राष्ट्रपति पौडेलको जनकपुरधाम हुने नागरिक अभिनन्दन तयारी तीब्र – Nepalboli

राष्ट्रपति पौडेलको जनकपुरधाम हुने नागरिक अभिनन्दन तयारी तीब्र

   ३ आश्विन २०८०, बुधबार  

राष्ट्रपति रामचन्द्र पौडेलको जनकपुरधाम ८ असोजमा हुने नागरिक अभिनन्दनको तयारी तीब्र पारिएको छ । असोज ८ गते हुने भ्रमणका क्रममा जनकपुरधामको महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानमा उनको नागरिक अभिनन्दन गरिने भएको छ । जनकपुरधाम उपमहानगरपालिकाको पहलमा मंगलबार बसेको सर्वदलीय बैठकले राष्ट्रपतिको नागरिक अभिनन्दन कार्यक्रम महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानमा गर्ने निर्णय गरेको हो ।

जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहका अनुसार हल बाहिर ठुलो स्क्रिन लगाएर कम्तीमा एक हजार सर्वसाधारणलाई बस्ने व्यवस्था मिलाइने छ । मौसम प्रतिकूल रहेकाले नागरिक अभिनन्दन कार्यक्रम महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानमा गर्न लागेको उनको भनाइ छ ।

मंगलबार बसेको सर्वदलीय बैठकको अध्यक्ष समेत गरेका मेयर साहले नागरिक अभिनन्दन समारोहमा सहभागी हुन आउने सर्वसाधारणलाई बस्ने कुर्सी र टेण्टको व्यवस्था गर्ने जानकारी दिए । नेपाली कांग्रेसका पूर्व उपसभापति एवम् प्रतिनिधिसभा सदस्य विमलेन्द्र निधि, प्रतिनिधिसभा सदस्य एवम् पूर्वमन्त्री रामकृष्ण यादव, नेकपा एमालेका प्रतिनिधिसभा सदस्य एवम् पूर्वमन्त्री जुली कुमारी महतोको विशेष उपस्थितिमा सर्वदलीय बैठक बसेको थियो ।

राष्ट्रपति पौडेल पहिलोपटक मधेस प्रदेशको राजधानी जनकपुरधाम आउन लागेका हुन् । यसअघि उनी जेठ महिनामै आउने कार्यक्रम तय भए पनि अस्वस्थ हुँदा अन्तिम समयमा कार्यक्रम स्थगित भएको थियो ।

लामो समयदेखि थन्किएको नागरिकता सम्बन्धी विधेयक प्रमाणीकरण गरेर राष्ट्रपति पौडेलले मधेसमा प्रशंसा पाएका छन् । सर्वदलीय बैठकमा प्रदेशसभा सदस्य एवम् पूर्वमन्त्री रामसरोज यादव, दिपेन्द्र ठाकुर लगायतको पनि उपस्थिति थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै