उपत्यकामा दसैँका लागी पचास हजार खसीबोका र च्याङ्ग्रा ल्याउने तयारी – Nepalboli

उपत्यकामा दसैँका लागी पचास हजार खसीबोका र च्याङ्ग्रा ल्याउने तयारी

   १३ आश्विन २०८०, शनिबार  

यस वर्षको दसैमा उपत्यकामा ५० हजार खसीबोका र च्याङ्ग्रा बिक्री हुने अनुमान व्यवसायीहरुले गरेका छन् । दसैँमा खसीबोकाको खपत धेरै हुने हुँदा सरकारी कम्पनी र निजी व्यवसायीले ५० हजार सङ्ख्यामा खसीबोका र च्याङ्ग्रा ल्याउने तयारी गरेका हुन् ।

सरकारी स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र निजी व्यवसायीले उपयत्यकामा दसैँमा खसीबोका ल्याएर बिक्री गर्ने गरेका छन् । यस वर्ष पनि व्यवसायीले गाउँ गाउँमा गएर खसीबोका खरिद गर्ने तयारी गरेका छन् ।

काठमाडौँ चौपाया खरिद बिक्री सङ्घका व्यवस्थापक जीवन खड्काले दसैँलाई लक्षित गरेर घटस्थापनाको दिनदेखि उपत्यकामा खसीबोकाको बिक्री सुरु गरिने जानकारी दिनुभयो । यस वर्ष गत वर्षकै हाराहारीमा ४५ देखि ५० हजार सङ्ख्यामा उपत्यकामा खसीबोकाको खपत हुने उहाँको अनुमान छ । आर्थिक मन्दीको असरले उपभोक्तासँग पर्याप्त क्रयशक्ति नहुँदा यस वर्ष बिक्री खासै नबढ्ने देखिएको उहाँको भनाइ छ ।

यस वर्ष खसीबोकाको मूल्य गत वर्ष कै प्रतिकेजी जिउँदो खसीबोकाको मूल्य ६६० देखि ६८० रुपियाँसम्म कायम रहेको उहाँले जानकारी दिनुभयो । हाल नियमित रूपमा दैनिक आठ सय सङ्ख्यामा उपत्यकामा खसीबोकाको खपत हुने गरेको व्यवसायीको भनाइ छ । घटस्थापनाको दिनदेखि अष्टमीको दिनसम्म बढीमात्रामा खसीबोका बिक्री हुने व्यवसायीको भनाइ छ । दसैँमा सबैले अनिवार्य रूपमा मासुको उपभोग गर्ने भएकाले पनि उपत्यकामा धेरै खसीबोका बिक्री हुने गर्छ । निजी व्यवसायीले गाउँ गाउँमा गएर खसीबोका खरिद गरी उपत्यकामा ल्याएर बिक्री गर्ने गर्छन् । स्थानीय उत्पादनले माग धान्न नसक्दा व्यवसायीले छिमेकी मुलुक भारत र चीनबाट समेत खसीबोका र च्याङ्ग्रा आयात गरेर बिक्री गर्ने गरेका छन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैँलाई लक्षित गरेर तीन हजार खसीबोका र च्याङ्ग्रा बिक्री गर्ने भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै