Page 148 – Nepalboli

कतारमा अठार नेपालीलाई आममाफी

कतार सरकारले विभिन्न कसुरमा सजाय पाएका १८ नेपालीलाई आममाफी दिएको छ । कतारस्थित नेपाली दूतावासका अनुसार कतार सरकारले रमदान र इदको अवसरमा थुप्रै आप्रवासीलाई आममाफी दिएकोमा १८ जना नेपालीले यो अवसर प्राप्त गरेका हुन् ।

कतारमा हाल विभिन्न कसुरमा कैद सजाय भुक्तान गरिरहेका नेपालीको सङ्ख्या तीन सयको हारहारीमा रहेको बताइन्छ । दूतावासले आममाफीको निर्णयका लागि कतार सरकारप्रति आभार व्यक्त गरेको छ ।

नेपाल र कतार राज्यबिचको द्विपक्षीय सम्बन्धमा सौहार्दताको प्रतीकका रूपमा मानवीय आधारमा क्षमादानको यस प्रकारको कार्यलाई दूतावासले उच्च सम्मान गरेको छ ।

राजावादी अराजकताको कोपभाजनमा परेको जडीबुटी कम्पनी चाँडै बौरिने आशा

काठमाडौ । ‘सञ्चो’ भनेर धेरै नेपालीलाई थाहा छ तर उत्पादक संस्थाबारे कतिपयलाई थाहा नहुन सक्छ । कम्पनिले अन्य विविध उत्पादनहरू गरिरहे पनि ‘सञ्चो’ एक स्थापित ‘ब्रान्ड’ नै भइसकेको थियो । जसले उत्पादक कम्पनीबारे पनि आमनागरिकमा एउटा छाप छोड्दै थियो ।

यसका पछाडि वर्षौदेखि संस्था र सरकारका लगानी तथा मेहेनत छ । विडम्बना, त्यही संस्था गत शुक्रबारदेखि भग्नावशेषमा परिणत भएको छ । पूर्वराजा ज्ञानेन्द्र शाह पक्षधर प्रदर्शनकारीले आगजनी गर्दा कोटेश्वरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड खण्डहर बनेको हो ।

भवन खण्डहर छ । त्यहाँ रहेका उपकरण र अन्य सामग्री जलेर खरानी भएका छन् । ‘गुड म्यानुफ्याक्चरिङ प्राक्टिस’९जिएमपी० सुविधासहितका दुई वटा भवनमा क्षति पुग्नाका साथै औषधि उत्पादनमा प्रयोग हुने कच्चापदार्थ, उपकरण, फर्निचर, कागजातल, प्याकेजिङलगायत सामग्री जलेर खरानी भएका छन् । प्रारम्भिक विश्लेषणअनुसार आगजनीबाट रु २८ करोड बराबरको क्षति हुन पुगेको छ ।

हाल त्यही खण्डहर भवनमा रहेका भग्नावशेष र खरानी पन्छाउने काम जारी छ । त्यो दिन सम्झिँदा कम्पनीकी महाप्रबन्धक सङ्गीता यादवको मन भक्कानिन्छ । जनमानसमा ‘सञ्चो’उत्पादन गर्ने संस्थाका रूपमा चिनिएको यस कम्पनीलाई आफ्नै आँखा अगाडि खरानी भएको देख्दा उहाँको मन रोएको छ । महाप्रबन्धक यादव भन्नुहुन्छ, “मैले आफैँले त्यो नयाँ मेसिन राखेको थिएँ । अब यो लेभलसम्म आयो भनेर कति खुसी थियौँ तर आँखा अगाडि नै त्यो सबै संरचना जलेको देख्दा आँखाबाट आँसु नै आयो । मन थाम्न सकिँन । यस्तो हुन पुग्यो ।”

