Page 159 – Nepalboli

प्रदेश सरकार थप प्रभावकारी रुपमा सञ्चालन हुनुपर्ने- महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रदेश सरकार थप प्रभावकारी रुपमा सञ्चालन हुनुपर्ने बताउनुभएको छ । आज नवलपरासीमा नेपाली कांग्रेसद्वारा आयोेजीत पार्टीको प्रथम क्षेत्रिय सम्मेलनमा संम्बोधन गर्दै थापाले संघीय सरकारले उचित रुपमा समन्वयकारी भूमीका निर्वाह गरी प्रदेश सरकारले जनमैत्री काम गर्नुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा बोल्दै थापाले अबको आवश्यकता देशको आर्थिक सम्वृद्धि रहेकोले यसका लागी सवै दल मिलेर देशको आर्थिक बिकासमा लाग्नुपर्नेमा जोड दिनुभयो । २०४८ साल देखी हालसम्म आउदा देशको विभिन्न विकास निमार्णको कामको नेतृत्व कांग्रेसले गरेको दावी गर्नुभयो ।

देशमा अब रोजगारी सृजना गर्ने मुख्य चुनौतीको विषय रहेको सबै मिलेर देशमा नयाँ आर्थिक कान्तीसँगै रोजगारी सृजनामा जोड दिनुपर्ने बताउनुभयो । सो अवसरमा बोल्दै थापाले राजनतिक दलहरुले आम नागरिकलाई साथ लिएर अगाडी बढ्नुको विकल्प नरहेको दावी गर्नुभयो ।

राजनितिक दलहरु प्रति देखिएको निरासा जनक अवस्थालाई मध्यनगर गर्दै संघ, प्रदेश र स्थानीय तह गरी तिन तहको सरकारले जनमैत्री र जनता भरोषा दिलाउने तरीकाले काम गर्नुपर्ने सुझाव दिनुभयो ।

कांग्रेस मानव अधिकारप्रति संवेदनशील छ- सभापति देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफू नेतृत्वको पार्टी अपाङ्गता भएका व्यक्तिको मानव अधिकारप्रति संवेदनशील रहेको बताउनुभएको छ। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज आयोजित राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घको प्रथम महाधिवेशनको उद्घाटन समारोहमा सभापति देउवाले नेपालको लोकतान्त्रिक आन्दोलनमा अपाङ्गता भएका व्यक्तिहरूको महत्त्वपूर्ण योगदान रहेको बताउनुभयो।

“नेपाललाई आधुनिक विकासको बाटोमा अघि बढाउने क्रममा अपाङ्गता भएका व्यक्तिहरूको उत्प्रेरणा, सुझाव, सहयोग र सकारात्मक भूमिका सदा प्रशंसायुक्त रह्यो, २००७ सालको जनक्रान्तिदेखि आजसम्म शारीरिक, मानसिक, वौद्धिक तथा अन्य प्रकारको अपाङ्गताका बाबजुद कांग्रेसको आह्वान र नेतृत्वमा भएका सङ्घर्षमा साथ दिने सबैलाई ससम्मान सम्झना गर्न चाहन्छु”, उहाँले भन्नुभयो।

लोकतन्त्रले मात्र सबै वर्ग, क्षेत्र, लिङ्ग, वर्ण वा समुदायको हकहितको रक्षा गर्दछ भन्ने कुरा नेपालको आफ्नै अनुभवले प्रष्ट पारेको सभापति देउवाको भनाइ छ।

“विसं २०४६ मा प्रजातन्त्र पुनःस्थापना भएपछि मात्र अन्य क्षेत्रले झै अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सुनिश्चित गर्न नेपालमा ठोस कदम चालिएका हुन्, अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी अन्तरराष्ट्रिय महासन्धिमा नेपालले सुरूमै हस्ताक्षर गरेको हो, अपाङ्गताको परिभाषा, वर्गीकरण, परिचय–पत्रको व्यवस्था, सामाजिक सुरक्षा भत्ताको सुरूवात तथा आवश्यक नीति, रणनीति, कार्ययोजना निर्माण भएका हुन्”, सभापति देउवाले भन्नुभयो, “नेपालको वर्तमान संविधान अपाङ्गता भएका व्यक्तिहरूको शिक्षा, स्वास्थ्य, रोजगारी, सहज र सुलभ जीवनयापनको पक्षमा उभिएको छ। अपाङ्गता भएका व्यक्तिहरूको मानव अधिकारप्रति संवेदनशील छ।”

सरकारले चाहेर पनि अपाङ्गता भएका व्यक्तिहरूलाई पर्याप्त सेवा सुविधा दिन नसकिरहेको तर्फ पार्टी सचेत रहेको भन्दै सभापति देउवाले मुलुकको आर्थिक विकाससँगै यस क्षेत्रको सेवा, सुविधा र रोजगारी अभिवृद्धिमा प्राथमिकता दिन आफूहरू प्रतिबद्ध रहेको बताउनुभयो।

“राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घले नेपाली कांग्रेसको केन्द्रीय समितिले तोकेको निर्धारित समयसीमाभित्र तल्ला तहका अधिवेशन सम्पन्न गरी पहिलो केन्द्रीय महाधिवेशन सम्पन्न गर्न लागेकोमा सम्वद्ध सबैलाई धन्यवाद दिन चाहन्छु”, सभापति देउवाले भन्नुभयो। महाधिवेशनले सङ्घलाई संस्थागत रूपमा थप सशक्त बनाउँदै उहाँले समावेशी लोकतान्त्रिक अभियानलाई प्रवर्द्धन गर्न तथा अपाङ्गता भएका व्यक्तिहरूको हक, अधिकार र पहिचानलाई थप स्थापित गर्न दिशा मार्गनिर्देश गर्नेछ भन्दै शुभेच्छा व्यक्त गर्नुभयो।

सभापति देउवाले अपाङ्गता भएका व्यक्तिहरूको हक, अधिकारलाई थप सुनिश्चित गर्न यस राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घले उठाएका सवाल र सुझावलाई कार्यान्वयन गराउँदै जानेतर्फ कांग्रेस प्रतिबद्ध रहेको जानकारी गराउनुभयो।

उपसभापति धनराज गुरूङले जनताको आवाजलाई बुलन्द गर्ने क्षमता अपाङ्गता भएका व्यक्तिहरूसँगमा रहेको भन्दै सिङ्गो मुलुकलाई समृद्धिको यात्रामा बढाउने क्षमता भएको बताउनुभयो। “दृष्टि नभएकोमा हीनताबोध गर्नु आवश्यक छैन, तपाईंहरूसँग दृष्टिकोण छ, सँगसँगै काम गर्ने क्षमता तपाईंहरूसँग छ, कानून र ऐनमा भएको कमजोरीलाई सुधार गर्ने काममा कांग्रेसले नीतिगत रूपमा सुधार गर्छ, असमानतालाई हटाउँछ, अपाङ्गता भएका व्यक्तिहरूलाई पछाडि छोडेर हामी एक्लै अगाडि बढ्न सक्दैनौँ”, उहाँले भन्नुभयो।

महामन्त्री विश्वप्रकाश शर्माले एकताबद्ध रूपमा उभिएर लोकतन्त्र र गणतन्त्रको पक्षमा रहेको सन्देश दिनुपर्ने भन्दै महाधिवेशनले नयाँ तागतको विकास गर्दै अपाङ्गता भएका व्यक्तिहरूले पनि धेरै काम गर्न सक्छन् भन्ने सन्देश दिनुपर्ने बताउनुभयो। “दुवै आँखा गुमाएको व्यक्तिले वेल लिपिको आविस्कार गरे, विश्वमा अपाङ्गता भएका व्यक्तिहरूले धेरै काम गरेका छन्, ह्वीलचियरमा हुँदैमा केही गर्न सक्दैन भन्ने हैन, नेपालका गाउँगाउँमा रहेका अपाङ्गता भएकाहरूले उत्कृष्ट काम गर्न सक्छन्”, उहाँले भन्नुभयो।

पार्टीका सहमहामन्त्री जीवन परियारले अपाङ्गता भएका व्यक्तिहरूले विश्वभरि अत्यन्तै कहालिलाग्दो जीवन व्यतीत गरिरहनुभएको भन्दै पार्टीले पनि नेपालका अपाङ्गहरूको हकहीत र राजनीतिक प्रतिनिधित्व सुनिश्चितताका लागि छुट्टै समूह बनाएर केन्द्रीय समिति र माताहातका विभिन्न समितिमा प्रतिनिधित्वको अधिकार दिनुपर्नेमा जोड दिनुभयो।

पार्टीका प्रवक्ता डा। प्रकाशशरण महतले महाधिवेशनले नेतृत्व चयनसँगै अपाङ्गता भएकाहरूको समस्या समाधानका लागि राष्ट्रियस्तरमा नीति निर्माणका लागि भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले दुर्घटनाबाट हुने विभिन्न किसिमका अपाङ्गता हुन नदिन अभियान बढाउनुपर्ने, अपाङ्गता भएकाहरूको अधिकारका विषयलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो।

कांग्रेसका केन्द्रीय सदस्य एवम् महाधिवेशन निर्देशक समितिका सभापति मधु आचार्यले समाजमा पछाडि परेकालाई राजनीतिक प्रक्रियामा सहभागी गराएर समावेशी राजनीतिलाई कांग्रेसले नै अगाडि बढाएको बताउनुभयो। उहाँले अपाङ्गता भएकाहरूमा सारक्षता प्रतिशत कम, रोजगारीको अवस्था कमजोर रहेको र गरिबीको दुस्चक्रमा फसेकाले विभिन्न किसिममा अपाङ्गलाई अगाडि बढाउन पार्टी र राज्यले उचित कदम चाल्नुपर्नेमा जोड दिनुभयो।

कांग्रेसका केन्द्रीय सदस्य एवं महाधिवेशन निर्देशक समितिका सदस्य मदनकृष्ण श्रेष्ठले विभिन्न किसिमका अपाङ्गता भएका व्यक्तिहरूको फरकफरक समस्या छ भन्दै सबै किसिमका अपाङ्गका समस्या एकै आधारमा समाधान हुन सक्दैन भन्नुभयो। उहाँले वर्तमान संविधानले केही अधिकार त दिएको छ भन्दै त्यो भएको केही उपलब्धि पर्याप्त नभएको बताउनुभयो।

कांग्रेस ललितपुरका सभापति जीतेन्द्रकुमार श्रेष्ठले महाधिवेशनबाट अपाङ्गता भएकाको हकहितमा काम गर्ने नेतृत्व चयन होस् भन्ने कामना गर्दै नेपालको प्रजातान्त्रिक आन्दोलनमा गर्नुभएको योगदान पार्टीले विर्सने छैन भन्नुभयो।

राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घका वर्तमान अध्यक्ष प्रकाश पन्तले केन्द्रीय समितिमा ७७ वटै जिल्लाको प्रतिनिधित्व रहेको जानकारी गराउँदै २०६२-६३ को अधिकारपछि संविधानमा धेरै अधिकार समेटिएको बताउनुभयो। “संविधानमा अधिकार समेटिएको छ, अब हामीले व्यवहारमा उतार्ने हो, ७४ जिल्लाका एक ६३ भन्दा बढी निर्वाचन क्षेत्रमा अधिवेशन सम्पन्न भएको छ, हामीले माघ मसान्तभित्रै अधिवेशन सम्पन्न गर्ने तयारी गरेका थियौँ, समयमै महाधिवेशन गर्ने तेस्रो सङ्घ भएका छौँ”, उहाँले भन्नुभयो।

संस्थापक अध्यक्ष भोजराज श्रेष्ठले २०४६ साल अगाडि अपाङ्गता भएकालाई दोस्रो दर्जाको नागरिकको रूपमा लिइएको थियो भन्दै २०४६ पछि सङ्घसंस्था खोल्ने अधिकार प्राप्त भएको बताउनुभयो। उहाँले २०६२-६३ को आन्दोलनपछि अधिकारका पक्षमा प्रभावकारी र सकारात्मक काम भएको बताउनुभयो।

“गिरिजाप्रसाद कोइरालाले विधान पठाइदिनुस्, म भातृ संस्थाको निर्णय गरिदिन्छु भनेर प्रतिबद्धता जनाउनुभएको थियो। त्यहीअनुसार उहाँले काम गरेर हामीलाई माया र सद्भाव दिनुभयो, कांग्रेसको १२औँ महाधिवेशनबाट अपाङ्गता भएकाको प्रतिनिधित्व सुनिश्चित भयो। राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घ नेपालको सबैभन्दा ठूलो अपाङ्गता भएकाको संस्था बनेको छ”, उहाँले भन्नुभयो।

गण्डकी प्रदेशसभा सदस्य सुनिता थापाले यो महाधिवेशन अपाङ्गता व्यक्तिहरूको अधिकार र समान प्रतिनिधित्व गराउने अवसर भएको बताउँदै लोकतान्त्रिक मूल्यमान्यता अनुरूप समान अवसर, समान अधिकार र समावेशी प्रतिनिधित्वका लागि कांग्रेस अगाडि रहेको धारणा राख्नुभयो।

 

 

मिर्गौलाको उपचारमा नेपालले उपलब्धि हासिल गरेको छ- प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले मिर्गौलाको उपचारमा नेपाल सम्भवतः विश्वमै सुलभ मूल्यमा स्वास्थ्य सेवा दिने मुलुक पर्ने बताउनुभएको छ। नेपाल सोसाइटी अफ नेफ्रोलोजीको पाँचौ सम्मेलनको उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले मिर्गौलासम्बन्धी उपचार र हेरचाहमा नेपालले प्रगति गर्दै गएकोमा सन्तोष व्यक्त गर्दै यस्तो बताउनुभएको हो।

गरिबीको निवारणसहित स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउँदै निरोगी नेपालको अभियानलाई सार्थक तुल्याउन उहाँले जोड दिनुभएको छ।

दुई पटक मिर्गौला प्रत्यारोपण गराउनुभएका प्रधानमन्त्री ओलीले पहिलो प्रत्यारोपण गराउँदा नेपालमा सुविधा नभएकाले भारतमा गरेको र दोस्रो पटक सुविधा उपलब्ध भएपछि नेपालमै प्रधानमन्त्रीका हैसियतमा प्रत्यारोपण गराउँन पाउँदा गर्व महसुस भएको उल्लेख गर्नुभयो।

सम्मेलनबाट प्राप्त निष्कर्ष सरकारलाई नीतिगत सुधारका लागि उपयोगी हुने बताउँदै प्रधानमन्त्री ओलीले मिर्गौला रोग विशेषज्ञका साथमा सरकार सदैव रहने स्पष्ट गर्नुभयो। कार्यक्रममा समाजका अध्यक्ष प्रा। डा। दिव्या सिंह शाहले दक्षिण एसियामा मिर्गौला रोगको समस्या र निदानका प्रयासबारे प्रस्तुतिकरण गर्नुभएको थियो।

पार्टी फोडेर जाने नेताको सांसद पद जाने कानुनी प्रावधान प्रस्ताव

सांसदहरूले पार्टी फोडेर नयां दल बनाएमा सांसद पद जाने प्रावधान सहितको कानुन मस्यौदा निर्वाचन आयोगले तयार पारेको छ । आयोगले तयार गरेको ‘राजनीतिक दलसम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्ने विधेयक’को मस्यौदामा यस्तो प्रावधान राखिएको हो । आयोगले मस्यौदामाथि रायसमेत आह्वान गरेको छ ।

पदकै लोभमा पार्टी फुटाउने क्रम बढेकाले त्यसलाई नियन्त्रण गरेर राजनीतिक दललाई बलियो बनाउन नयाँ प्रस्ताव गरिएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए ।

सांसदहरूले सङ्ख्या पुर्‍याएर दल विभाजन गर्न सक्ने तर त्यसो गरेमा उनीहरूको पद रिक्त हुने कानुनको मस्यौदा निर्वाचन आयोगले तयार पारेको छ । स्वतन्त्र निर्वाचित व्यक्ति कुनै दलमा प्रवेश गर्दा पनि पद रिक्त हुने प्रावधान विधेयकमा प्रस्ताव गरिएको आयुक्त थपलियाले बताए ।

मस्यौदामा केन्द्रीय समिति र संसदीय दलमध्ये कुनै एकमा ४० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सकिने व्यवस्था छ । तर, यसरी नयाँ दल बनाए वा अर्को कुनै दलमा प्रवेश गरे दल त्याग गरेको मानिने प्रावधान प्रस्ताव गरिएको छ ।

‘राजनीतिक दलसम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्ने विधेयक’को मस्यौदा

ढल्केबर-बारा प्रसारण लाइन निर्माण सम्पन्न

देशभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण तथा विश्वसनीय बनाउन र नेपाल-भारतबिचको विद्युत् व्यापार विस्तारका लागि निर्माणाधीन हेटौँडा-ढल्केबर-इनरुवा ४०० केभी प्रसारण लाइन आयोजना अन्तर्गत ढल्केबर-बारा खण्ड निर्माण सम्पन्न भएको छ । धनुषाको ढल्केबर सबस्टेसनदेखि पश्चिमतर्फ पर्ने महोत्तरी, सर्लाही, रौतहट हुँदै बारा र मकवानपुरको सिमानामा पर्ने सरस्वती डाँडासम्मको १०० किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न भएको हो ।

धनुषाको ढल्केबरबाट पूर्वतर्फ पर्ने सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-४ स्थित इनरुवा सबस्टेसम्मको १५४ किलोमिटर ४०० केभी डबल सर्किट प्रसारण लाइन निर्माण निर्माणसम्पन्न भई गत असारदेखि सञ्चालनमा आइसकेको छ । ढल्केबरबाट पश्चिमतर्फको विद्युत् प्रवाहलाई थप सहज बनाउन रौतहटको चन्द्रनिगाहपुर (चपुर) बजार नजिक रहेको जङ्गलसम्मको करिब ६० किलोमिटर ४०० केभी प्रसारण लाइनको एउटा सर्किटलाई १३२ केभीमा सञ्चालनमा (चार्ज) ल्याइएको छ ।

हाल चालु रहेको पूर्व-पश्चिम १३२ केभी प्रसारण लाइनलाई उक्त स्थानमा ‘ट्यापिङ’ गरी बिहीबार नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको उपस्थितिमा ४०० केभी प्रसारण लाइनलाई १३२ केभीमा चार्ज गरिएको हो । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले ढल्केबरबाट पश्चिमतर्फ र पश्चिमबाट ढल्केबरतर्फ विद्युत् पठाउन हाल रहेको पूर्वाधार संरचनाको बाधा हटाउन निर्माण सम्पन्न भएको ४०० केभीलाई १३२ केभीमा चार्ज गरिएको बताउनुभयो ।

“हिउँदयाममा हाल देखिएको ऊर्जा अभावलाई समाधान गर्न ढल्केबर-मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट दिउँसो थप विद्युत् भारतबाट आयात गर्न सकिन्छ, यसबाट कुलेखानी जलाशय, माथिल्लो तामाकोशी, कालीगण्डकी, मस्र्याङ्दी, मध्यमस्र्याङदीजस्ता अर्धजलाशययुक्त आयोजनाको पानी दिउँसो जम्मा गरी साँझको पिक र राति चलाउन सकिन्छ, यसबाट ढल्केबरबाट पश्चिमतर्फको विद्युत् आपूर्ति व्यवस्थापनमा थप सहज हुनेछ”, कार्यकारी निर्देशक घिसिङले भन्नुभयो ।

बर्खायाम सुरु भएपछि देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् पश्चिमबाट ढल्केबरतर्फ प्रवाह गरी भारतमा हुने विद्युत् निर्यातको परिमाण बढाउन सकिने तथा हाल चालु रहेको १३२ केभी प्रसारण लाइनको कन्डक्टर फेरेर क्षमता बढाउने काम अगाडि बढाउन सहज भएको उहाँले बताउनुभयो । प्राधिकरणले मकवानपुरको हेटौँडादेखि ढल्केबरसम्मको १३२ केभी डबल सर्किट प्रसारण लाइनको स्तरोन्नति (तार फेर्ने) को काम गरिरहेको छ ।

पूर्व-पश्चिम १३२ केभी डबल सर्किट प्रसारण लाइनको क्षमता वृद्धि गर्न हेटौँडादेखि ढल्केबर सबस्टेसनसम्मको करिब १३६ किलोमिटर खण्डमा पर्ने कम क्षमताको पुरानो तारलाई बदलेर उच्च क्षमताको नयाँ तार राख्न लागेको कार्यकारी निर्देशक घिसिङले बताउनुभयो । यसमध्ये हेटौँडाबाट बाराको पिलुवा सबस्टेसनसम्मको दुवै सर्किटको तार पर्ने काम सम्पन्न भइसकेको छ । ढल्केबरबाट सर्लाहीको लालबन्दीसम्मको एउटा सर्किटको काम सम्पन्न भएको छ । स्थानीयको अवरोधका कारण लालबन्दीभन्दा अगाडि तार फेर्ने काम रोकिएको छ ।

तार फेर्न लाइन बन्द ९सट डाउन० गर्नुपर्ने र यसले गर्दा त्यस क्षेत्रको विद्युत् आपूर्ति नै प्रभावित हुने भएकाले काम अगाडि बढ्न सकेको थिएन । अब ४०० केभीलाई १३२ केभीमा चार्ज गरिएकाले उक्त लाइनबाट विद्युत् प्रवाह गरी तार फेर्ने काम अगाडि बढाउन सकिने कार्यकारी निर्देशक घिसिङको भनाइ छ । अहिले पुरानो १३२ केभी प्रसारण लाइनबाट करिब २०० मेगावाट विद्युत् प्रवाह हुँदै आएकामा कन्डक्टर बदलेपछि क्षमता वृद्धि भई करिब ४०० मेगावाट प्रवाह हुन्छ ।

यसबाट त्यस क्षेत्रमा विद्युत् आपूर्तिमा सुधार हुने, पश्चिम क्षेत्रमा उत्पादित विद्युत्लाई पूर्वतर्फ थप प्रवाह गर्न सकिने र देशभित्र खपत गरी बढी भएको विद्युतलाई ढल्केबर सबस्टेसनमार्फत भारततर्फ निर्यात गर्न सकिन्छ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका-११ स्थित थानाभर्याङस्थित हेटौँडा सबस्टेसनबाट इनरुवा सबस्टेसम्मको २८८ किलोमिटर ४०० केभी प्रसारण लाइनलाई दुई खण्डमा विभाजन गरी निर्माण सुरु गरिएको थियो । प्रसारण लाइनलाई हेटौँडा-ढल्केबर १३४ किलोमिटर र ढल्केबर-इनरुवा १५४ किलोमिटरलाई दुई खण्डमा विभाजन गरिएको छ । यसमध्ये ढल्केबर-इनरुवा खण्ड निर्माणसम्पन्न भई सञ्चालनमा आइसकेको छ । हेटौँडा-ढल्केबर खण्ड निर्माणाधीन छ ।

यस खण्डअन्तर्गत हेटौँडा उपमहानगरपालिका-१५, १६ तथा १७ स्थिति हटिया क्षेत्रका केही स्थानीयले प्रसारण लाइनको रुट सार्न माग गर्दै करिब ८ वर्षदेखि निर्माणमा अवरोध गरिरहेका छन् । हटिया क्षेत्रमा १६ वटा र हेटौँडा-११ स्थित थानाभर्याङमा दुईवटा गरी १८ वटा टावर निर्माण गर्न बाँकी छन् । बाँकी दुईवटा टावर निर्माणाधीन छन् । आयोजना नेपाल सरकार तथा प्राधिकरणको लगानी र विश्व बैङ्कको सहुलियतपूर्ण ऋणमा नेपाल-भारत विद्युत् प्रसारण तथा व्यापार परियोजनाअन्तर्गत सुरु गरिएको हो । विश्व बैङ्कको ऋण अवधि सकिएपछि बाँकी काम हाल सरकार र प्राधिकरणको लगानीमा भइरहेको छ ।

 

 

 

 

एकै विद्यालयका आठ जुम्ल्याहा विद्यार्थीले एसइई परीक्षा दिँदै

मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालयका आठ जना जुम्ल्याहा विद्यार्थीले एसइई परीक्षा दिइरहेका छन् । यो विद्यालयबाट कोशी प्रदेशमै सबैभन्दा बढी विद्यार्थीले एसइई परीक्षा दिइरहेका र जसमध्ये आठजना जुम्ल्याहा विद्यार्थीले एकैपटक परीक्षा दिइरहेका सहायक प्रधानाध्यापक राजेन्द्र गिरीले जानकारी दिनुभयो ।

विद्यालयबाट चारवटा परीक्षा केन्द्रमार्फत ६२६ विद्यार्थी परीक्षामा सहभागी छन्, जुन सङ्ख्या एकै प्रदेशमै बढी रहेको विद्यालयको दाबी छ । विसं २०२९ मा स्थापना भएको यस विद्यालयमा २०३९ सालबाट ‘एसएलसी’ परीक्षा दिन सुरु गरिएको थियो । प्रदेशकै नमूना विद्यालयअन्तर्गत गर्ने यस विद्यालयमा -२ सहित हाल चार हजार ५०० विद्यार्थी अध्ययनरत रहेका विद्यालयका प्रधानाध्यापक हिक्मतबहादुर बस्नेतले जानकारी दिनुभयो ।

कोशी प्रदेशमा ८० हजारभन्दा बढी विद्यार्थीले परीक्षा दिइरहेका छन् ।

डेढ दशकदेखि मानवविहीन मुस्ताङको ‘सम्जुङ गाउँ’

मुस्ताङ । जलवायु सङ्कटले हिमाली जिल्लाको धार्मिक, सांस्कृतिक र विभिन्न क्रियाकलापमा प्रत्यक्षरपरोक्ष प्रभाव पर्दै गएको छ । जलवायु परिवर्तनकै कारण हिमाली जिल्ला मुस्ताङको जनजीवनसमेत निकै प्रभावित भइरहेको छ । असमान मौसम परिवर्तन, प्राकृतिक प्रकोप, अनियमित हिमपात हुने र कुनै वर्ष हिउँ नै पर्न नसक्नेजस्ता प्राकृतिक प्रकोपको समस्या झेल्नुपर्ने अवस्था विद्यमान छ । जलवायुकै कारण पछिल्लो समय हिमालहरू कालापत्थरमा रूपान्तरण हुँदै जान थाले भने हिमनदीको स्रोत पनि सुक्दै जान थालेका छन् । यसरी जलवायु सङ्कटकै कारण हिमाली जिल्लाको कृषि र पशुपालनलगायत क्षेत्रमा यसको नकारात्मक असरहरू देखिन थालेको छ ।

जलवायु सङ्कटकै यस्तै एउँट पीडा थेगिरहेको छ मुस्ताङको सम्जुङ गाउँ । लोमान्थाङ गाउँपालिका–२ मा अवस्थित उपल्लो मुस्ताङको सम्जुङ गाउँ विगत डेढ दशकअघिदेखि मानवविहीन अवस्थामा छ । त्यहाँ १८ घरधुरी थिए । अहिले त्यहाँ पुरानो शैलीका परम्परागत घरहरू जिवितै छन् । सम्जुङमा पूर्ववत् अवस्थामा घरहरू यथास्थितिमा रहे पनि त्यहाँका मानिसहरू त्यहाँबाट विस्थापित भइसकेको करिब डेढ दशक भइसकेको छ ।

त्यहाँ बर्षाको समयमा भेडाच्याङ्ग्रा र याकचौँरी रेखदेख गर्ने केही घरधुरीका कुरूवा बस्ने गरेको पाइएको छ । त्यसबाहेक लोमान्थाङ–२ को सम्जुङ बस्ती मानवविहीन अवस्थामा छ । जोमसोम–कोरला मुख्य राजमार्ग सडकबाट झण्डै पाँच घण्टा पैदल हिँडेर पुग्न सकिने मुस्ताङको सम्जुङ गाउँ भौगोलिक रूपमा निकै नै पिछडिएको र विकट स्थानमा अवस्थित छ ।

त्यहाँ डेढ दशकअघि स्थानीय घरधुरीले कृषि र पशुपालन व्यवसाय गरी बस्ने गर्थे । कृषि र पशुपालनमा समस्या देखिन थालेपछि स्थानीयले बस्ती स्थान्तरणको मार्ग रोजे । जलवायु परिवर्तनकै कारण हिमनदीको स्रोत सुक्दै जान थालेपछि सिँचाइ, खानेपानी र चरन क्षेत्रलगायतमा समस्या पर्न थाल्यो । यसैका कारण जलवायु अनुकूलका लागि त्यहाँका स्थानीयबासीले बसाइँसराइको बाटो रोजेका हुन् ।

निकै अग्लो पठार नाङ्गो डाँडाको फेंदमा अवस्थित उपल्लो मुस्ताङको सम्जुङ बस्तीले जलावायुको सङ्कट थेगिरहँदा त्यहाँका स्थानीय नागरिक दैनिक जीविकोपार्जनमा निकै नै ठूलो चुनौतीको सामना गर्न बाध्य भए । यिनै जलवायु सङ्कटले गर्दा सिँचाइ, खानेपानी र चरनक्षेत्र असहज हुँदा बस्ती रित्तिन पुगेको हो ।

जलवायुपीडित सम्जुङ गाउँ कहाँ सर्‍यो ?
उपल्लो मुस्ताङस्थित लोमान्थाङ–२ को सम्जुङ गाउँ डेढ दशकअघिदेखि सोही वडाको नामासुङ भन्ने स्थानमा स्थान्तरित भएको छ । त्यहाँका कूल १८ घरधुरीका पूरै नागरिक नामासुङमा सरेर नयाँ बस्ती निर्माण गरिसकेका छन् । राष्ट्रिय गौरवको जोमसोम–कोरला मुख्य सडकमार्गदेखि नजिकै छोसर खोलाको पूर्वतर्फको स्थानमा सम्जुङ बस्ती नामासुङमा स्थान्तरित भएको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले जानकारी दिए ।

मुस्ताङी सांस्कृतिक राजा जिग्मे पलवर विष्टका नाममा रहेको करिब एक सय रोपनी लालपुर्जावाला बाँझो जग्गा जलवायुले विस्थापित बस्ती सम्जुङ गाउँलाई निःशुल्क दान गरेपछि त्यहाँ नयाँ बस्ती बसेको गाउँपालिका अध्यक्ष विष्टको भनाइ छ । त्यहाँ जलवायुले विस्थापित बस्ती सम्जुङको प्रत्येक घरधुरीलाई चार चार आना क्षेत्रफलमा टहरा निर्माण गर्ने र बाँकी क्षेत्रफलमा खेती गर्ने सुविधा उपलब्ध भएको अध्यक्ष विष्टले उल्लेख गरे ।

मुस्ताङी राजाले आफ्नो स्वामित्वमा रहेको खाली जग्गा सम्जुङ गाउँलाई उपलब्ध गराइदिएपछि त्यहाँ १८ वटै घरधुरीले समान आकारको उस्तै प्रकृतिका घरटहराहरू निर्माण गरेका थिए । लोमान्थाङ गाउँपालिका–५ का पूर्ववडाध्यक्ष नवाङकुङ्गा लामा विष्टको समन्वय र सहकार्यमा त्यहाँ नयाँ बस्तीको संरचना निर्माण भएको हो ।

पूर्ववडाध्यक्ष विष्टकाअनुसार सम्जुङबाट विस्थापित बस्तीलाई पुर्नवासको व्यवस्थापन गर्न स्थानीय घरधुरीसँग लागत साझेदारी गरी त्यहाँ घरटहरा निर्माण भई नयाँ बस्ती बसेको हो । त्यहाँ एक स्वीजरल्याण्डको एक संस्थाको ५० प्रतिशत र स्थानीय घरधुरीको ५० प्रतिशत लागत साझेदारी रहने गरी डेढ दशकअघि त्यहाँ बस्ती स्थानान्तरण भएको लोमान्थाङ–५ का पूर्ववडाध्यक्ष विष्टको भनाइ छ । बस्ती स्थानान्तरणका लागि आफूले व्यक्तिगत रूपमा पहल गरेको वडाध्यक्ष विष्टले खुलाए ।

लोमान्थाङ गाउँपालिकाका निमित्त कार्यालय प्रमुख विकास केसीले जलवायुकै सङ्कटले त्यहाँका कृषि र पशुपालन प्रणालीमा प्रत्यक्ष र परोक्ष असर देखिएकाले नामासुङमा बस्ती स्थानान्तरण हुन पुगेको बताए । प्राकृतिक स्रोतहरूको अभाव हुँदै जानु र त्यहाँबाट केही सहज स्थानमा बसोबास गर्ने मनसायका कारण त्यहाँका घरधुरी नामासुङमा बस्ती सरेको आफूले बुझेको बताए ।

नामासुङमा स्थानान्तरण भएका घरधुरी कहिलेकाहीँ सम्जुङ गाउँमा पशुचौपाय लिएर जाने र त्यहाँको गोठमा गएर बस्ने गरेको लोमान्थाङका निमित्त प्रशासकीय अधिकृत केसीले उल्लेख गरे । नयाँ स्थानान्तरण भएको बस्ती नामासुङ पुग्न जोमसोम–कोरला सडकमार्गबाट १५ मिनेटको पैदल हिँडेर पुग्न सकिने उनले जानकारी दिए ।

 

 

 

दाङका उदाहरणीय कृषक भिमकान्त, भन्छन्– कृषिमा युवालाई आकर्षित गर्नुपर्छ

दाङ । घोराही उपमहानगरपालिका–१७ बाउन डाँडाका ६२ वर्षीय भिमकान्त चापागाई गोलभेँडा खेती गरी आर्थिक रूपमा सक्षम र सफल बनेका छन् । पाँच विगाहा जमिनमा गोलभेँडा खेती गरी वार्षिक १० देखि १२ लाख रूपैयाँ बचत गर्न सकेको उनी सुनाउँछन् । व्यावसायिक गोलभेँडा खेतीबाट अब्बल किसानका रूपमा चिनिन सफल चापागाईँको गोलभेँडा खेती यो क्षेत्रकै नमूना पनि बनेको छ, जसले उपभोक्ता मात्र नभई देख्नेजति सबैलाई लोभ्याउने गर्दछ ।

उनको बारीमा अहिले लटरम्म फलेका गोलभेँडा कतै पाकेका छन्, केही पाक्ने तयारीमा छन् । त्यही गोलभेँडा खेतीले उनलाई एक सफल एवम् उत्कृष्ट किसानको परिचय दिएको छ । आफूलाई एक सफल कृषकका रूपमा स्थापित गर्न उनले धेरै मेहेनत पनि गरे ।

विस २०७५ मा ४ लाखको लगानीमा अरूको जमिन भाडामा लिएर खेती सुरू गरेको बताउने चापागाई अहिलेसम्म करिब २० लाखको हाराहारीमा लगानी गरेको बताउछन् । उनले जमिन भाडामा लिएर उन्नत जातका गोलभेँडाका साथै विभिन्न जातका बेमौसमी तरकारी खेतीसमेत गरिरहेका छन् ।

वार्षिक प्रतिकठ्ठा तीन हजारका दरले जमिनको भाडा तिर्नुपर्ने र छ जनाले प्रत्यक्ष रोजगारी पनि पाएको बताउँदै सबै खर्च कटाएर बार्षिक १२ लाखसम्म बचत गर्न सकेको उनको भनाई छ । उनको यो काममा उनकी श्रीमतीले सघाउछिन् भने दुई छोरा कामका सिलसिलमा बाहिरी जिल्लामा । एक वर्षमा गोलभेँडा खेतीबाटै यति कमाई गर्न सक्नु सामान्य नभएको र आफ्नो व्यावसायबाट सन्तुष्ट र खुशी भएको उनको भनाई छ ।

बर्दियाको गेरूवा गाउँपालिका–३ पर्सेनीमा स्थायी घर भएका उनको खेतीयोग्य जमिन पनि छ । पर्याप्त मात्रामा सिचाईंको सुविधा पुगेको छ तर बजार अभाव र तरकारी खेतीका लागि आवश्यक पर्ने तापक्रमका कारण आफू खेती गर्नका लागि यहाँ आएको बताउँछन् उनी । दाङमा धेरै नजिकका आफन्त रहेका र आफन्तहरूले गरेको गोलभेँडा तथा तरकारी खेती देखेपछि आफू यस खेतीतर्फ आकर्षित भई सुरूवात गरेको बताउने उनी सुरूमा घोराहीस्थित मसिनामा एक बिघा जमिन भाडामा लिएर खेती सुरु गरेका थिए ।

पछि खेतीका लागि आवश्यक जमिन अपुग भएर विगत पाँच वर्षदेखि यस ठाउँमा खेती सुरू गरेको हुँ उनले अन्य जातका तरकारी भन्दा गोलभेँडा खेतीबाट धेरै लाभ लिन सकिने र एकपटक रोपेपछि लामो समयसम्म फल्ने भएकाले आम्दानी लिन पनि सजिलो हुने भएकाले गोलभेँडा खेती गरेको बताए ।

चापागाईले गोलभेँडासहित काँक्रो, खुर्सानी, बोडी, सिमी लगायतका तरकारी पनि लगाएका छन् । उत्पादन भएको तरकारी लिन फार्ममै थोक व्यापारीहरू पुग्ने गरेका छन् । अहिले टमाटरको सिजन भएकाले प्रतिकेजी रू ३० मा बिक्री गर्नु परेकोप्रति उनी दुःखी छन्, यसअघि गोलभेँडा प्रतिकेजी रू ९० देखि १०० सम्म बिक्री हुने गरेको थियो ।

उनको बारीको गोलभेँडा दाङका विभिन्न बजार, बुटवल, पोखरा, नेपालगञ्ज लगायतका शहरमा जाने गरेको छ । कृषिप्रधान देशमा कृषिको अत्यन्तै राम्रो सम्भावना रहेको तर राज्य भने अझै पनि यस क्षेत्रका समस्या समाधानमा गम्भीर नभएको चापागाईको गुनासो छ ।

कृषिमा देशको अर्थतन्त्रको ठूलो योगदान रहेको भए पनि पछिल्लो समयमा कृषि उत्पादन अथवा कृषिजन्य वस्तुहरू बाहिरबाट आयात गर्नु दुःखद भएको चापागाईं बताउँछन् । नेपालमा तरकारी तथा कृषिजन्य उत्पादनहरू आयात गर्ने कामलाई निरूत्साहित गर्नुपर्ने उनको सुझाव छ ।

राज्यले समयमा नै कृषिलाई आत्मनिर्भर बनाउने कार्यक्रम ल्याउनुपर्ने, यस क्षेत्रका दक्ष जनशक्तिलाई विदेश पलायन हुनबाट रोक्नुपर्नेमा उनले जोड दिए । देशभित्रै सीपमूलक कृषि कार्यक्रम सञ्चालन गर्नुपर्ने र विदेशिने युवालाई लक्षित गरेर स्वदेशमै रोक्न एकीकृत कृषि व्यवसाय फारम सञ्चालनमा ल्याउनुतर्फ सोच्नुपर्ने उनले बताए ।

आफ्नै माटोमा पसिना र पौरख पोख्न सके सुन फल्छ भन्दै चापागाईं बर्सेनि कामका लागि विदेशिने युवालाई आफ्नै माटोमा पसिना पोख्न सुझाउछन्नु । ‘हाम्रो धर्ती मलिलो छ, यहीँ रोपौँ जे पनि फल्छ, कामका लागि विदेशिनु पर्दैन ।’

सरकारले खेती किसान गर्ने मानिसलाई वातावरण निर्माण गरिदिन, आवश्यक ऋण सकेसम्म सस्तोमा दिन र उत्पादित वस्तुको बजार सुनिश्चित गरिदिन चापागाईले सरकारसँग आग्रह गरे ।

राजावादीहरुको अभियान विरुद्ध एमालेले ११ चैत देखि देशव्यापी अभियान चलाउने

नेकपा (एमाले) ले मुलुकमा हाल भइरहेको प्रतिगामी हर्कतविरूद्ध जनतालाई सचेत पार्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनमत सिर्जना गर्न देशव्यापी जनसचेतना अभियान सञ्चालन गर्नेभएको छ । एमालेले चैत ११ गते एकै दिन एकै समय देशैभरि सबै वडामा जनसचेतना कार्यक्रमको घोषणा गरेको हो । तीन महिने वडाकेन्द्रित अभियान चलाइरहेको एमालेले चैत ११ गतेदेखि ३० गतेसम्म सबै प्रदेश र जिल्लामा प्रतिगामी हर्कतविरूद्ध जनपरिचालन, जनसचेतना कार्यक्रम आयोजना गर्ने भएको महासचिव शंकर पोखरेलले जानकारी दिनुभयो ।

सो क्रममा चैत १८ गते धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगञ्ज र दमकमा मोटर साइकल र्याली आयोजना गरिने सो दलले जनाएको छ । चैत १८ गते सबै जिल्लामा जिल्लास्तरीय जागरणसभा आयोजना गर्ने भएको छ भने चैत २४ देखि ३० गतेसम्म बागमती बाहेकका छवटै प्रदेशका निम्न शहरहरू धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगञ्ज र दमकमा विशेष प्रदर्शन र जनसभा गर्ने भएको छ ।

प्रदेश तहमा हुने विशेष सभामा पार्टी केन्द्रबाट वक्ता पठाइने भएको छ भने जिल्ला तहको सभाका लागि आवश्यक परेका ठाउँमा त्यस्तो व्यवस्था गरिने छ ।

आज महासचिव पोखरेलले सबै प्रदेश र जिल्ला कमिटीका अध्यक्षहरूलाई भर्चुअल बैठकबाट सम्बोधन गर्दै पार्टीले तय गरेको कार्यक्रम प्रभावकारीरूपमा कार्यान्वयनमा लैजान निर्देशन दिनुभयो ।

पार्टीको वडाकेन्द्रित अभियानलाई जोड्दै चैत ११ गते देशभरका सबै वडाहरूमा एकसाथ जनसचेतना कार्यक्रम सञ्चालन गर्ने, सङ्घीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा नागरिक समाज र विभिन्न पक्षसँग केन्द्र र जिल्लास्तरमा अन्तरसम्वाद कार्यक्रम आयोजना गर्ने रहेको छ । त्यस्तै, चैत १८ गते काठमाडौं उपत्यका, कैलाली, सुर्खेत, रुपन्देही, कास्की, पर्सा र झापा बाहेकका सबै जिल्लामा जिल्लास्तरीय जनप्रदर्शन र जागरण सभा आयोजना गर्ने । जागरण सभा नहुने जिल्लाका हकमा वृहत मोटरसाइकल ¥याली गर्ने । चैत २४ देखि ३० गतेभित्र धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगञ्ज र दमकमा विशेषसभाको आयोजना गर्ने । काठमाडौं उपत्यकाको विशेषसभाको योजना पछि तय गरिने छ।

प्रविधिको विकासलाई पछ्याउन सक्नुपर्छः परराष्ट्रमन्त्री

नयाँ दिल्ली । परराष्ट्रमन्त्री डा। आरजु राणा देउवाले वर्तमान युगमा डिजिटल प्रविधिको द्रुत तथा नवीनतम विकास भइरहेकाले विकासको यो गतिलाई पछ्याउन सक्नुपर्ने बताउनुभएको छ। नयाँ दिल्लीमा जारी राइसिना डायलग कार्यक्रम अन्तर्गत आज आयोजित डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर विषयक सत्रलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “अब प्रविधिको विकासको द्रुत गतिलाई पछ्याउन नसके पछि परिन्छ। नेपाल पनि प्रविधिसँगै यसले दिने रुपान्तरणका लागि तम्तयार छ।”

मन्त्री डा। राणाले नेपाल डिजिटल सार्वजनिक पूर्वाधार निर्माणलाई प्रवर्धन गर्न प्रतिबद्ध रहेको बताउँदै समावेशी तथा रूपान्तरणकारी डिजिटल पूर्वाधार निर्माणमा नेपाल लाग्ने बताउनुभयो। उहाँले भन्नुभयो, “सबैका लागि लाभदायक सुरक्षित र समावेशी डिजिटल सार्वजनिक पूर्वाधार निर्माण गर्नु अहिलेको आवश्यकता हो। जसले व्यक्तिगत तथा सामाजिक स्तरमा देखिने जोखिमलाई न्यूनीकरण गर्नुका साथै दिगो विकास लक्ष्य हासिल गर्न र विश्वभर समानता कायम राख्न सहयोग गर्दछ।”

सो कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री डा। राणाले भन्नुभयो, “दक्षिण एसियाको प्राचीन ज्ञान र आधुनिक गतिशीलताको प्रतीक नयाँ दिल्ली सहरमा हामी भेला हुँदा यतिखेर मलाई एक संस्कृत भनाइ ‘वसुधैव कुटुम्बकम’ को सम्झना आएको छ। हुन पनि अहिले संसार एक परिवार जस्तै भएको छ। प्रविधिको विकासले त झन् डिजिटल विश्वलाई एकै गाउँ तथा परिवारका रुपमा साँघुरो र अन्तरसम्बन्धित बनाइदिएको छ।’

डिजिटल सार्वजनिक पूर्वाधारले मानिसबीच विद्यमान डिजिटल डिभाइडको अवस्थामा परिवर्तन ल्याउन, समुदायहरूलाई सशक्त बनाउन सहायता गर्ने उहाँको भनाई थियो। डिजिटल सार्वजनिक पूर्वाधार भनेको समावेशी समाज निर्माण गर्नका लागि एक प्रकारको आधारशिला भएको उहाँको भनाइ थियो। सडक, बिजुली र पानीजस्तै यसले डिजिटल पहिचान, भुक्तानी प्रणाली र डेटा आदानप्रदान समेट्ने, शासन प्रणाली र आर्थिक उदारीकरण एवं सेवामा पहुँचलाई लोकतान्त्रिक बनाउन सहयोग गर्ने मन्त्री डा राणाले बताउनुभयो।

नेपालले पनि डिजिटल यात्राको योजना बनाएको र नेपालमा सार्वजनिक सेवाको डिजिटल डेलिभरीमा सुधार भइरहेको जानकारी उहाँले दिनुभयो। स्वास्थ्य, शिक्षा, सामाजिक सुरक्षा र सार्वजनिक सेवा वितरणमा पहुँचलाई व्यवस्थित गरेर सुशासनलाई स्थापित गर्न सघाउनेगरी नेपालले विद्युतीय सुशासनका कार्यक्रम सञ्चालन गरिरहेको उहाँले बताउनुभयो।

मन्त्री डा। राणाले भन्नुभयो, “नेपालको विद्युतीय बैंकिङ भुक्तानी प्रणाली, नागरिकमा मोबाइल लगायत सञ्चार सेवामा पहुँच जस्ता उदाहरण हामीसँग छन्। त्यसैले मलाई लाग्छ यी प्रविधिका प्रणाली केवल डिजिटल उपकरण मात्र होइनन् कि सामाजिक न्यायका उपकरण पनि हुन्। जसले समृद्धितर्फको यात्रामा कसैलाई पनि पछाडि नपार्ने सुनिश्चितता गर्दछ।”

नेपाल सरकारले अघि सारिरहेका डिजिटल पहल विद्युतीय सुशासन योजना र डिजिटल नेपाल फ्रेमवर्कद्वारा निर्देशित रहेका स्पष्ट गर्दै मन्त्री डा। राणाले नेपाल व्यक्तिगत डेटा संरक्षण ऐन लागू गर्ने प्रक्रियामा रहेको पनि जानकारी दिनुभयो। यी नियमले नागरिकको गोपनीयता र सुरक्षाका साथै देशको डिजिटल सम्पत्तिको सुरक्षा गर्नका लागि साइबर सुरक्षा संयन्त्रलाई बलियो बनाउनेतर्फ लक्षित रहेका उहाँको भनाई थियो। नेपाल सरकार डिजिटल पूर्वाधार र सेवाहरू सुधार गरी यसको पहुँचलाई देशभर पुर्याउने लक्ष्यमा रहेको पनि जानकारी दिनुभयो।

मन्त्री डा। राणाले डिजिटल साक्षरता र सीप विकासलाई सरकारले प्राथमिकतामा राखेको बताउँदै विद्यालय, विश्वविद्यालय र व्यावसायिक क्षेत्रमा डिजिटल साक्षरता कार्यक्रम अघि बढाइने र डिजिटल सेवाका लागि नागरिक सेवा केन्द्र स्थापना गरिने स्पष्ट गर्नुभयो। यो डिजिटल सार्वजनिक पूर्वाधार अवधारणाले क्षेत्रीय र अन्तर्राष्ट्रिय सहयोगलाई बढावा दिनुकासाथै सीमापार डिजिटल व्यापार र डेटा आदानप्रदान मार्फत एकीकरण र सहकार्यलाई बढावा दिन सक्ने विश्वास लिइएको उहाँको भनाइ थियो।

नेपालको डिजिटल नेपाल फ्रेमवर्कले कृषि, स्वास्थ्य सेवा र शिक्षालाई प्राथमिकता दिने, किसानलाई लागत, समय र बजारको डेटा उपलब्ध गराउने तथा दुर्गम गाउँमा टेलिमेडिसिन र विद्यार्थीलाई इ–लर्निङका अवसर प्रदान गर्ने बताउनुभयो। नेपालको डिजिटल गाउँ परियोजना जस्ता पहल डिजिटल मार्फत कृषिको उत्पादकत्वमा बृद्धि र ग्रामीण आय कसरी बढाउन सकिन्छ भन्ने राम्रो उदाहरण भएको उहाँको भनाइ थियो।

यसका साथै यस्तो प्रविधिले जलवायु प्रकोपको भविष्यवाणी गर्न, आपूर्ति शृंखला अनुकूलन गर्न, शिक्षालाई पहुँचयोग्य बनाउन, किसानलाई मनसुनबारे सचेत गराउन तथा खासगरी नेपाल र भारतबिचको सीमापार व्यापारलाई सुव्यवस्थित गर्न तथा दिगो विकास लक्ष्य प्राप्त गर्न योगदान पुर्‍याउने धारणा मन्त्री डा राणाले राख्नुभयो।

मन्त्री डा राणाले भारतले आधार (डिजिटल पहिचान) र युपिआई (एकीकृत भुक्तानी इन्टरफेस) जस्ता डिजिटल प्रणालीहरू निर्माणमा आफ्नो अनुभव सेयर गरेर विकासशील देशहरूलाई डिजिटल पूर्वाधार निर्माण, विद्युतीय सुशासन प्रवर्द्धन र प्रविधिमा समावेशी पहुँचका लागि सहयोग गर्न सक्ने उहाँको भनाइ थियो।