Page 154 – Nepalboli

प्रधानमन्त्री ओलीको थाइल्याण्ड भ्रमण चैत १९ गतेदेखि

प्रधानमन्त्री केपी शर्मा ओलीले यही चैत १९ गतेदेखि थाइल्याण्डको भ्रमण गर्नुहुने भएको छ । थाइल्याण्डको औपचारिक भ्रमण तथा बहुक्षेत्रीय प्राविधिक र आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को छैटौँ शिखर सम्मेलनमा सहभागी हुन उहाँ त्यसतर्फ जाने कार्यक्रम तय भएको हो ।

यही चैत २२ गते बैंककमा बिमस्टेकको छैटौँ शिखर सम्मेलन सुरु हुँदैछ । प्रधानमन्त्री ओलीबाट थाइल्याण्डका समकक्षी फेथोङथान सिनावात (पैटोङ्टार्न शिनावात्रा) को मैत्रीपूर्ण निमन्त्रणामा थाइल्याण्डको औपचारिक भ्रमण हुन लागेको हो । शताब्दीयौँ पुरानो सभ्यता र सांस्कृतिक सम्बन्ध रहे पनि नेपालका सरकार प्रमुखबाट अहिलेसम्म दक्षिण पूर्वी एसियाली मुलुक थाइल्याण्डको औपचारिक भ्रमण भएको थिएन । सन् १९८३ मा थाइल्याण्डका तत्कालीन प्रधानमन्त्री प्रेम तिनसुलानोन्डाले नेपाल भ्रमण गर्नुभएको थियो ।

यही चैत १९ गतेदेखि २३ गतेसम्म थाइल्याण्डको औपचारिक भ्रमण तथा बिमस्टेकको छैटौँ शिखर सम्मेलनमा सहभागी हुने प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डलको भ्रमणलाई नेपाल सरकार, मन्त्रिपरिषद्को यही चैत ११ गतेको बैठकले स्वीकृत गरिसकेको छ । मन्त्रिपरिषद्को निर्णय अगावै परराष्ट्र मन्त्रालय र सम्बन्धित निकायले भ्रमणको तयारीका कामहरु प्रारम्भ गरेको थियो ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता एवं सहसचिव कृष्णप्रसाद ढकालले नेपाल र थाइल्याण्डबीच सांस्कृतिक गतिविधि तथा आर्थिक सम्बन्ध थप प्रगाढ बढाउन यस भ्रमणले योगदान गर्ने अपेक्षा गरिएको बताउनुुभयो । उहाँले बुद्ध धर्मलगायत अन्य सांस्कृतिक र व्यापारिक सम्बन्धले दुुई देशबीच लामो समयदेखि मैत्रीपूर्ण सम्बन्ध रहेको उल्लेख गर्नुभयो ।

मन्त्रिपरिषद्को बैठकले नेपाल र थाइल्याण्डबीच हस्ताक्षर हुने ‘कल्चरल एग्रिमेन्ट विटविन द गभर्मेन्ट अफ नेपाल एन्ड द गभर्मेन्ट अफ किङ्डम अफ थाइल्यान्ड’ विषयको सम्झौता स्वीकृत गरेको छ ।

यस्तै नेपाल सरकार र थाइल्याण्ड सरकारबीच हस्ताक्षर हुने पर्यटन क्षेत्रमा सहकार्यसम्बन्धी ‘मेमोरेन्डम अफ अन्डस्ट्यान्डिङ (एमओयु) विटविन द मिनिस्ट्री अफ कल्चर, टुरिजम एन्ड सिभिल एभिएसन अफ द गभर्मेन्ट अफ नेपाल एन्ड द मिनिस्ट्री अफ टुरिज्म एन्ड स्पोर्टस् अफ द किङ्डम अफ थाइल्यान्ड अन टुरिज्म कोपरेसन’ विषयक समझदारीपत्र स्वीकृत भएको छ ।

प्रधानमन्त्री ओलीको औपचारिक भ्रमणको पूर्वसन्ध्यामा नेपालका लागि थाइल्याण्डका राजदूत सुवापोङ सिरिसोर्नले मङ्गलबार उहाँसँग शिष्टाचार भेट गर्नुभएको थियो ।

सन् १९५९ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै नेपाल र थाइल्याण्डबीचको सम्बन्ध सधैँ सौहार्दपूर्ण र मैत्रीपूर्ण रहँदै आएको छ । दुुई मुलुकबीचको संस्कृति र जनता–जनताको सम्पर्क दुुई वर्ष वर्षभन्दा बढी पुरानो मानिन्छ । नेपाल र थाइल्याण्ड बौद्ध धर्मको दर्शनद्वारा नजिकबाट जोडिएका छन् । राजा जनक दुई मुलुकको संस्कृतिको एक पुल मानिन्छन् ।

नेपाल र थाइल्याण्डले संस्कृति, पर्यटन, व्यापार, लगानी, कृषि, मानव संसाधन विकासलगायत साझा हितका विभिन्न क्षेत्रमा निरन्तर विस्तार भइरहेको सहयोगका साथ बहुआयामिक सम्बन्धका क्षेत्रमा काम गर्दै आएका छन् ।

उच्चस्तरीय भ्रमणको आदानप्रदानले द्विपक्षीय सम्बन्धलाई सही दिशामा आकार दिन र मार्गदर्शन गर्न महत्वपूर्ण भूमिका खेल्ने गर्दछ । दुई देशबीच फराकिलो र गहिरो सहयोगका लागि प्रचुर सम्भावना छन् ।

क्षेत्रीय शान्ति, प्रगति र समृद्धिका लागि बिमस्टेक प्रक्रियालाई बढावा दिने नेपालको प्रतिबद्धता व्यक्त हुँदै आएको सन्दर्भमा बिमस्टेकको सफलता यस क्षेत्र र बाहिरका सबै सदस्य राष्ट्रको हितमा हुने ठानिएको छ । छैटौँ शिखर सम्मेलनको आयोज राष्ट्र हुनुका नाताले बिमस्टेक प्रक्रियालाई सफलतापूर्वक सञ्चालन गर्न थाइल्याण्डको नेतृत्वदायी भूमिका रहनेछ भने बिमस्टेक शिखर सम्मेलनको आयोजक राष्ट्रमा नेपालका प्रधानमन्त्रीको पहिलो औपचारिक भ्रमण हुनु कूटनीतिक महत्वको विषय रहनेछ ।

प्रधानमन्त्रीका सम्बन्धमा जथाभाबी नबोल्न ओलीको चेतावनी

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना सम्बन्धमा जथाभाबी नबोल्न चेतावनी दिएका छन् । उनले प्रतिपक्षीले संसद्मा कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गरेको सम्बन्धमा प्रश्न गर्दै जवाफ माग गरिरहेको बेला प्रधानमन्त्री ओलीको यस्तो चेतावनी आएको हो ।

एमालेको युवा संघले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ओलीले यस्तो चेतावनी दिएका हुन् । ‘म आग्रह गर्न चाहन्छु प्रतिपक्षलाई यति सस्तो, यति हलुका, यति उत्ताउलो नहुनुस् तपाईँहरू र प्रधानमन्त्रीको सम्बन्धमा जथाभाबी पनि नबोल्नुस्, ‘ओलीले चेतावनी दिए, ‘थाहा छ तपाईँहरूको पृष्ठभूमि । के गर्न हिँड्नुभएको थियो, कता हिँड्नुभएको थियो, कहाँ आइपुग्नुभयो त्यो पनि देखिएको छ । कोही चिहानबाट नली खुट्टाका हाड निकालेर फेरि लगाउँदै हिँड्नुभएको छ । आफ्ना असफलताका कुण्ठा छर्ने थलो बनाउनुहुन्छ, संसद्लाई ?’

नेकपा (एमाले) का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले युवा सङ्घसँग कति तागत छ भन्ने कुरा मान्छेले आँकलन नै नगरेको भए देश र जनताको लागि परिआएमा यसले प्रतिगामी शक्तिसँग जस्तोसुकै मुकाविला गरेर पनि सक्षमता देखाउनुपर्ने बताउनुभयो।

“हामीले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैको छैन। यो कुरा अझ राम्रोसँग युवाहरुले बताउन सक्छ। देशलाई कसैले अप्ठ्यारोमा पार्न खोजेमा युवा सङ्घले बाघले झम्टिए झैँ झम्टन्छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “स्वयंसेवाको यो क्रियाकलाप राम्रो थालनी हो। यस शक्तिलाई व्यवस्थित र मर्यादितरुपमा परिचालन गर्नुस्। पहिलाको युथ फोर्स जस्तै। यो एउटा निसस्त्र स्थायी टोली होस्, कोही प्रतिगामी शक्ति टाउको जुधाउन आएमा वा विकास विरोधीहरुले हाम्रा काममा अवरोध खडा गरेमा सशक्त प्रतिवाद गरोस्।”

प्रधानमन्त्री ओलीले सरकारले एउटा कर्मचारीलाई हटाउँदा केहीले छाति पिटिपिटी रोएको टिप्पणी गर्दै प्रधानमन्त्रीले जवाफ दिइरहनुनपर्ने स्पष्ट गर्नुभयो। “प्रधानमन्त्रीले जवाफ दिइसक्यो। एउटा हटायो, अर्को नियुक्ति गर्यो। सक्कियो। त्यही हो जवाफ। उहाँहरुलाई सहयोग हुने उहाँहरुले जो भन्यो त्यही नियुक्ति गर्ने हाम्रो काम हो्इन”, प्रधानमन्त्री ओलीले भन्नुभयो।

प्रधानमन्त्री ओली यही चैत १८ गतेभित्र अध्यादेशलाई प्रतिस्थापन विधेयक ल्याएर पारित गर्नुपर्ने अवस्थामा त्यसलाई रोक्न विपक्षीले सदन अवरोधको काम थालेकामा चिन्ता व्यक्त गर्नुभयो। विपक्षीलाई आग्रह गर्दै प्रधानमन्त्रीले भन्नुभयो, “यति सस्तो, यति हल्का र यति उत्ताउलो नहुनुस् तपाईंहरु, प्रधानमन्त्रीका सवालमा जथाभावी नबोल्नुस्। आखिर तपाईंहरु चिसै पानीले नुहाउनुपर्छ। हामी न मात्तिछौँ। न आत्तिन्छौँ। धैर्यपूवर्क अगाडि बढ्छौँ।”

 

 

 

गैरकानुनी रूपमा पदमुक्त गरिएको भन्दै कुलमान घिसिङ पुगे सर्वोच्च अदालत

नेपाल विद्युत् प्राधिकरणबाट पदमुक्त भएका कार्यकारी निर्देशक कुलमान घिसिङ आफूलाई गैरकानुनी रुपमा पदमुक्त गरिएको दाबी गर्दै सर्वोच्च अदालतमा पुगेका छन्। उनका प्रतिनिधिले पेश गरेको निवेदन करिब ५ बजेतिर सर्वोच्च अदालतमा पेस भएको छ। सरकारको निर्णय बदर गरी आफूलाई कार्यकारी निर्देशकमा पुनस्थापना गर्नुपर्ने उनको माग छ। उनले निवेदनमा नेपाल सरकार, ऊर्जा मन्त्रालय, नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य लगायतलाई विपक्षी बनाएका छन्।

कुनै गल्ती, त्रुटी नगरेको अवस्थामा सरकारले बदनियतका साथ आफूलाई स्पष्टीकरण सोधेको र गलत ढंगले पदमुक्त गरेको भनी उनले रिट निवेदनमा जिकिर गरेका छन्।

‘हेल्लो सरकार’को वेबसाइट ह्याक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतको हेलो सरकारको वेबसाइट ह्याक भएको छ । ‘घुद्रा’ नामक रुसी ह्याकरको समूहले हेलो सरकारको वेबसाइट ह्याक गरी कब्जामा लिएको हो । ती समूहले आफूलाई फेन्सी बियर्स एपीटी २८’ अन्तर्गत चिनिन्न । साथै यो ह्याकर समूले रुसी सैन्य इन्टेलिजेन्ससँग नजिक भएर काम गरिरहेको दाबी गर्छ ।

ह्याकरले हेलो सरकार वेबसाइटमा राखिएका संवेदनशील डेटाहरू डार्कवेबमा बिक्रीमा राखिदिएका छन् । जसमा ह्यार समूहले एक हजारमा पुरै डेटाबेस र १३ सय डलरमा लाइभ सेल एक्सेस दिने उल्लेख गरेका छन् ।

ह्याकर समूहले भनेका छन्, ‘नेपाल सरकारले हामीसँग सम्पर्क गर्न अस्वीकार गरेका हामी यो सुरक्षा डेटा बिक्री गर्न बाध्य भएका छौँ।’ साथै उक्त पोस्टमा हेलो सरकारको सिस्टमको फाइल मेनेजरको स्क्रिनशट राखिदिएको छ ।

गाउँपालिका अध्यक्षसहित सात जनाविरुद्ध भ्रष्टाचारको मुद्दा

बझाङ्गको खप्तडछान्ना गाउँपालिका तत्कालीन अध्यक्ष र वडा नम्बर ४ का वडाध्यक्षसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। सिम्लका घट्ट सिंचाई कुलो निर्माणमा आर्थिक वर्ष २०७६-७७ मा रकम विनियोजन गरी आर्थिक वर्ष २०७७र७८ मा कुनै पनि काम नगरी १४ लाख आठ हजार ८१७ रुपियाँ भुक्तानी लिइ अनियमितता गरेको उजुरीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

