Page 160 – Nepalboli

महङ्गी नियन्त्रण गर्न सरकार प्रतिबद्ध छ- प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले महङ्गी नियन्त्रणका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ। प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले आम नागरिकको दैनिक जीवनसँग जोडिएका उपभोग्य एवं प्रयोगमा आउने सामग्रीको सहज र सुलभ आपूर्ति व्यवस्थापनका लागि बजार अनुगमनलाई नियमित रूपमा सञ्चालन गरिएको बताउनुुभयो।

प्रधानमन्त्री ओलीले दुुर्गम क्षेत्रमा अत्यावश्यक खाद्य वस्तुको आपूर्तिको व्यवस्था मिलाइएको जानकारी दिँदै भन्नुभयो, “बजारमा कृत्रिम अभाव सृजना गर्नेलाई कारबाही गर्न बजार अनुगमन समितिलाई सक्रिय बनाइएको छ। यसले मूल्यवृद्धि नियन्त्रणमा सहयोग पु¥याएको छ। उपभोक्ता अधिकारको संरक्षण एवं न्यायिक निरूपणका लागि भर्खरै उपभोक्ता अदालत स्थापना गरी सञ्चालनमा ल्याइएको छ।”

‘बढ्दो महङ्गी नियन्त्रण गर’ नारा सधैँ लोकप्रिय हुने, महङ्गी घटिरहेका बेलामा पनि त्यो नारा चाहिँ लोकप्रिय नै रहने उल्लेख गर्दै प्रधानमन्त्रीले यस्ता कुरालाई प्रश्नमार्फत लोकप्रिय बनाउन नहुने बरु तुलनात्मक अध्ययन गरेर नागरिक जीवनमा सहजता ल्याउनपर्नेमा जोड दिनुभयो। तुलनात्मक रुपमा अघिल्लो आर्थिक वर्षभन्दा मुद्रास्फीति चालु आवमा कम रहेको उहाँको अभिमत थियो।

“चालु आर्थिक वर्षको सात महिनामा औसत उपभोक्ता मुद्रास्फीति ४।१६ प्रतिशत रहेको छ जबकि, अघिल्लो वर्षको सोही अवधिमा मुद्रास्फीति ५.०१ प्रतिशत थियो”, उहाँले भन्नुभयो, “चालु आवका लागि सजगतापूर्ण ढङ्गले लचिलो मौद्रिक नीतिमार्फत मुद्रास्फीति घटाउने कार्यदिशालाई निरन्तरता दिइएको छ।”

सरकारले अनिवार्य नगद अनुपात र बैङ्क दरलाई समायोजन गरिएको जानकारी दिँदै उहाँले अत्यावश्यक वस्तुको भन्सार दर घटाउने तथा महङ्गीमा प्रत्यक्ष असर गर्ने वस्तुहरूमा कर छुट प्रदान गर्ने नीतिलाई सरकारले निरन्तरता दिने बताउनुभयो।

प्रधानमन्त्री ओलीले कृषि उत्पादन वृद्धिका लागि अनुदान र सहुलियत ऋण प्रदान गर्ने कार्यलाई निरन्तरता दिइने बताउँदै यसबाट खाद्य आपूर्तिमा स्थिरता, कृषि उत्पादनमा वृद्धि, कृषि उत्पादनको आयात व्यवस्थापन साथै मूल्य स्थिरता कायम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

फरक प्रसङ्गमा प्रधानमन्त्री ओलीले जलनपीडितहरुको उपचार र पुनःस्थापनाका सम्बन्धमा सरकार संवेदनशील रहेको, तेजाब र अन्य घातक रासायनिक पदार्थ (नियमन) ऐन, २०७९ ले यस सम्बन्धमा पर्याप्त व्यवस्था गरेको जानकारी दिनुभयो। उहाँले जलनपीडितहरुको उपचार, पुनःस्थापना तथा अधिकार सम्बन्धमा संसद्मा दर्ता भएको निजी विधेयकका प्रावधानका सम्बन्धमा सदन वा सम्बन्धित समितिमा हुने छलफलमा सरकारले आफ्नो धारणा प्रस्तुत गर्ने बताउनुभयो।

 

 

 

 

प्रधानमन्त्री ओलीको टिप्पणी- हाहाहुहु गर्दैमा व्यवस्था परिवर्तन हुँदैन

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनता चनाखो रहेकाले लोकतान्त्रिक व्यवस्था हटाएर उथलपुथल हुन नसक्ने दाबी गरेका छन् । बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले हाहाहुहु गर्दैमा व्यवस्था परिवर्तन हुन नसक्ने टिप्पणी गरेका हुन् ।

‘केही मान्छेहरूलाई भ्रम छ नेपालमा पनि अरु केही देशहरूमा जस्तै उथलपुथल हाहाहुहु गरेको भरमा हुन्छ भन्ने,’ ओलीले भने, ‘नेपाली जनता धेरै लामो समय संघर्ष गरेर एउटा सचेतनाका साथ यहाँ आइपुगेका छन् । त्यसकारण लोकतन्त्रलाई सुदृढ गर्ने कुरामा नेपाली जनता पर्याप्त चनाखो छन् ।’

अबको प्रश्न लोकतन्त्रलाई कसरी व्यवहारिक रूपमा सुदृढ गर्ने ? भन्ने प्रश्न रहेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

‘हेर्दाहेर्दै दरबार हत्याकाण्ड जस्ता काण्डहरू भए, सत्ता हत्याउने काम भए । सत्ता हत्याएर समाचार वाचकका पछि बन्दुक उभ्याउने काम भए,’ प्रधानमन्त्री ओलीले भनेका छन्, ‘लोकतन्त्र कहाँ बच्यो ? ती दिन नदेखेका मान्छे, त्यस जमानामा नजन्मिएको मान्छे अहिले यो भएन, त्यो भएन, तानाशाही भयो, अधिनायकवाद भयो भन्छन् । के अधिनायकवाद भन्ने कुरा भेगेकै छैनन् । हामी डेमोक्रेटिक सिस्टममा छौँ । यसमाथि धावा बोल्ने ?’

 

 

फेरि थपियो साढे दुई खर्ब सरकारी ऋण

चालु आर्थिक वर्ष २०८१-८२ को फागुन मसान्तसम्ममा सरकारले तिर्न बाँकी ऋण रु २६ खर्ब ७६ अर्ब तीन करोड पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले तयार पारेको चालु आर्थिक वर्षको दोस्रो चौमासिक अवधिसम्मको सरकारी ऋणको प्रतिवेदनअनुसार यो आर्थिक वर्षमा मात्र करिब साढे दुई खर्ब सरकारी ऋण थपिएको छ ।

“चालु आर्थिक वर्षको सुरुमा कुल सार्वजनिक ऋण रु २४ खर्ब ३४ अर्ब नौ करोड रहेकामा फागुन मसान्तसम्म रु दुई खर्ब ४१ अर्ब ९३ करोड थप वृद्धि भई कुल सार्वजनिक ऋण दायित्व रु २६ खर्ब ७६ अर्ब तीन करोड पुगेको छ । जुन कुल गार्हस्थ्य उत्पादनको ४६ दशमलव ९१ प्रतिशत हुन आउँछ”, कार्यालयको प्रतिवेदनमा भनिएको छ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म विदेशी मुद्राको विनिमय दरमा भएको परिवर्तनका कारण मात्रै नेपाललाई रू ६६ अर्ब २९ करोड सार्वजनिक ऋणको दायित्व बढेको कार्यालयले जनाएको छ ।

हालसम्मको कुल सार्वजनिक ऋणमा वैदेशिक ऋणको हिस्सा ५० दशमलव ८३ प्रतिशत अर्थात् रु १३ खर्ब ६० अर्ब ४६ करोड र आन्तरिक ऋणको हिस्सा ४९ दशमलव १६ प्रतिशत अर्थात् रु १३ खर्ब १५ अर्ब ५७ करोड रहेको छ । कुल गार्हस्थ्य उत्पादनमा आन्तरिक ऋणको अनुपात २३ दशमलव ०६ प्रतिशत र बाह्य ऋणको अनुपात २३ दशमलव ८५ प्रतिशत हुन आउँछ ।

सरकारले चालु आर्थिक वर्षका लागि कुल रु पाँच खर्ब ४७ अर्ब बराबर सार्वजनिक ऋण उठाउने लक्ष्य राखेको थियो । जसमध्ये फागुन मसान्तसम्ममा रु तीन खर्ब ३४ अर्ब ६२ करोड ऋण प्राप्त भइसकेको कार्यालयले जनाएको छ । वार्षिक लक्ष्यको तुलनामा दोस्रो चौमासिकसम्मको सार्वजनिक ऋण प्राप्ति ६१ दशमलव १७ प्रतिशत बराबर हो ।

यस वर्ष रु तीन खर्ब ३० अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य रहेकामा हालसम्म ८१ दशमलव ५६ प्रतिशत अर्थात् रु दुई खर्ब ६९ अर्ब १५ करोड ४२ लाख बराबरको आन्तरिक ऋण प्राप्त भइसकेको छ । फागुन मसान्तसम्मको बाह्य ऋण प्राप्ति भने ३० दशमलव १७ प्रतिशत बराबर मात्रै छ । चालु आर्थिक वर्षका लागि कुल रु दुई खर्ब १७ अर्ब बाह्य ऋण लिने सरकारी लक्ष्य रहेकामा हालसम्म रू ६५ अर्ब ४७ करोड बराबर मात्रै प्राप्त भएको कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।

सार्वजनिक ऋणको साँवाब्याज तिर्न यस वर्ष सरकारले रु चार खर्ब दुई अर्ब ८५ करोड बजेट विनियोजन गरेको थियो । जसमध्ये फागुन मसान्तसम्म ५० दशमलव ०८ प्रतिशत अर्थात् रु दुई खर्ब एक अर्ब ७२ करोड बराबर ऋण भुक्तानी भइसकेको जनाइएको छ । कुल गार्हस्थ्य उत्पादनका आधारमा फागुन मसान्तसम्मको कुल ऋण सेवा खर्च तीन दशमलव ५४ प्रतिशत बराबर हो ।

 

 

 

लुम्बिनीको प्रचारप्रसार गर्न लुम्बिनी सर्किटका नगरप्रमुखहरु अमेरिकामा

टेक्सस (अमेरिका) । लुम्बिनी क्षेत्रको प्रचारप्रसार गर्न लुम्बिनी सर्किटका नगरप्रमुखहरु अमेरिकाको टेक्सस पुगेका छन् । लुम्बिनी क्षेत्रको पर्यटन प्रबद्र्धन गर्न गैरआवासीय नेपाली सङ्घ अमेरिका, पर्यटन विभागको समन्वय र सहजीकरणमा नगरप्रमुखहरुको टोली अमेरिका आएको हो ।

भ्रमण टोलीले टेक्सस, न्यूयोर्क, भर्जिनिया, मेरिल्याण्ड र वासिङटन डिसीमा अमेरिकी तथा नेपाली समुदायका विभिन्न निकायसँग अन्तरक्रिया, छलफल गर्ने कार्यक्रम रहेको छ । टेक्सस भ्रमणमा रहेको लुम्बिनी परिपथका नगरप्रमुखहरुको टोलीले टेक्ससका राज्यसभाका सांसदहरु, स्थानीय युलेश सिटीका नगरप्रमुख तथा पदाधिकारी, नेपाली समुदायका अगुवासँग छुट्टाछट्टै अन्तरक्रिया गरेको गैरआवासीय नेपाली सङ्घ अमेरिकाका उपाध्यक्ष तथा पर्यटन विभाग प्रमुख नेत्र पाण्डेले जानकारी दिनुभयो ।

टेक्ससस्थित अमेरिकी तथा नेपाली समुदायसँगको अन्तरक्रिया कार्यक्रममा लुम्बिनी क्षेत्रको पर्यटन प्रवद्र्धन, नेपाली धर्म-संस्कृतिको संरक्षण तथा विकासका लागि दीर्घकालीन सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो । यसै सन्दर्भमा टेक्सस राज्यसभाको बैठकले नगरप्रमुखहरुको उपस्थितिमा सङ्कल्प प्रस्ताव पारित गर्दै ‘लुम्बिनी एड्भोकेसी डे’ समेत घोषणा गरेको छ ।

“हाम्रो भ्रमणको उद्देश्य भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउनु नै हो । भ्रमणका क्रममा हामीले अमेरिकाका स्थानीय नगरपालिकासँग भगिनीसम्बन्ध स्थापित गर्ने, लुम्बिनी क्षेत्रको बारेमा तयार पारिएको जानकारीमूलक सामग्री वितरण गरी अमेरिकी तथा नेपाली नागरिकलाई नेपालको बुद्धभूमि र बुद्ध परिपथका नगरपालिकाको भ्रमणका लागि निमन्त्रणा दिने हो”, देवदह नगरपालिकाका प्रमुख धु्रव खरेलले भन्नुभयोे ।

नेपाली समाज टेक्सस, ग्रेटर अष्ट्रिन नेपाली समाज, लुम्बिनी सेवा समाजलगायतका संस्थाले आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा लुम्बिनी परिपथका प्रमुखहरुले अमेरिकामा जन्मेका र हुर्केका दोस्रो पुस्तालाई लुम्बिनी भ्रमण गराउन आग्रह गरेका थिए । “अमेरिकामा जन्मेका र हुर्केका दोस्रो पुस्तालाई नेपालको बारेमा जानकारी छैन । बिदा मनाउन अष्ट्रेलिया, स्वीजरल्याण्ड होइन, नेपालको लुम्बिनी घुम्ने योजना बनाइदिनुस् । यसले दोस्रो पुस्तालाई मातृभूमिसँग जोड्छ । उनीहरुमार्फत अमेरिकी समुदायमा लुम्बिनीको प्रचारप्रसार गर्न सहयोग पुग्छ”, कपिलवस्तु नगरपालिकाका प्रमुख सुदिप पौडेलले भन्नुभयो ।

रामनगर नगरपालिका नवलपरासीका प्रमुख धनपत यादवले अमेरिका भ्रमणबाट आफुहरु उत्साहित भएको बताउनुभयो । यसबाट गौतमबुद्धको जन्मस्थल लुम्बिनीको थप प्रचारप्रसार गर्न सहयोग मिल्ने उहाँको भनाइ थियो । लुम्बिनी परिपथका प्रमुखको टोलीले न्यूयोर्कमा प्रमुखसँग भेटघाट, भर्जिनियामा गैरआवासीय नेपाली सङ्घ अमेरिका र मेरिल्याण्डको बाल्टिमोरमा बाना संस्थासँग पर्यटन विकाससम्बन्धी समझदारी गर्ने र वासिङ्गटन डिसीमा नेपाली दूतावाससँग छलफल गर्ने कार्यक्रम रहेको गैरआवासीय नेपाली सङ्घ अमेरिका पर्यटन विभागले जनाएको छ ।

 

 

 

 

 

 

पोखरा महानगरका अधिकृत गिरी घुससहित पक्राउ

कास्कीको पोखरा महानगरपालिकाका अधिकृत कपिल गिरी घुससहित पक्राउ पर्नुभएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले गिरीलाई बिहीबार दिउँसो न्युरोडबाट नियन्त्रणमा लिएको हो।

अख्तियारमा पोखरा महानगरविरुद्ध परेका उजुरी फस्यौटको जिम्मा सम्हाल्नुभएका गिरीलाई नगद २५ हजारसहित पक्राउ गरिएको अख्तियार पोखराका उपसचिव राकेश पाण्डेले जानकारी दिनुभयो।

“तपाईविरुद्ध अख्तियारमा उजुरी पारेको छ, मिलाइदिन्छु भनी कृत्रिम उजुरी खडा गरी रकम लिएको देखिएको छ,” पाण्डेले भन्नुभयो, “एक लाख माग गरेको भन्ने छ। उहाँको साथमा २५ हजार भेटिएको छ।

तीन करोड बढी ठगीको आरोपमा सहकारीका सेवा केन्द्र प्रमुख पक्राउ

झापामा एक सहकारी संस्थाका कर्मचारीलाई करिब साढे ३ करोड ठगीको आरोपमा प्रहरीले पक्राउ गरेको छ । हाम्रो नेपाल सहकारी संस्था लिमिटेडका शिवगञ्ज सेवाकेन्द्रका प्रमुख जीवन भुजेललाई सहकारीको उजुरीमा नै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्र खड्काका अनुसार केही दिन अघि पक्राउ गरेर अनुसन्धान सुरु गरिएको छ । भुजेलले ३ करोड ३५ लाख ४ सय रुपियाँ हिनामिना गरेको आरोप सहित सम्बन्धित सहकारीले उजुरी दिएपछि आवश्यक छानबिनका लागि पक्राउ गरिएको उहाँले जनाउनु भएको छ ।

२८ वर्षीय भुजेलले सहकारीको सम्पत्ति, बचत तथा ऋण हिनामिना गरेको उक्त सहारीका एक सञ्चालकले बताउनु भएको छ । बारम्बार रुपमा उक्त ब्यवहार मिलाउन समय दिदा पनि अटेर गरेपछि उजुरी गरेर पक्राउ गर्नु पर्ने अवस्था आएको पनि सहकारी संस्थाका ति सञ्चालकले बताउनुभयो ।

सहकारीको मुख्य कार्यालय झापाको बिर्तामोडमा रहेको छ । सहकारीले उजुरी दिएपछि भुजेललाई चैत ३ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्र खड्काले बताउनुभयो ।

 

 

अलैँची किसानको समस्या खोज्दै विज्ञ समूह

भोजपुर । जिल्लाका अलैँची किसानका समस्या पहिचानको गर्न विज्ञ समूह अलैँची बगानमा पुगेको छ । विभिन्न रोग, कीराको सङ्क्रमणका कारण किसानको बगान नष्ट हुन थालेपछि अलैँची महासङ्घसहित विज्ञ समूह बगानमा पुगेको हो । कोशी प्रदेश सरकार र नेपाल व्यवसायी अलैँची महासङ्घको पहलमा अलैँची किसानको समस्या खोजी भइरहेको अलैँची व्यवसायी महासङ्घका महासचिव नारायणप्रसाद चिमोरियाले बताउनुभयो । किसानको अलैँची बगानमा पुगेर समस्यासँगै गुणस्तरीय उत्पादन, बजारीकरणलगायत विषयमा जानकारी लिइएको उहाँले उल्लेख गर्नुभयो ।

अलैँची किसानका समस्याको खोजी, पहिचानसँगै गुणस्तरीय उत्पादनको विषयमा ज्ञान प्रदान गर्न प्रदेश सरकारसँगको सहकार्यमा किसान लक्षित कार्यक्रम सञ्चालन गरिएको महासचिव चिमोरियाले जानकारी दिनुभयो । यो कार्यक्रमअन्तर्गत अलैँचीका विज्ञ प्राविधिकसहित सरोकार भएका पक्ष र किसानसँग बसेर अलैँचीमा देखिएका समस्या, त्यसको समाधान र गुणस्तरीय उत्पादनका विषयमा जानकारी दिने काम भइरहेको उहाँले बताउनुभयो ।

महासचिव चिमोरियाले भन्नुभयो, “विज्ञ समूहसहित किसानको अलैँची बगानमा पुरेर समस्या पहिचान गरी समाधानका उपाय दिँदै आएका छौँ । योसँगै बजारीकरण र गुणस्तरीय उत्पादनका विषयमा किसानलाई आवश्यक प्राविधिक ज्ञान प्रदान गरिरहेका छौँ ।” व्यावसायिक अलैँचीखेतीमा लागेका किसानको समस्या खोजी गर्न भोजपुरको टेम्केमैयुङ गाउँपालिका-५ चोलन्तीमा कार्यक्रम सञ्चालन गरिएको उहाँले उल्लेख गर्नुभयो ।

यहाँका किसानको बगानमा पुगेर प्रयोगात्मकरूपमा अलैँचीमा देखिएका रोग र सङ्क्रमण पत्ता लगाउने, समस्या पहिचानसहित समाधानका विकल्पलगायत विषयमा प्रत्यक्ष साक्षत्कार गरिएको नेपाल अलैँची व्यावसायिक महासङ्घका अध्यक्ष निर्मल भण्डारीले जानकारी दिनुभयो । पछिल्लो समय अलैँचीमा विभिन्न रोग लागेर उत्पादनमा ह्रास आएकाले बगानमा पुगेर किसानलाई आवश्यक प्राविधिक ज्ञान प्रदान गर्न कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष भण्डारीले बताउनुभयो ।

यो कार्यक्रमअन्तर्गत अलैँची बढी उत्पादन हुने कोशी प्रदेशका नौ जिल्लाका किसानका बगानमा पुग्ने अभियान रहेको उहाँले जानकारी दिनुभयो । “पछिल्लो समय अलैँचीमा विभिन्न समस्या देखिरहेका छन्”, अध्यक्ष भण्डारीले भन्नुभयो, “जसका कारण धेरै किसानका बगान नष्ट भएका छन् । किसानलाई स्थलगत रूपमा आवश्यक ज्ञान प्रदान गर्न हामीले कार्यक्रम सञ्चालन गरिरहेका छौँ ।” स्थलगत अनुगमनका क्रममा किसानले विस्तार गरेका बगानमा विभिन्न रोगको सङ्क्रमण र उपचार विधिका विषयमा आवश्यक जानकारी प्रदान गरिएको अलैँची विकास केन्द्र इलामका प्राविधिक दिलबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

बगान अनुगमनका क्रममा बोट सुक्ने, गानो कुहिनेलगायत रोग बढी मात्रामा देखिएको उहाँको भनाइ छ । “किसानको बगानलाई लक्षित गरी रोग र उपचारको पद्दतिका बारेमा ज्ञान दिएका छौँ”, उहाँले भन्नुभयो, “किसानमा रोगको सङ्क्रमण, उपचार विधि, सङ्क्रमण रोकथामलगायत विषयमा जानकारी नुहँदा पनि समस्या भएको पाएपछि उत्पादन बढाउन र किसानलाई प्रोत्साहन गर्न प्राविधिक ज्ञानसहित आवश्यक जानकारी दिइरहेका छौँ ।”

अलैँचीमा देखिएका समस्या र समाधानका विषयमा जानकारी दिन र किसानलाई खेतीमा आकर्षित गर्न कार्यक्रम सञ्चालन गरिएको जिल्लास्थित कृषि ज्ञान केन्द्रका प्रमुख मुकेशकुमार यादवले बताउनुभयो । “अलैँचीमा जीवाणु र ढुसीजन्य रोगको सङ्क्रमण बढी मात्रा देखिएको छ । समस्या समाधान किसान आफैँले गर्न सकुन् भनेर अभियान सञ्चालन गरिएको हो”, उहाँले भन्नुभयो ।

अलैँची व्यवसायी सङ्घ जिल्ला शाखाका अध्यक्ष राजेश विष्टले जिल्लाका किसानको आम्दानीको स्रोत बढाउन, उत्पादन वृद्धि गर्न अभियान सञ्चालन गरिएको बताउनुभयो । “यहाँका धेरै किसानले अलैँचीको व्यावसायिक खेती गरिरहेका छन्”, उहाँले भन्नुभयो, “आवश्यक प्राविधिक ज्ञान नहुँदा किसानले विभिन्न समस्या भोग्दै आएकाले समाधानका उपायसहित प्राविधिक र बजारीकरणमा समन्वय गर्न कार्यक्रम गरिरहेका छौँ ।”

गाउँपालिकाका किसानको आम्दानीको प्रमुख स्रोतका रूपमा अलैँची रहेकाले यसको विकास तथा विस्तारमा जोड दिइएको गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले बताउनुभयो । किसानले गुणस्तरीय उत्पादनमा जोड दिन तथा व्यवसायलाई निरन्तरता दिन सकुन् भनेर नगरपालिकाले पहल गरिरहेको उहाँको भनाइ छ । विभिन्न रोगसँगै मूल्यमा स्थिरता नभएकाले समस्या हुने गरेको टेम्केमैयुङ-५ चोलन्तीका किसान चक्रबहादुर विष्टले बताउनुभयो । राज्यको तहबाट बजारीकरणसँगै अलैँची किसानका लागि दक्ष प्राविधिक, उन्नत जातको बिरुवा वितरण र माटो परीक्षणमा सहयोग गर्न आवश्यक रहेकामा उहाँले जोड दिनुभयो ।

नागरिकका असन्तुष्टि र बेचैनीको समाधान कांग्रेसले गर्छ- महामन्त्री गगन थापा

तनहुँ– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकमा उत्पन्न असन्तुष्टि र बेचैनीको समाधान कांग्रेसले गर्ने बताएका छन्। नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं १ तनहुँद्वारा आज दमौलीमा आयोजित दोस्रो क्षेत्रीय सम्मेलनमा महामन्त्री थापाले आमनागरिकलाई समस्या परेका बेला समाधानको नेतृत्व गर्दै आएको बताए।
उनले भने, “आमनागरिकको असन्तुष्टि र बेचैनीको आगो निभाउने काम गर्छ। जुनसुकै पार्टीसम्बद्ध किन नहोस् आमनागरिकको समस्या समाधान गर्ने जिम्मेवारी सबैभन्दा ठूलो पार्टीको हो, यसका लागि हामी प्रतिबद्ध छौँ।”

पार्टीले भ्रष्टाचार गरेको आरोप लगाउने गरिएकामा पार्टी सम्बद्ध व्यक्तिले भ्रष्टाचार गर्नसक्ने तर कुनै पनि सङ्गठनले गर्न नसक्ने उनको भनाइ छ। “सार्वजनिक जिम्मेवारीमा रहेका व्यक्तिले भ्रष्टाचार गरेको पाइएमा उ दण्डनीय हुन्छ र सजाय भोग्नुपर्छ,” महामन्त्री थापाले भने।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले जनताको असन्तुष्टि मेटाउने काम गर्न केन्द्रबाटै लाग्न आवश्यक रहेको बताए। केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले पार्टीमा गुटबन्दीको विषय मुख्य बनेकाले सबै जिम्मेवार हुनुपर्ने बताए।

 

 

 

 

समावेशी समानुपातिक आधारमा बनेको वर्तमान संविधानलाई बचाइराख्नुपर्छ- सभापति देउवा

नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले समावेशी समानुपातिक आधारमा बनेको वर्तमान संविधानलाई बचाइराख्नुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस पेशागत तथा बुद्धिजीवी विभाग एवम् नेपाल डेमोक्र्याटिक लयर्स एशोसियसनद्वारा पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज आयोजित ‘संविधान संशोधनः आवश्यकता र चुनौती’ विषयमा देशका सातै प्रदेशमा आयोजित अन्तरक्रिया कार्यक्रमबाट प्राप्त सुझाव प्रतिवेदन हस्तान्तरण कार्यक्रममा मन्तव्य राख्नुहुँदै सभापति देउवाले अहिलेको संविधानअनुसार कुनै पनि पार्टीको बहुमत आउन धेरै गाह्रो भए पनि महिलालाई प्रत्यक्ष राजकीय प्रशासनमा प्रत्यक्ष सहभागी हुने मौका प्राप्त भइरहेको बताउनुभयो ।

“अहिलेको संविधान अत्यन्तै राम्रो संविधान छ, समावेशी, समानुपातिकताका आधारमा बनेको संविधान छ । यस संविधानअनुसार कुनै पनि पार्टीको बहुमत आउन धेरै गाह्रो छ । त्यसकारण कुनै पनि पार्टीसँग मिल्नुपर्ने आवश्यकता छ । त्यसैले हाम्रो पार्टीले मेहनतका बाबजुद सबैभन्दा ठूलो पार्टी बन्न सफल भएको छ । तर बहुमत ल्याउन सकेको छैन । पार्टीको दोषभन्दा पनि संविधान नै यस्तो किसिमको छ । धेरै कारण छन् । यसलाई बुझेर बहुमत ल्याउने प्रयत्न गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

सभापति देउवाले नेपालको गाउँपालिकाहरूमा प्रमुख वा उपप्रमुखमध्ये एकमा महिला अनिवार्य नै भएको बताउँदै महिलामा कामको बोझ धेरै छ, त्यसकारण पनि महिलालाई आरक्षण पनि दिनुपरेको हो भन्नुभयो । सभापति देउवाले प्राप्त सुझाव पार्टीलाई महत्वपूर्ण हुने बताउनुभयो । उहाँले पार्टीको विभागकोसमेत सक्रियतामा डेमोक्रेटिक लयर्स एसोसियसन लगायतले जनतामा गएर ल्याएको सुझाव महत्त्वपूर्ण भएको भन्दै प्राप्त सुझावमा जनताको सहभागिता भएको छ भन्नुभयो ।

नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले जनताको भरोसा जगाउने गरी संविधानमा भएको कमजोरी र समस्यालाई संशोधन गरी स्थिरतातर्फ लैजानुपर्छ भन्नुभयो । “देशको व्यवस्था परिवर्तन भयो, अब अवस्था परिवर्तनका लागि लाग्नुपर्छ, संविधानमा व्यवस्था गरेर निमुखा र पिछडिएका वर्गहरूको उपस्थिति राज्यको हरेक निकायमा हुने व्यवस्था गरिएको छ, अब संविधान संशोधन गर्दै गर्दा शासकीयस्वरूप कस्तो हुने, सङ्घको संरचना कस्तो बनाउने भन्ने बहस आवश्यक छ”, उहाँले भन्नुभयो ।

सभापति बानियाँले संविधान संशोधन गर्दा जनप्रतिनिधिले सेवासुविधा नलिने भनेर राखौँ भन्दै राजनीति पेसा नभई समाजसेवा भएकाले जनताको हितलाई ध्यानमा राखेर जनप्रतिनिधिले द्रुतगतिमा काम गर्नु आवश्यक छ भन्नुभयो । उहाँले संविधान संशोधन गरी सोहीअनुसार कानुनी व्यवस्थापन गरेर प्रशासनिक संरचनालाई चुस्तदुरूस्त बनाउनेतीर ध्यान दिनुपर्नेछ र विकास र समृद्धिको यात्रालाई सही ढङ्गले लैजानुपर्नेछ भन्नुभयो ।

प्रशासकीय अदालतका पूर्वअध्यक्ष काशीराज दाहालले संविधानका अनुसूचीमा उल्लेख गरिएका विषयमा द्विविधा देखिएकाले पुनर्विचार गर्नुपर्ने अवस्था रहेको बताउनुभयो । “राष्ट्रियसभालाई प्रभावकारी बनाउन पूर्णसमानुपातिक बनाइनुपर्छ, संवैधानिक अङ्गमा हुने नियुक्तिमा समावेशी हुनुपर्ने कुरा उठेको छ”, उहाँले भन्नुभयो । नेपाली कांग्रेस पेसागत तथा बुद्धिजीवी विभागका प्रमुख डा डिला सङ्ग्रौलाले संविधान कार्यान्वयनका क्रममा देखा परेका चुनौतीलाई सम्बोधन गर्नुपर्छ भनेपछि सातै प्रदेशमा पुगेर सङ्कलन भएका सुझावहरूलाई दस्तावेज बनाएर पार्टीलाई हस्तान्तरण गर्नुका साथै सार्वजनिक गरिएको बताउनुभयो ।

“सुझाव सङ्कलनका क्रममा प्रस्तावनामा भएका विभेदकारी कुराहरूलाई हटाइनुपर्ने, धार्मिक स्वतन्त्रतालाई कायम राख्दै हिन्दू धर्म सापेक्ष राज्य हुनुपर्ने, सङ्घीयताको खर्च अधिक भएको भन्दै सङ्घीयताको संरचनालाई पुनर्विचार गर्नुपर्ने आवाज उठेको छ, महिला सहभागितालाई वृद्धि गरिनुपर्ने, प्रत्यक्ष निर्वाचनमा महिलामहिलाबीच नै प्रतिस्पर्धा हुनुपर्ने व्यवस्था गरिनुपर्ने, निर्वाचन क्षेत्र र स्थानीय तहको सङ्ख्या घटाइनु पर्ने आवाज जोडदार रूपमा उठेको छ, स्थानीय तहमा दलविहीन निर्वाचन गरिनुपर्ने, सबै नागरिकको सामाजिक सुरक्षाको प्रत्याभूति गरिनुपर्ने, शिक्षा र स्वास्थ्यको विषय सङ्घले हेर्नुपर्ने सुझाव आएको छ”, उहाँले भन्नुभयो ।

नेपाली कांग्रेस ललितपुरका सभापति जीतेन्द्रकुमार श्रेष्ठले सबै महिलाले आरक्षणको मात्रै कुरा र अपेक्षा गर्नेभन्दा पनि प्रतिस्पर्धा गरेर प्रत्यक्षमा चुनाव जितेर नेतृत्वमा स्थापित हुन सक्नुपर्नेमा जोड दिनुभयो । नेपाल डेमोक्र्याटिक लयर्स एसोसियसनका उपाध्यक्ष अधिवक्ता कविता थापाले आएका सुझावलाई पार्टीले अपनत्व बोध गरी आफ्नो एजेन्डा बनाउने छ भन्ने विश्वास व्यक्त गर्नुभयो ।

 

 

 

सगरमाथा संवाद कार्यक्रमको तयारी चुस्त बनाउन प्रधानमन्त्रीको निर्देशन

आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा हुने सगरमाथा संवाद कार्यक्रमको तयारीका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज निर्देशक समितिको पहिलो बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको बैठकमा कार्यक्रमको समग्र व्यवस्थापन, रुपरेखा, विदेशी राष्ट्र प्रमुख तथा सरकार प्रमुखसहित अतिथिहरुको निमन्त्रणा, विज्ञहरुको सहभागिता, सद्भावनादूतको नियुक्ति र निजी क्षेत्रसँगको सहकार्यलगायत विषयमा छलफल भएको छ ।

बैठकमा प्रधानमन्त्री ओलीले सबै क्षेत्रको सहयोग र सहभागिता लिइ कार्यक्रमलाई विशेष बनाउन आग्रह गर्नुभयो । उहाँले कार्यक्रमको तयारी हरेक हिसाबले पर्फेक्ट रुपमा गर्न निर्देशन दिनुभयो । सगरमाथा संवाद कार्यक्रम सञ्चालनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सचिवालय सञ्चालनमा आइसकेको छ । संवाद कार्यक्रमका लागि प्रधानमन्त्री ओलीको अध्यक्षतामा निर्देशक समिति र परराष्ट्रमन्त्री डा। आरजु राणा देउवाको अध्यक्षता र वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीको सहअध्यक्षतामा व्यवस्थापन समिति गठन गरिएको छ ।

सरकारले संवाद कार्यक्रमका लागि छिमेकीमुलुक भारत, चीनसहित विभिन्न मुलुकका राष्ट्र प्रमुख र सरकार प्रमुखसहितलाई विशेष अतिथिका रुपमा आमन्त्रण गरिसकेको छ । सरकारले पहिलो पटक जलवायु परिवर्तन, हिमाल र मानव जीवनको भविष्यलाई केन्द्रमा राखेर हरेक दुई वर्षमा यस प्रकारको विश्वव्यापी संवाद आयोजना गर्न लागेको हो । यस कार्यक्रमको गत माघ ८ गते अन्तर्राष्ट्रिय हिमनदी वर्ष, २०२५ का अवसरमा प्रधानमन्त्री ओलीले घोषणा गर्नुभएको थियो ।