Page 146 – Nepalboli

बिपी राजमार्ग चार खण्डमा पुनर्निर्माण हुने

बनेपा । असोज दोस्रो साता रोसीखोलामा आएको बाढीका कारण पूर्ण रूपमा क्षति भएको बिपी राजमार्गको कटुन्जेदेखि बर्खेखोलासम्मको सडकलाई चार खण्डमा विभाजन गरेर पुनर्निर्माण गरिने भएको छ । बाढीबाट क्षति भएको सडक नेपाल सरकारको लागतमा तीन खण्डको पुनर्निर्माण गरिने भएको छ भने एक खण्ड पुनर्निर्माणका लागि जापान सरकारलाई अनुरोध गरिएको छ । डिभिजन सडक भक्तपुरले काभ्रेपलाञ्चोकतर्फको तीन खण्डमध्ये दुई खण्ड पुनर्निर्माणका लागि बोलपत्र आह्वान गरेको हो । सिन्धुलीतर्फको एक खण्डका लागि पनि सूचना प्रकाशित भएको छ ।

डिभिजन प्रमुख सिनियर डिभिजनल इन्जिनियर (सिडिई) सुमन योगेशले काभ्रेपलाञ्चोकतर्फ भकुन्डेबेँसीदेखि चार सय बेँसीसम्मको करिब ११ किलोमिटर सडक र डालाबेँसीदेखि चार सय बेँसीसम्मको ८.५ किलोमिटर सडक पुनर्निर्माणका लागि बोलपत्र आह्वान भइसकेको बताउनुभयो । उहाँले सिन्धुलीतर्फ बर्खेखोलादेखि नेपालथोकसम्मको चार किलोमिटर सडकखण्ड पुनर्निर्माणका लागि बोलपत्रको सूचना प्रकाशित भइसकेको जनाउनुभयो ।

“क्षतिग्रस्त बिपी राजमार्ग पुनर्निर्माणका लागि सरकारबाट आठ अर्ब ५० करोड रुपियाँ बजेट सुनिश्चितता प्राप्त भएको छ, त्यसबाट काभ्रेपलाञ्चोक जिल्लातर्फ तीन खण्डका लागि सात अर्ब ५० करोड र सिन्धुली खण्डका लागि एक अर्ब रुपियाँ बजेट सुनिश्चितता आएको छ,” सिडिई योगेशले भन्नुभयो । राजमार्गको अलि बढी मोड र अप्ठ्यारो रहेको बर्खेखोलादेखि डालाबेँसीसम्मको ५.५ किलोमिटर सडक पुनर्निर्माणका लागि भने जापान सरकारको अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) सँग छलफल भएको र जाइकाले स्थलगत अध्ययन गर्न लागेको र उक्त सडकखण्ड पुनर्निर्माणका लागि जापान सरकार लगभग तयार देखिएको उहाँले बताउनुभयो ।

बर्खेखोलादेखि डालाबेँसी सडकखण्डमा साना टनेल बनाउने, भायाडक्ट (अग्ला पुल) बनाउनेखालका नयाँ काम हुन सक्ने भएकाले जाइकासँग छलफल चलिरहेको छ । “अहिलेको अवस्था हेर्दा उनीहरूले गर्नेजस्तो देखिएकाले हामीले उक्त खण्डको बोलपत्र निकालेका छैनौँ,” सिडिई योगेशले थप्नुभयो । उहाँले उक्त खण्डमा रहेका सडकका मोडलाई सिधा बनाउनका लागि पाँच सय मिटरका छोटा टनेल (सुरुङमार्ग) बनाउन सकिने उल्लेख गर्नुभयो ।

उहाँले सडक पुनर्निर्माणका लागि सूचना प्रकाशित गरिएका सडक खण्डको जेठ पहिलो सातासम्म सम्झौता गर्ने लक्ष्य रहेको बताउनुभयो । क्षतिग्रस्त बिपी राजमार्ग पुनर्निर्माण गर्दा साबिकको सडक ट्र्याकबाटै सडक पुनर्निर्माण गरिने डिभिजन सडकले जनाएको छ ।

“बिपी राजमार्ग पुनर्निर्माण गर्दा इन्टरमिडियट लेनबाट कम्तीमा दुई वटा गाडी सहज रूपमा गुड्ने गरी सात मिटर चौडाइको कालोपत्रे भएको र अर्को रोसीखोलामा बाढी आउँदा बाढीले खोल्न सक्ने नदीको सतहभन्दा तलबाट आरसिसी पर्खाल लगाएर सडक निर्माण गरिने छ,” सिडिई योगेशले भन्नुभयो । उहाँले भकुन्डेदेखि नेपालथोकसम्मको पुनर्निर्माण हुने सडक इन्टरमिडियट लेनबाट डबल लेन (दुई लेन) सडक बनाउने गरी ठेक्का आह्वान भएको बताउनुभयो । बिपी राजमार्गमा हाल भएको सवारी चापले समेत दुई लेन सडकको आवश्यकता महसुस भएको जनाउँदै डिभिजन सडक भक्तपुरले निकट भविष्यमा धुलिखेलदेखि भकुन्डेसम्मको साथै बिपी राजमार्गमा दुई लेन सडक आवश्यक देखिएको जनाएको छ । कार्यालयले पहिलो चरणमा भकुन्डेदेखि नेपालथोकसम्मको २८ किलोमिटर सडक दुई लेनको बनाउने छ । खुर्कोटदेखि सिन्धुलीको चियाबासीसम्मको सडकलाई छोटो बनाउन सुरुङमार्ग बनाउने विषयमा समेत जाइकाले अध्ययन गर्दै आएको छ ।

बिपी राजमार्गमा आगामी मनसुनको समयमा यातायात सञ्चालन गर्नका लागि डिभिजन सडक भक्तपुरले अस्थायी सडकको उचाइ बढाउने काम गरेको छ । कार्यालयका सिडिई योगेशले डिभिजन सडक भक्तपुर, काठमाडौँलगायतका डिभिजनबाट एक्साभेटर, रोलर, लोडर, टिप्परलगायतका दैनिक ३७ वटा उपकरण परिचालन गरेर अस्थायी सडक मर्मत भइरहेको बताउनुभयो । “बाढीले क्षति गरेको राजमार्गमा वर्षायाममा सवारी सञ्चालन गर्न खोलाको बहाव परिवर्तनका साथै खोलामा रहेको निर्माणसामग्री प्रयोग गरेर सडकलाई तीनदेखि सात मिटरसम्म अग्लो बनाउने काम भइरहेको छ,” सिडिई सुमन योगेशले भन्नुभयो ।

उहाँले वैशाख मसान्तभित्र बाढीले क्षति गरेको आठ किलोमिटर अस्थायी सडकको उचाइ बढाउनेलगायतको काम सम्पन्न हुने बताउनुभयो । बाढीले क्षति पु¥याउन सक्ने र अप्ठ्यारो स्थानमा तारजाली राख्ने कामसमेत भइरहेको छ । असोजभन्दा अघि आएका जस्ता बाढीले क्षति नगर्ने गरी अस्थायी सडक बनाइएको डिभिजन सडक भक्तपुरले जनाएको छ ।

कार्यालयले वर्षायाममा पहिरोलगायतबाट हुन सक्ने राजमार्ग अवरोधका लागि उपकरण र जनशक्ति व्यवस्थापन गरिने र यदि राजमार्ग अवरुद्ध भएको खण्डमा भकुन्डेबेँसी, तेमाल, मेच्छेपौवा हुँदै सिन्दुरेटारबाट वैकल्पिक सडक सञ्चालन गरिने जनाएको छ ।

७ समूहलाई सगरमाथा आरोहणको अनुमति

यस वर्षको वसन्तकालीन याममा सगरमाथा आरोहणका लागि धमाधम आरोहण अनुमति दिन सुरु गरिएको छ। पर्यटन विभागका अनुसार सगरमाथा आरोहणका लागि हालसम्म सात आरोही समूहका १७ महिला र ६० पुरुषले अनुमति लिइसकेका छन्। विभागका निर्देशक लीलाधर अवस्थीले आजसम्म सगरमाथासहित अन्य स–साना २९ हिमाल आरोहणका लागि आरोहण अनुमति दिइएको छ। उनले अनुमति पाएका आरोही गन्तव्यतिर लागेको बताए।