अख्तियारले गाउँपालिकाका तत्कालीन अध्यक्ष वर्कबहादुर रोकाया, वडा नम्बर ४ का तत्कालीन वडा अध्यक्ष भीमबहादुर रोकायासहित सात जनाविरुद्ध मुद्दा दायर भएको हो।

उक्त मुद्दामा गाउँ कार्यपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत दिपककुमार रावल, इन्जिनियर सुरेन्द्रबहादुर खाती, तत्कालीन प्राविधिक असिष्टेण्ट इन्जिनियर लेखापाल मदनराज जोशी, सिंचाई कुलो योजनाको उपभोक्ता समितिको तत्कालीन अध्यक्ष शमशेर रोकायालाई विपक्षी बनाइएका छ ।

अख्तियारले उनीहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र दफा १२ बमोजिमको कसुरमा कैद र जरिवाना सजाय माग गरेको छ।

पत्रकारहरुसंग भारतीय राजदुतावासको अनुभव आदानप्रदान कार्यकम आयोजना

भारतीय राजदुतावासले बुधवार गएको माघ २३ देखि फागुन १ गते सम्म परिचयात्मक यात्रामा भारत भ्रमण गरेका नेपालका १२ जना आर्थिक क्षेत्रका पत्रकारहरुका लागि एक समारोहको आयोजना गर्दै उनीहरु संग अनुुभव आदनप्रदान गरेका छन । उक्त पत्रकारहरूले भारतका केहि महच्वपुर्ण संस्थाहरुको साथै रामोजी फिल्म सिटी ठाउहरुको भ्रमण गर्ने अवसर पाएका थिए । यसका अतिरिक्त उनीहरूले महाकुम्भको भ्रमण गर्नुका साथै संगममा डुब्कि समेत लगाए। पत्रकारहरूले भारत र नेपाल बीचको प्रमुख आर्थिक सहकार्य अवसरहरूमा जोड दिँदै आफ्ना अनुभवहरू कार्यक्रममा साझा गरेका थिए ।

कार्यक्रमको क्रममा गएको फागुन १० देखि ११ गते सम्म महाकुम्भको भ्रमण गरेका ६ जना नेपाली पत्रकारहरूको अर्को समूहले पनि आफ्ना आध्यात्मिक अनुभवहरू साझा गरेका थिए ।

कार्यक्रममा माघ २५ देखि २९ गते सम्म भारत मा आयोजित बिमस्टेक युवा शिखर सम्मेलनमा सहभागी भएका नेपालका ९ सदस्यीय युवा प्रतिनिधिमण्डलले पनि सहभागिता जनाएका थिए । कार्यक्रमको क्रममा प्रतिनिधिहरूले सीप विकास, उद्यमशीलता, आर्टिफिसियल इन्टेलीजेन्स, स्टार्टअप र संस्कृति लगायत विभिन्न विषयहरूमा सहभागी भई गरेका छलफलबाट आफ्ना अनुभव र अन्तर्दृष्टिहरू साझा गरे।

भारतीय राजदूत नवीन श्रीवास्तवले विभिन्न क्षेत्रहरूमा भारत र नेपाल बीचको सम्बन्धलाई सुदृढ पार्न र सहकार्यलाई बढावा दिन यस्ता भ्रमणहरूले पार्ने महत्त्वमाथि प्रकाश पार्नुभएका थियो तथा सहभागीहरु अन्तक्रिया गर्नुभएको थियो ।

ट्र्याक खुलको १४ वर्षपछि स्तरोन्नति

म्याग्दी । मङ्गला गाउँपालिका–२ मा बाबियाचौर–काफलचौर–सल्ल्यान–भर्जुला सडक स्तरोन्नति भएको छ। विसं २०६७ मा स्थानीयवासीले चन्दा सङ्कलन गरेर खोलेको यो सडक मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौरका वडा नं १ र २ का बस्ती जोडिन्छ। बेनी–दरवाङ सडकमा पर्ने भाइवाङ खोलाबाट सुरु हुने सडकको प्रवेशबिन्दुबाट काफलचौर हुँदै सल्ल्यान खण्डको सडक रु दुई करोड १५ लाखको लागतमा स्तरोन्नति भएको मङ्गला गाउँपालिका–२ का वडाध्यक्ष धनबहादुर खाती क्षेत्रीले बताए।

बाटो स्तरोन्नति गर्न ती वर्ष लागेको हो। सडकलाई वर्षाको पानीबाट जोगाउन निकासका निम्ति नाली, भूक्षय रोक्न टेवा र ग्यावियन पर्खाल निर्माण गरेर ५३८ मिटर ढलान गरिएको छ।

भाइवाङखोलाको प्रवेशबिन्दुबाट ११० मिटर सडक ६ मिटर फराकिलो बनाएर ढलान पनि गरिएको छ।

यसअघि भरजुला–थाइवाङ खण्ड गण्डकी प्रदेश सरकारअन्तर्गतको पूर्वाधार विकास कार्यालयमार्फत रु ३० लाख लागतमा स्तरोन्नति भएको थियो।

मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक

सरकारले मंगलबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय मंगलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलनमार्फत् २७ निर्णय सार्वजनिक गर्नुभएको हो ।

सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदमा हितेन्द्रदेव शाक्यरलाई नियुक्त गरेको छ। सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएर शाक्यलाई नियुक्ति गरेको हो।

बैठकका निर्णय सार्वजनिक गर्नुहुँदै सरकारका प्रवक्ता गुरुङले सरकारले सरकारले विश्व बैंकको वित्तीय सहयोगमा सञ्चालन हुन लागेको विद्युत वितरण प्रणाली स्तरोन्नति तथा सुदृढीकरण आयोजनाको लागि प्राप्त हुने ऋण सहायताको वित्तीय सम्झौता र आयोजना दस्तावेजलाई अन्तिम रूप दिन अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने र वार्ता गर्ने अख्तियारी प्रदान गर्ने निर्णय गरेको जानकारी दिनुभयो।

प्रवक्ता गुरुङका अनुसार सरकारले सहसचिव विन्देश्वरप्रसाद लेखकलाई नेपाली महावाणिज्यदूतावास, हङकङको महावाणिज्यदूत पदमा एक अवधिको लागि नियुक्त गरेको छ।

 

 

विचाराधीन विधेयकलाई यथाशीघ्र टुङ्गोमा पुर्‍याउने विषयमा सत्तापक्षीय दलको छलफल

सत्तापक्षीय दलका शीर्ष नेताको आजको बैठकमा सङ्घीय संसदमा विचारधीन विधेयकहरुलाई संसदीय प्रक्रियाबाट यथाशीघ्र टुङ्गोमा पुर्‍याउन पहल गर्ने विषयमा छलफल भएको छ।

प्रधानमन्त्री निवास बालुवाटरमा भएको बैठकमा विचारधीन विधेयकलाई चाँडै अघि बढाउने विषयमा छलफल भएको हो। बैठकमा भूमिसम्बन्धी अध्यादेशमा राजनीतिक सहमति जुटाउनेलगायत समसामायिक विषयमा छलफल भएको थियो।

बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष डा सिके राउत, जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राई, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठलगायत सहभागी हुनुहुन्थ्यो।

प्रधानमन्त्री ओलीलाई कांग्रेसको पूर्ण समर्थन छ- सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली कांग्रेसको पूर्ण समर्थन रहेको बताउनुभएको छ । मंगलवार प्रधानमन्त्री निवास बालुवाटारमा पूर्व उपप्रधानमन्त्री सुजता कोईरालाद्वारा लिखित पुस्तक म र मेरो सानोबुबा आत्मकथाको लोकार्पण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले आफू र प्रधानमन्त्री ओली जेलमासँगै बसेको त्यही बेलादेखिको साथी भएको बताउनुभयो । उहाँले आफूहरुबिच राजनीति फरक ठाउँमा रहे पनि मित्रवत भावना रहेको बताउनुभयो । सभापति देउवाले भन्नुभयो, ओलीजी र हाम्रो पार्टीको बिचमा सहमति भएको छ । उहाँ र म जेलमा सँगै बसेको हो । उहाँ त जेल भित्रको पनि जेलमा बस्नुभएको हो । हाम्रो राजनीति आफ्नो ठाउँमा छ । हामी जेलमेट भएको कारणले हामीसँगको सम्बन्ध पनि राम्रो छ । हामीबीचको सम्बन्ध राम्रो भइरहेको छ, अब पनि राम्रो सम्बन्ध भएर जानेमा दुई मत छैन । कांग्रेसको पूर्ण समर्थन छ ।

सभापति देउवाले स्व गिरिजाप्रसाद कोईराला निडर व्यक्ति रहेको बताउनुभयो ।