Page 167 – Nepalboli

८० भन्दा बढी क्याम्पसमा सर्वसम्मत नेतृत्व चयन

त्रिभुवन विश्वविद्यालयले ६२ ओटा आंगिक क्याम्पससहित अन्य एक हजारभन्दा बढी सम्बन्धन प्राप्त क्याम्पसमा तोकेको स्ववियु निर्वाचन अन्तर्गत ८० भन्दा बढी क्याम्पसमा सर्वसम्मत नेतृत्व चयन भएको छ । ६२ ओटा आंगिक क्याम्पसमध्ये धनकुटा बहुमुखी क्याम्पसमा एमालेनिकट अनेरास्ववियु र दाङको महेन्द्र बहुमुखी क्याम्पसमा काँग्रेसनिकट नेविसंघले सभापति पाएका छन् ।

अन्य आंगिक क्याम्पसमध्ये केहीमा विद्यार्थी संगठनले ताला लगाएका कारण निर्वाचन प्रक्रिया अघि बढेको छैन, भने बाँकीमा चैत ५ गते मतदान हुनेछ । त्रिवि विद्यार्थी कल्याणकारी परिषद्ले आंगिक क्याम्पसबाहेक अन्यत्रको निर्वाचन परिणाम आफूहरूकहाँ नआउने जनाएको छ ।

हालसम्म विद्यार्थी संख्या थोरै भएका साना क्याम्पसहरूमा सम्बन्धित ठाउँमै सहमतिबाट पदाधिकारी चयन भएका छन् । अहिलेसम्म प्राप्त परिणाम अनुसार एमालेनिकट अनेरास्ववियुले एक आंगिकसहित ३२ क्याम्पसको सभापति जितेको छ ।

त्यस्तै नेविसंघले एक आंगिकसहित २८ क्याम्पसमा सभापति जितेको छ । माओवादीनिकट अखिल क्रान्तिकारीले २१ र नेकपा एसनिकट अनेरास्ववियूले एक सभापति पाएका छन् ।

काठमाडौ उपत्यकासहित केही प्रदेशमा हावाहुरीसहित सामान्य वर्षा

बुधबार साँझ काठमाडौँ उपत्यकासहित देशका केही स्थानमा हावाहुरीसहित पानी परिरहेको छ। गण्डकी, बागमती र कोशी प्रदेशका केही जिल्लामा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अहिले पानी पार्ने प्रणाली पूर्वतिर सर्दै गएको महाशाखाले जनाएको छ। महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार प्रिमनसुन सुरु भएकाले यो अवस्थामा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने हुन्छ।

बुधबार साँझ उपत्यकामा हुवाहुरीसहित पानी पर्दा भिजिविलिटी कम हुँदा केही उडान प्रभावित भएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल कार्यालयका अनुसार हावाहुरीसहित पानी पर्दा आन्तरिक र अन्तर्राष्ट्रियतर्फको हवाई उडान केही समय प्रभावित भएका हुन्। बुधबार दिउँसैदेखि मौसम धुम्म थियो।

 

लगातार सात कारोबार दिन घटेको नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

पछिल्लो सात कारोबार दिन लगातार घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा बुधबार भने दोहोरो अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक १७ दशमलव २८ अङ्कले बढेर दुई हजार सात सय ३६ दशमलव ४८ को विन्दुमा कायम भएको हो ।

आज विभिन्न तीन सय २३ कम्पनीका दुई करोड २९ लाख ४१ हजार तीन सय ६५ कित्ता शेयर ७९ हजार दुई सय ३६ पटक खरिदबिक्री हुँदा रू आठ अर्ब २३ करोड ५२ लाख ६८ हजार सात सय ५५ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा विकास बैँक समूह शून्य दशमलव ३३ र लघुवित्त समूह शून्य दशमलव २७ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै लगानी समूह एक दशमलव ७६ र अन्य समूह एक दशमलव ५७ प्रतिशतले बढेको छ ।

बैंकिङ शून्य दशमलव ५३, वित्त शून्य दशमलव ०२, होटल तथा पर्यटन शून्य दशमलव ६४, जलविद्युत् शून्य दशमलव ८५, जीवन बिमा शून्य दशमलव ६४, उत्पादन तथा प्रशोधन शून्य दशमलव १८, म्युचुअल फन्ड शून्य दशमलव १०, निर्जीवन बीमा शून्य दशमलव ४० र व्यापार समूह शून्य दशमलव २१ प्रतिशतले बढेको छ ।

पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै नौ दशमलव ७९ प्रतिशतले बढेको छ । साथै विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै माछापुच्छ्रे बैंक लिमिटेड प्रमोटर शेयर रू ८१ करोड ३६ लाख ५२ हजार एक सय बराबरको ८१ लाख ३६ हजार पाँच सय २१ कित्ता कारोबार भएको नेप्सेले जनाएको छ ।

वीरगञ्जको मुख्य सडक विस्तार विरूद्धको रिट सर्वोच्चले गर्‍यो खारेज

सर्वोच्च अदालतले लामो समयदेखि अदालतमा विचाराधीन रहेको वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार गर्ने विरूद्धको रिट खारेज गरेको छ। वीरगञ्जका छुट्टाछुटै पाँच घरधनी निवेदकले वीरगञ्जको मेनरोड खण्डमा सडकको दायाँबायाँ २५–२५ मिटरको विस्तार गर्न नहुने भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

वीरगञ्ज महानगरका लक्ष्मण साह रौनियारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाएर २०७६ सालमा सडक विस्तार रोक्नुपर्ने माग राख्दै रिट दायर गरेका थिए। अन्य निवेदकहरूले पनि फरक–फरक मितिमा सडक विस्तार विरूद्धमा रिट दायर गरेका थिए।

सर्वोच्चका न्यायाधीश विनोद शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासले बुधबार रिट निवेदकहरूको पाँच वटै रिट खारेज गरेसँगै डिभिजन सडक कार्यालय हेटौंडालाई वीरगञ्जको मेनरोड खण्डको सडक दायाँबायाँ २५–२५ मिटर चौडा गर्ने बाटो खुलेको छ।

सो रिट हालेसँगै सडक विस्तारको काम रोकिँदै आइरहेको थियो।

त्रिभुवन राजपथ अन्तर्गतपर्ने गण्डक चोकदेखि पावर हाउसचोक, घण्टाघरचोकदेखि–आर्दशनगर, रजतजयन्तीचोक, शङ्कराचार्यगेट हुँदै मितेरी पुलसम्मको मुख्य सडक विस्तारको काम मुद्दासँगै रोकिएको थियो।

यो मुद्दाको रिट २८ औं पटक मङ्गलबार पेसी तोकिएको थियो। मङ्गलबार सो मुद्दा सम्बन्धित रिट हेर्न नभ्याएपछि बुधबारको लागि हेर्दाहेर्दैमा राखिएको थियो।

उद्योग वाणिज्य महासंघ कोषाध्यक्षमा भरतराज आचार्य मनोनीत

नेपाल उद्योग वाणिज्य महासंघ कोषाध्यक्षमा भरतराज आचार्य मनोनीत भएका छन् । महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले बुधबार आचार्यलाई कोषाध्यक्षमा मनोनयन गरेका हुन् ।

उनले महासंघ उद्योग समिति सभापति तथा रोजगारदाता परिषद् सहसभापति तथा स्थायी समिति सदस्य भई काम गरिसकेका छन् ।

एक दशकभन्दा बढी समयदेखि महासंघमा योगदान दिएका आचार्य विभिन्न उत्पादनमूलक तथा प्रविधिजन्य औद्योगिक प्रतिष्ठानमा आबद्ध छन् ।

 

बागमती प्रदेश सरकारले किसानलाई ब्याज अनुदानमा ऋण दिने

बागमती प्रदेश सरकारले किसानलाई ब्याज अनुदानमा ऋण उपलब्ध गराउने भएको छ । चालु आर्थिक वर्षमा एक अर्ब र आगामी आर्थिक वर्षमा १६ अर्ब रुपैयाँ ऋण लगानी गर्ने तयारी रहेको बागमती प्रदेशका कृषि तथा पशुपक्षी विकास मन्त्री प्रकाश श्रेष्ठले जानकारी दिए । उनका अनुसार प्रदेश सरकारले आधुनिक कृषि र व्यावसायिक पशुपालनका लागि ब्याज अनुदानमा ऋण उपलब्ध गराउने भएको हो । मन्त्री श्रेष्ठले रासससँग कुराकानी गर्दै प्रदेशमा तीन लाख ३१ हजार किसान रहेको र उनीहरूलाई पर्याप्त मात्रामा अनुदान उपलब्ध गराउन नसकेकाले ब्याज अनुदानमा ऋण उपलब्ध गराउने तयारी गरिरहेको बताए ।

उनले किसानलाई ऋण उपलब्ध गराउँदा स्थानीय तहसँग समन्वय गरिने बताए । उनका अनुसार किसान परिचयपत्र, वर्गीकरण र उत्पादनको आधारमा प्रदेश सरकारले नीति बनाएर विभिन्न प्रोत्साहन कार्यक्रमका साथै प्रदेशमा ‘स्मार्ट फार्म’ निर्माण गरिनेछ ।

उनले भने, ‘श्रम र उत्पादनलाई जोडेर कोष स्थापना गरी योगदानका आधारमा किसानलाई पेन्सनको व्यवस्था हुनुपर्छ, यसको तयारी हामी गर्दैछौं ।’

माटो तथा मल परीक्षण प्रयोगशाला हेटौँडाका कार्यालय प्रमुख डा। जनार्दन खड्काले माटो परीक्षणका क्रममा ५० प्रतिशत प्राङ्गारिक पदार्थको कमी, वर्षाको पानी, माटो चट्टान बन्ने प्रक्रिया र मानवीय क्रियाकलापका कारण माटोमा अम्लीयपन बढ्दै गएको जानकारी दिए ।

काठमाडौं उपत्यकासहित व्यावसायिक तरकारी खेती हुने जिल्ला काभ्रे, ललितपुर, धादिङ, नुवाकोट, चितवन र मकवानपुरको माटोमा अम्लीयपनको मात्रा बढी पाइएको उनले बताए ।

प्रदेशमा तीन लाख २८ हजार २९७ हेक्टर अर्थात् १६.१७ प्रतिशत जमिन खेतीयोग्य छ । जसमध्ये दुई लाख ८९ हजार ६६२ हेक्टरमा खेती गरिएको छ । राष्ट्रिय कृषि गणना २०७८ को तथ्यांक अनुसार प्रदेशका अधिकांश किसानले माटो परीक्षण नगराएको देखिन्छ ।

 

 

 

 

ललितपुर महानगर र रसियाको उलान उदे सहरबीच भगिनी सम्बन्ध कायम

ललितपुर महानगरपालिका र रसियाको उलान उदे सहरबीच भगिनी सम्बन्ध कायम भएको छ । रसियाको उलान उदे सहरमा आयोजित एक कार्यक्रममा ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन र उलान उदे सहरका मेयर इगोर शुतेन्कोवले भगिनी सम्बन्धसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरे।

प्रमुख महर्जनले भगिनी सम्बन्ध कायमसँगै दुवै देशका नागरिकबीचको सम्बन्धलाई प्रगाढ बनाउने दाबी गर्नुभयो । “उलान उदे रसियाको पुरानो सहर हो । विकासशील यो सहरको विशेषता ललितपुर महानगरसँग मिल्दाजुल्दा छन्, दुई सहरबीचको यो सम्बन्धले धेरै कुराको सम्भावना खोलेको छ, एक अर्काको आवश्यकता र समझदारीअनुसार नागरिक स्तरमा सम्बन्ध कायम हुनेछ, उनीहरूको असल अभ्यास हामी लिन्छौँ, हाम्रो असल अभ्यास उहाँहरूले लिनुहुनेछ”, उनले भने ।

प्रमुख महर्जनले ललितपुर महानगर कला, संस्कृति र सम्पदाको सहर भएको बताए । उनले उलान उदे सहरमा ललितपुरको संस्कृति र सम्पदा झल्काउने काम गर्न इच्छुक भएको उल्लेख गरे । उनले दुई देशका सहरबीचको आपसी सम्बन्ध र भेटघाटलाई बाक्लो बनाउने बताउँदै संयुक्त रूपमा परियोजना सञ्चालन गर्ने जानकारी दिए ।

बुद्धको देश नेपालबाट रसियाका जनतालाई सन्देश लिएर आएको बताउँदै प्रमुख महर्जनले बुर्यातिया प्रमुख र उलान उदे सहरका प्रमुखलाई नेपाल आउन निम्तो दिए । रिपब्लिक अफ बुर्यातिया रसियाका प्रमुख अलेक्सेई स्प्देनोभले नेपाल र रिपब्लिक अफ बुर्यातियाबीच धेरै विषय एक अर्कासँग मिल्दाजुल्दा भएको बताए ।

उलान उदे सहरका मेयर इगोर शुतेन्कोवले यो भगिनी सम्बन्धले नेपाल र रूसबीचको सम्बन्धमा नयाँ आयाम थपेको बताए । उनले दुई देशको विकासका लागि के गर्न सकिन्छ यस सम्बन्धमा थप गृहकार्य गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

समझदारी पत्रमा सडक निर्माण तथा स्तरोन्नति, महानगरको सार्वजनिक सवारी साधन व्यवस्थित, पर्यटन, शिक्षा र स्वास्थ्य, ऐतिहासिक सम्पदा संरक्षण, ग्यालरी र म्युजियम स्थापनाका, सूचना प्रविधिको क्षेत्रमा अध्ययन, अनुसन्धान विषयमा सहकार्य गर्ने उल्लेख छ ।

ललितपुर महानगर प्रमुखसँगै प्रतिनिधिमण्डलमा प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठ, उद्योग, पर्यटन तथा संस्कृति समितिका संयोजक एवं वडा नं ५ का वडा अध्यक्ष विकासमान श्रेष्ठ, महानगरका अन्तर्राष्ट्रिय सल्लाहकार मुकुन्द विष्टसमेत सहभागी थिए । महानगर प्रमुखको प्रतिनिधिमण्डल शनिबार रसिया गएको हो ।

 

 

 

गएको सात महिनामा भित्रियो साढे सात अर्ब विदेशी लगानी

चालु आर्थिक वर्ष २०८१र८२ को सात महिनामा साढे सात अर्ब प्रत्यक्ष विदेशी लगानी (एफडिआई) भित्रिएको छ । नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि माघ महिनासम्म सात अर्ब ४५ करोड रुपियाँ लगानी भित्रिएको हो । गत वर्ष सो अवधिमा पाँच अर्ब १९ करोड रुपियाँ लगानी भित्रिएको हो । गत आवको सात महिनाको तुलनामा चालु आवमा दुई अर्बभन्दा बढी लगानी भित्रिएको हो ।

यस्तै सात महिनामा २६ अर्ब ८४ करोड १७ लाख ३३ हजार रुपियाँ लगानी प्रतिबद्धता आएको थियो । नेपालमा लगानी गर्छु भनेर लगानी प्रतिबद्धता धेरै गरे पनि न्यून परिणाममा लगानी भित्रिने गरेको राष्ट्र बैङ्कको तथ्याङ्कले देखाएको छ । सात महिनाको अवधिमा खुद पुँजीगत ट्रान्सफर पाँच अर्ब ८३ करोड रुपियाँ रहेको छ । गत वर्ष सो अवधिमा तीन अर्ब ८० करोड रुपियाँ खुद पुँजीगत ट्रान्सफर भएको थियो ।

उद्योग विभागका अनुसार पर्यटन, सेवामूलक र जलविद्युत् क्षेत्रमा बढी लगानी भित्रिने गरेको छ । सबैभन्दा धेरै लगानी भारत, चीन, जापान, अमेरिका, बङ्गलादेशलगायतका मुलुकबाट लगानी प्रतिबद्धता आउने गरेको छ । विभागका अनुसार सुरुदेखि हालसम्म छ हजार २६७ परियोजनामार्फत पाँच खर्ब ११ अर्ब ८९ करोड तीन लाख रुपियाँ लगानी प्रतिबद्धता आएको छ तर प्रतिबद्धताको न्यून रकम मात्र नेपालमा भित्रिने गरेको तथ्याङ्कले देखाएको छ ।

 

 

प्रतिनिधिसभा बैठक- ‘लोकतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन’

प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा बोल्दै सांसदहरुले लोकतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने धारणा राख्नुभयो । विद्यमान संविधान विपरीत गतिविधि भइरहेकाबारे पनि सांसदहरुले सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

मङ्गलबार बसेको बैठकमा सांसद महेशकुमार बर्तौलाले संविधानको पालना गर्नु प्रत्येक नागरिकको कर्तव्य रहेको उल्लेख गर्दै केही दिनयता पूर्वराजा ज्ञानेन्द्र शाहको निर्देशन र उक्साहटमा समाजमा संविधान विरोधी क्रियाकलाप भइरहेका बताउनुभयो । पूर्वराजा स्वयम्ले यी कार्य गर्नका लागि उक्साइरहेको उहाँको आरोप थियो । लोकतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने सांसद बर्तौलाले बताउनुभयो ।

सांसद अर्जुननरसिंह केसीले सरकार र नेपाल शिक्षक महासङ्घबिच विगतमा भएको सम्झौता कार्यान्वयन हुन नसक्दा महासङ्घ पुनः आन्दोलनका क्रममा रहेको उल्लेख गर्दै पुनः वार्ता र सहमतिको प्रयास गर्न संसदमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र बाध्यकारी बनाउन नहुने उहाँले बताउनुभयो । यसलाई बाध्यकारी बनाउँदा ज्येष्ठ नागरिक, अपाङ्गलगायतलाई समस्या भएको सांसद केसीले बताउनुभयो ।

सांसद रुपा चौधरीले सुदूरपश्चिमका विकट भेगमा नागरिकले सामान्य स्वास्थ्य उपचारसमेत नपाइरहेको बताउनुभयो । यस्तै, अछाममा माटोको ढिस्कामा पुरिएर दुई महिलाको मृत्यु भएको विषय पनि उहाँले संसदमा उठाउनुभयो ।

सांसद शेरबहादुर कुँवरले पनि अछाममा माटोको ढिस्कोमा पुरिएर दुई महिलाको मृत्यु भएको विषय उठाउँदै यस्ता घटना दोहोरिन नदिन सम्बन्धित निकायको ध्यानाकर्षण हुनुपर्ने बताउनुभयो ।

सांसद हरि ढकालले चितवनको सौराहा क्षेत्र वरिपरि हात्ती आतङ्क बढेको र मानव तथा जङ्गली जीवबिच द्वन्द्व बढेकाले यसलाई नियन्त्रण गर्न आवश्यक कदम चाल्नुपर्ने बताउनुभयो ।

सांसद रमा कोइराला पौड्यालले मुलुकभित्रै रोजगारीको अवसर तथा न्यूनतम ज्याला उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो । सोमबारदेखि राजधानीमा सुरु भएको श्रम तथा रोजगार सम्मेलनमा संसदीय समितिका सभापति र सांसदहरुलाई नबोलाइएको प्रति पनि उहाँले आपत्ति जनाउनुभयो ।

सांसद ईश्वरी घर्तीले नेपालबाट अवैध रुपमा रुसी सेनामा भर्ती हुने क्रम अझै नरोकिएको कुरा संसदमा उठाउनुभयो ।

सांसद सरिता भुसालले आगलागी पीडितलाई स्वास्थ्य उपचारको व्यवस्था गर्न र राहतको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो ।

 

 

 

 

 

 

 

 

 

 

समाजवादी मोर्चाले चैत १५ गते गणतन्त्रको पक्षमा काठमाडौंमा प्रदर्शन गर्ने

समाजवादी मोर्चाले आगामी चैत १५ गते काठमाडौंमा विरोध प्रदर्शनसहितको सभा गर्ने भएको छ । नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा मंगलबार बसेको मोर्चाको बैठकले देशलाई प्रतिगमनतर्फ लैजाने षड्यन्त्रलाई प्रतिकार गर्न चैत १५ गते काठमाडौंमा विरोध प्रदर्शनसहितको सभा गर्ने निर्णय गरेको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिए ।

गणतन्त्रको पक्षमा र प्रतिगमनको विरुद्ध विरोध प्रदर्शनसहितको सभा गर्न लागिएको उनले बताए । त्यसअघि चैत १ गते बुद्धिजीवीसँग अन्तरक्रिया गर्ने र त्यही दिन पत्रकार सम्मेलन गर्ने निर्णय गरिएको विश्वकर्माले जानकारी दिए ।
उनले देशलाई प्रतिगमनतर्फ लैजाने हरकत सह्य नहुने निष्कर्ष निकालिएको जानकारी दिए ।

प्रवक्ता प्रकाण्डले देशलाई अशान्तितर्फ ढकेल्ने घटनालाई प्रतिकार गर्न आमजनतामा अपिल गरिने बताए ।