बाबुरामलाई बेवास्ता गर्दै प्रचण्डले महिन्द्र यादवसँग राखे एकता प्रस्ताव
समाजादी मोर्चा गठन गर्दा पाखा लगाइएका डा बाबुराम भट्टराईलाई बेवास्ता गर्दै नेकपा माओवादी केन्द्रले नेपाल समाजवादी मोर्चाका अर्का अध्यक्ष महिन्द्र राय यादवसँग एकता प्रस्ताव राखेको छ। गत भदौ ३० गतेको मितिमा अध्यक्ष पुष्कमल दाहाल प्रचण्ड र महासचिव देवप्रसाद गुरुङ पठाएको पत्रमा उनीहरुले बाबुरामसँग एकता गर्न नचाहेको प्रष्ट पारेका छन्।
आफैंले परिकल्पना गरेको समाजवादी मोर्चाबाट बाहिरै बस्नुपरेपछि प्रचण्डसँग रुष्ट रहेका बाबुराम यतिबेला भारत यात्रामा छन्। भदौ ३० मा पठाइएको पत्र बाबुराम र छोरी मानुषी भारतमै रहेका बेला नेपालमा सार्वजनिक भएको छ।
समाजवादी मोर्चामा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पनि सदस्य रहेपछि बाबुराम पाखा लगाइएका थिए। यस्तो अवस्थामा नेपाल समाजादी पार्टीको संगठन विस्तार अभियानलाई अघि बढाइरहेका बाबुरामलाई फेरि अप्ठ्यारो पार्ने गरी प्रचण्डले अर्का अध्यक्ष यादवलाई सम्बोधन गर्दै एकता प्रस्तावको पत्र पठाइदिएका हुन्।
तत्कालीन अवस्थमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँगको चरम द्वन्द्वपछि बाहिरिएका बाबुरामले नेपाल समाजवादी स्थापना गरेका थिए।
उक्त पार्टीका एकजन अध्यक्ष महिन्द्र राय यादवले माओवादी केन्द्रको चुनाव चिह्न लिएर सर्लाहीबाट चुनाव लडेर जितेका थिए। यता गोरखामा प्रचण्डका लागि ठाउँ खाली गरिदिएर काठमाडौंमा माओवादीको चुनाव चिह्नबाट छोरी मानुषीलाई उनले उठाएका थिए। तर मानुषी पराजित हुन पुगिन्।
‘केही समय अगाडिदेखि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीबीच एकताको लागि पक्ष बीच वार्ता टोली बनाई सम्वाद हुँदै आइरहेको छ’, यादवलाई सम्बोधन गरेर लेखिएको पत्रमा भनिएको छ, ‘एउटै पार्टी बनाउने लक्ष्यका साथ प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा दुवै पक्षका उम्मेदवारहरुले एउटै चुनाव चिन्ह गोलाकारभित्रको हँसिया हथौडा लिएर सहकार्य पनि गरियो। दुवै पक्षबीचको वार्ताका क्रममा पार्टी एकताको लागि नाममा पनि छलफल चलिरहेको छ।’
उक्त पत्रमा गत भदौ २५ गते प्रचण्डको अध्यक्षतामा बसेको माओवादी पदाधिकारी बैठकमा पार्टी एकताबारे गम्भीरताका साथ छलफल उल्लेख छ।
‘पार्टी एकतालाई सफल तुल्याउनका लागि पार्टीको नामको सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टीको पछाडि कोष्ठमित्र रहेको माओवादी केन्द्रबारे आगामी महाधिवेशनमा खुला रुपले छलफल गरी आवश्यक निर्णय लिन सकिने भनी गरिएको निर्णयलाई जानकारीको लागि पत्राचार गरिएको छ’, पत्रमा भनिएको छ।