चालु आर्थिक वर्षको दुई महिनामा वार्षिक लक्ष्यको ७.४९ प्रतिशत सरकारी बजेट खर्च
पूँजीगत शीर्षकमा २.७ प्रतिशत मात्र वजेट खर्च
चालु आर्थिक वर्ष २०८०/८१ को सुरुआती दुई महिनामा सरकारी बजेट खर्च वार्षिक लक्ष्यको सात दशमलव ४९ प्रतिशत बराबर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार भदौ मसान्तसम्ममा सरकारले एक खर्ब ३१ अर्ब १४ करोड १३ लाख बराबर बजेट खर्च गरेको छ ।
सरकारले चालु आवका लागि कूल १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख बराबरको बजेट ल्याएको थियो ।
सो मध्ये चालु शीर्षकमा ११ खर्ब ४१ अर्ब ७८ करोड विनियोजन भएकोमा हालसम्म सात दशमलव ६८ प्रतिशत अर्थात् ८७ अर्ब ६६ करोड ३५ लाख बराबर रहेको छ । पूँजीगत शीर्षकमा दुई दशमलव सात प्रतिशत मात्रै बजेट खर्च भएको छ ।
यो शीर्षकमा तीन खर्ब दुई अर्ब सात करोड बराबरको बजेट छुट्याइएकोमा भदौ मसान्तसम्ममा आठ अर्ब १६ करोड ३९ लाख बराबर बजेट खर्च भएको छ ।
वित्तीय व्यवस्थापन शीर्षकको बजेट खर्च वार्षिक लक्ष्यको ११ दशमलव ४९ प्रतिशत बराबर छ ।
मुख्यगरी सरकारी ऋण तिर्नका लागि प्रयोग हुने वित्तीय व्यवस्थापनतर्फको बजेट चालु आवका लागि तीन खर्ब सात अर्ब ४५ करोड बराबर छ ।
पछिल्लो दुई महिना अवधिमा वित्तीय व्यवस्थापन शीर्षकबाट ३५ अर्ब ५१ करोड ३९ लाख खर्च भएको छ।