खुद्रा व्यापारीले १० बोरासम्म चिनी साल्ट ट्रेडिङबाट पाउने – Nepalboli

खुद्रा व्यापारीले १० बोरासम्म चिनी साल्ट ट्रेडिङबाट पाउने

   २० कार्तिक २०८०, सोमबार  

११५ रूपैयाँ किलोमा बेच्नुपर्ने
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले खुद्रा व्यापारीलाई १० बोरासम्म चिनी बिक्री वितरणका लागि उपलब्ध गराउने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निरन्तर पहलपछि साल्ट ट्रेडिङले यस्तो प्रबन्ध गरेको हो ।

बजारमा चिनीको हाहाकार भएपछि प्रधानमन्त्री कार्यालयले चिनी उत्पादक उद्योगहरुसँग समन्वय गर्दै तीन हजार मेट्रिक टन चिनी साल्ट ट्रेडिङ मार्फत किन्ने प्रबन्ध गरेको थियो ।

यसका साथै अवैधरुपमा भित्रिएको चिनीको खोजतलास गर्न उपत्यकाका तीनवटै जिल्लामा सुरक्षा निकायसँग समन्वय गरी विशेष अनुगमन टोली परिचालन गरिएका थिए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयको समन्वयमा सबै निकायका प्रतिनिधि सम्मिलित उच्चस्तरीय अनुगमन टोलीले टोलीले काठमाडौंका विभिन्न स्थानमा अवैधरुपमा पठाइएका सयौं बोरा चिनी बरामद गरेको थियो ।

उद्योगीबाट किनिएको चिनी साल्ट ट्रेडिङले आफ्ना आउटलेट, खुद्रा बिक्रेता संघ अन्तर्गतका केही पसल तथा खाद्य संस्थानबाट मात्रै बिक्री वितरण गरेपनि उपभोक्ताले लामो लाइन लाग्नुपर्ने अवस्था भएपछि खुद्रा व्यापारीले समेत १० बोरा चिनी बिक्री वितरणका लागि किन्न पाउने भएका छन् ।

यो चिनी प्रतिकिलो ११५ रुपैयाँमा उपभोक्ताले किन्न पाउनेछन् । व्यापारीले तोकिएका निर्धारित मूल्यभन्दा बढीमा बेचेको खण्डमा भने कारवाही हुने छ । खुद्रा व्यापारी तथा व्यवसायीहरुले सोमबारदेखि साल्ट ट्रेडिङको कालिमाटी शाखा र मंगलबारदेखि कोटेश्वर शाखाबाट चिनी किन्न पाउनेछन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै