पार्टी एकताका लागी नाम फेर्न तयार रहेको माओवादी केन्द्रको आन्तरिक सर्कुलर – Nepalboli

पार्टी एकताका लागी नाम फेर्न तयार रहेको माओवादी केन्द्रको आन्तरिक सर्कुलर

   २०८० आश्विन १, सोमबार  

नेकपा माओवादी केन्द्रले फेरि पार्टीको नाम फेर्ने तयारी गरेको छ । अन्य कम्युनिस्ट पार्टीहरुसँग एकता गर्ने शर्तमा माओवादी केन्द्रले पार्टीको नाम फेर्ने तयारी गरेको हो । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङले हस्ताक्षर गरी तल्ला कमिटीमा पठाएको सर्कुलरमा नै पार्टीको नाम फेर्नेबारे उल्लेख छ ।

‘पार्टीले जारी गरेको सर्कुलरमा भनिएको छ– नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र अन्य कम्युनिस्ट घटकहरूसँग पार्टी एकताको विषयमा गम्भीर ढङ्गले वार्ता, संवाद र छलफल भइरहेको सन्दर्भमा पार्टी एकतालाई सफल तुल्याउनका लागि नेपाल कम्युनिस्ट पार्टीको पछाडि कोष्ठमा रहेको माओवादी केन्द्रको बारेमा आगामी महाधिवेशनमा छलफल गरी आवश्यक निर्णय गर्न सकिने छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अमेरिका र चीन भ्रमणमा जानुअघि बसेको पार्टी केन्द्रीय कार्यालयको बैठकले यस्तो निर्णय गरेको हो ।

माओवादीले मंसिरमा विधान महाधिवेशन गर्ने र त्यसपछि विशेष महाधिवेशन गर्ने निर्णय गरिसकेको छ । पार्टी एकताको उद्देश्यसहित माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेकपाको समाजवादी मोर्चा बनेको छ । माओवादीले सबै नेता कार्यकर्तालाई पार्टीको नाम परिवर्तन गरेर भए पनि अन्य पार्टीसँगको एकतालाई सफल तुल्याउन तयार देखाउन पार्टीले यस्तो सर्कुलर गरेको एक नेताले बताए ।

माओवादीको गत साउन १७ देखि २१ गतेसम्म बसेको केन्द्रीय समिति बैठकले आगामी मंसिरमा विधान महाधिवेशन गर्ने र त्यसपछि विशेष महाधिवेशन गर्ने निर्णय गरेको थियो ।माओवादीका नेताहरूले एकताका क्रममा माओवादी केन्द्र भन्दा नमान्ने हुनसक्छन् भन्ने भएर कोष्टकभित्र रहेको नामलाई परिवर्तन गरेर माओवादी केन्द्रको स्थानमा क्रान्तिकारी स्पिरिटलाई समेट्ने गरी नाम राख्नका लागि बाटो खुल्ला गरिएको बताउँछन् ।

माओवादीले नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेकपासँग एकीकरणको छलफल अघि बढाएके छ । निरन्तर यी पार्टीहरूबीच एकताका विषयमा छलफल भइरहे पनि टुंगो लाग्न सकेको छैन ।

माओवादी केन्द्रले उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा पार्टी एकताको बारेमा वार्ता गर्ने समिति बनाएको छ । उपाध्यक्ष महरालाई पार्टी एकता र समाजवादी मोर्चाको प्रमुखको जिम्मेवारी माओवादीले दिएको छ ।

माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी, विप्लव नेतृत्वको नेकपा, डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले नामबारे कुरा उठाएपछि नामै परिवर्तन गरेर भए पनि पार्टी एकता गर्न माओवादी तयार देखिएर संस्थागत निर्णय गरेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै