Page 166 – Nepalboli

१० वर्ष अमेरिका बसेर फर्केका सुशील केरा खेतीमा रमाउँदै

म्याग्दी । मंगला गाउँपालिका–३ सातबिसेमा १० वर्ष अमेरिकामा पढेर फर्किएका एक जना युवाले व्यावसायिक केराखेती गरेका छन् । हाल बागलुङमा बसोबास र काठमाडौंमा व्यवसाय गर्दै आएका ३८ वर्षीय सुशील खड्काले जन्मथलोमा पुर्ख्यौली जग्गालाई सदुपयोग गर्न केराखेती सुरु गरेका हुन् । मंगला भेञ्चर कम्पनीमार्फत केराखेती गरेर बाँझिन थालेको खेतीयोग्य जमिनलाई सदुपयोगका साथै कृषि उद्यमबाट गाउँघरमा नै आम्दानी र रोजगारीको अवसर भएको सन्देश दिने प्रयास गरेका छन् ।

‘हाम्रा पुर्खाले दुई सय वर्षअघि धानखेती गर्न किनेको सातविसेको उर्वरायुक्त जग्गा बसाइँसराइ र वैदेशिक रोजगारीका कारण बाँझिन थालेपछि दुई वर्षअघि केरा रोप्दा धेरैले मलाई हाँसोको पात्र बनाए,’ खड्काले भने, ‘जग्गा बाँझो नहोस् भनेर सुरू गरेको केराखेती राम्रो हुन थालेपछि अरूले पनि सिको गर्न थालेकामा खुसी लागेको छ ।’

अमेरिकाको भेन्डेरबिल्ट विश्वविद्यालयबाट अर्थशास्त्र र व्यवसाय विषयमा स्नाकोत्तर तथा इन्जिनियरिङमा स्नातक गरेका सुशीलले काठमाडौंमा श्रीमती सिलसिलासँगै नकुहिने फोहर प्रशोधन गरेर पुनःप्रयोग गर्ने कम्पनी सञ्चालन गरेका छन् । खड्काको सातबिसेमा एक सय रोपनी पुर्ख्यौली जग्गा छ ।

सुशीलका जिजुबाजेले दुई सय वर्षअघि बागलुङबाट आएर सातबिसेमा जग्गा खरिद गरेका थिए । सातवटा २० रुपैयाँमा किनेको जग्गा भएकाले यो ठाउँको नाम सातबिसे नामकरण भएको किंवदन्ती छ । खेतमा पाक्दा र भान्छामा पकाउँदा मगमग बास्ना आउने गौरिया धानखेती हुने र सिँचाइ सुविधा भएकाले खड्काका पुर्खाले सातबिसेमा जग्गा किनेका थिए ।

पछिल्लो समय वैदेशिक रोजगारीका कारण कृषि मजदुर नपाउने र लागत बढ्न थालेपछि सातबिसेको खेतीयोग्य जमिन पनि बाँझिएर झाडीमा परिणत हुन थालेको छ । सन् २००५ मा अध्ययनका लागि अमेरिका गएका सुशील सन् २०१५ मा नेपाल फर्किएका थिए ।

कोरोना महामारी फैलिएपछि भएको बन्दाबन्दीका समयमा उनलाई पुर्ख्यौली जग्गामा कृषि उद्यम सञ्चालन गर्ने सोच पलाएको थियो । तीन रोपनीमा एक सय ५० बोट हजारी जातको केराबाट उद्यम सुरू गरेका खड्काले हालै एक रोपनीमा नयाँ केराका बिरूवा रोपेर विस्तार गरेका छन् । केराखेतीको परीक्षण सफल भएपछि विस्तार गर्न थालेका हुन् ।

केरा बगैँचा रेखदेखको काममा सुशीललाई आमा मनकुमारीले सघाएकी छन् । केरा बेचेर पछिल्लो एक वर्षयता एक लाख आम्दानी गरेका खड्का केराखेतीसँगै ड्रागन फ्रुटको खेती गर्ने तयारीमा छन् ।

आधुनिक उपकरणको प्रयोग गरेर कम लागतमा रैथाने गौरिया जातको धानखेतीलाई निरन्तरता दिने र विदेशबाट फर्किएका तथा गाउँमै भएका बेरोजगार युवाको समूह बनाएर कृषि उद्यम सञ्चालन गर्ने उनको योजना छ ।

‘देशमै केही गर्न सकिन्छ भन्ने सन्देश दिनु र परम्परागत बालीको संरक्षणसँगै प्रवर्द्धन गर्ने मेरो उद्देश्य हो,’ खड्काले भने, ‘जलवायु र मौसममा आएको परिवर्तनको सामना गर्न सक्ने क्षमता भएका परम्परागत बालीलाई जोगाउनु हाम्रो दायित्व र जिम्मेवारी हो ।’

गएको आठ महिनामा २३ प्रतिशत मात्रै विकास खर्च

चालुु आर्थिक बर्षको आठ महिनाको अवधिमा सरकारको विकास खर्च पनि निकै कमजोर देखिएको छ। महालेखा नियन्त्रकको तथ्याङ्कअनुसार फागुन मसान्तसम्ममा पुँजीगत खर्च वार्षिक विनियोजनको २३ दशमलव ३७ प्रतिशत मात्रै छ। सरकारले चालु आर्थिक वर्षका लागि पुँजीगत शीर्षकमा रू तीन खर्ब ५२ अर्ब ३५ करोड ४० लाख बजेट विनियोजन भएकोमा हालसम्म रू ८२ अर्ब ३३ करोड ६० लाख बराबर मात्रै खर्च भएको देखिएको छ।

सरकारले चालु आर्थिक वर्षका लागि रू १८ खर्ब ६० अर्ब ३० करोड ३० लाखको बजेट ल्याएको थियो। फागुन मसान्तसम्म वार्षिक विनियोजनको ४५ दशमलव १२ प्रतिशत अर्थात रू आठ खर्ब ३९ अर्ब ३५ करोड ६० लाख बराबरको खर्च भएको छ।

चालु शीर्षकमा रू ११ खर्ब ४० अर्ब ६६ करोड ४५ लाख विनियोजन भएकोमा ५१ दशमलव २१ प्रतिशत अर्थात रू पाँच खर्ब ८४ अर्ब १२ करोड ७८ लाख बराबर खर्च भएको छ। वित्तीय व्यवस्थापन शीर्षकमा रू तीन खर्ब ६७ अर्ब २८ करोड ४५ लाख विनियोजन भएकामा ४७ दशमलव ०७ प्रतिशत अर्थात रू एक खर्ब ७२ अर्ब ८९ करोड २२ लाख बराबर खर्च भएको छ।

सरकारले चालु आर्थिक वर्षका लागि रू १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाख बराबर राजस्व उठाउने लक्ष्य रहेकामा हालसम्म ५० दशमलव दुई प्रतिशत अर्थात रू सात खर्ब ३८ अर्ब ८२ करोड १३ लाख बराबर असुली भएको छ। जसमध्ये, कर राजस्वतर्फ रू १२ खर्ब ८४ अर्ब २० करोड ९६ लाख विनियोजन भएकोमा ४९ दशमलव ७४ प्रतिशत अर्थात रू छ खर्व ३८ अर्ब ७९ करोड ९० लाख सङ्कलन भएको छ।

त्यस्तै, गैरकर राजस्वतर्फ रू एक खर्ब ३५ अर्ब नौ करोड ३४ लाख उठाउने लक्ष्य रहेकामा हालसम्म ६० दशमलव ३६ प्रतिशत अर्थात रू ८१ अर्ब ५४ करोड ७७ लाख असुली भएको छ।

सरकारको वैदेशिक अनुदान सङ्कलन पनि निकै कमजोर छ। चालु आर्थिक वर्षका लागि रू ५२ अर्ब ३२ करोड ६५ लाख वैदेशिक अनुदान उठाउने लक्ष्य रहेकोमा हालसम्म वार्षिक लक्ष्यको १७ दशमलव ५१ प्रतिशत अर्थात रू नौ अर्ब १६ करोड २५ लाख अनुदान लिइएको छ।

चालु आर्थिक वर्ष २०८१-८२ को दोस्रो चौमासिकसम्म सरकारको आम्दानीभन्दा खर्च बढी देखिएको छ।

महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार गत फागुन मसान्तसम्ममा सरकारले रू सात खर्ब ३८ अर्ब ८२ करोड १३ लाख आम्दानी गर्दा रू आठ खर्ब ३९ अर्ब ३५ करोड ६० लाख खर्च भएको छ। अर्थात दोस्रो चौमासिकसम्ममा सरकारको आम्दानीभन्दा रू एक खर्ब ५३ करोड ४७ लाख खर्च बढी छ।

एकीकृत समाजवादीले भोलि आन्दोलनको कार्यक्रम घोषणा गर्दै

नेकपा (एकीकृत समाजवादी) ले मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी दिन शुक्रवार (भोलि) पत्रकार सम्मेलन गर्ने भएको छ। पार्टी अध्यक्ष माधवकुमार नेपालसहित शीर्ष नेताहरूको उपस्थितिमा विशेष कार्यक्रम घोषणा गर्ने प्रचार विभागले जनाएको छ।

पत्रकार सम्मेलन कार्की ब्याङ्क्वेट बबरमहलमा दिउँसो १२ः३० मा हुने विभागले जनाएको छ। फागुन २६ गते बसेको सचिवालय बैठकले चैत १ गतेबाट सडक संघर्षमा जानेगरी आन्दोलन घोषणा गर्ने निर्णय गरेको थियो। सरकार र सत्तारुढ दलहरूको नालायकीपनका कारण प्रतिगामी तत्त्वहरू सलबलाउन नेकपा एसको निष्कर्ष छ।

त्यसो त यसअघि नै नेकपा एसले पार्टी निर्माणका लागि महासचिव घनश्याम भुसालको नेतृत्वमा आन्दोलन गर्ने निर्णय गरेको थियो।

 

मधेसमा सुनिन छोड्यो होलीको ‘जोगिरा’

“कौनतालपर ढोलक बाजे कौन ताल मृदङ्ग ?
कौनतालपर गोरिया नाचे कौन तालपर हम ?
जोगीरा सर र र….”

(कुन तालमा ढोलक बज्छ, कुन तालमा मृदंग, कुन तालमा कान्छी नाच्छे कुन तालमा) वसन्त ऋतुको आगमनसंँगै श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म मिथिलाञ्चलका घर, गाउँ, टोल र छिमेकमा गाइने यस्तै माधुर्य र प्रेम भाव भएको होली गीत गाउने मानिसको अभावको कारण लोप हुँदै गएको छ । होलीमा गाइने यस्ता गीतलाई ‘जोगिरा’ भनिन्छ । मिथिलाञ्चलमा गाइने यस प्रकारको जोगिराले होलीपर्व खेल्नेहरुबीच सद्भाव, माया र उत्साहका साथै ऊर्जाको सन्देश सञ्चार हुने संस्कृतिविद् किशोरी साह बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘होलीपर्व र सङ्गीतबीच गहिरो सम्बन्ध हुन्छ । सङ्गीत बिनाको होलीको परिकल्पना नै गर्न सकिदैन । भनिन्छ होली पर्व मनभित्र रहेको कुण्ठित विचारलाई समाप्त पार्ने पर्व हो ।’

मिथिलानगरपालिका-२ नक्टाझिज बस्ने ७० वर्षीय रामखेलावन महतो पुर्खौली बाजा मृदङ्ग बजाई फागु गीत (जोगिरा) गाउन नपाएकामा दुःखी मनले भन्नुभयो, ‘पहिले यस्ता जोगिरा वसन्त ऋतुको आगमनसंँगै श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म गाउँगाउँ, टोलटोल घुमेर फागु पर्वको आगमन भएको बारे गीत गाएर जानकारी दिने परम्परा थियो तर अहिले गीत गाउने बूढापाकाको कमी भएका कारण न त त्यति मात्रामा ढोल मृदङ्ग नै बज्छ, न त फागु गीत नै गाइन्छ ।’

‘यसपालिको होली मुखमा आइसक्यो, न डम्फू बज्छ।।न जोगिरा।।का स्वर नै सुनिन्न १’ वर्षौंदेखि जोगिरा गाउँदै आएका क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर कुचाइटोलका ७५ वर्षीय रामभरोसी यादवले भन्नुभयो । उहाँ भन्नुहुन्छ,‘मेरा समूहका धेरै साथीको मृत्यु भइसक्योे, बाँचेका हामीहरु पनि बुढा भएर थलिएका छौंँ तर अझै गाउने त रस छ, तर साथदिने कोही छैनन् ।’ वसन्त पञ्चमीसँगै होली (फागु) पर्वको सन्देश छर्ने जोगिरा।।।अब सुनिन छाडेपछि धनुषासहितका मिथिलाञ्चल क्षेत्रको यो पुरानो संस्कृति लोप हुने स्थितिमा पुगेको छ ।

हरिहरपुरका ६५ वर्षीय रामदुलार महतोेले आफ्नै शैलीमा जोगिरा सुनाउनुभयो,

किनका के हाथकनक पिचकारी,

किनका के हाथअबीर झोरी ?

रामजी के हाथ मेंकनक पिचकारी,

सियाजी के हाथअबीर झोरी ‘ जोगिरा सररर…’

(कसको हातमा सुन जडित पिचकारी -लोला छ र कसको हातमा अबिरको झोला ? रामजीको हातमा सुनजडित पिचकारी छ र सीताजीको हातमा अबिरको झोला)

यस्ता पौराणिक गाथाका विषयवस्तु, भक्ति, ख्यालठट्टा, प्रेमयुक्त र रस मिसिएका मैथिली भाषामा गाइने जोगिरा अब मिथिलाञ्चलमा सुनिन छाडेका छन् । होलिया (फागु गीतगाउने गायक) का स्वरमा घरभित्र लुकेर बसेकी नवयौवना मिथिलानीलाई उकुसमुकुस बनाउने र सबै सामाजिक पर्दा उघारेर बाहिर नाच्न आउँआउँ लाग्ने जोगिरा लोप हुँदै गएपछि फागु पर्वको सौन्दर्य स्वात्तै घटेको पुराना होलियाहरु बताउँछन् । सामाजिक छुवाछूत, ठूला–साना जात र भिन्न धर्म संस्कृतिप्रति माया गर्दै सामाजिक सद्भाव र समानताको सन्देश दिन रमाउने परम्पराको होली पर्व मिथिला संस्कृतिको धरोहर मानिन्छ । तर, यसको सौन्दर्यको महत्वपूर्ण अङ्ग जोगिरा लोप हुँदै गएर अब ‘डिजे’ बज्न थालेपछि मैथिली मौलिकता हराउँदै गएको नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य राजेश कर्णले चिन्ता व्यक्त गर्नुभयो ।

मिथिलाञ्चलमा बसन्तपञ्चमीदेखि होलीगीत शुरु भएर मिथिला माध्यमिकी परिक्रमाको सातौँ दिन महोत्तरीको भंगाहा नगरपालिका–९ कञ्चनवनमा परिक्रमा यात्रीले एकापसमा रङ अबिर खेलेपछि होली पर्व मनाउन थालिने परम्परा छ । पौराणिक कथानुसार सत्ययुगमा राजा हिरण्यकश्यपु ज्यादै अत्याचारी राजाभएकाले आफूलाई देवताभन्दा ठूलो हुँभन्ने घमण्ड गर्थे । उनका छोरा प्रह्लाद भगवान् विष्णुका परमभक्त थिए । हिरण्यकश्यपुले छोरा प्रह्लादलाई विष्णुभक्तिबाट अलग गराउन होलिकासँंगै आगामा जलाउँदा होलिका डढेर भष्म भइन् भने प्रह्लादलाई केही प्रभाव परेन । सोही परम्परालाई निरन्तरता दिँदै हिन्दू समाजमा फाल्गुण शुक्लपूर्णिमाको रातमा होलिकाको दहन गरी हर्ष बढांइँ गर्ने र भोली पल्ट होली खेल्ने चलन रहि आएको भनाइ छ ।

जनकपुरधाम-१२ का सतीशलाल कर्ण भन्नुहुन्छ, ‘होली गीतमा पहिले कामोत्सवको मर्म, धार्मिक र आधुनिक विशिष्टता, जीवनको उमङ्ग, ऊर्जा, संस्कृतिको प्रकाश, परम्पराको आधार तथा उन्मुक्ति थियो तर अब उच्छृङ्खल गीतहरु आएकाले होलीमा माधुर्य र प्रेम भाव मिसिएको गीत बिरलै सुन्न पाइन्छ ।’ दोहोरी गीत झैं गाइने जोगिरा र होलीका गीतका कारण तराई मधेसका हरेक गाउँको वातावरणमा एक किसिमको रौनक छाएको हुन्थ्यो तर अहिले ती गीत भने लोप हुने अवस्थामा पुगेका छन् । नवयौवना मात्र नभई होलियाबीच नै ठट्टा गर्ने नाताबीच हुने जोगिराको कटाक्ष पनि कम मनोरञ्जक हुन्न ।

क्षीरेश्वरनाथ ७ हरिहरपुरका रामलाल महतोले भन्नुभयो, ‘होलीको पौराणिकता अब हराइसकेको छ । दिनहुँजसो हुने झै–झगडा, रागद्वेषको कारण होली गीत गाउन नै छाडिएको छ । होलीको तर्क, दर्शन, मौकिकतालाई गम्भीरतापूर्वक नलिइएकाले अहिलेको होलीमा सङ्कीर्णता छाएको छ । पौराणिकतासंँग जोडिएको होली गीत हराउँदै गइरहेको छ ।’

पहिलेपहिले बुढापाकाले रात परेपछि गाउँको बीचमा रहेको चौपालमा झ्याल, मृदङ्ग, ढोल, डम्फा र तुरकी लिएर समूहगत रुपमा होली गीत जोगिरा गाउने गरेको सखुवाबजारका ७० वर्षीय सत्यनाराण सिंह बताउनुहुन्छ । अब त्यो समय हराएर गएको छ । अधिकांश युवा कामका लागि खाडी मुलुक गएकाले होली गीत हराउँदै गएको बताउँदै धनुषाधाम नगरपालिकाका पर्वताका अमरलाल कर्ण भन्नुहुन्छ, ‘अबको होली प्रेम र सद्भावको नभएर वैमनस्यता पूर्णतामा पुगेको छ । भाङको ठाउँमा रक्सी, प्रेम र सद्भावको ठाउँमा रागद्वेष देखा परेकाले अबको होलीको पौराणिकता र माधुर्य हराउँदै गएको छ ।’

धार्मिक तथा सांस्कृतिक दृष्टिकोणले अति महत्वपूर्ण रहेको होलीले सबै जातजातिलाई प्रभाव पारेको भए पनि होलीको रौनकता नै हराएर गएको छ । फागु पर्व सबै जातजातिले प्रेम र सद्भावका साथ मनाउँदै आइरहेका छन् । पहिलेका होली गीतमा धार्मिक तथा सद्भावको सन्देश बढी पाइन्थ्यो । अब उच्छृङ्ल गीतका बजारमा बढी पाउन थालिएको छ । यस्तो गीतमा अश्लीलशब्द बढी भएको सखुवा बजारका रामकृपाल जयसवालकोे भनाइ छ ।

मिथिलाको शहरी क्षेत्रभन्दा ग्रामीण क्षेत्रमा गाइने यस्ता होली गीतमा विशुद्ध रुपमा ग्रामीण होलीको महत्व, त्यस भेगको माटाको मन्दमन्द वासना हुने भएकाले यस्ता गीतको रक्षा गर्नु आजको आवश्यकता रहेको संस्कृतिविद् तथा वरिष्ठ पत्रकार रामभरोस कापडीको भनाइ छ । पौराणिक होली गीतमा विषय वासना, प्रेमालाप र राम सीता, शिव पार्वतीमा केन्द्रित भएर जोगिरा गीत गाउने परम्परा थियो । अबको होली गीतमा पश्चिमी सभ्यता, उच्छृङ्खलता अश्लीलता जस्ता गीतले कब्जा जमाउन थालेकाले यसको आकर्षण समाप्त हुँदै गएको कापडीको भनाइ छ ।

गाउँघरमा आजभोलि होलीका सांस्कृतिक गीतको साटो भोजपुरी र आधुनिक संस्कृतिले कब्जा जमाउन थालेको छ । वसन्त ऋतुको आगमन संँगसंँगै वसन्तोत्सव पर्वका रुपमा मनाइने होली पर्वका अवसरमा गाइने जोगिरा लोप हुन थालेकाले यसको संरक्षणतर्फ ध्यान दिनुपर्ने साहित्यकार तथा संस्कृतिविद् डा। राजेन्द्र बिमल बताउनुहुन्छ । ‘होली यस्तो हुनुपर्छ जसमा महिला तथा पुरुष निर्धक्क भएर बाहिर निस्कन सकून् । होलीलाई एउटा यस्तो आदर्श बनाउनुपर्छ कि देश र दुनियाँले होली खेलोस् त मिथिलावासी जस्तो’ उहाँ बताउनुहुन्छ । तराई मधेस क्षेत्रमा होली पर्वमा गाइने जोगिराको संरक्षणका लागि पछिल्लो केही वर्षदेखि जनकपुरधामस्थित मिथिला नाट्य कला परिषद् (मिनाप) ले गाउँगाउँबाट होलियाहरुलाई झिकाएर जोगिरा प्रतियोगिता गराउने गरेको छ ।

‘भिजिबिलिटी’ कम हुँदा एक सातादेखि उडान प्रभावित

एयर अरेबियाको जहाजले बिहीबार दिउँसो १ बजेर ५ मिनेटमा काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नै लाग्दा ‘मिस एप्रोच ओभरसुट’ भयो। काठमाडौँ विमानस्थलमा एप्रोच लिएको उक्त जहाजले अवतरण हुनै लाग्दा नरेफाँटमाथिबाट एक्कासी ओभरसुट गर्‍यो। हावाको गति नमिलेको ‘विन्ड सियर’ भएर विमानले मिस एप्रोच गरेको विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले बताउनुभयो।

“एयर अरेबियाको जहाजले काठमाडौँ विमानस्थलमा फाइनल एप्रोच लिँदा मिस एप्रोच भएको छ”, उहाँले भन्नुभयो, “दुई तर्फको हावा मिसिएपछि भुमरीजस्तो हुनेलाई विन्ड सियर भनिन्छ। जसका कारण जहाज हल्लिएर मिस एप्रोच भएको थियो।”

त्यसैगरी नयाँ दिल्लीबाट काठमाडौँ आएको एयर इण्डियाको जहाजले आजै सिमरा माथिको आकाशमा होल्ड भइ चार फन्को मारेपछि भर्खरै काठमाडौँमा अवतरण भएको फ्लाइट राडर्डले जनाएको छ। सँगै बैङ्ककबाट आएको थाइ लाइन एयरको जहाज पनि केहीबेरदेखि होल्डमा परेको थियो।

यसअघि बुधबार जापानको नारिताबाट आएको नेपाल एयरलाइन्सको जहाज केही समय होल्ड भएपछि अवतरण भयो। कतारको दोहाबाट आएको कतार एयरवेज र भारतको नयाँ दिल्लीबाट आएको एयर इन्डिया, मलेसियाको क्वालालम्पुरबाट आएको बाटिक एयर, दुबईबाट आएको फ्लाई दुबईको जहाज पनि होल्ड भएका थिए। त्यतिमात्रै हैन भैरहवाबाट आएको फ्लाइ दुबई, धनगढीबाट आएको बुद्ध एयर, पोखराबाट आएको यति एयरलाइन्सका विमान कम भिजिबिलिटीका कारण होल्डमा परेका थिए।

प्रतिकूल मौसमका कारण पछिल्लो एक सातादेखि मुलुकको उडान सामान्य प्रभावित भइरहेको छ। प्रतिकुल मौसमका कारण आवश्यक भिजिबिलिटी नहुँदा र आन्तरिक र अन्तरराष्ट्रिय हवाई उडान प्रभावित भइरहेको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलले जनाएको छ।

विमानस्थलका प्रवक्ता शेर्पाका अनुसार मौसममा आएको खराबीका कारण अन्तरराष्ट्रिय हवाई उडान बढी प्रभावित भइरहेको छ। नेपालमा अहिले प्रि–मनसुनी गतिविधि सक्रिय भइरहेको र वर्षा गराउने मौसमी प्रणालीको विकास भइरहेकाले मौसम प्रतिकूल हुँदा न्यून भिजिबिलिटी तथा हावाको गति नमिलेका कारण अन्तरराष्ट्रिय उडानका जहाज होल्ड र मिस एप्रोच हुने गरेको प्रवक्ता शेर्पाले जानकारी दिनुभयो।

अन्तरराष्ट्रिय उडानका जहाज काठमाडौँ विमानस्थलको धावनमार्गको पश्चिमतर्फ ‘जिरो टु’बाट मात्रै अवतरण गर्नुपर्ने हुन्छ। आन्तरिक उडानका जहाजलाई लामो रनवे भएकाले दुवैतर्फबाट अवतरण गर्न मिल्ने भएकाले त्यतिधेरै समस्या नरहेको विमानस्थल कार्यालयले जनाएको छ।

बुधबार राति काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्ष भएको छ। विशेषगरी कोशी, बाग्मती र गण्डकी प्रदेशका विभिन्न स्थानमा वर्षा भएको थियो। आज पनि ती प्रदेशका पहाडी भेगमा आंशिक बदली रहनुका साथै अपराह्नतिर घेम गर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको पूर्वानुमान जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले गरेको छ।

 

सभ्य बन्दै होली- अनुमति विना रङ दलिदिने र पानी खन्याइदिने दृश्य बिरलै

काठमाडौँ । केही वर्षअघिसम्म होलीका दिन घर बाहिर निस्कनेलाई बाल्टीका बाल्टी पानी खन्याइन्थ्यो । जबरजस्त अबिरलगायत रङ दलेर मानिस नचिनिने गरी रङ्ग्यान्थ्यो । रङ र पानी मिलाएर घोलिएको रासायनिक पदार्थलाई बटुवालाई समस्या पारिन्थ्यो । विगत केही वर्ष अघिदेखि सांस्कृतिक शहर काठमाडौँमा फागु पूर्णिमा अर्थात् होली पर्व अनुशासित भइरहेको देखिन थालेको छ । फागु पर्व नमनाएका मानिस सडकमा हिँड्दा पनि कसैले पानी र रङ लगाइदिएको छैन ।

सामान्यतया यो वर्ष कसैले पनि अन्यको इच्छा विपरीत फागु पूर्णिमाको संस्कृतिका नाममा विकृतिका काम गरेको देखिएन । मानिस आफू आफूमै रमाए । घरपरिवार एवं छरछिमकीसँग फागु खेले । टीका लगाइदिए । खुसी साटासाट गरे । आपसी सौहार्दता बढाए । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा (होली) पर्व राजधानीलगायत पहाडी र हिमाली जिल्लामा आज अपेक्षाकृत शान्त रूपमा मनाउन थालिएको छ ।

केही वर्षअघिसम्म फागु पूर्णिमा (होली) मा मानिसको इच्छाविपरीत रङ दल्ने पानीका लोला हान्ने गरिन्थ्यो । केही वर्षअघिदेखि त्यस्तो काम रोकिएको छ । सडकमा फागु खेल्ने प्रायः बालबालिका थिए । बालबालिकाले पनि विगतमा जस्तो सडकमा हिँड्ने मानिसलाई रङ दल्ने र पानीका लोला हान्ने गरेका छैनन् । गाडी ‘रिजर्भ’ गरेर होली खेल्दै हिँड्ने मानिसको भीड नगण्य छ । जोरपाटी चोकमा फागु पर्व मनाइरहेका युवा मङ्गलबहादुर तामाङ चिनजानका साथीभाईबीच मात्र पर्व मनाउने सडकमा सवारी र पैदल यात्रा गर्नेलाई केही नगर्ने बताउँछन् ।

विशेषगरी युवतीलाई लोलामा पानी भरेर एक हप्ताअघिदेखि नै छ्यापेर मनोवैज्ञानिक रूपमा बाहिर निस्कन नसक्ने वातावरण बनाइन्थ्यो । यस वर्ष फागु पर्वकै दिन पनि सहज रूपमा हिँडडुल गर्न सकेको सडकमा भेटिएका धेरैले बताए । कतै अपवादका रूपमा जबर्जस्ती रङ लगाएपनि फोहर पानीले दुव्र्यवहार गरेको देखिएन । फुर्सद भएकाले सडकमा पर्व मनाएपनि जरुरी काम परेर बाहिर निस्कनुपर्नेलाई इच्छा विपरीत रङ दलिदिँदा केही वर्ष अघिसम्म धेरै तनावपूर्ण वातावरण बन्ने गरेको थियो ।

चीरोत्थान गरिएको वसन्तपुरमा विशेष चहलपहल
यस पर्वका अवसरमा आज काठमाडौँको वसन्तपुरमा उपस्थित मानिसले विशेष रूमपा होली अर्थात् फागु पूर्णिमा पर्व मनाउन थालेका छन् । बिहानैदेखि विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोकास्थित वसन्तपुर दरबार क्षेत्रमा मानिसको चहलपहल बढेको छ । वसन्तपुर दरबार क्षेत्रमा जम्मा भएकाहरुले पनि चिनजानका मानिसलाई मात्र रङ दल्ने र पानीका लोला हान्ने गरेको देखिन्छ । वसन्तपुर दरबार क्षेत्रमा आज दिनभर फागु पूर्णिमा उत्सव मनाइन्छ ।

वातावरणलाई नै रङ्गीचङ्गी तुल्याउँदै त्यहाँ गाडिएको चीरलाई बेलुकी विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगी जलाउँछन् । उक्त चीरमा राखिएका ध्वजापताका औषधोपचारको काममा आउने विश्वासका साथ लुछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चीरको खरानीको टीका लगाइन्छ । यसका लागि बेलुकीसम्म नै वसन्तपुर दरबार क्षेत्रमा मानिसको भीड लाग्छ ।

फागुन शुक्ल अष्टमीका दिन फागुन २३ गते वसन्तपुरस्थित गद्दी बैठकअगाडि मैलको रुखलाई रङ्गीचङ्गी ध्वजापताकासाथ सिङ्गारी गाडिएको चीरमा पूजाआजा गरेपछि फागु शुरु भएको थियो । वसन्तपुरमा चीर गाडेपछि होली सुरु भएको मान्ने गरिन्छ । यसैले केही वर्षअघिसम्म फागुन शुक्ल अष्टमीदेखि अरूलाई दुःख दिने नियतले रङ र लोला हानिन्थ्यो । यो क्रम अहिले वसन्तपुर दरबार क्षेत्रमा पनि रोकिएको काठमाडौँ महानगरपालिका वडा नं २४ का अध्यक्ष विनोदकुमार राजभण्डारीले जानकारी दिए ।

फागु पूर्णिमा अर्थात् होली पर्वका अवसरमा आजै राति टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई इटुम्बहालदेखि कहीँ पनि नबिसाई ल्याइएको दश पाथी चामलको भात र एउटा राँगाको मासु खुवाई सैनिक अस्पतालभित्र रहेको ‘जधु’ नामक धारामा चुठाउने चलन छ ।

त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ । त्यसै बेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको मानिन्छ ।

यसैगरी द्वापरयुगमा श्रीकृष्ण भगवान्लाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई मारिइन् । निजलाई व्रजवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको पनि धर्मग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व अध्यक्ष प्राडा रामचन्द्र गौतम बताउँछन् ।

राम्रो तरिकाले तयार पारिएका रङ र अबिरले छालाको रोग निवारण गर्ने भएकाले यस्ता रङको प्रयोग गरी फागु खेल्नाले शीतकालमा शरीरमा उत्पन्न कफको विनाश हुन्छ । बालिएको चीरको धुवाँबाट शीतकालका अनेकौँ रोगका कीटाणु निर्मूल हुने हुनाले यो पर्वको आयुर्वेदिक महत्व पनि छ ।

फागु पर्वका उपलक्ष्यमा परम्परादेखि सरकारले सार्वजनिक बिदा दिंँदै आएको छ । यस अवसरमा आज हिमाली र पहाडी क्षेत्रका ५६ जिल्लामा सरकारले बिदा दिएको छ । शुक्रबार तराइ क्षेत्रका २१ जिल्लामा बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ । यसरी फागु पूर्णिमा पर्व देशभर मनाउने गरिन्छ ।

यस पर्वका उपलक्ष्यमा आजभोलि रमाइलोका निम्ति गाँजा, भाङ, जाँड–रक्सीजस्ता नशालु पदार्थको सेवन गरी गुन्डागर्दी गर्ने, शरीरमा प्रतिकूल असर गर्ने खालका रासायनिक पदार्थ प्रयोग गर्ने तथा सवारीसाधनसमेतमा लोला हिर्काउनेजस्ता विकृति पनि कम हुँदै गएको छ । प्रत्येक वर्ष पहाडी जिल्लामा फागुन शुक्ल पूर्णिमा र तराइका जिल्लामा फागुन कृष्ण प्रतिपदाका दिन फागु पर्व मनाउने गरिन्छ ।

डेमोक्रेटिक डाक्टर एशोसिएशन जनकपुरधामद्वारा होली मिलन समारोहको आयोजना

डेमोक्रेटिक डाक्टर एशोसिएशन जनकपुरधामले विहिवार होली मिलन समारोह तथा चियापान कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा चिकित्सकहरूले एकता र पर्वको महत्वलाई उजागर गर्दै एकआपसमा शुभकामना आदानप्रदान गरेका हुन् ।
र्काक्रमको संयोजन डा विभास गोइतले गरेका थिए । कार्यक्रममा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका रेक्टर डा रामनरेश पण्डित, रजिष्ट्रार डा विनोद यादव, डा अमित रञ्जन मिश्रा, डा सज्जन ठाकुर, डा रामजी यादव, डा मिशा महासेठलगायतका प्रमुख चिकित्सकहरूको उपस्थिती थियो ।

कार्यक्रममा बोल्दै डा रामनरेश पण्डितले होली पर्वको सांस्कृतिक र सामाजिक महत्वबारे प्रकाश पारे । उनले भने, ‘होली केवल रंगहरूको पर्व होइन, यो आपसी सद्भाव, एकता र भाईचारेको पर्व हो । हामी चिकित्सकहरूको पनि यही मुख्य उद्देश्य हुनुपर्छ—रोग र समस्यासँग लड्दै हामी समाजमा समृद्धि र सुखको रंग थप्ने काम गर्दैछौं ।’

डा विनोद यादवले भने, ‘होली हाम्रो जीवनको सबै दुःख र तनावलाई रंगीन बनाउनका लागि अवसर हो । यस पर्वले हामीलाई विभिन्न जात, धर्म र संस्कृतिका बीचमा सद्भाव र एकता सृजना गर्न सन्देश दिन्छ । स्वास्थ्य क्षेत्रमा पनि हामी सबैको साझा उद्देश्य भनेको स्वास्थ्य र कल्याण छ । र, यो एकता र सामूहिक प्रयासको परिणाम हो ।’

डा अमित रञ्जन मिश्राले आफ्नो भनाइमा भने, ‘हामी सबैले रंगहरूको पर्वको साथमा मन, वचन र कर्मले एक अर्कामा सद्भावको रंग भरौँ । स्वास्थ्य क्षेत्रमा कार्यरत हामी चिकित्सकहरूको मुख्य उद्देश्य भनेको मानिसहरूको जीवन बचाउनु हो । र, यसका लागि सबैको एकता र सहयोग आवश्यक छ ।’

डा सज्जन ठाकुरले होलीको अवसरमा चिकित्सकहरूको जिम्मेवारी र कार्यप्रतिको प्रतिबद्धता पनि पुनःशक्ति गर्ने विश्वास व्यक्त गरे । समारोहमा डा रामजी यादव, डा। मिशा महासेठलगायतकाले उपस्थित सबैलाई होलीको शुभकामना दिँदै स्वास्थ्य सेवामा उत्कृष्टता र निरन्तर सुधारको आशा व्यक्त गरे ।

 

संसद्‍मा चैत ७ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम

प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तर कार्यक्रम अगामी चैत ७ गते हुने भएको छ । बुधबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी कार्यक्रम चैत ७ गतेको बैठकमा हुनेगरी निर्धारण गरेको जानकारी गराउनुभएको हो ।

सभामुख घिमिरेले यस पटकको प्रश्नोत्तरमा समूह नौमा रहेका सांसदहरूले प्रश्न सोध्न पाउने जानकारी दिनुभयो । उहाँले प्रधानमन्त्रीलाई सोध्ने प्रश्न चैत ३ आइतबार दिउँसो २ बजेभित्रमा प्रतिनिधिसभाका सचिव समक्ष लिखित रूपमा दिन पनि आग्रह गर्नुभयो ।

मन्त्रिपरिषद् बैठकहरु निर्णयहरु सार्वजनिक

सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । बुधबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलन गर्नुहुँदै फागुन २६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो ।

बैठकले जग्गा प्रशासन निर्देशिका, २०५८ र भू–सूचना प्रणाली सञ्चालन निर्देशिका, २०७१ खारेज गर्ने निर्णय गरेको छ । मन्त्री गुरुङले अनुचित लेनदेन ९मिटरब्याज० अपराध नियन्त्रणका लागि सुरक्षासहितको प्रतिवेदन पेस गर्न बाबुराम रेग्मीको अध्यक्षतामा भरतबहादुर बोहोरा र बद्रीप्रसाद भट्टराई सदस्य रहेको तीन सदस्यीय अनुचित लेनदेन ९मिटरब्याज० सम्बन्त्री जाँचबुझ आयोग २०८१ गठन गर्ने निर्णय बैठकले गरेको बताउनुभयो ।

यसैगरी आर्थिक वर्ष २०८१-०८२ को बाँकी अवधिका लागि कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गत सञ्चालन उच्च मूल्य कृषिवस्तु उत्थानशील कार्यक्रम, काठमाडौँका लागि अधिकृतस्तरका आठ पदहरुको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेको छ ।

त्यस्तै, गैरआवासीय नेपालीसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने, नागरिक उड्डयन क्षेत्रको सुधारसम्बन्धी उच्चस्तरीय अध्ययन तथा सुझाव समितिको म्याद ४५ दिन थप गर्ने, कान्ति बाल अस्पताल भवन पुनर्निर्माण कार्यलाई विशेष परियोजनाको रूपमा कार्यान्वयन गर्ने गरी खरिद प्रक्रिया अगाडि बढाउन स्वीकृति दिने र स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशकको पदमा रघुराज काफ्लेलाई नियुक्ता गर्ने निर्णय बैठकले गरेको छ । यससँगै मन्त्रिपरिषद् बैठकले अन्य २५ वटा निर्णय पनि गरेको छ ।

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

सरकारले ल्याएका ५ अध्यादेश प्रतिस्थापन विधेयकका रूपमा प्रतिनिधिसभामा प्रस्तुत

सरकारले विभिन्न मितिमा ल्याएका ५ अध्यादेशलाई आज प्रतिनिधिसभाको बैठकमा प्रतिस्थापन विधेयकका रूपमा प्रस्तुत गरेको छ । आजको बैठकमा तीन विधेयक उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले, एक विधेयक प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले र अर्को विधेयक भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले प्रस्तुत गरेका हुन् ।

अर्थमन्त्री पौडेलले ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ ‘निजीकरण (पहिलो संशोधन) विधेयक २०८१’ र ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’ प्रतिस्थापन विधेयक प्रतिनिधिसभामा प्रस्तुत गरे ।

प्रधानमन्त्री ओलीको तर्फबाट सञ्चारमन्त्री गुरुङले ‘सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ प्रस्तुत गरे । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ प्रस्तुत गरे ।

गत माघ १८ गते संघीय संसद् सचिवालयमा यी विधेयक अध्यादेशका रूपमा दर्ता भएका थिए । ती अध्यादेशलाई प्रतिनिधिसभाको फागुन २१ गते बसेको बैठकले स्वीकृत गरेको थियो ।

सरकारले ६ अध्यादेश ल्याए पनि भूमिसम्बन्धी अध्यादेश भने सत्तारुढ दलहरूले अस्वीकार गर्ने निर्णय गरेपछि सरकारले ‘होल्ड’मा राखेको छ । सरकारमा रहेको लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल र सरकारलाई समर्थन गरेको जनता समाजवादी पार्टी, नेपालले भूमिसम्बन्धी अध्यादेश अस्वीकृत गर्ने निर्णय गरेका थिए ।

प्रतिनिधिसभामा सहज बहुमत रहेको सत्ता पक्षसँग यी दुई दलले अस्वीकार गर्ने निर्णय गरेपछि राष्ट्रियसभामा बहुमत पुग्दैन । अध्यादेश दुवै सदनले स्वीकृत नगर्दै अगाडि नबढ्ने व्यवस्थाका कारण सरकार फिर्ता लिन बाध्य भएको हो ।