Page 164 – Nepalboli

आँखा उपचारमा पहुँच बढाउन मन्त्रालय र तिलगंगा प्रतिष्ठानको सम्झौता

आँखा स्वास्थ्य सेवामा नेपाली नागरिकको पहुँच बढाउन भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल आँखा कार्यक्रम तिलगंगासँग सहयोग आदानप्रदानसम्बन्धी सम्झौता गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र तिलगंगाका कार्यकारी निर्देशक वरिष्ठ नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइतको उपस्थितिमा सम्झौता भएको हो। सम्झौताअनुसार मन्त्रालयले तिलगंगाको सेवा तथा क्षमता वृद्धिका लागि सघाउनेछ भने तिलगंगाले उत्पादित लेन्स दुर्गमका नागरिकलाई १० प्रतिशत तथा अन्य नागरिका लागि अधिक छुटमा उपलब्ध गराउने छ।

सरकारको भन्सार तथा मूल्य अभिवृद्धि छुटमा तिलगंगाबाट उत्पादित लेन्स विभिन्न देशमा उच्चगुणस्तरको भन्दै बिक्री हुँदै आएको छ। अब सम्झौताअनुसार तिलगंगाले ती लेन्स देशका नागरिकले प्राप्त गर्नका लागि हालको रकममा छुट प्रदान गर्नेछ। यसैगरी तिलगंगाले आँखा स्वास्थ्य सेवामा पहुँच वृद्धि गर्दै अन्धोपन निवारणका लागि वर्गीकृत दक्ष जनशक्ति उत्पादन गरी ग्रामीण तहसम्म आँखा स्वास्थ्य सेवा पुर्याउनेछ।

मन्त्रालयले तिलगंगाका परियोजना कार्यान्वयन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका निकायमार्फत समन्वय र सहकार्य गर्ने सम्झौतामा उल्लेख छ। यसैगरी, आँखा कार्यक्रम संचालनको लागि प्रदेश सरकार तथा स्थानीय सरकारलाई आवश्यक समन्वय तथा सहजीकरण गर्ने मन्त्रालयले सम्झौता गरेको छ।

मन्त्रालयले मोतियाबिन्दु शल्यक्रिया पक्षात उपयोग हुने लेन्स उत्पादनका लागि कच्चा पदार्थ र उपकरण आयातमा प्रचलित कानुन बमोजिम भन्सार तथा मूल्य अभिवृद्धि कर सहुलियतका लागि सिफारिस प्रदान गर्ने सम्झौता गरेको छ।

सम्झौताअनुसार मन्त्रालयले तिलगंगाले आँखा कार्यक्रम सञ्चालन गरेका अस्पतालमा प्राविधिक तथा स्वास्थ्यकर्मीको सीप अभिवृद्धिका लागि सघाउने छ। सम्झौता आदानप्रदान पछि आयोजित कार्यक्रममा बोल्दै मन्त्री पौडेलले डा सन्दुक रुइतको नेतृत्वमा नेपालले आँखा उपचारमा विशिष्टता प्राप्त गरेको भन्दै यो गौरवको विषय भएको उल्लेख गर्नुभयो।

उहाँले अन्तर्राष्ट्रिस्तरमा ख्याती प्राप्त डा रुइत नेतृत्वको कामलाई राज्यका तर्फबाट मूल्यांकन गर्दै थप सहयोग पुर्याउनुपर्छ भनेर सम्झौता गरिएको बताउनुभयो। डा रुइतले स्वास्थ्य मन्त्री पौडेल सुधारमा सक्रिय रहेको भन्दै हातेमालो गर्न तयार रहेको बताउनुभएको छ।

 

एक कट्ठा जग्गामै ‘बाह्र क्विन्टल’ आलु

कञ्चनपुर, चैत ३ गते । शुक्लाफाँटा नगरपालिका–७ पिताम्बरका दलबहादुर चौधरीले एक कट्ठा जग्गामा १२ क्विन्टल आलु फलाउनुभएको छ । उन्नत जातका आलुखेती गरी चौधरी थोरै जग्गामा धेरै आलु फलाउनुभएको हो । पहिलो पटक उहाँले ‘कोमल कार्प’ नामक जातको आलु खेती गर्नुभएको छ । थोरै क्षेत्रफलमा धेरै आलु फलेको देखेर चौधरी आफैँ दङ्ग पर्नुभएको छ ।

“आलुसम्बन्धी तालिम लिँदा धेरै फल्ने आलुको नाम सुनेको थिएँ”, चौधरीले भन्नुभयो, “रोपेपछि कस्तो फल्छ भनेर परीक्षणका रूपमा काठमाडौँबाट बिउ ल्याएर रोपेँ, भने जस्तै फलेको छ ।” पाँचप्रति दानाका दरले आठ किलो आलु बारीमा रोपेकामा त्यसको उत्पादन १२ क्विन्टल भएको उहाँले बताउनुभयो ।

पहिलो पुस्ताको आलुको बिउ भएकाले उत्पादन भएको आलु उहाँले बिउका रूपमा राखेर पुनः रोप्ने योजना छ । उत्पादित आलुका दाना आधा किलोदेखि दुई किलोसम्मका रहेका छन् । यो आलु थोरै क्षेत्रफलमा धेरै फल्ने, ठुलो फल लाग्ने, खानमा स्वादिलो रहेको उहाँले बताउनुभयो । मङ्सिरको दोस्रो साता रोपेको आलु फागुनको पहिलो साता खनेको चौधरीको भनाइ छ ।

चौधरीले जिल्लाका शीत भण्डार गृह नहुँदा बाह्य क्षेत्रमा लगेर भण्डारण गर्ने तयारी गर्नुभएको छ । “घरमै राख्दा कुहिएर बिग्रिन्छ”, उहाँले भन्नुभयो, “शीत भण्डारमा राख्नुपर्ने हुन्छ, जिल्लामा एक मात्रै निजी क्षेत्रबाट सञ्चालन हुँदै आएको शीत भण्डार गृह बन्द भएपछि भण्डारण गर्न समस्या भएकाले बाह्य क्षेत्रमा लैजानुपर्ने बाध्यता छ ।”

तीन दशकदेखि चौधरी व्यावसायिक आलु खेतीमा संलग्न रहँदै आउनुभएको छ । सो अवधिमा एघार प्रजातीका आलु लगाएर हेरेको उल्लेख गर्दै उहाँले यति बढी फल्ने आलुको पहिलो पटक खेती गरेको बताउनुभयो ।

अन्य जातका आलुको उत्पादन प्रतिकट्ठा पाँचदेखि सात क्विन्टलसम्म हुने गरेको छ । चौधरीले प्रतिवर्ष १२ कट्ठादेखि एक बिघा जग्गामा आलुखेती गर्दै आउनुभएको छ । उहाँले प्रतिवर्ष दुई सयदेखि तीन सय बोरा आलु उत्पादन गर्दै आउनु भएको छ । आलु खेती स्याहार्न चौधरीको पूरै परिवार खटिने गरेको छ । रासायनिक मल थोरै र गोबर मल अधिक राखेर आलु खेती गरे बढी उत्पादन लिन सकिने उहाँ बताउनुहुन्छ ।

आलु उत्पादनको कार्यका लामो समयदेखि संलग्न रहँदै आए पनि बजारमा लगेपछि बिचौलिया र व्यापारीले निर्धारण गरेको दररेटमा बिक्री गर्नुपर्दा कुनै बेला लागत नै नउठ्ने गरेको उहाँ बताउनुहुन्छ । किसानलाई मर्का नपर्नेगरी सरकारले धान, गहुँलगायत जस्तै आलुको पनि दररेट निर्धारण गर्नुपर्ने उहाँको माग छ । चौधरी उत्कृष्ट आलु उत्पादन गर्ने किसानका रूपमा तीन पटक पुरस्कृत भइसक्नु भएको छ ।

पूर्वनगर प्रमुख दिलबहादुर ऐर किसानले उत्पादन गरेको आलुलगायत तरकारी भण्डारण गर्नका लागि शीतभण्डारको व्यवस्थासँगै बजारमा सहज रूपमा बेच्ने व्यवस्था मिलाउने कार्य स्थानीय तहले गर्नुपर्ने बताउनुहुन्छ ।

समाजवादी मोर्चाले चैत १५ गते जनप्रदर्शन गर्ने

समाजवादी मोर्चा नेपालले यही चैत १५ गते काठमाडौँमा जनप्रदर्शन गर्ने भएको छ । आज ललितपुरमा आयोजित कार्यक्रममा मोर्चाको सचिवालयका सचिव खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले पछिल्लो समय देखिएको अन्योलता र नेपाली जनताका अधिकार कुण्ठित हुने अवस्थाविरुद्ध सन्देश प्रवाह गर्ने उद्देश्यले जनप्रदर्शन गर्ने निर्णय भएको जानकारी दिए ।

पत्रकार सम्मेलनमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समावेशी र समानुपातिक व्यवस्थाका पक्षधरले आमजनतालाई आफ्नो कुरा भन्नका लागि कार्यक्रम आयोजना गरिएको बताए । “पछिल्लो पटक सरकारमा हुँदा भ्रष्टाचारविरुद्ध केही राम्रो काम गरेकै हो । पहिले सरकारमा थियौँ, अहिले जनताका घरदैलोमा छौँ । विगतमा हामीबाट केही त्रुटि भएकै हो, हाम्रा मुद्दा छुट्न गएकै हुन् । यसलाई मनन गरेका छौँ”, उनले भने ।

अध्यक्ष दाहालले जनभावना, धर्मसंस्कृतिविरुद्ध नभई लामो संघर्ष र बलिदानी मार्फत प्राप्त उपलब्धि र गणतन्त्रमाथि समस्या सिर्जना नहोस् भन्ने अभिप्राय रहेको बताए । उनले देशको स्वाधीनता, भौगोलिक अखण्डता र सार्वभौमसत्ताविरुद्ध जनतालाई सुसूचित गराउनु आफ्नो दायित्व भएको बताए । अध्यक्ष दाहालले समाजवादी मोर्चाको अन्तिम लक्ष्य समाजवादी गणतन्त्र भएको बताउँदै अहिले उद्योग-व्यवसायमा आधारित रहेर जनतालाई आर्थिक समृद्धि दिने, ग्रामीण अर्थतन्त्रको विकास गर्दै जनताको जीवनमा परिवर्तन ल्याउने तत्कालीन लक्ष्य रहेको बताए । उनले संविधान जारी भएको दश वर्ष हुन लागेकाले संशोधनको विषयमा छलफल आवश्यक रहेको बताए ।

पूर्वप्रधानमन्त्री दाहालले राजतन्त्रलाई लक्षित गरेर हिजो मात्रै बोलेका धारणा नयाँ नभई भूमिगतकालदेखि नै उठाइएको बताए । “भूमिगत हुँदा पनि यही कुरा बोलेको थिए, अहिले पनि यही कुरा बोलेको छु । आम नेपाली जनताका मनमा भएको कुरा मैले बोलेको हुँ”, अध्यक्ष दाहालले भने, “यसका साथै हामीले समाजवादी मोर्चा गठन गरेका छौँ, त्यसको उद्देश्यअनुरूप नै अगाडि बढिरहेका छौँ । समावेशी, समानुपातिक गणतन्त्र ल्याउन नेपाली जनताको धेरै ठूलो योगदान र परिश्रम रहेको छ । यसको संरक्षण गर्नु हाम्रो दायित्व हो ।”

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाली विशेषताको समाजवादी गणतन्त्र अहिलेको आवश्यकता रहेको बताए । उनले वंशका आधारमा शासन गर्नेहरूले नेपालको इज्जत, प्रतिष्ठा कायम राख्न नसक्ने भन्दै परिवर्तन चाहनेहरूले अग्रगमनतर्फ ध्यान दिनुपर्ने बताए । नेता नेत्रविक्रम चन्द ‘विप्लव सी’ ले नेपालका माओवादीलाई एक धारमा ल्याउने अभियान र छलफल चलिरहेको बताए ।

 

 

प्रतिस्थापन विधेयकलाई सदनमै छलफल गरेर अगाडि बढाउने प्रतिनिधि सभाको तयारी

प्रतिनिधि सभाले प्रतिस्थापन विधेयकलाई सदनमा नै छलफल गरेर अगाडि बढाउने भएको छ। प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको शनिबार बसेको बैठकले अध्यादेशका प्रतिस्थापन विधेयकलाई प्रतिनिधि सभाको बैठकमा छलफल र निर्णयार्थ पेस गर्ने कार्यतालिका बनाएको बैठकपछि नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिनुभएको हो ।

चैत ४ गते र चैत ७ गते बस्ने बैठकले सबै प्रतिस्थापन विधेयक पास गरेर राष्ट्रिय सभामा पठाउने भएको छ। कार्य व्यवस्था परामर्श समितिको बैठकले चैत ४ गतेदेखि १५ गतेसम्मको कार्यतालिका पनि बनाएको छ। प्रतिस्थापन विधेयकका साथै नियमित प्रक्रियाबाट आएका विधेयक पनि पारित गर्ने प्रतिनिधि सभाको योजना छ।

सरकारले चालु अधिवेशन बोलाउनु केही दिनअघि गत पुस २९ गते चार वटा अध्यादेश र माघ २ गते एउटा अध्यादेश ल्याएको थियो। सरकारले अध्यादेश ल्याएपछि बस्ने संसदको पहिलो बैठकमा पेस हुने र त्यसको ६० दिनभित्र सङ्घीय संसदको दुवै सदनबाट पास गरी राष्ट्रपतिबाट लालमोहर लागि सक्नुपर्ने संवैधानिक व्यवस्था छ।

सरकारले ल्याएको भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेशलाई राष्ट्रिय सभामा टेबल गर्ने अवस्था नै नबनेपछि फिर्ता लिइएको छ।

संशोधन गर्ने अध्यादेश, आर्थिक तथा व्यावसायिक वातावरण सुधार लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्त्व पहिलो संशोधन अध्यादेश र निजीकरण पहिलो संशोधन अध्यादेश प्रतिनिधि सभाको बैठकमा नै छलफल गरी निर्णयार्थ अगाडि बढाइने कार्य योजना छ।

 

नेकपा एसको ‘समाजवादी अभियान’ सुरु

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले सुशासन, रोजगारीलगायत विषय केन्द्रित देशव्यापी समाजवादी अभियान सुरु गरेको छ । आगामी वैशाख २२ गतेसम्म सञ्चालन हुने अभियानमा विभिन्न क्षेत्रका सङ्घ,सङ्गठन तथा व्यक्तिहरुसँग वडा, गाउँ, प्रदेश र केन्द्रस्तरमा छलफल गरिने केन्द्रीय प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले बताउनुभयो ।

अभियानका क्रममा शिक्षा, स्वास्थ्य, पर्यटन तथा पूर्वाधारलगायत क्षेत्रमा विज्ञबाट सुझाव सङकलन गरिने छ । जनताका विकासका चाहना पूरा नभएका बेला उनीहरूका असन्तुष्टि सम्बोधन गर्न तथा देशको वर्तमान अवस्थाबारे उनीहरुलाई अवगत गराउन अभियान उपयोगी हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

 

 

 

प्रतिनिधिसभाको चैत १५ गतेसम्मको ‘क्यालेन्डर’ तयार

सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभाको आगामी १५ गतेसम्मको ‘क्यालेन्डर’ तयार गरेको छ। आज बसेको ‘कार्यव्यवस्था परामर्श समिति’ को बैठकको निर्णयअनुसार चैत १५ गतेसम्म बस्ने बैठकको क्यालेन्डर तयार गरिएको हो। क्यालेन्डरअनुसार अब चैत ३, ४, ६, ७, १३, १४ र १५ गरी ७ दिन बैठक बस्ने छ। बैठकले भोलि ३ गते बस्ने बैठकको सम्भावित कार्यसूची पनि तय गरेको छ।

भोलि (आइतबार) बस्ने बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव र ‘निजीकरण ९पहिलो संशोधन० विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।

यसैगरी उहाँले ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि विचार गरियोस्” भन्ने प्रस्ताव पनि प्रस्तुत गर्ने जनाइएको छ।

पेट्रोलियम पदार्थको मूल्यमा उच्च गिरावट

पेट्रोलियम पदार्थको मूल्यमा उच्च गिरावट आएको छ । नेपाल आयल निगमले राती १२ बजेदेखि लागू हुनेगरी मूल्य समायोजन गरेको हो ।

यस अनुसार पेट्रोलमा ५ रुपैयाँ र डिजेलमा ४ रुपैयाँ मूल्य घटेको छ । अब काठमाडौँ उपत्यकामा पेट्रोल १६३ रुपैयाँ र डिजेल तथा मट्टितेल १५१ रुपैयाँ कायम भएको छ ।

 

 

 

 

 

वीरगन्ज भन्सारद्वारा एक खर्ब नौ अर्ब राजस्व सङ्कलन

वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा एक खर्ब ९ अर्ब २२ करोड ८५ लाख राजस्व सङ्कलन गरेको छ । एक खर्ब ३९ अर्ब ७३ करोड राजस्व सङ्कलनको लक्ष्य थियो । भन्सार प्रमुख दीपक लामिछानेका अनुसार राजस्व सङ्कलनमा क्रमशः सुधार भएको छ । चालु आव बाँकी चार महिनामा राजस्व सङ्कलनमा थप सुधार हुने उहाँको विश्वास छ । अन्य क्षेत्रको तुलनामा यहाँ पेट्रोलियम पदार्थ र सवारीसाधनबाट राजस्व सङ्कलन अधिक हुने गरेको छ ।

वीरगन्ज भन्सारले चालु आवको साउनमा १२ अर्ब १५ करोड भदौमा १३ अर्ब ४२ करोड, असोजमा १३ अर्ब ४७ करोड कात्तिकमा ११ अर्ब १० करोड र मङ्सिरमा भने १४ अर्ब ४० करोड राजस्व सङ्कलन गरेको थियो ।

यसैगरी, पुसमा चालु आवको सबैभन्दा धेरै अर्थात् १५ अर्ब ४७ करोड र माघमा १४ अर्ब ४४ करोड र फागुनमा १४ अर्ब ६३ करोड राजस्व असुली भएको थियो ।

उखु अभावले ‘क्रसिङ’ लक्ष्य हासिल भएन, उद्योग एक महिनाअघि नै बन्द

महोत्तरीको गौशाला-१ रामनगरस्थित एभरेष्ट सुगर एन्ड केमिकल इन्डष्ट्रिजले यसपालि उखु अभावले लक्ष्यअनुसार ‘क्रसिङ’ (उखु पेलेर चिनी बनाउने कार्य) गर्न सकेन । यसै कारण चैत मसान्तसम्म सञ्चालन हुनुपर्ने उद्योग उखुकै अभावमा फागुन मसान्तमै बन्द गर्नु परेको छ । गत मङ्सिर २६ गते उखु क्रसिङ सुरु गरेको उद्योगले बिहीबार उखु नपुगेपछि यसपालिको क्रसिङ रोक्नुपरेको जनाएको छ । उद्योगले यसपालि लक्ष्यभन्दा चार लाख क्विन्टल कम उखु क्रसिङ गरेको महाप्रबन्धक सुरेन्द्र शुक्लाले बताए । “हामीले यसपालि ९२ दिनमै क्रसिङ बन्द गर्नु पर्‍यो, उखु नै नभएपछि यसपालिको क्रसिङ लक्ष्य प्राप्त गर्न सकिएन”, उनले भने ।

शुक्लाका अनुसार उद्योग सञ्चालनका ९२ दिनमा छ दिन उखु अभावले क्रसिङ रोक्नुपरेको र २५ दिन क्षमता घटाएर क्रसिङ गर्नुपरेको थियो । यसपालि उद्योगले कम्तीमा ३५ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य निर्धारण गरे पनि ३१ लाख तीन हजार ५१ क्विन्टल मात्र क्रसिङ गरिएको उनले गुनासो गरे । यस पटक तीन लाख १५ हजार क्विन्टल चिनी उत्पादन गर्ने लक्ष्य पनि उखु अभावले पूरा हुन नसकेको उद्योग प्रशासनले जनाएको छ ।

यसैबीच उद्योगले फागुन २५ सम्म किसानबाट ल्याइएको उखुको भुक्तानी दिइसकेको जनाएको छ । यस अवधिमा पाँच दिन पहिलेसम्मको ३० लाख ८० हजार क्विन्टल उखुको रु। एक अर्ब ७० करोड ५७ हजार भुक्तानी दिइसकिएको महाप्रबन्धक शुक्लाले जानकारी दिए । यसपालि चिनी उत्पादनको परिणाम यकिन गर्न भने अझै केही दिन लाग्ने उद्योगले जनाएको छ

पछिल्ला तीन वर्षयता उद्योगले भुक्तानी प्रक्रिया क्रमशः सरल बनाउँदै लगेर यसपालि प्रत्येक पाँच दिनमा उखुको भुक्तानी किसानको खातामा चुक्ता गरेको छ । भुक्तानी प्रक्रिया सरलीकृत भए पनि उचित मूल्य नपाएपछि उखु किसान निराश भएका र यसले गर्दा उत्पादन घट्दा फागुनमै उद्योगले उखु अभाव खेप्नुपरेको उखु उत्पादक कृषक संघ महोत्तरीका अध्यक्ष नरेशसिंह कुशवाहाको भनाइ छ ।

किसानले उखुको प्रतिक्विन्टल रु ७५० पाउनुपर्ने माग राख्दै आएका थिए तर सरकारले गत वर्षको मूल्यमा प्रतिक्विन्टल रु २० मात्र बढाएर ५८५ कायम गरेको छ । उद्योगीले दिने मूल्यबाहेक सरकारले रु ७० अनुदान दिने व्यवस्था गरेको छ । यसअनुसार किसानले उखुको मूल्य प्रतिक्विन्टल रु ६५५ पाउनेछन् ।

यस वर्ष उद्योगले लक्ष्यअनुसार उखु क्रसिङ हुन नसके पनि गत वर्षभन्दा दुई लाख क्विन्टलभन्दा बढी क्रसिङ गरेको छ । गत वर्ष (२०८०-८१) को ‘सिजन’ मा २९ लाख चार हजार ५११ क्विन्टल उखु क्रसिङ गरी दुई लाख ६१ हजार ४०६ क्विन्टल चिनी उत्पादन गरिएको थियो ।

 

 

विस्कुट उद्योगको छानामा गुन्द्रुकको ‘बिस्कुन’

भक्तपुर निकोशेरास्थित इम्पेरियल फुड्स प्रालिको छानामा गुन्द्रुकको बिस्कुन सुकाइएको छ । केही समयअघिसम्म त्यस उद्योग वरपरका बस्तीमा घ्यूसहित बनाउँदै गरेको कुकिजको बास्ना चल्ने गरेकामा अहिले गुन्द्रुक मगमगाउन थालेको छ । त्यस उद्योगले खाजाका रुपमा कोदोसहितका विभिन्न परिकारका ‘अर्गानिक’ बिस्कुट उत्पादन गर्दैआएको छ ।

पछिल्लो समय उद्योगको छानाभरि रायोका साग र मुलाको सिन्की सुकाइएको पाइन्छ । साग र गुन्द्रुक ओल्टाइपल्टाइ गर्न चार–पाँच जना महिला निरन्तर लागिपरेको देखिन्छन् । उद्योग सञ्चालक पशुपति भुसाल भन्नुहुन्छ, “विदेशमा रहेका साथीभाइले हाम्रा पुराना चिजवस्तु ‘च्याख्ला, कोदो, मकै, गुन्द्रुक, तिलको छोप, टिमुर, अकबरे खुर्सानी, मास दालसहितका गेँडागुडी पठाइदेऊ’ भन्ने माग भएपछि छानालाई गुन्द्रुकमय बनाएको हुँ ।” पुरानो पेसाबाट बाहिरिएको नभई समयअनुरुप पेसा–व्यवसायलाई विविधीकरण गर्ने क्रममा नेपाली गुन्द्रुकको बजारीकरणमा लागेको उहाँको भनाइ छ ।

अहिले रुचाइएको खानपिनले मानिस पुनः पुरानै युगमा प्रवेश गरेको होकि भान भएको छ । विगतमा बाआमा र हजुरबाले खाएको कोदो, गुन्द्रुक, जौ र फापरको पीठोको माग अहिले विदेशमा पनि ह्वात्तै बढेको छ । नेपालीको बसोबास बाहुल्य भएका मुलुकमा गुन्द्रुकको माग अधिक छ । गुन्द्रुकको झोल र अचारलाई नेपाली भान्सामा लोकप्रिय परिकारका रुपमा लिने गरिन्छ । पछिल्लो समय चौरासीबेञ्जन थालीमा पनि गुन्द्रुक अनिवार्य मानिएको छ । छिटो झट्पट तरकारी बनाउन परेमा गुन्द्रुक खोजिन्छ ।

गन्द्रुकका बारेमा विद्यावारिधी गर्नुभएका टीकाबहादुर कार्की मुख्यतः गुन्द्रुक नेपालकै स्थानीय उत्पादन भएको बताउनुहुन्छ । यद्यपि, जापान र चीनमा विभिन्न साग तथा युरोपलगायतका मुलुकमा बन्दागोभीमा नुन राखेर नेपाली गुन्द्रुकसँग मिल्दोजुल्दा खाद्यवस्तु उत्पादन हुँदैआएको छ ।

जिब्रोलाई ट्वाक्क छुने अमिलो र स्वादिलो ‘तिउन’ गुन्द्रुक नै हो । नेपाली भान्सामा जाडो होस् वा गर्मी सदाबहार उमालिने तिउन गुन्द्रुक नै हो । नेपालका गाउँबस्तीदेखि सहरका सुपरमार्केटसम्मका पसलमा प्याकिङमा गुन्द्रुक बिक्री हुनेगरेको छ । जाडो वा गर्मी, ढिँडो होस् वा भात गुन्द्रुकको झोलसँग ‘सर्‍याप्प’ मुछेर खाँदाको फूर्ती र आनन्द बेग्लै हुन्छ । स्वादको त बयान नै गर्न सकिन्न ।

“नेपाली गुन्द्रुकमा पाइने अमिलोपन स्वादका हिसाबले अनुपम छ, त्यसकारण पनि गुन्द्रुकको लोकप्रियता बढ्दो छ”, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका पूर्वमहानिर्देशक कार्की भन्नुहुन्छ । यस वर्ष काठमाडौँ उपत्यकामा रायो साग निकै सस्तो भयो । त्यसो त भक्तपुर आफैँमा मुलुकभर रायो र काउलीलगायत हरिया सागपात प्रशस्त उत्पादन हुने जिल्लाका रुपमा कहलिएको छ । प्रतिकिलो रु १५ सम्म रायको राम्रो पनि पाइयो ।

उद्योगका संस्थापक भुसाल भन्नुहुन्छ, “महँगोमा उद्योगले केजीको रु ८० सम्ममा खरिद गरेको थियो । खासगरी रायो, तोरी, सस्र्यूं, काउली, मुला आदिको गुन्द्रुक बनाइन्छ । सागको भाउ नेपाली बजारमा खासै चर्को छैन, सस्तै पाइन्छ । त्यस उद्योगले एक पटकमा एक हजार किलोसम्म साग खरिद गर्दै आएको छ । किसानलाई पनि एकै ठाउँमा आफ्नो उत्पादन दिँदा नै सहज भयो । स्थानीयस्तरबाटै पर्याप्त उपलब्ध भइरहेको छ ।”

उद्योग सञ्चालक भुसाल सरसफाइमा विशेष ध्यान दिएको बताउनुहुन्छ । “यहाँ उत्पादन गरिएको गुन्द्रुकमा शुद्धता र गुणस्तर कायम छ”, उहाँले भन्नुभयो । नेपालका सबै जिल्ला र गाउँबस्तीमा गुन्द्रुक बनाइन्छ, पकाइन्छ र मीठो मानेर खाइन्छ । गुन्द्रुक सहजरुपमा विदेश निर्यात गर्न सञ्चालक भुसालले सरकारका संयन्त्रसँग कुराकानी गरिरहनुभएको छ । गुन्दु्रक तयार गर्ने प्रक्रिया केही लामो भएको र त्यसमा खटाउन पर्ने जनशक्तिका कारण लागत मूल्य बढी नै हुने गरेको छ । त्यस उद्योगले दालजन्य गेँडागुडीका अतिरिक्त रायोको गुन्द्रुक र मुलाको सिन्की तयार गर्दै आएको छ ।

प्रारम्भमा एकसय किलो रायोको सागबाट सुरु गरेकामा दैनिक एक हजार पाँचसय किलोसम्म साग खरिद गर्न सफल भएको छ । एकसय किलो रायो सागबाट करिब १० किलो गुन्द्रुक तयार हुने सञ्चालक भुसालको भनाइ छ । तोरीको गुन्द्रुकको विदेशमा ठुलो माग छ । तर काठमाडौँ उपत्यकाले त्यो माग धान्न सक्ने अवस्था छैन । सरकारले त्यसका लागि तराई–मधेसका कुनै क्षेत्र विशेषलाई ‘पकेट’ क्षेत्र घोषणा गर्न आवश्यक देखिएको उहाँको भनाइ छ ।

थकाली भान्सामा गुन्द्रुक अनिवार्य नै मानिन्छ । आलु–गुन्द्रुक, गुन्द्रुक–भट्टमास, तितौरा, गुन्दु्रक बोडी, आँपको चानासँग पनि गुन्द्रुक मिसाएर पकाइन्छ । गुन्द्रुकमा पनि हरियो सागमा पाउने गुण छ । विश्वका कयौँ मुलुकले खाद्य परीक्षण गरी गुन्द्रुकलाई खानयोग्य भनेर प्रमाणित गरिसकेको छ । विदेशी साथीभाइले गुन्द्रुकलगायतका यहाँका रुचाउनुभएको छ । गुणस्तरका लागि धन्यवाद नै पाइएको छ उद्यागी भुसाल भन्नुहुन्छ ।

कलिलो र छिपिएको साग र निर्धारण गरिएको प्रक्रिया पूरा गरेका आधारमा गुणस्तर हुनेगर्छ । भाटभटेनी, मार्ट र अन्य स्टोरमा नमूनाका लागि पठाइसकिएको उहाँको भनाइ छ । गुन्द्रुक प्रतिकिलो सातसयदेखि एक हजार पर्छ । “यसमा काम गर्ने सपनादेखि रहेको छु । त्यो पूरा हुनेमा उत्साहित नै छु । गुन्दु्रकसँग सबै चिजवस्तुमा उत्पादनको लोगो लगाएर गाडीभरि बजारमा पठाउने कोसिसमा छु । त्यसका लागि रातदिन खटिरहेको छु” व्यवसायी शान्ता अधिकारी बताउनुहुन्छ ।

कोरोना अघि ऋण लिएर लगानी गरियो, त्योअनुरुपको प्रतिफल त भएन । व्यापार सबै क्षेत्रमा घटेको छ । ब्याज घटेको छैन । त्यसमै रहँदा ऋणबाट उम्कन नसक्ने अवस्था भएपछि गुन्दु्रक र आँटोपीठोतिर लागेको उहाँको अनुभव छ । व्यापार गर्ने सन्दर्भमा स्वदेशै प्राथमिकता दिए पनि मालसामान बजारमा पठाएपछि पैसा उठिहाल्छ भन्ने सुनिश्चित छैन । बाहिर पठाउँदा पैसा ‘एड्भान्स’मा आउने भएपछि त्यसलाई मध्यनजर गरी अघि बढिरहेको अधिकारीको भनाइ छ ।

पत्रकार घनश्याम खड्काले गुन्द्रुकसम्बन्धी लेखमा ‘आजको सितन केही भएन भनेर गाउँमा गुन्द्रुक माग्दा कसैले लज्जाबोध गर्नुपर्दैन । कसैले खिसी पनि गर्दैनन्’ भनी उल्लेख गर्नुभएको छ । अहिले गाँउको त्यो गुन्द्रुक सहरका तारे होटल पसेको छ । त्यति मात्र नभर्ई ‘बोइङ’ चढेर कार्टुनका–कार्टुन विदेशिसकेको छ । मौसममा मनग्य पाइने सागलाई गुन्द्रुकका रुपमा प्रयोग भएमा ग्रामीण अर्थतन्त्रलाई चलायमान तुल्याउन र उकास्न ठूलो टेवा दिएको छ ।

गुन्द्रुकमा पोटासियम, भिटामिन सी, आइरन, सोडियम धेरै पाइने र रेसादार भएकाले कोलेस्ट्रोललाई घटाउन योगदान पुर्‍याउने विश्वास गरिएको छ । त्यसो त सरस्वती घरेलु तितौरा उद्योग गोकर्णेश्वर, भाटभटेनी फुड्स उद्योग, पहाडी फुड्स प्रालि रुपन्देही, एन्जल कृषि फार्म दक्षिणकालीबाट उत्पादित गुन्द्रुक भाटभटेनीलगायत ठूला मार्टहरुमा उपलब्ध हुँदै आएको छ ।

खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागका वरिष्ठ अनुसन्धान अधिकृत हुमाकुमारी बखिम भन्नुहुन्छ, “गुन्द्रुक तयार गर्दा सरसफाइ र सुकाउने विषयमा अली बढी ध्यान पुर्‍याउनपर्छ ।” गुन्द्रुक गुन्द्री, नाङ्लो, माद्रो र त्रिपालमा सुकाउने गरिन्छ । त्यसरी खुल्ला सुकाउँदा कपाललगायत वस्तु पर्नसक्ने हुँदा जालीदार कपडाले छोप्नु बुद्धिमानी हुनेछ ।

इलामको रोङ गाउँपालिकाले आफैँ उद्योग सञ्चालनको अनुमति लिएर सञ्चालन गर्दैआएको छ । पुराना बन्द भएका चिया उद्योगलाई गुन्द्रुक उत्पादन गर्नका लागि पुनःस्थापना गरिएको छ । चिसो याममा गुन्द्रुकको तिउन बढी खाइन्छ भने गर्मीमा अचार बढी रुचाइन्छ । आलु, प्याज, गोलभेँडा, भटमास मिसाएको गुन्द्रुकको स्वाद त बयान गरिसाध्य नै हुन्न । विभागका अनुसार, पछिल्लो समय गुन्द्रुक बाहिर निकासी गर्ने क्रममा जाँच परीक्षणका लागि आउनेक्रम बाक्लिएको छ ।

विदेशमा रहेका नेपालीले आफ्नो गाउँ र देशको परम्पराको परिचय र जीब्रोको स्वाद रहेको गुन्द्रुकप्रतिको चाहना बढेको छ । यातायातलगायत सुविधा र विकासको एउटा पाटोकारुपमा यो सहर भित्रिएन पाएको छ । गुन्द्रुकका लागि इलाम, धनकुटा, दोलखा, म्याग्दी, स्याङजा, बागलुङ, ओखलढुङ्गा, भोजपुर, सिन्धुलीलगायत पहाडी जिल्ला प्रख्यात छ । खाद्य सुरक्षाका लागि पनि गुन्द्रुकले टेवा पुर्‍याउँछ । सागको बजारीकरण नहुँदा त्यसलाई खाँदेर गुन्द्रुक बनाउँदा खाद्य सुरक्षामा योगदान दिन्छ ।

‘नेपालीको बाक्लो बसोबास रहेका क्षेत्र अमेरिका, जापान, अष्ट्रेलिया, खाडीमुलुकमा सञ्चालित नेपाली होटल र रेष्टुराँमा मासको दाल, तितौरा र गुन्द्रुकको अत्यधिक माग रहेको छ । व्यवसायी शान्ता अधिकारी छिट्टै दुई सय किलो गुन्द्रुक जापान निर्यात गर्ने तयारी गरिरहेको बताउनुहुन्छ । त्यस उद्योगले एक सय र दुई सय ग्रामका बेग्लाबेग्लै प्याकेट बनाएको छ । ठूलो परिणाममा माग भएमा तत्काल पुर्‍याउन सक्ने अवस्था नरहेको उहाँको भनाइ छ ।

सरकारले गुन्दु्रक उत्पादनलाई पकेट क्षेत्र तोकेर सहुलियत दरमा ऋण सहयोग उपलब्ध गराएमा फलदायी हुनेछ व्यवसायी बताउँछन् । काम पाइएन भनेर विदेश पलायन भइरहेका युवा पुस्तालाई भुसालले गुन्द्रुक उत्पादन र बजारीकरणका लागि गरिरहनुभएको प्रयास प्रेरणाको स्रोत बन्न सक्छ । सो उद्योगमा लक्ष्मी तामाङले विशेषज्ञका रुपमा काम गरिरहनुभएको छ । गरिबका घरमा बाध्यताको तिउन अहिले उच्च घरनाका लागि भान्छाको महत्त्वपूर्ण परिकार बनेको उहाँको बुझाइ छ ।