Page 150 – Nepalboli

तिनकुने तोडफोड तथा लुटपाट घटनामा संलग्नहरूको सूचना दिन प्रहरीको अनुरोध

काठमाडौंको तीनकुनेमा राजावादीहरुको अराजक प्रर्दशनको क्रममा तोडफोड, आगजनी र लुटपाटमा संलग्न व्यक्तिहरूको बारेमा सूचना दिन सर्वसाधारण नागरिकसँग नेपाल प्रहरीले अनुरोध गरेको छ।

नेपाल प्रहरीले आइतबार एक सूचना जारी गर्दै १५ चैतमा तीनकुने, कोटेश्वर, सिनामंगल, जडीबुटी लगायत ठाउँमा भएको तोडफोड, आगजनी, लुटपाटमा संलग्न व्यक्तिहरू बारेका प्रमाणहरू विशेष गरी फोटो, भिडियो लगायत विवरणहरू उपलब्ध गराउन अपिल गरेको हो।

प्रहरीले जारी गरेको सूचनामा भनिएको छ, ‘तीनकुने, कोटेश्वर, सिनामंगल, जडीबुटी लगायत विभिन्न क्षेत्रहरूमा निजी सम्पत्ति, प्रहरी कार्यालय, सञ्चारगृह, राजनीतिक दलका कार्यलय, व्यापारिक केन्द्र लगायत निजी तथा सरकारी सवारीसाधनहरूमा तोडफोड, आगजनी, लुटपाट एवं अन्य गैरकानुनी आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूका सम्बन्धमा अनुसन्धानको प्रमाण संकलनका लागि यहाँहरूसँग भएका तथ्यपरक सूचना (फोटो, भिडियो, संलग्न व्यक्तिको विवरण) उपलब्ध गरी अनुसन्धान सहयो गरिदिनु हुन अनुरोध छ।’

झापामा २० हजार हेक्टरमा चैते धानखेती

झापा । जिल्लामा २० हजार हेक्टर जमिनमा चैते धानखेती लगाइएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ । त्यसमध्ये आठ पालिकाको ४८ बिघा जमिनमा कृषि ज्ञान केन्द्रले नै आधुनिक प्रविधिको प्रयोग गरेर परीक्षणका लागि चैते धान रोपेको जनाएको छ । परम्परागत खेतीभन्दा मेसिनरीको प्रयोगले गरेको खेती सस्तो र उत्पादनसमेत बढी हुने कुरा किसानलाई प्रत्यक्ष जानकारी दिने उद्देश्यले कृषि यान्त्रिकीकरण प्रदर्शन कार्यक्रमअन्तर्गत मेसिनबाट चैते धान रोपाइँ (प्रविधि प्रदर्शन) गरेको केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिनुभयो ।

उहाँले यस वर्ष १२० हेक्टर जमिनमा आधुनिक कृषि यान्त्रिकीकरणको प्रयोग गरेर चैत धान रोपाइँ भएको बताउनुभयो । उहाँका अनुसार विगतमा ज्ञान केन्द्रले नमूना परीक्षणका लागि गरिएका सबै कृषि समूह र सहकारीले यस वर्ष पनि निरन्तर कृषि यान्त्रिकीकरणकै प्रयोग गरेर चैते धानखेती गरेका छन् ।

स्थानीय पालिकाहरूको सहयोगमा किसान समूहको छनोट गरी केन्द्रले विगतदेखि नै हर्दिनाथ–१ धान लगाउन प्रोत्साहन गर्दै आएको छ । उहाँले भन्नुभयो, “अन्य धानको तुलनामा राम्रो उत्पादन हुने हुँदा यही धानको बिउ रोप्न सिफारिस गर्ने गरेका छौँ ।” यो धानको बिउ राखेको दिनदेखि १२० दिनमा पाक्ने उहाँको भनाइ छ ।

यस वर्ष गौरीगञ्ज गाउँपालिका, गौरादह नगरपालिका, शिवसताक्षी नगरपालिका, कमल गाउँपालिका, बुद्धशान्ति गाउँपालिका, अर्जुनधारा नगरपालिका, भद्रपुर नगरपालिका, हल्दिबारी गाउँपालिकामा कृषक समूहअन्तर्गत कृषियन्त्र प्रयोग प्रदर्शन गरिएको छ । छनोटमा परेका कृषि समूहलाई केन्द्रले धानको बिउ, बिउ राख्ने ट्रे र प्राविधिकलगायतमा सहयोग गरेको जनाएको छ ।

 

सोमबार इदको सार्वजनिक बिदा

नेपाल सरकारले इस्लाम धर्मावलम्बीको पर्व ईद–उल फित्र (इद) को अवसरमा सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयका सहसचिव प्रवक्ता रामचन्द्र तिवारीले आज एक विज्ञप्ति सार्वजनिक गर्नुहुँदै नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको बताउनुभएको छ।

उहाँद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “चैत १८ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।”

बिक्री हुन थाल्यो चुत्रो र गुर्जो, किसानलाई सङ्कलन गर्न भ्याइनभ्याइ

पर्वत । महत्व नबुझेर अहिलेसम्म वनजङ्गलमा खेर गइरहेको चुत्रो र गुर्जोले बजार पाउन थालेको छ । चुत्रो र गुर्जो प्रशोधन गरेर औषधि निर्माण गर्ने उद्योग स्थापना भएपछि अहिलेसम्म वनजङ्गलमा खेर गइरहेको चुत्रो र गुर्जो सङ्कलन गर्न किसानलाई भ्याइनभ्याइ भएको हो ।

कुश्मा नगरपालिका–५ स्थित कालीगण्डकी किनारमा सञ्चालनमा आएको चिनियाँ कम्पनी छिफु बायोटेक्नोलोजी प्रालिले चुत्रोको जरा, डाँठ र गुर्जो प्रशोधन गर्न थालेको हो । रु आठ करोड लगानीमा साढे ४२ रोपनी जमिन भाडामा लिएर कम्पनी सञ्चालन गरिएको छ । यस कम्पनीमा तीन चिनियाँ र ३१ नेपाली कार्यरत छन् ।

कम्पनीले गुर्जो र चुत्रो सङ्कलन गरेर बिक्री गर्न ल्याउने सङ्कलकलाई चुत्रोका डाँठको प्रतिकिलो रु २५ र जरालाई प्रतिकिलो रु ४० तथा गुर्जोलाई प्रतिकिलोको रु २० दिन थालेको छ । खेतबारी तथा वनजङ्गलमा सदियौँदेखि उपयोगविहीन बनेको चुत्रो र गुर्जो बिक्री हुन थालेपछि अहिले गाउँगाउँका किसानलाई सङ्कलन गर्न भ्याइनभ्याइ छ ।

कम मेहनत र लगानीमा पर्याप्त आम्दानी गर्न सकिने भएपछि दैनिकजसो जङ्गलमा गएर चुत्रो सङ्कलन गर्नेहरुको सङ्ख्या ह्वात्तै बढेको मोदी गाउँपालिका–४ क्याङका टीका पुनले जानकारी दिए ।

वार्षिक ७३० मेट्रिक टन चुत्रो र गुर्जो सङ्कलन गर्ने लक्ष्य राखेको उद्योगले चार महिनामा २० टनभन्दा बढीको काम हुन नसकेको जनाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत उद्योग विभागमा दर्ता भएको यो कम्पनीले चुत्रो र गुर्जोलाई प्रशोधन गरी धुलो बनाएर चीन पठाउने गरेको छ ।

जिल्लाको जलजला गाउँपालिका वडा नं ६ शालिजाका युवा शेरबहादुर पुनले दुई सातामै एक हजार ५०० किलो चुत्रो र गुर्जो बिक्री गरेर रु ५५ हजार आम्दानी गरेको जानकारी दिए। घरभन्दा माथि रहको तारे सामुदायिक वनबाट उक्त मात्रामा सङ्कलन गरिएको हो ।

यस्तै फलेवास नगरपालिका–७ लिमीठानाका जगन्नाथ शर्माले बिक्री हुन थालेपछि चुत्रो र गुर्जो खोजी गर्न वनजङ्गल जानेहरुको सङ्ख्या बढेको बताए । उनले चुत्रो सहजै सङ्कलन गर्न सकिने भए पनि गुर्जो खोजी गर्न भने समय लाग्ने बताए । शर्माले यसको उपयोगसँगै खेतीसमेत विस्तार गर्नतर्फ ध्यान दिनुपर्ने बताए ।

औषधिजन्य वनस्पति चुत्रो र गुर्जो सङ्कलन तथा बिक्री भए पनि यसको दीर्घकालीन उपयोग र खेती विस्तारमा ध्यान नदिइएको भन्दै सरोकारवालाले विरोध जनाएका छन् । नागरिकको विरोध बढेपछि डिभिजन वन कार्यालय, जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समितिको संयुक्त टोलीले उद्योगको स्थलगत अनुगमन गरेको थियो ।

वन कार्यालयले अनुगमनपछि कम्पनीले आवश्यक कानुनी प्रक्रिया नपुर्याएको भन्दै पत्रचार नै गरी तत्काल सङ्कलन कार्य रोक्न आदेश दिएको भए पनि कम्पनीले अटेर गर्दै धमाधम प्रशोधन गरिहेको स्थानीयले बताएका छन् । डिभिजन वन अधिकृत झ्यामनारायण सापकोटाका अनुसार विदेशी कम्पनीले प्रारम्भिक वातवरणीय परीक्षण नगरिक नै परियोजना सञ्चालन गरिरहेको देखिएको थियो ।

डिभिजन वन कार्यालयले पत्राचार गरेर यो विषयमा आफ्नो सरोकार देखाएजस्तो गरेको भए पनि व्यक्तिको दर्ता श्रेस्ता कायम भएका नम्बरी आवादीमा रहेका वनबाट जडीबुटी सङ्कलन तथा ओसारपसारका लागि अनुमति दिन परिपत्र जारी गरिरहेको छ । कार्यालयले गण्डकी प्रदेश वन नियमावली विसं २०८१ को अनुसूची १६ मा कायम गुर्जो र चुत्रो सङ्कलन तथा ओसारपसार गर्नलाई अनुमति प्रदान गरिएको सापकोटाले बताए ।

डिभिजन वन अधिकृत सापकोटाले व्यक्तिगत वनबाट ल्याउने कुरालाई आफूहरूले रोक्न नमिल्ने बताए । कार्यालयका अनुसार पर्वतबाट यही पुसदेखि गुर्जोगानो १० हजार ५०० किलो र चुत्रो तीन हजार किलो मात्र सङ्कलन गरिएको छ ।

छिफु बायोटेक्नोलोजी प्रालिका व्यवस्थापक हरिकुमार श्रेष्ठले भने प्रारम्भिक वातवरणीय परीक्षण प्रतिवेदन स्वीकृत नभइसकेको तर अन्तिम प्रक्रियामा रहेको बताए । उद्योग परीक्षणकै क्रममा किसानले ठूलो परिमाणमा चुत्रो र गुर्जो सङ्कलन गरेर ल्याएपछि वन कार्यालयले रोकेको दाबी गरे ।

पैयुँ गाउँपालिकाले गत फागुन २७ मा चुत्रो र गुर्जोगानो सङ्कलन कार्य रोक्न सूचना नै जारी गरेको थियो । प्रमुख प्रशासकीय अधिकृत जीवन गैरेले गाउँपालिकाले अहिले पूर्ण रूपमा सङ्कलन कार्यमा रोक लगाएको बताए ।

डिभिजन वन कार्यालयले गैरकाष्ठ वन पैदावारअन्तर्गत पर्ने चुत्रो र गुर्जो पहाडी भेगमा सबैजसो ठाउँमा पाइने जनाएको छ । कम्पनीले पर्वत, म्याग्दी, बागलुङ, कास्की, लमजुङ, अर्घाखाँची, गुल्मी स्याङ्जालगायत जिल्लालाई केन्द्रित गरेर प्रशोधन उद्योग सञ्चालन गरेको बताएको छ।

पूर्वराजा शाहलाई सात लाख ९३ हजार जरिबाना

काठमाडौँ महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई सात लाख ९३ हजार जरिबाना तोकेको छ । काठमाडौँ–३२ तीनकुनेमा शुक्रबार पूर्व राजाको पक्षमा भएको प्रदर्शनका क्रममा सार्वजनिक स्थानमा फोहोर मैला गरेको, सार्वजनिक सम्पत्ति तोडफोड गरी क्षति गरेको, भौतिक संरचना भत्काएको, निजी सम्पत्तिमा हानी गरेको सहितका शीर्षकमा महानगरले पूर्वराजा शाहको नाममा शनिबार जरिबाना पत्र काटिएको हो ।

महानगरद्वारा शनिबार जारी जरिबानासम्बन्धी विभिन्न पत्रमा सो जरिवाना रकम तोकेको हो । हिजो (शुक्रबार) तीनकुनेमा भएको प्रदर्शनलाई लिएर महानगरले छुट्टाछुट्टै जरिबाना तिराउने निर्णय गरेको छ ।

 

 

 

 

राप्रपा हिंसात्मक गतिविधिको विपक्षमा छ- अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा हिंसात्मक गतिविधिको विपक्षमा रहेको बताउनुभएको छ।  शनिबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो।

उहाँले शान्तिपूर्ण ढंगले सभा भइरहेको मञ्चमा सुनियोजित रुपमा अश्रु ग्यास प्रहार भएको आरोप लगाउँदै यस्तो बताउनुभएको हो। उहाँले तीनकुने घटनाको छानबिन गर्न सरकारले निष्पक्ष छानविनका न्यायिक आयोग गठन गर्नुपर्ने बताउनुभयो।

उहाँले प्रदर्शनमा सहभागी पार्टीका नेता रविन्द्र मिश्र, धवल समशेर जबरा र अधिवक्ता स्वागत नेपाल लगायतलाई २४ घण्टाभित्र बिना शर्त रिहा गर्न माग गर्नुभयो। बिना शर्त रिहाइ नगरे राप्रपाले विरोधका कार्यक्रम गर्ने निर्णय गरेको उहाँको भनाइ छ।

राप्रपाले आन्दोलनका क्रममा निधन भएका सुरेश रजक र सविन महर्जनलाई सहिद घोषणा गर्न र उचित क्षतिपूर्ति दिन माग गर्ने निर्णय गरेकोसमेत उहाँले जानकारी गराउनुभएको छ।

 

राष्ट्रपति पौडेलद्वारा घोडे जात्रा अवलोकन

राष्ट्रपति रामचन्द्र पौडेलले घोडे जात्रा २०८१ का अवसरमा नेपाली सेनाद्वारा आज टुँडिखेलमा आयोजित समारोहको अवलोकन गरेका छन् । समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, उपप्रधानमन्त्री, मन्त्री, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधिलगायत उच्च पदस्थ अधिकारीहरूको सहभागिता रहेको थियो ।

त्यस अवसरमा राष्ट्रपति पौडेलले नेपाली सेनाद्वारा प्रदर्शन गरिएको अश्वकलाको अवलोकन गरे । समारोहमा घोडा दौड, घोडा जम्पलगायत विभिन्न रोचक कला प्रदर्शन गरिएका थिए । घोडाले गर्ने सामान ओसारपसार, यात्राको साधन, कृषि, शिकार, लडाइँ, उत्सव, खेलका झलक पनि कार्यक्रममा देखाइएका थिए । त्यस अवसरमा कुकुरबाट पनि विभिन्न कला प्रदर्शन गराइएका थिए । प्रदर्शनमा उत्कृष्ट हुनेलाई राष्ट्रपति पौडेलले पुरस्कार प्रदान गरे ।

प्रत्येक वर्ष चैत्र कृष्ण औँसी तिथिमा काठमाडौँ उपत्यकामा परम्परागत घोडे जात्रा पर्व विविध कार्यक्रमसहित मनाउने गरिन्छ ।किंवदन्तीअनुसार टुँडिखेलको पूर्व-दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले सहरका बालबालिकालाई खाने गरेकाले पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे पनि उसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्न सक्ने भय तिनमा रहिरह्यो । यसै कारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडे जात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो । साथै सहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ । आजकै दिन ललितपुरमा पनि एउटा कानो घोडा दौडाएर घोडे जात्रा मनाउने परम्परा रहेको जनाइएको छ ।

तीनकुने घटनाको जिम्मेवारी पूर्वराजाले लिनुपर्ने कांग्रेसको निष्कर्ष

शुक्रबार तीनकुनेमा भएको घटनाको सबै जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने सत्तारुढ दल नेपाली कांग्रेसले बताएको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा आज बसेको पदाधिकारी बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

साथै कांग्रेसले तीनकुने घटनाप्रति दुस्ख व्यक्त गरेको छ। पूर्वराजाले नै समिति बनाएको र उक्त समितिको आयोजनामा तीनकुनेमा दुई जनाको मृत्यु हुने गरी घटना भएकोले पूर्वराजाले नै घटनाको जिम्मेवारी लिनुपर्ने प्रवक्ता प्रकाशशरण महतले बताए।

अराजकता निम्त्याएर सत्ता कब्जा गर्ने मनसायले घटना भएको पाइएको पनि महतले बताए।

साथै नेपाली कांग्रेसले संविधान पक्षधर दलहरूसँग छलफल गर्ने भएको छ। बूढानीलकण्ठमा शनिबार बसेको पदाधिकारी बैठकले संविधान पक्षधर दलका नेतृत्वसँग छलफल गर्ने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले बताए। एक दुई दिनभित्रै छलफल हुने उनको भनाइ छ।

तीनकुने हिंसात्मक प्रदर्शनमा संलग्न ११३ जना पक्राउ

काठमाडौँको तीनकुनेमा शुक्रबार पूर्वराजाको समर्थनले गरेको हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा प्रहरीले हालसम्म ११३ जनालाई पक्राउ गरेको छ । पूर्व राजाको समर्थनमा भएको प्रदर्शनका क्रममा आक्रमण, तोडफोड, आगजनी र लुटपाटमा संलग्न रहेका र घटना घटाउन उक्साउनेसहित ११३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिनुभयो।

उहाँका अनुसार शुक्रबार एक सय पाँच जनालाई पक्राउ गरिएको थियो भने आज थप ८ जना पक्राउ परेका हुन्।प्रहरी परिसर काठमाडौँले २५, प्रहरी वृत्त बानेश्वरले २५, प्रहरी वृत्त गौशालाले नौ, प्रहरी प्रभाग कोटेश्वरले ४६, प्रभाग गोङ्गबुले तीन, प्रहरी वृत्त बालाजुले तीन, प्रहरी वृत्त सिंहदरबारले दुई जनालाई पक्राउ गरेको उहाँले जानकारी दिनुभयो ।

उक्त घटनामा दुई जनाको मृत्यु भएको जनाउँदै प्रहरी प्रवक्ता बोहराले नेपाल प्रहरीतर्फ ५५, सशस्त्र प्रहरीतर्फ २२ र प्रर्दशनकारीतर्फ ५१ जना घाइते भएका उल्लेख गर्नुभयो।तीमध्ये प्रहरी र प्रदर्शनकारीसहित २१ जनाको विभिन्न अस्पतालमा उपचार जारी रहेको काठमाडौँ प्रहरीले जनाएको छ ।

तोडफोड, आगजनी र लुटपाट

प्रवक्ता बोहराका अनुसार व्यक्तिगत र सरकारी कार्यालय गरी १८ वटामा तोडफोड भएको छ।विभिन्न १२ ठाउँमा आगजनी तथा एक ठाउँमा तोडफोड तथा लुटपाट भएको छ।

“प्रहरीतर्फ छ, सरकारी कार्यालयको चार, विवरण नखुलेको छ गाडी तथा विवरण नखुलेको स्कुटर र मोटरसाइकलसहित छ वटामा तोडफोड भएको छ।केही गाडी जलाइएको छ”, उहाँले भननुभयो।

 

प्रहरीहरूलाई आईजीपीको निर्देशन- अराजक गतिविधि नियन्त्रणमा निर्मम ढंगले लाग्नुस्

प्रहरी महानिरीक्षक दिपक थापाले शान्ति सुव्यवस्था कायम राख्नु र जीउ धनको सुरक्षा गर्नु नेपाल प्रहरीको प्रमुख जिम्मेवारी भएको बताएका छन्। उनले जस्तो सुकै विषम परिस्थितमा पनि उच्च मनोबलका साथ उपलब्ध संयन्त्रको अधिकतम उपयोग गरी प्रहरी परिचालन गर्नुपर्ने बताएका छन् । नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा समसामयिक विषयवस्तु लगायतका विषयमा शनिबार प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक थापाले उक्त कुरा बताएका हुन् ।

प्रहरी महानिरीक्षक थापाले आ–आफ्नो क्षेत्रमा कुनै पनि आपराधिक क्रियाकलापका घटनाहरू हुन नदिन प्रभावकारी सुरक्षा व्यवस्था मिलाउनु पर्ने उल्लेख गर्दै आपराधिक गतिविधिको सूचना संकलन तथा विश्लेषण गरी आवश्यक सुरक्षा रणनीति एवम् प्रभावकारी प्रहरी परिचालनमा कटिबद्ध हुन निर्देशन दिए। आ–आफ्नो जिम्मेवार क्षेत्रहरूमा सुरक्षा व्यवस्थापनको निम्ति आवश्यक सुरक्षा योजना निर्माणका साथै सरोकारवाला सबै पक्षहरूसँग समन्वय र सहकार्य गरी कार्यसम्पादन गर्नुपर्नेमा उनले जोड दिए ।

प्रहरी महानिरीक्षक थापाले सीमित स्रोतसाधनको अधिकतम प्रयोग गरी धैर्यताका साथ थप संवेदनशील भएर प्रहरी कर्मचारीहरूले आफ्नो काम कारवाही गर्नुपर्ने उल्लेख गर्दै आम नागरिकको समस्यालाई समयमै सम्बोधन गर्ने गरी प्रहरी परिचालित हुनुपर्नेमा जोड दिए। अवैध हातहतियार ओसार पसार, विष्फोटक पदार्थ ओसार पसार, तस्करी एवम् गुण्डागर्दी लगायतका अराजक गतिविधि नियन्त्रणमा प्रहरी निर्मम ढंगले अगाडी बढ्नुपर्ने उनले बताए ।

कार्यक्रममा प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायतको उपस्थितिको साथै काठमाडौं उपत्यका प्रहरी कार्यालय, सात वटै प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरू, प्रदेश प्रहरी तालिम केन्द्रहरू, नेपाल प्रहरी विशेष सुरक्षा गण तथा प्रदेश प्रहरी गणहरू एवम् जिल्ला प्रहरी परिसर तथा जिल्ला प्रहरी कार्यालयहरूका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।