समानुपातिक बन्दसूचीबाट कांग्रेसका ४ नेताले फिर्ता लिए नाम
गत वर्ष भएको प्रतिनिधि सभाको समानुपातिक प्रणालीतर्फ उम्मेदवार रहेका कांग्रेसका ४ नेताले नाम फिर्ता लिएका छन् । समानुपातिकको सूचीमा रहेका गोपालमान श्रेष्ठ, आनन्द ढुङ्गाना, बालकृष्ण पाण्डे र अब्दुल सतारको नाम फिर्ता लिन पार्टीले निर्वाचन आयोगमा सिफारिस गरेको कांग्रेस केन्द्रीय कार्यालय सचिव कृष्ण दुलालले जानकारी दिए ।
‘गोपालमान श्रेष्ठ र बालकृष्ण पाण्डेले एकै दिन नाम फिर्ता लिनुभएको हो । अर्को पटक, आनन्द ढुङ्गाना र अब्दुल सत्तारले नाम फिर्ता लिनुभएको छ ।’
समानुपातिक पद्धतिका उम्मेदवारले प्रतिनिधिसभाको यो कार्यकालभरि संघीय संसदको उम्मेदवार बन्न नपाउने कानुनी व्यवस्था छ । राष्ट्रियसभा निर्वाचनमा उम्मेदवारको आकांक्षी रहेका उनीहरुले त्यही कारण समानुपातिक सूचीबाट नाम फिर्ता लिएका हुन् ।
फागुनबाट कार्यकाल सकिने १९ सांसदका लागि निर्वाचन आयोगले ११ माघमा निर्वाचन गर्ने समय तोकेको छ । २३ पुसमा उम्मेदवारी दर्ताको समय तोकिएकाले बन्द सूचीमा रहेकाहरुले त्यसअघि नै नाम फिर्ता लिनुपर्छ ।