Page 169 – Nepalboli

परराष्ट्र मन्त्री राणा भारत प्रस्थान

परराष्ट्र मन्त्री आरजु राणा देउवा भारत प्रस्थान गरेकी छन्। मन्त्री राणालाई परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र मन्त्रालयका अधिकारीहरूले सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका हुन्।

मन्त्री राणा भारतको विदेश मन्त्रालयले मार्च १७ देखि नयाँ दिल्लीमा आयोजना गर्ने राइसिना डायलगमा सहभागी हुने कार्यक्रम छ। भारत सरकारको निमन्त्रणामा उक्त डायलगमा मन्त्री राणासहित विश्वका विभिन्न देशका प्रधानमन्त्री तथा विदेशमन्त्रीहरूको सहभागिता रहनेछ।

साथै उनी झारखण्डस्थित बाबा बैद्यनाथ धाममा पूजाआजाका लागि पुग्नेछिन्। मन्त्री राणाले आफ्नो स्वास्थ्य जाँचको फलोअप पनि गराउने उनको सचिवालयले जनाएको छ।

 

 

 

 

वर्तमान व्यवस्थाको रक्षा गर्नु प्रमुख जिम्मेवारी हो- अध्यक्ष नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा प्रतिगामी तत्त्वहरू सल्बलाउन थालेकाले परिवर्तनकारी शक्तिहरू एकताबद्ध हुनुपर्ने बताउनुभएको छ । पार्टीद्वारा केन्द्रीय कार्यालय आलोकनगरमा सोमबार आयोजित कार्यक्रममा उहाँले जनताको लामो सङ्घर्षबाट प्राप्त अधिकार तथा वर्तमान व्यवस्थाको रक्षा गर्नु प्रमुख जिम्मेवारी भएको बताउनुभयो ।

सरकारले कार्यशैली सच्याएर गलत प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “प्रतिगामी यथास्थितिवादीहरूले अहिले टाउको उठाउन थालेका छन् । सो विषयलाई पार्टीले गम्भीर रूपमा लिएको छ ।”

केही समययता काठमाडौँ उपत्यकालगायत मुलुकका केही सहरहरूमा भइरहेका नारा जुलुसले सरकार मात्रै होइन, लोकतन्त्रमाथि नै प्रहार भइराखेको उहाँको भनाइ थियो ।

अध्यक्ष नेपालले लोकतन्त्रमाथिको प्रहार सह्य नहुने विचार व्यक्त गर्दै संविधान, लोकतन्त्रका साथै सङ्घीय गणतन्त्रको रक्षाका लागि सरकारलाई गम्भीर बन्न आग्रह गर्नुभयो । उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्र जनताको बलिदान तथा सङ्घर्षबाट प्राप्त भएकाले त्यसको रक्षाका लागि सबै एकताबद्व हुनुपर्ने बताउनुभयो ।

अध्यक्ष नेपालले सङ्घीय लोकतन्त्रमाथि धावा बोलिरहेकाले जनता चनाखो हुनुपर्ने र संविधानको उल्लङ्घन गर्ने छुट कसैलाई पनि नरहेकामा जोड दिनुभयो ।

 

 

 

प्रचण्डले मङ्गलबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्नुहुने

संसदबाट स्वीकृत भएका पाँच वटा अध्यादेशसम्बन्धी प्रतिस्थापन विधेयक २८ गते बस्ने प्रतिनिधिसभाको कार्यसूचीमा राखेर प्रक्रिया अघि बढाइने भएको छ । सोमबार सभामुख देवराज घिमिरेले बोलाउनुभएको प्रमुख सचेतकहरूको बैठकले सो निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्नुहुँदै नेकपा ९एमाले०का प्रमुख सचेतक महेश बर्तौलाले २८ गते बस्ने प्रतिनिधिसभा बैठकमा स्वीकृत अध्यादेश बमोजिमका प्रतिस्थापन विधेयकहरूको प्रक्रिया अघि बढाइने बताउनुभयो ।

उहाँले २७ गते बस्ने प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का नेता एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने कार्यक्रम तय भएको बताउनुभयो ।

छलफलमा लोकतन्त्र र गणतन्त्रका विरुद्धमा केही अराजकतावादी शक्तिहरूले संविधानको अवमूल्यन गरेर गतिविधि सञ्चालन गरेको भन्दै त्यसलाई अस्वीकार गर्ने र संसदबाट पनि त्यस किसिमका गतिविधिमा विशेष ध्यान दिने निर्णय भएको छ ।

 

राष्ट्रियसभा अध्यक्ष दाहालद्वारा चार विधेयक प्रमाणित

राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले चार वटा विधेयक प्रमाणित गर्नुभएको छ । अध्यक्ष दाहालले राष्ट्रियसभामा उत्पत्ति भएका चार वटा विधेयकलाई सोमबार प्रमाणित गर्नुभएको हो । अध्यक्ष दाहालले प्रमाणित गर्नुभएको ती विधेयकहरूलाई प्रमाणीकरणका लागि मङ्गलबार राष्ट्रपति रामचन्द्र पौडेल कहाँ पठाइने संसद सचिवालयले जनाएको छ ।

उहाँले सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८०, विद्युतीय व्यापार विधेयक, २०८०, विधायनसम्बन्धी विधेयक, २०८० र भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७६ प्रमाणित गर्नुभएको हो ।

संविधानको धारा ११३ को उपधारा (१) बमोजिम राष्ट्रियसभा अध्यक्षले प्रमाणित गरी धारा ११३ को उपधारा (२) बमोजिम विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेस गर्नुपर्दछ । राष्ट्रपतिले विधेयक प्रमाणीकरण गरिसकेपछि ऐनका रूपमा लागु हुन्छ ।

 

 

 

 

राप्रपाले बुझायो काठमाडौं महानगरलाई एक लाख जरिवाना

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौं महानगरपालिकालाई एक लाख रुपैयाँ जरिवाना बुझाएको छ । पूर्वराजाको स्वागतका क्रममा आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गेटनजिक, तिलगंगा, गौशालालगायत सार्वजनिक क्षेत्रमा भौतिक क्षति पुग्नुका साथै जथाभाबी फोहोर गरिएको भन्दै काठमाडौं महानगरले राप्रपालाई जरिवाना गरेको थियो ।

राप्रपाका प्रवक्तासमेत रहेका प्रतिनिधि सभा सांसद ज्ञानेन्द्र शाहीलगायत सोमबार काठमाडौं महानगर पुगेर जरिवाना बुझाएका हुन् । जरिवाना बुझाएको तस्बिर राख्दै शाहीले लेखेका छन्, ‘हामी राप्रपा सुशासन मान्छौं र विधिको शासन मान्छौ राजाको स्वागतमा आएका लाखौं आमाबुवा दाजुभाई बहिनीहरूले हिँड्दा बाटोमा केही कुल्चिए होलान् महानगर नगरपालिकाको निर्णयलाई हामी स्वीकार्दछौ रु १ लाख रुपैयाँ हामीले काठमाडौँ महानगरपालिकाको खातामा दाखिला गरेका छौ ।

 

 

सीप अनुसारको रोजगारी नहुँदा बिदेसिँदै युवा

सिन्धुली । सदरमुकाम सिन्धुलीमाडी बजार शान्त छ । बसपार्क छेवैका चियापसलमा भने थोरै चहलपहल देखिन्छ । गाउँ सुनसान पारेर सहरमा भविष्य खोज्न हिँडेका केही युवा हतारोमा छन्, कोही गफमा मस्त । चिया पसलकै एउटा कुनामा भेटिए पूजन बस्नेत ।

उनी तीनपाटन गाउँपालिका–११, कन्याखोलाका बासिन्दा हुन् । २२ वर्षीय बस्नेतले सूचना तथा प्रविधि (आइटी) मा स्नातक गरेका छन् । उनीसँग वेबसाइट डिजाइन गर्ने, मोबाइल एप बनाउने, ग्राफिक्स डिजाइन र भिडियोग्राफी गर्ने सीप छ । तर सीप अनुसारको काम र कमाइ छैन ।

बस्नेतले जिल्लामै केही गर्ने सोचले साथीसँग मिलेर व्यवसाय गर्ने प्रयास गर्नुभयो । तर लगानीको अभावले सम्भव भएन । बैङ्कले कर्जा पत्याएन, परिवारको आर्थिक अवस्था कमजोर थियो ।

उनले भने, “लगानी छैन । विना धितो बैङ्कले कर्जा दिँदैन । त्यही भएर अब विदेश गएर पैसा कमाउँछु, अनि फर्केर व्यवसाय गर्छु भन्ने सोचेको छु ।” रोजगारीका लागि बिदेसिने निर्णय उनको रहर नभएर बाध्यता हो । त्यसो त उनले स्थानीय तहमा ‘आइटी अफिसर’का लागि धेरै ठाउँमा आवेदन दिएका थिए । १५ पटक परीक्षा दिए । लिखितमा नाम निस्कियो, तर मौखिकमा निस्किएन ।

हुन त पूजनले जिल्लास्थित एक संस्थामा काम गरिरहेका छन् । तर श्रमअनुसारको पारिश्रमिक नपाउँदा उनमा नैराश्य छाएको छ । बिहानदेखि रातीसम्म काम गर्दा पनि रु १० हजार मासिक तलब समयमा नपाउने गरेको उनको गुनासो छ ।

यो केवल बस्नेतको कथा मात्र होइन । उनीजस्ता धेरै युवाहरू यही बाध्यताले बिदेसिँदा जिल्लाका ग्रामीण क्षेत्रमा पानी भर्ने, खेतबारीमा काम गर्ने, गाउँलाई उज्यालो बनाउने, बिरामी पर्दा बुबाआमाको स्याहार गर्ने युवा देखिन छाडेका छन् ।

बिबिएस दोस्रो वर्षमा अध्ययनरत २१ वर्षीया सविना दनुवार पनि यस्तै दोधारमा छिन् । उनी पढाइलाई निरन्तरता दिने वा अधुरै छाड्ने भन्ने अन्योलमा छिन् । “घरको अवस्था दयनीय छ । जागिर छैन । दैनिक खर्च चलाउन गाह्रो छ । अब पढाइ छोडेर विदेश जाने सोच्दैछु,” सविनाले भनिन् ।

सविनाका साथीमध्ये कोही अस्ट्रेलिया, कोही दुबईमा छन् । उनीहरूसँग कुराकानी हुन्छ । विदेश गएर दुःख गरे यहाँभन्दा कमाई राम्रै छ, भन्ने भनाइले सविनालाई त्यही बाटो रोज्न बाध्य बनाइरहेको छ ।

पूजन र सविना त प्रतिनिधि पात्र मात्रै हुन् । जिल्लामा सञ्चालित विदेश पठाउने कन्सलटेन्सीमा विद्यार्थीको भीड हेर्ने हो भने सहजै अनुमान गर्न सकिन्छ की जिल्लाका थुप्रै युवा रोजगारीको खोजीमा विदेश जाने तरखरमा छन् ।

जिल्ला प्रशासन कार्यालय सिन्धुलीबाट गएको पाँच वर्षमा २८ हजार ६५२ युवाले राहदानी बनाएको देखिन्छ । आर्थिक वर्ष ०७७ देखि ०८१ माघ १३ सम्म उक्त सङ्ख्यामा राहदानी बनाएका हुन् ।

वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई सूचना, परामर्श, सीप विकास, कानुनी सहायता, मनोसामाजिक परामर्श र वित्तीय साक्षरता प्रदान गर्दै आएको सुरक्षित आप्रवासन परियोजना, सिन्धुलीका संयोजक विजय दाहालकाअनुसार गएको दुई वर्षमा बर्सेनि १० हजार युवा जिल्लाबाट बिदेसिएका छन् ।

वैदेशिक रोजगार र पढाइको सिलसिलामा बिदेसिएका ती युवाको तथ्याङ्क जिल्ला प्रशासन कार्यालय र सुरक्षित आप्रवासन केन्द्रमा हुने गरेको भए पनि फर्किएकाको तथ्याङ्क सम्बन्धित निकायसँग छैन ।

सुरक्षित आप्रवासन केन्द्र, सिन्धुलीकाअनुसार १६ वर्ष यता रोजगारीका लागि विदेश गएकामध्य १५१ जनाको विभिन्न कारणले उतै मृत्यु भएको छ । ११ वर्ष यता ५१ जना बिरामी र काम गर्ने सिलसिलामा अङ्गभङ्ग भई फर्किएका छन् । यसरी फर्किनेमा विदेश जाँदा लागेको ऋणसमेत तिर्न नसकेका रहेको पाइएको छ ।

नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि मुकेश घिमिरेकाअनुसार, सरकारले सीप भएकासमेतलाई उचित अवसर प्रदान गर्न सकेको छैन । स्थानीय सरकारले स्थानीयस्तरमा रोजगारी सिर्जना गर्न विशेष कार्यक्रम सञ्चालन गरेको पाइँदैन ।

 

 

वीर अस्पतालले सुरु गर्‍यो दुई सिफ्टमा अप्रेसन सेवा

देशको सबैभन्दा पुरानो अस्पताल वीर अस्पतालमा दुई सिफ्टमा अप्रेसन सेवा सुरु भएको छ । वीरमा कुनै अप्रेसन गर्नुपर्‍यो भने दुई–तीन महिनासम्म पालो आउँदैन भन्ने गुनासो सेवाग्राहीको रहने गरेको छ। बिरामीको बढ्दो चाप र गुनासोलाई ध्यानमा राखेर अस्पतालले दुई सिफ्टमा अप्रेसेन सेवा दिन सुरु गरेको अस्पतालका निमित्त निर्देशक डा। समाज गौतमले जानकारी दिए। उनका अनुसार अहिले नाक, कान, घाँटी, दन्त, युरोलोजी तथा सामान्य अप्रेसन दुई सिफ्टमा गर्न थालिएको छ।

अन्य अप्रेसन पनि दुई सिफ्टमा गर्ने गरी तयारी भइरहेको गौतमले बताए। ‘अहिले बढी बिरामीको चाप भएका केही सेवा दुवै सिफ्टमा सुरु भएका छन्’ गौतमले भने, ‘बिस्तारै बाँकी अरु सेवालाई पनि दुई सिफ्टमा लैजाने योजना छ ।’

आन्तरिक जनशक्ति र श्रोतबाटै व्यवस्थापन गरेर सेवा आरम्भ गरिएको निमित्त निर्देशक गौतमले जानकारी दिए। डा गौतमले निमित्त निर्देशक भएलगत्तै यस्तो सेवा आरम्भ गर्ने घोषणा गरेका थिए।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सबै संघीय अस्पताललाई दुवै सिफ्टमा ओपीडी सेवा आरम्भ गर्न भनेका थिए। सोहीअनुसार कार्ययोजना बनाएर अहिलेको सेवा आरम्भ गरिएको अस्पतालले जनाएको छ। वीरले ओपीडी र सार्वजनिक बिदामा सेवा दिँदै आए पनि दुवै सिफ्टमा अप्रेसन बल्ल सुरु भएको हो।

‘अहिले बढी बिरामीको चाप भएका केही सेवा दुवै सिफ्टमा सुरु भएका छन्’ गौतमले भने, ‘विस्तारै बाँकी अरु सेवालाई पनि दुई सिफ्टमा लैजाने योजना छ । आन्तरिक जनशक्ति र श्रोतबाटै व्यवस्थापन गरेर सेवा आरम्भ गरिएको निमित्त निर्देशक गौतमले बताए।

 

 

मनाङमा सार्वजनिक बस सेवा सञ्चालनमा ल्याइने

हिमाली जिल्ला मनाङमा पहिलो पटक सार्वजनिक यातायातका रूपमा बस सञ्चालनमा ल्याइने भएको छ । स्थानीय तथा पर्यटकलाई सहज रूपमा सेवा प्रवाह गर्ने उद्देश्यले सार्वजनिक बस सञ्चालनमा ल्याउन लागिएको हो । प्रमुख जिल्ला अधिकारी मातृका आचार्यको संयोजकत्वमा बसेको समन्वयात्मक बैठकले आज सार्वजनिक बस सञ्चालन गर्ने निर्णय गरेको छ । बैठकमा सुरक्षा निकायका प्रमुख, यातायात व्यवसायी समितिका पदाधिकारी, स्थानीय जनप्रतिनिधि तथा पूर्वाधार विकास कार्यालयका प्रमुखको सहभागिता रहेको थियो ।

बैठकले सार्वजनिक बस सेवा व्यवस्थित, सुलभ र सरल बनाउँदै स्थानीय बासिन्दा, पर्यटक तथा सरकारी कर्मचारीलाई सहुलियतपूर्ण तथा सहज रूपमा यात्रा सुनिश्चित गर्ने निष्कर्षसहित सो निर्णय गरिएको प्रजिअ आचार्यले बताए । “भौगोलिक रूपमा विकट क्षेत्र मनाङमा पहिलो पटक सार्वजनिक सवारीसाधन सञ्चालनमा ल्याउन लागिएको छ,” उनले भने, “सार्वजनिक सवारीसाधन सञ्चालनले स्थानीयवासीका साथै पर्यटक र कर्मचारीलाई सहज हुनेछ ।”

मनाङमा हालसम्म यात्रुका लागि मुख्य रूपमा पाँच सिटे क्षमताका पिकअप जिप मात्र सञ्चालन हुँदै आएका छन् । जसका कारण यात्रुले कठिन यात्रा गर्नुपर्ने, महँगो भाडा तिर्नुपर्ने तथा सुरक्षित यात्रा गर्न नसक्ने समस्या छ । सार्वजनिक बस सञ्चालन भएसँगै यातायात व्यवस्थापनमा उल्लेखनीय सुधार आउने, यात्रुहरूले उचित भाडामा सहज यात्रा गर्न सक्ने र मालसामान ढुवानीसमेतमा सहजता कायम हुने विश्वास गरिएको छ ।

प्रजिअ आचार्यले सार्वजनिक सवारीसाधन सञ्चालनमा आउँदा यसले यातायात व्यवस्थापनलाई थप सुधार गर्नुका साथै व्यवस्थित बनाउने बताए । बेँसीसहर–चामे सडक–खण्डमा यात्रुवाहक बस सञ्चालनका लागि विगतमा विपद् व्यवस्थापन समितिले निर्णय गरिसकेको भए पनि कार्यान्वयनमा ल्याउन सकिएको थिएन । समन्वय बैठकले उक्त निर्णयलाई पुनः अनुमोदन गर्दै तत्काल बस सेवा सञ्चालन गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको उनको भनाइ छ ।

बस सञ्चालनका लागि आवश्यक रुट इजाजत पत्र लिनुपर्ने भएकाले लमजुङ कालिका प्रालिलगायतका यातायात व्यवसायीलाई सम्बन्धित निकायमा निवेदन दिन अनुरोध गरिने जानकारी दिए ।

बेसीसहर–चामे सडक खण्ड जोखिमयुक्त भएकाले बस सेवा सुरक्षित र व्यवस्थित बनाउन सडकका समस्याग्रस्त तथा जोखिमयुक्त स्थानको पहिचान गरी मर्मत एवम् निर्माणलाई तीव्रता दिइने प्रजिअ आचार्यले बताए । उक्त कार्यमा यातायात व्यवसायी तथा पूर्वाधार विकास कार्यालयसँग समन्वय गरी कामलाई तीव्रता दिइने जनाइएको छ ।

प्रजिअ आचार्यले भने, “पहिचान गरिएका स्थानको स्तरोन्नति गर्न सडक डिभिजन कार्यालय दमौली, डुम्रे–बेसीसहर–चामे सडक आयोजना, जलविद्युत् आयोजना तथा स्थानीय तहसँग आवश्यक पहल गर्नेछौँ ।”

 

पर्सा प्रशासन कार्यालयभित्रै मिटरब्याज पीडितले गरे आत्महत्या प्रयास

पर्साको वीरगञ्जस्थित जिल्ला प्रशासन कार्यालयमै एक मिटरब्याज पीडितले आत्मदाह गर्ने प्रयास गरेका छन् । बाराको पचरौता नगरपालिका ४ घर भई हाल वीरगञ्ज २४, रामगढवामा बस्दै आएका करिब ६० वर्षीय बृजकिशोर प्रसाद साहले प्रशासन कार्यालयमै आत्मदाहको प्रयास गरेका हुन् ।

न्याय नपाएको गुनासो गर्दै साहले विषादी सेवन गर्नुका साथै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरे । शरिरमा आगो लगाउन खोज्दा देखेका सशस्त्र प्रहरीले रोकेका थिए ।

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले साहलाई उद्धार गरी उपचारका लागि नारायणी अस्पताल लगिएको र उपचार भइरहेको जानकारी दिए । उनका अनुसार साहको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।

घटनास्थलमा पीडित साहले लेखेको पत्र भेटिएको छ । जसमा लेखिएको छ, ‘एक लाख ५० हजार रुपैयाँ ऋण लिएर ६ लाख मूल्य बराबरको जग्गा अरूको नाममा पास गरेको थिएँ । तर, जब मैले पैसा तिर्न खोजेँ, पीडकले जग्गा फिर्ता गर्न आनाकानी गरिरहेको छ । प्रहरी पनि उनकै पक्षमा देखिएको छ । त्यसैले आत्मदाहको बाटो रोज्न बाध्य भएँ ।’

 

सेताम्मे मुस्ताङको शीतोष्ण फलफूल बगैँचा

मुस्ताङ । मुस्ताङमा शीतोष्ण फलफूल बगैँचाका बोटमा झपक्कै फूल फुलका छन् । घरपझोङ–२ मार्फामा रहेको शीतोष्ण बागवानी विकास केन्द्रका विभिन्न प्रजातिका फलफूल बोटहरु यतिखेर फूल फुलेर सेताम्मे भएका हुन् । विगतका वर्षहरुमा भन्दा यसवर्ष केही हप्ता ढिलो गरी शीतोष्ण फूलहरु फुल्न थालेको हुन् ।

मुख्य रुपमा मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रले शीतोष्ण हावापानीमा उत्पादन हुने फलफूल तथा तरकारीको उत्पादन, बीउ तथा बिरुवा उत्पादन गर्ने कार्य गर्दै आइरहेको छ ।

जिल्लामा स्याउखेतीको विकास समेत यही केन्द्रले सुरुआत गरेको थियो । मुस्ताङको त्यही केन्द्र हो, जसले यहाँ विभिन्न जातजातका फलफूलको बीउ तथा बिरुवा उत्पादनका साथै फलफूल उत्पादनमा समेत जोड दिइरहेको छ । मुस्ताङका कृषकहरुको आर्थिक विकासमा टेवा पु¥याउन र फलफूल तथा तरकारीखेतीको विकास गरी यहाँका किसानको जीवनस्तर सुधार गर्न केन्द्रले दिँदै आइरहेको योगदान अतुलनीय छ ।

वसन्त ऋतुको आगमनको सुरुआतसँगै यहाँका शीतोष्ण फलफूलका बोट झपक्कै फूल फुल्न थालेका हुन् । केन्द्रले उत्पादन गर्ने हाईचिलिङ जात अर्थात् अत्यधिक चिस्यानको आवश्यकता पर्ने कागजी बदाम, आरु, आरुबखडा र खुर्पानीलगायतका फलफूल बोटमा विस्तारै फूल फुलेर मुस्कुराउन थालेका छन् । यसरी बढी मात्रामा अत्यधिक चिस्यान चाहिने फलफूलका बोटमा फूल फुलेर धपक्कै हुँदा केन्द्रमा पुगेर अवलोकन गर्ने पर्यटक मोहित हुने गरेका छन् । तर, यहाँका स्याउ बोटहरुमा चैत्र महिनाको अन्तिम वा वैशाख महिनामा मात्रै फूल फुल्ने क्रम सुरु हुने केन्द्रले जनाएको छ ।

जिल्लाको बागवानी विकास केन्द्र र अन्य किसानले उत्पादन गर्ने यसप्रकारको अधिकांश जातका फूल फुल्ने चरणमा रहेको केन्द्र प्रमुख पद्मनाथ आत्रेयले जानकारी दिए । केन्द्रमा उत्पादन हुने अधिकांश जातहरु हाईचिलिङअर्थात् अत्यधिक चिस्यानको आवश्यकता पर्ने फलफूलहरु रहेको उनले भनाइ छ । उनले यसप्रकारका हाईचिलिङ जातका फलफूल बोटलाई आठ सयदेखि एक हजार घण्टासम्म चिस्यानको आवश्यक पर्ने बताए ।

केन्द्रमा उत्पादन हुने मुख्य फलफूल जातहरुमा कागजी बदाम ने प्लस अल्ट्रा जातको फलफूलअन्तर्गत पर्दछ । यी मुख्य फलफूलअन्तर्गत आरु फलफूलमा एक अर्ली रेड जात र अर्को ओराइन जातअन्तर्गत पर्दछ । आरुबखडा, मिथ्ले र सान्तारोजा जातमा पर्छ । खुर्पानी सक्करपारा जातमा पर्दछ । केन्द्र प्रमुख आत्रेयले केन्द्रमा मुख्यगरी पाइने यसप्रकारको जात महत्वपूर्ण जातको रुपमा रहेको जानकारी दिए ।

समुद्री सतहदेखि एक हजार आठ सय मिटर उचाइदेखि करिब तीन हजार मिटरसम्मको उच्च भूगोलमा उत्पादन हुने यसप्रकारका फलफूलमा पछिल्लो समय जलवायु परिवर्तनको असरले प्रतिकूल बनाउन थालेको केन्द्र प्रमुख आत्रेयले खुलाए ।