एनसेलको सेयर खरिद-बिक्रीमा संसदको लेखा समितिको प्रश्न
सार्वजनिक लेखा समितिले एनसेलको ८० प्रतिशत सेयर खरिद-ब्रिकी सम्बन्धमा प्रश्न उठाएका छन । समिति सभापति ऋषिकेश पोखरेलले सरकारी निकायहरूलाई सेयर खरिद-बिक्रीका सवालमा ९ वटा प्रश्न सहित पत्र पठाएका छन्।
एनसेलको सेयर स्वामित्व हस्तान्तरणको सवाल समितिको चासोको विषय बन्यो। यस विषयमा प्रारम्भिक जिज्ञासासहित हामीले विभिन्न निकायहरूलाई पत्र पठाएका छौ, समिति सचिव एकराज गिरीले भने। मलेसियन कम्पनी आजियाटाले शुक्रबार एनसेलमा रहेको आफ्नो सबै, ८० प्रतिशत सेयर बेलायतको स्पेक्ट्रलाइट युके लिमिटेडलाई पाँच करोड अमेरिकी डलर (६ अर्ब ६६ करोड रूपैयाँ) मा बिक्री गरेको बताएको हो।
सात वर्षअघि एक खर्ब ४३ अर्ब रूपैयाँ खरिद गरिएको सेयर यति थोरै रकममा बिक्री गरिएको, नेपाल बाहिर कारोबार गरिएको, नियामकीय निकायलाई जानकारी नगराएको जस्ता विषयमा समितिले मुख्य प्रश्न उठाएको छ।
समितिले आन्तरिक राजस्व विभागका महानिर्देशक, कम्पनी रजिष्ट्रारको कार्यालयका रजिष्ट्रार र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनाललाई यथाशीघ्र जवाफ फर्काउन भनेको छ। लेखा समितिको सचिवालयले शेयर खरिद–बिक्रीको आधिकारिक जानकारी सरोकारवाला निकायहरूलाई भए–नभएको सोधेको छ । पत्र उद्धृत गर्दै दूरसञ्चार प्राधिकरण स्रोतले भन्यो– ‘कम्पनीको शेयर खरिद–बिक्री वा हक हस्तान्तरण गर्दा सेवा प्रवाह गरिरहेको मुलुकको कानुनी व्यवस्था परिपालना गर्नुपर्ने वा नपर्ने के हो ?’
सार्वजनिक लेखा समितिले यसरी शेयर स्वामित्व परिवर्तन हुँदा तिर्नुपर्ने दायित्वका बारेमा समेत जवाफ माग गरेको छ । अनि सरोकारवाला कर प्रशासक (ठूला करदाता कार्यालय)ले सम्पत्ति, आम्दानी र नाफा लगायत समग्र पक्षको परीक्षण गरे नगरेको पनि सोधेको छ ।