Page 175 – Nepalboli

कांग्रेसलाई देशकै ठुलो पार्टी बनाउनुपर्छ- सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा कांग्रेसलाई देशकै ठुलो पार्टी बनाउनेगरी तयारीमा लाग्न पार्टीका नेता र कार्यकर्तालाई निर्देशन दिनुभएको छ । रूपन्देहीमा प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै उहाँले यस्तो निर्देशन दिनुभएको हो । उहाँले नेपाली कांग्रेस आगामी निर्वाचनमा बहुमत ल्याउन नसकेपनि सबैभन्दा ठुलो पार्टी बन्नसक्ने बताउनुभयो । उहाँले पहिलाको भन्दा ठुलो पार्टी बन्नेगरी तयारी गर्न निर्देशन दिनुभयो । नेताहरूबिचका मतभेदहरू छलफलको माध्यमबाट समाधान गरेर पार्टीलाई जीवन्त बनाउनुपर्ने बताउनुभयो ।

सभापति देउवाले भन्नुभयो, ‘‘भोलिको दिनमा हाम्रो पार्टीले बहुमत ल्याउन नसके पनि सबैभन्दा ठुलो, हिजोको भन्दा ठुलो पार्टी बनाउन हामी लाग्नुपर्छ भन्नेकुरा अनुरोध गर्न चाहन्छु । हाम्रो बिचमा अनेक किसिमका मतभेदहरू हुन सक्छन् । ति सबै कुरालाई हामीले आपसमा छलफल गरेर टुङ्ग्याउनुपर्छ । मतभेद छलफलबाट हटाएर पार्टीलाई जीवन्त बनाउनु पर्छ । हाम्रो पार्टीलाई जीवन्त पार्टी बनाउनसके मात्रै हामी अघि बढ्न सक्छौँ ।’’

सभापति देउवाले नेपालको लोकतन्त्र समावेशी र समानुपातिक तथा विपक्षी दलसहितको राम्रो व्यवस्था भएको बताउनुभयो ।

 

‘विकासका लागि काँग्रेस–एमाले सरकार बनेको हो’

नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले देश विकासका लागि काँग्रेस–एमाले नेतृत्वको सरकार गठन भएकोे बताउनुभएको छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) सोलुखुम्बुले सोमबारदेखि आयोजना गरेको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रममा उपमहासचिव ज्ञवालीले एमाले नेतृत्वको सरकारले जनताको हितमा उल्लेखनीय काम गरेको बताउनुभयो ।

देश विकासका लागि एमाले र कांग्रेस मिलेर तीब्र रुपमा काम गरिरहेको उपमहासचिव ज्ञवालीको भनाइ छ । वर्तमान सरकारले नै सहकारीमा फसेका १४ हजारभन्दा धेरै नागरिकको डुबेको रकम फिर्ता गरिसकेको उहाँले स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्रीबाट हटेलगत्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल बंगलादेशजस्तो हुने भन्दै आरोप लगाए पनि अहिले मुलुक विकासको पथमा अघि बढेको नेता ज्ञवालीले बताउनुभयो । प्रचण्डले आफू प्रधानमन्त्रीबाट हटेसँगै कोशी प्रदेशको पुनः नामकरण गर्नुपर्ने भन्दै भ्रमको खेती गरेको उहाँले टिप्पणी गर्नुभयो ।

देशमा विकास भइरहेको भए पनि पछिल्लो समय भ्रमको खेती व्यापक हुन थालेको उहाँको प्रतिक्रिया छ । भौगोलिक हिसाबमा बिकास गर्न कठिन भए पनि देशको ७७ जिल्ला सडक सञ्जालमा जोडिएको उहाँले बताउनुभयो ।

एमालेले देश र जनताप्रतिको भावनाअनुरुप काम गर्ने ज्ञवालीले बताउनुभयो । वर्तमान सरकार आएसँगै देशमा राजस्व सङ्कलनमा समेत वृद्धि भएको उहाँको दाबी छ । त्यस्तै, नागरिक अपडेट रहन पुस्तक पढ्ने बानीको अनिवार्य रूपमा आवश्यकता रहेको ज्ञवालीले बताउनुभयो ।

 

 

सदाचार र योग सभ्य समाजका मेरुदण्ड- राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले नैतिक मूल्य–मान्यता, सदाचार र योग सभ्य समाजको मेरुदण्ड भएको बताउनुभएको छ । सर्वोदय सेवाश्रमद्वारा स्थापित नरकान्त योग राष्ट्रिय पुरस्कार तथा भैरव सदाचार राष्ट्रिय पुरस्कार प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले स्थायित्व, समृद्धि र समतामूलक समाज निर्माणका लागि यी गुणहरू अनिवार्य भएको बताउनुभयो । उहाँले भन्नुभयो–‘‘जब कुनै समाजले नैतिकता, अनुशासन र इमानदारीलाई सम्मान गर्छ, त्यहाँ शान्ति, सहअस्तित्व र सकारात्मक परिवर्तनको जग मजबुत हुन्छ ।’’

राष्ट्रपति पौडेलले प्रकृति र मानवबीचको गहिरो सम्बन्धलाई आत्मसात् गर्दै योग शिक्षा, स्वस्थ जीवनशैली र मानवसेवाका माध्यमबाट समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिने उल्लेख गर्नुभयो ।

उहाँले दुई दशकभन्दा बढी समयदेखि लमजुङमा सक्रिय सर्वोदय सेवाश्रमले योग राष्ट्रिय पुरस्कार तथा भैरव सदाचार राष्ट्रिय पुरस्कार स्थापना गरेर उदाहरणीय काम गरेको बताउनुभयो । उहाँले नेपालको निजामती प्रशासनिक क्षेत्रमा निष्ठा, इमानदारी र कर्तव्य परायणताको उदाहरणीय प्रतिमान स्थापित गर्नुभएका लमजुङ, दुराडाँडाका स्वर्गीय नरकान्त अधिकारी तथा न्याय प्रशासनको क्षेत्रमा उच्चतम इमानदारी, कर्तव्यनिष्ठा र क्षमताको परिचय दिनुभएका सर्वोच्च अदालतका पूर्वन्यायाधीश, सुखौरा, तनहुँ निवासी स्वर्गीय भैरवप्रसाद उपाध्यायको सम्मानमा स्थापित यी पुरस्कारहरू उहाँहरूको योगदानको प्रतीक भएको बताउनुभयो ।

उहाँले नरकान्त योग राष्ट्रिय पुरस्कार प्राप्त गर्नुभएका प्रा डा विद्यानाथ उपाध्यायले नेपाली समाजमा शिक्षाको प्रवर्द्धन, योग तथा अध्यात्मको क्षेत्रमा पुर्‍याउनुभएको योगदान भैरव सदाचार राष्ट्रिय पुरस्कार पाउनुहुने मन्त्रिपरिषद्का पूर्व अध्यक्ष तथा पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मीले न्यायप्रतिको निष्ठा एवम् नेपालको सङ्क्रमणकालीन समयमा देशलाई स्थायित्व प्रदान गर्न उहाँले पुर्‍याउनुभएको योगदान प्रशंसनीय रहेको बताउनुभयो ।

 

 

 

राजनीतिक दलहरुको आय-व्यय शङ्कास्पद

निर्वाचन आयोगमा प्रमुख राजनीतिक दलले बुझाएको आयव्ययको विवरण विश्सनिय द्खिएको छैन । दलहरुले औपचारिकताका लागी आयोगमा बुुझाएको लेखापरिक्षणको विवरण दलहरुको गतिविधीसंग मेल समेत खादैन । आयोगको विवरण अनुसार नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा (एकीकृत समाजवादी) ले कार्यालय सञ्चालन, इन्धन र यातायात तथा भ्रमण एवं कर्मचारीको तलब भत्ता शीर्षकमा अत्यधिक खर्च भएको देखिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले आव २०८०-८१ मा तीन करोड ५३ लाख ४२ हजार ४१४ रुपियाँ कार्यालय सञ्चालन शीर्षकमा खर्च भएको उल्लेख गरेको छ ।

रास्वपाले यातायात र इन्धन शीर्षकमा मात्रै करिब ८५ लाख ८५ हजार ९४५ रुपियाँ खर्च गरेको छ । रास्वपाको इन्धन र यातायात खर्च संसद्को सबैभन्दा ठुलो दल कांग्रेसभन्दा तीन गुणा बढी छ । कर्मचारीको तलबमा रास्वपाले करिब एक करोड खर्चेको छ । सफ्टवेयर खरिदमा ५१ लाख ६४ हजार ४५२ रुपियाँ खर्च गरेको रास्वपाको व्ययको विवरणमा उल्लेख छ ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४२ ले निर्वाचन आयोगले दलको लेखा परीक्षण जाँच गराउन सक्ने व्यवस्था गरेको छ । सो व्यवस्थाबमोजिम आयोगले लेखा परीक्षण प्रतिवेदन परीक्षण गर्न अधिकारी तोक्ने र सम्बन्धित अधिकारीले दलसँग कागजात माग्न सक्ने र त्यस्तो विवरण वा कागजात तोकिएको समयभित्र सम्बन्धित दलले बुझाउनुपर्ने छ ।

नेकपा (एमाले) ले आव २०८०-८१ मा करिब सात करोड ८६ लाख खर्च जनाएको छ । उसले गैरसञ्चालन खर्च शीर्षकमा एक करोड ५९ लाख रुपियाँ खर्च गरेको छ । इन्धन, यातायात र भ्रमण खर्चमा सो दलले करिब ३४ लाख ३६ हजार ६९६ रुपियाँ खर्च गरेको हो । एमालेले अतिथि सत्कार तथा बैठकमा करिब ७५ लाख र सेवा खर्चमा ७९ लाख ६८ हजार रुपियाँ खर्चेको हो ।

सेवा खर्च शीर्षक अनुसूची १५ अन्तर्गत सो दलले विवरणमा उल्लेख गरेको छ तर अनुसूची १५ कर्जासम्बन्धी विवरणसँग सम्बन्धित छ । एमालेले उल्लेख गरेको अनुसूची र खर्चको विवरण नमिलेको पाइएको छ । कर्मचारी पारिश्रमिक तथा कार्यकर्ता शीर्षकमा एमालेले ७१ लाख ८२ हजार खर्च भएको जनाएको छ ।

नेपाली कांग्रेसले आव २०८०-८१ मा तीन करोड १० लाख रुपियाँ खर्च गरेको छ । कांग्रेसले प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको ५० लाख रुपियाँ खर्च अन्तर्गत राखेको छ । कांग्रेसले अन्य विविध प्रशासनिक खर्चमा २६ लाख २० हजार खर्च गरेको छ । कर्मचारी तलब तथा ज्याला शीर्षकमा कांग्रेसले एक करोड दुई लाख २८ हजार १११ रुपियाँ खर्च भएको जनाएको छ ।

सहयोग तथा चन्दा शीर्षकमा अन्य व्यक्ति तथा संस्थाबाट एक करोड ७३ लाख ९४ हजार ४३९ रुपियाँ प्राप्त गरेको कांग्रेसले ३४ लाख ९० हजार आर्थिक सहयोग गरेको छ ।

नेकपा (माओवादी केन्द्र) ले आव २०८०-८१ मा एक करोड ८६ लाख ५५ हजार ५९० रुपियाँ खर्च गर्‍यो । माओवादी केन्द्रले करिब एकतिहाइ खर्च कार्यालय सञ्चालन शीर्षकमा देखाएको छ । कार्यालय सञ्चालनमा ४९ लाख ६३ हजार र कर्मचारी तलब भत्तामा ३५ लाख २२ हजार रुपियाँ माओवादी केन्द्रले खर्च भएको उल्लेख गरेको छ ।

नेता कार्यकर्ताको लेबी, सदस्यता तथा नवीकरण शुल्क र चन्दा सहयोगबाट सञ्चालनमा रहेका नेपालका राजनीतिक दलहरूको आर्थिक वर्ष २०८०-८१ को खर्च व्यवस्थापन शङ्कास्पद देखिएको छ । दलहरूको विवरणमा खर्चको अर्थपूर्ण हिस्सा कार्यालय सञ्चालन, भ्रमण, यातायात र इन्धन शीर्षकमा उल्लेख छ ।

नेपाल र भारतबिच पानी तथा सरसफाइसम्बन्धी सम्झौता

नेपाल र भारतबिच पानी, सरसफाइ र फोहोर पानी व्यवस्थापन क्षेत्रमा सहयोग अदालत प्रदानका लागि सम्झौता भएको छ । भारतको राजधानी नयाँ दिल्लीमा आज दुई देशबिच उक्त समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

यो सम्झौतापत्रले दुई देशबिच पानी संरक्षण, सरसफाइ र फोहोर व्यवस्थापनमा प्राविधिक सहयोग, अनुभवको आदान प्रदानमा सहयोग पुग्ने विश्वास भारतका जलशक्ति मन्त्री सीआर पाटिलले बताएका छन । सम्झौताले जल जीवन मिसन र स्वच्छ भारत मिसन जस्ता भारतका अनुभवले पानी र सरसफाइ चुनौतीहरूलाई सम्बोधन गर्न सहयोग पुग्ने उनले बताए ।

सम्झौता पत्रमा भारतको तर्फबाट जल शक्ति मन्त्री पाटिल र नेपालका खानेपानी मन्त्री प्रदीप यादवले हस्ताक्षर गरेका छन् । नेपाल–भारत बिचको सांस्कृतिक र ऐतिहासिक सम्बन्धलाई ध्यानमा राख्दै यो साझेदारी दुवै देशका नागरिकहरूको जीवनलाई अझ सहज, स्वस्थ र समृद्ध बनाउने विश्वास लिइएको नेपालका खानेपानी मन्त्री यादवले बताए ।

कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, भारतका लागि नेपाली राजदूत डा शङ्कर प्रसाद शर्मालगायतका अधिकारीहरूको उपस्थिति थियो ।

कार्यसम्पादनमा कुलमान घिसिङलाई सरकारले दियो शून्य अंक

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले कार्यसम्पादनमा शून्य नम्बर दिएको छ । आर्थिक वर्ष २०८०-०८१ को कार्य सम्पादन मूल्यांकनका आधारमा घिसिङले शून्य नम्बर पाएका हुन् । मन्त्रालयले यसबारे घिसिङलाई औपचारिक जानकारी भने दिइसकेको छैन ।

घिसिङले मन्त्रालयलाई ९८.९९ प्रतिशत अंक दाबी गरी मूल्यांकनका लागि मुख्य कार्यसम्पादन सूचकांक समेटिएको विवरण पेस गरेका थिए ।

घिसिङले बिहीबार गत पुस २५ गते आर्थिक वर्षमा सम्पादन गरेका काममा ९८.९९ प्रतिशत अंक दाबी गरी मूल्यांकनका विवरण पेस गरेका थिए । घिसिङलाई किन शून्य अंक दिइएको हो भन्ने विषयमा उर्जा मन्त्रालयलका अधिकारीहरूले औपचारिक रूपमा जानकारी दिन चाहेका छैनन् ।

‘आन्तरिक जलमार्ग नियमनमा ध्यान केन्द्रित गर्नुपर्ने’

नेपाल कानुन आयोगका पूर्वअध्यक्ष माधव पौडेलले आन्तरिक जलमार्ग नियमन गर्ने विषयमा बढी ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा ‘पानीजहाजको सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८१’ बारे आज यहाँ गरिएको छलफलमा पूर्वअध्यक्ष पौडेलले यो ऐन आएर तुरुन्त पानीजहाज चलिहाल्छ भन्नेभन्दा पनि कुनै पनि बेला आफ्नै पानीजहाज चलाउन सकिन्छ भन्ने विश्वास भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “अहिले नै हामीले तुरुन्तै ठुला पानीजहाज निर्माण गरेर विदेशमा निर्यात गर्ने कल्पना गर्न सकिन्न । स–सानो पानीजहाज वा जलयान बनाउन सक्ने सम्भावना हुन सक्छ ।” पूर्वअध्यक्ष पौडेलले नेपालजस्तै विभिन्न भूपरिवेष्ठित मुलुकले पानीजहाज चलाएको, अन्तराष्ट्रिय व्यापार गरेको उदाहरण दिँदै भन्नुभयो, “स्वीट्जरल्यान्ड, अस्ट्रेलिया, लक्जमबर्गले कहिले पनि भूपरिवेष्ठित मुलुक भएको महसुस गरेनन् । विश्वका विभिन्न महादेश र मुलुकलाई जोड्ने यो भरपर्दो र प्रभावकारी पुरानो यतायातको साधान मानिएको छ । विश्वको ७० प्रतिशतभन्दा बढी विदेशी व्यापार पानीजहाजबाटै मात्रै हुन्छ, थोरैमात्र रेलवे र हवाई जहाजबाट हुन्छ ।”

समुद्रमा प्रवेश गर्ने अधिकार दिए पनि तटीय मुलुकसँग भुपरिवेष्ठित मुलुकको राम्रो सम्बन्ध भएन भने त्यसले असर पार्ने पूर्वअध्यक्ष पौडेलले उल्लेख गर्नुभयो । उहाँले यो विधेयकमा थुप्रै अवधारणा र नीतिगत परिमार्जनको आवश्यकता रहेको बताउनुभयो । बैठकमा सहभागी सांसद तारामान स्वाँरले विधेयकबारे छलफल गरिरहँदा समुद्रसम्म हाम्रो पहुँच पुग्छ वा पुग्दैन भन्ने विषयमा सोच्नुपर्ने बताउनुभयो ।

जलमार्गको पूर्वाधार तयार गर्न नीतिगत सुधार गर्नुपर्ने उहाँको धारणा थियो । सांसद डा।वेदुराम भुसालले आन्तरिक जलमार्ग व्यवस्थित र विस्तार गर्ने विषयमा यो ऐनले सहयोग गर्न सक्छ वा सक्दैन भन्नेबारे प्रश्न राख्नुभयो । उहाँले विधेयकमा थुप्रै अधिकार प्रत्यायोजित गरिएकाले यसमा परिमार्जन आवश्यक रहेको बताउनुभयो ।

सांसद सुमित्रा बिसीले जलमार्गबाट ढुवानी तथा यातायात गर्दा समयको बचत तथा आर्थिक रूपले पनि राहत पुग्ने भएकाले यो विधेयक उपयोगी रहेको बताउनुभयो । विधेयक पारित भए पश्चात् आन्तरिक जलमार्गमा सञ्चालन हुने पानीजहाजको दर्ता तथा नियमन भइ पानीजहाज सेवा सुरक्षित, स्तरीय, विश्वसनीय, नियमित र व्यवस्थित हुनुका साथै समुद्रमा सञ्चालन हुने पानीजहाजको दर्ता, सर्भे तथा झण्डासम्बन्धी व्यवस्था प्रभावकारीरूपमा कार्यान्वयन भइ समुद्रमा नेपाली ध्वजाबाहक पानीजहाज सञ्चालन सम्भव हुने र यसबाट देशको आर्थिक विकासमा सघाउ पुग्ने विश्वास गरिएको छ ।

 

 

 

 

 

प्रकृति लम्सालका परिवारसंग परराष्ट्रमन्त्री र गृहमन्त्रीको भेटघाट

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भारतको ओडिसास्थित केआईआईटी विश्वविद्यालयमा मृत्यु भएकी नेपाली विद्यार्थी प्रकृति लम्सालको परिवार संग सोमवार भेटघाट गरेका छन । प्रकृतिको मृत्युपछि शोकमा रहेका उहाँका बुबाआमा र आफन्तजनलाई आज भैरहवामा परराष्ट्रमन्त्री राणा र गृहमन्त्री रमेश लेखकले भेटेर समवेदना प्रकट गरेका हुन ।

मन्त्री डा राणाले प्रकृतिका बुबाआमा र आफन्तजनलाई उनको मृत्युको सत्यतथ्य पत्ता लगाई दोषीमाथि कानुन बमोजिम कडा कारबाहीका आफूले सुरुदेखि नै कूटनीतिक पहल जारी राखेको र उनलाई न्याय दिलाउने बताउनुभएको हो ।

प्रकृतिको मृत्यु र त्यसपछि विकसित घटनाक्रमबारे आफूले गत हप्ता ओडिसाका मुख्यमन्त्री मोहन चरण माझीसँग फोनमा कुराकानी गरेको र उक्त घटना भएलगत्तै त्यहाँका उच्च शिक्षामन्त्रीसँग पनि फोनवार्ता गरी घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कानुन बमोजिम कारबाही गर्न र त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीलाई पठनपाठनको उचित र सुरक्षित प्रबन्ध गर्न आग्रह गरेको जानकारी गराउनुभयो ।

विराटनगर विमानस्थलको नयाँ टर्मिनल भवन निर्माणको भौतिक प्रगति ४७ प्रतिशत

मोरङ । विराटनगर विमानस्थललाई स्तरोन्नति गर्ने कार्यअनुरूप नयाँ टर्मिनल भवनको निर्माण कार्य द्रुत गतिमा भइरहेको जनाइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर सञ्जीव खड्काले भवन निर्माणको भौतिक प्रगति ४७ प्रतिशत र वित्तीय प्रगति ३७ प्रतिशत पुगेको जानकारी दिए । विराटनगर महानगरपालिका-४ मा निर्माणाधीन भवनको १ फागुन २०७९ मा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले शिलान्यास गरेका थिए ।

भवन निर्माण आगामी २०८२ मंसिरभित्र सम्पन्न गर्ने लक्ष्य छ । नयाँ टर्मिनल भवन निर्माणमा दैनिक २२५ कामदारले बिहान ७ देखि राति १० बजेसम्म दुई ‘सिफ्ट’ मा काम गरिरहेको जनाइएको छ ।

कोशी-डाँफे जेभी निर्माण कम्पनीले तीन अर्ब १२ करोड रुपैयाँको लागतमा भवन निर्माणको ठेक्का लिएको हो । भवनमा प्रतिघण्टा ५५० यात्रु बस्ने क्षमताको हुनेछ भने १७ वटा चेक इन काउन्टर, अति विशिष्ट कक्ष, बालबालिकाको खेल्ने स्थल, विशिष्ट कक्ष, पत्रकार सम्मेलन कक्ष, भन्सार, अध्यागमन, भन्सार, क्वारेन्टिइन तथा व्यावसायिक विभित्र पसल तथा कक्ष रहनेछन् ।

प्रदेशको राजधानी रहेको विराटनगरमा आगामी दिनमा हवाई यात्रुको सङ्ख्या बढ्ने सक्ने सम्भावनाका आधारमा भवन निर्माण गरिएको इन्जिनियर खड्काको भनाइ छ । तीनतले सो भवनमा चार वटा लिफ्ट र चार वटा स्काइलेटर रहेछन् ।

विराटनगर नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी युवराज अधिकारीले हाल विमानस्थलबाट दैनिक दुई हजार यात्रुहरूले सेवा लिइरहेको बताए । विमानस्थलमा हाल दैनिक रूपमा बुद्ध एयरले नौ, यतिले छ र श्री एयरलाइन्सले चार वटा उडान गरिरहेका छन् ।

निर्माण कम्पनीका इन्जिनियर रमेश पौडेलले अत्याधुनिक प्रविधिको प्रयोग गरी भवन निर्माण गरिएको बताए । उनले तोकिएको समयमै काम पूरा गर्ने गरी लागिएको बताए । आगामी दिनमा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने गरी भवनमा निर्माण गरिएको उनको भनाइ छ ।

भारत सरकारको सहयोगमा २०२५ सालमा निर्माण गरिएको विराटनगर विमानस्थलले कूल १२२ बिघा क्षेत्रफल ओगटेको छ । विराटनगर-११ का व्यवसायी अर्जुन सुवेदीले काठमाडौँपछि ठूलो सहरका रूपमा रहेको यस क्षेत्रबाट भारतको नयाँ दिल्ली, बनारस, कोलकाता र बांङलादेशमा उडान भएमा यस क्षेत्रमा पर्यटकहरूको आवागमनमा वृद्धि हुनेमा विश्वास व्यक्त गरे ।

विराटनगर विमानस्थलबाट केही समयअगाडि पोखरा, भैरहवा र हिमाली उडान भएका थिए । यस्तै, नेकोन एयरले केही वर्षअगाडि विमानस्थलबाट भारतको कोलकाताको उडान गरेको थियो ।

विमानस्थल कार्यालयले विमानस्थलले गत आर्थिक वर्षमा १७ करोड ५६ लाख रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ । साथै सन् २०२४ मा विमानस्थलमार्फत तीन लाख २९ हजार ८९ यात्रुहरू यहाँबाट प्रस्थान गरेका थिए भने तीन लाख २९ हजार ९४९ यात्रुहरूको आवागमन भएको थियो । सोही अवधिमा पाँच हजार ७५४ पटक विमानको आगमन भएको थियो भने पाँच हजार ७५६ वटा विमान गरेका थिए ।

 

 

 

ढोरपाटनमा हिमपातले विद्यार्थी बिरामी हुँदा पठनपाठन प्रभावित

बिहीबारदेखि परेको हिमपातका कारण चिसो बढ्दा ढोरपाटन उपत्यका क्षेत्रका विद्यार्थी बिरामी परेका छन् । एउटै विद्यालयका ५० बढी विद्यार्थी बिरामी पर्दा पठनपाठन प्रभावित भएको हो । बागलुङको ढोरपाटन नगरपालिका–९ स्थित ज्योति विकास माध्यमिक विद्यालय र सिद्धबराह प्राथमिक विद्यालयका विद्यार्थी बिरामी परेका हुन् ।

ज्योति विकास माध्यमिक विद्यालयका १८३ जना विद्यार्थीमध्ये करिब १०० विद्यार्थी मात्रै पढ्न आएको प्रधानाध्यापक चकबहादुर अदैले जानकारी दिए । विद्यालय आएका विद्यार्थीहरु पनि ज्वरो र रुघाखोकीबाट ग्रसित बनेको उनको भनाइ छ। बिहीबार रातिदेखि नै ढोरपाटनमा हिउँ परेको थियो ।

विद्यालयमा बालबालिकालाई न्यायो बनाउने कुनै पनि सामग्री नहुँदा चिसो सिरेटाका कारण विद्यार्थी बिरामी परेको प्रधानाध्यापक अदैले सुनाए । बालबालिका बिरामी हुन थालेपछि विद्यालय नै बन्द गर्नुपर्ने स्थिति आउन सक्ने उनको भनाइ छ ।

चिसोका कारण गत पुस २० गतेदेखि बन्द भएको विद्यालय माघ २० गतेदेखि सञ्चालनमा आएको अदैले जानकारी दिए। ‘गर्मी बढ्ने बेला हिउँ पर्‍यो, धेरै विद्यार्थी बिरामी परेर पठनपाठन प्रभावित बनेको छ, दुई दिन हिउँ पर्‍यो, चिसो सिरेटो चल्ने गर्छ, माथिल्लो डाँडामा अझै बाक्लो हिउँ छ,’ अदैले भने ‘विद्यालयमा बालबालिकाको उपस्थिति कम हुँदै गएको छ, चिसोका बेला विद्यार्थीलाई न्यायो बनाउने सामग्री हुन्थ्यो भने पठनपाठन गर्न सहज हुन्थ्यो, चिसो ठाउँमा सिमेन्टका भवन छन्, त्यसले झन् चिसो हुन्छ।’

उनले कोठा चिसो हुँदा मैदानमै बसेर पढाउने गरेको भन्दै दिनभर चिसो सिरेटो चल्दा पठनपाठन गर्न समस्या भएको सुनाए । कक्षाकोठामा हिटरको व्यवस्थापन गर्न सके सहज हुने अदैको भनाइ छ।

ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरेले पूर्वधार निर्माणबाहेक अरू केही नगरेको बताए । चिसो ठाउँमा बालबालिकालाई सुरक्षित साथ पठनपाठन गराउन न्यानो प्रदान गर्ने सामग्रीहरु उपलब्ध गराउन आवश्यक रहेको उनको भनाइ छ ।