तीनवटा विमान चार्टर्ड गरेर भियतनामी पर्यटक नेपाल आउने
तीन वटा विमान चार्टर्ड गरेर भियतनामी पर्यटकहरू नेपाल घुम्न आउने भएका छन्। कात्तिक ४, ८ र १२ गते (अक्टोबर २१, २५ र २९) हिमालय एयरलाइन्सको एयरबस ए ३२० विमान चार्टर्ड गरेर उनीहरू भियतनामबाट काठमाडौं, पोखरा, लुम्बिनी लगायताका स्थान घुम्न आउन लागेका हुन्।
नेपाली पर्यटन क्षेत्रको इतिहासमै तीन जेट विमान चार्टर्ड गरेर पर्यटकको आदान–प्रदान गरिएको यो पहिलोपटक रहेको नेपाली ट्राभल एजेन्सीले जनाएको छ। करिब १५ प्रतिशत बुद्ध धर्मालम्बीहरू रहेको भियतनामबाट नेपाल भ्रमण गर्ने पर्यटकहरूको संख्या पछिल्ला दिनहरूमा बढिरहेको छ।
भियतनामबाट आउने पर्यटकहरूले काठमाडौं उपत्यका साथै बुद्धको जन्मस्थान लुम्बिनी तथा पोखराको समेत भ्रमण अवलोकन गर्नेछन्। केही पर्यटकहरू नेपालका विभिन्न बौद्ध चैत्य तथा गुम्बामा ध्यान तथा योग अभ्यासका लागि थप समय बस्नेछन्।
यसरी नेपाल भियतनाम चार्टर्ड उडान भइरहँदा नेपालबाट पनि पर्यटकहरू भियतनाम जान पाउनेछन्। उडानका क्रममा एकतर्फी रूपमा खाली रहने सिट बिक्री गर्ने कम्पनीले जनाएको छ।पर्यटकका लागि यो चार्टर्ड उडान आर्थिक रुपमा किफायती बनाउन यसको प्रबन्धक रुप्से होलिडेज्ले आहोरात्र मिहेनत गरिरहेको छ।
नेपालबाट भियतनाम जान चाहने पर्यटकका लगि रुप्से होलिडेजले एक लाख २० हजार रुपैयाँको विशेष टुर प्याकेज बनाइरहेको छ। चार रात पाँच दिनको भियतनामको हनोइमा बसाई, विभिन्न आकर्षक गन्तब्यहरूको घुमाई, एक दिने क्रुज, भिसा तथा दुईतर्फी हवाई टिकट समावेश हुनेछ।