तिहारअघि भारतबाट २५ हजार मेट्रिक टन चिनी आउदै – Nepalboli

तिहारअघि भारतबाट २५ हजार मेट्रिक टन चिनी आउदै

   १७ कार्तिक २०८०, शुक्रबार  

नेपाललाई तिहारअघि नै २५ हजार मेट्रिक टन चिनी उपलब्ध गराउन भारत सहमत भएको छ । बजारमा चिनीको अभाव चुलिएपछि केही दिन अघि सरकारले भारतलाई छोटो बाटोबाट चिनी उपलब्ध गराइदिन माग गरेको थियो ।

भारतीय दूतावासमार्फत भएको कूटनीतिक पहलमा भारतले चिनी दिन सहमति दिएको वाणिज्य मन्त्रालयलले जनाएको छ । मन्त्रालयका प्रवक्ता एवम् सहसचिव गजेन्द्रप्रसाद ठाकुरले भारतले दिनेमध्ये २० हजार मेट्रिकटन चिनी तिहार अगावै ल्याउने गरी खरिद प्रक्रिया थालेको बताए ।

‘हामीले कही दिन अघि गरेको प्रस्तावमा भारत चिनी उपलब्ध गराउन सहमत भएको छ,’ सहसचिव ठाकुरले भने, ‘तिहार अघि नै २० हजार मेट्रिक टन चिनी उपलब्ध गराउने गरी खरिदको प्रक्रिया सुरु भएको छ ।’

मन्त्रालयका अनुसार भारतसँग खरिद गर्न लागिएको २५ हजार मेट्रिकटन चिनी मध्ये २० हजार मेट्रिकटन चिनी भन्सार छुटको हुनेछ । यो चिनी अबको एक हप्ताभित्रै ल्याइने ठाकुरले बताए ।
यस्तै, बाँकी रहेको ५ हजार मेट्रिकटन चिनी भने तिहारपछि भन्सार छुटविना नै ल्याइने मन्त्रालयले जनाएको छ ।

सहुलियतको २० हजार मेट्रिकटन चिनीको खरिद प्रक्रियाको लागि सरकारले शुक्रबार नै परराष्ट्र मन्त्रालयमार्फत भारतीय दूतावासमा पत्राचार गरिसकेको मन्त्रालयले जनाएको छ ।

भारतले नेपाललाई सरकारी कम्पनीबाटै चिनी बिक्री गर्ने र सो चिनी नेपालको खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट खरिद हुने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै