वाह गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले विपद्को उच्च जोखिम भएको नेपालमा विपत्तिहरूको समयमा परिचालन गर्नसक्ने तालिमप्राप्त स्वयंसेवक उत्पादन गर्नसक्ने बनाउनु कार्यक्रमको मुख्य ध्येय भएको बताउनुभयो ।

 

पाथीभरा केबुलकारका समस्यालाई सम्बोधन गर्न सरकार प्रतिबद्ध छ- गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले पाथीभरा केबुलकार निर्माण विवादबारे सरकारले वार्ता र संवादको माध्यमबाट समस्याको शान्तिपूर्ण समाधान चाहेको बताउनुभएको छ। राष्ट्रिय सभाको आइतबारको बैठकमा उठेका प्रश्नको जवाफ दिनुहुँदै उहाँले यस्तो बताउनुभएको हो। गृहमन्त्री लेखकले केबुलकार निर्माणको क्रममा देखिएका समस्या समाधान गर्न गृह मन्त्रालयले गठन गरेको वार्ता टोलीले आन्दोलनत पक्षसँग पटकपटक वार्ता गरेको बताउनुभयो।

उहाँले आन्दोलनरत पक्षबाट उठाइएका सांस्कृतिक, धार्मिक तथा स्थानीय समुदायका समस्यालाई सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो। सरकारले शान्तिपूर्ण ढङ्गले समस्याको समाधान गर्ने कुरालाई गम्भीरतापूर्वक लिएको उहाँको भनाइ छ।

उहाँले भन्नुभयो, ‘ताप्लेजुङको पाथीभरा मन्दिर निर्माणका क्रममा देखिएका विवाद र समस्या समाधान गर्न गृह मन्त्रालयले पहलकदमी लिएको छ। सरकार वार्ता र संवादका माध्यमबाट समस्याको शान्तिपूर्ण समाधान चाहन्छ। यसका लागि सम्बन्धित पक्षसँग वार्ता गर्न गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा गत माघ २० गते वार्ता टोली गठन गरिएको र उक्त टोलीले आन्दोलनरत पक्षसँग सहजीकरण गरिराखेको छ।’’

समस्या समाधानका लागि वार्ताटोलीले पटकपटक संवाद गरेको वार्तामा अवरोध भएपछि पुनः वार्ताको आह्वान गरेको र आन्दोलनरत पक्षले उठाएका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको उहाँले प्रष्ट पार्नुभएको हो।

‘‘समस्या समाधानका लागि पटक पटक संवाद भएका छन्। पछिल्लो समय वार्तामा केही अवरोध आएका कारण वार्ताटोलीले आन्दोलनरत पक्षलाई वार्ताका लागि पुनः आह्वान गरेको छ’’, उहाँले थप भन्नुभयो, ‘‘आन्दोलनरत पक्षबाट उठाइएका सांस्कृतिक, धार्मिक तथा स्थानीय समुदायका समस्यालाई सम्बोधन गर्न सरकार प्रतिबद्ध छ।’’

उहाँले हाल पाथीभरा क्षेत्रमा सुरक्षा निकायले उच्च संयमता अपनाएर शान्ति सुरक्षा प्रदान गरिरहेको दाबी गर्नुभयो।

संविधान संशोधन लागि एक महिनाभित्रै कांग्रेस एमालेको संयन्त्र बन्दै- उपसभापति खड्का

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले संविधान संशोधनका लागि एक महिनाभित्रै कांग्रेस र एमालेको संयन्त्र बन्ने बताएका छन् । उनले संविधान संशोधनका विषयमा दुई दलबीच छलफल चलिरहेको भन्दै संयन्त्र बनाएर काम अघि बढ्ने बताए ।

नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा प्रतिनिधिसभा क्षेत्रीय सभापति तथा क्षेत्रीय प्रशिक्षण शाखा प्रमुखको प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको तयारीबारे भैरहवामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उपसभापति खड्काले दुई दलबीच संयन्त्र बनेर छलफल सुरू भएपछि सरकारमा सहभागी र त्यसपछि प्रतिपक्षी दलहरूसँग छलफल थाल्ने बताए । उनले संविधानलाई सबैको साझा, प्रगतिशील र समावेशी बनाउने गरी संशोधनका विषयमा छलफल चलाइने सुनाए ।

फरक प्रसंगमा उनले संसदमा पेश भएको सामाजिक सञ्जालसम्बन्धी विधेयक केही परिमार्जनसहित पारित हुने बताएका छन् । संविधानले दिएको अधिकारलाई रक्षा गर्दै सामाजिक सञ्जालको गलत प्रयोगलाई नियमन गर्न खोजिएको उनको भनाइ थियो ।

 

दुनाटपरी गाँसेर जीविकोपार्जन गर्दै नवलपुरका महिला

नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–१ बगुवनकी धनिसरा सिञ्जाली हिजोआज व्यावसायिक रूपमा दुनाटपरी बनाउन थालेकी छिन् । उमेरले ६१ वर्ष पुगेकी धनिसराले घर खर्चमा मद्दत पुगोस् भनेर केही आम्दानी हुने आशमा दुनाटपरी बनाउन सुरु गरेकी हुन्। वनमा खेर गएको सालको पातबाट जीविकोपार्जनका लागि दुनाटपरीका लागि लाफा बनाएर बिक्री गर्न थालेको उनले बताइन् ।

‘आफूले जानेको सीपलाई घरमा नै बसेर दुईरचार रुपैयाँ आम्दानी हुन्छ कि भन्ने आशा हो, वृद्ध उमेर भए पनि घर खर्च चलाउन छोराबुहारीलाई सहयोग हुन्छ कि भन्ने लागेर दुःख गर्न मन लागेको’, उनले भनिन्, ‘आफ्नो औषधिमुलो गर्न भए पनि खर्च पुग्छ कि भनेर नजिकैको वनबाट पात ल्याएर दुनाटपरी गाँस्ने गरेको छु।’

बगुवनकै केशरी सिञ्जाली पनि हिजोआज सालको पातबाट दुनाटपरी गाँस्न थालेकी छिन्। घरको आर्थिक अवस्था कमजोर भएकाले नुनतेलको जोहो गर्न भए पनि दुनाटपरी बनाउन सुरु गरेको केशरीले बताइन् ।

‘घरको आर्थिक अवस्था त्यस्तै छ, चार जना छोराछोरी छन् पाल्नै परो, श्रीमान्‌को मात्रै कमाइले कति हुन्छ र ? बचेको समयमा काम गरेर केही रकम जोड्न सकिन्छ कि भनेर सुरु गरेको हो’, उनले भनिन् ।

चारैतिरबाट नदी र जङ्गलले घेरिएको बगुवन गाउँमा आर्थिक उपार्जनको दिगो स्रोत नभएपछि स्थानीय महिला सालको पातबाट जीविकोपार्जनको उपाय खोज्न थालेका हुन् । ज्याला मजदुरी र कृषि कर्मबाट फुर्सदको समयलाई सदुपयोग गरी महिलाले घरायसी कामकाजसँगै दुनाटपरी बनाउने गरेका छन् । यहाँका महिला फुर्सदको समयमा जङ्गल गई सालको पात टिपेर ल्याउने र घरमै बसेर लाफा लगाउने कार्यमा व्यस्त रहन्छन् ।

वनबाट ल्याएको सालको पातबाट लाफा बनाएर केही दिन घाममा सुकाएपछि बिक्री गर्ने गरिएको छ । एक सयवटा टपरीको एक मुठा हुन्छ । एक मुठाको रु एक सय ५० प्राप्त हुने स्थानीयको भनाइ छ ।

आयआर्जनको अन्य विकल्प नभएपछि टपरी बनाएर भए पनि केही आम्दानीको उपाय खोजिएको दिनुढेगा मगरले बताए। भौगोलिक अवस्थितिका आधारमा विकट मानिएको बस्तीमा सरकारले केही अवसर सृजना गर्नुपर्ने दिनुको सुझाव छ ।

‘हामीलाई केही सीपसँगै काम दिए हुन्थ्यो भन्ने लाग्छ, नारायणी नदीको डुबान, चितवन राष्ट्रिय निकुञ्जका जनावरको आक्रमण डरले गर्दा हामी सधैँ पीडित भएका छौँ’, उनले भने।

वनजङ्गलमा खेर गएको पातसँगसँगै पातपतिङ्गरबाट जैविक मल उत्पादन गर्ने कार्यक्रममा जोडेर स्थानीय महिलालाई रोजगारी प्रदान गरिने विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरीले बताए ।

विनयी जैविक मल उत्पादन उद्योग सञ्चालन गरिएकाले स्थानीयलाई सहज रोजगारी सृजना हुने अध्यक्ष गिरीको भनाइ छ ।

 

 

 

निजी अमेरिकी अन्तरिक्ष यान चन्द्रमामा अवतरण

अन्तरिक्षमा लामो यात्रापछि एक अमेरिकी कम्पनी साहसी चन्द्रमामा अवतरण गरेको छ । यसको अन्तरिक्ष यान सफल भएपछि यो उपलब्धि हासिल गर्ने दोस्रो निजी अवतरणकर्ता बनेको छ । फायरफ्लाई एरोस्पेसको ब्लु घोस्ट मिशन १ ले आइतबार बिहान ३ः३४ बजे अमेरिकी पूर्वी समय (०८३४ जिएमटी) भन्दा अघि अवतरण गर्ने लक्ष्य राखेको छ । यसले मोन्स ल्याट्रेल नजिकको स्थान, चन्द्रमाको उत्तरपूर्वी नजिकको भागमा मारे क्रिसियममा रहेको एक ज्वालामुखी विशेषतालाई लक्ष्य गरेको छ ।

“ल्यान्डरले वास्तवमै राम्रोसँग व्यवहार गरेको छ”, ब्लु घोस्टका कार्यक्रम प्रबन्धक रे एलेन्सवर्थले अस्टिन, टेक्सासमा मिसन कन्ट्रोलबाट प्रत्यक्ष वेबकास्टमा भन्नुभयो, “हामीसँग कुनै ठूला विसङ्गतिहरू छैनन्, जुन अद्भुत छ ।”

“हामी अमेरिकालाई पहिलो स्थानमा राख्दैछौँ, हामी अमेरिकालाई गर्वित तुल्याउँदैछौँ, हामी यो अमेरिकी नागरिकहरूका लागि गर्दैछौँ”, नासाकी कार्यवाहक निर्देशक जानेट पेट्रोले भन्नुभयो ।

‘घोस्ट राइडर्स इन द स्काई’ को उपनाम दिइएको यो मिशन पहिलो निजी चन्द्र अवतरणको एक वर्षभन्दा अलि बढी समयपछि आएको छ र यो आर्टेमिस कार्यक्रमलाई समर्थन गर्न र खर्च कम गर्न उद्योगसँगको नासा साझेदारीको हिस्सा हो । यो कार्यक्रमले अन्तरिक्ष यात्रीहरूलाई चन्द्रमामा फिर्ता गर्ने लक्ष्य राखेको छ ।

हिप्पोपोटामसको आकारको सुनौलो ल्यान्डर जनवरी १५ मा स्पेसएक्स फाल्कन ९ रकेटमा प्रक्षेपण गरिएको थियो र यसले बाटोमा पृथ्वी र चन्द्रमाको आश्चर्यजनक फुटेज खिचेको थियो । यसले मे महिनामा अवतरण प्रयास गर्ने जापानी कम्पनीको अवतरणकर्तासँग यात्रा साझा गरेको थियो ।

ब्लु घोस्टले १० वटा उपकरणहरू बोकेको छ । यसमा चन्द्र माटो विश्लेषक, विकिरण–सहिष्णु कम्प्युटर र चन्द्रमामा नेभिगेट गर्न विद्यमान ग्लोबल स्याटेलाइट नेभिगेसन प्रणाली प्रयोग गर्ने सम्भाव्यता परीक्षण गर्ने प्रयोग समावेश छ ।

पूर्ण चन्द्र दिन (१४ पृथ्वी दिन) का लागि सञ्चालन गर्न डिजाइन गरिएको ब्लु घोस्टले मार्च १४ मा पृथ्वीले चन्द्रमाको क्षितिजबाट सूर्यलाई रोकेको बेला पूर्ण ग्रहणको उच्च परिभाषा इमेजरी खिच्ने अपेक्षा गरिएको छ ।

मार्च १६ मा यसले चन्द्र सूर्यास्त रेकर्ड गर्नेछ । अपोलो अन्तरिक्ष यात्री युजिन सर्नानले पहिलो पटक दस्तावेज गरेको रहस्यमय चन्द्र क्षितिज चमक सिर्जना गर्दै यसले सौर्य प्रभावमा धुलो सतहभन्दा माथि कसरी उठ्छ भन्ने विषयमा अन्तर्दृष्टि प्रदान गर्नेछ ।

 

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । नेप्से परिसूचक ७५ दशमलव २४ अङ्कले बढेर दुई हजार आठ सय ९० को विन्दुमा कायम भएको छ । जुन दुई दशमलव ६७ प्रतिशतको वृद्धि हो । आज विभिन्न तीन सय दुई कम्पनीका दुई करोड ९१ लाख ६६ हजार छ सय ५६ कित्ता शेयर एक लाख ३९ हजार पाँच सय ९६ पटक खरिदबिक्री हुँदा रू १४ अर्ब २५ करोड चार लाख ७५ हजार सात सय ३६ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा म्युचुअल फन्ड समूहको उपसूचक एक दशमलव २७ प्रतिशतले घटेको छ भने अरू सबै समूहको उपसूचक हरियाली छाएको छ ।

सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह चार दशमलव ७९, जीवन बिमा समूह चार दशमलव ३१, होटल तथा पर्यटन चार दशमलव २८ र वित्त समूह चार दशमलव २८ प्रतिशतले बढेको छ । बैंकिङ दुई दशमलव ५३, विकास बैँक तीन दशमलव ८८, जलविद्युत् एक दशमलव ९८, लगानी तीन दशमलव ०३, लघुवित्त एक दशमलव ३५, निर्जीवन बिमा तीन दशमलव ४१, व्यापार एक दशमलव ०६ र अन्य समूह एक दशमलव ५१ प्रतिशतले बढेको छ ।

हिमालयन डिस्टिलरी लिमिटेड, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स लिमिटेड र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको रू ९७ करोड ५३ लाख ७७ हजार बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै घलेम्दी हाइड्रो लिमिटेडको आठ लाख ७३ हजार पाँच सय ७६ कित्ता शेयर किनबेच भएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ब्लग- ‘एकताको महाकुम्भ, युग परिर्वतनको चाह्ना’

पवित्र सहर प्रयागराजमा महाकुम्भ सफलतापूर्वक सम्पन्न भएको छ। एक महान एकताको महायज्ञ पूरा भएको छ। जब कुनै राष्ट्रको चेतना जागृत हुन्छ, जब त्यो सयौं वर्ष पुरानो पराधीन मानसिकताको साङ्लोबाट मुक्त हुन्छ, तब त्यो नयाँ ऊर्जा लिएर स्वतन्त्र रूपमा श्वास फेर्छ। यही परिणाम हामीले जनवरी १३ देखि प्रयागराजको ‘एकताको महाकुम्भ’मा देख्यौं।

सन् २०२४ जनवरी २२ मा अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठाका क्रममा मैले देवभक्ति र देशभक्तिको बारेमा बोलेको थिएँ। प्रयागराजको महाकुम्भमा देवीदेवता, सन्त, महिला, बालबालिका, युवा, जेष्ठ नागरिक तथा समाजका सबै वर्गका मानिसहरू एकत्रित भए। हामीले राष्ट्रको जागृत चेतना देख्यौं। १ अर्ब ४० करोड भारतीयको भावना एउटै स्थानमा, एउटै समयमा, एक पवित्र अवसरका लागि एक भएको हामीले एकताको महाकुम्भमा देख्यौँ।

एकता, सद्भावना र प्रेमको पवित्र भूमि प्रयागराज क्षेत्रमा श्रृंगवरपुर छ, जहाँ भगवान श्रीराम र निषादराजको भेट भएको थियो। उहाँहरूको भेट भक्ति र सद्भावनाको संगमको प्रतीक थियो। आज पनि प्रयागराजले हामीलाई त्यही भावनाले प्रेरित गरिरहेको छ।

मैले ४५ दिनसम्म देशका हरेक कुनाबाट करोडौं मानिसहरूलाई संगमतर्फ जाँदैगरेको देखेँ। संगममा भावनाको ज्वार उठिरहेको थियो। हरेक भक्त एउटै उद्देश्य लिएर आउनुभएको थियो- संगममा स्नान गर्ने। गंगा, यमुना र सरस्वतीको पवित्र संगमले प्रत्येक तीर्थयात्रीलाई उत्साह, ऊर्जा र आत्मविश्वासले भरिदियो।

प्रयागराजको यो महाकुम्भ आधुनिक व्यवस्थापनका पेसेवर र योजना तथा नीति विज्ञहरूका लागि अध्ययनको विषय हो। संसारमा कतै पनि यति ठूलो उदाहरण छैन।

प्रयागराजस्थित नदीहरूको संगममा करोडौं मानिसहरू कसरी भेला भए भनेर सारा विश्वले आश्चर्यचकित हुँदै हेरे। ती मानिसहरूलाई कुनै औपचारिक निमन्त्रणा थिएन, कुनै पूर्वनिर्धारित सूचना थिएन। तर पनि करोडौं मानिसहरू आफ्नै इच्छाले महाकुम्भमा आए र पवित्र जलमा डुबुल्की लगाएर दिव्य आनन्द महसुस गरे।

पवित्र स्नानपछि अपार हर्ष र सन्तोष झल्काइरहेका ती अनुहारहरू म कहिल्यै बिर्सन सक्दिनँ। महिला, जेष्ठ नागरिक, हाम्रा दिव्यज दाजुभाइ-दिदीबहिनीहरू सबैले कुनै न कुनै तरिकाले संगमसम्म पुग्ने बाटो फेला पारे।

विशेष रूपमा भारतीय युवाको अत्यधिक सहभागिता देखेर म हर्षित भएँ। महाकुम्भमा नयाँ पुस्ताको उपस्थिति एक गहन सन्देश हो – भारतका युवा हाम्रो गौरवशाली संस्कृति र परम्पराका वाहक बन्नेछन्। उनीहरू यसलाई जोगाउने आफ्नो जिम्मेवारी बुझेका छन् र यसलाई अगाडि लैजान प्रतिबद्ध पनि देखिन्छन्।

प्रयागराजमा महाकुम्भका लागि आएका मानिसहरूको सङ्ख्याले निस्सन्देह नयाँ कीर्तिमान बनाएको छ। तर यहाँ भौतिक रूपमा उपस्थित हुन नसकेका करोडौं मानिसहरू पनि भावनात्मक रूपमा यस अवसरसँग गहिरो रूपमा जोडिए। तीर्थयात्रीहरूले घर फर्कँदा ल्याएको पवित्र जल करोडौं मानिसहरूका लागि आध्यात्मिक आनन्दको स्रोत बन्यो। महाकुम्भबाट फर्किएका धेरैलाई त गाउँमा सम्मानपूर्वक स्वागत नै गरियो।

पछिल्ला केही हप्तामा भएका कुराहरू अद्वितीय छन् र यसले आउँदा शताब्दीसम्मका लागि जग बसाएको छ। प्रयागराजमा कसैले अनुमान गरेभन्दा धेरै भक्तजनहरू आएका थिए। प्रशासनले अघिल्लो कुम्भको अनुभवका आधारमा अनुमान लगाएको थियो।

अमेरिकाको जनसंख्याको लगभग दोब्बर मानिसहरू यस एकताको महाकुम्भमा सहभागी भए।

यदि आध्यात्मिक विद्वानहरूले करोडौं भारतीयहरूको यस उत्साही सहभागिताको अध्ययन गरे भने उनीहरूले आफ्नो धरोहरमा गर्व गर्ने भारत अब नयाँ ऊर्जा लिएर अगाडि बढिरहेको पाउनेछन्। मलाई लाग्छ यो नयाँ युगको सुरुवात हो, जसले नयाँ भारतको भविष्य लेख्नेछ।

हजारौं वर्षदेखि महाकुम्भले भारतको राष्ट्रिय चेतनालाई बलियो बनाउँदै आएको छ। प्रत्येक पूर्णकुम्भमा सन्त, विद्वान र विचारकहरू भेला भएर समाजको अवस्था माथि चर्चा गर्थे। उनीहरूको विचारहरूले राष्ट्र र समाजलाई नयाँ दिशा दिन्थ्यो। प्रत्येक छ वर्षको अर्धकुम्भमा यी विचारहरू पुनः मूल्यांकन गरिन्थ्यो। १२ पूर्णकुम्भ अर्थात् १४४ वर्षपछि, पुराना परम्पराहरू परित्याग गरिन्थ्यो, नयाँ विचारहरू अंगालिन्थ्यो भने समयअनुसार अगाडि बढ्नका लागि नयाँ परम्पराहरू स्थापित गरिन्थ्यो।

१४४ वर्षपछिको यस महाकुम्भमा हाम्रा सन्तहरूले फेरि एकपटक भारतको विकास यात्राका लागि नयाँ सन्देश दिएका छन्। त्यो सन्देश हो- विकसित भारत।

यस एकता महाकुम्भमा धनी होस् वा गरिब, युवा होस् वा वृद्ध, गाउँको होस् वा सहरको, भारतको होस् वा विदेशको, पूर्वको होस् वा पश्चिमको, उत्तरको होस् वा दक्षिणको, जात-धर्म र विचारधारा जे भए पनि हरेक तीर्थयात्री सबै एक भए। यो ‘एक भारत, श्रेष्ठ भारत’ को प्रतिक थियो, जसले करोडौं मानिसहरूमा आत्मविश्वास भरेको छ। अब हामी सबै मिलेर विकसित भारत निर्माण गर्ने लक्ष्यमा अघि बढ्नुपर्छ।

सानो बालक हुँदा भगवान श्रीकृष्णले आफ्नी आमा यशोदालाई आफ्नो मुखभित्र सम्पूर्ण ब्रह्माण्ड देखाएको म सम्झन्छु। त्यसैगरी, यस महाकुम्भमा भारत र विश्वले भारतको सामूहिक शक्तिको विशाल सम्भावना देख्यो। अब हामी यस आत्मविश्वासलाई कायम राखेर अघि बढ्नुपर्छ र विकसित भारत निर्माणका लागि समर्पित हुनुपर्छ।

भक्ति आन्दोलनका सन्तहरूले हाम्रो सामूहिक संकल्पको शक्ति पहिचान गरेका थिए। स्वामी विवेकानन्ददेखि श्री अरविन्दसम्म हरेक महान चिन्तकले हामीलाई सामूहिक संकल्पको शक्ति सम्झाएका थिए। महात्मा गान्धीले पनि स्वतन्त्रता आन्दोलनको समयमा यसको अनुभूति गरेका थिए। स्वतन्त्रतापछि यदि यो सामूहिक शक्ति राष्ट्र कल्याणका लागि सही रूपमा प्रयोग गरिएको भए हाम्रो नवस्वतन्त्र राष्ट्रका लागि यो ठूलो शक्ति बन्न सक्थ्यो। दुर्भाग्यवश, त्यो यसअघि हुन सकेन। तर अब म हर्षित छु कि मानिसहरूको सामूहिक शक्ति विकसित भारतका लागि एकत्रित हुँदैछ।

वेददेखि विवेकानन्दसम्म, प्राचीन ग्रन्थदेखि आधुनिक उपग्रहसम्म, भारतका महान परम्पराहरूले राष्ट्र निर्माणमा सहयोग छन्। एक नागरिकका रूपमा म हामी हाम्रा सन्त र पूर्वजहरूको सम्झनाबाट नयाँ प्रेरणा लिन सकौँ भनेर प्रार्थना गर्छु। एकताको महाकुम्भले हामीलाई नयाँ संकल्पका साथ अघि बढ्न मद्दत गरोस्। हामी एकतालाई आफ्नो मार्गदर्शक सिद्धान्त बनाऔं। राष्ट्रसेवालाई नै परम सेवा ठानेर अघि बढौं।

काशीमा मेरो निर्वाचन अभियानको समयमा मैले भनेको थिएँ, ‘मलाई माँ गंगाले बोलाउनु भएको छ।’ यो केवल भावनात्मक कुरा मात्र थिएन, यो हाम्रो पवित्र नदीहरूको सफाइप्रति जिम्मेवारीको आह्वान पनि थियो। प्रयागराजमा गंगा, यमुना र सरस्वतीको संगमस्थलमा उभिँदा मेरो संकल्प अझ बलियो बन्यो। हाम्रो नदीहरूको सफाइ हाम्रो जीवनसँग गहिरो रूपमा जोडिएको छ। ठूलै होस् वा सानो, हामीले नदीहरूको सम्मान गर्नुपर्छ। यस महाकुम्भले हामीलाई आफ्ना नदीहरूको सफाइका लागि निरन्तर काम गर्न प्रेरित गरेको छ।

यति विशाल आयोजन गर्न कुनै सजिलो काम थिएन भन्ने म जान्दछु। यदि हाम्रो भक्ति र समर्पणमा कुनै कमी रह्यो भने म माँ गंगा, माँ यमुना र माँ सरस्वतीसँग क्षमा माग्न छु। म जनतालाई जनार्दनको स्वरूपमा देख्छु। यदि तिनीहरूको सेवा गर्ने हाम्रो प्रयासमा कुनै कमी रह्यो भने, म जनतासँग पनि क्षमा माग्दछु।

करोडौंद्धालुहरू भक्तिभावका साथ महाकुम्भमा सहभागी भए। उहाँहरूको सेवा गर्नु पनि एउटा जिम्मेवारी थियो, जसलाई सोही भक्तिभावका साथ पूरा गर्‍यौँ। उत्तर प्रदेशको सांसदको रूपमा म गर्वका साथ भन्छु कि योगीजीको नेतृत्वमा प्रशासन र जनताले मिलेर एकताको महाकुम्भलाई सफल बनाउनु भयो। राज्य सरकार होस् वा केन्द्र सरकार, यहाँ कुनै शासक वा प्रशासक थिएनन्, सबै एक समर्पित सेवकका रूपमा कार्यरत थिए। सरसफाइ कर्मचारी, प्रहरी, माझी, चालक, भोजन प्रदान गर्नेहरू सबैले अहोरात्र परिश्रम गरे। प्रयागराजका जनताले तिर्थयात्रुहरूलाई गरेको स्वागत पनि विशेष रूपमा प्रेरणादायी छ। म उहाँहरू र उत्तर प्रदेशका जनताप्रति हृदयदेखि कृतज्ञता व्यक्त गर्दछु।

राष्ट्रको उज्ज्वल भविष्यप्रति मेरो विश्वास सधैं अटल छ। यस महाकुम्भको दर्शन गरेर मेरो यो विश्वास अझ बलियो बनेको छ। एकताको महाकुम्भलाई १ अर्ब ४० करोड भारतीयहरूले जुन रूपमा विश्वव्यापी अवसरमा रूपान्तरण गरे, त्यो साँच्चै अद्भुत छ। जनताको समर्पण, भक्ति र प्रयासले मलाई अत्यन्तै प्रभावित गरेको छ। त्यसैले म चाँडै नै १२ ज्योतिर्लिङ्गहरूमध्ये पहिलो श्री सोमनाथको दर्शन गर्न जाँदैछु। जहाँ म यी सामूहिक राष्ट्रिय प्रयासहरूको फल अर्पण गर्नेछु र हरेक भारतीयको कल्याणको लागि प्रार्थना गर्नेछु।

महाशिवरात्रिमा महाकुम्भको भौतिक रूप सफलताका साथ सम्पन्न भएको छ। तर गंगाको अनन्त प्रवाहझैं महाकुम्भले जागृत गरेको आध्यात्मिक शक्ति, राष्ट्रिय चेतना र एकताले हामीलाई पुस्तौंसम्म प्रेरित गरिरहनेछ।

महाकुम्भ सकिए पछि भारतीय प्रधामन्त्री नरेन्द्र मोदीले लेखेको ब्लग हिन्दीमा पढनका लागी याहा क्लिक गर्नुस

भूमि सम्बन्धी अध्यादेश अगाडी वढाए जनआन्दोलन गर्ने उपेन्द्र यादवको चेतावनी

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले भूमि अध्यादेश फिर्ता लिन सरकारसँग माग गरेका छन् । भूमि अध्यादेशबारे छलफल गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सांसद खरिदबिक्री गरेर अध्यादेश पारित गर्नतिर नलाग्न चेतावनी दिए ।

उनले भने, ‘हामीले सरकारलाई स्पष्ट भनेका छौं यो अध्यादेश दाउपेज, जालझेल, सांसद खरिद बिक्रि गरेर अहिले माफियाहरुले भन्छन् रे कति करोड अर्ब चाहिन्छ सांसद किन्नुस् र पास गर्नुस् भनेको सुन्दैछु । त्यो धन्दामा लाग्नुजस्तो देशघाती काम कहिल्यै हुँदैन । सरकारले फिर्ता लिए हुन्छ विगतमा पनि धेरै अध्यादेश फिर्ता लिएको इतिहास छ ।’

उनले सरकारले जालझेल गरेर अध्यादेश पारित गर्न खोजेको जनआन्दोलनको बाटो पक्रिने चेतावनी दिए । उनले सरकार भएकाहरुको नियत भूमिहीनहरुको समस्या समाधान गर्नुभन्दा पनि भूमाफियामार्फत अनुचित लाभमा केन्द्रित हुनेहरुबाट देश नचल्ने बताए ।