कोशीको बजेट सर्वसम्मतिले पारित – Nepalboli

कोशीको बजेट सर्वसम्मतिले पारित

   १३ मंसिर २०८०, बुधबार  

नेकपा एमाले र राप्रपाका सांसदले पेश गरेका खर्च कटौतीको प्रस्ताव फिर्ता लिएपछि कोशी सरकारको बजेट बुधबार सर्वसम्मतिले पारित भएको छ । बजेट छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नमाथि मुख्यमन्त्री केदार कार्कीले दिएको जवाफ चित्त नबुझाएका सरकार बाहिर रहेका दलहरुले ८ वटा खर्च कटौती प्रस्ताव पेश गरेर बजेट पारितमा असहयोग गर्ने संकेत दिएका थिए ।

तर बुधबार जवाफ दिने क्रममा मुख्यमन्त्री नरम रुपमा प्रस्तुत भएपछि खर्च कटौती प्रस्ताव फिर्ता लिएर बजेट पारित गर्न सहयोग गरेको एमाले र राप्रपा नेताहरुले बताएका छन् ।

कोशी प्रदेश विनियोजन अध्यादेश २०८० लाई प्रतिस्थापन गर्न बनेको आर्थिक वर्ष २०८०/८१ को सेवा र कार्यका लागि प्रदेश संचित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० (विनियोजन विधेयक) माथिको छलफलमा भाग लिएका ३१ सांसदमध्ये अधिकांशले बजेटमाथि असन्तुष्टि जनाएका थिए ।

मंगलबार जवाफ दिने क्रममा मुख्यमन्त्री केदार कार्कीले आफूले सांसदका कुलेसोका योजना काटेर १० वर्षमुनिको बालबालिकाको उपचारका लागि बजेट छुट्याएको भन्दै बचाउ गरेका थिए । उनले जनताको अधिकार मुख्यमन्त्रीसँग साट्न नसक्ने अभिव्यक्ति दिएका थिए ।

बुधबार एमालेका किशोरचन्द्र दुलाल, विदुर लिङ्थेप, तिलाचन पाठक, कमला दर्नाल, निरन राई, राप्रपाका भक्तिप्रसाद सिटौला र गोपाल विश्वकर्माले खर्च कटौतीको प्रस्ताव पेश गरेका थिए ।

सांसदको खर्च कटौती प्रस्तावपछि जवाफ दिन आएका मुख्यमन्त्री कार्की नम्र रुपमा प्रस्तुत भए ।

मुख्यमन्त्री कार्कीको जवाफपछि सांसदहरुले खर्च कटौतीको प्रस्ताव फिर्ता लिएका थिए । खर्च कटौतीको प्रस्ताव फिर्ता भएपछि प्रदेशको बजेट सर्वसम्मतिले पारित भयो । मुख्यमन्त्री कार्कीले प्रतिस्थापन विधेयकमार्फत ३६ अर्ब ७४ करोड ३५ लाख १० हजार रुपैयाँको बजेट ल्याएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै