Page 165 – Nepalboli

प्रचण्डद्धारा पूर्व राजा ज्ञानेन्द्र शाह माथी ‘भाइमारा’ र मूर्तिचोरको आरोप

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले पूर्व राजा ज्ञानेन्द्र शाहलाई ‘भाइमारा’ र मूर्तिचोरको आरोप लगाएका छन् । उनले आफू पहिलोचोटी प्रधानमन्त्री हुँदा दरबार हत्याकाण्डबारे छानबिन गरी भाइमारा र राजद्रोहीलाई ठेगान लगाउन खोजेको बताएका छन्।

२०६४ चैत २८ मा संविधान सभाको चुनाव भएको केही महिनापछि प्रचण्ड प्रधानमन्त्री बने पनि ९ महिना मात्रै शासन गरेका थिए। तत्कालीन प्रधान सेनापति रूकमाङ्गद कटुवाललाई हटाउने सरकारको निर्णय राष्ट्रपतिले रोकिदिएपछि उनले ९ महिनामै पदबाट राजीनामा दिएका थिए।

मैले पहिलोचोटि प्रधानमन्त्री हुँदा दरबार हत्याकाण्डको फेरि एकचोटि छानबिन गर्नुपर्नेछ भनेको थिएँ। मैले त्यतिबेला पाँच वर्ष शासन गर्न पाएको भए फेरि एकचोटि छानबिन गरेर माइमारा र राजद्रोही यिनीहरूलाई इतिहासको कठघरामा ठेगान लगाउने विचार थियो,’ सिन्धुपाल्चोकको मेलम्चीमा शुक्रबार भएको कार्यक्रममा उनले भने, ‘अहिले यिनीहरू चुरीफुरी गरेका छन्, धेरै नगरे हुन्छ।’

उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई लक्ष्य गर्दै धेरै मुर्खता नगर्न आग्रह गरेका छन्। ‘अर्को मुर्खता गरे भने जनता उदार हुँदैनन्, राजनीतिक दल पनि उदार हुँदैनन्,’ उनले भने।

भयानक दरबार हत्याकाण्ड गर्ने मुख्य योजनाकार परिवारभित्रै रहेको दाबी पनि उनको थियो। उनले मूर्तिचोर, सुन तस्कर र वंशनाश गर्ने को हुन् भनेर नेपाली जनताले बुझेको पनि बताए। २०५८ जेठ १९ गते तत्कालीन राजा वीरेन्द्र शाह परिवारको हत्या भएको थियो।

 

 

 

एकीकृत समाजवादीले घोषणा गर्‍यो आन्दोलनका कार्यक्रम

नेकपा (एकीकृत समाजवादी) ले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर महासचिव घनश्याम भूसालले वैशाख २२ गतेसम्मको आन्दोलनको घोषणा गरेका हुन्। महासचिव भूसालले राजनीतिलाई सत्ताको खेल या आगामी निर्वाचनको जोड घटाउबाट मुक्त गर्न आन्दोलन गर्नुपरेको बताए।

आन्दोलनका कार्यक्रमअनुसार चैत्र २–६ सम्म मातहत कमिटीहरूमा छलफल, चैत्र ७–१५ सम्म केन्द्रीय तहमा विभिन्न क्षेत्रका संघ–सङ्गठन तथा व्यक्तिहरूसँग सम्वाद तथा सुझाव संकलन, चैत्र २० गते सरकारलाई ज्ञापन पत्र बुझाउने, चैत्र मसान्तसम्म प्रदेश र जिल्ला तहमा सार्वजनिक सम्वाद तथा सुझाव सङ्कलन गर्ने महासचिव भूसालले जानकारी दिए।

उनका अनुसार वैशाख ५ गते प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र पेस गर्ने, वैशाख १५ गतेसम्म पालिका र वडा तहमा सार्वजनिक सम्वाद तथा सुझाव संकलन, बैशाख १९ देखि २२ सम्म पालिका र वडा कार्यालयहरूमा ज्ञापन पत्र पेस गर्ने र वैशाख २५ गते दोस्रो चरणको आन्दोलनको घोषणा हुनेछ।

‘सुशासन र रोजगारी समाजवादको तयारी’ नारा तय गरेर आन्दोलनमा जान लागेको एकीकृत समाजवादीले कृषि, उद्योग, पर्यटन र पूर्वाधारलाई रोजगारीको आधार भनेको छ।

 

गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन, उत्पादनकत्व र उद्यमशीलता वृद्धि गरी गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न राष्ट्रिय योजना आयोगका पदाधिकारीलाई निर्देशन दिएका छन् । आयोगको कार्यसम्पादन र भावी कार्यदिशाका विषयमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा उपाध्यक्षसहित पदाधिकारीसँगको छलफलमा आयोगका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले प्रधानमन्त्री ओलीले पूर्वाधार विकासका काम लगभग पूरा हुने चरणमा रहेकाले अब सीप विकास, उद्यमशीलता, रोजगारीका अवसर सृजना, कृषि क्षेत्रका ठुला उत्पादन र लगानी वृद्धि गर्न आग्रह गरेका हुन् ।

“हामीले जनतालाई सबल बनाउने बाटो लिनुपर्छ । सहयोग गरेर मात्रै हुँदैन । उत्पादन र आत्मनिर्भरता बढाउने बाटोमा जानुपर्छ ।”, प्रधानमन्त्री ओलीले भने, “जनतालाई कर्मशील बनाउन प्रेरित गर्नुपर्छ । गरिबी घटाउने कामलाई पहिचान गरी मौलिक हकको उपयोग गर्न पाउने आधार तय गर्नुपर्छ । मन्त्रालयहरुलाई उत्पादन र उत्पादकत्व बढाउने ठोस योजना ल्याउन हामीले भन्नुपर्छ । उत्पादकत्व बढेपछि अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्न थाल्छ ।”

उनले राष्ट्रिय गौरवका आयोजनाको प्रभावकारी अनुगमन–मूल्याङ्कन, उद्यमशीलताको विकास र जनताको सेवा प्रवाह एवं सुशासनमा सकारात्मक प्रभाव पर्ने कार्यमा लाग्न पनि आग्रह गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सो अवसरमा आयोगका उपाध्यक्ष प्रा डा शिवराज अधिकारीले १६ औँ योजनाको कार्यान्वयन, यसका चुनौतीहरु, राष्ट्रिय आयोजना बैँकको नयाँ मापदण्ड र परिमार्जन, अधुरा योजनमाथिको व्यवस्थित विश्लेषण, परियोजना विश्लेषणको नयाँ मापदण्ड, समपुरक र विशेष अनुदानको कार्यविधिमा संशोधन आदि विषयमा अवगत गराएका थिए । उनले परिमार्जित मापदण्डबारे प्रदेश र स्थानीय तहसँग पनि अन्तक्र्रिया गरिएको जनाउँदै वित्तीय सङ्घीयताको प्रभावकारी कार्यान्वयन गर्न स्थानीय तहलाई स्रोत साधन सम्पन्न बनाउनुपर्नेमा जोड दिए ।

 

‘वस्तुको प्रकृतिअनुसार भन्सार वर्गीकरणको व्यवस्था गर्नुपर्नेमा जोड’

भन्सारमा वस्तुको वर्गीकरण वस्तुको प्रकृतिअनुसार गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।शुक्रबार बसेको प्रतिनिधिसभाअन्तर्गतको अर्थ समिति बैठकमा ‘भन्सारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ माथिको दफावार छलफलमा बोल्दै सरोकारवालाहरूले यस्तो बताएका हुन् । वस्तुको वर्गीकरण सहज देखिए पनि प्राविधिक रूपमा कठिन हुने उनीहरूको धारणा छ ।

बैठकमा बोल्नुहुँदै अर्थ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले वर्गीकरणमा फरक परेमा वस्तुको मूल्यमा समेत फरक पर्ने उल्लेख गर्नुहुँदै वस्तुको प्रकृतिअनुसार वर्गीकरण गरिनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्सारका कर्मचारीले वस्तुको वर्गीकरण गर्न नसकेको अवस्थामा विज्ञको समेत सुझाव लिनसक्ने बताउनुभयो । वर्गीकरणमा कुनै दुविधामा भएमा वस्तुको नमूना भन्सार विभागका महानिर्देशकलाई पठाउने र विभाग प्रमुखले प्रचलित मान्यताअनुसार वर्गीकरण गरिदिने गरी व्यवस्था गर्न जरुरी रहेको बताउनुभयो । उहाँले वस्तुको वर्गिकरण भन्सार सङ्गठनसँग गर्नुपरेको अवस्थामा समयसीमा राख्न उचित नहुने सचिव घिमिरेको भनाइ छ ।

‘‘वस्तुको वर्गीकरण फरक पर्यो भने महसुल पनि फरक पर्छ । त्यसकारणले गर्दा वस्तुको प्रकृतिअनुसार वर्गीकरण गरिनुपर्छ । अन्तर्राष्ट्रिय वस्तुहरू चिनेर वर्गीकरण गर्नका लागि कोडहरूको प्रयोग गरिन्छ । अन्तर्राष्ट्रिय मान्यताअनुसार वस्तुको वर्गीकरण गरिने भए पनि कहिले काँही समस्या पर्नसक्छ । त्यस्तो दुविधा पर्यो भने भन्सार विभागका महानिर्देशकलाई पठाउने र उहाँले भइरहेको अभ्यास अनुसार वर्गीकरण गरिदिने गर्नुपर्‍यो ।,’’ उहाँले भन्नुभयो, ‘‘वस्तुको वर्गीकरण गर्न नसकेको अवस्थामा विज्ञसँग पनि राय लिन सकिन्छ । भन्सार सङ्गठनसँग पनि यस विषयमा राय लिन सकिन्छ । भन्सार सङ्गठनले एचएस कोडको आधारमा वर्गीकरणका लागि राय दिन सक्छ । यस्ता विषयमा हामीले समय सिमा राख्नु हुँदैन किनभने यो कुटनीतिक विषय पनि हुन्छ । वस्तुको वर्गीकरणको विषय हेर्दाखेरि सजिलो देखिए पनि एकदमै प्राविधिक विषय हो ।’’

यसैगर, भन्सार विभागका महानिर्देशक महेश भट्टराईले बजार अनुगमन र आयकरको मापदण्डलाई दरिलो बनाउने गरी कानुन निर्माण गर्नुपर्ने बताउनुभयो । आयकरको मापदण्ड व्यवस्थित र बजार अनुगमनलाई दरिलो बनाउनसके भन्सारमा देखिएका समस्याहरू स्वतः कम हुँदै जाने उहाँको भनाइ छ ।

उहाँले आन्तरिक राजस्वको प्रणालीलाई व्यवस्थित र दरिलो बनाउने गरी कानुन निर्माण हुनुपर्नेमा जोड दिनुभयो । उहाँले वस्तुको मूल्य निर्धारण गर्नेकुरा भने भने भन्सारसम्बन्धी कानुनको कार्यक्षेत्रमा नपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘‘हामीले बजार अनुगमनलाई पनि दरिलो बनाउन सक्यौं, आयकरको मापदण्डलाई पनि दरिलो बनाउन सक्यौं र करको दायरा बढाउन सक्यौं भने भन्सारका समस्याहरू स्वतः कम हुँदै जान्छन् । भन्सार प्रशासन सुदृढ गर्नका लागि भन्सार त छँदैछ । हाम्रो पेमेन्ट सिस्टमलाई पनि फर्मल बनाउनुपर्छ । आन्तरिक राजस्वको प्रणालीलाई पनि दरिलो बनाउनुपर्नेछ । बजार अनुगमनलाई पनि दरिलो बनाउनुपर्नेछ । वस्तुको मूल्य भने यसले तोक्न मिल्दैन । त्यसका लागि उपभोक्ता संरक्षण ऐनले त्यो कुरा गाइड गरेको छ । वस्तुको बजार भाउ र छुटको कुरा ऐनको कार्यक्षेत्रको भन्दा बाहिरको विषय हो ।’’

वस्तुको वर्गीकरण र मूल्याङ्कन सही ढङ्गले गर्नसके भन्सार राजस्वमा वृद्धि हुने उहाँको भनाइ छ ।

 

 

 

 

 

 

पूर्वविशिष्टलाई सुविधा दिने तयारी छैन- उपप्रधानमन्त्री सिंह

उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले पू्र्वविशिष्टलाई आजीवन सुविधा दिने सरकारको कुनै तयारी नरहेको बताएका छन् । नेपाली कांग्रेस पाल्पा जिल्ला कार्यसमितिले शुक्रबार गरेको कार्यकर्ता भेटघाट एवं अन्तरक्रियामा मन्त्री सिंहले यसअघिको कुनै सरकारले गरेको कुरालाई ल्याएर अहिले हल्ला गरिएको जिकिर गरे ।

‘०६९ सालमा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकारले पूर्वविशिष्टलाई सुविधा दिने अध्यादेश ल्याएको थियो । अहिले त्यस्तै प्रकृतिको कानुन निर्माणका सरकार लागेको भन्दै केही सञ्चारमाध्यममा खबर आए पनि सरकारले त्यस्तो तयारी गरेको छै,’ उनले भने । उपप्रधानमन्त्री सिंहले जनताले लडेर अहिलेको अधिकार प्राप्त गरेको भन्दै कसैले किस्तीमा राखेर नदिएको बताए । ‘प्राप्त अधिकारको रक्षा गर्दै जनताको जीवन र जीविका सहज बनाउन सरकारले काम गरिरहेको उनको भनाइ छ ।

कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका सिंहले एकतावद्ध कांग्रेस बनाउनुपर्नेमा जोड दिए । गुट–उपगुट छोडेर एकताबद्ध हुन सके कांग्रेसलाई कसैले पराजित गर्न नसक्ने उनको भनाइ छ ।

 

एमालेले सचिवालय बैठक बोलायो

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ। एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले यही चैत ४ गते सचिवालय बैठक बोलाइएको जानकारी दिए।

सचिव डा अधिकारीका अनुसार उक्त बैठकमा पार्टीको सङ्गठनात्मक गतिविधि, समसामयिक राजनीतिक विषयवस्तुलगायत विषयमा छलफल हुनेछ। बैठक ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बस्नेछ।

 

टाइम म्यागेजिनको विश्वका सय उत्कृष्ट ठाउँको सूचीमा नेपाल

तपाईलाई घुम्न मन पर्छ ? टाइम म्यागेजिनले भर्खरै २०२५ मा घुम्नका लागि विश्वका सय उत्कृष्ट ठाउँको सूची जारी गरेको छ । सूचीमा एल साल्भाडोरदेखि भारतको जयपुर र जिम्बाबेसम्म परेका छन् ।

यसमा क्रुजदेखि संग्राहलय र रेष्टुराँदेखि नेशनल पार्कसम्म सबै कुरा छन् । सूचीमा नेपालको तर्फबाट सामुदायिक होमष्टे नेटवर्क (सीएचएन) लाई पनि घुम्नै पर्ने ठाउँ बताइएको छ ।

कतै घुम्न जानुको पहिलो लोभ भनेको त्यहाँका मानिसहरूलाई चिन्नु वा थाहा पाउनु पनि हो । कसैको घरमा एक रात मात्रै बस्नु भनेको उनीहरूसँग जीवनभरका लागि मित्रता गाँस्नु पनि हो । त्यसपछि गाउँको शान्त र हरियाली परिवेश, फाँट अनि डाडाँकाडाँ एकपटक कल्पना गर्नु त मनैलाई शान्त हुन्छ ।

सीएचएन रोयल माउन्टेनको भगिनी कम्पनी हो । २०१२ मा पनौतीमा होमस्टे खोलेयता यसले १८ समुदायमा २०० भन्दा धेरै होमस्टे चलाइरहेको छ । होमस्टे बाहेक पनि सीएचएनले आगन्तुकहरूलाई नेपाल घुम्न आउनका लागि प्रेरित गर्न सीएचएनले स्थानीय सरकारहरूसँग मिलेर पनि काम गरिरहेको छ ।

 

१५ दिने माध्यमिकी मिथिला परिक्रमा सम्पन्न, जनकपुरक्षेत्रमा भोलि होली

पन्ध्रदिने पदयात्रा मिथिला माध्यमिकी परिक्रमा आज सम्पन्न भएको छ । आज बिहानैदेखि जनकपुरधामको अन्तरगृह परिक्रमा गरी पन्ध्रदिने मिथिला परिक्रमा सम्पन्न भएको हो । परिक्रमा सकिएकाले भोलि मात्र मिथिलाञ्चलको जनकपुर क्षेत्रमा होली खेलिने छ । परिक्रमा समापनको भोलिपल्ट मिथिलाञ्चल क्षेत्रमा हर्षोल्लासका साथ होली पर्व मनाउने परम्परा रहिआएको छ ।

फागुन औंसींका दिन अर्थात् फागुन १५ गते धनुषाको मिथिलाबिहारी नगरपालिका ८ स्थित मिथिलाविहारी मन्दिरबाट डोलासँगै परिक्रमा प्रारम्भ भएको थियो ।

१५ दिने परिक्रमाको क्रममा जनकपुरको हनुमाननगर, विहारको कलनास्थित कल्यानेश्वर, भारतकै फुलहरस्थित गिरिजा स्थान, महोत्तरीको मठिहानी, जलेश्वर, मडै, ध्रुवकुण्ड, कञ्चनवन, पर्वता, धनुषाधाम, सतोखर, औरही, करुण (भारत), विसौल (भारत) र यात्राको अन्तिम दिन अर्थात १५ औं दिन जनकपुरको अन्तरगृह परिक्रमा गरी मध्यपरिक्रमा सम्पन्न हुने गर्दछ ।

मध्यपरिक्रमामा सहभागी नहुने अधिकांश श्रद्धालु भक्तजन अन्तिम दिन जनकपुरको अन्तरगृह परिक्रमामा सहभागी हुने गर्दछन् ।

परिक्रमामा रामजानकीको डोलासँगै परम्परागत बाजागाजा सहित मौलिक पहिरनमा नरनारीहरु सहभागी हुने गर्छन् । श्रद्धालुहरु टायर गाडा, साइकल र टाउकोमा बन्दोबस्तीको समान लिएर प्रत्येक दिन स्थान परिवर्तन गरी बास बस्ने, भुइँ खनेर चुल्हो बनाई त्यसैमा खाना पकाउने, भजनकिर्तन लगायतका कार्यहरु गर्दछन् । परिक्रमा गर्दा विभिन्न प्रकारका रोग, दुःख, कष्ट कलेशबाट मुक्ति एवंम नोवाञ्छित फल प्राप्त हुने धार्मिक जनविश्वास रहेको छ ।

परिक्रमाको क्रममा रात्रि विश्राम गर्ने पन्ध्रवटै स्थलहरुमा स्थानीयहरुले मेला आयोजना गर्दछन् । परिक्रमा तथा मेलामा नेपालको धनुषा, महोत्तरी, सर्लाही, सिरहा, सप्तरी लगायत भारत बिहारको सितामढी, मधुबनी, दरभंगा सहितका स्थानबाट सयौं श्रद्धालुहरुको सहभागिता रहन्छ ।

 

जहाँ घरमा आगो भित्र्याएपछि मात्र होली सुरु हुन्छ

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–३ पीपलाडीका आशीष चौधरीले बिहीबार होलिका अवसरमा नयाँ आगो घर भित्र्याए । होलिका जलाइएको ठाउँबाट चौधरीले बलिरहेको गुइँठा घर ल्याएका हुन् । गुरुवाले तान्त्रिक विधिबाट शुद्ध गरेको आगो घर भित्र्याएर पुराना आगो फालिएको छ ।

चौधरी जस्तै गाउँका सबैजनाले होलिका जलाएको ठाउबाटै नयाँ आगो घरघरमा लगेका छन् । त्यही आगोले देउथुनवामा बत्ती बाल्ने र घरमा खाना पाकाउने वैदिककालदेखिकै चलन रहेको बुढापाकाको भनाइ छ । नयाँ आगोलाई अर्को वर्षको होली नआउँदासम्मका लागि राख्ने चलन रहेको थारु बुद्धिजीवी नरेन्द्रप्रसाद चौधरीले बताए ।

नयाँ आगो भित्रयाएमा धनधान्यले परिपूर्ण हुने, अन्नको कमी नहुने, रोगव्याधी नलाग्ने विश्वास थारु समुदायमा रहेको उनले बताए । पुर्खौंदेखि चल्दै आएको चलन अहिले पनि पुस्तान्तरण हुँदै जीवित रहेकामा उाले सन्तोष व्यक्त गरे ।

“बडघरको घरमा जम्मा भयौँ”, नरेन्द्रले भने, “तेल, गुड, ल्वाङ र गहुँको पीठोमा मिसाएर निरहार रहेका गाउँका एक जनालाई बम्ना (बाहुन) बनाएर एकपल्टे (एकातर्फ मात्रै पाकेको) रोटी पकायौँ, बेलुका गाउँको देउथानमा परम्परागत विधिअनुसार होल्का डुङग्ना गरेपछि नयाँ आगो भित्र्याएका छौँ ।” नयाँ आगो घरमा ल्याएपछि कुल देवताको स्मरण गर्दै मदिरा, जल, अगरबत्तीलगायत चढाएर पूजा गरेपछि चुल्होमा नयाँ आगो बाल्ने कार्य गरिएको उनको भनाइ छ ।

उन का अनुसार सिमलको हाँगा गाडेर राखिएको ठाउँमा तोरीको डाँठलगायतले बेरेर ठूलो थुम्को (होलिका) बनाएर राखिन्छ । थारु गाउँका गुरुवा, वरघरघरियाले देउथानमा रोटी, गुडले पूजा गरी दियो बालेपछि परिक्रमा गर्दछन् । यसरी परिक्रमा सकेपछि उक्त थुम्कोमा आगो लगाउने गर्दछन । आगो भने गाउँको दक्षिणतर्फ रहेको क्षेत्रमा बाल्ने गरिन्छ । आगो लगाउन आएका सबैलाई रोटी र गुडप्रसादका रुपमा समान बाँड्ने चलन छ ।

घरघरमा आगो लैजान आएका व्यक्तिले हिँड्दै गर्दा बाटोमा छाडेको आगो गाउँका भद्रभलादमीले निभाउने गर्दछन् । आगलागीलगायत घटना नहुन् भनेर बाटोमा छुटेको आगो निभाइने गरिएको चेतराज चौधरीले बताए ।

पहिलो दिन नयाँ आगो घरमा भित्र्याएपछि आज दोस्रो दिन बिहानै गाउँका महिलाले होलीका जलाएको ठाउमा पानीले सफा गरी बह्रनी (एक प्रकारको झाडु) ले सफा गर्ने गर्दछन् । होलिका जलाएको खरानी बोकेर घर फर्किएका छन् ।

होलीको रङ (फगुवा) लगाउनुअघि घरपरिवारलाई होलिका जलाएको खरानी देउथनुमा (देवस्थान) मा चढाएर ढोग गरेपछि खरानीसहित परिवारलाई रङ लगाउने तयारी सुरु गरिएको छ । होलिका जलाएको खरानी घरपरिवारमा प्रसादका रूपमा लगाएपछि मात्रै रङको होली खेल्ने परम्परा थारु समुदायमा रहेको गहनु चौधरीको भनाइ छ ।

घरपरिवारमा खरानीको टीका लगाइसकेपछि होलीको रङ लगाएर एक आपसमा खुसियाली साटासाट गर्ने र होली खेल्ने काम सुरु हुन्छ । तीन दिनसम्म होली मनाइने गरिन्छ । थारु बुढापाकाका अनुसार पहिलो दिन पानीले, दोस्रो दिन रङ र तेस्रो दिन हिलो एकअर्कामा छयापेर होली मनाइन्छ ।

बदलिँदो परिवेशअनुसार हाल हिलो छ्यापेर होली मनाउने चलन भने हुन छाडेको छ । होलीका अवसरमा मान्यजनबाट अबिर लगाउने, एकापसमा खुसियाली साटासाट गर्ने गरिन्छ । ढोगसलाम लाग्ने कार्य हुन्छ ।

होलीमा विगतको रिसराग भुलेर एर्कालाई रङ दल्ने गरिन्छ । रमाइलोका लागि होली खेल्ने, नाचगान गर्ने चलन थारु समुदायमा छ । घरभन्दा बाहिर रहेका होलीका अवसरमा घर फर्कने गर्दछन् । परिवारका साथ बसेर भलाकुसारी गर्ने अवसर यसबेला जुर्ने गर्दछ ।

 

 

 

पशुपति क्षेत्रको ऐतिहासिक अग्निहोतृशाला वैशाखदेखि सञ्चालन हुने

काठमाडौँ । विगत दुई वर्षदेखि बन्द रहेको पशुपति क्षेत्रस्थित अग्निहोतृशाला आगामी वैशाखदेखि सञ्चालनमा आउने भएको छ । सञ्चालनका लागि अग्निहोतृ नै चाहिने र सो तत्काल उपलब्ध नभएकाले दुई वर्षदेखि पशुपति चार शिवालयमा रहेको अग्निहोतृशाला बन्द थियो ।

पशुपति क्षेत्रमा गुठी संस्थानको व्यवस्थापनमा सो सञ्चालनमा रहेको थियो । संस्थान र पशुपति क्षेत्र विकास कोषको संयुक्त व्यवस्थापनमा वैशाखदेखि पुनःसञ्चालन गर्न लागिएको सदस्यसचिव डा मिलनकुमार थापाले जानकारी दिए । अग्निहोतृको खोजी भइसकेकाले वैशाखदेखि सञ्चालन गर्न लागिएको उनले बताए । अग्निहोतृशालामा छुट्टै कुण्डको व्यवस्था गरी ग्रहशान्ति गर्ने व्यवस्था पनि गर्न लागिएको छ ।

विगत दुई वर्षअघिसम्म गौशालाका गौतम थरका अग्निहोतृले अग्निहोतृशाला सञ्चालन गरिरहेका थिए । गौतम परिवारमा यससम्बन्धी ज्ञान भएका कोही नभएपछि बन्द भएको थियो । अग्निहोतृ परिवारकी डा माया गौतम पृथ्वीनारायण शाहको पालादेखि यो अग्निहोतृशाला नियमित सञ्चालन हुँदै आएको बताउँछन् । यसमा चासो राख्ने कोही नभएकैले विगत दुई वर्षदेखि बन्द भएको उनले सुनाए ।