जिएमपीअनुसार सञ्चालन गरिएको भवनलगायत स्वचालित उपकरणहरू जलेर ध्वस्त हुँदा उत्पादन ठप्प छ । यद्यपि चाँडै नै कम्पनी पुरानै अवस्थामा फर्किने आशामा रहेको महाप्रबन्धक यादवको विश्वास छ । उहाँले भन्नुभयो, “सबै जलेर खरानीमा परिणत भएको छ । कम्पनी फेरि सुरुआत गर्नु त पर्छ तर सुरुआती चरणमा म्यानुअल९हातबाट० फिलिङमै जानुपर्ने भयो । कम्पनी विविध चुनौतीका बीच एक लेभलमा अगाडि बढिरहेको थियो, शाखा पनि विस्तार गरिसकेका थियौँ । हामी सबै कर्मचारी उत्साहित थियौँ तर हुलदङ्गाको चपेटामा परेर सबै गुम्यो । अब सरकारले यसलाई गम्भीर भएर सोचिदिनुपर्छ ।”

पहिलाकै अवस्थामा कम्पनीलाई ल्याउन कठिन भए पनि प्रयास र समन्वय भइरहेको छ । कम्पनीले देशभरिमा रहेका शाखा कार्यालयबाट उत्पादन सुरु गर्ने लक्ष्य राखेको छ । “यो संस्था अप्रिय दुर्घटनाको सिकार हुन पुग्यो । सातवटै प्रदेशमा शाखा राख्ने भनेर विभिन्न ठाउँमा काम भइसकेको छ । लुम्बिनी प्रदेशमा मात्र जान बाँकी थियो । जाजरकोटमा पनि हालैमात्र शाखा विस्तार गरेका थियौँ । गोरखामा पनि सुरु गर्ने तयारी थियो । अब जिल्लामा रहेका शाखाबाट उत्पादन गर्ने कोशिस गर्छौं तर जति माग थियो त्यसलाई भने धान्न सकिँदैन”, महाप्रबन्धक यादवले भन्नुभयो ।

उहाँका अनुसार अस्थायी संरचना तयार गरेर भएपनि उत्पादन सुरु गर्ने र यसका लागि सम्बन्धित निकायको ध्यानाकर्षण हुनुपर्छ । यादवले भन्नुभयो, “छानविन आफ्नो ठाउँमा छ । आफ्नो तर्फबाट सम्बन्धित निकायसँग पहल गरिरहेका छौँ । व्यवसाय गर्ने संस्था हो । आफैँ कमाउने आफैँ खाने संस्था हो । अर्थतन्त्रमा यसको पनि योगदान हुन्छ । त्यसैले उत्पादन रोकिनुहुन्न । आशा छ हामी चाँडै बौरिने छौँ । सञ्चोको उत्पादन पुनः हुनुपर्छ भनेर लागिरहेका छौँ, यसमा सबैबाट सहयोग पाउने छौँ ।”

विसं २०३८ मा स्थापित सरकारको स्वामित्व भएको यो कम्पनीले विभिन्न औषधियुक्त एवं सुगन्धित जडीबुटीहरूको सङ्कलन र प्रशोधन गर्दै आएको छ । कम्पनीले सञ्चो, भिक्स, हिमालय मसाज तेल, सञ्चो जटा केश तेललगायत उत्पादन गर्दै आएको छ ।

गणतन्त्रको विकल्प छैनः महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले संसदमा प्रधानमन्त्रीले सम्बोधन गर्ने क्रममा भएको विरोध संसदीय मर्यादाविपरीत भएको बताउनुभएको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा उहाँले यस विषयमा प्रतिपक्षी सांसदलाई जिम्मेवार बन्न आग्रह गर्नुभयो । “हाम्रो संसदीय प्रणालीमा संसद् सञ्चालनको आफ्नै परम्परा, मर्यादा र विधिहरु छन्, उक्त विधि बमोजिम देशको प्रधानमन्त्री बोल्दै गर्दा बिचमा उभिने र प्रश्न गर्ने कुरा तथा प्रधानमन्त्री बोलिसकेपछि सवालजवाफ गर्ने कुरा संसदको कुनै नियमावलीले व्यक्त गर्दैन, त्यसैले आज जे भएको छ, त्यो गलत भएको छ”, उहाँले भन्नुभयो ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनपछि सांसद ज्ञानेन्द्रबहादुर शाहीले आपत्ति जनाउँदै प्रश्न उठाउनुभएको थियो । उक्त विषय संसदीय मर्यादाविपरीत भएको महामन्त्री शर्माको भनाइ थियो । उहाँले गत शुक्रबार तीनकुनेमा प्रदर्शनका क्रममा भएको घटनाको निन्दा गर्दै उक्त घटनाका सम्बन्धमा सम्पूर्ण राजनीतिक दलले दुःख व्यक्त गर्दा पूर्वराजाले कुनै चासो नदेखाएको बताउनुभयो ।

महामन्त्री शर्माले भन्नुभयो, “सशस्त्र आन्दोलन देशमा हुँदै गर्दा स्वभाविक रुपमा हिंसाका घटना हुन्छन्, नेपाली कांग्रेसले इतिहासको कुनै कालखण्डमा हिंसात्मक सङ्घर्षको नेतृत्व गरेको थियो । उक्त विषयमा विपी कोइरालाले अदालतमा बयान दिने क्रममा म प्रत्यक्ष रुपमा सहभागी नभए पछि जिम्मेवारी लिन्छु भन्नुभएको थियो, अहिले तीनकुनेको घटनामा पूर्वराजाले दुःख समेत व्यक्त गरेनन् ।”

महामन्त्री शर्माले राजाले पटक–पटक संविधान र लोकतन्त्रमाथि धावा बोलेपछि नेपाली जनताले गणतन्त्रको विगुल फुकेको बताउनुभयो । “नागरिकमा कैयौँ असन्तुष्टि होलान्, तर त्यसको विकल्प समाधान हो राजा होइन”, उहाँले भन्नुभयो । उहाँले गणतन्त्रको विकल्प खोज्ने होइन यसलाई सुधार गरेर अगाडि बढ्ने हो भन्नुभयो ।

 

 

 

 

 

 

 

‘पूर्व राजाले माला लगाएर जनताको घर जलाउन मान्छे पठाए’

नेकपा (एमाले) का सांसद योगेशकुमार भट्टराईले पूर्वराजा ज्ञानेन्द्र शाहले निर्मल निवासबाट केही व्यक्तिलाई माला लगाएर जनताको घर जलाउन पठाएको आरोप लगाउनुभएको छ । सोमवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद भट्टराईले शाहले राज्यसँग गरेको सम्झौता भङ्ग गरेको भन्दै उहाँलाई दिएको सेवा सुविधा कटौती गर्नेबारे सोच्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘पूर्वराजा शाहलाई सरकार पूर्व राष्ट्राध्यक्षको हिसाबले यो राज्यले सेवा सम्मान दिन्छ भनेर दिएको हो । आज त्यो सम्झौता पनि ज्ञानेन्द्र शाहले भङ्ग गर्नुभयो । आज म यो संसदमार्फत प्रश्न गर्न चाहन्छु, सम्झौता भङ्ग भएपछि उहाँलाई दिएको सेवा सुविधा कायम हुन्छ कि हुँदैन रु म सरकरालाई सोध्न चाहन्छु । तीनकुनेमा ताण्डव नृत्य नचाउन पूर्व राजाले पठाएको उहाँले टिप्पणी गर्नुभयो ।

“म फेरि भन्छु, निर्मल निवासबाट लफङ्गाहरूलाई माला लगाएर जनताको घर जलाउन पठाउनुभयो । तपाईको सम्झौता भङ्ग भयो । त्यसैले तपाईलाई दिइएको सेवासुविधा के हुन्छ रु सरकारले जवाफ दिनुपर्छ” उहाँले भन्नुभयो । उहाँले पृथ्वीनारायण शाह र बहादुर शाह बाहेकका राजाले राष्ट्र जोगाउने काम गर्न नसकेको बताउनुभयो ।

‘जनताको अवस्था परिवर्तन गर्ने गरी सरकारले काम गर्नुपर्छ’

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद रेखा शर्माले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नका लागि जनताले अनुभूत गर्ने गरी सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभएको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा आफ्नो दलका तर्फबाट धारणा राख्दै उहाँले राजनीतिक व्यवस्थाको परिवर्तनसँगै जनताको अवस्थाको परिवर्तन गराउने गरी सरकारले काम गर्नुपर्ने बताउनुभयो ।

उहाँले यही चैत १५ गते काठमाडौँको तीनकुनेमा पूर्वराजा पक्षधरले देखाएको व्यवहार पूर्णत गैरकानुनी र असंवैधानिक रहेको उल्लेख गर्नुभयो । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको त्याग, बलिदानबाट प्राप्त भएको उल्लेख गर्दै पूर्वसञ्चारमन्त्रीसमेत रहनुभएका नेत्री शर्माले संविधान र कानुनविपरीत गतिविधि गर्ने छुट कोही कसैलाई नभएको बताउनुभयो ।

तीनकुने घटनामा सरकारी संस्था जलाइएको, दुई जनाको ज्यान गएको, दर्जनौँ नागरिक घाइते भएको तथा सार्वजनिक सङ्घ संस्थामाथि तोडफोड भएकामा आपत्ति प्रकट गर्दै उहाँले पूर्वसावधान अपनाउने काममा सरकारले कमजोरी गरेको दाबी गर्नुभयो ।

लोकतन्त्रलाई थप समृद्ध बनाउनका लागि सबैको साथ र सहयोग जरुरी उल्लेख गर्दै उहाँले जनतालाई सेवा सुविधा प्रदान गरी व्यवस्थालाई सबल र सक्षम बनाउनुपर्ने धारणा राख्नुभयो । संविधान, व्यवस्थालाई बलियो बनाउनका लागि सरकारले सुशासनको प्रत्याभूति दिलाउनुपर्ने, गैरकानुनी गतिविधि नियन्त्रण गर्नुपर्ने बताउनुभयो ।

आफ्नो पार्टीसहित समाजवादी मोर्चामा आवद्ध दलहरूको तर्फबाट आयोजित जनप्रदर्शन सङ्घीय लोकतान्त्रिक गणतन्त्र र संविधानका पक्षमा मत जाहेर गरेको सांसद शर्माको भनाइ छ । सुशासनको पक्षमा स्पष्ट धारणा राख्दै आफ्नो पार्टीले सोही अनुसारको गतिविधि गर्न सरकारलाई खबरदारी गर्ने उल्लेख गर्दै सङ्घीय संसदमा भइरहेको अवरोध तत्कालका लागि स्थगित गरिएको जानकारी दिनुभयो ।

उहाँले सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकलाई हटाएर अन्याय गरेको बताउनुभयो । सांसद शर्माले तीनकुने घटानामा संलग्न जुनसुकै प्रकारका दोषीलाई कारबाहीको दायरामा ल्याउन उहाँले पटक–पटक माग गर्नुभयो ।

 

तीनकुने क्षतिको जिम्मेवार पूर्वराजा हुन्- उपमहासचिव ज्ञवाली

नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले राजतन्त्र फर्काउने बहानामा उदण्ड मच्चाउने जोकोही कारबाहीको दायरामा आउने बताउनुभएको छ । मदन भण्डारी फाउन्डेसन पाँचथरले सोमबार फिदिममा आयोजना गरेको पत्रकार सम्मेलनमा ज्ञवालीले आन्दोलनको नाममा व्यक्तिहत्या, आगजनी र तोडफोडको नेतृत्व गरेका दुर्गा प्रसाई चाँडै पक्राउ पर्ने स्पष्ट पार्नुभयो ।

पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको सन्दर्भ पारेर फागुन ७ गते दिएको अभिव्यक्तिका कारण उनका समर्थक सल्बलाएका हुन, तसर्थ यो घट्नाको मुख्य जिम्मेवार पनि उनै हुन’ ज्ञवालीले भन्नुभयो । राजा फर्काउने नाममा गरिएको आन्दोलनलाई कुनै पनि कोणबाट राजनीतिक भन्न नसकिने बताउँदै ज्ञवालीले राजसंस्था फर्काउँछौं भन्नेहरूको असली अनुहार उनीहरूको व्यवहारबाट प्रष्ट देखिएको बताउनुभयो ।

‘कोटेश्वरमा पत्रकारलाई जिउँदै जलाउनु, भाटभटेनीमा लुटपाट गर्नु, कान्तिपुर र अन्नपूर्ण पोष्टसहितका सञ्चार गृहमा हुलहुज्जत गर्नु र प्रहरीको बन्दुक खोसिरहेको दृश्य कैदगर्दा पत्रकारका खुट्टा भॉच्नु आदि क्रियाकलापले राजावादीको असली व्यवहार छर्लङ्गै भएको छ’ उहाँले भन्नुभयो ।

आन्दोलनका नाममा उदण्डता मच्चाउने भिडको नेतृत्व गरिरहेका दुर्गा प्रसाई चाँडै पक्राउ पर्ने र घट्नामा दोशी ठहरिएकालाई कानुनी कारबाही हुनेमा आफू विश्वस्त रहेको उहाँको भनाइ छ ।

‘दुर्गा प्रसाई जुन दल र समूहमा जान्छन, उनले त्यही दल र समूहलाई भजाएर व्यक्तिगत फाइदा लुट्ने र भाइरल हुने काम मात्र काम गर्छन, कुनै बेला उनी एमालेका केन्द्रीय सदस्य थिए । उनले एमालेमा प्रवेश पाउनु पार्टीका लागि दुर्भाग्य थियो’ ज्ञवालीले भन्नुभयो ।

 

 

 

प्रधानमन्त्रीसँग पत्रकार रजकका परिवारको भेट

प्रधानमन्त्री केपी शर्मा ओली यही चैत १५ गतेको तीनकुने–घटनामा मारिएका पत्रकार सुरेश रजकका परिवारलाई सोमबार भेट्नुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले अराजक जत्थाको आगलागीका कारण अकालमा ज्यान गुमाउन पुगेका पत्रकार रजकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारमा समवेदना व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले उक्त दुःखद् घटनाको छानबिन गरी दोषीमाथि कडा कारबाही गरिने प्रक्रिया सुरु भएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले मृतकको दाहसंस्कार गर्न परिवारजनलाई आग्रह गर्दै सुरेशकी श्रीमती सुजन रजकलाई रोजगारीलगायत आवश्यक पर्ने अन्य व्यवस्थाका लागि सरकारले ध्यान दिने बताउनुभयो । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेको समन्वयमा भएको भेटमा सुरेशका दाइहरू रमेश रजक र दिनेश रजकलगायत सहभागी हुनुहुन्थ्यो ।

तीनकुने घटनाको मुख्य जिम्मेवार व्यक्ति पूर्वराजा ज्ञानेन्द्र शाह हुन- प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले गएको १५ गते भएको घटनाबारे संसदमा जानकारी दिनुहुँदै उहाँले यी सबै घटनाको मुल जिम्मेवार पुर्वराजा ज्ञानेन्द्र शाह रहेको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले त्यसको सम्पुर्ण जिम्मेवारी उहाँले लिनुपर्ने समेत बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘आपराधिक घटनमा संलग्न कसैले पनि उन्मुक्ति पाउँदैन, पाउनु हुन्न । यसमा पूर्व राजा शाहले पनि उन्मुक्ति पाउनु हुन्न । फेरि राजा बन्छु, व्यवस्था मास्छु भन्नेले यी सबै शृङ्खलाबद्ध घटनामा आफ्नो धारणा सार्वजनिक गर्नुपर्दैन ? मानिसलाई मर्नलाई दुरुत्साहन गर्ने जनकमाण्डर, इतिहासले कुनामा फ्याँकेका व्यक्ति अभियानका संयोजक, धनजनको क्षति र लुटापाट– शासक बन्ने मनसुवा बोक्ने व्यक्ति सिरकभित्र चुपचाप कसरी हुन सक्छ ?’’

प्रधानमन्त्री ओलीले तीनकुले घटना सबै निन्दनीय र खेदजनक कार्य भएको बताउनुभएको छ । उहाँले यस्ता घटनामा संलग्नहरुमाथि जोसुकै होउन्, जुनसुकै कभरमा किन नहोउन्, कडा प्रशासनिक कारबाही हुने जानकारी दिनुभयो । घटनाको विस्तृत विवरण उपयुक्त समयमा गृहमन्त्रीले सदनमा राख्नु हुने जानकारी पनि उहाँले दिनुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो, ‘‘घटनामा संलग्नहरुमाथि छानबीन सुरु भएको छ । यसका योजनाकार को हुन् र को को संलग्न छन् ? सरकारले यस सन्दर्भमा छानबिन र अनुसन्धान गरिरहेको छ । विस्तृत प्रतिवेदनपछि आउने मैले बताइसकेको छुु ।’’

पूर्वराजा ज्ञानेन्द्र शाहले संविधानसभाको ऐतिहासिक निर्णयपछि भएको सम्झौताको उल्लङ्घन गर्नुभएको समेत प्रधानमन्त्री ओलीले बताउनुभएको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

त्यस्तै, केही दिनयता संसद अवरुद्ध छ । सुशासन र त्यसमा कम्प्रमाइज भएका विषयमा प्रश्न उठ्नु स्वभाविक हो । सरकारका कामकारबाहीप्रति प्रश्न उठाउने वा समर्थन गर्ने स्थल नै यस सम्मानित सदन रहेको प्रधानमन्त्रले बताउनुभयो ।

वैदेशिक रोजगारीमा जानेको मेडिकलमा ३४ परीक्षण, तोकियो प्याकेजको मूल्य

वैदेशिक रोजगारीमा जानेका हकमा ३४ प्रकारका परीक्षण अनिवार्य गर्दै प्याकेजको मूल्य तोकिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको ८ चैतको निर्णयले उक्त प्याकेजको मूल्य तोकेको हो । वैदेशिक रोजगारीमा जाने कामको स्वास्थ्य परीक्षण कार्यको सुधारका लागि गठित अध्ययन कार्यदलको प्रतिवेदन र वैदेशिक रोजगार नियमावली बमोजिम विशेषज्ञ समितिको २ माघ २०८१ को सिफारिसका आधारमा नयाँ शुल्क तोकिएको मन्त्रालयले जनाएको छ ।

यसअघि मलेसिया र अन्य देशका हकमा मेडिकल शुल्क छुट्टाछुट्टै थियो । अब सबै प्रकारका स्वास्थ्य परीक्षण शुल्क प्याकेजमा तोक्ने निर्णय गरिएको हो । ‘स्वास्थ्य परीक्षण सेवा गुणस्तरीय बनाउन सूचीमा उल्लेख ३४ प्रकारका परीक्षण गर्नुपर्ने व्यवस्था गरिएको छ,’ मन्त्रालयको निर्णयमा छ, ‘स्वास्थ्य परीक्षण सेवा दस्तुर निर्धारण गर्दा नेपाल सरकारले तोकेको शुल्कलाई आधार मानी वैदेशिक रोजगारीमा जाने कामदारलाई सहुलियत हुने गरी सबै परीक्षणको प्याकेजमा ९ हजार ५ सय रुपैयाँ कायम गरिएको छ ।’

यसको कार्यान्वयनका लागि सूचीकृत स्वास्थ्य संस्थाले आवश्यक पूर्वाधार सूचना प्रकाशन भएको मितिले दुई महिनाभित्र तयार गरी मन्त्रालयबाट निरीक्षण समेत गराउनुपर्ने भएको छ ।कार्यविधि बमोजिम पूर्वाधार तयार नगर्ने स्वास्थ्य परीक्षण संस्थाको सूचीकरण तथा नवीकरण खारेज हुने भएको छ ।

स्वास्थ्य परीक्षण कार्यलाई विद्युतीय प्रणालीमा लैजाने गरी आवश्यक तयारी गर्न विज्ञ समिति गठन गरी एक महिनाभित्र प्रतिवेदन तयार पार्ने व्यवस्था मिलाइको समेत मन्त्रालयको भनाइ छ । अब सूचनामा तोकिए बमोजिमका परीक्षण सम्पन्न गरी आवश्यक कागजात वैदेशिक रोजगार विभागमा अपलोड गरेपछि मात्र वैदेशिक रोजगारीमा जाने कामदारको अन्तिम स्वीकृति आउने भएको छ ।

यसका साथै मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारलाई स्वास्थ्य सचेतना वृद्धि गर्ने गरी पूर्वप्रस्थान तालिमको पाठ्यक्रममा स्वास्थ्य सम्बन्धी थप विषय समावेश गर्न वैदेशिक रोजगार बोर्डलाई पत्राचार गरिएको समेत जानकारी दिएको छ ।

 

 

 

पाटन सङ्ग्रहालयको भण्दाक्यबमा मनाइयो विश्व नेवाः दिवस

नेवाः गुथि न्यूयोर्क र सम्पदा संरक्षण महाअभियानले सोमबार पाटन सङ्ग्रहालयको भण्दाक्यबमा विश्व नेवाः दिवस मनाइएको छ । न्यूयोर्कमा बसी नेपालको मूर्त अमूर्त संस्कृति सम्पदा संरक्षण गर्दै आएको नेवाः गुथि न्यूयोर्कले नेपालबाट चोरी भई न्यूयोर्क पुगेका २१ वटा मूर्ति र पौभाहरू पुनः नेपाल ल्याइएको छ ।

उक्त ऐतिहासिक पुरातात्विक सम्पदाहरू कानुनी, प्रशासनिक र अन्य प्रक्रिया पूरा गरी नेपाल ल्याउनका लागि आर्थिक सहयोग ललितपुरको सम्पदा भएमा ललितपुर महानगरपालिका र काठमाडौँको भएमा काठमाडौँ महानगरपालिकाले बेहोर्ने ललितपुरका प्रमुख चिरिबाबु महर्जन र काठमाडौँका उपप्रमुख सुनिता डङ्गोलले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेपाल भित्रिएका उक्त सम्पदाहरूलाई जुन स्थानबाट हराइएको हो त्यहाँ नै आवश्यक व्यवस्था गरी राखिने उपप्रमुख डङ्गोल र प्रमुख महर्जनले जानकारी दिनुभयो ।

सम्पदा संरक्षण महाअभियानमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने टोली, सञ्चार तथा सञ्चारकर्मीहरू, नेपालभाषाका सङ्घसंस्थालाई नेवाः गुथि न्यूयोर्कका अध्यक्ष विजयमान सिंले कदरपत्र प्रदान गर्नुभयो ।

यसैगरी, रातो मछिन्द्रनाथ जात्रासँग सम्बन्धित रथ बनाउनेदेखि जात्रा सम्पन्न हुन अवस्थासम्म आवश्यक काम गर्ने सम्पूर्ण गुठि तथा खलःलाई पनि सम्मान तथा कदर पत्र प्रदान गरियो ।