विभागको विवरणमा हालसम्म नेपालसहित विभिन्न देशका आरोहीले आरोहण कूल १९८ आरोहीले हिमाल आरोहणका लागि अनुमति लिएका छन्। अन्नपूर्ण–१ मा ६ आरोही समूहका ६६ जना र अन्नपूर्ण–५ का लागि एक आरोही समूहका आठ जनाले अनुमति लिएका छन्। मकालु आरोहणका लागि एक आरोही समूहका १५, ल्होत्सेमा एक आरोही समूहका १५ जनाले अनुमति पाएका छन्।

सगरमाथाको दोस्रो शिविरसम्म बाटो निर्माण जारी
सगरमाथा आरोहणका लागि अहिले धमाधम बाटो निर्माण भइरहेको छ। सगरमाथा क्षेत्रमा दुई दिनयता तीव्र बेगको हावा चलेकाले बाटो बनाउन कठिन भइरहेको जनाइएको छ। हिजो साँझसम्म प्रतिघण्टा ३५ किलोमिटरको गतिमा हावा चलिरहेको र ‘आइसफल’का टुक्रा छरिरहेकाले आइसफल डाक्टर अनुकूल मौसमको प्रतिक्षामा रहेको विभागले जनाएको छ।

खुम्बु आइसफल क्षेत्रमा अहिले भ¥याङ् राख्ने र ह्याङगिङ एयरमा किला ठोक्ने काम भइरहेको छ। ‘आइसफल क्षेत्रमा चार वटा भ¥याङ र १२ वटा किला ठोकिसकिएको छ’, निर्देशक अवस्थीले भने, ‘दोस्रो शिविरसम्म दुई हजार दुई सय मिटरसम्म बाटो बनाउनुपर्ने हुन्छ। हालसम्म एक हजार एक सय मिटरसम्मको बाटो बनिसकेको छ।’

सगरमाथाको आधार शिविरदेखि दोस्रो शिविरसम्म सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) बाटो बनाउन ‘आइसफल डाक्टर’ खटाएको छ। यो यामका लागि १० जनाको टोली खटाइएको एसपीसीसीले जनाएको छ। दुवै टोलीले सगरमाथा आरोहीहरूलाई सुरक्षित बाटो बनाउनेछन्। खुम्बु आइसफलमा बाटो बनाउने आरोहीलाई (आइसफल डाक्टरं) भनिन्छ।
सगरमाथाको दोस्रो शिविरसम्म बाटो तयार भएपछि मात्रै पर्वतारोहण सञ्चालक सङ्घले दोस्रो शिविरदेखि चुचुरोसम्म बाटो बनाउने अर्थात् ‘रोप फिक्सिङ’ (डोरी टाँग्ने) काम गर्ने छ। यसका लागि सङ्घले अशोक लामाको नेतृत्वमा आठ सदस्यीय टोली खटाइसकेको जनाएको छ। सङ्घले यो याममा सगरमाथा आरोहणका लागि बाटो बनाउने तथा रोप फिक्सिङको व्यवस्थापकीय जिम्मेवारी एट्के एक्सपिडिसन कम्पनीलाई दिएको छ।

वसन्त ऋतु सगरमाथासहितका हिमाल आरोहणका लागि उपयुक्त मौसम मानिन्छ। यो याममा सगरमाथा आरोहणका लागि उल्लेख्य सङख्यामा विदेशी आउँछन्।

 

जीवनजल लिन घण्टौँ पैदलयात्रा गर्नुपर्ने अवस्था अन्त्य

भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका– ५ मझौलेका स्थानीयको सामान्य स्वास्थ्य सेवा लिन घण्टौँ हिँड्नुपर्ने समस्याको अन्त्य भएको छ । गाउँमा नै आधारभूत सामुदायिक स्वास्थ्य सेवा सञ्चालनमा आएपछि स्थानीयको समस्या हटेको हो । नागरिकलाई सहज सेवा प्रदान गर्न तत्कालीन साबिक खावा गाउँ विकास समितिका–९, ८ र ७ का स्थानीयलाई लक्षित गरेर सामुदायिक स्वास्थ्य सेवामार्फत सेवा प्रवाह भइरहेको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताइन्। नागरिकले पाएको सास्तीलाई समाधान गर्न आफूले जनप्रतिनिधि बन्दै गर्दा गरेको वाचा अनुसार नै स्वास्थ्य इकाई स्थापना गरेर सेवा प्रवाह गरेको उनको भनाई छ ।

“यहाँका नागरिक स्वास्थ्य सेवा लिन निकै समस्या थियो” उपाध्यक्ष राईले भनिन्, “सामान्य स्वास्थ्य सेवा लिन पनि तीनदेखि चार घण्टा हिँड्नुपर्ने अवस्था थियो । जनप्रतिनिधि बन्दै गर्दा गरेको वाचा अनुसार यहीबाट सेवा प्रवाह गर्न सफल भएका छौँ ।”

नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा पुर्‍याउनलाई आफ्नो तहबाट भूमिका खेलिरहेको उपाध्यक्ष राईले बताइन् । भौगोलिक रूपमा विकट रहेका अन्य स्थानमा समेत आधारभूत सामुदायिक स्वास्थ्य इकाई स्थापना गरेर सेवा प्रवाह भइरहेको उनले जानकारी दिइन् ।

सामान्य रुघाखोकी तथा जीवनजल लिनको लागि घण्टौँ पैदलयात्रा पार गर्नुपर्ने अवस्थामा गाउँबाट नै स्वास्थ्य सेवा लिन पाउँदा खुसी लागेको टेम्केमैयुङ– ५ का रमेश विष्टले बताए । स्वास्थ्य इकाई स्थापनाले यहाँका नागरिकले तीनदेखि चार घण्टा समय लगाएर अन्य ठाउँमा सेवा जानुपर्ने बाध्यताको अन्त्य भएको उनले बताए ।“सामान्य स्वास्थ्य सेवा लिन नै समस्या थियो,” उनले भने, “अहिले गाउँबाट नै सेवा लिन पाएका छौँ । अहिले हाम्रो वषौँदेखिको समस्या हटेको छ ।”

गाउँघरमा नै स्वास्थ्य संस्था सञ्चालन भए पनि बिरामी हुँदा नियमित स्वास्थ्य जाँच गराउन पाइएको स्थानीयवासी देवबहादुर विष्टले बताए । स्वास्थ्य केन्द्र स्थापनाले सामान्य उपचार लिनको लागि घण्टौँ पैदल यात्रा पार गर्नुपर्ने अवस्थाको अन्त्य भएको विष्टले जानकारी दिए ।

“पुस्तौँबाट हामीले सामान्य स्वास्थ्य सेवा लिन समस्या झेल्दै आएका थियौँ” उनले भने, “अहिले गाउँमा नै स्वास्थ्य केन्द्र स्थापना भएपछि सहज भएको छ । स्वास्थ्य केन्द्र नहुँदा हामीलाई धेरै दुःख थियो । अहिले आफ्नै ठाउँमा नियमित स्वास्थ्य जाँच गराउन पाएका छौँ ।”

 

 

 

अन्नपूर्ण क्षेत्रमा आठ महिनामा भित्रिए एक लाख ४० हजार पर्यटक

गण्डकी । पदयात्राका लागि विश्वप्रसिद्ध अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)मा गत साउनदेखि फागनुसम्ममा एक लाख ३९ हजार ५७९ विदेशी पर्यटक भित्रिएका छन् । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३० हजार १६९ ले बढी हो । आयोजना प्रमुख डा। रविन कडरियाका अनुसार सबैभन्दा बढी गत कात्तिकमा ३३ हजार ३१० पर्यटकले उक्त क्षेत्रको भ्रमण गरेका थिए । सबैभन्दा कम माघमा जम्मा नौ हजार ३४ पर्यटक ‘एक्याप’ भित्रिएका थिए ।

फागुनयता पर्यटक आवागमनमा वृद्धि भएको आयोजना प्रमुख डा कडरियाले बताए । चैत–वैशाख पदयात्राका लागि उत्तम मानिने हुँदा यो याममा पर्यटकको सङ्ख्या थप बढ्ने उहाँले बताउनुभयो । गत वर्ष चैतमा वर्षकै सबैभन्दा धेरै ३५ हजार २६५ पर्यटकले अन्नपूर्ण क्षेत्र घुमफिर गरेका थिए । वर्षात् र जाडो याममा यस क्षेत्रमा आउने पदयात्रीको संख्या न्यून हुने गरेको छ । पदयात्राका लागि असोज–कात्तिक र चैत–वैशाखलाई उत्तम समय मानिने आयोजना प्रमुख डा। कडरियाले बताए ।

पछिल्लो तीन वर्षको आँकडाअनुसार बर्सेनि उक्त क्षेत्रमा पर्यटकको आवागमन बढेको देखिन्छ । आव २०७९-८० मा एक लाख ७२ हजार १०८ पर्यटक ‘एक्याप’ भित्रिएकामा आव २०८०-८१ मा दुई लाख २२ हजार १८० पर्यटकले उक्त क्षेत्रका भ्रमण गरेका थिए । आव सकिन चार महिना बाँकी रहेकाले चालु आवमा पनि पर्यटक सङ्ख्या गत वर्षको तुलनामा वृद्धि हुने अनुमान आयोजना कार्यालयको छ ।

“गत वर्षको तुलनामा चालु आवका हरेक महिनामा पर्यटक सङ्ख्या बढेको छ”, आयोजना प्रमुख डा कडरियाले भन्नुभयो, “यस क्षेत्रको पर्यटन पुरानै लयतिर फर्किएको छ, सडक मार्गबाट घुम्न र पदयात्रा गर्न आउने विदेशी पर्यटकको सङ्ख्या बढ्दो छ ।” मुक्तिनाथलगायत गन्तव्यमा जाने अधिकांश भारतीय पर्यटकले सडक मार्ग प्रयोग गरे पनि अन्य मुलुकका पर्यटकले पदयात्रा रुचाउने गरेका छन् ।

‘एक्याप’ले अन्नपूर्ण चक्रीय पदमार्गमा घुमफिर गर्ने विदेशी पर्यटकको मात्र तथ्यांक राख्ने गरेको छ । सडक मार्ग भएर मुस्ताङ, मनाङलगायतका ठाउँ छिर्ने आन्तरिक पर्यटकको सङ्ख्या एकिन गर्न नसकिने आयोजना प्रमुख डा। कडरियाले बताउनुभयो । अन्नपूर्ण चक्रीय पदमार्ग विश्वभरका पर्यटकको रोजाइमा पर्दै आएको छ ।

अन्नपूर्ण चक्रीय पदमार्गमा अन्नपूर्ण आधार शिविर, कास्कीको मर्दी हिमाल, सिक्लेस, ल्वाङ, घान्द्रुक गाउँ, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानी, पुनहिललगायत गन्तव्य स्थलमा बर्सेनि लाखौँ आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् ।

हिमश्रङ्खलासहितका आकर्षक गन्तव्यस्थल, पर्यटनमैत्री पूर्वाधार, हावापानी, स्थानीयवासीको आतिथ्यता र सेवा सुविधाले अन्नपूर्ण चक्रीय पदमार्ग घुमफिरका लागि विश्वकै उत्कृष्ट गन्तव्यका रूपमा चिनिएको छ । कास्की, लमजुङ, मनाङ, म्याग्दीलगायत मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो दूरीको पदयात्रा गर्न सकिने ‘एक्याप’ले जनाएको छ ।

सात हजार छ सय वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १६ स्थानीय तहका ८९ वडा समेटिएका छन् ।

 

 

 

शिक्षक महासंघको आन्दोलनप्रति १५ संघ संगठनले जनाए ऐक्यबद्धता

१५ वटा शिक्षक संघ-संगठनहरूले नेपाल शिक्षक महासंघको काठमाडौँ केन्द्रित आन्दोलनप्रति ऐक्यबद्धता जनाएका छन् । नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन, एकीकृत अखिल नेपाल शिक्षक संगठन, अखिल नेपाल शिक्षक संगठन, अखिल नेपाल शिक्षक संघ, अध्यक्ष राष्ट्रिय शिक्षक मञ्च, संघीय शिक्षक फोरम, प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन, मधेशी शिक्षक फोरम लोकतान्त्रिक, लोकतान्त्रिक शिक्षक युनियन एका, नेपाल राष्ट्रिय शिक्षक परिषद्, अखिल नेपाल राष्ट्रिय शिक्षक संगठन, मधेशी आदिवासी शिक्षक संरक्षण मञ्च, नेपाल विद्यालय कर्मचारी परिषद् र संस्थागत विद्यालय शिक्षक युनियनले विज्ञप्ति जारी गर्दै महासंघको आन्दोलनप्रति ऐक्यबद्धता जनाएका हुन् ।

ती संघ-संगठनहरूले विद्यालय बन्द गरेर काठमाडौँ केन्द्रित सडक आन्दोलनमा सहभागी हुन देशभरिका शिक्षकहरूलाई आग्रह समेत गरेका छन् । शिक्षक आन्दोलन अवधिभर उत्तर पुस्तिका परीक्षण नगर्न आग्रह गर्दै तालिम, गोष्ठी, सेमिनार तथा सार्वजनिक कार्यक्रमहरूमा समेत सहभागी नहुन उनीहरूले शिक्षकहरूसँग आग्रह गरेका छन् ।

नयाँ शिक्षा ऐन जारी नभएसम्म आन्दोलनको मोर्चामा डटिरहन आग्रह गर्दै उनीहरूले भनेका छन्, ‘यो आन्दोलन अवधिमा उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन एवं नेपाल सरकार, प्रदेश सरकार तथा ती अन्तर्गतका र स्थानीय तह लगायतबाट राखिएका तालिम, गोष्ठी, सेमिनार तथा सार्वजनिक कार्यक्रममा संलग्न नहुन सबै शिक्षक९कर्मचारी साथीहरूमा आग्रह गर्दछौँ ।’

२० चैतदेखि काठमाडौंमा अनिश्चितकालीन शैक्षिक सडक आन्दोलन चलिरहेको भन्दै आन्दोलनलाई अझ सशक्त गराउन महासंघले २५ चैतदेखि शैक्षिक हड्ताल समेत घोषणा गरेको छ ।

भारतीय स्टार्टअप महाकुम्भमा नेपालीको सहभागिता, नेपाल कक्षको उद्घाटन

भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव (उत्तर) मुनु महावर र भारतका लागि नेपाली राजदूत डा शंकर शर्माले संयुक्त रूपमा स्टार्टअप महाकुम्भमा नेपाल कक्षको उद्घाटन गरेका छन्।

भारत सरकारको उद्योग प्रवर्द्धन र आन्तरिक व्यापार विभाग (DPIIT) को सहयोगमा स्थापित नेपाल कक्षमा अन्तरिक्ष, सूचना प्रविधि (आईटी), कृत्रिम बुद्धिमत्ता (एआई), जलवायु प्रविधि, शिक्षा प्रविधि (एडटेक) देखि कृषि प्रशोधनसम्मका विभिन्न क्षेत्रका १९ नेपाली स्टार्टअपहरूले आफ्ना उत्पादनहरू प्रदर्शन गरिरहेका छन्।

कार्यक्रममा सहभागी हुनका लागि १० युवा नेपाली स्टार्टअप संस्थापकहरूलाई भारतस्थित नेपाली दूतावासले सहयोग गरेको थियो। तीन दिनसम्म सञ्चालन हुने उक्त कार्यक्रमले नेपाली स्टार्टअपहरूलाई भारतीय स्टार्टअप इकोसिस्टमसँग जोडिने अवसर प्रदान गरेको भारतीय दूतावासले एक्समार्फत जानकारी दिएको छ ।

दूतावासका अनुसार सो कार्यक्रमले नेपाल र भारतका स्टार्टअपहरुबीच सहकार्यको नयाँ अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।

प्रधानमन्त्री ओली र भूटानी प्रधानमन्त्री तोब्गेबिच भेटवार्ता

थाइल्यान्डको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र भूटानका प्रधानमन्त्री छिरिङ तोब्गेबिच आज बैङ्ककमा भेटवार्ता भएको छ। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास ९बिम्स्टेक० को छैटौँ शिखर सम्मेलनमा भाग लिने क्रममा बैङ्ककमा रहनुभएका प्रधानमन्त्री ओली र भूटानका प्रधानमन्त्री तोब्गेबिच ‘साइडलाइन’ भेटवार्ता भएको हो।

उहाँहरूबिच गत सेप्टेम्बरमा संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाका क्रममा न्युयोर्कमा भएको भेटको स्मरणका साथै सहकार्यका विविध पक्षबारे छलफल भएको थियो।

भेटमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत सहभागी हुनुहुन्थ्यो।

 

 

 

अब प्रतिगमनलाई जनताले स्वीकार गर्दैनन्- अध्यक्ष प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिगमनलाई कुनै पनि हालतमा नेपाली जनताले स्वीकार नगर्ने बताउनु भएको छ। माओवादी केन्द्र हुलाकी राजमार्ग केन्द्रित तराई मधेश जागरण अभियान अन्तर्गत बिहीबार नेपालगन्जमा आयोजना गरिएको बृहत्त नागरिक संवाद कार्यकममा बोल्दै पूर्व प्रधानमन्त्री प्रचण्डले प्रतिगमनले फेरि टाउको उठाउन खोजेको जनाउँदै नेपाली जनताका लागि कुनै पनि हालतमा स्वीकार्य नहुने दाबी गर्नुभयो।

उहाँले लामो समयदेखि देखिएको राजनीतिक अस्थिरता, भ्रष्टाचार र दलको कमीकमजोरीले गर्दा जनतामा निराशा उत्पन्न भएको स्वीकार गर्दै त्यसको अर्थ नेपाली जनताले नक्कली राजालाई फिर्ता ल्याउन चाहेको नभएको प्रष्ट पार्नुभयो।

माओवादी केन्द्रले देशको वर्तमान अवस्था र जनताको मनोविज्ञान तथा चाहनाको गम्भीर समीक्षा गरेर आफूलाई सच्याउने प्रणका साथ जनताका अगाडि आएर आत्मआलोचना गर्दै उनीहरुको गुनासो सुन्ने काम सुरु गरेको अध्यक्ष प्रचण्डले बताउनुभयो।

उहाँले भन्नुभयो, ‘हामीले अवस्थाको गम्भीरतालाई राम्ररी बुझेका छौं, सोही कारणले जनतासँग जोडिन र उनीहरुको सुझाव सल्लाह लिन तराई मधेश जागरण अभियान सुरु गरेका हौं ।’

राजावादीको नाममा लुट मच्चाउन पल्केकाले धमिलो पानीमा माछा मार्न खोजेको जनाउँदै पूर्व प्रधानमन्त्री प्रचण्डले गणतन्त्रको विकल्प समाजवादी गणतन्त्र मात्रै हुनसक्ने जनाउँदै देशलाई पछाडि फर्काउन खोज्नेहरु आफै हराउने बताउनुभयो।

मााओवादीले आत्मसमीक्षा गरेर जनताको माझमा आएकोले माओवादी र अरु दलहरुलाई उस्तै उस्तै नठान्न आग्रह गर्दै अध्यक्ष प्रचण्डले गणतन्त्रको रक्षाका लागि माओवादीले जनुसुकै लडाइँ लड्न पनि तयार रहेको बताउनुभयो।

सो नागरिक संवाद कार्यक्रममा बाँकेका नागरिक अगुवा तथा विभिन्न पेशागत संघसंस्थाका अगुवाले राजनीतिक दलहरुकै असक्षमता र कार्यशैलीका कारण नेपाली जनतामा निराशा बढ्दै गएकोले अन्यले चलखेल गर्ने अवसर पाएको गुनासो गरेका थिए।

सो कार्यक्रममा माओवादीका नेता नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, अग्नि सापकोटा, देव गुरुङ, पम्फा भुषाललगायतको सहभागिता थियो।

 

 

 

 

 

 

 

मधेस केन्द्रित सात दलद्धारा ‘सङ्घीय लोकतान्त्रिक मोर्चा’ घोषणा

मधेस केन्द्रित सात राजनीतिक दलले ‘सङ्घीय लोकतान्त्रिक मोर्चा’ घोषणा गरेका छन्। संविधान संशोधन, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, सुशासन प्रवर्द्धनलगायत उद्देश्यसहित आज एक कार्यक्रमबीच मोर्चा घोषणा गरिएको हो।

मोर्चामा उपेन्द्र यादव अध्यक्ष रहेको जनता समाजवादी पार्टी (जसपा) नेपाल, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल, सिके राउत अध्यक्ष रहेको जनमत पार्टी, रञ्जिता चौधरी अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टी, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल, हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी तथा वृषेशचन्द्र लाल नेतृत्वको तजनता प्रगतिशील पार्टी रहेका छन्।

विभिन्न २६ बुँदे उद्देश्य र प्रतिबद्धतासहित मोर्चा घोषणा गरिएको हो। मोर्चाको मुख्य उद्देश्य सामर्थ्य र पहिचानका आधारमा प्रदेशको सीमाङ्कन, नामाङ्कन तथा संरचना गर्न÷गराउन तथा राजस्व तथा स्रोत साधन सन्तुलित र न्यायोचित रूपमा बाँडफाँट गर्ने, राज्यका तर्फबाट प्रदान गरिने सेवा, सुविधा जनता माझ पुर्‍याउन प्रदेशलाई सक्षम बनाउनुपर्ने र स्थानीय तहलाई प्रदेशको क्षेत्राधिकारभित्र रहने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई समृद्ध पार्ने, सङ्घ र प्रदेश सरकारबीचको क्षेत्राधिकारलाई स्पष्ट पार्ने रहेको छ।

यस्तै सङ्घ र प्रदेशबीच स्रोतसाधनको न्यायोचित वितरण, सङ्घीयताको मूल्य र मान्यताअनुरुप बाँडफाँटको नीति निर्माण गरी कार्यान्वयन गराउने, प्रहरी समायोजन ऐन, २०७६ बमोजिम गर्ने र यथाशीघ्र सङ्घीय निजामती ऐन निर्माण गरी कर्मचारी समायोजनसम्बन्धी कार्य सम्पन्न गर्ने उल्लेख छ। मोर्चाले १३ बुँदे आचारसंहिता पनि जारी गरेको छ।

नेपाल र भारतको झण्डा हल्लाएर कञ्‍चनजङ्घा हिमाल आरोहण अभियानको शुभारम्भ

नेपाल र भारतको झण्डा हल्लाएर कञ्‍चनजङ्घा हिमाल आरोहण अभियानको शुभारम्भ गरिएको छ । आगामी अप्रिल देखि मे सम्म सञ्चालन हुने अभियानको बिहिबार भारतको राजधानी नयाँ दिल्लीस्थित रक्षा मन्त्रालयमा नेपाल र भारको झण्डा हल्लाएर शुभारम्भ गरिएको हो ।

हिमाल आरोहण अभियानमा नेपाली सेना र भारतीय सेनाको संयुक्त सहभागितामा रहने जनाइएको छ । अभियान शुभारम्भ समारोहमा भारतका रक्षा मन्त्री राजनाथ सिंहले नेपाली सेना र भारतीय सेनाको संयुक्त आरोहण टोलीहरुलाई झण्डा हस्तान्तरण गरे । नेपाली सेनाको तर्फबाट सैनिक तालिम महानिर्देशक उपरथी ध्रुव प्रकाश शाह सहभागी थिए ।

समारोहमा भारतका जनरल अनिल चौहान, स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी, नेपालका लागि भारतस्थित राजदूत डा। शंकर प्रसाद शर्मा, सैनिक सहचारी तथा अन्य विशिष्ट अधिकारीहरूको उपस्थिति रहेको थियो।

आरोहण अभियानमा भारतीय सेनाका ३४ पर्वतारोहीले सगरमाथा आरोहण गर्ने लक्ष्य राखिएको छ । टोलीले परम्परागत दक्षिणी कर्नलको मार्ग अवलम्बन गर्नेछन्। नेपाल–भारत संयुक्त अभियानको उद्देश्य कञ्चनजङ्घा हिमाल आरोहण गर्ने हो । जसमा भारतीय सेनाका १२ र नेपाली सेनाका ६ पर्वतारोही सहभागी हुनेछन् । जसको नेतृत्व भारतीय सेनाका कर्णेल सरफराज सिंहले गर्नेछन् ।

साथै, सगरमाथामा एनसीसीको संयुक्त अभियानको नेतृत्व कर्णेल अमित बिष्टले गर्नेछन्। टोलीमा पाँच केटी क्याडेट, पाँच विद्यार्थी क्याडेट, चार अफिसर र ११ स्थायी तालिम कर्मचारी रहेका छन् ।